भेडा र बाख्राहरूसामु कस्तो भविष्य छ?
“जसरी गोठालाले भेड़ालाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ।”—मत्ती २५:३२.
१, २. भेडा र बाख्राको उखान हामीलाई किन चासो लाग्नुपर्ने हो?
येशू ख्रीष्ट साँच्चै नै यस पृथ्वीमा बाँचेकाहरूमध्ये सबैभन्दा महान् शिक्षक हुनुहुन्थ्यो। (यूहन्ना ७:४६) उहाँको शिक्षण तरिकामध्ये एउटा उखान वा दृष्टान्तहरूको प्रयोग थियो। (मत्ती १३:३४, ३५) यिनीहरू सरल भए तापनि गहन आध्यात्मिक तथा भविष्यसूचक सत्य प्रस्तुत गर्न जोडदार साबित भए।
२ भेडा र बाख्राको उखानमा येशूले विशेष कार्य गर्ने समयबारे औंल्याउँदै यसो भन्नुभयो: “जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब . . . ” (मत्ती २५:३१) यो हामीलाई चाखलाग्दो हुनुपर्ने हो किनभने येशूले यही दृष्टान्तद्वारा निम्न प्रश्नको जवाफ टुंग्याउनुभयो: “हामीलाई भन्नुहोस्, यो कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र जगत्को अन्तको चिन्ह के हुनेछ?” (मत्ती २४:३) तर यसले हाम्रो लागि के अर्थ राख्छ?
३. येशूले आफ्नो वक्तव्यमा महा संकष्ट सुरु भएको तुरुन्तपछि के हुनेछ भन्नुभयो?
३ महा संकष्टको “तुरुन्त पछि” हुने उल्लेखनीय घटनाहरूबारे येशूले भविष्यवाणी गर्नुभयो। ती घटनाहरूको हामी प्रतिक्षा गर्छौं। उहाँले भन्नुभएअनुसार, त्यतिबेला “मानिसको पुत्रको चिन्ह” देखापर्नेछ। यसले “मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासित आउँदैगरेको” देख्ने “पृथ्वीका सब जातिहरू[लाई]” निकै असर गर्नेछ। मानिसको पुत्रको साथमा “स्वर्गदूतहरू” हुनेछन्। (मत्ती २४:२१, २९-३१)a भेडा र बाख्राको उखानबारे के भन्न सकिन्छ? आधुनिक बाइबलहरूमा यो उखान अध्याय २५ मा राखिएको छ तर यो येशूको जवाफको भाग हो। यहाँ येशूले उहाँ महिमामा आउने विषयमा थप जानकारी दिनुहुन्छ र “सब जातिहरू[को]” न्यायमा ध्यान केन्द्रित गर्नुहुन्छ।—मत्ती २५:३२.
उखानका पात्रहरू
४. भेडा र बाख्राको उखानको सुरुमा येशूबारे के उल्लेख गरेको पाइन्छ र साथै अरू कसको पनि उल्लेख गरिएको छ?
४ येशूले यसो भन्दै उखान सुरु गर्नुहुन्छ: ‘जब मानिसको पुत्र आउला।’ “मानिसको पुत्र” को हो भनी तपाईंलाई थाहै होला। सुसमाचार पुस्तकका लेखकहरूले येशूलाई बुझाउन प्रायजसो उक्त अभिव्यक्ति प्रयोग गरे। येशू स्वयंले पनि गर्नुभयो। निस्सन्देह, उहाँले “मानिसको पुत्रजस्तै कोही” अति प्राचीन उमेरकहाँ “सर्वाधिकार, महिमा र राज्याधिकार” लिन आउनुभएको दानियलको दर्शन सम्झनुभएको हुनुपर्छ। (दानियल ७:१३, १४; मत्ती २६:६३, ६४; मर्कूस १४:६१, ६२) यस उखानको प्रमुख पात्र येशू हुनु भए तापनि उहाँ एक्लो हुनुहुन्न। मत्ती २४:३०, ३१ मा उद्धरण गरिएअनुसार मानिसको पुत्र ‘शक्ति र ठूलो महिमामा’ आउनुहुँदा स्वर्गदूतहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् भन्नुभयो। त्यस्तैगरि, भेडा र बाख्राको उखानमा येशू न्याय गर्न ‘महिमाको सिंहासनमा बस्नुहुँदा’ उहाँको साथमा स्वर्गदूतहरू चित्रण गरिएको छ। (मत्ती १६:२७ तुलना गर्नुहोस्।) तर न्यायकर्ता र उहाँका स्वर्गदूतहरू स्वर्गमा छन्। अतः के यो उखानमा मानिसहरूबारे छलफल गरिएको छ?
