के तपाईंले सही धर्म भेट्टाउनु भएको छ?
“[यो नै] हाम्रा परमेश्वर र पिताको सामने शुद्ध धर्म हो।”—याकूब १:२७.
हामी त्यस्तो युगमा बाँच्दैछौं जहाँ मानिसहरू आफ्नो जीवनमा धर्मलाई न्यून महत्त्व दिन पाए सन्तुष्ट हुन्छन्। तिनीहरू कुनै कुनै धार्मिक उपासनामा सरिक होलान् तर कमै मात्र नियमित छन्। आफ्नो धर्म मात्र सही बाँकि सबै गलत भन्ने धारणा आज धेरैको छैन। शायद आफ्नो धर्म तिनीहरूलाई उपयुक्त नै लागेको हुनसक्छ।
२ यी कुराहरूलाई ध्यानमा राख्दा प्रश्न उठ्छ, के तपाईंले सही धर्म भेट्टाउनु भएको छ भनी सोध्नुको अर्थ के लाग्छ? के त्यसको अर्थ तपाईंले आफूलाई मन पर्ने धर्म भेट्टाउनुभयो, भन्ने मात्रै हो त? तपाईंलाई के मन पर्छ त्यसको निर्णय कसले गर्छ? तपाईंको परिवारले? तपाईंका मित्रहरूले? तपाईंका अनुभूतिहरूले? यस सम्बन्धमा परमेश्वरको दृष्टिकोण के छ भनेर तपाईंले कतिको गम्भीरतापूर्वक विचार गर्नुभएको छ?
हामी कसरी परमेश्वरको दृष्टिकोण थाहा लगाउन सक्छौं?
३ परमेश्वरले के सोच्नुहुन्छ भनी थाहा लगाउने हो भने, प्रथमतः उहाँ आफैले केही कुरा प्रकट गर्नुभएको हुनुपर्छ। ईश्वरीय प्रेरणाको दाबी गर्ने सबैभन्दा प्राचीन पुस्तक बाइबल हो। (२ तिमोथी ३:१६, १७) तर अरूको तुलनामा यस पुस्तकमा मानवजातिको लागि ईश्वरीय समाचार पाइन्छ भनेर कुनै औचित्यका साथ भन्न सकिन्छ र? यसको जवाफ तपाईं कसरी दिनुहुन्छ र किन? कतै तपाईंको बाबुआमाको दृष्टिकोणले गर्दा त्यसो भन्नु भएको त होइन? या तपाईंका सँगीसाथीहरूको मनोवृत्तिले गर्दा पो हो कि? के तपाईं आफैले प्रमाणहरू जाँच्नु भएको छ? उसोभए निम्न चार प्रमाणहरूलाई केलाएर जाँच्नु भए कसो होला?
