अध्याय ९८
प्रेषितहरू फेरि प्रतिष्ठा खोज्छन्
मत्ति २०:१७-२८ मर्कुस १०:३२-४५ लुका १८:३१-३४
येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ
प्रेषितहरूले प्रतिष्ठाको चाह गर्दा
येसु र उहाँका चेलाहरू पेरिया भएर दक्षिणतर्फ यात्रा गर्दै हुनुहुन्छ। अब उहाँहरू यरिहो भएर यरुसलेम जान यर्दन नदी पार गर्नुहुन्छ। इस्वी संवत् ३३ को निस्तार चाडको लागि उहाँहरूसँगै अरू मानिसहरू पनि यात्रा गरिरहेका छन्।
येसु चेलाहरूको अघि-अघि हिँडिरहनुभएको छ; उहाँ निस्तार चाडको लागि समयमै यरुसलेम पुग्न चाहनुहुन्छ। तर चेलाहरू भने डराइरहेका छन्। लाजरसको मृत्यु भएको बेला येसु पेरियाबाट यहुदिया छिर्न लाग्नुहुँदा थोमाले अरू चेलाहरूलाई यसो भनेका थिए: “लौ, हामी पनि जाऔँ अनि उहाँसितै मरौँ।” (युहन्ना ११:१६, ४७-५३) यरुसलेम जानु खतरा भएकोले चेलाहरू डराउनु स्वाभाविकै हो।
हुनै लागेका घटनाहरूको लागि प्रेषितहरूलाई तयार पार्न येसु तिनीहरूलाई अलग्गै लग्नुहुन्छ र यसो भन्नुहुन्छ: “हामी यरुसलेमतर्फ उक्लँदै छौँ, मानिसको छोरालाई मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ अनि तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन् र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन् अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्, उसलाई कोर्रा लगाउनेछन् र खम्बामा टाँग्नेछन् अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”—मत्ति २०:१८, १९.
येसुले चेलाहरूलाई आफ्नो मृत्यु र फेरि जीवित हुनेबारे पहिला पनि दुई पटक बताइसक्नुभएको छ। (मत्ति १६:२१; १७:२२, २३) तर अहिले तेस्रो पटक भने आफूलाई खम्बामा टाँगेर मारिनेछ भनेर उहाँ बताउनुहुन्छ। तिनीहरू उहाँको कुरा सुन्छन् तर त्यसको अर्थ भने बुझ्न सक्दैनन्। सम्भवतः तिनीहरू इस्राएल राज्य पृथ्वीमा फेरि स्थापित हुने प्रतीक्षा गरिरहेका छन् र त्यस राज्यमा तिनीहरू ख्रिष्टसँगै महिमा अनि प्रतिष्ठाको आनन्द उठाउन चाहन्छन्।
याकुब र युहन्नाका आमा, जो सम्भवतः सलोमी हुन्, उनी पनि सँगै यात्रा गरिरहेकी छिन्। येसुले यी दुई प्रेषितलाई “गर्जनका छोराहरू” भन्ने अर्थ लाग्ने नाम दिनुभएको छ किनकि यिनीहरू बल्दो जोसले भरिएका छन्। (मर्कुस ३:१७; लुका ९:५४) केही समयदेखि यी दुई जना प्रेषितले ख्रिष्टको राज्यमा प्रमुख स्थान प्राप्त गर्ने अभिलाषा राखेका छन्। यो कुरा तिनीहरूका आमालाई पनि थाह छ। अब उनी येसुकहाँ आएर उहाँलाई दण्डवत् गर्छिन् अनि आफ्ना छोराहरूको तर्फबाट उहाँलाई एउटा बिन्ती गर्छिन्। येसु भन्नुहुन्छ: “तिमी के चाहन्छ्यौ?” उनी भन्छिन्: “मलाई वचन दिनुहोस्, तपाईँको राज्यमा मेरा यी दुई छोरा एक जना तपाईँको दाहिने हाततिर र अर्कोचाहिँ देब्रे हाततिर बस्न पाउनेछन्।”—मत्ति २०:२०, २१.
वास्तवमा यस्तो आग्रह गर्न लगाउने याकुब र युहन्ना नै हुन्। येसुले भर्खरै मात्र आफूले भोग्नुपर्ने गिल्ला र बेइज्जतीबारे बताउनुभएको छ। त्यसैले उहाँ तिनीहरूलाई भन्नुहुन्छ: “तिमीहरू के माग्दै छौ, त्यो तिमीहरू जान्दैनौ। मैले पिउन लागेको कचौरा के तिमीहरू पिउन सक्छौ?” तिनीहरू “सक्छौँ” भनेर जवाफ दिन्छन्। (मत्ति २०:२२) तर तिनीहरूले अझै पनि यसले तिनीहरूको लागि कस्तो अर्थ राख्छ भनेर पूरै बुझिसकेका छैनन् जस्तो देखिन्छ।
तर येसु तिनीहरूलाई भन्नुहुन्छ: “तिमीहरूले मेरो कचौरा निश्चय पिउनेछौ तर मेरो दाहिने र देब्रे हाततिर बस्न दिने अधिकार मसित छैन। मेरो बुबाले जसको लागि त्यो तयार पार्नुभएको छ, ऊ नै त्यहाँ बस्नेछ।”—मत्ति २०:२३.
याकुब र युहन्नाको आग्रहबारे थाह पाएपछि बाँकी दस जना प्रेषित असाध्यै रिसाउँछन्। केही समयअघि प्रेषितहरूमाझ सबैभन्दा ठूलो को हो भन्नेबारे बहस चल्दा याकुब र युहन्ना त्यो बहसको अग्रपङ्क्तिमा भएको हुन सक्छ। (लुका ९:४६-४८) जेहोस्, याकुब र युहन्नाले भर्खरै गरेको आग्रहबाट ती बाह्र प्रेषितले आफूलाई सबैभन्दा सानो ठान्ने विषयमा येसुले दिनुभएको सल्लाह लागू गरेका छैनन् भन्ने कुरा प्रस्ट देखिन्छ। सबैभन्दा ठूलो हुने उनीहरूको चाहना यथावतै छ।
येसु हालै उठेको यो विवाद र यसले गर्दा प्रेषितहरूमाझ भएको मनमुटाव अन्त गर्न चाहनुहुन्छ। त्यसैले उहाँ बाह्रै जनालाई बोलाउनुहुन्छ र तिनीहरूलाई यसो भन्दै मायालु तरिकामा सम्झाउनुहुन्छ: “तिमीहरूलाई थाहै छ, संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन् र तिनीहरूका ठूलाबडाहरूले तिनीहरूमाथि अख्तियार जमाउँछन्। तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन; तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ। अनि तिमीहरूमाझ जो पहिलो हुन चाहन्छ, ऊ सबैको दास हुनुपर्छ।”—मर्कुस १०:४२-४४.
येसु तिनीहरूलाई उहाँको उदाहरण अनुकरण गर्न प्रोत्साहन दिनुहुन्छ। उहाँ भन्नुहुन्छ: “मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।” (मत्ति २०:२८) येसुले करिब तीन वर्षदेखि अरूको सेवा गर्दै आउनुभएको छ र अब उहाँले मानिसजातिको लागि आफ्नो ज्यानै दिनुहुनेछ। अरूबाट सेवा पाउने होइन, अरूको सेवा गर्ने ख्रिष्टको जस्तो मनोभाव चेलाहरूले पनि अनुकरण गर्नुपर्छ; तिनीहरूले अरूभन्दा ठूलो हुने होइन तर अरूभन्दा सानो हुने प्रयास गर्नुपर्छ।