५. हामीले येशूका “भाइहरू” कसरी चिन्न सक्छौं?
५ उखानलाई सरसरती हेर्दा हामीले चिन्नुपर्ने तीन वटा समूह देखिन्छ। भेडा र बाख्राको अलावा मानिसको पुत्रले तेस्रो समूह पनि समावेश गर्छन्। भेडा र बाख्राहरूलाई चिन्न यस समूहको चिनारीले निर्णायक भूमिका निर्वाह गर्छ। येशूले यस तेस्रो समूहलाई उहाँका आत्मिक भाइहरू भनी सम्बोधन गर्नुहुन्छ। (मत्ती २५:४०, ४५) तिनीहरू साँचो उपासकहरू हुनुपर्छ किनभने येशूले यसो भन्नुभयो: “जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ, त्यही मेरो भाइ, र मेरो बहिनी, र मेरो आमा हो।” (मत्ती १२:५०; यूहन्ना २०:१७) अझ सान्दर्भिक प्रसंग यो हो, पावलले ती मसीहीहरूबारे लेखे, जो “अब्राहामका वंश[को]” र परमेश्वरका पुत्रहरू हुन्। तिनले यिनीहरूलाई येशूका “भाइहरू” र “स्वर्गीय बोलावटका सह-भागी” भनी सम्बोधन गरे।—हिब्रू २:९–३:१; गलाती ३:२६, २९.
६. येशूका भाइहरूमध्ये “सबैभन्दा सानो” को हुन्?
६ येशूले आफ्ना भाइहरूमध्ये “सबैभन्दा सानो” भनेर किन उल्लेख गर्नुभयो? येशूले आफ्ना प्रेरितहरूलाई पहिले भनिसक्नुभएको कुरा दोहोऱ्याउँदै हुनुहुन्थ्यो। येशूभन्दा अघि मर्ने अनि पार्थिव आशा हुने बप्तिस्मा दिने यूहन्ना र स्वर्गीय जीवन पाउनेहरूबीच भिन्नता देखाउन येशूले यसो भन्नुभयो: “मानिसमध्ये बप्तिस्मा दिने यूहन्नाभन्दा ठूलो कोही उठेको छैन। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा ठूलो हो।” (मत्ती ११:११) स्वर्गमा जानेहरूमध्ये केही, प्रेरितहरूजस्तै मण्डलीमा प्रतिष्ठित व्यक्तिहरू थिए होलान्। अरू भने त्यति प्रतिष्ठित थिएनन् होला तर तिनीहरू सबै येशूका आध्यात्मिक भाइहरू हुन्। (लूका १६:१०; १ कोरिन्थी १५:९; एफिसी ३:८; हिब्रू ८:११) तसर्थ, पृथ्वीमा छँदा केही महत्त्वहीन देखिए तापनि तिनीहरू उहाँका भाइहरू थिए र तिनीहरूलाई त्यसैअनुरूपको व्यवहार गर्नुपर्ने थियो।
भेडा र बाख्राहरू को को हुन्?
७, ८. येशूले भेडाहरूबारे के भन्नुभयो, अतः हामी तिनीहरूबारे कस्तो निष्कर्षमा पुग्नसक्छौं?
