“सब जातिहरूलाई साक्षी”
“तिमीहरू . . . पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” —प्रेरित १:८.
१. मत्ती २४:१४ मा लेखिएको भविष्यवाणी चेलाहरूले पहिलो चोटि कहिले र कहाँ सुने?
मत्ती २४:१४ मा लेखिएका येशूका शब्दहरू हामीमध्ये कतिलाई कण्ठै होला। अनि यो साँच्चै कस्तो अचम्मको भविष्यवाणी हो! भविष्यवाणीका ती शब्दहरू पहिलो चोटि सुन्दा येशूका चेलाहरूले के सोचे होलान्, कल्पना गर्नुहोस् त! इस्वी संवत् ३३ को कुरा हो। चेलाहरूले येशूसित लगभग तीन वर्ष बिताइसकेका थिए। अब भने तिनीहरू येशूसँगै यरूशलेम आएका थिए। उहाँले गर्नुभएका चमत्कारहरू तिनीहरूले देखेका थिए, उहाँका शिक्षाहरू सुनेका थिए। येशूले सिकाउनुभएका अनमोल सत्य कुराहरूको तिनीहरू निकै कदर गर्थे। तर सबैले यस्तै सोचाइ राख्दैनन् भनेर तिनीहरूलाई राम्ररी थाह थियो। येशूका शत्रुहरू प्रभावशाली थिए अनि तिनीहरूले जनसाधारणलाई आफ्नो नियन्त्रणमा राखेका थिए।
२. चेलाहरूले कस्तो खतरा र चुनौती सामना गर्नुपर्ने थियो?
२ जैतून डाँडामा चार जना चेला येशूसँगै बसिरहेका थिए। तिनीहरूले सामना गर्नुपर्ने खतरा र चुनौतीबारे येशूले बताउनुहुँदा चेलाहरूले बडो ध्यान दिएर सुनिरहेका थिए। उहाँ मारिनुहुनेछ भनेर येशूले यसअघि नै चेलाहरूलाई बताइसक्नुभएको थियो। (मत्ती १६:२१) तिनीहरूले पनि घोर सतावट भोग्नेछन् भनेर येशूले यसपालि स्पष्टसित बताउनुभयो। उहाँले यसो भन्नुभयो: “तिनीहरूले तिमीहरूलाई घोर शासनाको लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, औ मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।” तर यति मात्र होइन। झूटा अगमवक्ताहरूले धेरैलाई बहकाउनेछन्। कतिले ठेस खानेछन् र एउटाले अर्कोलाई घृणा गर्नेछ। अनि परमेश्वर र उहाँको वचनप्रति “धेरैको” प्रेम सेलाएर जानेछ।—मत्ती २४:९-१२.
३. मत्ती २४:१४ मा लेखिएका येशूका शब्दहरूलाई किन गजबको भन्न सकिन्छ?
३ यस्तो एकदमै अप्ठ्यारो परिस्थिति भोग्नुपर्ने विषयमा बताइसकेपछि येशूले भन्नुभएको एउटा कुराले चेलाहरू वाल्लै परे होलान्। उहाँले भन्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) यो काम अर्थात् “सत्यको गवाही” दिन येशूले इस्राएलमा सुरु गर्नुभयो। अनि यो काम बढ्दै गएर पृथ्वीभरि नै फैलिने थियो। (यूहन्ना १८:३७, NRV) कस्तो गजबको भविष्यवाणी! “सब जातिहरूलाई” सुसमाचार सुनाउनु साँच्चै चुनौतीपूर्ण हुने थियो। “सबै जातिहरूमध्ये घृणित” हुनु परे तापनि यो काम पूरा गर्नु भनेको चमत्कार मान्न सकिन्थ्यो। यो ठूलो कामले यहोवाको सर्वोच्चता र शक्ति देखाउने थियो। अनि उहाँको प्रेम, दया र धीरज पनि झल्कने थियो। साथै, उहाँका सेवकहरूले आफ्नो विश्वास र भक्ति देखाउने मौका पाउने थिए।
४. गवाही दिने काम गर्न कसलाई अह्राइयो र येशूले तिनीहरूलाई कसरी ढुक्क बनाउनुभयो?
