यहोवा—साँचो न्याय र धार्मिकताका स्रोत
“उहाँनै चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसँगत छन्। परमेश्वर विश्वासयोग्य र अधर्मविहीन, . . . हुनुहुन्छ।”—व्यवस्था ३२:४.
१. न्याय पाउने जन्मजात चाहना हुनुको कारण के हो?
माया सबैको जन्मजात चाहना भएझैं हामी सबै न्यायपूर्ण व्यवहारको तिर्सना गर्छौं। अमेरिकी राजनीतिज्ञ थमस जेफर्सनले लेखे, “[न्याय] जन्मजात र अन्तर्निहित हुन्छ, . . . यो हाम्रा भावना, दृष्टि र श्रवण जत्ति नै अभिन्न भाग हुन्।” यो कुनै अचम्मलाग्दो कुरा होइन किनभने यहोवाले हामीलाई उहाँकै स्वरूपमा सृष्टि गर्नुभयो। (उत्पत्ति १:२६) निस्सन्देह, उहाँको व्यक्तित्व झल्कने गुणहरू हामीलाई दिनुभएको छ र त्यसमध्ये एउटा गुण न्याय हो। त्यसैकारण त न्यायको तिर्सना गर्नु हाम्रो जन्मजात चाहना हो अनि हामी साँचो न्याय तथा धार्मिकताको संसारमा बाँच्न चाहन्छौं।
२. यहोवाले न्यायलाई कत्तिको महत्त्वपूर्ण ठान्नुहुन्छ र हामीले किन ईश्वरीय न्यायको अर्थ बुझ्नुपर्छ?
२ यहोवाबारे बाइबल हामीलाई यस्तो आश्वासन दिन्छ: “उहाँका सबै काम न्यायसँगत छन्।” (व्यवस्था ३२:४) तर अन्यायले पीडित यस संसारमा ईश्वरीय न्यायको अर्थ बुझ्न गाह्रो छ। तथापि, परमेश्वरले कसरी न्यायसंगत व्यवहार गर्नुहुन्छ भनेर परमेश्वरको वचन मार्फत बुझ्न सक्छौं अनि उहाँका अद्भुत तौरतरिकाहरूलाई अझ बढी मूल्यांकन गर्न सक्छौं। (रोमी ११:३३) बाइबलको दृष्टिकोणअनुसार न्यायको अर्थ बुझ्नु महत्त्वपूर्ण छ किनभने न्यायबारे मानव धारणाहरूले हामी प्रभावित भएका हुनसक्छौं। मानव दृष्टिकोणमा न्याय भनेको नियमकानुनहरूको निष्पक्ष परिचालन मात्र होला। वा दार्शनिक फ्रान्सिस बेकनले लेखेझैं “मानिस जुन कुराको हकदार छ, त्यो प्रदान गर्नु नै न्याय हो।” तथापि, यहोवाको न्याय त्यतिमै सीमित छैन।
यहोवाको न्याय हृदयस्पर्शी छ
३. न्याय र धार्मिकता बुझाउन बाइबलमा प्रयोग गरिएका मौलिक शब्दहरू विचार गरेर के सिक्नसक्छौं?
३ बाइबलको मौलिक भाषामा न्याय अर्थ बुझाउने शब्दहरू ध्यान दियौं भने परमेश्वरको न्याय कत्तिको व्यापक छ, राम्ररी बुझ्नसक्छौं।a चाखलाग्दो कुरा, धर्मशास्त्रमा न्याय र धार्मिकताबीच खास उल्लेखनीय भिन्नता पाइँदैन। भनौं भने हिब्रू शब्दहरू ती दुई पदावलीको लागि साटफेर गरेर प्रयोग गरिएका छन्। जस्तै, आमोस ५:२४ मा यहोवा आफ्ना जनहरूलाई यस्तो आग्रह गर्नुहुन्छ: “न्यायचाहिं पानीझैं र धार्मिकता उर्लंदो खोलाझैं बढ़ेर बगून्।” यसबाहेक जोड दिनको लागि थुप्रै चोटि “न्याय र धार्मिकता” सँगसँगै प्रयोग भएका छन्।—भजन ३३:५; यशैया ३३:५; यर्मिया ३३:१५; इजकिएल १८:२१; ४५:९.
४. न्याय गर्नुको अर्थ के हो र न्यायको सर्वोत्तम स्तर के हो?
