यहोवाको अनुकरण गर्नुहोस्—न्याय र धार्मिकता व्यवहारमा उतार्नुहोस्
“उहाँनै परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, इन्साफ र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनै कुरामा म प्रसन्न हुन्छु।”—यर्मिया ९:२४.
१. यहोवाले कस्तो अद्भुत प्रत्याशा दिनुभएको छ?
सबै मानिसहरूले यहोवालाई चिन्ने दिन आउनेछ भनी उहाँले प्रतिज्ञा गर्नुभयो। अगमवक्ता यशैया मार्फत उहाँले यसो भन्नुभयो: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९) कस्तो अद्भुत प्रत्याशा!
२. यहोवालाई चिन्नुको अर्थ के हो? किन?
२ तर यहोवालाई चिन्नुको अर्थ के हो? सबैभन्दा महत्त्वपूर्ण कुराबारे यहोवाले यर्मियालाई यो प्रकट गर्नुभयो: “उहाँनै परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, इन्साफ र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनै कुरामा म प्रसन्न हुन्छु।” (यर्मिया ९:२४) त्यसकारण, यहोवालाई चिन्नुको अर्थ उहाँले न्याय र धार्मिकता कसरी व्यवहारमा उतार्नुहुन्छ, सो बुझ्नु हो। हामीले पनि ती गुणहरू व्यवहारमा उताऱ्यौं भने उहाँ हामीसित रमाउनुहुनेछ। हामी कसरी त्यसो गर्नसक्छौं? यहोवाले आफ्नो वचन बाइबलमा शदियौंदेखि असिद्ध मानवहरूसित गर्नुभएको व्यवहारसम्बन्धी विवरण जोगाएर राख्नुभएको छ। त्यो अध्ययन गरेर हामी न्याय र धार्मिकतासम्बन्धी यहोवाको तरिका जान्नसक्छौं अनि उहाँको अनुकरण गर्नसक्छौं।—रोमी १५:४.
न्यायी तर अनुकम्पापूर्ण
३, ४. यहोवाले सदोम र गमोराको विनाश गर्नु किन मनासिब थियो?
३ यहोवाको न्यायको थुप्रै पक्षलाई प्रदर्शित गर्ने सर्वोत्कृष्ट उदाहरण सदोम र गमोरामाथि ईश्वरीय न्याय हो। यहोवाले आवश्यक सजाय मात्र होइन तर योग्य जनहरूलाई उद्धार पनि गर्नुभयो। के ती शहरहरूको विनाश गर्नु उचित थियो? सदोमको दुष्ट्याइँ कुन हदसम्म पुगेको थियो भनेर यथेष्ट ज्ञान नभएको अब्राहामलाई सुरुमा त्यो विनाश उचित लागेन। त्यो शहरमा दस जना मात्र धर्मी मानिस भेटिएको खण्डमा पनि नाश गर्नेछैन भनी यहोवाले अब्राहामलाई आश्वासन दिनुभयो। स्पष्टतः यहोवाले कहिल्यै हतारपतार वा कठोर ढंगमा न्याय गर्नुहुन्न।—उत्पत्ति १८:२०-३२.
४ दुई स्वर्गदूतको निरीक्षणले सदोमको नैतिक पतनको ज्वलन्त पुष्टि दियो। लूतको घरमा दुई जना मानिस आएको थाह पाएपछि त्यो शहरका “के युवक के बूढ़ा एउटै पनि नछोड़ी” लूतको घरमा हमला गरेर तिनीहरूसित समलैंगिक सामूहिक बलात्कार गर्न सुरिए। तिनीहरूको नैतिक पतन त्यो हदसम्म खस्किसकेको थियो! निस्सन्देह, यहोवाले त्यस शहरमाथि गर्नुभएको न्याय धार्मिक थियो।—उत्पत्ति १९:१-५, २४, २५.
५. परमेश्वरले लूत र तिनको परिवारलाई सदोमबाट कसरी बचाउनुभयो?