४ चेलाहरूले एउटा अत्यन्तै महत्त्वपूर्ण काम गर्नुपर्नेछ भनेर येशूले स्पष्ट पार्नुभयो। स्वर्ग जानुअघि येशू तिनीहरूकहाँ देखा पर्नुभयो र यसो भन्नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, औ तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरित १:८) हुन त, अरूले तिनीहरूलाई चाँडै साथ दिने थिए। तैपनि चेलाहरूको संख्या अझै थोरै थियो। त्यसकारण परमेश्वरले दिनुभएको यो काम पूरा गर्न उहाँको शक्तिशाली पवित्र आत्माले बल दिनेछ भनेर थाह पाउँदा कति ढुक्क भए होलान्!
५. साक्षी कार्यबारे चेलाहरूलाई कुन कुरा थाह थिएन?
५ सुसमाचार प्रचार गर्नुपर्छ र “सबै देशका जातिहरूलाई चेला” बनाउनुपर्छ भनेर येशूका चेलाहरूलाई राम्ररी थाह थियो। (मत्ती २८:१९, २०) तर कत्तिको व्यापक तवरमा साक्षी दिनुपर्ने हो अनि अन्त कहिले आउनेछ भन्ने कुरा चाहिं तिनीहरूलाई थाह थिएन। यो कुरा हामीलाई पनि थाह छैन। यो त यहोवाले मात्र भन्न सक्नुहुन्छ। (मत्ती २४:३६) साक्षी दिन अब पुग्यो भनेर यहोवाले निर्णय गर्नुभएपछि मात्र उहाँले यस दुष्ट रीतिरिवाजलाई नाश गर्नुहुनेछ। यसरी अन्त आएपछि मात्र मसीहीहरूले बुझ्नेछन्—ए, अब भने यहोवाको उद्देश्यअनुसार प्रचार गर्न पुगेछ! अहिले अन्तको समयमा कत्तिको व्यापक तवरमा साक्षी दिइनेछ भनेर त्यतिबेलाका चेलाहरूले कल्पना समेत गरेका थिएनन् होला।
प्रथम शताब्दीमा साक्षी कार्य
६. इस्वी संवत् ३३ पेन्तिकोस र त्यसको लगत्तै के भयो?
६ प्रथम शताब्दीमा परमेश्वरको राज्य प्रचार तथा चेला बनाउने कामले छक्कलाग्दो परिणाम ल्यायो। इस्वी संवत् ३३ पेन्तिकोसको दिनमा १२० जना जति चेलाहरू यरूशलेमको माथिल्लो कोठामा थिए। तिनीहरूमाथि पवित्र आत्मा खन्याइयो। अनि प्रेरित पत्रुसले यस चमत्कारको अर्थ बुझाउँदै मन छुने भाषण दिए। त्यसपछि ३,००० जतिले विश्वास गरे अनि बप्तिस्मा लिए। यो त केवल एउटा सुरुवात थियो। सुसमाचार प्रचारकार्यलाई हरहालतमा बन्द गराउन धर्मगुरुहरूले लाख प्रयास गरे। तापनि “उद्धार पाउनेहरूलाई” यहोवाले “दिनदिनै [चेलाहरूमा] बढती” गराउनुभयो। चाँडै “मानिसहरूको संख्या प्रायः पाँच हजार जति हुनआयो।” त्यसपछि “विश्वास गर्नेहरू झन् बढ्ता गरी प्रभुमा थपिन लागे—लोग्नेमानिस र स्वास्नीमानिसहरू दुवैको भीड” बढ्दै गयो।—प्रेरित २:१-४, ८, १४, ४१, ४७; ४:४; ५:१४.
७. कर्नीलियसको धर्मपरिवर्तन किन एउटा उल्लेखनीय घटना थियो?
७ इस्वी संवत् ३६ मा अर्को उल्लेखनीय घटना घट्यो। त्यो थियो, अन्यजातिका कर्नीलियसले धर्मपरिवर्तन गरे र बप्तिस्मा लिए। परमेश्वरसित डराउने यी मानिसकहाँ जान यहोवाले प्रेरित पत्रुसलाई डोऱ्याउनुभयो। साथै, “सबै देशका जातिहरूलाई चेला बनाओ” भन्ने येशूको आज्ञा विभिन्न मुलुकमा बस्ने यहुदीहरूको लागि मात्र थिएन भनेर यहोवाले स्पष्ट पार्नुभयो। (प्रेरित १०:४४, ४५) नेतृत्व लिइरहेकाहरूले कस्तो प्रतिक्रिया देखाए? अन्यजाति अर्थात् गैर-यहूदीहरूलाई पनि सुसमाचार सुनाउनुपर्छ भनेर प्रेरितहरू र यहूदियाका अगुवाहरूले बुझेपछि तिनीहरूले परमेश्वरको महिमा गरे। (प्रेरित ११:१, १८) त्यसपछि पनि यहूदीहरूलाई प्रचार गर्दा राम्रो परिणाम प्राप्त भइरहेको थियो। केही वर्षपछि, लगभग ईस्वी संवत् ५८ तिर विश्वास गर्नेहरू अन्यजातिका बाहेक “यहूदीहरू कैयौं हजार” भए।—प्रेरित २१:२०.