४ उपलभ्य: कुनै समाचार साँच्चै नै परमेश्वरबाट आएको हो र सबै मानिसहरूका लागि हो भने त्यो सर्वत्र उपलब्ध हुनुपर्छ। के बाइबलको सम्बन्धमा यो कुरा लागू हुन्छ? यसलाई विचार गर्नुहोस्: अहिले बाइबलको आंशिक वा पूरा खण्ड २,००० भन्दा बढी भाषाहरूमा प्रकाशित भइसकेको छ। अमेरिकन बाइबल सोसाइटीको भनाइअनुसार झण्डै एक दशकअघि अन्य भाषाहरूमा अनुवाद गरिएकोले विश्व जनसङ्ख्याको ९८ प्रतिशतले बाइबल पढ्न पाउन सक्छ। गिनेस बुक अफ वर्ल्ड रेकर्डस को तथ्याङ्कअनुसार “विश्वको सबैभन्दा व्यापक वितरित पुस्तक” बाइबल हो भन्नुमा दुई मत छैन। हुन पनि सबै जाति, राष्ट्र अनि भाषा-भाषीहरूका लागि परमेश्वरले दिनु भएको समाचारबाट हामी यही अपेक्षा गर्छौं, होइन र? (प्रकाश १४:६ तुलना गर्नुहोस्।) अरू कुनै पुस्तकको त्यस्तो रेकर्ड छैन।
५ ऐतिहासिकता: बाइबलका विवरणहरूलाई राम्ररी जाँचेर हेर्दा पवित्र शास्त्र हो भनी दाबी गर्ने अन्य पुस्तकहरूभन्दा बाइबल भिन्न छ भनी प्रष्ट्याउने अर्को एउटा कारण भेटिन्छ। बाइबलमा प्रमाणित गर्न नसकिने किंवदन्तीहरू नभइ ऐतिहासिक तथ्यहरू पाइन्छन्। अदालतमा पुर्पक्षको प्रमाण पेश गर्दा ध्यान दिनुपर्ने कुराहरू छानबिन गर्न अनुभवी भइसकेका वकिल, अरविन लिन्टनले यो लेखे: “रोमाञ्चकारी घटना, किंवदन्ती र झूटा बयानले घटनाहरूलाई होशियारीपूर्वक कुनै अनिश्चित कालअघि अनिर्धारित ठाउँमा भएको घटनाको रूपमा प्रस्तुत गर्छ। . . . तर बाइबलका वृतान्तहरूले अति यथार्थताका साथ घटनाको समय र ठाउँ बताउँछ।” (उदाहरणको लागि १ राजा १४:२५; यशैया ३६:१; लूका ३:१, २ हेर्नुहोस्।) यथार्थताबाट उम्कन होइन तर सत्य भेट्टाउन धर्मको खोजी गर्नेहरूका लागि यो महत्त्वपूर्ण अनि विचारणीय कुरा हो।
६ व्यवहारिकता: गम्भीरतापूर्वक बाइबलको जाँच गर्नेहरू त्यसका आज्ञा तथा सिद्धान्तहरू अरूको शोषण गर्न बनिएका होइनन् भन्ने निष्कर्षमा छिट्टै आइपुग्छन्। बरु ती आज्ञा तथा सिद्धान्तहरू राम्ररी पालन गर्नेहरूका लागि त्यसले फाइदाजनक जीवनपद्धति देखाउँछ। (यशैया ४८:१७, १८) व्याकुल व्यक्तिहरूलाई यसले दिने सान्त्वना निरर्थक दर्शनहरूमा आधारित अनि खोक्रो छैन। बरु त्यसले जीवनका कटु वास्तविकताहरूको सामना गर्न मानिसहरूलाई मदत दिन्छ। तर कसरी? तीन तरिकाहरूद्वारा: (१) समस्याहरूको समाधान गर्ने ठोस सल्लाह दिएर, (२) परमेश्वरले आफ्ना सेवकहरूलाई अहिले दिनुहुने मायालु सहयोग प्राप्त गर्ने उपाय वर्णन गरेर, (३) आफ्नो सेवा गर्नेजतिका लागि परमेश्वरले साँच्नुभएको उज्ज्वल भविष्य प्रकट गर्दै अनि उहाँका प्रतिज्ञाहरूमाथि भरोसा गर्ने ठोस कारणहरू दिएर।
