भय—अहिले सामान्य तर सधैंको लागि होइन!
परमेश्वरको वचनका विद्यार्थीहरू अहिले भय यत्तिको सामान्य भएकोमा छक्क परेका छैनन्। यहोवाका साक्षीहरूले आफ्नो सेवकाईमा व्यापक तवरले घोषणा गरेअनुसार हामी अहिले मानव इतिहासको महत्त्वपूर्ण समयमा बाँचिरहेका छौं भन्ने प्रशस्त प्रमाणहरू छन्। तपाईंलाई थाहै होला, यस समयावधिमा जताततै भय व्याप्त छ। तर येशूले धेरैअघि हाम्रो समयलाई चिन्हित गर्नुभयो अर्थात् औंल्याउनुभयो। उहाँले आफ्नो उपस्थिति र यस रीतिरिवाजको अन्त अथवा ‘जगत्को अन्त’ सम्बन्धी प्रेरितहरूका प्रश्नहरूको जवाफ दिइरहनुभएको थियो।—मत्ती २४:३.
येशूले गर्नुभएको भविष्यवाणीको केही अंश यसप्रकार छ:
“जाति, जातिको विरुद्धमा, र राज्य, राज्यको विरुद्धमा उठ्नेछ, ठूला ठूला भैंचालो जानेछ, औ विभिन्न ठाउँहरूमा रूढ़ी र अनिकाल हुनेछ, आकाशबाट डरलाग्दा लक्षण र ठूला ठूला चिन्हहरू हुनेछन्।”—लूका २१:१०, ११.
के तपाईंले “डरलाग्दा लक्षण[बारे]” उहाँको टिप्पणीलाई ध्यान दिनुभयो? त्यही जवाफमा येशूले भयबारे अर्को एउटा उल्लेखनीय अवलोकन गर्नुभयो। त्यसले प्रत्यक्ष वा निर्णायक ढंगमा तपाईं वा तपाईंका प्रिय जनहरूलाई असर गर्नसक्छ। तर त्यसमा ध्यान दिनुअघि हामी अन्तिम दिनमा बाँचिरहेका छौं भनेर थप प्रमाण दिने केही बुँदाहरूलाई छोटकरीमा पुनरावलोकन गरौं।—२ तिमोथी ३:१.
युद्धको न्यायोचित भय
सैन्य मुठभेडहरूले गर्दा पृथ्वीका धेरैजसो भागहरू भताभुंग भएका छन्। उदाहरणको लागि, हालै मध्य पूर्वमा विवादपश्चात् त्यहाँका तेल खानीहरू त्यत्तिकै बलिरहेको अवस्थामा छोडिएका थिए। जियो पत्रिकाअनुसार त्यो “मानिसले गरेको सबैभन्दा भयानक वातावरणीय विपत्ति” हो। युद्धले करोडौं मानिसहरूको हत्या वा अंगभंग गरेको छ। प्रथम विश्वयुद्धमा लाखौं सैनिक तथा गैरसैनिकहरूको मृत्युअलावा दोस्रो विश्वयुद्धमा ५.५ करोड मानिसहरू मारिए। सम्झनुहोस् त, जगतको अन्त नजीकै छ भन्ने चिन्हअन्तर्गत येशूले “जाति, जातिको विरुद्धमा, र राज्य, राज्यको विरुद्धमा उठ्नेछ” भन्नुभयो।
सम्पूर्ण जाति वा समुदायको नाश अर्थात् जातिहत्या गर्ने मानिसको प्रयासलाई पनि हामी बिर्सन सक्दैनौं। लाखौं आरमेनी, क्याम्बोडियाली, यहूदी, रूवाण्डाली, युक्रेनी र अन्य व्यक्तिहरूको मृत्युले यस २० औं शताब्दी रक्तदोषले भरिएको छ। धार्मिक उग्रवादीहरूद्वारा जातीय घृणा उस्काइने मुलुकहरूमा हत्याको क्रम जारी छ। हो, पृथ्वी रगताम्य छ।