४ यी हिब्रू तथा युनानी शब्दहरूले कुन अर्थ बुझाउँछन्? धर्मशास्त्रीय अर्थमा न्यायी हुनु भनेको सही तथा निष्पक्ष कार्य गर्नु हो। यहोवाले नै नैतिक नियम तथा सिद्धान्तहरू अथवा सही र निष्पक्ष के हो, त्यो निर्धारण गर्नुहुने हुँदा उहाँका तौरतरिकाहरूलाई नै न्यायको उच्चतम स्तर मान्न सकिन्छ। पुरानो नियमको धर्मविज्ञानी शब्दकोश-ले (अंग्रेजी) बताएअनुसार धार्मिकता (सेदेक) अनुवाद गरिएको हिब्रू शब्दले “नीतिगत, नैतिक स्तरलाई बुझाउँछ र निस्सन्देह, पु[रानो] नि[यम]-मा त्यो स्तर परमेश्वरको स्वभाव तथा इच्छा हो।” त्यसकारण परमेश्वरले आफ्ना सिद्धान्तहरू प्रयोगमा ल्याउनुहुने तरिका अनि विशेषगरि असिद्ध मानिसहरूसित उहाँको व्यवहारले साँचो न्याय तथा धार्मिकताको महत्त्व झल्काउँछ।
५. परमेश्वरको न्यायसित कुन कुन गुणहरू गाभिएका छन्?
५ ईश्वरीय न्याय निष्ठूर र कठोर नभई हृदयस्पर्शी छ भनेर धर्मशास्त्रले स्पष्टसित देखाउँछ। दाऊदले यस्तो भजन गाए: “परमप्रभुले इन्साफ प्रेम गर्नुहुन्छ, र आफ्ना भक्तहरूलाई त्याग्नुहुन्न।” (भजन ३७:२८) ईश्वरीय न्यायले गर्दा उहाँ आफ्ना जनहरूप्रति विश्वस्तता तथा अनुकम्पा देखाउन उत्प्रेरित हुनुहुन्छ। ईश्वरीय न्याय हाम्रा भावनाहरूप्रति संवेदनशील छ र यसले हाम्रो असिद्धतालाई बुझ्छ। (भजन १०३:१४) त्यसको अर्थ, परमेश्वरले दुष्टतालाई समर्थन गर्नुहुन्छ भनेको होइन किनभने त्यसो गर्नु अन्यायलाई बढावा दिएको हुनेछ। (१ शमूएल ३:१२, १३; उपदेशक ८:११) यहोवाले मोशालाई भन्नुभयो, उहाँ “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ।” त्रुटि तथा गल्तीहरूलाई क्षमा दिन उहाँ इच्छुक हुनुहुन्छ तर दण्ड पाउनुपर्ने व्यक्तिलाई दण्ड दिन पनि चुक्नुहुन्न।—प्रस्थान ३४:६, ७.
६. यहोवा आफ्ना पार्थिव छोराछोरीहरूसित कस्तो व्यवहार गर्नुहुन्छ?
६ यहोवाले कसरी न्याय गर्नुहुन्छ भनी मनन गर्दा गल्ती गर्नेहरूलाई दण्ड दिन तम्तयार कठोर न्यायाधीशजस्तो मात्र उहाँलाई ठान्नु हुँदैन। बरु मायालु तथा दृढ पिताजस्तो ठान्नुपर्छ जसले आफ्ना छोराछोरीसित सदैव यथासम्भव अत्युत्तम ढंगमा व्यवहार गर्छ। अगमवक्ता यशैयाले यसो भने, “हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ।” (यशैया ६४:८) न्यायी तथा धार्मिक पिताको हैसियतमा यहोवा आफ्ना पार्थिव छोराछोरीहरूप्रति कोमल ढंगमा दृढ व्यवहार गर्नुहुन्छ किनभने तिनीहरूलाई कठिन परिस्थिति वा शारीरिक कमजोरीको कारण मदत वा क्षमाको खाँचो पर्छ भनी उहाँलाई थाह छ।—भजन १०३:६, १०, १३.
न्यायको परिभाषालाई स्पष्ट पार्ने
७. (क) यशैयाको भविष्यवाणीबाट हामी ईश्वरीय न्यायबारे के सिक्छौं? (ख) जातिहरूलाई न्यायबारे सिकाउन येशूले कस्तो भूमिका निर्वाह गर्नुभयो?
