यहोवाको दया अनुकरण गर्नुहोस्
“जस्तो तिमीहरूका पिता कृपालु हुनुहुन्छ, त्यस्तै तिमीहरू पनि कृपालु होओ।”—लूका ६:३६.
१. फरिसीहरूले आफू निर्दयी छन् भनेर कसरी देखाए?
परमेश्वरको स्वरूपमा सृजिएको भए तापनि मानवहरू अक्सर उहाँको दया अनुकरण गर्न असफल हुन्छन्। (उत्पत्ति १:२७) उदाहरणका लागि, फरिसीहरूलाई विचार गर्नुहोस्। विश्राम दिनमा येशूले दया गरी एक जना व्यक्तिको सुकेको हात निको पारिदिनुहुँदा तिनीहरू रमाउन सकेनन्। बरु, “उहाँलाई कसरी नाश गरौं” भनेर येशूको विरुद्धमा तिनीहरूले मतो बाँधे। (मत्ती १२:९-१४) अर्को पटक चाहिं येशूले जन्मजात अन्धोलाई निको पार्नुभयो। फेरि, “फरिसीहरूमध्ये कुनै कुनैले” येशूले देखाउनुभएको अनुकम्पामा रमाउने कारण देखेनन्। बरु, उल्टो तिनीहरू यसो भन्दै गुनासो गर्न थाले: “यो मानिस परमेश्वर तर्फको होइन, किनकि त्यसले विश्रामको दिन पालन गर्दैन।”—यूहन्ना ९:१-७, १६.
२, ३. येशूले “फरिसी . . . हरूको खमीरबाट बच” भन्नुको अर्थ के थियो?
२ फरिसीहरूको कठोर मनोवृत्तिको कारण तिनीहरूले मानवजाति तथा परमेश्वर विरुद्ध पाप गर्ने योजना बनाए। (यूहन्ना ९:३९-४१) असलै कारणको निम्ति येशूले चेलाहरूलाई यो गण्यमान्यहरूको समूह र अन्य धर्मावलम्बी जस्तै सदुकीहरूको “खमीरबाट बच” भनेर चेताउनी दिनुभयो। (मत्ती १६:६) बाइबलमा पाप वा दूषित कुरालाई वर्णन गर्न खमीर शब्द प्रयोग गरिएको छ। अतः “फरिसी र सदुकीहरूको” शिक्षाले शुद्ध उपासनालाई दूषित पार्नसक्छ भनेर येशू बताउँदै हुनुहुन्थ्यो। कसरी? तिनीहरू आफैले नियम तथा प्रथाहरू बनाएर परमेश्वरको व्यवस्था मान्न लगाउँथे भने दयालगायत अन्य “गहकिला कुराहरू[लाई]” चाहिं इन्कार गर्न सिकाउँथे। (मत्ती २३:२३) यो विधिविधानले गर्दा परमेश्वरको उपासना बोक्नै नसकिने बोझ भएको थियो।
३ उडन्ताको उखानको दोस्रो खण्डमा येशूले यहूदी धार्मिक नेताहरूको दूषित सोचाइलाई पर्दाफास गर्नुभयो। यहोवालाई चित्रित गर्ने बुबा आफ्नो पश्चात्तापी छोरोलाई क्षमा गर्न उत्सुक थिए। तर “फरिसीहरू र शास्त्रीहरू[लाई]” चित्रण गर्ने दाजुको मनोवृत्ति भने पूर्णतया भिन्न थियो।—लूका १५:२.
दाजुको रिस
४, ५. उडन्ताको दाजु कुन अर्थमा “हराएको” थियो?
४ “अब तिनको जेठो छोरो खेतमा थियो, र जब त्यो आइरहेको थियो तब घरको नजीक आइपुग्दा त्यसले गान-बजान र नाचेको आवाज सुन्यो। औ नोकरहरूमध्ये एउटालाई आफूकहाँ बोलाएर ‘यो के हो?’, भनेर सोध्यो। औ त्यसले उसलाई भन्यो, ‘तपाईंको भाइ आइपुगे, र तपाईंका पिताले पालिराखेको मोटो बाछा मार्नुभयो। किनकि उहाँले तिनलाई निकानन्दै पाउनुभयो।’ तर उ रिसायो, र भित्र जानै मन गरेन।”—लूका १५:२५-२८.
