तपाईंलाई परमेश्वरको सेवा गर्न कुन कुराले उत्प्रेरित गर्छ?
“तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्तिले प्रेम गर्।”—मर्कूस १२:३०.
१, २. प्रचार-कार्यको सन्दर्भमा कस्ता उत्साहवर्धक कुराहरू सम्पन्न भइरहेका छन्?
एउटा गाडीको साँचो मूल्य त्यसको बाहिरी रूपले मात्र निर्धारण हुँदैन। रंगको पत्रले त्यसको बाह्य रूप राम्रो बनाउला अनि त्यसको सुलुत्त परेको डिजाइनले सम्भाव्य क्रेतालाई आकर्षित गर्ला; तर ती सबैभन्दा महत्त्वपूर्ण त झट्टै नेदेखिने कुराहरू अर्थात् गाडीको इन्जिन र त्यसलाई नियन्त्रण गर्ने अन्य उपकरणहरू पो हुन्छन्।
२ परमेश्वरप्रति एक जना मसीहीको सेवा पनि त्यस्तै हो। यहोवाका साक्षीहरूले प्रचुर मात्रामा धार्मिक कार्यहरू गर्छन्। परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न वर्षेनी १०० करोडभन्दा बढी घण्टा बिताउँछन्। यसबाहेक, लाखौं बाइबल अध्ययनहरू सञ्चालन गर्छन् र लाखौं मानिसहरूले बप्तिस्मा लिन्छन्। तपाईं सुसमाचारको उद्घोषक हुनुहुन्छ भने थोरै परिमाणमा मात्र भए पनि यी उत्साहवर्धक तथ्यांकमा तपाईंले पनि भाग लिनुभएको छ। अनि “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, . . . देखाएका छौ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न” भनेर तपाईं आश्वस्त हुन सक्नुहुन्छ।—हिब्रू ६:१०.
३. मसीहीहरूको लागि कार्यबाहेक कुन कुरा सबैभन्दा चासोको विषय हुनुपर्ने हो र किन?
३ तथापि, सामूहिक वा व्यक्तिगत तवरमा हाम्रो सेवाको साँचो मोल केवल संख्यामा नापिंदैन। शमूएललाई भनिएझैं “मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्।” (१ शमूएल १६:७) हो, हामी भित्र जे छौं, परमेश्वरले त्यसैलाई मूल्यवान् ठान्नुहुन्छ। यो साँचो हो, कार्यहरू आवश्यक छन्। ईश्वरीय भक्तिका कार्यहरूले यहोवाको शिक्षालाई सुशोभित गर्नुको साथै सम्भाव्य अनुयायीहरूलाई आकर्षित गर्छ। (मत्ती ५:१४-१६; तितस २:१०; २ पत्रुस ३:११) यद्यपि, हाम्रा कार्यहरूले सम्पूर्ण वृत्तान्त बताउँदैन। एफिससको मण्डलीका असल कार्यहरूको प्रमाण भए तापनि पुनरुत्थान हुनुभएको येशूले त्यो मण्डलीप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो, “तिम्रो काम, . . . मलाई थाह छ। तर तिम्रो विरुद्धमा मसँग यो कुरा छ, कि तिमीले तिम्रो पहिला प्रेम छोड़िदिएका छौ।”—प्रकाश २:१-४.
४. (क) परमेश्वरप्रति हाम्रो सेवा कुन अर्थमा कर्तव्यपरायण रीतिजस्तो हुनसक्छ? (ख) आत्मपरीक्षण गर्नु किन खाँचो छ?