७ अख्तियार उल्लङ्घन गर्ने अनि आत्मविलासीहरूबीच बाइबलका सिद्धान्तहरू लोकप्रिय नभए तापनि त्यस्ता जीवनले कुनै वास्तविक आनन्द नदिएको अनुभव धेरैले गरिसकेका छन्। (गलाती ६:७, ८) बाइबलले गर्भपात, पारपाचुके र समलैङ्गिकतासित सम्बन्धित प्रश्नहरूको स्पष्ट जवाफ दिन्छ। लागू पदार्थ तथा मद्यपानको दुरुपयोग र दूषित रगत वा लैङ्गिक स्वछन्दताद्वारा सर्ने एड्स बाट जोगिन त्यसका सल्लाहहरूले सुरक्षा प्रदान गर्छ। सुखी परिवार कसरी बनाउने भनेर त्यसले बताउँछ। घनिष्ठ स्वजनहरूको माया पाउन नसक्दा, डरलाग्दो रोगले ग्रस्त हुँदा र प्रियजनको मृत्यु हुँदा लगायत जीवनका साह्रै तनावपूर्ण परिस्थितिको सामना गर्नुपर्दा यसले बल प्रदान गर्ने जवाफहरू दिन्छ। हाम्रो जीवन खेदपूर्ण नभइ अर्थपूर्ण बनाउन यसले हामीलाई आफ्ना प्राथमिकताहरू बुझ्ने मदत दिन्छ।a
८ भविष्यवाणी: भविष्यमा हुने घटनाहरूलाई पूर्ण विवरणसहित बताउने पुस्तकको रूपमा बाइबल अनुपम छ। पुरातन टायरको नाश, बेबिलोनको पतन, यरूशलेमको पुनर्निर्माण, मादी-फारसी तथा युनानी राजाहरूको उत्थान अनि पतन र येशू ख्रीष्टको जीवनसँग सम्बन्धित थुप्रै घटनाहरूबारे यसले भविष्यवाणी गरेको थियो। यस शताब्दीमा प्रष्ट देखिएका विश्व परिस्थितिहरूबारे पनि यसले पूर्ण विवरणसहित भविष्यवाणी गरेको थियो र ती परिस्थितिहरूको सार्थकता पनि यसले बताउँछ। मानव शासकहरूलाई व्याकुल पार्ने समस्याहरू कसरी समाधान हुनेछन् भनेर देखाउनुको साथै यसले मानवजातिलाई चिरकालीन शान्ति र साँचो सुरक्षा प्रदान गर्नुहुने शासकको चिनारी दिन्छ।b—यशैया ९:६, ७; ११:१-५, ९; ५३:४-६.
९ उल्लेखनीय कुरा, ईश्वरत्वको जाँचस्वरूप बाइबलले ठीक भविष्यवाणी गर्न सक्ने आफ्नो क्षमता प्रस्तुत गर्छ। (यशैया ४१:१–४६:१३) त्यसरी भविष्यवाणी गर्न सक्ने वा भविष्यवाणी बोल्न प्रेरित गराउन सक्ने व्यक्ति निर्जीव मूर्ति हुनुहुन्न। न ता उहाँ भक्त मानव मात्र हुनुहुन्छ। उहाँ साँचो परमेश्वर हुनुहुन्छ र त्यस्तो भविष्यवाणी भएको पुस्तक उहाँको वचन हो।—१ थिस्सलोनिकी २:१३.
बाइबल प्रयोग गर्ने जति सबैले के सही धर्म सिकाइरहेका हुन्छन्?
१० बाइबल प्रयोग गर्छु भनी दाबी गर्ने सबै धार्मिक सम्प्रदायले साँचो धर्म सिकाउँछ भन्ने निष्कर्षमा आउनु के तर्कसङ्गत अथवा अझ भन्ने हो भने शास्त्रीय कुरा हो? बाइबल बोक्ने वा उद्धरण गर्नेजति सबैले के सही धर्म पालन गरिरहेका हुन्छन्?