५ स्पष्टतया, येशूको उखानमा समस्या भएको व्यक्ति त्यो उडन्ता मात्र थिएन। एउटा पुस्तक बताउँछ, “यहाँ चित्रण गरिएका दुवै छोराहरू हराएका छन्। एउटा आफूलाई पतित तुल्याउने अधर्मी कार्यले गर्दा हराएको थियो भने अर्को चाहिं आत्मधर्मी भएकोले अन्धा भएर हराएको थियो।” यहाँ याद गर्नुहोस्, उडन्ताको दाजु नरमाएको मात्र होइन तर “रिसायो” पनि। “रिस” शब्दको युनानी मूल अर्थले रिसाएर पड्कनु मात्र होइन तर मनको निरन्तर अवस्थालाई बुझाउँछ। स्पष्टतः उडन्ताको दाजुको क्रोधले जरो गाडेर बसेको थियो। अतः त्यसरी घर छोडेर हिंड्नै नहुने व्यक्ति फेरि फर्केर आउँदा उसको स्वागतमा रमाइलो गर्नु उसलाई अनुचित लाग्यो।
६. उडन्ताको दाजुले कसलाई चित्रित गर्छ र किन?
६ येशूले पापीहरूप्रति अनुकम्पा देखाउनुहुँदा र ध्यान दिनुहुँदा आवेगमा आउनेहरूलाई उडन्ताको दाजुले ठ्याक्कै सुहाउनेगरि चित्रित गर्छ। यी आत्मधर्मीहरू येशूको दया देखेर पग्लेनन्; नता एक जना पापीले क्षमा पाउँदा स्वर्गमा हुने रमाहट नै तिनीहरू प्रकट गर्छन्। बरु, येशूले देखाउनुभएको दयादेखि तिनीहरू क्रोधित भए र “दुष्ट विचार” गरे। (मत्ती ९:२-४) एक पटक त फरिसीहरूको रिसले साह्रै उग्र रूप लियो। अतः येशूले निको पार्नुभएको मानिसलाई हाजिर गराएर तिनीहरूले उसलाई सभाघरबाट “निकालिदिए।” हुनसक्छ, बहिष्कारै गरिदिए होलान्! (यूहन्ना ९:२२, ३४) ‘भित्र जानै मन नगर्ने’ उडन्ताको दाजुजस्तै यी यहूदी धार्मिक नेताहरू “आनन्द गर्नेहरूसँग आनन्द” गर्ने मौका पाउँदा पनि अरट्ठो भएर बसे। (रोमी १२:१५) उखान बताउँदै जाँदा येशूले तिनीहरूको दुष्ट तर्क अझै पर्दाफास गर्नुभयो।
गलत तर्क
७, ८. (क) उडन्ताको दाजुले छोरो हुनुको सही मतलब कसरी बुझ्न सकेन? (ख) दाजुचाहिं बुबाजस्तो कसरी हुनसकेन?
७ “उसको बाबुले बाहिर गएर उसलाई मनाउनलागे। तर त्यसले बाबुलाई भन्यो ‘हेर्नुहोस्, यत्तिका वर्ष मैले तपाईंको सेवा गरिरहेछु, औ तपाईंको आज्ञा कहिल्यै उल्लङ्घन गरिनँ, तापनि मैले आफ्ना मित्रहरूसित आनन्द मनाऊँ भनेर तपाईंले मलाई बाख्राको पाठो पनि कहिल्यै दिनुभएन। तर तपाईंको सम्पत्ति वेश्याहरूसित उड़ाउने यो तपाईंको छोरो आउँदा चाहिं तपाईंले पालिराखेको मोटो बाछा त्यसको निम्ति मार्नुभयो।’ ”—लूका १५:२८-३०.