४ एउटा खतरा छ। समय बित्दै जाँदा परमेश्वरप्रति हाम्रो सेवा एउटा कर्तव्यपरायण रीतिजस्तो हुनसक्छ। एक विवाहिता मसीही स्त्रीले यसप्रकार वर्णन गरिन्: “म सेवकाई र सभामा जान्थें, अध्ययन र प्रार्थना गर्थें तर मैले ती सबै कुनै भावनाबिना गर्थें।” निस्सन्देह, “पिटिएका” वा “नम्र [उदास, न्युव]” महसुस हुँदा पनि यत्न गर्ने परमेश्वरका सेवकहरू सराहनीय छन्। (२ कोरिन्थी ४:९; ७:६) तापनि हाम्रो मसीही तालिका एकोहोरो हुन थाल्यो भने गाडीको भित्री इन्जिनलाई हेरेझैं आफूलाई जाँच्नुपर्ने हुन्छ। सर्वोत्तम गाडीहरूलाई समेत समय-समयमा स्याहार-सम्भार गर्नुपर्छ; त्यस्तैगरि सबै मसीहीहरूले नियमित तवरमा आत्मपरीक्षण गर्नुपर्छ। (२ कोरिन्थी १३:५) अरूले हाम्रा कार्यहरू देख्नसक्छन् तर ती कुन कुराले उत्प्रेरित भएका छन्, त्यो छुट्याउन सक्दैनन्। तसर्थ, हामी प्रत्येकले यो प्रश्नमाथि चासो राख्नुपर्छ: ‘मलाई परमेश्वरको सेवा गर्न कुन कुराले उत्प्रेरित गर्छ?’
सही उत्प्रेरणाका अवरोधहरू
५. येशूले सबैभन्दा ठूलो आज्ञा कुन हो भन्नुभयो?
५ इस्राएललाई दिइएका व्यवस्थाहरूमध्ये सबैभन्दा ठूलो कुन हो भनी प्रश्न गर्दा येशूले बाहिरी रूप नभई भित्री मनोवृत्तिमाथि केन्द्रित हुने यो आज्ञा उल्लेख गर्नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्तिले प्रेम गर्।” (मर्कूस १२:२८-३०) यसप्रकार येशूले परमेश्वरको सेवा गर्नु पछाडिको उत्प्रेरक शक्ति चिनाउनुभयो। त्यो हो—प्रेम।
६, ७. (क) शैतानले छली ढंगमा परिवारमाथि कसरी आक्रमण गर्छ र किन? (२ कोरिन्थी २:११) (ख) सानो उमेरमा गरिएको लालनपालनले ईश्वरीय अख्तियारसम्बन्धी दृष्टिकोणलाई कसरी असर गर्नसक्छ?
६ यो अत्यावश्यक गुन, प्रेम खेती गर्ने क्षमतालाई शैतानले रोक्न चाहन्छ। यो लक्ष्य हासिल गर्ने त्यसको एउटा तरिका, परिवारमाथि आक्रमण हो। किन? किनभने यहीं नै प्रेमको प्रथम र चिरकालीन छाप हामीमा बसेको हुन्छ। बाल्यकालमा सिकेका कुराहरू वयस्क जीवनमा ठूलो मोलको हुन्छ भन्ने बाइबल आधारित सिद्धान्त शैतानलाई राम्ररी थाह छ। (हितोपदेश २२:६) त्यसले छली ढंगमा प्रेमसम्बन्धी हाम्रो दृष्टिकोणलाई कलिलो उमेरमा नै बंग्याउन खोज्छ। शैतान “यस संसारको देव” भएकोले थुप्रै मानिसहरू प्रेमपूर्ण वातावरणमा नभई कटुता, क्रोध र फोहर बोलीको अमेल वातावरणमा हुर्केको देख्न पाउँदा त्यसले आफ्नो उद्देश्य पूरा भएको देख्छ।—२ कोरिन्थी ४:४; एफिसी ४:३१, ३२; ६:४; कलस्सी ३:२१.