७ भेडाहरूको न्यायबारे हामी यस्तो लेखिएको पाउँछौं: “[येशूले] आफ्ना दाहिने हातपट्टिकाहरूलाई भन्नेछन्, ‘आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर। किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई तिमीहरूकहाँ लग्यौ। नांगो थिएँ, तिमीहरूले मलाई पहिरायौ। बिरामी थिएँ, तिमीहरूले मेरो हेरचाहा गऱ्यौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ। तब धार्मिकहरूले उनलाई यसो भन्दै जवाफ दिनेछन्, ‘हे प्रभु कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्यौं, र तपाईंलाई खान दियौं? अथवा तिर्खाउनुभएको, र तपाईंलाई पिउनदियौं? औ कहिले हामीले तपाईंलाई परदेशी देख्यौं, र तपाईंलाई हामीहरूकहाँ ल्यायौं? अथवा नांगो, र पहिरायौं? र कहिले हामीले तपाईंलाई बिरामी पर्नुभएको, अथवा झ्यालखानमा देख्यौं, र तपाईंकहाँ आयौं? तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानो एउटालाई जे जति गऱ्यौ, त्यो तिमीहरूले मलाईनै गऱ्यौ।”—मत्ती २५:३४-४०.
८ स्पष्टतः, येशूको आदर र अनुमोदनको दाहिनेपट्टि बस्न योग्य ठहरिएका भेडाहरूले मानिसहरूको एउटा वर्गलाई चित्रित गर्छ। (एफिसी १:२०; हिब्रू १:३) तिनीहरूले के गरे र कहिले? येशू भन्नुहुन्छ, तिनीहरूले दया, आदरपूर्वक अनि उदारचित्तका साथ उहाँलाई खान, पिउन, लुगाफाटा दिए र उहाँ बिरामी वा जेलमा पर्नुहुँदा मदत गरे। भेडाहरू भन्छन्, तिनीहरूले येशूलाई व्यक्तिगत तवरमा यीमध्ये केही गरेनन्। तर उहाँले औंल्याउनुहुन्छ, तिनीहरूले उहाँका आत्मिक भाइहरू अर्थात् अभिषिक्त मसीहीहरूको शेष जनप्रति जेजति गरे, त्यो उहाँलाई नै गरेजस्तै हो।
९. यो उखानको पूर्ति सहस्र वर्षमा किन हुन सक्दैन?
९ यो उखान सहस्र राज्यमा लागू हुँदैन किनभने त्यतिबेला अभिषिक्त जनहरूले मानव भोक, तिर्खा, बिमारी वा जेल सजाय अनुभव गर्नेछैनन्। तर, तिनीहरूमध्ये धेरैले यस रीतिरिवाजको अन्ततिर त्यस्ता अनुभवहरू गरिसके। आफू पृथ्वीमा फ्याँकिएदेखि शैतानले विशेषगरि यी शेष जनहरूलाई आफ्नो क्रोधको तारो बनाएर तिनीहरूको उपहास गरेको छ, सताएको छ र तिनीहरूलाई मारेको छ।—प्रकाश १२:१७.
१०, ११. (क) येशूका भाइहरूप्रति दयालु कार्य गर्ने जोसुकै पनि भेडा हुन् भनेर सोच्नु किन अव्यवहारिक हुनेछ? (ख) कसलाई उपयुक्त ढंगमा भेडाहरूले चिनाउँछ?
