अध्याय ६३
येसु प्रेषितहरूलाई अझ महत्त्वपूर्ण सल्लाह दिनुहुन्छ
मत्ति १८:६-२० मर्कुस ९:३८-५० लुका ९:४९, ५०
ठेस नपुऱ्याउन सल्लाह
कुनै भाइले पाप गर्दा
भर्खरै येसुले आफ्ना अनुयायीहरूको मनोवृत्ति कस्तो हुनुपर्छ भनेर उदाहरणसहित बताउनुभएको छ। तिनीहरू साना केटाकेटीजस्तै हुनुपर्छ, जो नम्र हुन्छन् र ओहदाको कुनै मतलब राख्दैनन्। येसुले चेलाहरूलाई यसो भन्नुभएको थियो: “जसले मेरो नाममा यस्तै एउटा सानो बालकलाई स्विकार्छ, उसले मलाई पनि स्विकार्छ।”—मत्ति १८:५.
येसुले तिनीहरूलाई सिकाउनुभएको यो कुरा धेरै महत्त्वपूर्ण थियो किनभने प्रेषितहरू तिनीहरूमध्ये सबैभन्दा ठूलो को हो भनेर बहस गर्दै थिए। येसुले तिनीहरूलाई नम्रताको सन्दर्भमा यो महत्त्वपूर्ण पाठ सिकाउनुभएपछि प्रेषित युहन्ना भर्खरै घटेको एउटा घटनाबारे यसो भन्छन्: “एक जना मानिसले तपाईँको नाम लिएर प्रेतहरूलाई धपाइरहेको हामीले देख्यौँ र हामीले उसलाई रोक्न खोज्यौँ किनकि ऊ हामीसँग तपाईँको पछि लागेको छैन।”—लुका ९:४९.
के युहन्नाले अरूलाई निको पार्ने वा प्रेतहरूलाई धपाउने अधिकार प्रेषितहरूसित मात्र छ भनेर सोचिरहेका छन्? त्यसोभए ती यहुदीले प्रेतहरूलाई कसरी धपाउन सके त? ती मानिस प्रेषितहरूजस्तै येसुको पछि लागेका थिएनन्, त्यसैले युहन्नालाई तिनले त्यस्ता शक्तिशाली कामहरू गर्नु हुँदैन जस्तो लागेको हुन सक्छ।
येसुको जवाफ सुनेर युहन्ना छक्क पर्छन्। उहाँ यसो भन्नुहुन्छ: “उसलाई रोक्न नखोज किनकि जसले मेरो नाम लिएर शक्तिशाली काम गर्छ, उसले हतपती मेरो बदनाम गर्दैन; किनकि जो हाम्रो विरुद्धमा हुँदैन, ऊ हाम्रै पक्षमा हुन्छ। अनि जसले तिमीहरू ख्रिष्टका चेलाहरू हौ भनी सम्झेर तिमीहरूलाई एक कचौरा पानी पिउन दिन्छ, म तिमीहरूलाई साँचो-साँचो भन्छु, उसले कुनै पनि हालतमा आफ्नो इनाम गुमाउनेछैन।”—मर्कुस ९:३९-४१.
हो, यतिबेला ती यहुदी येसुको पक्षमा हुन उहाँको पछि लाग्नु आवश्यक छैन। किनकि ख्रिष्टियन मण्डली स्थापना भइसकेको छैन। त्यसैले ती यहुदी येसुसँग हिँडिरहेका छैनन् भन्दैमा तिनी विरोधी हुन् वा तिनले झूटो धर्मलाई बढवा दिइरहेका छन् भन्न मिल्दैन। ती मानिस येसुको नाममा विश्वास गर्छन्। अनि तिनले आफ्नो इनाम गुमाउनेछैनन् भन्ने कुरा येसुका शब्दहरूबाट थाह पाउन सकिन्छ।
अर्कोतर्फ कुनै प्रेषितको बोली र कामले कसैलाई ठेस पुऱ्याउँछ भने त्यो गम्भीर कुरा हो। येसु यसो भन्नुहुन्छ: “यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई ठेस पुऱ्याउँछ भने त्यस्तालाई त ठूलो जाँतो घाँटीमा झुन्ड्याएर समुद्रमा फ्याँकिदिनु नै बेस हो।” (मर्कुस ९:४२) त्यसपछि येसु आफ्ना अनुयायीहरूलाई आफ्नो हात, खुट्टा वा आँखाजस्ता बहुमूल्य अङ्गहरूले ठेस पुऱ्याउँछ भने त्यसलाई पनि काटेर फ्याँक्नुपर्छ भनेर बताउनुहुन्छ। गेहेन्नामा [हिन्नोम बेँसीमा] फ्याँकिनुभन्दा त्यस्ता बहुमूल्य अङ्गहरूविना परमेश्वरको राज्यमा पस्नु बेस हो। प्रेषितहरूले यरुसलेमनजिकै भएको फोहोर जलाउने यो बेँसी देखेको हुनुपर्छ। त्यसैले गेहेन्नाले अनन्त विनाशलाई बुझाउँछ भनेर तिनीहरूले सजिलै बुझेका हुन सक्छन्।