७ मेकिंग योर फ्यामिलि लाइफ ह्याप्पि (तपाईंको पारिवारिक जीवन सुखी बनाउने) पुस्तकले के अवलोकन गऱ्यो भने बाबु हुने जिम्मेवारीलाई एक जना पिताले जसरी सँभाल्छ, “त्यसले उनको छोरा-छोरीहरूले पछि मानवीय र ईश्वरीय अख्तियारप्रति राख्ने मनोवृत्तिमा चिरकालीन प्रभाव पार्नसक्छ।”a हैकमवादी बुबाले हुर्काएका एक मसीही पुरुष यसरी स्वीकार्छन्: “मलाई यहोवाको आज्ञा पालन गर्न सजिलै लाग्छ; तर उहाँलाई प्रेम गर्न भने साह्रै गाह्रो लाग्छ।” निस्सन्देह, आज्ञाकारिता अत्यावश्यक छ किनभने परमेश्वरको नजरमा “आज्ञापालन बलिदानभन्दा उत्तम हो।” (१ शमूएल १५:२२) तर हाम्रो उपासनाको उत्प्रेरक तत्त्वको रूपमा आज्ञाकारितालाई मात्र सीमित नराखी यहोवाप्रति प्रेम खेती गर्न हामीलाई कुन कुराले मदत पुऱ्याउनसक्छ?
“ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ”
८, ९. येशूको छुटकाराको बलिदानले हामीमा यहोवाप्रति कसरी प्रेम जगाउनुपर्ने हो?
८ यहोवाप्रति भित्री हृदयदेखि प्रेम खेती गर्ने सबैभन्दा ठूलो उत्प्रेरणा येशू ख्रीष्टको छुटकाराको बलिदानप्रति मूल्यांकन हो। “यसैमा परमेश्वरको प्रेम हामीमा प्रकट भएको छ, कि हामी उहाँद्वारा जिऔं भन्ने हेतुले परमेश्वरले आफ्ना एक[लो] पुत्रलाई यस संसारमा पठाउनुभयो।” (१ यूहन्ना ४:९) यसलाई बुझेर मूल्यांकन गरेपछि यस प्रेमपूर्ण कार्यको बदलामा फेरि प्रेम गर्न हामी उत्प्रेरित हुन्छौं। “हामी प्रेम गर्दछौं, किनभने पहिले [यहोवाले] हामीलाई प्रेम गर्नुभयो।”—१ यूहन्ना ४:१९.
९ मानिसहरूको मुक्तिदाताको हैसियतमा सेवा गर्ने जिम्मेवारीलाई येशूले स्वेच्छापूर्वक स्वीकार्नुभयो। “यसैमा हामीले प्रेम थाह पाउँछौं, किनभने उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो।” (१ यूहन्ना ३:१६; यूहन्ना १५:१३) येशूको आत्मत्यागी प्रेमले हामीमा मूल्यांकन जगाउनुपर्ने हो। उदाहरणको लागि: मानि लिनुहोस्, तपाईंलाई कसैले डुब्नबाट बचायो। अनि के तपाईं त्यो घटनालाई नै बिर्सेर सरासर घर गएर लुगा सुकाउन थाल्नुहुन्छ? पक्कै त्यसो गर्नुहुनेछैन! तपाईं आफूलाई बचाउने मानिसप्रति ऋणी महसुस गर्नुहुनेछ। आखिरमा, तपाईंको जीवनको श्रेय त्यस मानिसलाई जान्छ। के हामी यहोवा परमेश्वर र येशू ख्रीष्टप्रति त्योभन्दा कम ऋणी छौं र? भनौं भने, छुटकाराको बलिदानको प्रबन्धबिना हामी प्रत्येक पाप र मृत्युमा डुब्नेथियौं। त्यसको साटो यस प्रेमपूर्ण महान् कार्यले गर्दा पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने प्रत्याशा हामीसित छ।—रोमी ५:१२, १८; १ पत्रुस २:२४.
१०. (क) छुटकाराको बलिदानलाई हामी कसरी व्यक्तिगत कुरा बनाउनसक्छौं? (ख) ख्रीष्टको प्रेमले हामीलाई कसरी करमा पार्छ?
