चासो राख्ने साँच्चै कोही हुनुहुन्छ
अरूको साँच्चै चासो राख्ने हजारौं मानिसहरू पनि छन्। तिनीहरू अरूको समस्या मेरो समस्या होइन भन्ने निर्दयी, स्वार्थी मनोभाव राख्दैनन्। त्यसको विपरीत अरूको दुःखकष्ट हटाउन आफ्नो ज्यानसमेत खतरामा हाल्न पनि पछि पर्दैनन्। तथापि, तिनीहरूको नियन्त्रणबाहिरका कुराहरूको दबाबमा हुने हुँदा यो भयकंर ठूलो काम हो।
लोभ, राजनैतिक दाउपेच, युद्ध तथा प्राकृतिक प्रकोपजस्ता कुराहरूले “भोकमरी हटाउन मरिमेटी गरिएको प्रयासलाई पनि” बेकाम तुल्याउनसक्छ भनी एक दातृ संगठनका कार्यकर्ताले भने। अरूको चासो राख्ने मानिसहरूले सामना गर्ने थुप्रै समस्याहरूमध्ये भोकमरी हटाउने समस्या एउटा हो। तिनीहरूले रोगबिमारी, गरिबी, अन्याय तथा युद्धको कारण आइपर्ने भयानक समस्याहरू भोग्नुपर्छ। तर के तिनीहरूले सफलता हासिल गरिरहेका छन्?
भोक तथा दुःख हटाउन “यथासक्दो मरिमेटी प्रयास” गर्ने व्यक्तिहरू येशू ख्रीष्टको दृष्टान्तमा व्याख्या गरिएको अनुकम्पापूर्ण सामरीजस्तै हुन् भनी एक दातृ संगठनका कार्यकारी निर्देशकले बताए। (लूका १०:२९-३७) तर तिनीहरूले जतिसुकै प्रयास गरे तापनि दुःखको चपेटामा परेकाहरूको संख्या बढ्दो छ भनी तिनले बताए। तसर्थ तिनले यस्तो प्रश्न गरे: “एक असल सामरी वर्षौंसम्म एउटै बाटोबाट ओहरदोहर हुन्छ र हरेक हप्ता बाटो छेउमा लुटाहाहरूको सिकार भएको मानिस भेट्छ भने के गर्ने?”
“दातृहरू हरेस खाने अवस्था” भनी व्याख्या गरिएजस्तै तिनीहरू वाक्क भएर सहयोग गर्नै छोड्नसक्छन्। तर आनन्दको कुरा साँच्चै चासो राख्ने मानिसहरूले हतपती हार मान्दैनन्। (गलाती ६:९, १०) उदाहरणका लागि, बेलाइतको जुविस टेलिग्राफ नामक अखबारमा एक व्यक्तिले यहोवाका साक्षीहरूको सराहना गरे किनभने तिनीहरूले नाजी जर्मनीको समयमा “अस्वीचमा हजारौं यहूदीहरूलाई दुःखको बेला मदत गरेका थिए।” उक्त लेखकले अझ यसो भने: “खानाको अभाव हुँदा तिनीहरूले हाम्रा [यहूदी] भाइ तथा बहिनीहरूसित रोटी बाँडचुँड गरेर खाए!” आफूसित सीमित स्रोत भए तापनि साक्षीहरूले अरूलाई सक्दो मदत गरिरहे।
तर, वास्तविकता के हो भने खाना जति नै बाँडचुँड गरे तापनि मानिसले पूर्णतया दुःख हटाउन सक्दैनन्। तर यसो भन्नुको अर्थ मानिसहरूले देखाएको अनुकम्पाको महत्त्वलाई तुच्छ ठानेको होइन। दुःखकष्ट कम गर्न गरिएका सही प्रयास सबै सराहनीय छन्। ती साक्षीहरूले आफ्ना सहकैदीहरूको पीडा केही हदसम्म कम गरिदिए र अन्ततः नाजीवादको नै अन्त भयो। तथापि, त्यस्तो दमनलाई अनुमति दिने रीतिरिवाज अझै छ र अरूको ख्याल नराख्ने मानिसहरू छ्यासछ्यास्ती पाइन्छ। साँच्चै, “अर्को एक थरीकाहरू जसका दाँत तरवारझैं र जसका बङ्गरा छुरीझैं हुन्छन्। तिनीहरूले देशका गरीब-दुःखीहरूलाई र दरिद्रहरूका घर-बार खाइहाल्छन्।” (हितोपदेश ३०:१४) सायद, तपाईं यसो हुनुको कारण के हो भनी सोच्नुहुन्छ होला।
किन गरिबी र दमन?