८ छोरो हुनुको सही मतलब, उडन्ताको दाजुले बुझ्नसकेको रहेनछ भनेर यी शब्दहरूबाट प्रस्टै देखियो। नोकरले मालिकको सेवा गरेजस्तै उसले आफ्नो बुबाको सेवा गरेको रहेछ। किनकि उसले बुबालाई भन्यो: “मैले तपाईंको सेवा गरिरहेछु।” हो, जेठो छोरा कहिल्यै घर छोडेर हिंडेन नता बुबाको आज्ञा कहिल्यै उल्लंघन गऱ्यो। तर के ऊ प्रेमको कारण आज्ञाकारी भएको थियो त? के ऊ बुबाको सेवा गर्दा साँच्चै आनन्दित थियो? अथवा “खेतमा” आफ्नो काम पूरा गरेकोले आफू एकदम असल छोरो हुँ भन्ठान्दै यति गरे पुग्छ भन्ने भावनाले पो उसलाई समात्न थालेको थियो कि? यदि ऊ साँच्चै समर्पित छोरो हुँदो हो त उसले बुबाको मन किन बुझ्न सकेन? भाइप्रति दया देखाउने मौका पाउँदा पनि उसको मनमा अनुकम्पाको टुसा किन अंकुराएन?—भजन ५०:२०-२२ तुलना गर्नुहोस्।
९. यहूदी धार्मिक नेताहरू जेठो छोरोजस्तै कसरी भए, व्याख्या गर्नुहोस्।
९ यहूदी धार्मिक नेताहरू यो जेठो छोराजस्तै थिए। तिनीहरू व्यवस्था एक एक गरी पालन गरेकोले आफू परमेश्वरप्रति वफादार छौं भन्ठान्थे। हो, आज्ञाकारी हुनु अत्यावश्यक छ। (१ शमूएल १५:२२) तर विधिविधानमा बढी जोड दिएको कारण तिनीहरूले परमेश्वरको उपासनालाई भावनाविहिन, यान्त्रिक साँचो आध्यात्मिकताबिना बाह्य भक्ति प्रकट गर्ने बनाए। तिनीहरूको मन परम्पराहरूमा चुर्लुम्म डुबेको थियो। तिनीहरूको मनमा कुनै दया, माया थिएन। यहाँसम्म कि, सर्वसाधारणलाई खुट्टामुनिको धुलोसरह ठान्थे, तिनीहरूलाई “श्रापित” मानिसहरू भन्दै हेला गर्थे। (यूहन्ना ७:४९) आ-आफ्ना हृदय परमेश्वरबाट कोसौं टाढा राखेका यी नेताहरूले आफ्नो कामद्वारा परमेश्वरलाई कसरी खुसी पार्नसक्ने होलान्?—मत्ती १५:७, ८.
१०. (क) “म दया चाहन्छु, तर बलिदान होइन” भन्ने शब्दहरू किन उपयुक्त सल्लाह थियो? (ख) निर्दयी हुनु कत्तिको गम्भीर छ?
१० येशूले फरिसीहरूलाई भन्नुभयो: “तिमीहरू गएर सिक, यसको अर्थ के हो? ‘म दया चाहन्छु, तर बलिदान होइन।’ ” (मत्ती ९:१३; होशे ६:६) तिनीहरूले कसलाई प्राथमिकता दिनुपर्ने हो, त्यो नै तिनीहरूले बुझेनन्। किनकि दयाबिना तिनीहरूका सम्पूर्ण बलिदान व्यर्थ हुने थियो। वास्तवमा यो असाध्यै गम्भीर विषय हो, किनकि “निर्दयीहरू[लाई]” परमेश्वर “मृत्युका योग्य[मध्ये]” गन्नुहुन्छ भनी बाइबल बताउँछ। (रोमी १:३१, ३२) त्यसैकारण त, येशूले यी धार्मिक नेताहरू समूहगत रूपमा अनन्त विनाशका लागि छुट्याइसकिए भन्नुभयो। विशेषगरि निर्दयी भएकाले नै तिनीहरूले यो न्यायदण्ड भोग्नुपऱ्यो। (मत्ती २३:३३) तर हुनसक्छ तिनीहरूमध्ये कसै कसैलाई मदत गर्न सकिन्थ्यो होला। उखानको अन्तमा बुबाले जेठो छोरोलाई भन्ने कुराहरू मार्फत येशूले यस्ता यहूदीहरूको विचार सुधार्ने अथक प्रयास गर्नुभयो। कसरी आउनुहोस्, हामी हेरौं।
बुबाको दया
११, १२. येशूको उदाहरणमा बुबाले जेठो छोरोसित कसरी तर्क गर्न खोज्यो र “तेरो भाइ” भन्ने पदावली प्रयोग गरेर बुबाचाहिंले के बुझाउन खोज्दै थियो होला?