११ अधिकांश पादरीहरूसित बाइबल भए तापनि धर्मलाई आफ्नो महिमा गर्ने साधनको रूपमा तिनीहरू चलाउँछन्। रीतिथिति र मानव दर्शनहरू मिसाएर तिनीहरूले विशुद्ध सत्यलाई धमिल्याउँछन्। के तिनीहरूको उपासना परमेश्वरलाई स्वीकार्य छ? प्रथम शताब्दीतिर यस्तै चाल चलिरहेका यरूशलेमका धार्मिक नेताहरूमाथि येशूले अगमवक्ता यशैया मार्फत् परमेश्वरले गर्नुभएको घोषणाको एकदम सुहाउँदो प्रयोग गर्नुभयो। उहाँले भन्नुभयो: “यस जातिले आफ्नो ओठले मेरो आदर गर्दछ। तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। औ मानिसहरूको आदेशहरू तिनका सिद्धान्त जस्तागरी तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्।” (मत्ती १५:८, ९; २३:५-१०) स्पष्ट छ, त्यसप्रकारको धर्म साँचो धर्म होइन।
१२ ठूला-ठालु धर्मपन्थीहरूको जीवनमा प्रकट भइरहेको कुनै धार्मिक शिक्षाको फल खराब छ भने के भन्न सकिन्छ? डाँडाको उपदेशमा येशूले यस्तो चेतावनी दिनुभयो: “झूटा अगमवक्ताहरूदेखि होशियार रह, . . . तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। . . . हरेक असल रूखले बढ़िया फल फलाउँछ। तर बिग्रेको रूखले खराब फल फलाउँछ।” (मत्ती ७:१५-१७) हो, कुनै व्यक्ति विशेषले खराब काम गर्ला र उसलाई अनुशासनको आवश्यकता पनि पर्ला। तर चर्चका सदस्यहरू र पादरीहरूको कुरा अर्कै छ। करणी र व्यभिचार, झै-झगडा, मतवालापन, लोभ, झूट, प्रेतवाद, मूर्तिपूजा जस्ता कुरामध्ये एक वा सबैमा लाग्दा पनि तिनीहरूलाई कुनै अनुशासन दिइँदैन र त्यस्ता काम गर्न नछाड्नेहरूलाई मण्डलीबाट बहिष्कार गरिंदैन। जबकि त्यस्ता काममा लाग्नेहरूलाई मण्डलीबाट बहिष्कार गर्नुपर्छ भनेर बाइबलले प्रष्ट बताउँछ; परमेश्वरको राज्यमा तिनीहरूको कुनै स्थान हुनेछैन। (गलाती ५:१९-२१) तिनीहरूको उपासनाले परमेश्वरलाई प्रसन्न पार्दैन न त उहाँले त्याग्नु भएकाहरूसित हामीले सङ्गत गर्न रुचायौं भने हाम्रो उपासनाले पनि उहाँलाई प्रसन्न पार्नेछ।—१ कोरिन्थी ५:११-१३; ६:९, १०; प्रकाश २१:८.
१३ बाइबल प्रयोग गर्छु भनी दाबी गर्ने सबै सम्प्रदायले बाइबलको साँचो धर्म पालन गरेको हुँदैन भन्ने कुरा स्पष्ट छ। त्यसोभए, साँचो धर्मको चिनारीस्वरूप बाइबलले कस्ता गुणहरू बताउँछ?
साँचो धर्मका चिनारीहरू
१४ त्यसका शिक्षाहरू प्रेरित शास्त्रमा ठोस आधारित हुन्छन्। “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६) तर बाइबलको कुन ठाउँमा मसीहीजगतको त्रिएकको उल्लेख पाइन्छ? अनि शरीरको मृत्युपश्चात् मानिसको आत्मा जीवितै रहन्छ भनेर पादरीहरूले जस्तै बाइबलले कहाँ भनेको छ? के तपाईंले पादरीहरूलाई बाइबलबाट ती शिक्षाहरू देखाउने आग्रह गर्नुभएको छ? द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका ले यसो भन्छ: “नयाँ नियममा न त्रिएक शब्द न ता त्रिएकको सुष्पष्ट सिद्धान्त नै पाइन्छ।” (१९९२, माइक्रोपीडिया, खण्ड ११, पृष्ठ ९२८) र न्यु क्याथोलिक इनसाइक्लोपीडिया ले यसरी स्वीकार्छ: “प्रेरित पिताहरूबीच त्यस्तो मानसिकता अथवा दृष्टिकोणको भेउ समेत थिएन।” (१९६७, खण्ड १४, पृष्ठ २९९) मृत्युपर्यन्त शरीरबाट अलग हुने आत्माबारे मसीहीजगतको सिद्धान्तको कुरा गर्ने हो भने, त्यस्तो विचार युनानी दर्शनबाट पैंचो लिएको हो भनेर चर्चका शास्त्रज्ञहरू मानी लिन्छन्। तथापि, साँचो धर्मले मानव दर्शनको खातिर बाइबलका सिद्धान्तहरूलाई अवहेलना गर्दैन।—उत्पत्ति २:७; व्यवस्था ६:४; इजकिएल १८:४; यूहन्ना १४:२८.
