पाठकहरूको प्रश्न
येसुले “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ” भन्नुहुँदा के भन्न खोज्दै हुनुहुन्थ्यो?
येसुले मानिसहरूलाई एकअर्कासित शान्तिमा रहन सिकाउनुभयो। तर एकचोटि उहाँले आफ्ना प्रेषितहरूलाई यसो भन्नुभयो: “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ; म शान्ति ल्याउन होइन तर फूट गराउन [शा., “तरबार चलाउन”] आएको हुँ। किनकि म छोरालाई बुबाविरुद्ध, छोरीलाई आमाविरुद्ध अनि बुहारीलाई सासूविरुद्ध उठाएर फूट गराउन आएको हुँ।” (मत्ति १०:३४, ३५, फुटनोट) येसुले के भन्न खोज्दै हुनुहुन्थ्यो?
येसु परिवारका सदस्यहरूबीच फूट भएको चाहनुहुन्नथ्यो तर उहाँको शिक्षाले केही परिवारमा फूट ल्याउनेछ भनेर उहाँलाई थाह थियो। त्यसैले बप्तिस्मा गरेर येसुको चेला बन्न चाहने व्यक्तिहरूले तिनीहरूको निर्णयदेखि परिवारका कोही-कोही खुसी हुनेछैनन् भन्ने कुरा मनमा राख्नुपर्छ। बेग्लै धर्म मान्ने पति वा पत्नी अथवा परिवारका अन्य सदस्यबाट विरोधको सामना गर्नुपर्दा ख्रिष्टको शिक्षाअनुसार चलिरहन तिनीहरूलाई गाह्रो हुन सक्छ।
बाइबलले ख्रिष्टियनहरूलाई “सबै मानिससँग शान्तिपूर्वक बस्न” प्रोत्साहन दिन्छ। (रोमी १२:१८) तर येसुको शिक्षाले केही परिवारमा “तरबार”-ले जस्तै अशान्ति मच्चाउन सक्छ। परिवारको एक जना सदस्यले येसुको शिक्षा स्विकार्दा अनि अर्को सदस्यले भने नस्विकार्दा अथवा त्यसको विरोध गर्दा परिवारमा यस्तो अशान्ति मच्चिन सक्छ। यस्तो अवस्थामा परिवारकै सदस्यले बाइबल सिकिरहेको व्यक्तिलाई “शत्रु”-लाई जस्तै व्यवहार गर्न सक्छ।—मत्ति १०:३६.
बेग्लै धर्म मान्ने परिवारसँगै बस्ने ख्रिष्टियनले विभिन्न दबाबको सामना गर्नुपर्ने हुन सक्छ। जस्तै, तिनको परिवारले धार्मिक चाडपर्व मनाउन कर गर्न सक्छ। यस्तो बेला तिनले यहोवा र येसुलाई खुसी बनाउने कि परिवारलाई खुसी बनाउने भनेर निर्णय गर्नुपर्ने हुन्छ। येसुले यसो भन्नुभयो: “जसले आफ्नो बुबा अथवा आमालाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन।” (मत्ति १०:३७) येसुले चेलाहरूलाई आफ्नो परिवारलाई माया गर्न छोड्नुपर्छ भन्न खोज्नुभएको थिएन बरु जीवनमा हरेक कुरालाई त्यसको उचित स्थानमा राख्न सिकाउँदै हुनुहुन्थ्यो। परिवारको सदस्यले हाम्रो विरोध गर्छन् भने पनि हामी तिनीहरूलाई माया गर्न छोड्दैनौँ बरु यहोवाप्रतिको प्रेमलाई सबैभन्दा महत्त्वपूर्ण ठान्छौँ।
हो, परिवारले विरोध गर्दा पीडा त हुन्छ तर येसुका चेलाहरूले यो कुरा मनमा राख्नुपर्छ: “जो आफ्नो यातनाको खम्बा बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन योग्य हुँदैन।” (मत्ति १०:३८) अर्को शब्दमा भन्नुपर्दा, ख्रिष्टियनहरू परिवारको विरोधलाई ख्रिष्टका चेलाहरूले भोग्नुपर्ने परीक्षाकै एउटा भागको रूपमा हेर्छन्। साथै आफ्नो असल आचरण देखेर परिवारका सदस्यहरूले आफ्नो मन परिवर्तन गर्नेछन् र बाइबलको सत्य सिक्न इच्छुक हुनेछन् भनेर तिनीहरू आशा गर्छन्।—१ पत्रु. ३:१, २.