११ “तब तिनले त्यसलाई भने, ‘ए छोरा, तँता मसित सधैंभरि छस् नि, औ मेरो सबै तेरै हो। तर आनन्द मनाउनु र खुशी हुनुपर्ने नै हो, किनकि तेरो भाइ मरेको थियो, फेरि बिउँत्यो, औ हराएको थियो, पाइयो।’ ”—लूका १५:३१, ३२.
१२ याद गर्नुहोस्, यहाँ बुबाले “तेरो भाइ” भन्ने अभिव्यक्ति प्रयोग गरे। किन? यसको लागि बुबासित यसअघि कुरा गर्दा त्यो जेठो छोरोले उडन्तालाई “तपाईंको छोरो” भनेको तर “मेरो भाइ” नभनेको याद गर्नुहोस्। ऊ आफू र भाइबीचको पारिवारिक बन्धनलाई स्वीकार्न नचाहेको देखिन्थ्यो। त्यसैकारण, बुबा चाहिंले जेठो छोरोलाई यसो भनिरहेका थिए: ‘यो मेरो छोरो मात्र होइन। तेरो भाइ तेरो आफ्नै रगत र मासु पनि हो। त्यो फर्केकोले तँसित खुसी हुनुपर्ने हर कारण छ!’ येशूको सन्देश यहूदी नेताहरूले प्रस्टै बुझ्नुपर्ने हो। तिनीहरूले तुच्छ ठानेका पापीहरू वास्तवमा तिनीहरूकै “भाइ” थिए। किनकि, “संसारमा यस्तो कुनै धर्मी मानिस छैन जसले सबै काम ठीक गर्छ र कहिल्यै भुल गर्दैन।” (उपदेशक ७:२०) अतः पापीहरूले पश्चात्ताप गरेको हुँदा विशिष्ट यहूदीहरूसित रमाउने कारण थियो।
१३. येशूले अकस्मात् उखान टुंग्याउनुभएकोले हामीअघि कस्तो विचारणीय प्रश्न छ?
१३ बुबाको यो आग्रहपछि उखान त्यतिमै टुंगिन्छ। मानौं येशू आफ्ना स्रोताहरूलाई यो कथालाई आ-आफ्नै तरिकामा टुंग्याउन निम्त्याउँदै हुनुहुन्छ। जेठो छोरोको जवाफ जस्तोसुकै होस्, प्रत्येक स्रोताले यो प्रश्नको जवाफ दिनुपरेको थियो, ‘पापीले पश्चात्ताप गर्दा स्वर्गमा गरिने रमाहटमा के तपाईं पनि रमाहट गर्नुहुनेछ?’ यस प्रश्नको जवाफ दिने मौका आज मसीहीहरूले पनि पाएका छन्। कसरी?
आज परमेश्वरको दया अनुकरण गर्दै
१४. (क) दया देखाउने सम्बन्धमा एफिसी ५:१ मा पाइने पावलको सल्लाहलाई हामी कसरी पालन गर्नसक्छौं? (ख) परमेश्वरको दयालाई कुन गलत धारणाले लिनुदेखि सतर्क हुनुपर्छ?