१५ साँचो धर्मले एकमात्र साँचो परमेश्वर यहोवाको उपासनालाई समर्थन गर्छ। (व्यवस्था ४:३५; यूहन्ना १७:३) व्यवस्था ५:९ लाई येशू ख्रीष्टले दृढतापूर्वक आफ्नै शब्दहरूमा यसो भन्नुभयो: “तैंले परमप्रभु [यहोवा, न्यु व.] आफ्ना परमेश्वरलाई दण्डवत गर्नू, औ उहाँको मात्र सेवा गर्नू।” (मत्ती ४:१०) यसअनुरूप उहाँले आफ्ना चेलाहरूलाई आफ्नो पिताको नाउँ चिनाउनु भयो। (यूहन्ना १७:२६) के तपाईंको धर्मले यहोवाको उपासना गर्न सिकाएको छ? निर्धक्क भएर उहाँको समीप आउन सक्नेगरि के तपाईंले त्यस नाउँद्वारा परिचित व्यक्तिको उद्देश्य, क्रियाकलाप अनि गुणहरू थाहा पाइसक्नु भएको छ? तपाईंको धर्म साँचो हो भने, त्यसको जवाफ सकारात्मक हुनेछ।—लूका १०:२२; १ यूहन्ना ५:१४.
१६ परमेश्वरलाई प्रसन्न पार्ने उपासनाको एउटा महत्त्वपूर्ण भाग उहाँको पुत्र, येशू ख्रीष्टमाथि विश्वास गर्नु हो। (यूहन्ना ३:३६; प्रेरित ४:१२) यसको अर्थ उहाँ कुनै समय यस पृथ्वीमा हुनुहुन्थ्यो अथवा उहाँ असाधारण व्यक्ति हुनुहुन्थ्यो भनेर विश्वास गर्नु मात्र होइन। येशूको सिद्ध मानव शरीरको बलिदानबारे बाइबलले दिने शिक्षाको मूल्याङ्कन गर्नु अनि स्वर्गीय राजाको हैसियतमा अहिले उहाँको स्थानलाई स्वीकार्नु त्यसमा समावेश छ। (भजनसंग्रह २: ६-८; यूहन्ना ३:१६; प्रकाश १२:१०) साँचो धर्म पालन गर्नेहरूसित सङ्गत गर्दै हुनुहुन्छ भने तपाईंलाई अवश्य थाहै होला, दैनिक जीवनमा येशूको आज्ञा पालन गर्न, उहाँको नमूना अनुकरण गर्न र चेलाहरूलाई अह्राउनुभएको काममा व्यक्तिगत तवरमा अनि जोशका साथ भाग लिन तिनीहरू इमान्दारीपूर्वक प्रयत्न गर्छन्। (मत्ती २८:१९, २०; यूहन्ना १५:१४; १ पत्रुस २:२१) यदि तपाईंका सह-उपासकहरूमा यी कुराहरू पाउनुहुन्न भने तपाईंले अन्यत्र हेर्नु मुनासिब हुनेछ।
१७ साँचो धर्म राजनैतिक तथा सांसारिक विवादहरूले कलङ्कित हुँदैन। (याकूब १:२७) तर किन? किनभने आफ्ना चेलाहरूबारे येशूले यसो भन्नुभयो: “जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्।” (यूहन्ना १७:१६) येशूले राजनीतिमा हात हाल्नु भएन र आफ्ना अनुयायीहरूलाई लौकिक हात-हतियार चलाउनदेखि रोक्नु भयो। (मत्ती २६:५२) परमेश्वरको वचनलाई हृदयङ्गम गर्नेजतिले “अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।” (यशैया २:२-४) कुनै धर्मसित नाउँ मात्रको सम्बन्ध छ भने पनि यदि यो विवरण मेल खाँदैन भने त्यसबाट अलग हुने बेला अहिले हो।—याकूब ४:४; प्रकाश १८:४, ५.
