अध्याय ६१
येसु प्रेतले सताएको केटालाई निको पार्नुहुन्छ
मत्ति १७:१४-२० मर्कुस ९:१४-२९ लुका ९:३७-४३
प्रेतले सताएको केटालाई निको पार्न बलियो विश्वास चाहिन्छ
येसु, पत्रुस, याकुब र युहन्ना डाँडाबाट ओर्लेपछि उहाँहरूले एउटा ठूलो जमातलाई भेट्नुहुन्छ। त्यहाँ केही गडबड छ जस्तो देखिन्छ। शास्त्रीहरू चेलाहरूको वरिपरि जम्मा भएर उनीहरूसित वादविवाद गरिरहेका छन्। येसुलाई देख्नेबित्तिकै मानिसहरू छक्क पर्छन् र उहाँलाई अभिवादन गर्न दौडेर आउँछन्। येसु सोध्नुहुन्छ: “तिमीहरू के वादविवाद गरिरहेका छौ?”—मर्कुस ९:१६.
त्यही भीडमा भएको एक जना मानिस येसुको अगाडि आएर घुँडा टेक्छन् र यसो भन्छन्: “गुरुज्यू, मैले आफ्नो छोरालाई तपाईँकहाँ ल्याएको थिएँ किनकि प्रेतले सताएकोले ऊ गुँगो भएको छ। अनि त्यसले उसलाई जहाँ छोप्छ, त्यहीँ नै ऊ भुईँमा पछारिन्छ, फीँज काढ्छ, दाह्रा किट्छ अनि शिथिल हुन्छ। त्यसैले मैले तपाईँका चेलाहरूलाई त्यसलाई धपाइदिन भनेको थिएँ तर तिनीहरूले सकेनन्।”—मर्कुस ९:१७, १८.
चेलाहरूले त्यस केटालाई निको पार्न नसकेको देखेर शास्त्रीहरूले उनीहरूको आलोचना गरिरहेका छन् जस्तो देखिन्छ। सायद तिनीहरू चेलाहरू असफल भएकोमा गिल्ला गर्दै छन्। त्यसैले अत्यन्तै चिन्तित अवस्थामा भएका ती बुबालाई जवाफ दिनुको सट्टा येसु भीडलाई यसो भन्नुहुन्छ: “ए अविश्वासी र टेढो पुस्ता, म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ?” पक्कै पनि यी कडा शब्दहरू येसुको अनुपस्थितिमा चेलाहरूलाई समस्यामा पार्न खोजिरहेका शास्त्रीहरूलाई लागू हुन्छ। चिन्तामा डुबेका ती बुबातर्फ फर्केर येसु भन्नुहुन्छ: “उसलाई मकहाँ ल्याओ।”—मत्ति १७:१७.
त्यो केटा येसु भएतिर आउँदै गर्दा प्रेतले उसलाई भुईँमा पछार्छ र अँठ्याउँछ। ऊ भुईँमा लडीबुडी गर्दै फीँज काढ्न थाल्छ। येसु “उसलाई यस्तो हुन थालेको कति भयो?” भनेर त्यस केटाको बुबालाई सोध्नुहुन्छ। तिनी यसो भन्छन्: “बच्चैदेखि। त्यसले उसलाई कहिले आगोमा त कहिले पानीमा खसालेर मार्न खोज्छ।” तिनी उहाँलाई यस्तो बिन्ती गर्छन्: “यदि तपाईँ केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गर्नुहोस् र हामीलाई मदत गर्नुहोस्।”—मर्कुस ९:२१, २२.
त्यस केटाको बुबालाई छटपटी भइरहेको छ किनकि येसुका चेलाहरूले समेत तिनको छोरालाई निको पार्न सकेनन्। तिनले गरेको बिन्तीको जवाफस्वरूप येसु तिनलाई यस्तो आश्वासन दिनुहुन्छ: “तिमी किन ‘यदि तपाईँ केही गर्न सक्नुहुन्छ भने’ भन्छौ? जससित विश्वास छ, उसको लागि सबै कुरा सम्भव छ।” ती बुबा ठूलो स्वरमा तुरुन्तै यसो भन्छन्: “मसित विश्वास छ! तर मेरो विश्वासलाई अझै बलियो बनाइदिनुहोस्!”—मर्कुस ९:२३, २४.
येसुले त्यो भीड उहाँतिर दौडेर आइरहेको देख्नुहुन्छ। ती मानिसहरूले हेरिरहेको बेला येसु त्यस प्रेतलाई हप्काउँदै यसो भन्नुहुन्छ: “ए गुँगो र बहिरो प्रेत, म तँलाई आदेश दिन्छु, उसबाट निस्केर आइज र फेरि कहिल्यै उसमा बास नगर्!” अनि त्यो प्रेतले उसलाई चिच्याउन लगाउँछ र उसलाई अँठ्याउनुसम्म अँठ्याएपछि ऊबाट निस्केर जान्छ। त्यसपछि त्यो केटा मुर्दासरी हुन्छ। यो देखेर धेरै जनाले “केटो त मऱ्यो!” भन्छन्। (मर्कुस ९:२५, २६) तर येसुले हात समाएर उसलाई उठाउनुहुन्छ र ‘उत्तिखेरै ऊ निको भइहाल्छ।’ (मत्ति १७:१८) येसुले गर्नुभएको काम देखेर मानिसहरू अचम्म मान्छन्।
पहिला येसुले चेलाहरूलाई प्रचार गर्न पठाउनुहुँदा उनीहरूले प्रेतले सताएका मानिसहरूलाई निको पार्न सकेका थिए। त्यसैले एउटा घरभित्र पसेपछि उनीहरू येसुलाई सुटुक्क यस्तो सोध्छन्: “हामीले किन त्यसलाई धपाउन सकेनौँ?” उहाँ विश्वासको कमीले गर्दा हो भनी बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ: “यस किसिमको चाहिँ प्रार्थनाद्वारा मात्र निस्कन्छ।” (मर्कुस ९:२८, २९) त्यो शक्तिशाली प्रेतलाई निकाल्न चेलाहरूमा बलियो विश्वास हुनुपर्थ्यो र उनीहरूले परमेश्वरको मदतको लागि प्रार्थना पनि गर्नुपर्थ्यो।
अन्तमा येसु चेलाहरूलाई यसो भन्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, यदि तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्वास छ भने पनि तिमीहरूले यस डाँडालाई ‘यहाँबाट त्यहाँ सरिजा’ भन्यौ भने त्यो सरिजानेछ र तिमीहरूको लागि कुनै कुरा असम्भव हुनेछैन।” (मत्ति १७:२०) विश्वास भन्ने गुणमा साँच्चै शक्ति छ!
यहोवाको सेवामा अघि बढ्नदेखि रोक्ने बाधा र कठिनाइहरू हाम्रो लागि पार गर्न अथवा हटाउनै नसकिने डाँडाजस्तो देखिन सक्छन्। तर हामीले विश्वास खेती गऱ्यौँ भने हामी पहाडरूपी बाधा र कठिनाइसमेत पार लगाउन सक्छौँ।