येशूको जीवन र सेवकाई
यरुशलेमको गुप्त यात्रा
यो सा. यु. ३२ सालको शरद ऋतु हो, अनि झुप्रे-चाड निकट छ। सा. यु. ३१ सालको निस्तार चाडमा यहुदीहरुले उहाँलाई मार्न खोजेको समय उप्रान्त येशूले आफ्नो गतिविधि गालीलमा सीमित राख्नुभएको थियो। सम्भव छ, त्यस उप्रान्त येशू यहूदीहरुको तीनवटा वार्षिक चाडमा सामेल हुन मात्र यरुशलेमको यात्रामा जानुभएको थियो।
येशूको भाइहरुले उहाँसँग अब जिद्दी गर्छन्: “यहाँबाट यहूदियामा गईहाल।” यहूदाको मुख्य शहर अनि सम्पूर्ण देशको धार्मिक केन्द्र यरुशलेम हो। उहाँका भाइहरु तर्क गर्छन्: “जुन मानिस खुल्लमखुल्ला प्रकट हुन चाहन्छ त्यसले गुप्तमा काम गर्दैन।”
हुनः त याकूब, शिमोन, यूसुफ अनि यहूदाले आफ्नो जेठो दाइ, येशू, साँच्चै मसीहा हो भनि विश्वास गर्दैनन्, तर यहूदामा भेला भएका सबैलाई उहाँले आफ्नो उदेकको शक्ति देखाउँन् भनि चाहन्छन्। तर, येशू, यो खतरा बारे सचेत हुनुहुन्छ। “संसारले तिमीहरुलाई घृणागर्ने केही कारण छैन,” उहाँ भन्नुहुन्छ, “तर मलाई ता घृणा गर्छ। किनकि म त्यसको विषयमा त्यसका कामहरु दुष्ट छन् भनी साक्षी दिन्छु।” यसकारण येशू आफ्नो भाइहरुलाई भन्नुहुन्छ: “तिमीहरु यस चाडमा जाओ, म यस चाडमा जान्नँ।”
झुप्रे-चाड सात दिने उत्सव हो, जसको समाप्ति विधिपूर्वक आठँवा दिनमा गरिन्छ। यो चाडले कृषि वर्षको अन्त जनाउँछ र ठूलो उत्साह अनि धन्यवाद अर्पणगर्ने समय हो। येशूका भाइहरु यात्रीहरुको मुख्य दलसँग गएको केही दिन पश्चात, उहाँ अनि उहाँका चेलाहरु गुप्तमा जान्छन्, आम जनताको नजरबाट वच्दै। प्रायः सबै हिड्ने यर्दन नदिको बाटो नगएर, तिनीहरु सामरीयाको बाटो लिन्छन्।
किनकि येशू अनि उहाँको सहयात्रीहरुलाई कुनै सामरी गाउँमा डेराको आवश्यकता पर्ने भयो, यसको निम्ति तैयारी गर्न भनी उहाँ आफ्नो अघिअघि दूतहरु पठाउनुहुन्छ। तर, उहाँ यरूशलेमतर्फ जानुहुँदैछ भनी थाहा पाएपछि, जनताले येशूको लागि केही पनि गर्न अस्वीकार गर्छन्। क्रोधित भएर, याकूब अनि यूहन्ना सोध्छन्: “हे प्रभु, र्स्वगबाट आगो वर्षाएर यिनीहरुलाई भस्म पार्न हामी आज्ञा गरौं भनी तपाईं इच्छा गर्नुहुन्छ?” यस्तो कुरोको सुझाव नै किन गरेको भनेर येशू तिनीहरुलाई हप्काउनु हुन्छ, अनि तिनीहरु अर्को गाउँतिर लाग्छन्।
तिनीहरु बाटोमा हिंड्दै जाँदा, एउटा शास्त्रीले येशूलाई भन्छ: “हे प्रभु, तपाईं जता जानुहुन्छ म तपाईंको पछि लाग्नेछु।”
“फ्याउराहरुका प्वाल छन्, र आकाशका चरा-चुरुङ्गीहरुका गुँड,” येशूले प्रतिउत्तर दिनु हुन्छ, “तर मानिसपुत्रको ता शिर राख्ने ठाउँ पनि छैन।” येशूले देखाउनु हुँदैछ कि यदि त्यो शास्त्री उहाँको चेला भयो भने त्यसले दुःख अनुभव गर्नेछ। यसको तात्पर्य यो देखिन्छ कि त्यो शास्त्री यस प्रकारको जीवन स्वीकार्न अति घमण्डी छ।
अर्कोलाई, येशूले भन्नुहुन्छ: “मेरो पछि लाग।”
“पहिले मेरो बुवालाई गाड्न जान दिनुहोस,” त्यसले उत्तर दिन्छ।
“मुर्दाहरुलाई आफ्नै मुर्दा गाड्न देओ,” येशू उत्तर दिनुहुन्छ,” तर तिमी गएर परमेश्वरको राज्यको प्रचार गर।” प्रत्यक्षतया त्यो मानिसको बाबु मरेको छैन, किनकि मरेको भए, छोरो यहाँ येशूलाई सुनिरहनु सम्भव हुने थिएन। प्रत्यक्ष छ कि त्यो छोरो आफ्नो बाबुको मृत्यु नभएसम्म पर्खिने समय मागिरहेको छ। त्यो आफ्नो जीवनमा परमेश्वरको राज्यलाई पहिलो स्थान दिन तयार छैन।
यरुशलेमतर्फ जाने बाटोमा अझ अघि बढेपछि, अर्को मानिसले येशूलाई भन्दछ: “प्रभु, म तपाईंको पछि लाग्नेछु, तर पहिले मलाई आफ्ना घरमा भएकाहरुसँग विदा लिन दिनुहोस।”
यसको उत्तरमा येशू भन्नुहुन्छ: “आफ्नो हात हलोमा राखेर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यको लायक हुँदैन।” येशूको चेला हुन चाहने जुनसुकैले आफ्नो आँखा चाहिं राज्य सेवकाईमा केन्द्रित गर्नुपर्छ। जस्तैगरि हलीले अगाडी हेरि बसेन भने हलरेखा बाङ्गो हुन्छ, त्यस्तै गरि यो पुरानो रीतिरिवाजलाई हेर्ने जुनसुकै पनि जीवनतर्फ लैजाने बाटोमा ठेस खाएर बाहिर झर्न सक्छ। यूहन्ना ७:२–१०; लूका ९:५१–६२; मत्ती ८:१९–२२.
◆ येशूका भाइहरु को को हुन्, अनि उहाँको विषयमा तिनीहरुको के भावना छ?
◆ सामरीहरु किन खस्रोसँग व्यवहार गरेका, अनि याकूब र यूहन्ना के गर्न चाहन्छन्?
◆ कुन कुन तीन वातार्लाप येशूले बाटोमा गर्नुहुन्छ, अनि आत्मबलिदानिय सेवाको आवश्यकता बारे कसरी उहाँले जोड दिनु हुन्छ? (w88 3/15)