१० के येशूले यहाँ उहाँका भाइहरूमध्ये कसैलाई एक टुक्रा रोटी, एक गिलास पानी दिने जस्ता दयाको सानो कार्य गर्दैमा भेडा हुन योग्य हुन्छन् भन्न खोज्नुभएको हो? त्यस्तो दया देखाउँदा मानव दया झल्किएला तर यस उखानको भेडा हुन त्यति मात्रै गरेर पुग्दैन जस्तो देखिन्छ। उदाहरणको लागि, आफ्ना भाइहरूप्रति दयापूर्ण सानो कार्य गर्ने नास्तिक वा पादरीहरूलाई येशूले पटक्कै संकेत गरिरहनुभएको थिएन। त्यसको विपरीत, येशूले भेडालाई दुइ चोटि “धार्मिकहरू” भनेर सम्बोधन गर्नुभयो। (मत्ती २५:३७, ४६) अतः भेडाहरू ती जनहरू हुनुपर्छ जसले समयको दौडान ख्रीष्टका भाइहरूलाई सक्रियतापूर्वक साथ दिए अनि परमेश्वरसमक्ष धर्मी साबित हुन विश्वास प्रदर्शन गरे।
११ गत शताब्दीहरूमा अब्राहामजस्ता थुप्रै मानिसहरू धर्मी साबित भएका छन्। (याकूब २:२१-२३) नूह, अब्राहाम र अन्य विश्वासी जनहरू “अरू भेडा[मा]” समावेश छन् र तिनीहरूले परमेश्वरको राज्यअन्तर्गत प्रमोदवनमा जीवन पाउनेछन्। हालैका वर्षहरूमा लाखौंले अरू भेडाको हैसियतमा साँचो उपासनालाई स्वीकारेका छन् र अभिषिक्त जनहरूसित “एकै बगाल” भएका छन्। (यूहन्ना १०:१६; प्रकाश ७:९) पार्थिव आशा भएका यी व्यक्तिहरूले येशूका भाइहरूलाई त्यस राज्यको राजदूतहरू भनी चिन्छन् र तिनीहरूलाई भौतिक तथा आध्यात्मिक तवरमा मदत गरेका छन्। अरू भेडाले यस पृथ्वीमा भएका उहाँका भाइहरूलाई जे जति गरेका छन्, येशूले त्यो आफूलाई गर्नुभएको सम्झनुहुन्छ। उहाँले राष्ट्रहरूको न्याय गर्न आउनुहुँदा ती व्यक्तिहरू जीवित छन् भने तिनीहरू भेडा साबित हुनेछन्।
१२. येशूप्रति कसरी दया देखाए भनेर भेडाहरूले किन सोध्न सक्छन्?
१२ अहिले अरू भेडाले अभिषिक्त जनसित मिलेर सुसमाचार प्रचार गर्नुको साथै तिनीहरूलाई मदत गरिरहेका छन् भने यो प्रश्न किन गर्नेथिए: “हे प्रभु कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्यौं, र तपाईंलाई खान दियौं? अथवा तिर्खाउनुभएको, र तपाईंलाई पिउनदियौं?” (मत्ती २५:३७) यो प्रश्न गर्नुको थुप्रै कारणहरू हुनसक्छन्। यो एउटा उखान हो। यस मार्फत येशूले आफ्ना आत्मिक भाइहरूप्रति गहिरो चासो देखाउनुहुन्छ। उहाँले तिनीहरूका भावना तथा दुःखहरू बुझ्नुहुन्छ। येशूले यसअघि यसो भन्नुभएको थियो: “तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनेलाई ग्रहण गर्दछ।” (मत्ती १०:४०) येशूले यस उखानद्वारा एउटा सिद्धान्त बुझाउनुभयो। उहाँका भाइहरूप्रति गरिने (असल वा खराब) कार्य स्वर्गसम्मै पुग्छ। त्यो उहाँलाई स्वर्गमा गरेजस्तै हो। साथै, यहाँ येशूले न्यायसम्बन्धी यहोवाको स्तरलाई जोड दिनुहुँदै परमेश्वरले दिनुहुने न्याय, चाहे अनुकूल वा प्रतिकूल होस्, न्यायोचित र सही हुन्छ भनेर स्पष्ट पार्नुहुन्छ। बाख्राहरूले यो बहाना गर्न सक्दैनन्, ‘हामीले तपाईंलाई प्रत्यक्षतः देखेको मात्र भए पनि हुनेथियो।’
१३. बाख्राखाले मानिसहरूले येशूलाई “प्रभु” भनी किन सम्बोधन गर्नसक्छन्?
१३ यस उखानमा देखाइएको न्याय कार्यान्वयन हुने समयलाई बुझेपछि हामीले बाख्राहरू को हुन् भनेर स्पष्टसित बुझ्नसक्छौं। यसको पूर्ति हुँदा “मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ औ पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई . . . शक्ति र ठूलो महिमासित आउँदैगरेको देख्नेछन्।” (मत्ती २४:२९, ३०) महान् बेबिलोनमाथि आइपर्ने संकष्टबाट बच्ने तर राजाका भाइहरूप्रति दुर्व्यवहार गर्ने व्यक्तिहरूले समेत आफ्नो जीवन बचाउने आशामा न्यायकर्तालाई “प्रभु” भनेर सम्बोधन गर्नेछन्।—मत्ती ७:२२, २३; प्रकाश ६:१५-१७ तुलना गर्नुहोस्।
१४. येशूले कुन आधारमा भेडा र बाख्राको न्याय गर्नुहुनेछ?