८. सुसमाचारले मानिसहरूलाई कस्तो असर गर्छ?
८ प्रथम शताब्दीका मसीहीहरूको वृद्धि एउटा उल्लेखनीय कुरा हो। यो वृद्धि संख्याको कुरा मात्र होइन तर वास्तवमा यति धेरै मानिसहरूले सुसमाचार स्वीकारेको प्रमाण हो भनेर हामीले बिर्सनु हुँदैन। तिनीहरूले सुनेको बाइबलको सन्देश प्रभावकारी थियो। (हिब्रू ४:१२) यो सन्देश स्वीकार्ने मानिसहरूको जीवनमा आमूल परिवर्तन आयो। मानिसहरूले अनैतिक जीवन त्यागे, नयाँ व्यक्तित्व धारण गरे अनि परमेश्वरसित मिलाप गरे। (एफिसी ४:२२, २३) आज पनि कुरा यस्तै हो। सुसमाचार स्वीकार्ने सबैले सधैंभरि बाँच्ने विशेष आशा पाएका छन्।—यूहन्ना ३:१६.
परमेश्वरका सहकर्मीहरू
९. प्रथम शताब्दीका मसीहीहरूले कस्तो सम्मान र जिम्मेवारी पाएका छौं भनेर बुझेका थिए?
९ प्रथम शताब्दीका मसीहीहरूले जे-जति गरे तिनीहरूले त्यसको श्रेय लिएनन्। प्रचारकार्यलाई “पवित्र आत्माको शक्ति[ले]” साथ दिइरहेको छ भनेर तिनीहरूले बुझेका थिए। (रोमी १५:१३, १९) यहोवाले नै यो आध्यात्मिक वृद्धि गराउनुभएको थियो। साथै, “परमेश्वरका सहकर्मी” बन्ने सम्मान र जिम्मेवारी पाएका छौं भनेर ती मसीहीहरूले बुझेका थिए। (१ कोरिन्थी ३:६-९) यसकारण आफूलाई दिइएको काम पूरा गर्न येशूको सल्लाहअनुसारै तिनीहरूले कडा प्रयत्न गरे।—लूका १३:२४.
१०. सब जातिहरूलाई साक्षी दिन प्रथम शताब्दीका कोही-कोही मसीहीहरूले कस्तो प्रयास गरे?
१० “अन्यजातिहरूको प्रेरित” भएकोले जलमार्ग र स्थलमार्ग हुँदै पावलले हजारौं किलोमिटर यात्रा गरे। अनि एसियाको रोमी प्रान्त र ग्रीसमा थुप्रै मण्डलीहरू स्थापना गरे। (रोमी ११:१३) तिनले रोम र सायद स्पेनसम्मै यात्रा गरे। “खतनाका मानिसहरूका लागि सुसमाचार” सुनाउने जिम्मा पाएका प्रेरित पत्रुस भने प्रचार गर्न अर्कै दिशातिर अर्थात् बेबिलोनतिर लागे। त्यतिबेला बेबिलोनमा थुप्रै यहूदीहरू बसोबास गर्थे। (गलाती २:७-९; १ पत्रुस ५:१३) प्रभुको काममा थुप्रैले धेरै मेहनत गरे। जस्तै, त्रिफेना र त्रिफोसा नाउँकी स्त्रीहरू। “प्रभुमा धेरै परिश्रम गर्ने” अर्की स्त्री, परसीस थिइन्।—रोमी १६:१२.
११. चेलाहरूको प्रयासलाई यहोवाले कसरी आशिष् दिनुभयो?