१८ साँचो धर्मले निःस्वार्थ प्रेम गर्न सिकाउनुका साथै अभ्यास पनि गर्छ। (यूहन्ना १३:३५; १ यूहन्ना ३:१०-१२) त्यस्तो प्रेम उपदेशहरूमा मात्रै वर्णन गरिंदैन। सबै जाति, सबै आर्थिक स्तर, सबै भाषा र सबै राष्ट्रहरूका मानिसहरूलाई त्यसले साँच्चै नै एउटा साँचो भ्रातृत्वमा बाँध्छ। (प्रकाश ७:९, १०) त्यसले साँचो मसीहीहरूलाई वरपरको संसारदेखि भिन्न बनाउँछ। यदि यहोवाका साक्षीहरूको राज्य भवनमा हुने सभाहरूका साथै तिनीहरूका ठूल-ठूला सम्मेलनहरू धाउनु भएको छैन भने धाउनुहोस्। वृद्धहरू (विधवाहरूलाई पनि) र जवानहरूसित (आमा वा बाबु मात्र भएको अथवा दुवै नभएकाहरूलाई पनि) तिनीहरूले गर्ने व्यवहारलाई अवलोकन गर्नुहोस्। (याकूब १:२७) आफूले देखेका कुराहरूलाई अरू धर्ममा देख्नुभएका कुराहरूसित दाँज्नुहोस्। त्यसपछि आफैलाई सोध्नुहोस्, ‘यीमध्ये कसले साँचो धर्म पालन गर्छ?’
१९ साँचो धर्मले परमेश्वरको राज्यलाई मानवजातिका समस्याहरूको चिरस्थायी समाधानको रूपमा समर्थन गर्छ। (दानिएल २:४४; ७:१३, १४; २ पत्रुस ३:१३; प्रकाश २१:४, ५) के मसीहीजगतको कुनै चर्चले त्यसो गर्छ? परमेश्वरको राज्य र त्यसले पूरा गर्ने कुराहरूबारे शास्त्रले के बताउँछ भनी पादरीले अन्तिम पटक बोलेको कहिले सुन्नु भएको थियो? के तपाईंको संगठनले तपाईंलाई अरूसित परमेश्वरको राज्यबारे बताउन प्रोत्साहन दिन्छ? दिन्छ भने के सबै सदस्यहरूले त्यसमा भाग लिन्छन्? माथि भनेझैं येशूले प्रचार गर्नुभयो; उहाँका प्रारम्भिक चेलाहरूले पनि यसै गरे। तपाईंले पनि यस क्रियाकलापमा भाग लिने सुअवसर पाउन सक्नुहुन्छ। आज पृथ्वीमा भइरहेको सबैभन्दा महत्त्वपूर्ण काम यही हो।—मत्ती २४:१४.