१० छुटकाराको बलिदानमाथि मनन गर्नुहोस्। पाव- लले जस्तै त्यसको व्यक्तिगत उपयोग गर्नुहोस्: “जुन जीवनमा अहिले म शरीरमा जिउँछु परमेश्वरका पुत्रको विश्वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई समर्पण गर्नुभयो।” (गलाती २:२०) त्यसरी मनन गर्दा हृदयदेखि उत्प्रेरणा जाग्छ किनभने पावलले कोरिन्थीहरूलाई यस्तो लेखे: “ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ, किनभने . . . उहाँ सबैका निम्ति मर्नुभयो, र अब बाँच्नेहरूले आफू आफू बाँच्ने होइन, तर उहाँको निम्ति बाँच्नुपर्छ जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि बिउँतनु पनि भयो।” (२ कोरिन्थी ५:१४, १५) द जेरूसलेम बाइबल-ले भन्छ, ख्रीष्टको प्रेमले “हामीलाई भावविह्वल तुल्याउँछ।” ख्रीष्टको प्रेमबारे सोच्दा हामी बाध्य महसुस गर्छौं, भित्रदेखि उत्प्रेरित र भावविह्वलसमेत हुन्छौं। यसले हाम्रो हृदय छुन्छ र कार्य गर्न उत्प्रेरित गर्छ। जे. बी. फिलिप्स्ले व्याख्या गरेझैं “हाम्रा कार्यहरूको स्रोत नै ख्रीष्टप्रति प्रेम हो।” योबाहेक अन्य उत्प्रेरणाहरूले चिरकालीन फल फलाउनसक्दैन भनी फरिसीहरूको उदाहरणले देखाउँछ।
“फरिसी[हरूको] . . . खमीरबाट बच”
११. धार्मिक कार्यहरूप्रति फरिसीहरूको दृष्टिकोण वर्णन गर्नुहोस्।
११ फरिसीहरूले परमेश्वरको उपासनालाई निर्जीव तुल्याएका थिए। तिनीहरूले परमेश्वरलाई प्रेम गर्नुपर्ने महत्त्वमाथि जोड दिनुको साटो आध्यात्मिकता नाप्ने मापकको रूपमा कार्यहरूमाथि जोड दिए। विस्तृत नियमहरू पालन गर्न व्यस्त भएकोले तिनीहरू बाहिरबाट धर्मी देखिन्थे तर भित्र भने “मुर्दाहरूका हाड़हरू र सबै अशुद्ध वस्तुले भरिएका” थिए।—मत्ती २३:२७.
१२. एक जना मानिसलाई निको पारिसक्नुभएपछि फरिसीहरू हृदयमा कठोर थिए भनी तिनीहरूले कसरी देखाए?
१२ एउटा अवसरमा येशूले हात सुकेको मानिसलाई अनुकम्पापूर्ण ढंगमा निको पार्नुभयो। शारीरिक तथा भावनात्मक तवरमा असाध्यै कष्टप्रद बिमारीबाट तुरुन्तै निको हुन पाउँदा यस मानिस कति हर्षित भएको हुनुपर्छ! यद्यपि, फरिसीहरू भने रमाएनन्। बरु, येशूले विश्राम दिनमा निको पार्नुभयो भनेर तिनीहरूले निराधारपूर्ण आलोचना गरे। व्यवस्थालाई पारिभाषिक दृष्टिकोणबाट हेर्न अन्तरग्रस्त भएको हुँदा फरिसीहरूले व्यवस्थाको मूल उद्देश्य नै बुझ्न सकेनन्। त्यसैकारण त येशू “तिनीहरूको हृदयको कठोरता देखी दुःखित” हुनुभयो! (मर्कूस ३:१-५) यसबाहेक, उहाँले आफ्ना चेलाहरूलाई यसप्रकार चेताउनी दिनुभयो: “फरिसी र सदुकीहरूको खमीरबाट बच।” (मत्ती १६:६) हाम्रो फाइदाको लागि बाइबलमा तिनीहरूका कार्यहरू तथा मनोवृत्ति पर्दाफास गरिएको छ।
१३. फरिसीहरूको उदाहरणबाट हामी कस्तो पाठ सिक्नसक्छौं?