१४ पहिले चर्च जाने, नास्तिक वा अन्य व्यक्तिहरूका व्याकुल दाबीहरूको आधारमा येशूको न्याय निर्भर हुनेछैन। (२ थिस्सलोनिकी १:८) बरु, न्यायकर्ताले मानिसहरूको हृदय र “[उहाँका भाइहरूमध्ये] सबैभन्दा सानोलाई” पहिले गरेका कार्यहरू जाँच्नुहुनेछ। हो, पृथ्वीमा शेष अभिषिक्त जनहरूको संख्या घट्दैछ। तथापि, अभिषिक्त जनहरूद्वारा बनिएको “विश्वासी र बुद्धिमान दास[ले]” आध्यात्मिक आहार र निर्देशन प्रदान गरूञ्जेलसम्म ‘हरेक जातिबाटको र सबै कुलको र मानिसको ठूलो भीडले’ गरेझैं सम्भाव्य भेडाले दासवर्गप्रति भलाई गर्ने अवसर पाउनेछन्। तिनीहरूले यही नै गर्दै आएका छन्।—प्रकाश ७:९, १४.
१५. (क) कसरी धेरैले आफूलाई बाख्राखाले देखाएका छन्? (ख) कुनै व्यक्तिलाई हामीले भेडा वा बाख्रा भनी किन भन्नु हुँदैन?
१५ ख्रीष्टका भाइहरू र तिनीहरूसित एक भएका लाखौं अन्य भेडा मिलेर बनेको एउटै बगालप्रति कस्तो व्यवहार गरिएको छ? धेरै मानिसहरूले ख्रीष्टका प्रतिनिधिहरूलाई व्यक्तिगत तवरमा आक्रमण गरेनन् होला तर तिनीहरूले उहाँका जनहरूप्रति मायालु व्यवहार पनि गरेका छैनन्। यस दुष्ट संसारलाई रुचाउँदै यी बाख्राखाले मानिसहरूले राज्यको समाचारलाई प्रत्यक्ष वा अप्रत्यक्ष ढंगमा सुनेका होस्, त्यसलाई इन्कार गर्छन्। (१ यूहन्ना २:१५-१७) निस्सन्देह, अन्ततः न्याय गर्न नियुक्त गर्नुभएको व्यक्ति येशू नै हुनुहुन्छ। भेडा र बाख्राहरू को को हुन् भनेर निर्धारण गर्ने काम हाम्रो होइन।—मर्कूस २:८; लूका ५:२२; यूहन्ना २:२४, २५; रोमी १४:१०-१२; १ कोरिन्थी ४:५.
हरेक समूहसमक्ष कस्तो भविष्य छ?
१६, १७. भेडाहरूको भविष्य कस्तो हुनेछ?
१६ येशूले भेडाहरूलाई यस्तो न्याय सुनाउनुभयो: “आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।” कस्तो न्यानो निमन्त्रणा—“आओ”! तर कहाँ आउने? येशूले अन्तमा भन्नुभएजस्तै अनन्त जीवनको लागि अर्थात् “धार्मिकहरूचाहिं अनन्त जीवनमा जानेछन्।”—मत्ती २५:३४, ४६.
१७ स्वर्गमा उहाँसित शासन गर्न कुन कुरा आवश्यक छ भनी येशूले तोडाको उखानमा देखाउनुभयो। तर उहाँले यस उखानमा राज्यका प्रजाहरूबाट के आशा गरिन्छ, त्यो देखाउनुभयो। (मत्ती २५:१४-२३) तोकेर भन्ने हो भने, तिनीहरूले येशूका भाइहरूलाई पूरा मनतनले समर्थन गरेको हुँदा भेडाहरूले उहाँको राज्यको पार्थिव संसारमा प्रवेश गर्न पाउनेछन्। तिनीहरूले पार्थिव प्रमोदवनमा जीवनको आनन्द उठाउनेछन्। छुटकारा पाउन योग्य मानवजातिको लागि परमेश्वरले यो प्रत्याशा “जगत्को शुरूदेखि” तयार पार्नुभएको थियो।—लूका ११:५०, ५१.