आधुनिक युद्धहरूपश्चात् पनि थुप्रै मानिसहरू मारिन्छन् वा घाइते हुन्छन्। उदाहरणको लागि, जमीनमुनि जथाभावी बिछ्याइएका विस्फोटक पदार्थहरूलाई विचार गर्नुहोस्। ह्युमन राइट्स वच नामक अनुसन्धनात्मक संगठनको एउटा प्रतिवेदनअनुसार “संसारभरिका झन्डै दश करोड विस्फोटक खानीहरू गैरसैनिकहरूको लागि खतरापूर्ण भएको छ।” युद्धपश्चात् पनि त्यस्ता विस्फोटक खानीहरू निर्दोष पुरुष, स्त्री तथा केटाकेटीहरूको लागि खतरनाक साबित हुन्छ। भनिन्छ, हरेक महिना ६० भन्दा बढी मुलुकहरूका हजारौं मानिसहरू ती विस्फोटक खानीहरूको कारण अंगभंग हुन्छन् वा मारिन्छन्। मृत्यु वा गम्भीर चोटपटक पुऱ्याउनसक्ने यी खतरनाक विस्फोटक खानीहरूलाई किन व्यवस्थित ढंगमा हटाइँदैन? द न्यु योर्क टाइम्स-ले यसो भन्यो: “यी विस्फोटक पदार्थहरूलाई निष्क्रिय तुल्याएर हटाउनुको साटो अत्यधिक मात्रामा विस्फोटक पदार्थहरू बिछ्याइन्छन्। अतः मृतकहरूको संख्या बढ्दो छ।”
सन् १९९३ को अखबारमा प्रकाशित उक्त लेखअनुसार यी खानीहरू बेच्नु एउटा ठूलो व्यापार भइसकेको छ र यसबाट “वर्षेनी २० करोड डलरसम्म” आर्जन हुन्छ। यो व्यापारमा “४८ देशका लगभग १०० कम्पनी तथा सरकारी निकायहरू” संलग्न छन् र तिनीहरूले “३४० प्रकारका विस्फोटक पदार्थहरू निर्यात गरिरहेका” छन्। यस्ता विस्फोटक पदार्थहरू केटाकेटीहरूलाई आकर्षित पार्ने खेलौनाजस्तै बनाउनु कस्तो पैशाचिक कार्य हो! निर्दोष केटाकेटीहरूलाई जानाजानी लुलालंगडा बनाउनु र मार्न खोज्नु कहाँको उचित कुरा हो! “दश करोड नारकीय यन्त्र” शीर्षक भएको एउटा सम्पादकीय लेखअनुसार ती विस्फोटक पदार्थहरूद्वारा “मारिएकाहरूको संख्या रासायनिक, जैविक र आणविक युद्धहरूमा मारिनेहरूको संख्याभन्दा बढी छ।”
तर यी खानीहरू मात्रै विश्व बजारमा बिक्री हुने मृत्युदायी सामग्री होइन। अस्त्रका लोभी व्यापारीहरूले संसारभरि अरबौं डलरको व्यापार गरिरहेका छन्। सेन्टर फर डिफेन्स इन्फरमेशनद्वारा प्रकाशित द डिफेन्स मनिटर-ले यस्तो प्रतिवेदन प्रस्तुत गर्छ: “गत दशकमा [एक प्रतिष्ठित राष्ट्रले] १३५ अरब डलर बराबरको अस्त्र निर्यात गऱ्यो।” यस शक्तिशाली राष्ट्रले “१४२ राष्ट्रलाई अस्त्रको बेचबिखन, सैन्य निर्माण तथा प्रशिक्षणको लागि ६३ अरब डलर खर्च गर्ने स्वीकृति दियो।” यसप्रकार भावी युद्ध तथा मानव दुःखका बीऊहरू अहिले नै रोपिंदैछन्। द डिफेन्स मनिटर-अनुसार “सन् १९९० मा मात्रै ५० लाख मानिसहरूलाई युद्धमा अस्त्र प्रयोग गर्ने प्रशिक्षण दिइयो। यसको निम्ति ५० अरब डलरभन्दा बढी खर्च भयो र त्यसमा मारिने २.५ लाख मानिसहरूमध्ये अधिकांश गैरसैनिकहरू थिए।” त्यो सालदेखि यता चर्केका त्यस्ता अनगिन्ती युद्धहरू तपाईंलाई अवश्य थाह होला। यी युद्धहरूले मानिसहरूमा भय उत्पन्न गर्नुको साथै लाखौंको ज्यान लिएको छ!