१४ पावलले एफिसीहरूलाई यस्तो सल्लाह दिए: “तिमीहरू प्रिय बालकहरूझैं परमेश्वरका देखा-सिकी गर्नेहरू होओ।” (एफिसी ५:१) यसर्थ, हामी मसीहीहरू परमेश्वरले दया देखाउनुभएकोमा कृतज्ञ हुनुपर्छ, त्यसलाई हाम्रो हृदयमा गड्न दिनुपर्छ र त्यसपछि अरूसित व्यवहार गर्दा यो गुणलाई प्रकट गर्नुपर्छ। तथापि, सतर्क हुनु उपयुक्त छ। पापको गम्भीरतालाई हल्का तुल्याउने गरी परमेश्वरको दयाको गलत अर्थ लगाएर पापको गम्भीरतालाई हल्का तुल्याउनु हुँदैन। उदाहरणका लागि, कतिपय त्यस्ता व्यक्तिहरू छन्, जसले भावशून्य भई यसप्रकार तर्क गर्लान्, ‘मैले पाप गरिहालें भने पनि परमेश्वरलाई प्रार्थना गरेर क्षमा मागिहाल्छु अनि उहाँले पनि दया देखाइहाल्नुहुन्छ नि।’ यस्तो मनोवृत्ति बाइबलका एक जना लेखक यहूदाले भनेझैं “परमेश्वरको अनुग्रहलाई लुच्च्याइँमा फिराउनु” हो। (यहूदा ४) यहोवा दयालु हुनुभए तापनि अपश्चात्तापी कुकर्मीहरूसित व्यवहार गर्नुहुँदा “दोषीलाई कुनै किसिमले पनि निर्दोष” ठहराउनुहुन्न।—प्रस्थान ३४:७; तुलना गर्नुहोस् यहोशू २४:१९; १ यूहन्ना ५:१६.
१५. (क) विशेषगरि प्राचीनहरूले दयाको सम्बन्धमा सन्तुलित दृष्टिकोण अपनाउनु किन जरुरी छ? (ख) जानाजानी गरेको गल्तीलाई प्राचीनहरूले हल्कासित नलिन के गर्ने प्रयास गर्नुपर्छ र किन?
१५ अर्कोतिर, अचाक्ली कुरा गर्ने अर्थात् साँचो पश्चात्ताप गर्ने तथा आफ्ना पापको कारण ईश्वरीय दुःख व्यक्त गर्नेहरूप्रति अरठ्ठो हुने तथा समालोचना गर्ने मनोवृत्ति विकास गर्नदेखि पनि हामी सतर्क हुनु आवश्यक छ। (२ कोरिन्थी ७:११) प्राचीनहरूलाई यहोवाको भेडाको हेरचाह गर्ने जिम्मेवारी सुम्पिएको हुँदा यस सम्बन्धमा र विशेषगरि न्यायिक मामिलामा तिनीहरूले सन्तुलित दृष्टिकोण अपनाउनु अत्यावश्यक छ। मसीही मण्डली सफा राख्नैपर्छ र बहिष्कार गरेर “दुष्ट मानिसलाई हटा[उनु]” धर्मशास्त्रअनुसार उचित छ। (१ कोरिन्थी ५:११-१३) यसको अलावा, दया देखाउने ठाउँ प्रस्टै देखिन्छ भने दया देखाउनु बेस हुन्छ। अतः जानाजानी गरेको गल्तीलाई प्राचीनहरू हल्कासित लिंदैनन् तर न्यायको सीमाले दिउञ्जेल मायालु तथा दयालु तरिकामा व्यवहार गर्ने प्रयास पनि गर्छन्। तिनीहरू बाइबलको यो सल्लाहसित परिचित छन्: “दया नदेखाउनेको इन्साफ निर्दयसाथ हुनेछ। दयाले इन्साफमाथि दिग्विजय गर्दछ।”—याकूब २:१३; हितोपदेश १९:१७; मत्ती ५:७.
१६. (क) गल्ती गर्नेहरू फर्केको यहोवा साँच्चै चाहनुहुन्छ भनी बाइबल प्रयोग गर्दै देखाउनुहोस्। (ख) फर्केर आउने पश्चात्तापी पापीलाई हामी स्वागत गर्छौं भनी कसरी देखाउनसक्छौं?