५ सदोम र गमोराको विनाश चेताउनीमूलक उदाहरणको रूपमा उल्लेख गरेपछि प्रेरित पत्रुसले यसप्रकार लेखे: “भक्तहरूलाई परीक्षाबाट बचाउन . . . प्रभु जान्नुहुन्छ।” (२ पत्रुस २:६-९) सदोमका अभक्त मानिसहरूसँगसँगै धर्मी लूत र तिनको परिवार पनि नाश भएका भए न्याय हुनेथिएन। त्यसकारण, यहोवाको स्वर्गदूतले आउँदै गरेको विनाशबारे लूतलाई चेताउनी दिए। लूतले आलेटाले गर्दा “परमप्रभुको दया[को]” कारण स्वर्गदूतहरूले तिनी, तिनकी स्वास्नी र छोरीहरूको हात समातेर शहरबाहिर ल्याए। (उत्पत्ति १९:१२-१६) यस दुष्ट संसारमाथि आउँदै गरेको विनाशमा पनि यहोवाले धर्मीहरूप्रति त्यस्तै चासो देखाउनुहुनेछ भनेर हामी निर्धक्क हुनसक्छौं।
६. यस दुष्ट रीतिरिवाजमाथि आउँदै गरेको विनाशबारे हामी किन अचाक्ली चिन्तित हुनु पर्दैन?
६ यस रीतिरिवाजको अन्त “बदला लिने दिन” भए तापनि हामी औधी चिन्तित हुनुपर्ने कारण छैन। (लूका २१:२२) परमेश्वरले आरमागेडोनमा गर्नुहुने न्याय “बिलकुलै धर्ममय” साबित हुनेछ। (भजन १९:९) अब्राहामले सिकेझैं हामी यहोवाको न्यायमा पूर्ण भरोसा राख्नसक्छौं जुन हाम्रो न्यायभन्दा अति उच्च छ। अब्राहामले सोधे: “सारा पृथ्वीका न्यायकर्त्ताले उचित न्याय गर्नुहुन्न र?” (उत्पत्ति १८:२५; तुलना गर्नुहोस् अय्यूब ३४:१०) वा यशैयाले जस्तै “कसले [यहोवालाई] इन्साफको मार्ग देखायो?” भनी प्रश्न गर्नु उपयुक्त हुन्छ।—यशैया ४०:१४.
मानवजातिलाई बचाउन धर्मी कार्य
७. परमेश्वरको न्याय र उहाँको दयाबीच कस्तो सम्बन्ध छ?
७ परमेश्वरको न्याय उहाँले गल्ती गर्नेहरूलाई सजाय दिनुहुने ढंगमा मात्र प्रकट हुँदैन। यहोवाले आफूलाई “न्याय गर्ने परमेश्वर उद्धारक” भन्नुहुन्छ। (यशैया ४५:२१) स्पष्टतः परमेश्वरको धार्मिकता वा न्याय र मानवजातिलाई पापका असरबाट बचाउने उहाँको इच्छाबीच निकटतम सम्बन्ध छ। यस पदमा टिप्पणी गर्दै दी इन्टरनेशनल स्टान्डर्ड इन्साइक्लोपीडिया, १९८२ संस्करण भन्छ, “परमेश्वरको न्यायले उहाँको दया देखाउने तथा उहाँको उद्धार कार्य पूरा गर्ने व्यवहारिक तरिकाहरू खोज्छ।” यसको अर्थ परमेश्वरको न्यायलाई दयाले हल्का पार्नुपर्छ भनेको होइन तर दया, परमेश्वरको न्यायको अभिव्यक्ति हो। ईश्वरीय न्यायको यस पक्षको सबैभन्दा उल्लेखनीय उदाहरण मानवजातिको उद्धारको लागि परमेश्वरले प्रबन्ध गर्नुभएको छुडौती हो।
८, ९. (क) “धार्मिकताको एउटै काम[मा]” के समावेश गरियो? किन? (ख) यहोवा हामीबाट के चाहनुहुन्छ?
