अध्याय ६५
यरुसलेमतर्फ जाँदै गर्नुहुँदा शिक्षा दिनुहुन्छ
मत्ति ८:१९-२२ लुका ९:५१-६२ युहन्ना ७:२-१०
येसुका भाइहरू उहाँलाई कुन दृष्टिकोणले हेर्छन्?
राज्यसम्बन्धी गतिविधि किन महत्त्वपूर्ण छ?
केही समयदेखि येसु गालिलमा मात्रै सेवाको काम गर्दै हुनुहुन्छ। यहाँका मानिसहरूले यहुदियाका मानिसहरूले भन्दा राम्रो प्रतिक्रिया देखाइरहेका छन्। साथै येसु यरुसलेममा हुनुहुँदा उहाँले विश्रामदिनमा एक जना मानिसलाई निको पार्नुभएकोले ‘यहुदीहरूले उहाँलाई मार्न अझ मौका खोज्न थालेका थिए।’—युहन्ना ५:१८; ७:१.
यो इस्वी संवत् ३२ को शरद् ऋतु हो। झुप्रोबासको चाड नजिकै छ। यो चाड सात दिनसम्म मनाइन्छ अनि आठौँ दिनमा चाहिँ सभा राखिन्छ। यस चाडले कृषि-वर्ष अन्त भएको सङ्केत गर्छ र यो चाड ठूलो रमाहट र कृतज्ञताका साथ मनाइन्छ।
येसुका भाइहरू याकुब, सिमोन, युसुफ र यहुदा उहाँलाई यस्तो आग्रह गर्छन्: “यहाँबाट निस्केर यहुदिया गइहाल्नुहोस्।” यरुसलेम धार्मिक गतिविधिको केन्द्र हो। वर्षेनी मनाइने तीन वटा चाडको बेला यो सहर मानिसहरूले खचाखच भरिन्छ। त्यसैले येसुका भाइहरू यसो भन्छन्: “मानिसहरूले चिनून् भनी इच्छा गर्ने कसैले पनि कुनै काम गुप्तमा गर्दैन। यदि तपाईँ यी कामहरू गर्नुहुन्छ भने आफैलाई संसारसामु प्रकट गर्नुहोस्।”—युहन्ना ७:३, ४.
वास्तवमा येसुका यी चार जना भाइ उहाँलाई मसीहको रूपमा ‘विश्वास गर्दैनन्।’ तैपनि चाडको लागि भेला भएका मानिसहरूले येसुका शक्तिशाली कामहरू देखेको तिनीहरू चाहन्छन्। तर खतराप्रति सचेत हुँदै येसु तिनीहरूलाई यसो भन्नुहुन्छ: “संसारले तिमीहरूलाई घृणा गर्ने कुनै कारण छैन तर मलाई भने घृणा गर्छ किनकि त्यसका कामहरू दुष्ट छन् भनी म साक्षी दिन्छु। तिमीहरू चाड मनाउन जाओ तर म भने अहिले चाड मनाउन जान्नँ किनकि मेरो बेला आइपुगेको छैन।”—युहन्ना ७:५-८.