११ माथि उल्लिखित व्यक्तिहरू र अरू जोसिला प्रचारकहरूको प्रयासलाई यहोवाले प्रशस्त आशिष् दिनुभयो। सब जातिहरूलाई साक्षी दिइनेछ भनेर येशूले भविष्यवाणी गर्नुभएको ३० वर्ष पनि नबित्दै पावलले लेखे, “सुसमाचार . . . स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो।” (कलस्सी १:२३) के त्यतिबेला अन्त आयो? एक अर्थमा आयो भन्न सकिन्छ। इस्वी संवत् ७० मा रोमी सेनाले यरूशलेम र त्यहाँको मन्दिरलाई विनाश गर्दा यहूदी रीतिरिवाजको अन्त भयो। तर शैतानको सम्पूर्ण दुष्ट संसारलाई नाश गर्नुअघि अझ व्यापक तवरमा साक्षी दिइनेछ भनेर यहोवाले निर्णय गरिसक्नुभएको थियो।
अहिलेको साक्षी कार्य
१२. त्यतिबेलाका बाइबल स्टुडेन्टहरूले प्रचार गर भन्ने आज्ञा कसरी बुझेका थिए?
१२ धर्मत्याग फैलिएको लामो समयपछि अर्थात् उन्नाइसौं शताब्दीको अन्ततिर शुद्ध उपासना फेरि स्थापित भयो। सारा पृथ्वीमा चेला बनाउनुपर्छ भन्ने आज्ञा बाइबल स्टुडेन्टहरूले राम्ररी बुझेका थिए। यहोवाका साक्षीहरू त्यतिबेला बाइबल स्टुडेन्ट भनेरै चिनिन्थे। (मत्ती २८:१९, २०) सन् १९१४ तिर प्रचारकार्यमा सक्रिय भई लागिरहेका व्यक्तिहरू ५,१०० जति थिए अनि ६८ मुलुकसम्म सुसमाचार पुगिसकेको थियो। तर त्यतिबेलाका बाइबल स्टुडेन्टहरूले मत्ती २४:१४ को पूरा अर्थ बुझेका थिएनन्। उन्नाइसौं शताब्दीको अन्ततिर विभिन्न बाइबल सोसाइटीहरूले थुप्रै भाषामा बाइबल अनुवाद गरेर छाप्न थाले र संसारभरि त्यसको वितरण गरे। बाइबलमै सुसमाचार भएको हुनाले ती बाइबल स्टुडेन्टहरूले सब जातिहरूलाई साक्षी दिने काम पूरा भइसक्यो भन्ने सोचाइ केही वर्षसम्म राखेका थिए।
१३, १४. द वाच टावर १९२८ को अंकमा परमेश्वरको इच्छा र उद्देश्यबारे कुन कुरा स्पष्ट पारियो?
१३ आफ्नो इच्छा र उद्देश्यबारे यहोवाले आफ्ना जनहरूलाई बिस्तारै स्पष्टसित बुझाउँदै जानुभयो। (हितोपदेश ४:१८) डिसेम्बर १, १९२८ को द वाच टावर-मा यस्तो लेखिएको थियो: “बाइबल वितरण भयो भन्दैमा परमेश्वरको राज्यको प्रचारकार्य भविष्यवाणी गरिएअनुसारै पूरा भयो भन्न मिल्छ र? पक्कै मिल्दैन! बाइबल वितरण भए तापनि परमेश्वरका साक्षीहरूको सानो झुण्डले परमेश्वरको उद्देश्यबारे बुझाउने प्रकाशनहरू छाप्नु अनि जस-जसलाई बाइबल दिइएको छ, तिनीहरूलाई घर-घरमा गएर भेट्न जानु आवश्यक छ। यसो गरेन भने हाम्रो समयमा मसीही राज्य स्थापना भइसकेको छ भनेर तिनीहरूलाई थाहै हुँदैन।”
१४ द वाच टावर-को त्यही अंकमा अझै यसो भनिएको थियो: “सन् १९२० मा . . . बाइबल स्टुडेन्टहरूले मत्ती २४:१४ मा दिइएको हाम्रा प्रभुको भविष्यवाणीको सही अर्थ बुझे। अन्यजातिहरूलाई अर्थात् सब जातिहरूलाई गवाही दिन सारा संसारमा प्रचार गर्नुपर्ने ‘यो सुसमाचार’ पछि आउने राज्यको नभई मसीही राजाले वास्तवमा पृथ्वीमाथि शासन गर्न थालिसक्नुभयो भन्ने कुराको सुसमाचार हो।”
१५. सन् १९२० को दशकदेखि साक्षी कार्य कसरी फैलिएको छ?
