येशूको जीवन र सेवकाई
ख्रीष्टको राजकीय महिमाको एउटा पूर्वालोकन
येशू सिजरिया फिलिप्पीको मुलुकमा आउनु भएको छ र उहाँका प्रेरितहरू समेत भएको एउटा भीड़लाई सिकाउँदै हुनुहुन्छ। तिनीहरूलाई चकित पार्ने यो घोषणा येशू गर्नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ खड़ा हुनेहरूमध्ये कोही छन्, जसले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेको नदेखुञ्जेल कुनै रीतिले मृत्यु चाख्ने छैनन्।”
‘येशूले के भन्नुभएको होला?’ भनी चेलाहरू छक्क पर्छन्। एक साता पछि, पत्रुस, याकूब, र यूहन्नालाई लिएर येशू एउटा अल्गो डाँड़ामा एकान्तमा जानुहुन्छ। सम्भवत: यो रातको समय हुनसक्छ, किनभने चेलाहरू निद्राले लठ्ठ भएका छन्। येशू प्रार्थना गर्दा गर्दै, तिनीहरूको सामुन्ने उहाँको रूप परिवर्तन हुन्छ। उहाँको चेहरा सूर्यझैं चम्किन्छ, र उहाँको वस्त्र ज्योतिझैं सेतो हुन्छ।
अनि, “मोशा र एलिया” को दुइवटा आकार देखा पर्छ र तिनीहरू येशूसँग उहाँले ‘यरूशलेममा पूरा गर्न आँटनु भएको’ विषयबारे कुरा गर्न थाल्छन्। यस कुराले येशूको मृत्यु र पछि उहाँको पुनरुत्थानलाई सङ्केत गर्दछ। त्यसकारण, पत्रुसले केही समय अघि चाहे जस्तै, येशूको अपमानजनक मृत्युलाई कसैगरी पनि रोक्न सकिदैन भनी उहाँहरूको कुराकानीबाट प्रमाणित हुन्छ।
अब पूरा जागा भएर, चेलाहरू आश्चर्यचकित भएर हेर्छन् र सुन्छन्। यो एउटा दर्शन भएता पनि, यति वास्तविक देखिन्छ कि पत्रुस यस दृश्यमा यसो भन्दै भाग लिन थाल्दछन्: “हे प्रभु, हामीहरूलाई यहीं बस्नु असल छ। तपाईंको इच्छा भए म यहाँ तीनवटा डेरा बनाउनेछु, एउटा तपाईंका निम्ति, एउटा मोशाको निम्ति, र एउटा एलियाको निम्ति।”
पत्रुस बोलिरहेकै बेलामा, एउटा चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्छ, र त्यस बादलबाट एउटा यसो भन्ने आवाज आउँछ: “यिनी मेरा प्रिय पुत्र हुन्, जसमा म प्रसन्न छु, तिमीहरूले उनको कुरा सुन।” यो आवाज सुने पछि, चेलाहरू घुर्लुप्प घोप्टो पर्छन्। तर येशू भन्नुहुन्छ: “उठ, नडराओ।” उठे पछि, येशू बाहेक अरू कसैलाई पनि तिनीहरूले देखेनन्।
भोलीपल्ट डाँड़ाबाट तलतिर ओर्लदा, येशू आज्ञा दिनुहुन्छ: “जबसम्म मानिसको पुत्रको पुनरुत्थान हुँदैन, तबसम्म तिमीहरूले यो दर्शनको कुरा कसैलाई नभन्नू।” दर्शनमा एलियालाई देखेर चेलाहरू को मनमा एउटा प्रश्न उठ्दछ। तिनीहरू सोध्छन्: “किन शास्त्रीहरूले पहिले एलिया आउनुपर्छ भनी भन्छन्?”
येशू भन्नुहुन्छ: “एलिया अघिनै आइ सकेका छन्, औ तिनीहरूले उनलाई चिनेनन्।” तथापि, येशू बप्तिस्मा दिने यूहन्नाको विषयमा भनी रहनु भएको छ, जसले एलियाको भूमिका निभाइ सकेको छ। एलियाले एलिशाको निम्ति बाटो बनाए जस्तै, यूहन्नाले येशूका निम्ति बाटो बनाए।
येशू र उहाँका चेलाहरू दुवैकालागि यो दर्शन कत्तिको बलदायी प्रमाणित हुन्छ! त्यो दर्शन, यथार्थमा, येशूको राज्य महिमाको एउटा पूर्वालोकन हो। येशूले एक साता अघि प्रतिज्ञा गर्नु भए अनुसार, चेलाहरूले, वास्तवमा, ‘मानिसको पुत्रलाई उहाँको राज्यमा आइरहेको’ देखे। येशूको मृत्यु पश्चात्, ‘पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा ख्रीष्टको वैभवशाली रूप आफ्नै आँखाले देख्यौं’ भनी पत्रुसले लेखे।
शास्त्रमा प्रतिज्ञा गरिएका परमेश्वरबाट छानिने राजा उहाँनै हो भनी चिह्न देखाउन फरिसीहरूले येशूमाथि दबाव हालेका थिए। तिनीहरूलाई त्यस्तो कुनै चिह्न दिइएन। बरू उहाँका नजिकका चेलाहरूलाई येशूको रूप परिवर्त्तन भएको हेर्ने अवसर प्राप्त भयो, जसबाट राज्यवारेको भविष्यवाणीको पुष्टि हुनगयो। अत:, पत्रुसले पछि लेखे: “औ बढ़ता पुष्टि गराउने हामीसँग अगमवाणीको वचन छ।” मत्ती १६:२८, १७:१३; मर्कूस ९:१-१३; लूका ९:२७-३७; २ पत्रुस १:१६-१९.
◆ मृत्यु चाख्नु भन्दा पहिलेनै, कसै कसैले ख्रीष्ट उहाँको राज्यमा आएको कसरी देख्ने छन्?
◆ दर्शनमा, मोशा र एलियाले येशूसँग कुन विषयमा कुरा गर्छन्?
◆ यो दर्शन चेलाहरूकालागि किन त्यत्तिको बलबर्धक साधन हो? (w88 1/1)