८ छुडौतीको मोल अर्थात् परमेश्वरको एक मात्र पुत्रको अमूल्य जीवन निकै ठूलो मोलको थियो किनभने यहोवाका स्तरहरू सबैमा लागू हुन्छ र उहाँ स्वयंले पनि पालन गर्नुहुन्छ। (मत्ती २०:२८) आदमले सिद्ध जीवन गुमाएको हुँदा तिनका सन्तानहरूको उद्धारको निम्ति सिद्ध जीवन चाहिएको थियो। (रोमी ५:१९-२१) येशूको निष्ठावान् मार्गलगायत छुडौतीको मोललाई प्रेरित पावल “धार्मिकताको एउटै काम” भन्छन्। (रोमी ५:१८) किन? किनभने यहोवाको दृष्टिकोणमा मानवजातिलाई छुटकारा प्रदान गर्न आफूले निकै ठूलो मोल चुकाउनु परे तापनि त्यो सही तथा न्यायपूर्ण कार्य थियो। आदमका सन्तानहरू परमेश्वरले कुल्चीमिल्ची गर्न नचाहनुहुने “फुटेको निगालो” वा उहाँले निभाउन नचाहनुहुने “धुवाँ निस्किरहेको सलेतो” जस्तै थिए। (मत्ती १२:२०) आदमका सन्तानमध्येबाट थुप्रै विश्वासी पुरुष तथा स्त्रीहरू हुनेछन् भनी परमेश्वर ढुक्क हुनुहुन्थ्यो।—मत्ती २५:३४ तुलना गर्नुहोस्।
९ यस प्रेम तथा न्यायको उत्कृष्ट कार्यप्रति हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ? यहोवाले हामीबाट चाहनुहुने एउटा कुरा हो, “न्याय।” (मीका ६:८) हामी यो कसरी गर्नसक्छौं?
न्याय खोज्नुहोस्, धार्मिकता पछ्याउनुहोस्
१०. (क) हामीले न्याय देखाउने एउटा तरिका कुन हो? (ख) हामी सर्वप्रथम परमेश्वरको धार्मिकता कसरी खोजी गर्नसक्छौं?
१० सर्वप्रथम हामीले परमेश्वरका नैतिक स्तरहरू पालन गर्नैपर्छ। परमेश्वरका स्तरहरू न्यायपूर्ण तथा धार्मिक भएकोले त्यसअनुरूप जीवन बिताउँदा न्याय गरिरहेका हुन्छौं। यहोवा आफ्ना जनहरूबाट त्यही चाहनुहुन्छ। यहोवाले इस्राएलीहरूलाई यसो भन्नुभयो, “भलाइ गर्न सिक, इन्साफ खोज।” (यशैया १:१७) येशूले “राज्य र उहाँको धार्मिकता खोजी गर” भन्नुहुँदा डाँडाको उपदेश सुन्नेहरूलाई पनि त्यस्तै सल्लाह दिइएको थियो। (मत्ती ६:३३) पावलले तिमोथीलाई ‘धार्मिकताको पछि लाग्न’ प्रोत्साहन दिए। (१ तिमोथी ६:११) हामीले आचरणसम्बन्धी परमेश्वरको स्तरअनुरूप जीवन बिताएर नयाँ व्यक्तित्व धारण गर्दा साँचो न्याय र धार्मिकता पछ्याइरहेका हुन्छौं। (एफिसी ४:२३, २४) अर्को शब्दमा भन्ने हो भने परमेश्वरले चाहनुहुने तरिकामा कामकुरा गरेर हामी न्याय खोज्छौं।
११. पापको अधीनमा पर्नदेखि हामीले किन र कसरी संघर्ष गर्नुपर्छ?
११ हामी सबैलाई थाह भएकै कुरा हो, असिद्ध मानिसहरूको लागि न्यायपूर्ण तथा सही काम गर्नु सधैं सजिलो कुरा होइन। (रोमी ७:१४-२०) पावलले रोमी मसीहीहरूलाई पापको दास नहुन संघर्ष गर्न प्रोत्साहन दिए ताकि तिनीहरूले आफ्नो समर्पित शरीर परमेश्वरलाई “धार्मिकताका हतियार जस्तैगरी” अर्पण गर्न सकून् जुन परमेश्वरको उद्देश्य पूरा गर्न उहाँको लागि उपयोगी हुनेछ। (रोमी ६:१२-१४) त्यस्तैगरि परमेश्वरको वचन नियमित तवरमा अध्ययन गर्नुका साथै व्यवहारमा उतारेर हामी ‘यहोवाको शिक्षा’ ग्रहण गर्न र ‘उचित जीवन यापन गर्न’ सक्छौं।—एफिसी ६:४; २ तिमोथी ३:१६, १७.
१२. यहोवाले हामीसित जस्तो व्यवहार गरेको चाहन्छौं, अरूप्रति पनि त्यस्तै व्यवहार गर्ने हो भने हामीले के गर्नु हुँदैन?