१३ कार्यहरूसम्बन्धी हाम्रो दृष्टिकोण व्यवहारिक हुनुपर्छ भनेर फरिसीहरूको उदाहरणले हामीलाई सिकाउँछ। निस्सन्देह, कार्यहरू अत्यावश्यक छन् किनभने “विश्वास पनि कामविना मरेको हुन्छ।” (याकूब २:२६) तथापि, मानिसहरू जे छन् त्यसको लागि नभई जे गर्छन् त्यसको आधारमा अरूको न्याय गर्ने झुकाव असिद्ध मानिसहरूको हुन्छ। कहिलेकाहीं हामी आफ्नो पनि त्यसरी नै न्याय गर्छौं। हाम्रो आध्यात्मिकताको एक मात्र आधार कार्यहरूजस्तो गरी काम गरेर देखाउनमा ज्यादै तल्लीन हुनसक्छौं। हामीले आफ्ना मनोवृत्तिहरू जाँच्नुपर्ने महत्त्वलाई बिर्सनसक्छौं। (२ कोरिन्थी ५:१२ तुलना गर्नुहोस्।) ‘भुसुना चालेर ऊँटलाई चाहिं निलिहाल्ने’ ज्यादै नियमपरायणहरूजस्तो हुनसक्छौं, जसले लिखित व्यवस्था अक्षरसः पालन गर्छन् तर त्यस आज्ञाको सही मनसाय भंग गरिरहेका हुन्छन्।—मत्ती २३:२४.
१४. फरिसीहरू कुन अर्थमा फोहर कचौरा र थालजस्ता थिए?
१४ फरिसीहरूले कुन कुरा राम्ररी बुझेनन् भने, जसले यहोवालाई साँच्चै प्रेम गर्छ, उसले ईश्वरीय भक्तिका कार्यहरू स्वतः गर्छ। आध्यात्मिकता भनेको भित्रबाट बाहिरतर्फ बग्छ। यस सन्दर्भमा फरिसीहरूको त्रुटिपूर्ण सोचाइको कडा आलोचना गर्दै येशूले यसो भन्नुभयो: “धिक्कार तिमीहरूलाई, ए शास्त्री र फरिसी हो, कपटीहरू! किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि ता माझ्दछौ, तर भित्रपट्टि भने ती लूट र असंयमले भरिएका हुन्छन्।”—मत्ती २३:२५, २६.
१५. येशूले रूप मात्र हेर्नुहुन्न भन्ने उदाहरणहरू उल्लेख गर्नुहोस्।
१५ कचौरा, थाल वा भवनको बाहिरी रूपले सबै कुरा प्रकट गर्दैन। यरूशलेमको मन्दिरको सुन्दरताले गर्दा येशूका चेलाहरू विस्मित थिए तर त्यहाँभित्र भइरहेको कुराले गर्दा येशूले त्यसलाई “डाँकूहरूको ओड़ार” भन्नुभयो। (मर्कूस ११:१७; १३:१) मसीहीजगतको अभिलेखले देखाएअनुसार मसीही हुँ भनी दाबी गर्ने करोडौं मानिसहरूसित यो मन्दिरलाई दाँज्न सकिन्छ। उहाँको नाउँमा “सामर्थ्यका काम” गर्नेहरूलाई “अधम काम गर्ने[हरू]” भनेर न्याय गर्नेछु भनी येशूले भन्नुभयो। (मत्ती ७:२२, २३) त्यसको ठीक विपरीत मन्दिरमा नगण्य भेटी चढाउने विधवाबारे उहाँले भन्नु- भयो: “ढुकुटीमा चढाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ता चढ़ाई। . . . यस चाहिंले ता आफ्नो अपुगबाट, त्यसको जे जत्ति थियो, अर्थात् आफ्नो सारा जीविकानै अर्पण गरी।” (मर्कूस १२:४१-४४) असमान न्याय? कदापि होइन। दुवै अवसरमा येशूले यहोवाको दृष्टिकोण प्रतिबिम्बित गर्नुभयो। (यूहन्ना ८:१६) उहाँले कार्यहरू पछाडिको मनोवृत्ति देख्नुभयो र त्यसैअनुरूप न्याय गर्नुभयो।
“हरेकलाई तिनीहरूका आफ्ना आफ्ना खूबी अनुसार”
१६. हामीले आफ्नो क्रियाकलापलाई निरन्तर अर्को मसीहीसित दाँज्नु किन खाँचो छैन?