२० धर्महरू हजारौं भए तापनि बाइबलले हामीलाई तुरुन्त भ्रममुक्त भइ साँचो धर्म चिन्न मदत गर्छ। तर हामीले साँचो धर्म चिनेर मात्र पुग्दैन। साँचो धर्म पालन गर्नु पनि अत्यावश्यक छ। यसमा के के समावेश छन् भनेर अर्को लेखमा विस्तृत छलफल गरिनेछ। (w94 6/1)
[फुटनोटहरू]
a गर्भपात: प्रेरित १७:२८; भजनसंग्रह १३९:१, १६; प्रस्थान २१:२२, २३. पारपाचुके: मत्ती १९:८, ९; रोमी ७:२, ३. समलैङ्गिकता: रोमी १:२४-२७; १ कोरिन्थी ६:९-११. लागूपदार्थ तथा मद्यपानको दुरुपयोग: २ कोरिन्थी ७:१; लूका १०:२५-२७; हितोपदेश २३:२०, २१; गलाती ५:१९-२१. रगत अनि लैङ्गिक स्वछन्दता: प्रेरित १५:२८, २९; हितोपदेश ५:१५-२३; यर्मिया ५:७-९. परिवार: एफिसी ५:२२–६:४; कलस्सी ३:१८-२१. स्वजनद्वारा तिरस्कृत: भजनसंग्रह २७:१०; मलाकी २:१३-१६; रोमी ८:३५-३९. रोग: प्रकाश २१:४, ५; २२:१, २; तितस १:२; भजनसंग्रह २३:१-४. मृत्यु: यशैया २५:८; प्रेरित २४:१५. प्राथमिकता: मत्ती ६:१९-३४; लूका १२:१६-२१; १ तिमोथी ६:६-१२.
b यस्ता भविष्यवाणीहरू र त्यसका पूर्तिहरूको नमूनाका लागि द बाइबल—गड्स वर्ड अर म्यान्स? पुस्तकको पृष्ठ ११७-६१; र रीजनिङ्ग फ्रम द स्क्रिप्चर्स को पृष्ठ ६०-२, २२५-३२, २३४-४० हेर्नुहोस्। यी दुवै पुस्तक वाचटावर बाइबल एण्ड ट्रयाक्ट सोसाइटी अफ न्यु योर्क, इन्कर्पोरेटेडद्वारा प्रकाशित भएका हुन्।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
▫ सही धर्म चिन्न कसको दृष्टिकोण सर्व महत्त्वपूर्ण छ?
▫ कुन चार वटा प्रमाणहरूले बाइबल परमेश्वरको वचन हो भनी देखाउँछ?
▫ बाइबल प्रयोग गर्ने सबै धर्महरू किन परमेश्वरका लागि स्वीकार्य छैन?
▫ एक मात्र साँचो धर्मका छ वटा चिनारीहरू के के हुन्?
[अध्ययनका लागि प्रश्नहरू]
१, २. (क) धेरैको सोचाइअनुसार आफ्नो धर्म सही हो वा होइन भनेर कुन कुराले निर्धारण गर्छ? (ख) धर्मको जाँच गर्दा कुन कुरालाई गम्भीरतापूर्वक सोच्नुपर्छ?
३. (क) परमेश्वरको दृष्टिकोण जान्न हामीसित के उपलब्ध हुनुपर्छ? (ख) बाइबल परमेश्वरको वचन हो भनी व्यक्तिगत रूपमा विश्वास गर्नुको कारणबारे के के सोधिनु पर्छ?
४. उपलभ्यताको सन्दर्भमा बाइबल मात्र परमेश्वरको वचन हो भनेर कुन कुराले देखाउँछ?
५. बाइबलको ऐतिहासिक आधारशिला किन सार्थक छ?
६. (क) जीवनका समस्याहरूसँग जुझ्न बाइबलले साँच्चै नै एक व्यक्तिलाई कसरी मदत गर्छ? (ख) कटु वास्तविकताहरूको सामना गर्न कुन तीन तरिकाहरूमा बाइबलले एक व्यक्तिलाई सहयोग दिन्छ?