१५ सन् १९२० को दशकमा “साक्षीहरूको सानो झुण्ड” सानै रहिरहेन। त्यसपछिका वर्षहरूमा “अरू भेडा[को]” “ठूलो भीड” चिनाइयो अनि तिनीहरूलाई जम्मा गर्ने काम सुरु भयो। (प्रकाश ७:९; यूहन्ना १०:१६) अहिले २३५ मुलुकमा ६६,१३,८२९ जना प्रचारकहरूले सुसमाचार सुनाइरहेका छन्। कस्तो अचम्मसँग यो भविष्यवाणी पूरा भइरहेको छ! यस्तो व्यापक तवरमा “राज्यको यो सुसमाचार” पहिला कहिल्यै प्रचार गरिएको थिएन। पृथ्वीमा यहोवाका यति धेरै विश्वासी सेवकहरू पहिला कहिल्यै थिएनन्।
१६. गत सेवा वर्षमा साक्षी कार्य कस्तो भयो?
१६ साक्षीहरूको यो विशाल जमात सन् २००५ सेवा वर्षमा पनि व्यस्त रह्यो। अनि २३५ मुलुकमा सुसमाचार सुनाउन एक अरबभन्दा बढी घण्टा बिताइयो। करोडौं पुनःभेटहरू गरियो अनि लाखौं बाइबल अध्ययन सञ्चालन भए। यो काम यहोवाका साक्षीहरूले नै गरेका हुन्। तिनीहरूले अरूलाई परमेश्वरको वचन सुनाउन आफ्नो समय र स्रोतसाधन कुनै कन्जुस्याइँ नगरी खर्च गरे। (मत्ती १०:८) यहोवाको इच्छा पूरा गर्न उहाँले शक्तिशाली पवित्र आत्माद्वारा आफ्ना सेवकहरूलाई बलियो बनाइरहनुभएको छ।—जकरिया ४:६.
साक्षी दिन कडा मेहनत गर्दै
१७. येशूले भन्नुभएझैं यहोवाका जनहरूले कसरी सुसमाचार प्रचार गरिरहेका छन्?
१७ सुसमाचार प्रचार गरिनेछ भनेर येशूले भन्नुभएको झण्डै २,००० वर्ष भइसक्यो। तैपनि यो कामप्रति परमेश्वरका जनहरूको जोस भने सेलाएको छैन। असल कुरा गर्न हामी स्थिर भई लागिरहँदा यहोवाको प्रेम, दया र धीरज देखाइरहेका हुन्छौं भनेर हामीलाई थाह छ। कोही पनि नाश नहोस् तर पश्चात्ताप गरेर सबैले उहाँसित मिलाप गरून् भन्ने यहोवा चाहनुहुन्छ। हामी पनि यस्तै चाहन्छौं। (२ कोरिन्थी ५:१८-२०; २ पत्रुस ३:९) परमेश्वरको पवित्र आत्मा पाएर जोसिलो भई यहोवाका साक्षीहरूले पृथ्वीको कुना-कुनासम्म सुसमाचार प्रचार गरिरहेका छन्। (रोमी १२:११) फलस्वरूप सबै ठाउँका मानिसहरूले सत्य स्वीकारिरहेका छन् अनि यहोवाको मायालु निर्देशनअनुसार हिंडिरहेका छन्। एक दुईवटा अनुभव विचार गर्नुहोस्।
१८, १९. सुसमाचार स्वीकार्ने केही व्यक्तिहरूको कस्तो अनुभव तपाईं बताउन सक्नुहुन्छ?
