अध्याय ७३
एक सामरियाली असल छिमेकी साबित हुन्छन्
अनन्त जीवन पाउन के गर्नुपर्छ?
असल सामरियाली
येसु अझै यरुसलेमनजिकैको इलाकामा हुनुहुन्छ र केही यहुदीहरू उहाँकहाँ आउँछन्। कोही-कोही उहाँबाट सिक्न चाहन्छन् भने अरू कोहीचाहिँ उहाँको परीक्षा लिन चाहन्छन्। तिनीहरूमध्ये व्यवस्थामा पोख्त एक जना यहुदीले यस्तो प्रश्न गर्छन्: “गुरुज्यू, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ?”—लुका १०:२५.
ती मानिसले यस्तो प्रश्न सोध्नुको कारण केवल जानकारी पाउन होइन भनेर येसु थाह पाउनुहुन्छ। सायद तिनी येसुको मुखबाट यहुदीहरूको अपमान हुने खालको जवाफ निकाल्न चाहन्छन्। ती मानिसले आफ्नै एउटा सोच बनाइसकेका छन् भनेर येसु चाल पाउनुहुन्छ। त्यसैले उहाँ तिनको मनसाय प्रकट हुनेगरि बुद्धिमानी तरिकामा जवाफ दिनुहुन्छ।
येसु सोध्नुहुन्छ: “व्यवस्थामा के लेखिएको छ? तिमीले के पढेका छौ?” ती मानिसले परमेश्वरको व्यवस्था अध्ययन गरेका छन्। त्यसैले तिनी व्यवस्थाकै आधारमा जवाफ दिन्छन्। तिनी व्यवस्था ६:५ र लेवी १९:१८ बाट उद्धृत गर्दै यसो भन्छन्: “‘तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा बलले र आफ्नो सारा दिमागले प्रेम गर्नू’ अनि ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’” (लुका १०:२६, २७) के तिनको जवाफ ठीक हो?
येसु ती मानिसलाई यसो भन्नुहुन्छ: “तिमीले ठीक जवाफ दियौ। त्यसै गरिरह अनि तिमीले जीवन पाउनेछौ।” तर के छलफल यतिमै टुङ्गिन्छ? तिनी यतिमै चित्त बुझाउँदैनन्। किनकि तिनी ‘आफूलाई धर्मी साबित गर्न’ चाहन्छन्; तिनी आफ्नो सोचाइ नै ठीक छ र आफूले अरूसँग गरिरहेको व्यवहार उचित छ भन्ने कुराको पुष्टि येसुबाट चाहन्छन्। त्यसैले तिनी यस्तो प्रश्न गर्छन्: “वास्तवमा मेरो छिमेकी को हो?” (लुका १०:२८, २९) सरलजस्तो सुनिने यस प्रश्नको जवाफ गहन छ। कसरी?
यहुदीहरूको विचारमा यहुदी परम्परा पछ्याउनेहरू मात्र “छिमेकी” हुन् र तिनीहरूले लेवी १९:१८ ले यही कुरालाई समर्थन गर्छ भन्ठानेको हुनुपर्छ। वास्तवमा तिनीहरू यहुदीले गैर-यहुदीसित सङ्गत गर्नु “अनुचित” हो भन्ने दाबी गर्छन्। (प्रेषित १०:२८) त्यसैले ती मानिस र सायद येसुका कोही-कोही चेलाहरूलाई समेत आफूले सङ्गी यहुदीहरूसित दयालु व्यवहार गरेमा धर्मी ठहरिन्छु जस्तो लागेको हुनुपर्छ। तर गैर-यहुदीहरूलाई निर्दयी व्यवहार गर्न तिनीहरूलाई ठीकै लाग्छ किनकि तिनीहरूको नजरमा उनीहरू “छिमेकी” होइनन्।
ती मानिस र अन्य यहुदीहरूको चित्त नदुखाई यस्तो गलत विचारधारालाई सच्याउन येसु के गर्नुहुन्छ? उहाँ एउटा कथा भन्नुहुन्छ: “एक जना मानिस यरुसलेमबाट यरिहोतिर ओर्लँदै थियो। अनि डाँकुहरूले उसलाई हमला गरे र उसको लुगासमेत लुटेर कुट्नसम्म कुटे अनि उसलाई अधमरो छोडेर गए।” येसु अझै यसो भन्नुहुन्छ: “संयोगवश एक जना पुजारी त्यही बाटो भएर ओर्लँदै थियो तर उसलाई देखेपछि ऊ बाटोको पारिपट्टीबाट गयो। त्यसैगरि एक जना लेवी पनि त्यस ठाउँमा पुगेपछि उसलाई देखेर बाटोको पारिपट्टीबाट गयो। एक जना सामरियाली पनि त्यही बाटो भएर यात्रा गरिरहेको थियो अनि त्यहाँ पुगेपछि उसलाई देखेर टिठायो।”—लुका १०:३०-३३.