येसुका भाइहरू अरू यात्रुहरूसितै यरुसलेमको यात्रामा निस्केको केही दिनपछि येसु र उहाँका चेलाहरू कसैले नदेख्ने गरी सुटुक्क यात्रामा निस्कनुहुन्छ। उहाँहरू धेरै मानिसहरू हिँड्ने यर्दन नदीको बाटो नगएर सीधै सामरियाको बाटो भएर जानुहुन्छ। सामरिया पुगेपछि येसु र उहाँका चेलाहरूलाई बस्ने ठाउँको खाँचो पर्नेछ। त्यसैले बसोबासको प्रबन्ध मिलाउन उहाँ सन्देशवाहकहरूलाई आफ्नो अघिअघि पठाउनुहुन्छ। तर सामरियाको एउटा गाउँका मानिसहरूले उहाँहरूलाई स्वागत गर्दैनन् अनि अतिथिसत्कार पनि देखाउँदैनन् किनकि येसु यहुदीहरूले मनाउने चाडको लागि यरुसलेमतर्फ जाँदै हुनुहुन्छ। यो देखेर याकुब र युहन्ना रिसाउँदै यसो भन्छन्: “प्रभु, तपाईँको इच्छा भए के हामी आकाशबाट आगो बर्सेर तिनीहरू भस्म होऊन् भनी आज्ञा गरौँ?” (लुका ९:५४) तर येसु तिनीहरूलाई हप्काउनुहुन्छ र यात्रा जारी राख्नुहुन्छ।
यात्रामा छँदा एक जना शास्त्री येसुलाई यसो भन्छन्: “हे गुरु, तपाईँ जहाँ-जहाँ जानुहुन्छ, म त्यहाँ-त्यहाँ तपाईँको पछि लाग्नेछु।” तर येसु भन्नुहुन्छ: “फ्याउराहरूको ओडार हुन्छ र आकाशका चराचुरुङ्गीको गुँड तर मानिसको छोराको भने शिर ढल्काउने ठाउँसमेत छैन।” (मत्ति ८:१९, २०) आफ्नो अनुयायी बन्दा ती शास्त्रीले थुप्रै कठिनाइको सामना गर्नुपर्नेछ भनेर येसु सङ्केत गर्दै हुनुहुन्छ। अनि ती शास्त्री घमन्डी भएकोले येसुको पछि लाग्न सक्दैनन् जस्तो देखिन्छ। त्यसैले हामी प्रत्येकले आफैलाई सोध्नुपर्छ: ‘येसुको पदचिन्ह पछ्याउन म कत्तिको इच्छुक छु?’
अर्को एक जनालाई येसु यसो भन्नुहुन्छ: “मेरो पछि लाग।” तर ऊ यसो भन्छ: “हे प्रभु, पहिला मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस्।” त्यो मानिसको परिस्थिति थाह भएकोले येसु यसो भन्नुहुन्छ: “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून् तर तिमी भने गएर सबैतिर परमेश्वरको राज्यको घोषणा गर।” (लुका ९:५९, ६०) त्यो मानिसको बुबा मरिसकेका छैनन् जस्तो देखिन्छ। नत्र त ऊ त्यहाँ येसुको कुरा सुनेर बसिरहेको हुने थिएन। त्यो मानिस परमेश्वरको राज्यलाई जीवनमा पहिलो स्थान दिन तयार छैन।
उहाँहरू यरुसलेमतर्फ यात्रा गरिरहनुभएको बेला अर्को एक जना मानिसले उहाँलाई यसो भन्छ: “हे प्रभु, म तपाईँको पछि लाग्नेछु तर पहिला मेरो घरपरिवारसित बिदा माग्न दिनुहोस्।” येसु यस्तो जवाफ दिनुहुन्छ: “आफ्नो हात हलोमा राखेर पछाडि फर्केर हेर्ने कोही पनि परमेश्वरको राज्यको लायक हुँदैन।”—लुका ९:६१, ६२.
येसुको साँचो चेला बन्न चाहनेहरूले आफ्नो आँखा राज्यसम्बन्धी गतिविधिमा केन्द्रित गर्नु अत्यन्तै जरुरी छ। हलो जोतिरहेको मानिसले सीधा हेरेन भने सियो बाङ्गो जाने सम्भावना हुन्छ। अनि उसले हलो जोत्न छोडेर पछाडि फर्केर हेर्न थाल्यो भने काम पूरा गर्न सकिँदैन। त्यसैगरि कसैले पछाडि फर्केर यो पुरानो युगलाई हेर्न थाल्यो भने उसले अनन्त जीवनतर्फ लैजाने बाटोमा ठेस खान सक्छ।