१८, १९. (क) येशूले बाख्राहरूमाथि कस्तो न्याय गर्नुहुनेछ? (ख) बाख्राहरूले अनन्त दुःख भोग्नेछैनन् भनेर हामी किन निर्धक्क हुनसक्छौं?
१८ बाख्रामाथि गरिने न्यायभन्दा कति भिन्न! “त्यसपछि उनले देब्रे हातपट्टिकाहरूलाई पनि भन्नेछन्, ‘ए श्रापित हो, शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्त आगोमा मबाट दूर भइजाओ। किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खानदिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउनदिएनौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आफूकहाँ लगेनौ। नांगो, थिएँ र तिमीहरूले मलाई पहिराएनौ बिमारी र झ्यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ। तापनि तिनीहरूले यसो भनेर जवाफ दिनेछन्, ‘हे प्रभु कहिले हामीहरूले तपाईंलाई भोकाएका वा तिर्खाएका, परदेशी, वा नांगो वा बिरामी, वा झ्यालखानमा देख्यौं, र तपाईंको सेवा गरेनौं?’ तब उनले तिनीहरूलाई यसो भनेर जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एउटालाई जे जति गरेनौ, त्यो तिमीहरूले मलाईनै गरेनौ।’”—मत्ती २५:४१-४५.
१९ यसको अर्थ, भेडाखाले मानिसहरूको अमर आत्मा अनन्त आगोमा तड्पिने होइन भनी बाइबल विद्यार्थीहरूलाई थाह छ। त्यसो होइन, किनभने मानिसहरूनै प्राण हुन्। तिनीहरू-सित अमर आत्मा हुँदैन। (उत्पत्ति २:७; उपदेशक ९:५, १०; इजकिएल १८:४) न्यायकर्ताले बाख्राहरूलाई “अनन्त आगो”-मा दण्ड दिनुको अर्थ भावी आशाबिनाको विनाश हो। यसको अर्थ, दियाबल तथा त्यसका दूतहरूको स्थायी अन्त पनि हुनेछ। (प्रकाश २०:१०, १४) यसप्रकार यहोवाको न्यायकर्ताले बेग्लाबेग्लै न्याय गर्नुहुन्छ। उहाँले भेडाहरूलाई “आओ” भन्नुहुन्छ। तर बाख्राहरूलाई “मबाट दूर भइजाओ” भन्नुहुन्छ। भेडाले “अनन्त जीवन” पाउनेछन्। बाख्राले “अनन्त दण्ड” भोग्नेछन्।—मत्ती २५:४६.b
हाम्रो लागि यसको अर्थ के हो?
२०, २१. (क) मसीहीहरूले गर्नुपर्ने अत्यावश्यक कार्य के हो? (ख) अहिले कस्तो प्रकारको छुट्याउने कार्य भइरहेको छ? (ग) भेडा र बाख्राको उखान पूरा हुन थाल्दा मानिसहरूको अवस्था कस्तो हुनेछ?
२० येशूको उपस्थिति र जगत्को अन्तबारे उहाँको जवाफ सुन्ने चार प्रेरितहरूले सोचविचार गर्नुपर्ने निकै कुरा थियो। तिनीहरू जागा रहेर सतर्क बस्नुपर्ने थियो। (मत्ती २४:४२) तिनीहरूले मर्कूस १३:१० मा उल्लिखित साक्षी कार्य पनि गर्नुपर्ने थियो। आज यहोवाका साक्षीहरूले जोशका साथ त्यो कार्य गरिरहेका छन्।
२१ तर, भेडा र बाख्राको उखानबारे पाएको यस नयाँ जानकारीले हाम्रो लागि कस्तो अर्थ राख्छ? भनौं भने, मानिसहरूले अहिले नै पक्ष र विपक्ष लिइरहेका छन्। केही ‘विनाशमा पुऱ्याउने फराकिलो बाटोमा हिंडिरहेका छन्’ भने केही ‘जीवनमा पुऱ्याउने साँघुरो बाटोमा रहने’ प्रयास गर्छन्। (मत्ती ७:१३, १४) तर उखानमा चित्रण गरिएअनुसार येशूले भेडा र बाख्रामाथि गर्नुहुने अन्तिम न्याय अझै भविष्यमा हुने घटना हो। मानिसको पुत्र न्यायकर्ताको हैसियतमा आउनुहुँदा उहाँले थुप्रै साँचो मसीहीहरू अर्थात् समर्पित भेडाको “ठूलो भीड़” “महा संकष्ट[को]” अन्त पार गरेर नयाँ संसारमा प्रवेश गर्न योग्य ठहरिएको पाउनुहुनेछ। त्यो प्रत्याशा अहिले आनन्दको स्रोत हुनुपर्ने हो। (प्रकाश ७:९, १४) अर्कोतर्फ, “हरेक जातिबाटको” अधिकतम मानिसहरूले आफूलाई ढिट बाख्राहरू साबित गरिसकेका हुनेछन्। तिनीहरूले “अनन्त दण्ड” भोग्नेछन्। पृथ्वीको लागि कस्तो छुटकारा!