१२ दोस्रो, यहोवाबाट जस्तो व्यवहारको आशा गर्छौं, अरूप्रति त्यस्तै व्यवहार गर्दा हामी न्याय देखाउँछौं। हाम्रो दोहोरो स्तर हुनसक्छ—आफ्नो लागि हल्का तर अरूप्रति कडा। आफ्ना गल्तीहरूको लागि बहानाको कुनै कमी हुँदैन तर अरूको त्रुटिको आलोचना गर्न कुनै कसर छोड्दैनौं र दाँजेर हेर्दा त्यो त्रुटि हाम्रो गल्तीको तुलनामा नगण्य हुनसक्छ। येशूले यस्तो ठाडो प्रश्न गर्नुभयो: “किन तिमी आफ्नो भाइको आँखामा भएको कसिंगर देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढ़ा चाहिं थाह पाउँदैनौ?” (मत्ती ७:१-३) यहोवाले हाम्रा गल्तीहरू केलाउन थाल्नुभयो भने हामीमध्ये कोही पनि उम्कनेछैनौं भनेर हामीले कहिल्यै बिर्सनु हुँदैन। (भजन १३०:३, ४) यहोवाले न्याय गर्नुहुँदा अरूको कमजोरीको पर्बाह गर्नुहुन्न भने तिनीहरूमाथि प्रतिकूल न्याय गर्ने हामी को हौं?—रोमी १४:४, १०.
१३. धर्मी मानिस परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न किन बाध्य महसुस गर्छ?
१३ तेस्रो, प्रचारकार्यमा लगनशील भएर भाग लिंदा हामी ईश्वरीय न्याय देखाउँछौं। यहोवा हामीलाई यस्तो सल्लाह दिनुहुन्छ, “मानिसलाई दिने तेरो औकात छ भने त्यसलाई दया देखाउन अस्वीकार नगर्।” (हितोपदेश ३:२७) परमेश्वरले उदारचित्त भएर हामीलाई दिनुभएको जीवनदायी ज्ञान आफूमा मात्रै सीमित राख्नु ठीक हुनेछैन। हो, थुप्रै मानिसहरूले हाम्रो सन्देश इन्कार गर्लान् तर परमेश्वरले तिनीहरूप्रति दया देखाउञ्जेल तिनीहरूलाई “पश्चाताप” गर्ने मौका दिइरहन इच्छुक हुनुपर्छ। (२ पत्रुस ३:९) अनि कसैलाई न्याय तथा धार्मिकतामा फर्काउन मदत गर्न सक्यौं भने येशू जस्तै रमाउँछौं। (लूका १५:७) ‘आफ्ना धर्मको निम्ति बिउ रोप्ने’ समय अहिल्यै हो।—होशे १०:१२.
“भारदारहरूले उचित शासन गर्नेछन्”
१४. न्यायको सन्दर्भमा प्राचीनहरूले कस्तो भूमिका निर्वाह गर्छन्?
१४ हामी सबै जना धार्मिकताको मार्गमा हिंड्नुपर्छ तर यस सन्दर्भमा मसीही मण्डलीका प्राचीनहरूले विशेष जिम्मेवारी पाएका छन्। येशूको राजकीय शासनलाई ‘न्याय र धार्मिकताले’ थाम्छ। त्यसरी नै प्राचीनहरूले अपनाउनुपर्ने स्तर ईश्वरीय न्यायको हो। (यशैया ९:७) तिनीहरू यशैया ३२:१ मा भविष्यसूचक ढंगमा वर्णन गरिएका यी शब्दहरू सम्झन्छन्: “हेर, राजाले न्यायोचित राज्य गर्नेछन्, र भारदारहरूले उचित शासन गर्नेछन्।” आत्मा-नियुक्त निरीक्षक वा ‘परमेश्वरको कारिन्दाको’ हैसियतमा प्राचीनहरू परमेश्वरको तौरतरिकाअनुसार चल्नुपर्छ।—तीतस १:७.
१५, १६. (क) प्राचीनहरूले येशूको उखानको वफादार गोठालाको कसरी अनुसरण गर्छन्? (ख) आध्यात्मिक तवरमा हराएकाहरूबारे प्राचीनहरू कस्तो महसुस गर्छन्?