येशू ख्रीष्टले एक चोटि यसो भन्नुभयो: “गरीबहरू ता तिमीहरूसँगै सधैं हुन्छन्, र मन लागेको बखतमा तिमीहरूले तिनीहरूको भलाई गर्नसक्छौ।” (मर्कूस १४:७) के येशूले गरिबी र दमनको कहिल्यै अन्त हुँदैन भन्दै हुनुहुन्थ्यो? अरू कतिपय मानिसहरू जस्तै के उहाँले पनि परमेश्वर अनुकम्पापूर्ण मानिसहरूले दुःखीहरूलाई दया देखाउने सुअवसर पाओस् भनेर मौका दिनुभएको हो भन्ने विचार राख्नुहुन्थ्यो? अहँ! येशूले त्यस्तो विचार राख्नुभएन। उहाँले केवल यस रीतिरिवाज रहुञ्जेल गरिबी रहिरहनेछ भनी बताइरहनुभएको थियो। तर येशूलाई यो पनि थाह थियो: उहाँको स्वर्गमा हुनुहुने पिताले पृथ्वीमा यस्तै अवस्था होस् भन्ने उद्देश्य राख्नुभएको थिएन।
यहोवा परमेश्वरले पृथ्वी गरिबी, अन्याय र दमनले भरियोस् भनेर होइन तर प्रमोदवन सृष्टि गर्नुभएको थियो। जीवनबाट पूरापूर आनन्द उठाउन अत्युत्तम प्रबन्धहरू गर्नुभएर उहाँले मानव परिवारको ख्याल राख्नुहुन्छ भनी प्रमाण दिनुभयो। हाम्रो प्रथम मातापितालाई राखिएको बगैंचाको नाउँलाई नै विचार गर्नुहोस् न! यसको नाउँ थियो, अदन जसको अर्थ हो “आनन्द।” (उत्पत्ति २:८, ९) यहोवाले मानिसहरूलाई आधारभूत आवश्यकतामा मात्र सीमित गरेर तुच्छ अनि दमनकारी वातावरणमा राख्नुभएन। यहोवाले आफ्नो सृजनशील कार्यको अन्तमा आफ्नो काम हेर्नुभयो र भन्नुभयो “साह्रै राम्रो।”—उत्पत्ति १:३१.
त्यसोभए आज किन संसारमा गरिबी, दमन तथा अन्य दुःखकष्ट व्याप्त छ त? हाम्रा प्रथम मातापिता परमेश्वरको विद्रोह गर्न अघि सरेका वर्तमान दुष्ट रीतिरिवाजको सृजना भएको हो। (उत्पत्ति ३:१-५) फलतः परमेश्वरले आफ्ना सृष्टिहरूबाट आज्ञाकारिताको माग गर्नु जायज हो या होइन भन्ने प्रश्न खडा भयो। तसर्थ यहोवाले आदमको सन्तानलाई केही समयावधिसम्म स्वतन्त्र छोडिदिनुभएको छ। तैपनि परमेश्वरले मानव परिवारको चासो राख्न छोड्नुभएन। उहाँको विद्रोह गर्दा हुने हानिहरूलाई हटाउन उहाँले प्रबन्ध मिलाउनुभयो। अनि चाँडै यहोवाले गरिबी, दमन र भनौं भने सबै दुःखकष्ट हटाउनुहुनेछ।—एफिसी १:८-१०.
मानिसले समाधान गर्न नसक्ने समस्या
मानिसको सृष्टि भएदेखि यता मानिसजाति झन् झनै यहोवाको स्तरदेखि खस्कँदै गइरहेको छ। (व्यवस्था ३२:४, ५) परमेश्वरको व्यवस्था तथा सिद्धान्तलाई अस्वीकार गरेर मानिसहरूले आपसमा झगडा गरेका छन् र “मानिसलाई दुःख दिने अधिकारको समय” भएको छ। (उपदेशक ८:९) न्यायी समाज स्थापना गर्ने तथा पीडित जनताको दुःख हटाउने सबै प्रयास परमेश्वरको सार्वभौमिकताको अधीनमा नबस्ने तथा आफ्नै स्वार्थ पूरा गर्न चाहनेहरूको कारण विफल भएको छ।
अर्को एउटा समस्या पनि छ। यसलाई मानिसहरूले बेकारको अन्धविश्वासी कुरा मात्र हो भन्लान्। परमेश्वरको विद्रोह गर्न उक्साउनेले मानिसहरूलाई अझै खराबी तथा स्वार्थी कुराहरूतिर धकेल्दै छ। त्यो शैतान अर्थात् दियाबल हो जसलाई येशू ख्रीष्टले “यस संसारको मालिक” भन्नुभयो। (यूहन्ना १२:३१; १४:३०; २ कोरिन्थी ४:४; १ यूहन्ना ५:१९) प्रेरित यूहन्नालाई दिइएको प्रकाशमा शैतानलाई प्रायः सबै दुःखहरूको स्रोत र “सारा संसारलाई ठग्ने” भनिएको छ।—प्रकाश १२:९-१२.