पृथ्वी तथा यसका प्राणीहरूको विनाश
प्राध्यापक बेरी कमनर यस्तो चेताउनी दिन्छन्: “पृथ्वीको प्रदूषणलाई नियन्त्रण गरिएन भने अन्ततः यो ग्रह मानव जीवनको लागि अनुपयुक्त हुनेछ।” तिनी अझै भन्छन्, समस्याको कारण अज्ञानता होइन तर स्वैच्छिक लोभ हो। हाम्रो न्यायी तथा मायालु परमेश्वरले यो परिस्थितिलाई सधैंभरि यस्तै रहन दिनुभएर हामीलाई प्रदूषणको बढ्दो भयमा राख्नुहुन्छ होला? पृथ्वीका प्रदूषकहरूको लेखा लिन र यस ग्रहलाई परमेश्वरले पुनर्स्थापित गर्न पृथ्वीले जोडसित आग्रह गरिरहेको छ। येशूले “जगत्को अन्त[बारे]” आफ्ना प्रेरितहरूलाई दिनुभएको जवाफमा यो पनि समावेश छ।
परमेश्वरले लेखा कसरी लिनुहुनेछ भनेर छलफल गर्नुअघि मानिसको अभिलेखलाई अझै केलाऔं। मानिसले दूषित पारेका कुराहरूको आंशिक सूची पनि दुःखदायी छ: अम्ल वर्षा, सम्पूर्ण जंगल फँडानी गरेर काठ बटुल्ने लोभी बानी; आणविक फोहर, विषादी र अप्रशोधित ढल-निकास जथाभावी फ्याल्नु; सुरक्षात्मक ओजोन तह पातलिंदै जानु; झारपातनाशक र किटनाशकहरूको लापरवाही प्रयोग इत्यादि।
नाफा कमाउने लोभमा अरू विभिन्न ढंगले पृथ्वी दूषित हुन्छ। टनका टन फोहर दिनहुँ नदी, समुद्र, हावा वा जमीनमा फ्याँकिन्छ। लाक्षणिक भाषामा भनौं भने, वैज्ञानिकहरूले प्रयोग गरेका अन्तरिक्ष उपकरणहरूलाई त्यत्तिकै छाडेर अन्तरिक्षलाई फोहर बनाउँछन्। पृथ्वीको वरिपरि अन्तरिक्षमा पनि फोहरको थुप्रो जम्मा हुँदैछ। पृथ्वी स्वतः नवीकरण हुनसक्ने ढंगमा परमेश्वरले नबनाउनुभएको भए हाम्रो पृथ्वीमा कुनै पनि प्राणी रहन सक्ने थिएन। मानिस आफ्नै फोहरमा धेरैअघि नै निस्सासिसकेको हुनेथियो।
मानिसले आफूलाई समेत प्रदूषित गर्छ। उदाहरणको लागि, चूरोट र अन्य लागू पदार्थको दुर्व्यसनलाई लिनुहोस्। संयुक्त राज्यमा त्यस्ता पदार्थहरूको दुर्व्यसनलाई “राष्ट्रको सबैभन्दा ठूलो स्वास्थ्य समस्या” भनिन्छ। यसको लागि त्यस राष्ट्रले वर्षेनी २३८ अरब डलर खर्च गर्छ र त्यसमध्ये ३४ अरब डलर “अनावश्यक [अर्थात् परिहार्य] स्वास्थ्य हेरचाहको लागि” खर्च गरिन्छ। तपाईंको देशमा चूरोटमा कति खर्च हुन्छ र त्यसले कति जनाको जीवनलाई असर गर्छजस्तो लाग्छ?