१६ यहोवा गल्ती गर्नेहरू उहाँकहाँ फर्केको इच्छा गर्नुहुन्छ भनी उडन्ताको उखानले प्रस्ट्याउँछ। वास्तवमा, तिनीहरू अपश्चात्तापी नहोउञ्जेल उहाँ तिनीहरूलाई फर्कन आग्रह गर्नुहुन्छ। (इजकिएल ३३:११; मलाकी ३:७; रोमी २:४, ५; २ पत्रुस ३:९) उडन्ताको बुबाजस्तै यहोवा फर्कनेहरूलाई परिवारको सक्रिय सदस्यको रूपमा पूर्ण हक दिएर इज्जतसाथ स्वीकार्नुहुन्छ। के तपाईं यहोवाको यो गुण अनुकरण गर्दै हुनुहुन्छ? केही समय बहिष्कृत भइसकेको सँगी मसीही पुनर्स्थापित हुँदा तपाईं कस्तो प्रतिक्रिया व्यक्त गर्नुहुन्छ? “स्वर्गमा आनन्द हुनेछ” भनेर त हामीले थाह पाइसक्यौं। (लूका १५:७) तर के पृथ्वीमा, तपाईंको मण्डलीमा, तपाईंको हृदयमा पनि रमाहट भएको छ? अथवा परमेश्वरको बगाललाई त्याग्नै नहुने व्यक्ति स्वागतको योग्य कसरी हुनसक्छ भन्दै उखानको जेठो छोरोले जस्तै द्वेष राख्नुहुन्छ?
१७. (क) प्रथम शताब्दीको कोरिन्थ मण्डलीमा कस्तो अवस्था सृजियो र यो स्थितिलाई सुधार्न पावलले मण्डलीलाई कसरी सल्लाह दिए? (ख) पावलको सल्लाह किन व्यवहारिक थियो र हामी आज यसलाई कसरी व्यवहारमा उतार्नसक्छौं? (दायाँतिरको पेटी पनि हेर्नुहोस्।)
१७ यस सम्बन्धमा आफैलाई जाँच्न सा.यु. ५५ तिर कोरिन्थमा भएको कुरा विचार गर्नुहोस्। त्यहाँ मण्डलीबाट निकालिएका एक व्यक्तिले अन्ततः शुद्ध नैतिक जीवन बिताउन थाले। अब भाइहरूले के गर्ने? उसको पश्चात्तापमाथि शंका गरेर उसलाई बेवास्ता गर्नुपर्ने हो कि? यसको विपरीत पावलले कोरिन्थीकाहरूलाई यस्तो आग्रह गरे: “तिमीहरूले अनुग्रह गरी क्षमा गर्नु र सान्त्वना दिनुपर्दछ, नत्रता कुनै किसिमले त्यस्तो मानिस झन् बढ़ता शोकले चुर्लुम्म डुब्नेछ। यसकारण त्यसलाई आफ्नो प्रेमको प्रमाण देओ भनी म तिमीहरूसित आग्रहपूर्वक बिन्ती गर्दछु।” (२ कोरिन्थी २:७, ८) गल्ती गर्ने पश्चात्तापीहरूले अक्सर अपमानित तथा हताश महसुस गर्ने सम्भावना हुन्छ। यसर्थ, सँगी विश्वासीहरूले माया गर्छन् र यहोवाले पनि माया गर्नुहुन्छ भनेर यिनीहरूलाई आश्वासन दिनु आवश्यक छ। (यर्मिया ३१:३; रोमी १:१२) यो अत्यावश्यक छ। किन?
१८, १९. (क) सुरुमा पाप गर्दा पनि कुनै दण्ड नदिएर कोरिन्थीहरूले कसरी पाप गरी नै रहन दिए? (ख) निर्दयी मनोवृत्तिको कारण कोरिन्थीहरू कसरी ‘शैतानको दाउमा पारिरहेका हुनेथिए’?
१८ कोरिन्थीकाहरूलाई क्षमाशील हुने आग्रह गर्दा पावलले त्यसो गर्ने कारणहरूमध्ये एउटा, “हामीमाथि शैतानको केही दाउ नलागोस्, किनकि त्यसका युक्तिहरूका विषयमा हामी अजान छैनौं,” भने। (२ कोरिन्थी २:११) तिनी के भन्न खोज्दै थिए? यस अघि, पावलले एकदमै फितलो भएकोले कोरिन्थी मण्डलीलाई हप्काउनुपरेको थियो। तिनीहरूले त्यो व्यक्तिलाई सुरुमा पाप गर्दा, कुनै दण्ड नदिएर पाप गरी नै रहन दिएका थिए। यसरी मण्डली र त्यसमा पनि विशेषगरि त्यहाँका प्राचीनहरूले शैतानलाई मन पर्ने ढंगमा काम गरिरहेका थिए किनकि शैतान मण्डलीको बदनाम गर्न चाहन्छ।—१ कोरिन्थी ५:१-५.