२२, २३. यो उखान भविष्यमा पूरा हुने भए तापनि आज हाम्रो प्रचारकार्य किन महत्त्वपूर्ण छ?
२२ उखानमा वर्णन गरिएको न्याय निकट भविष्यमा हुने भए तापनि अहिले एउटा महत्त्वपूर्ण कार्य भइरहेको छ। हामी मसीहीहरू जीवनदायी समाचार घोषणा गर्ने कार्यमा भाग लिइरहेका छौं। यस कार्यद्वारा मानिसहरू छुट्याइन्छन्। (मत्ती १०:३२-३९) पावलले यसप्रकार लेखे: “किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। तब जसलाई तिनीहरूले विश्वास गरेकै छैनन् उहाँलाई कसरी पुकार्ने? जसलाई तिनीहरूले सुनेकै छैनन् उहाँलाई कसरी विश्वास गर्ने? औ प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्नसक्लान्?” (रोमी १०:१३, १४) परमेश्वरको नाउँ र मुक्तिको समाचार हाम्रो जन सेवकाईद्वारा २३० भन्दा बढी मुलुकका मानिसहरूसम्म पुगेको छ। ख्रीष्टका अभिषिक्त भाइहरूले यस कार्यलाई नेतृत्व गरिरहेका छन्। तिनीहरूलाई लगभग ५० लाख अरू भेडाले साथ दिइरहेका छन्। अनि विश्वभरिका मानिसहरूले येशूका भाइहरूको समाचारलाई सुनिरहेका छन्।
२३ हामीले घर-घर वा अनौपचारिक तरिकाद्वारा प्रचार गर्दा थुप्रैले हाम्रो समाचारबारे जानकारी पाउँछन्। हामीलाई पत्तै नभएको ढंगबाट अरूले यहोवाका साक्षीहरूबारे सिक्नसक्छन्। न्यायको समयमा येशूले कुन हदसम्म सामुदायिक जिम्मेवारी वा परिवारको आधारमा न्याय गर्नुहुनेछ? त्यो हामी भन्न सक्दैनौं र अनुमान लगाउन खोज्नु बेकार हो। (१ कोरिन्थी ७:१४ तुलना गर्नुहोस्।) आज धेरैले परमेश्वरका जनहरूलाई जानाजानी अवहेलना तथा उपहास गर्छन् वा प्रत्यक्ष सतावट दिन्छन्। यसर्थ, यो निर्णायक समय हो। येशूले बाख्रा ठहराउनुहुने मानिसहरूको जस्तो झुकाउ ती मानिसहरूले देखाइरहेका हुनसक्छन्।—मत्ती १०:२२; यूहन्ना १५:२०; १६:२, ३; रोमी २:५, ६.
२४. (क) हाम्रो प्रचारकार्यप्रति व्यक्तिविशेषहरूले अनुकूल प्रतिक्रिया देखाउनु किन महत्त्वपूर्ण छ? (ख) यस अध्ययनले तपाईंलाई सेवकाईप्रति कस्तो मनोवृत्ति राख्न व्यक्तिगत तवरमा मदत पुऱ्याएको छ?