१८ चार्ल्स, पश्चिमी केन्याका किसान थिए। सन् १९९८ मा तिनले ८,००० किलोग्रामभन्दा बढी सुर्ती बेचे। यसकारण तिनलाई नामुद सुर्ती कृषक भन्ने प्रमाण-पत्र दिइयो। त्यही समयतिर तिनले बाइबल अध्ययन गर्न थाले। आफ्नो छिमेकीलाई प्रेम गर भन्ने येशूको आज्ञाअनुसार चल्ने हो भन्ने यसरी सुर्ती खेती गर्न पटक्कै मिल्दैन भनेर तिनले छिट्टै बुझिहाले। (मत्ती २२:३९) ‘नामुद सुर्ती कृषक’ त वास्तवमा ‘नामुद हत्यारा’ पो भएको रहेछ भन्ने निष्कर्षमा पुगेपछि चार्ल्सले विषादी छरेर सुर्ती बाली सखाप पारे। तिनले सच्चाइमा उन्नति गर्दै गए। यहोवालाई आफ्नो जीवन समर्पण गरे र बप्तिस्मा लिए। अहिले तिनी नियमित अग्रगामी सेवा गर्दैछन् अनि मण्डलीमा सेवकाई सेवक पनि छन्।
१९ अहिले संसारभरि दिइरहेको साक्षी कार्यद्वारा यहोवाले राष्ट्रहरूलाई हल्लाइरहनुभएको छ। अनि त्यहाँबाट “धन-सम्पत्तिहरू” अर्थात् मानिसहरू आइरहेका छन्। (हाग्गै २:७) पोर्चुगलका पेड्रो १३ वर्षको छँदा नै पादरी बन्नको लागि धर्मपीठमा गए। तिनले मिसनरी बनेर बाइबलबारे अरूलाई सिकाउँछु भन्ने लक्ष्य राखेका थिए। तर अलिक समयपछि तिनी त्यो धर्मपीठबाट निस्केर आए किनभने त्यहाँ बाइबलबारे खासमा केही कुरा पनि सिकाइएन। छ वर्षपछि तिनी लिस्बनको विश्वविद्यालयमा मनोविज्ञान पढिरहेका थिए। तिनी आफ्नी सानीमा, जो यहोवाका साक्षी थिइन्, उनीसित बस्थे। उनले पेड्रोलाई बाइबल अध्ययन गर्न प्रोत्साहन दिइन्। परमेश्वरको अस्तित्व छ कि छैन भन्ने कुरामा पेड्रो पक्का थिएनन्। अनि बाइबल अध्ययन गरूँ कि नगरूँ भनेर पनि दोधारमा थिए। तिनले मनोविज्ञानका प्राध्यापकलाई आफू यस्तो दोधारमा परेको बताए। मनोवैज्ञानिक अध्ययनअनुसार यसरी दोधारमा पर्ने व्यक्तिहरू आत्म-घाती हुन सक्छन् भनी ती प्राध्यापकले बताए। यो सुनेपछि पेड्रोले बाइबल अध्ययन गर्ने निर्णय गरे। तिनले हालै बप्तिस्मा लिए। पेड्रो अहिले थुप्रैलाई बाइबलबारे सिकाउँदैछन्।
२०. यस्तो व्यापक तवरमा सब जातिहरूलाई साक्षी दिइएकोमा हामी किन रमाउन सक्छौं?
२० सब जातिहरूलाई कुन हदसम्म साक्षी दिइनेछ भनेर हामीलाई थाह छैन। अन्त आउने मिति र समय कहिले हो, त्यो पनि हामीलाई थाह छैन। तर एउटा कुरा भने हामीलाई पक्का छ: अन्त चाँडै आउनेछ। यस्तो व्यापक तवरमा गरिने सुसमाचारको प्रचारकार्य, परमेश्वरको राज्यले मानव सरकारहरू हटाउने समय नजिकै छ भनेर देखाउने अरू धेरै चिह्नहरूमध्ये एउटा हो। यो कुरा विचार गर्दा हामी रमाउँछौं। (दानियल २:४४) समय बित्दै जाँदा लाखौं लाखले सुसमाचार स्वीकार्ने मौका पाएका छन्। अनि यसले गर्दा यहोवा परमेश्वरको महिमा भइरहेको छ। हामी पनि विश्वासी रहिरहौं। अनि सब जातिका मानिसहरूलाई साक्षी दिने काममा संसारभरिका हाम्रा भाइबहिनीहरूसँगसँगै व्यस्त रहने संकल्प गरौं। यसो गर्दा हामी र हाम्रो कुरा सुन्नेलाई पनि बचाउनेछौं।—१ तिमोथी ४:१६.(w06 2/1)
के तपाईंले सम्झनुभएको छ?
• मत्ती २४.१४ लाई किन अचम्मको भविष्यवाणी भन्न सकिन्छ?
• सुरु-सुरुका मसीहीहरूले प्रचार गर्न कस्तो प्रयास गरे अनि नतिजा कस्तो भयो?
• सब जातिका मानिसहरूलाई साक्षी दिनुपर्ने आवश्यकता बाइबल स्टुडेन्टहरूले कसरी बुझे?
• गत सेवा वर्षमा साक्षी कार्य कस्तो भयो?
[पृष्ठ २९-मा भएको नक्सा/चित्रहरू]
सुसमाचार प्रचार गर्न पावलले जलमार्ग र स्थलमार्ग हुँदै हजारौं किलोमिटर यात्रा गरे
[पृष्ठ २८-मा भएको चित्र]
कर्नीलियस र तिनको परिवारलाई साक्षी दिन यहोवाले पत्रुसलाई डोऱ्याउनुभयो