७ मसीहको आगमनले यहोवाको न्यायको कोमल स्वभावबारे प्रकाश पाऱ्यो। अगमवक्ता यशैयाले अगमवाणी गरेझैं येशूले ईश्वरीय न्याय सिकाउनुभयो र त्यसैअनुरुप जीवन बिताउनुभयो। स्पष्टतः थिचोमिचोमा परेका मानिसहरूप्रति कोमल व्यवहार गर्नु ईश्वरीय न्यायको एउटा पक्ष हो। अतः तिनीहरू आशै नभएजस्तो कुल्चीमिल्ची हुँदैनन्। यहोवाको “दास” येशू परमेश्वरको न्यायको यो पक्ष “जाति जातिलाई घोषणा” गर्न पृथ्वीमा आउनुभयो। ईश्वरीय न्यायको अर्थबारे जीवन्त उदाहरण प्रस्तुत गरेर उहाँले यो सर्वोत्तम ढंगमा प्रस्तुत गर्नुभयो। राजा दाऊदको “धार्मिकताको एउटा टुसा” येशू ‘न्यायको खोजी गर्न र विलम्ब नगर्न’ उत्सुक हुनुहुन्थ्यो।—यशैया १६:५; ४२:१-४; मत्ती १२:१८-२१; यर्मिया ३३:१४, १५.
८. प्रथम शताब्दीमा साँचो न्याय र धार्मिकता किन हराइसकेको थियो?
८ यहोवाको न्यायको यो पक्षबारे त्यस्तो स्पष्टीकरण दिनु विशेषगरि सा.यु. प्रथम शताब्दीमा आवश्यक पऱ्यो। यहूदी बूढापाका र धार्मिक नेताहरू—शास्त्री, फरिसी र अरू मानिसहरूले न्याय तथा धार्मिकताबारे विकृत दृष्टिकोण बताए अनि त्यही व्यवहारमा उतारेर देखाए। फलस्वरूप, शास्त्री र फरिसीहरूको माग पूरा गर्न असम्भव ठानेका सर्वसाधारण मानिसहरूले परमेश्वरको धार्मिकता प्राप्त गर्नै नसकिने रहेछ भन्ठाने। (मत्ती २३:४; लूका ११:४६) येशूले वास्तवमा यसो होइन भनेर देखाउनुभयो। यी सर्वसाधारण मानिसहरूमध्येबाट उहाँले आफ्ना चेलाहरू छान्नुभयो र तिनीहरूलाई परमेश्वरको धार्मिक स्तरहरू सिकाउनुभयो।—मत्ती ९:३६; ११:२८-३०.
९, १०. (क) शास्त्री तथा फरिसीहरूले आफ्नो धार्मिकता कसरी देखाउन खोजे? (ख) शास्त्री तथा फरिसीहरूको प्रचलन व्यर्थ थियो भनेर येशूले कसरी अनि किन देखाउनुभयो?
९ अर्कोतर्फ फरिसीहरू सबैले देख्नेगरि प्रार्थना गरेर वा चन्दा दिएर आफ्नो “धार्मिकता” देखाउने मौका खोज्थे। (मत्ती ६:१-६) आफैले बनाएका तीन थुप्रो नियम तथा आज्ञा पालन गरेर पनि तिनीहरूले आफ्नो धार्मिकता देखाउन खोजे। त्यस्ता प्रयासहरूले “न्याय र परमेश्वरको प्रेमलाई पर” पन्छाए। (लूका ११:४२) बाहिरबाट तिनीहरू धर्मी देखिन्थे होला तर भित्र भने “अत्याचार” वा अधार्मिकताले भरिएका थिए। (मत्ती २३:२८) सरल भाषामा भन्ने हो भने तिनीहरूसित परमेश्वरको धार्मिकताबारे खास ज्ञानै थिएन।
१० त्यसैकारण, येशूले आफ्ना अनुयायीहरूलाई यस्तो चेताउनी दिनुभयो: “तिमीहरूका धर्म-कर्म शास्त्री र फरिसीहरूकाभन्दा बेसी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा पस्नेछैनौ।” (मत्ती ५:२०) येशूले देखाउनुभएको ईश्वरीय न्याय र शास्त्री तथा फरिसीहरूको संकीर्ण आत्मधर्मीपनको सुस्पष्ट भिन्नताले गर्दा निकै चोटि खिचलो भयो।
ईश्वरीय न्यायको विपक्षमा विकृत न्याय
११. (क) विश्राम दिनमा निको पार्ने विषयमा फरिसीहरूले किन येशूलाई प्रश्न गरे? (ख) येशूको जवाफले के देखायो?