१५ यहोवाको न्याय अनुकम्पापूर्ण, दयालु तथा व्यवहारिक छ भनेर येशूले देखाउनुभयो। सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले समस्यामा परेका अनि “हराएकाहरूलाई खोज्न र उद्धार गर्न” मदत गर्नुभयो। (लूका १९:१०) हराएको भेडा नपाउञ्जेल खोज्ने येशूको उखानको गोठालोजस्तै आध्यात्मिक तवरमा तर्किएकाहरूलाई भेट्टाएर पुनः बगालमा ल्याउन प्राचीनहरू प्रयास गर्छन्।—मत्ती १८:१२, १३.
१६ गम्भीर गल्ती गर्नेहरूको आलोचना गर्नुको साटो प्राचीनहरू निको पार्न तथा सम्भव भए पश्चात्ताप गर्न घचघच्याउँछन्। बरालिएको व्यक्तिलाई मदत गर्न सफल हुँदा तिनीहरू रमाउँछन्। तथापि, गल्ती गर्नेले पश्चात्ताप नगर्दा तिनीहरू दुःखी हुन्छन्। त्यस्तो अवस्थामा परमेश्वरको धार्मिक स्तरअनुरूप ती अपश्चात्तापी व्यक्तिलाई बहिष्कार गर्नुपर्ने हुन्छ। तैपनि उडाउ पुत्रको बुबाजस्तै कुनै दिन तिनको ‘होश खुल्नेछ’ भन्ने आशा राख्छन्। (लूका १५:१७, १८) तसर्थ, बहिष्कृत भएकाहरू यहोवाको संगठनमा कसरी फर्कन सक्छन् भनी सम्झाउन प्राचीनहरू तिनीहरूमध्ये कसै कसैलाई भेट्न अग्रसर हुन्छन्।a
१७. गल्ती गर्नेहरूको मामिलामा प्राचीनहरू कस्तो लक्ष्य राख्छन् र त्यो लक्ष्य हासिल गर्न कुन गुणले मदत गर्नेछ?
१७ गल्ती गर्नेहरूको मामिलामा प्राचीनहरूले विशेषगरि ईश्वरीय न्याय अनुकरण गर्नुपर्छ। पापीहरू येशूको “नजीक नजीक सर्दै थिए” किनभने उहाँले तिनीहरूको कुरा बुझेर मदत गर्नुहुनेछ भन्ने आशा राखेका थिए। (लूका १५:१; मत्ती ९:१२, १३) निस्सन्देह, येशूले गलत कार्यको समर्थन गर्नुभएन। कुख्यात लुटाहा, जक्कैले येशूसित एक चोटि भोजन मात्र के गरेका थिए, तिनी पश्चात्ताप गरेर अरूमाथि आफूले गरेको अन्यायको क्षतिपूर्ति तिर्न तयार भए। (लूका १९:८-१०) अहिले पनि न्यायिक सुनुवाइ हुँदा प्राचीनहरूको लक्ष्य त्यही हो अर्थात् गल्ती गर्नेलाई पश्चात्ताप गर्नेतर्फ डोऱ्याउने। येशूसित कुरा गर्न मानिसहरू हिचकिचाउँदैनथे। अतः प्राचीनहरू पनि त्यस्तै भएका खण्डमा गल्ती गर्ने थुप्रै व्यक्तिहरूले मदतको लागि प्राचीनलाई गुहार्नेछन्।
१८. कुन कुराले प्राचीनहरूलाई “बतासबाट लुक्ने ठाउँ” हुन मदत गर्नेछ?
१८ संवेदनशील हृदयले प्राचीनहरूलाई ईश्वरीय न्याय लागू गर्न सजिलो बनाउँछ जुन नता कठोर न भावशून्य छ। चाखलाग्दो कुरा, एज्राले इस्राएलीहरूलाई न्याय सिकाउन आफ्नो मन मात्र होइन तर हृदय पनि तयार पारे। (एज्रा ७:१०) उपयुक्त धर्मशास्त्रीय सिद्धान्त लागू गर्न तथा प्रत्येक व्यक्तिको परिस्थितिलाई विचार गर्न समझदार हृदयले प्राचीनहरूलाई मदत गर्नेछ। रगत बग्ने व्यथा लागेकी स्त्रीलाई येशूले निको पार्नुहुँदा यहोवाको न्याय भनेको व्यवस्थाको मनसाय तथा त्यसको भाव बुझ्नु हो भनेर देखाउनुभयो। (लूका ८:४३-४८) अनुकम्पापूर्ण ढंगमा न्याय गर्ने प्राचीनहरू, आफ्नै कमजोरी वा यस दुष्ट रीतिरिवाजबाट अलमलिएकाहरूको लागि “बतासबाट लुक्ने ठाउँ” सरह हुन्।—यशैया ३२:२.