१९ अब अहिले अर्कै व्यवहार गरेर त्यो पश्चात्तापीलाई क्षमा गर्न इन्कार गरेमा तिनीहरू भिन्नै ढंगमा शैतानको दाऊमा परिरहेका हुनेथिए। कसरी? तिनीहरूको कठोरता र निर्दयीताको फाइदा शैतानले उठाउनसक्थ्यो। पश्चात्ताप गर्ने पापी “झन् बढ्ता शोकले चुर्लुम्म डुबेमा” अर्थात् टुडेज इंग्लिश भर्सन-को अनुवादअनुसार “पूर्णतया हरेश खानेगरि दुःखी भएमा” प्राचीनहरूले यहोवासमक्ष कत्ति ठूलो जिम्मेवारी वहन गर्नुपर्ने थियो! (इजकिएल ३४:६; याकूब ३:१ तुलना गर्नुहोस्।) “यी सानाहरूमध्ये एउटालाई” बाधा नपुऱ्याउन सतर्क गराउँदै येशूले राम्रै कारणले यसो भन्नुभयो: “आफ्नो विषयमा होशियार रहो। तिम्रो भाइले अपराध गऱ्यो भने त्यसलाई सम्झाऊ, र त्यो पछतायो भने त्यसलाई क्षमा गर।”a—लूका १७:१-४.
२०. पापीले पश्चात्ताप गर्दा स्वर्ग र पृथ्वी दुवै ठाउँमा कसरी रमाहट हुन्छ?
२० वर्षेनी साँचो उपासनातर्फ फर्कने हजारौं व्यक्तिहरू यहोवाले देखाउनुभएको दयाप्रति कृतज्ञ छन्। “मलाई यतिबिघ्न खुसी पहिले कहिल्यै लागेको थिएन,” एउटी मसीही बहिनी पुनर्स्थापित हुँदाखेरीको आफ्नो अनुभूति बताउँछिन्। निस्सन्देह, तिनको रमाहट स्वर्गदूतहरूबीच पनि गुञ्जिएको छ। आउनुहोस्, एक जना पापीले पश्चात्ताप गर्दा “स्वर्गमा” हुने “आनन्द[मा]” हामी पनि समावेश हुनसकौं। (लूका १५:७) यसो गऱ्यौं भने हामीले यहोवाको दया अनुकरण गरिरहेका हुनेछौं।
[फुटनोट]
a कोरिन्थको गल्ती गर्ने व्यक्तिले तुलनात्मक हिसाबमा छिट्टै पुनर्स्थापित भएको देखिए तापनि बहिष्कार हुनेहरू सबैमा यही स्तर लागू गर्नुहुँदैन। हरेक परिस्थिति फरक फरक हुन्छ। केही गल्ती गर्नेहरू बहिष्कृत हुने बित्तिकै साँचो पश्चात्ताप प्रकट गर्छन्। तर अन्य कतिपयलाई यस्तो मनोवृत्ति जाहेर गर्न केही समय लाग्छ। तथापि, जुनसुकै अवस्थामा पुनर्स्थापित हुनेहरूले पहिला ईश्वरीय दुःख प्रकट गरेकै हुनुपर्छ र सम्भव भए पश्चात्ताप योग्यको काम पनि गरेकै हुनुपर्छ।—प्रेरित २६:२०; २ कोरिन्थी ७:११.
पुनरावलोकन गर्दा
◻ उडन्ताको दाजु यहूदी धार्मिक नेताहरूजस्तै कसरी भए?
◻ उडन्ताको दाजुले कुन कुन अर्थमा छोरो हुनुको सही मतलब बुझ्न सकेन?
◻ परमेश्वरको दया प्रतिबिम्बित गर्दा हामीले कस्तो दुइटा तरिकामा अचाक्ली व्यवहार गर्नुहुँदैन?
◻ आज हामी कसरी परमेश्वरको दया अनुकरण गर्नसक्छौं?
[पृष्ठ १५-मा भएको चित्र]
भाइ फर्कंदा जेठो छोरो रमाउन मानेन