१६ हाम्रा मनोवृत्तिहरू सही छन् भने निरन्तर दाँज्नुपर्ने कुनै खाँचो छैन। उदाहरणको लागि, अर्को मसीहीले सेवकाईमा बिताउने समय वा तिनले प्रचार-कार्यमा हासिल गरेको उपलब्धिसित आफूले पनि प्रतिस्पर्धा गर्नु केही फाइदा छैन। येशूले अरूको होइन तर आफ्नो सारा हृदय, मन, प्राण र शक्तिले यहोवालाई प्रेम गर्न अह्राउनुभयो। हरेक व्यक्तिको दक्षता, शक्ति र परिस्थिति बेग्लाबेग्लै हुन्छ। तपाईंको परिस्थितिले अनुमति दिन्छ भने सेवकाईमा बढी समय बिताउन र शायद पूर्ण-समय सेवकको हैसियतले सेवा गर्न तपाईंलाई प्रेमले उत्प्रेरित गर्नेछ। तथापि, तपाईं कुनै रोग विरुद्ध संघर्षरत हुनुहुन्छ भने तपाईंले सेवकाईमा आफूले चाहेभन्दा कम समय मात्र बिताउन सक्नुहुन्छ होला। निरुत्साहित नहुनुहोस्। परमेश्वरप्रतिको विश्वासीलोपना घण्टामा नापिंदैन। तपाईंको मनोवृत्ति शुद्ध छ भने आनन्दित हुने कारण हुनेछ। पावलले यसप्रकार लेखे: “हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्। तब आफ्ना छिमेकीको विषयमा ता होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ।”—गलाती ६:४.
१७. तोडाको उखान आफ्नै शब्दमा छोटकरीमा बताउनुहोस्।
१७ येशूले मत्ती २५:१४-३० मा उल्लेख गर्नुभएको तोडाको उखानलाई विचार गर्नुहोस्। परदेश जान लागेका एक जना मानिसले नोकरहरूलाई बोलाएर आफ्नो धन-सम्पत्तिको जिम्मा दिए। “उसले हरेकलाई तिनीहरूका खूबी अनुसार, एउटालाई पाँच तोड़ा, अर्कोलाई दुइ, र अर्कोलाई एक तोड़ा दिए।” मालिक नोकरहरूसित हिसाबकिताब गर्न फर्कंदा तिनले के भेटाए? पाँच तोडा दिइएको नोकरले अरू पाँच तोडा कमायो। त्यस्तैगरि दुइ तोडा दिइएको नोकरले अरू दुइ तोडा कमायो। एक तोडा पाउने नोकरले त्यसलाई भुइँमुनि लुकायो र आफ्नो मालिकको सम्पत्ति बढाउन केही गरेन। यस परिस्थितिमा मालिकले कस्तो न्याय गरे?
१८, १९. (क) मालिकले दुइ तोडा पाउने नोकरलाई पाँच तोडा पाउने नोकरसित किन तुलना गरेनन्? (ख) सराहना र अरूसित दाँज्ने सन्दर्भमा तोडाको उखानले हामीलाई के पाठ सिकाउँछ? (ग) तेस्रो नोकरले किन प्रतिकूल न्याय पायो?