कोही कोही मानिसहरूले आफ्ना सँगी मानवहरूको जतिसुकै ख्याल राखे तापनि शैतानलाई वा दिन पर दिन बढी मानिसहरूलाई दुःख दिने यस व्यवस्थालाई हटाउन कहिल्यै सफल हुने छैनन्। त्यसोभए मानिसहरूको समस्या कसरी समाधान गर्न सकिन्छ त? अरूको ख्याल राख्ने व्यक्ति हुनेबित्तिकै यस समस्या सुल्झिंदैन। शैतान तथा त्यसको सम्पूर्ण अन्यायी व्यवस्थालाई हटाउने इच्छा तथा शक्ति भएको कोही चाहिन्छ।
“तपाईंको इच्छा . . . यस पृथ्वीमा पूरा होस्”
परमेश्वरले यस दुष्ट रीतिरिवाज नाश गर्ने प्रतिज्ञा गर्नुभएको छ। त्यसो गर्नको निम्ति उहाँसित इच्छा र शक्ति दुवै छ। (भजन १४७:५, ७; यशैया ४०:२५-३१) भविष्यसूचक बाइबल पुस्तक दानियलमा यस्तो भविष्यवाणी गरिएको छ: “स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै” हो सधैंभरि रहिरहनेछ। (दानियल २:४४) येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई प्रार्थनामा परमेश्वरलाई निम्न कुरा बिन्ती गर्न सिकाउनुहुँदा उहाँको मनमा त्यही सधैं रहिरहने स्वर्गीय राज्य थियो: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।”—मत्ती ६:९, १०.
यहोवाले त्यस्तो प्रार्थनाको जवाफ दिनुहुन्छ किनभने उहाँले साँच्चै मानव परिवारको ख्याल राख्नुहुन्छ। भजन ७२ का भविष्यसूचक शब्दहरूअनुसार येशूको शासनकालमा परमेश्वरले गरिब, पीडित तथा शोषितहरूलाई अनन्त उद्धार ल्याउन येशू ख्रीष्टलाई अधिकार दिनुहुनेछ। प्रेरित भजनरचयिताले यस्तो भजन गाए: “प्रजाहरूका दुःखी-दाखीलाई [परमेश्वरको मसीह राजाले] इन्साफ गर्नेछ, उसले दरिद्रहरूको सन्तानलाई बचाउनेछ। र अत्याचारीहरूलाई टुक्रा टुक्रा पार्नेछ . . . र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।”—भजन ७२:४, १२-१४.
हाम्रो समयबारे गरिएको दर्शनमा प्रेरित यूहन्नाले “नयाँ आकाश र नयाँ पृथ्वी” देखे अर्थात् परमेश्वरले स्थापना गर्नुभएको पूर्णतया नयाँ रीतिरिवाज। पीडित मानिसजातिको निम्ति कस्तो आशिष्! यहोवाले के गर्नुहुनेछ भन्नेबारे यूहन्नाले यसो लेखे: “औ सिंहासनबाट यसो भन्ने एउटा ठूलो आवाज मैले सुनें, ‘हेर, परमेश्वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्। औ परमेश्वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।’ औ सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, ‘हेर, म सब कुरा नयाँ तुल्याउँछु।’ औ उहाँले भन्नुभयो, ‘लेख, किनकि यी कुराहरू विश्वासयोग्य र सत्य छन्।’ ”—प्रकाश २१:१-५.
हो, हामीले यी कुराहरूमाथि भरोसा गर्नसक्छौं किनभने ती विश्वासयोग्य र सत्य छन्। यस पृथ्वीबाट गरिबी, भोकमरी, शोषण, बिमारी र सबै अन्याय हटाउन यहोवाले चाँडै कदम चाल्नुहुनेछ। यस पत्रिकाले बारम्बार धर्मशास्त्रबाट देखाएझैं हामी ती प्रतिज्ञाहरू पूरा हुने समयमा बाँचिरहेका छौं भनी पर्याप्त प्रमाण पाउँछौं। परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसार आउनै लागेको छ! (२ पत्रुस ३:१३) चाँडै परमेश्वरले ‘मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ’ र “सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।”—यशैया २५:८.
त्यो नहोउञ्जेल अहिले पनि अरूको साँच्चै चासो राख्ने मानिसहरू भएकोमा आनन्दित छौं। यहोवा परमेश्वरले नै चासो राख्नुहुने भएकोले झन् बढी आनन्दित हुनसक्छौं। उहाँले चाँडै सबै शोषण र दुःखकष्ट हटाउनुहुनेछ।
तपाईंले परमेश्वरको प्रतिज्ञामा पूर्ण भरोसा राख्न सक्नुहुन्छ। उहाँको सेवक यहोशूले पूर्णतया भरोसा राखे, कुनै शंका गरेनन्। कुनै हिचकिचाहटबिना तिनले परमेश्वरका पुरातन जनहरूलाई यसो भने: “परमप्रभु परमेश्वरले तिमीहरूका बारेमा भन्नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाह पाएकै छौ।” (यहोशू २३:१४) अतः यस दुष्ट रीतिरिवाज रहुञ्जेल परीक्षाहरूको सामना गर्नुपर्दा दिक्क नहुनुहोस्। आफ्नो सारा फिक्री परमेश्वरमाथि राखिदिनुहोस् किनभने उहाँले साँच्चै ख्याल राख्नुहुन्छ।—१ पत्रुस ५:७.
[पृष्ठ ७-मा भएका चित्रहरू]
परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा गरिबी, शोषण, बिमारी र अन्याय केही हुनेछैन