२४ तर, आनन्दको कुरा, धेरैले अनुकूल प्रतिक्रिया व्यक्त गर्छन्, परमेश्वरको वचन अध्ययन गर्छन् र यहोवाका साक्षीहरू हुन्छन्। केही भने अहिले बाख्राजस्तो देखिए तापनि पनि परिवर्तन भएर भेडाखाले हुनसक्छन्। महत्त्वपूर्ण कुरा के हो भने, ख्रीष्टका शेष भाइहरूको कुरा सुनेर तिनीहरूलाई सक्रियतापूर्वक समर्थन गरिरहेकाहरूले एउटा प्रमाण दिइरहेका हुनेछन्। निकट भविष्यमा उहाँ सिंहासनमा बस्नुभएर न्याय गर्नुहुँदा तिनीहरू त्यसैको आधारमा येशूको दाहिने बाहुलीपट्टि राखिनेछन्। यिनीहरूले अहिले आशिष् पाएका छन् र भविष्यमा पनि पाइरहनेछन्। तसर्थ, यस उखानले हामीलाई मसीही सेवकाईमा अझ जोशका साथ भाग लिन उत्प्रेरित गर्नुपर्ने हो। ढिलो हुनुअघि नै हामी राज्यको सुसमाचार यथाशक्य घोषणा गर्न चाहन्छौं। अनि यसो गर्दा अरूले आफ्नो प्रतिक्रिया व्यक्त गर्ने मौका पाउँछन्। त्यसपछि अनुकूल वा प्रतिकूल न्याय गर्ने जिम्मा येशूको हो।—मत्ती २५:४६.
[फुटनोटहरू]
a फेब्रुअरी १, १९९४ प्रहरीधरहरा-को पृष्ठ २६-३१ हेर्नुहोस्।
b एल एभान्ल्यो मातियो-ले यस्तो टिप्पणी गर्छ: “अनन्त जीवन भनेको निश्चित जीवन हो। यसको विपरीत, निश्चित दण्ड हो। युनानी विशेषण आइयोनियोस-ले मुख्यतः समयावधि होइन तर गुनलाई बुझाउँछ। निश्चित दण्ड भनेको अनन्त मृत्यु हो।”—अवकाशप्राप्त प्राध्यापक क्वान मातियोस (पोन्तिफिकल बिब्लिकल इन्स्टिच्युट, रोम) र प्राध्यापक फर्नान्डो कामाचो, (थियोलोजिकल सेन्टर, सेभिल) म्याड्रिड, स्पेन, १९८१.
के तपाईंलाई सम्झना छ?
◻ मत्ती २४:२९-३१ र मत्ती २५:३१-३३ बीच कुन समानताले भेडा र बाख्राको उखान भविष्यमा पूरा हुने कुरा हो भनी देखाउँछ अनि त्यो कहिले हुनेछ?
◻ येशूका भाइहरूमध्ये “सबैभन्दा सानो” को हुन्?
◻ येशूले “धार्मिकहरू” भनी प्रयोग गर्नुभएको अभिव्यक्तिले तिनीहरू को हुन् र को होइनन् भनी चिन्न मदत दिन्छ?
◻ यो उखान भविष्यमा पूरा हुने भए तापनि हाम्रो प्रचार कार्य किन यतिको अत्यावश्यक छ?
[पृष्ठ २४-मा भएको पेटी/ चित्र]
यी समानान्तर भविष्यवाणीहरूमा ध्यान दिनुहोस्
महा संकष्टको सुरुआतपछि मानिसको पुत्र आउनुहुनेछ
मानिसको पुत्र देखा पर्नुहुनेछ
ठूलो महिमासित आउनुहुन्छ महिमासित आउनुहुन्छ
र सिंहासनमा बस्नुहुन्छ
उहाँसित स्वर्गदूतहरू छन् स्वर्गदूतहरू उहाँसित आउँछन्
पृथ्वीका सबै जातिहरूले उहाँलाई देख्छन् सबै देशका मानिसहरू जम्मा हुन्छन्;
अन्ततः बाख्राहरूको न्याय हुन्छ
(महा संकष्टको अन्त हुन्छ)
[स्रोत]
Garo Nalbandian