येसु यस्तो चेतावनी पनि दिनुहुन्छ: “होसियार बस, तिमीहरूले यी सानाहरूमध्ये कसैलाई हेला नगर किनकि म तिमीहरूलाई भन्छु, तिनीहरूको रक्षा गर्ने स्वर्गदूतहरूले . . . मेरा बुबाको मुहार सधैँ हेरिरहेका हुन्छन्।” यहोवाको नजरमा ती “सानाहरू” कत्तिको अनमोल छन्? येसु १०० वटा भेडा भएको एक जना मानिसबारे बताउनुहुन्छ, जसको एउटा भेडा हराउँछ। त्यो मानिस ९९ वटा भेडालाई छोडेर हराएको एउटा भेडालाई खोज्न हिँड्छ। अनि त्यो भेडा भेट्टाएपछि ऊ ९९ वटाका लागि भन्दा त्यो एउटाको लागि धेरै रमाउँछ। येसु अझै यसो भन्नुहुन्छ: “स्वर्गमा बस्नुहुने मेरा बुबा यी सानाहरूमध्ये एउटाले पनि बाटो बिराएको चाहनुहुन्न।”—मत्ति १८:१०, १४.
सायद प्रेषितहरूले आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भनेर गरेको बहसलाई सम्झँदै येसु तिनीहरूलाई यस्तो आग्रह गर्नुहुन्छ: “आफूलाई नुनिलो बनाओ र आपसमा शान्ति कायम राख।” (मर्कुस ९:५०) नुनले खानेकुरालाई स्वादिलो बनाउँछ। प्रतीकात्मक नुनले कसैले भनेको कुरालाई स्विकार्न र शान्ति कायम राख्न मदत गर्छ तर बहस गर्दा यसो गर्न सम्भव हुँदैन।—कलस्सी ४:६.
कहिलेकाहीँ गम्भीर मामिला खडा हुन सक्छ। यस्तो मामिला कसरी सँभाल्न सकिन्छ भनेर येसु बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ: “यदि तिम्रो भाइले पाप गऱ्यो भने जाऊ अनि तिमी र ऊ मात्रै हुँदा उसको दोष देखाइदेऊ। उसले तिम्रो कुरा सुन्यो भने तिमीले आफ्नो भाइलाई ठीक बाटोमा फर्काउन सक्यौ।” तर उसले सुनेन भने नि? येसु यस्तो सल्लाह दिनुहुन्छ: “आफूसित अरू एक वा दुई जनालाई लिएर जाऊ ताकि दुई वा तीन जना साक्षीको बयानको आधारमा मात्र हरेक मामिलाको फैसला सुनाइयोस्।” यसो गरेर पनि समस्या सुल्झिएन भने तिनीहरूले “मण्डलीलाई” अर्थात् जिम्मेवार एल्डरहरूलाई भन्नुपर्छ, जसले फैसला गर्छन्। तर पाप गर्ने व्यक्तिले अझै कुरा सुनेन भने नि? येसु भन्नुहुन्छ: “ऊ तिम्रो लागि अन्यजाति वा कर उठाउने मानिससरह होस्।” यहुदीहरू त्यस्ता मानिसहरूसित कुनै सम्बन्ध राख्दैनन्।—मत्ति १८:१५-१७.
मण्डलीका निरीक्षकहरू परमेश्वरको वचनअनुसार चल्नुपर्छ। पाप गर्ने व्यक्ति दोषी ठहरिएमा र अनुशासन दिनुपर्ने भएमा तिनीहरूले गरेको फैसला ‘स्वर्गमा बाँधिसकिएको हुनेछ।’ तर उक्त व्यक्ति निर्दोष ठहरिएमा त्यो फैसला ‘स्वर्गमा फुकाइसकिएको हुनेछ।’ ख्रिष्टियन मण्डली स्थापना भएपछि यस्ता निर्देशनहरू मदतकारी साबित हुने थिए। यस्ता गम्भीर मामिलाहरू सँभाल्ने विषयमा येसु यसो भन्नुहुन्छ: “जहाँ मेरो नाममा दुई वा तीन जना भेला हुन्छन्, त्यहाँ म तिनीहरूको माझमा हुन्छु।”—मत्ति १८:१८-२०.