येसु जसलाई यो कथा सुनाउँदै हुनुहुन्छ, तिनलाई धेरैजसो पुजारीहरू र मन्दिरमा सघाउने लेवीहरू यरिहोमा बस्छन् भनेर थाह छ। मन्दिरबाट फर्किँदा तिनीहरू झन्डै २३ किलोमिटर ओरालो बाटो हिँड्नुपर्छ। त्यो बाटोमा डाँकुहरू ढुकेर बस्ने भएकोले खतरनाक हुन सक्छ। कुनै पुजारी वा लेवीले बाटोमा आपत्मा परेको सङ्गी यहुदीलाई भेट्दा तिनलाई मदत गर्नुपर्ने हो नि, होइन र? तर येसुले सुनाउनुभएको कथामा तिनीहरूले मदत गर्दैनन्। मदत त एक सामरियालीले गर्छ, जुन जातिलाई यहुदीहरू घृणा गर्छन्।—युहन्ना ८:४८.
त्यस सामरियालीले घाइते यहुदीलाई कसरी मदत गर्छ? येसु अझै यसो भन्नुहुन्छ: “उसको नजिक गएर त्यस सामरियालीले उसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसलाई आफ्नो गधामा चढाएर पौवामा लग्यो र त्यहाँ उसको स्याहारसुसार गऱ्यो। भोलिपल्ट त्यस सामरियालीले दुई दिनार निकालेर पौवाको मालिकलाई दियो र भन्यो: ‘तिमीले उसको हेरविचार गर्नू र यसबाहेक जति खर्च लाग्छ, फर्केर आउँदा म तिरूँला।’”—लुका १०:३४, ३५.
यो कथा सुनाउनुभएपछि महान् शिक्षक येसुले यस्तो सोच्न लगाउने प्रश्न गर्नुहुन्छ: “अब भन, यी तीन जनामध्ये कोचाहिँ डाँकुहरूको फेला पर्ने त्यस मानिसको छिमेकी ठहरियो?” सायद ती मानिसलाई “सामरियाली” भनेर जवाफ दिन अप्ठेरो लागेकोले तिनी यसो भन्छन्: “जसले ऊसित कृपालु व्यवहार गऱ्यो, त्यहीचाहिँ।” त्यसपछि येसुले यस कथाबाट सिक्न सकिने सुस्पष्ट पाठ यसरी बताउनुहुन्छ: “जाऊ, तिमी पनि त्यसै गर।”—लुका १०:३६, ३७.
अरूलाई सिकाउने कस्तो प्रभावकारी तरिका! गैर-यहुदीहरू पनि तिनीहरूको छिमेकी हुन् भनेर येसुले सीधै भन्नुभएको भए के ती मानिस र अरू यहुदीहरूले सजिलै स्विकार्ने थिए? सायद स्विकार्ने थिएनन्। बरु उहाँले आफ्नो श्रोतालाई थाह भएको कुराहरू समावेश गर्दै कथा सुनाउनुहुँदा “वास्तवमा मेरो छिमेकी को हो?” भन्ने प्रश्नको जवाफ स्पष्ट हुन्छ। धर्मशास्त्रमा बताइएअनुसार जसले प्रेम र दया देखाउँछ, वास्तवमा ऊ नै असल छिमेकी हो।