ठीकै हो भनी धेरै मानिसहरूले दाबी गर्ने स्वच्छन्द तथा पदच्युत जीवनशैलीको कारण थुप्रै मानिसहरू यौनजन्य मृत्युदायी रोगहरूले ग्रस्त हुन पुगेका छन्। फलतः थुप्रै अल्प आयुमै मर्छन्। शहरका प्रमुख अखबारहरूमा प्रकाशित हुने समवेदना पेटीमा धेरै मानिसहरू अहिले ३० देखि ५० वर्षबीचका छन्। किन? किनभने खतरनाक कुलतले तिनीहरूको ज्यानै लिन्छ। यौनजन्य तथा अन्य रोगहरूको त्यस्तो दुःखदायी वृद्धि येशूको भविष्यवाणीअनुरूप छ किनभने उहाँले “विभिन्न ठाउँहरूमा रूढ़ी” हुनेछ भन्नुभएको थियो।
तथापि, सबैभन्दा नराम्रो प्रदूषण, मानव मन मस्तिष्क वा मनोवृत्तिको प्रदूषण हो। हामीले अहिलेसम्म छलफल गरेका प्रदूषणहरूलाई पुनरावलोकन गऱ्यौं भने के तीमध्ये प्रायजसो प्रदूषित मनको परिणाम हो भन्नु मिल्दैन र? आध्यात्मिक वा नैतिक तवरमा भ्रष्ट सोचाइले गर्दा अपराध, बलात्कार, चोरी र एकअर्काप्रतिको हिंसाले पैदा गर्ने बिचल्लीलाई विचार गर्नुहोस्। वर्षेनी गरिने लाखौं गर्भपात मानसिक तथा आध्यात्मिक प्रदूषणको लक्षण हो भनेर पनि धेरैले स्वीकार्छन्।
हामीले जवानहरूमा यस्तै मनोवृत्ति देख्छौं। परिवार टुक्रिनु र नियमकानुनप्रति अवहेलनाको एउटा प्रमुख कारण, आमाबाबु तथा अन्य अख्तियारप्रति अनादर पनि हो। अख्तियारप्रति स्वस्थकर भयको अभाव हुनुको प्रत्यक्ष कारण जवानहरूमा आध्यात्मिकताको कमी हो। तसर्थ, विकासवाद, नास्तिकवाद र विश्वासलाई कमजोर तुल्याउने अन्य सिद्धान्तहरू सिकाउने व्यक्तिहरू पनि उत्तिकै दोषी छन्। थुप्रै धार्मिक प्रशिक्षकहरू पनि दोषी छन्। तिनीहरूले आधुनिक तथा “स्वीकृत” हुने प्रयासमा परमेश्वरको वचनलाई जानाजानी इन्कार गरेका छन्। संसारको बुद्धिले भरिएका हुँदा तिनीहरूलगायत अन्य व्यक्तिहरूले विरोधाभासपूर्ण मानव दर्शनहरू सिकाउँछन्।
त्यसका परिणामहरू आज प्रष्टै छन्। परमेश्वर तथा आफ्ना संगी मानवप्रति प्रेमले होइन तर लोभ र घृणाले मानिसहरू उत्प्रेरित छन्। त्यसको खराब परिणाम विश्वव्यापी अनैतिकता, हिंसा र निराशा हुन्। दुःखको कुरा, यसले गर्दा इमानदार मानिसहरू भयभित हुन्छन् साथै मानिसले मानिस र यस ग्रहलाई विनाश गर्ला भनेर डराउँछन्।
अवस्था सुध्रिनेछ वा बिग्रिनेछ?
भयको सन्दर्भमा मानिसको निकट भविष्य कस्तो छ? के भय झन् झन् बढ्दै जानेछ वा कम हुनेछ? आउनुहोस्, हामी फेरि येशूले आफ्ना प्रेरितहरूलाई भन्नुभएको विवरणमा ध्यान देऔं।
उहाँले निकट भविष्यमा हुने एउटा घटनालाई औंल्याउनुभयो—त्यो हो, महा संकष्ट। उहाँले यसो भन्नुभयो: “तर ती संकष्टका दिनको तुरुन्त पछि सूर्य अँध्यारो हुनेछ, र जूनले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा स्वर्गका शक्तिहरू डगमगाउनेछ, औ तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ औ पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासित आउँदैगरेको देख्नेछन्।”—मत्ती २४:२९, ३०.