१९. ईश्वरीय न्याय देखाइँदा एउटी बहिनीले कस्तो प्रतिक्रिया देखाइन्?
१९ गम्भीर गल्ती गरेकी एउटी बहिनीले ईश्वरीय न्यायको अर्थ आफैले महसुस गरिन्। उनी भन्छिन्, “कुरा नलुकाई भन्छु, मलाई प्राचीनहरूकहाँ जान डर लागेको थियो। तर उहाँहरूले मसित अनुकम्पापूर्ण ढंगमा मर्यादापूर्ण व्यवहार गर्नुभयो। प्राचीनहरू, कडा न्यायाधीश नभई बुबाजस्ता हुनुहुन्थ्यो। मैले आफ्नो बाटो सच्याएमा यहोवाले मलाई इन्कार गर्नुहुनेछैन भनी बुझ्न उहाँहरूले मलाई मदत गर्नुभयो। मायालु पिताको हैसियतमा यहोवाले कसरी अनुशासन दिनुहुन्छ भनेर आफैले महसुस गरें। यहोवाले मेरो बिन्ती सुन्नुहुनेछ भनी ढुक्क भई यहोवासमक्ष हृदय खोल्न सकें। त्यो घटनालाई सम्झँदा म नढाँटी भन्नसक्छु, सात वर्षअघि प्राचीनहरूसितको त्यो भेटघाट यहोवाकै आशिष् थियो। त्यतिबेलादेखि उहाँसित मेरो सम्बन्ध झनै प्रगाढ भएको छ।”
न्याय कायम राख्नुहोस् र जे ठीक छ, त्यो गर्नुहोस्
२०. न्याय तथा धार्मिकता बुझ्नु र व्यवहारमा उतार्नुका लाभहरू के के हुन्?
२० ईश्वरीय न्याय भनेको मानिस जुन कुराको हकदार छ, त्यो प्रदान गर्नु मात्र होइन। ईश्वरीय न्यायले उहाँमाथि विश्वास गर्ने जतिलाई अनन्त जीवन दिन यहोवा उत्प्रेरित हुनुभएको छ। (भजन १०३:१०; रोमी ५:१५, १८) परमेश्वर हामीसित यस्तो व्यवहार गर्नुहुन्छ किनभने उहाँको न्यायले हाम्रो परिस्थिति बुझ्छ र निन्दा गर्नुको साटो बचाउन खोज्छ। साँच्चै, यहोवाको न्यायबारे खुलस्त बुझ्न सक्यौं भने उहाँसित अझ नजिक हुन्छौं। अनि उहाँको व्यक्तित्वको यो पक्ष अनुकरण गर्ने प्रयास गर्दा हामी आफैले तथा अरूले पनि प्रचुर मात्रामा आशिष् पाउँछन्। न्यायको लागि गरेको प्रयास यहोवाले बिर्सनुहुनेछैन। यहोवा यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “न्याय कायम राख। जे ठीक छ, त्यो गर। किनकि मबाट पाउने उद्धार चाँड़ै आउनेछ, र मैले दिने छुटकारा प्रकट हुनेछ। त्यो मानिस धन्यको हो जसले यो गर्दछ।”—यशैया ५६:१, २.
[फुटनोट]
a फेब्रुअरी १, १९९२, प्रहरीधरहरा, पृष्ठ १६-७ हेर्नुहोस्।
के तपाईंले सम्झनुभएको छ?
◻ सदोम र गमोराको विनाशले यहोवाको न्यायबारे हामीलाई के सिकाउँछ?
◻ छुडौती किन परमेश्वरको न्याय तथा प्रेमको उल्लेखनीय अभिव्यक्ति हो?
◻ हामीले न्याय देखाउनसक्ने तीनवटा तरिका के के हुन्?
◻ कुन विशेष ढंगमा प्राचीनहरूले ईश्वरीय न्याय अनुकरण गर्नसक्छन्?
[पृष्ठ १५-मा भएको चित्र]
प्रचार गरेर हामी ईश्वरीय न्याय देखाउँछौं
[पृष्ठ १६-मा भएको चित्र]
प्राचीनहरूले ईश्वरीय न्याय देखाउँदा समस्यामा परेकाहरूलाई मदत माग्न सजिलो हुन्छ