११ सा.यु. ३१ वसन्त ऋतुमा गालिलमा सेवकाईको दौडान सभाघरमा येशूले हात सुकेको मानिस देख्नुभयो। यो विश्राम दिन भएकोले फरिसीहरूले येशूलाई सोधे: “के विश्रामको दिनमा कसैलाई निको पार्नु उचित छ?” यो गरिब मानिसको दुःखप्रति साँचो चासो देखाउनुको साटो तिनीहरू येशूको निन्दा गर्ने निहुँ चाहन्थे भनेर तिनीहरूको प्रश्नले प्रकट गऱ्यो। यसकारण येशू तिनीहरूको असंवेदनशील हृदय देखेर दुःखी हुनुभयो! त्यसपछि उहाँले पनि तिनीहरूलाई त्यस्तै ठाडो प्रश्न गर्नुभयो: “विश्रामको दिनमा भलो गर्नु . . . उचित हो?” तिनीहरूले कुनै जवाफ नदिएपछि येशूले नै जवाफ दिंदै भन्नुभयो, विश्रामको दिनमा भेडा खाल्डोमा खस्यो भने तिनीहरूले त्यसलाई निकाल्छन् कि निकाल्दैनन्।b “भेड़ाभन्दा मानिस कति बढ़ता किम्मती हो?” येशूको तर्कलाई तिनीहरूले नकार्नै सकेनन्। “यसैकारण विश्रामको दिनमा भलो गर्नु उचित छ” भन्नुभयो। परमेश्वरको न्यायलाई कहिल्यै पनि मानव परम्पराहरूको परिधिभित्र बाँध्नु हुँदैन। यो कुरा स्पष्ट पार्नुभएपछि येशूले त्यो मानिसको हात निको पार्नुभयो।—मत्ती १२:९-१३; मर्कूस ३:१-५.
१२, १३. (क) शास्त्री तथा फरिसीहरूजस्ता नभएर पापीहरूलाई मदत गर्न येशूले कसरी चासो देखाउनुभयो? (ख) ईश्वरीय न्याय तथा आत्मधर्मीपनबीच के भिन्नता छ?
१२ शारीरिक कमजोरी भएकाहरूलाई त फरिसीहरूले हेरचाह गर्दैनथे भने आध्यात्मिक तवरमा दरिद्र भएकाहरूको वास्ता गर्ने त कुरै भएन। धार्मिकताप्रति विकृत दृष्टिकोणले गर्दा तिनीहरूले महसुल उठाउने तथा पापीहरूको बेवास्ता गरेर हेला गर्न थाले। (यूहन्ना ७:४९) तैपनि त्यस्ता थुप्रै व्यक्तिहरूले येशूको शिक्षा स्वीकारे किनभने उहाँ न्याय गर्न होइन तर मदत गर्न इच्छुक हुनुहुन्छ भन्ने भेउ पाए। (मत्ती २१:३१; लूका १५:१) तथापि, आध्यात्मिक तवरमा बिरामी परेकाहरूलाई निको पार्ने येशूको प्रयासलाई फरिसीहरूले तुच्छ ठाने। “यस मानिसले ता पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसित खान्छ” भनी फरिसीहरू र शास्त्रीहरू गनगनाउनलागे। (लूका १५:२) तिनीहरूको आलोचनाको प्रत्युत्तरमा येशूले पुनः एउटा भेडा र गोठालाको उदाहरण चलाउनुभयो। हराएको भेडा पाएपछि गोठालो रमाएझैं पापीले पश्चात्ताप गरेपछि स्वर्गदूतहरू पनि त्यस्तै रमाहट गर्छन्। (लूका १५:३-७) जक्कैलाई पहिलेको पापी मार्गबाट पश्चात्ताप गर्ने मदत दिन सक्नुहुँदा येशू रमाउनुभयो। उहाँले भन्नुभयो, “मानिसको पुत्र हराएकाहरूलाई खोज्न र उद्धार गर्न आएको हो।”—लूका १९:८-१०.