अतः महा संकष्ट चाँडै सुरु हुनेछ भनेर हामी प्रतीक्षा गर्नसक्छौं। यसको प्रथम अंश, विश्वभरिका झूटो धर्महरू विरुद्ध प्रतिशोध हुनेछ भनी अन्य भविष्यवाणीहरूले संकेत गर्छ। त्यसपछि भर्खरै उद्धरण गरिएका घटनाहरूलगायत आकाशीय अद्भुत घटनाहरू हुनेछन्। यसले करोडौं मानिसहरूमाथि कस्तो प्रभाव पार्नेछ?
येशूको जवाफको समानान्तर विवरणमा हामी ती भविष्यसूचक सबिस्तार टिप्पणीहरू पाउँछौं:
“अनि सूर्य, चन्द्र, र ताराहरूमा चिन्ह हुनेछन्, र समुद्र र छालहरूको गर्जनले व्याकुल भएर पृथ्वीमा जाति जातिका मानिसहरूमा संकष्ट हुनेछ, र संसारमा हुने घटनाहरूको डर र आशाले मानिसहरू मूर्च्छा पर्नेछन्, किनकि आकाशमा शक्तिहरू डग्मगाउनेछन्।”—लूका २१:२५, २६.
त्यो भविष्यमा हुनेछ। तर सबै मानिसहरू बेहोश हुने गरी भयभित हुनेछैनन्। त्यसको विपरीत, येशूले यसो भन्नुभयो: “जब यी कुरा हुनेछन् तब शिर उठाएर माथि हेर, किनभने तिमीहरूको छुटकारा नजीकै आएको हुनेछ।”—लूका २१:२८.
उहाँले आफ्ना साँचो अनुयायीहरूलाई ती प्रोत्साहनदायी शब्दहरू भन्नुभयो। तिनीहरू भयभित भएर बेहोश वा स्तब्ध हुनुको साटो महा संकष्टको चरमोत्कर्ष नजीकै छ भनेर थाह पाउँदा पाउँदै पनि निडरतापूर्वक शिर उठाउन सक्नेछन्। तर तिनीहरू किन भयभित हुनेछैनन्?
किनभने बाइबलले स्पष्टसित भन्छ, “महा संकष्ट[बाट]” बच्नेहरू हुनेछन्। (प्रकाश ७:१४) यो प्रतिज्ञा गरिएको विवरणले यसो भन्छ, हामी बच्नेहरूमध्ये भयौं भने परमेश्वरबाट अतुलनीय आशिष्हरूको आनन्द उठाउन सक्नेछौं। अन्तमा यस्तो आश्वासन दिइएको छ, येशूले “तिनीहरूलाई जीवनका पानीका फोहोरासम्म अगुवा भएर लानुहुनेछ, र परमेश्वरले तिनीहरूका आँखाबाट आँसु पुछिदिनुहुनेछ।”—प्रकाश ७:१६, १७.
त्यस्ता आशिष्हरूको उपभोग गर्नेहरूमध्ये हामी पनि हुनसक्छौं र आजका मानिसहरूजस्तो भयभित हुनुपर्ने कारण हुनेछैन। यद्यपि, त्यसको अर्थ, तिनीहरूसित भय भन्ने कुरा पटक्कै हुनेछैन भनेको होइन। किनभने बाइबलले असल र स्वस्थकर भयबारे बताउँछ। यसपछिको लेखमा त्यो के हो र त्यसले हामीमाथि पार्ने प्रभावबारे छलफल गरिनेछ।
[पृष्ठ ८-मा भएको चित्र]
यहोवाका उपासकहरू खुशीसाथ आउँदै गरेको नयाँ संसारको प्रतीक्षा गर्छन्
[पृष्ठ ७-मा भएको चित्रको स्रोत]
Pollution: Photo: Godo-Foto; rocket: U.S.Army photo; trees burning: Richard Bierregaard, Smithsonian Institution