७. (क) आज मानिसहरूलाई चिन्तित पार्ने मुख्य विषयहरूबारे बाइबलले के जवाफ दिन्छ? फुटनोटमा दिइएका शास्त्रपदहरू चलाउँदै वर्णन गर्नुहोस्। (ख) तनावपूर्ण परिस्थितिबाट उम्कन वा त्यसको सामना गर्न बाइबलको सल्लाहले हामीलाई कसरी मदत गर्छ भनी देखाउनुहोस्।
८, ९. (क) बाइबल प्रेरित वचन हो भनेर तपाईंलाई व्यक्तिगत रूपमा कुन चाहिं भविष्यवाणीले प्रभावित गर्छ? (ख) बाइबलका भविष्यवाणीहरूले आफ्नो स्रोतबारे के प्रमाणित गर्छ?
१०, ११. पादरीले बाइबलको प्रयोग गरे तापनि येशूले बताउनु भएअनुसार कुन चाहिं कुराले तिनीहरूले समर्थन गर्ने धर्म मूल्यहीन छ भनेर देखाउन सक्छ?
१२, १३. (क) चर्चका सदस्यहरूको चालचलनले धर्म सही हो वा होइन भनेर निर्णय गर्न कुनै पनि व्यक्तिलाई कसरी मदत गर्नसक्छ? (ख) परमेश्वरले त्याग्नु भएकाहरूसँग सङ्गत गर्न रुचायौं भने उहाँले हाम्रो उपासनालाई कुन दृष्टिले हेर्नुहुनेछ? (२ इतिहास १९:२)
१४. (क) साँचो धर्मका सबै शिक्षाहरू कुन कुरामा आधारित हुन्छन्? (ख) परमेश्वर र आत्माबारे मसीहीजगतले दिने शिक्षाहरूले यो परीक्षामा कस्तो नतिजा ल्याउँछ?
१५. (क) उपासना गरिनु पर्ने एक मात्र व्यक्तिको परिचय बाइबलले कसरी दिन्छ? (ख) यहोवाको समीपमा आउनुलाई साँचो उपासकहरूले कस्तो महसुस गर्छन्?
१६. साँचो धर्म पालन गर्नेहरूका लागि ख्रीष्टमाथिको विश्वासले के अर्थ राख्छ?
१७. आफूलाई संसारदेखि निष्कलङ्क राख्न साँचो उपासकहरू किन सतर्क हुन्छन् र त्यसमा के के समावेश छन्?
१८. (क) साँचो धर्मको विशिष्ट गुणको रूपमा यूहन्ना १३:३५ ले के बताउँछ? (ख) कुन चाहिं सम्प्रदायसित यूहन्ना १३:३५ साँच्चै नै मेल खान्छ भनेर तपाईंले एक जना व्यक्तिलाई कसरी बुझाउन सक्नुहुन्छ?
१९. (क) मानवजातिका समस्याहरूको समाधानको रूपमा साँचो धर्मले कुन कुरालाई समर्थन गर्छ? (ख) साँचो धर्म पालन गर्ने सम्प्रदायका सदस्यहरूले के गरिरहेको हुनुपर्छ?
२०. सही धर्म चिन्नुबाहेक हामीले के गर्नु आवश्यक छ?
[पृष्ठ १०-मा भएको पेटी]
यहोवाका साक्षीहरूले . . .
◆ बाइबललाई आफ्ना शिक्षाहरूको आधार बनाउँछन्।
◆ एक मात्र साँचो परमेश्वर यहोवाको उपासना गर्छन्।
◆ येशू ख्रीष्टमाथि आफ्नो विश्वासअनुरूप जीवन बिताउँछन्।
◆ राजनैतिक तथा सांसारिक विवादहरूमा मुछिंदैनन्।
◆ दैनिक जीवनमा निःस्वार्थ प्रेम प्रकट गर्ने यत्न गर्छन्।
◆ मानवजातिका समस्याहरूको चिरस्थायी समाधानको रूपमा परमेश्वरको राज्यलाई समर्थन गर्छन्।
[पृष्ठ ९-मा भएको चित्र]
बाइबल—यसमा सबै मानवजातिका लागि परमेश्वरको सन्देश छ भनेर कुन कुराले सङ्केत गर्छ?