१३ यी मुठभेडहरूले निको पार्न तथा बचाउन खोज्ने ईश्वरीय न्याय तथा थोरैलाई उच्च पारेर धेरैलाई निन्दा गर्ने आत्मधर्मीपनबीचको भिन्नतालाई सुस्पष्ट पार्छ। खोक्रो रीतिथिति तथा मानिसका परम्पराहरूले शास्त्री तथा फरिसीहरूलाई हठी बनाए अनि अहम् भाव राख्न थाले तर तिनीहरूले “व्यवस्थाका . . . तीभन्दा गहकिला कुराहरू, अर्थात् न्याय, दया र विश्वास” छोडेका थिए भनी येशूले सही कुरा औंल्याउनुभयो। (मत्ती २३:२३) हाम्रो सम्पूर्ण तौरतरिकामा साँचो न्याय व्यवहारमा उतार्न तथा आत्मधर्मीपनको खतराबारे सजग हुन येशूको अनुकरण गर्नसकौं।
१४. ईश्वरीय न्यायले मानिसहरूको परिस्थितिलाई विचार गर्छ भनी येशूले गर्नुभएको चमत्कारले कसरी देखाउँछ?
१४ येशूले फरिसीहरूको मनपरी नियमको वास्ता नगर्नुभए तापनि मोशालाई दिइएको व्यवस्था पालन गर्नुभयो। (मत्ती ५:१७, १८) यसो गर्दा उहाँले मोशाको धार्मिक व्यवस्थाको सिद्धान्तलाई देखावटीपनले ढाकछोप गर्न दिनुभएन। बाह्र वर्षदेखि रगत बग्ने व्यथा लागेकी आइमाई येशूको लुगा छोएर निको भएपछि उहाँले त्यसलाई भन्नुभयो, “ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसित जाऊ।” (लूका ८:४३-४८) परमेश्वरको न्यायले त्यस स्त्रीको परिस्थितिलाई बुझेको थियो भनेर येशूका समानुभूतिशील शब्दहरूले पुष्टि दिए। तिनी वास्तवमा अशुद्ध थिइन् र हूलमूलमा घुसेर मोशाको व्यवस्था भंग गरेकी थिइन् तर तिनको विश्वास इनामको योग्य थियो।—लेवी १५:२५-२७; तुलना गर्नुहोस् रोमी ९:३०-३३.
धार्मिकता सबैका लागि हो
१५, १६. (क) दयालु सामरीसम्बन्धी येशूको उखानले न्यायबारे के सिकाउँछ? (ख) हामी किन “ज्यादै धर्मी” हुनु हुँदैन?
१५ येशूले ईश्वरीय न्यायको अनुकम्पापूर्ण व्यवहारलाई जोड दिनुको अलावा सबै मानिसहरूप्रति त्यस्तो न्याय देखाउनुपर्छ भनी आफ्ना चेलाहरूलाई सिकाउनुभयो। येशूले ‘जाति जातिहरूका बीचमा न्याय ल्याऊन्’ भन्ने यहोवाको इच्छा हो। (यशैया ४२:१) येशूको सबैभन्दा प्रख्यात उखान अर्थात् दयालु सामरीको उदाहरणमा उहाँले यही बुँदा प्रस्ट पार्दै हुनुहुन्थ्यो। “आफैलाई धार्मिक ठहराउने इच्छा” गर्ने व्यवस्थाका अध्यापकको प्रश्नको जवाफमा उहाँले उक्त उखान भन्नुभयो। यहूदीहरूप्रति मात्र छिमेकीको कर्त्तव्य पूरा गर्ने इच्छा गर्दै तिनले सोधे, “मेरो छिमेकी चाहिं को हो त?” येशूको उखानको सामरीले ईश्वरीय धार्मिकता देखाए किनभने तिनी अर्कै जातिको अपरिचित मानिसको लागि आफ्नो समय र पैसा खर्च गर्न इच्छुक थिए। येशूले उक्त प्रश्न सोध्ने व्यक्तिलाई उखानको अन्तमा यस्तो सुझाउ दिनुभयो: “तिमी पनि त्यसै गर।” (लूका १०:२५-३७) मानिसहरूको जातीय वा साम्प्रदायिक पृष्ठभूमिको बावजूद हामीले सबैप्रति भलाइ गरेका छौं भने परमेश्वरको न्याय अनुकरण गरिरहेका हुनेछौं।—प्रेरित १०:३४, ३५.