१८ सर्वप्रथम, क्रमशः पाँच र दुइ तोडा दिइएका नोकरहरूलाई हेरौं। मालिकले प्रत्येक नोकरलाई यसो भने: “श्याबास, असल र इमान्दार नोकर!” पाँच तोडा पाएको नोकरले दुइ तोडा मात्र कमाएको भए के मालिकले त्यसो भन्नेथिए होलान्? सम्भवतः भन्नेथिएनन्! अर्कोतर्फ, तिनले दुइ तोडा कमाउने नोकरलाई यसो भनेनन्: ‘तिमीले पाँच तोडा किन कमाएनौ? संगी नोकरलाई हेर त, तिनले मेरो निम्ति कति धेरै कमायो!’ अहँ, येशूलाई चित्रण गर्ने यस अनुकम्पापूर्ण मालिकले तिनीहरूलाई एकअर्कोसित दाँजेनन्। तिनले “हरेकलाई तिनीहरूका आफ्ना आफ्ना खूबी अनुसार” दिए र तिनीहरूले जेजति दिन सक्थे त्यही मात्र आशा गरे। दुवै नोकरहरू उत्तिकै सराहनीय थिए किनभने तिनीहरूले आफ्नो मालिकको निम्ति पूरा मनतनले काम गरेका थिए। हामी सबैले यसबाट सिक्नसक्छौं।
१९ निस्सन्देह, तेस्रो नोकरको सराहना गरिएन। वास्तवमा भन्ने हो भने, त्यसलाई बाहिर अन्धकारमा फालियो। एउटा मात्र तोडा पाएको हुँदा उसले पनि पाँच तोडा पाउनेले जति कमाउनेछ भन्ने आशा गरिएको थिएन। तर तिनले प्रयाससमेत गरेनन्! हृदयको “दुष्ट र अल्छी” मनोवृत्तिले गर्दा उसले प्रतिकूल न्याय पायो किनभने उसमा मालिकप्रति प्रेम झल्कँदैनथ्यो।
२०. यहोवाले हाम्रा सीमितताहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?
२० हाम्रो सारा शक्तिले यहोवालाई प्रेम गरेको उहाँ चाहनुहुन्छ। यद्यपि “उहाँले हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनुहुन्छ” भनेर थाह पाउनु कति हृदयस्पर्शी कुरा हो! (भजन १०३:१४) अंकहरूको तथ्यांक होइन तर “मनको इच्छा परमप्रभुलेनै जाँच गर्नुहुन्छ” भनेर हितोपदेश २१:२ भन्छ। हाम्रो नियन्त्रणबाहिरका सीमाहरू उहाँले बुझ्नुहुन्छ, चाहे ती आर्थिक, शारीरिक, भावनात्मक वा अन्य प्रकारका नै किन नहोऊन्। (यशैया ६३:९) साथै हामीसित भएका स्रोतहरू यथाशक्य बढी प्रयोग गरेको उहाँ आशा गर्नुहुन्छ। यहोवा सिद्ध हुनुहुन्छ तर आफ्ना असिद्ध उपासकहरूसित व्यवहार गर्दा तिनीहरूबाट सिद्धता माग गर्नुहुन्न। उहाँले नता अव्यवहारिक व्यवहार न बेमुनासिब माग नै गर्नुहुन्छ।
२१. परमेश्वरप्रति हाम्रो सेवा प्रेमले उत्प्रेरित छ भने कस्ता राम्रा परिणामहरू हुनेछन्?
२१ यहोवालाई सम्पूर्ण हृदय, प्राण, मन र शक्तिले प्रेम गर्नु “सबै होमबलि र बलिदानहरूभन्दा श्रेष्ठ हो।” (मर्कूस १२:३३) हामी प्रेमले उत्प्रेरित छौं भने परमेश्वरको सेवामा यथाशक्य गर्नेछौं। प्रेमलगायत ईश्वरीय गुनहरू “तिमीहरूमा प्रशस्तसँग छन् भने हाम्रा प्रभु येशू ख्रीष्ट चिन्ने ज्ञानमा तिनीहरूले तिमीहरूलाई बेकम्मा र निष्फल तुल्याउनेछैनन्” भनेर पत्रुसले लेखे।—२ पत्रुस १:८.
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इंकद्वारा प्रकाशित।
पुनरावृत्ति
◻ हामीले परमेश्वरको सेवा गर्नुको उत्प्रेरक तत्त्व के हुनुपर्ने हो?
◻ हामीलाई ख्रीष्टको प्रेमले यहोवाको सेवा गर्न कसरी करमा पार्छ?
◻ फरिसीहरूका कस्ता अनावश्यक टन्टाहरूबाट हामी अलग बस्नुपर्छ?
◻ हाम्रो सेवा अर्को मसीहीसित दाँजिरहनु किन बुद्धिमानी होइन?
[पृष्ठ १६-मा भएका चित्रहरू]
व्यक्तिविशेषको क्षमता, शक्ति र परिस्थिति बेग्लाबेग्लै हुन्छ