१६ अर्कोतर्फ शास्त्री तथा फरिसीहरूको उदाहरणले हामीलाई ईश्वरीय न्याय देखाउनुको अर्थ “ज्यादै धर्मी” नहुनु हो भन्ने कुरा सम्झाउँछ। (उपदेशक ७:१६) देखावटी धार्मिकता वा मानिसहरूले बनाएका नियमहरूलाई अचाक्ली महत्त्व दिंदा हामीले परमेश्वरको अनुमोदन पाइरहेका हुँदैनौं।—मत्ती ६:१.
१७. हामीले ईश्वरीय न्याय देखाउनु किन अत्यन्तै महत्त्वपूर्ण छ?
१७ परमेश्वरको न्यायबारे येशूले जाति जातिलाई स्पष्ट पार्नुको एउटा कारण त उहाँका सबै चेलाहरूले यो गुण प्रदर्शन गर्न सिकून् भनेर हो। यो किन यत्तिको महत्त्वपूर्ण छ? धर्मशास्त्रले हामीलाई “परमेश्वरका देखा-सिकी” गर्न आग्रह गर्छ र परमेश्वरका सारा तौरतरिकाहरू न्यायपूर्ण छन्। (एफिसी ५:१) त्यस्तैगरि मीका ६:८ ले बताएअनुसार हामी परमेश्वरसँगसँगै हिंड्दा हामीले ‘न्याय गरोस्’ भन्ने उहाँ चाहनुहुन्छ। साथै, यहोवाको क्रोधको दिनमा बच्ने हो भने हामीले त्यो दिन आउनुअगावै “धार्मिकता” खोज्नुपर्छ भनी सपन्याह २:२, ३ ले सम्झाउँछ।
१८. यसपछिको लेखमा कुन कुन प्रश्नको जवाफ दिइनेछ?
१८ त्यसकारण, न्याय देखाउने “ग्रहणयोग्य समय अहिले” डरलाग्दो आखिरी दिनमै हो। (२ कोरिन्थी ६:२) अय्यूबले जस्तै ‘धार्मिकतालाई लुगाजस्तै पहिऱ्यौं’ अनि ‘इन्साफलाई पोशाकजस्तै लगायौं’ भने यहोवाले हामीलाई आशिष् दिनुहुनेछ भनी ढुक्क हुनसक्छौं। (अय्यूब २९:१४) यहोवाको न्यायमाथिको भरोसाले हामीलाई कसरी भविष्यप्रति निर्धक्क हुन मदत गर्नेछ? यसबाहेक, धार्मिक “नयाँ संसार” पर्खुञ्जेल ईश्वरीय न्यायले हामीलाई आध्यात्मिक तवरमा कसरी जोगाउँछ? (२ पत्रुस ३:१३) यसपछिको लेखले यी प्रश्नहरूको जवाफ दिनेछ।
[फुटनोटहरू]
a हिब्रू धर्मशास्त्रमा तीनवटा प्रमुख शब्दहरू प्रयोग भएका छन्। एउटा (मिश्पात) प्रायजसो “न्याय” भनेर अनुवाद गरिन्छ। अर्को दुइवटा (सेदेक र त्योसित मिल्ने शब्द सेदेका) प्रायजसो “धार्मिकता” भनेर अनुवाद गरिन्छ। “धार्मिकता” (डाइकाइयोसाइन) भनी अनुवाद गरिएको युनानी शब्दलाई “सही वा न्यायी हुने गुण” भनेर परिभाषित गरिन्छ।
b येशूको उदाहरण उपयुक्त थियो किनभने यहूदीहरूको मौखिक व्यवस्थाले विश्रामको दिन कठिनाइमा परेको पशुलाई उद्धार गर्ने अनुमति दिएको थियो। अरू थुप्रै अवसरहरूमा मुख्यतया विश्रामको दिनमा निको पार्नु उचित हो या होइन भन्ने विषयलाई लिएर वादविवाद भएको थियो।—लूका १३:१०-१७; १४:१-६; यूहन्ना ९:१३-१६.
के तपाईं बुझाउन सक्नुहुन्छ?
◻ ईश्वरीय न्यायको अर्थ के हो?
◻ येशूले जाति जातिहरूलाई कसरी न्यायबारे सिकाउनुभयो?
◻ फरिसीहरूको धार्मिकता किन विकृत थियो?
◻ हामीले किन न्याय देखाउनुपर्छ?
[पृष्ठ ८-मा भएको चित्र]
येशूले ईश्वरीय न्यायको व्यापकतालाई प्रस्ट पार्नुभयो