पाठ १७
येसु कस्तो व्यक्ति हुनुहुन्छ?
पृथ्वीमा हुनुहुँदा येसुले थुप्रै कुरा सिकाउनुभयो अनि असल कामहरू गर्नुभयो। त्यसबारे सिक्दै जाँदा हामी उहाँ र उहाँको बुबा यहोवाका मनमोहक गुणहरूबारे थाह पाउँछौँ, जसले गर्दा हामी उहाँहरूसित नजिक हुन चाहन्छौँ। ती गुणहरूमध्ये केही के-के हुन्? हामी कसरी आफ्नो जीवनमा येसुको अनुकरण गर्न सक्छौँ?
१. येसु कुन-कुन तरिकामा आफ्नो बुबाजस्तै हुनुहुन्छ?
येसुले स्वर्गमा अरबौँ वर्षदेखि आफ्नो मायालु बुबालाई नियाल्ने र उहाँबाट सिक्ने मौका पाउनुभएको छ। त्यसैले उहाँ आफ्नो बुबाले जस्तै सोच्नुहुन्छ, महसुस गर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ। (युहन्ना ५:१९ पढ्नुहोस्।) वास्तवमा येसुले आफ्नो बुबाका गुणहरू यत्ति राम्ररी झल्काउनुभयो कि उहाँले यसो भन्नुभयो: “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।” (युहन्ना १४:९) तपाईँले येसुका गुणहरूबारे सिक्दै जाँदा यहोवालाई पनि अझ राम्ररी चिन्न सक्नुहुनेछ। उदाहरणको लागि, येसुले मानिसहरूलाई देखाउनुभएको करुणाबाट यहोवा तपाईँको कत्ति धेरै ख्याल राख्नुहुन्छ भन्ने देखिन्छ।
२. येसुले यहोवालाई प्रेम गरेको कसरी देखाउनुभएको छ?
येसुले भन्नुभयो: “बुबाले मलाई दिनुभएको आज्ञा म पालन गर्दै छु ताकि म बुबालाई प्रेम गर्छु भनी संसारले जानोस्।” (युहन्ना १४:३१) येसु पृथ्वीमा हुनुहुँदा गाह्रो अवस्थामा पनि बुबाको आज्ञा पालन गरेर उहाँलाई धेरै प्रेम गरेको देखाउनुभयो। साथै येसु आफ्नो बुबाबारे कुरा गर्न मन पराउनुहुन्थ्यो र अरूलाई उहाँको साथी बन्न मदत दिन चाहनुहुन्थ्यो।—युहन्ना १४:२३.
३. येसुले मानिसहरूलाई प्रेम गरेको कसरी देखाउनुभएको छ?
येसुलाई “मानिसहरू देखेर . . . असाध्यै खुसी लाग्थ्यो” भनेर बाइबलले बताउँछ। (हितोपदेश ८:३१) उहाँले मानिसहरूलाई प्रोत्साहन दिनुका साथै निःस्वार्थ भई मदत गरेर प्रेम प्रकट गर्नुभयो। उहाँले चमत्कारहरू गर्नुभयो र त्यसले उहाँको शक्ति मात्र होइन, करुणा पनि प्रकट गऱ्यो। (मर्कुस १:४०-४२) उहाँले दयालु र निष्पक्ष व्यवहार गर्नुभयो। उहाँको कुरा सुन्ने निष्कपट हृदय भएका सबै मानिसले सान्त्वना र आशा पाए। येसुले सम्पूर्ण मानिसजातिलाई प्रेम गर्नुभएकोले उहाँ तिनीहरूको लागि दुःख भोग्न र मर्न तयार हुनुभयो। तर उहाँको शिक्षाअनुसार चल्नेहरूलाई चाहिँ उहाँ अझ धेरै प्रेम गर्नुहुन्छ।—युहन्ना १५:१३, १४ पढ्नुहोस्।
अझ खोतल्नुहोस्
येसुका गुणहरूबारे अझ धेरै सिक्नुहोस्। साथै उहाँले जस्तै प्रेम र उदारता कसरी देखाउन सकिन्छ, विचार गर्नुहोस्।
४. येसु आफ्नो बुबालाई प्रेम गर्नुहुन्छ
हामी परमेश्वरप्रतिको प्रेम कसरी प्रकट गर्न सक्छौँ भनेर येसुको उदाहरणबाट सिक्न सक्छौँ। लुका ६:१२ र युहन्ना १५:१०; १७:२६ पढ्नुहोस्। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्न छलफल गर्नुहोस्:
हामी कसरी येसुको अनुकरण गर्दै यहोवालाई प्रेम गरेको देखाउन सक्छौँ?
५. येसु खाँचोमा परेका मानिसहरूको ख्याल राख्नुहुन्छ
येसुले आफ्नो भन्दा अरू मानिसको धेरै ख्याल राख्नुभयो। उहाँले आफूलाई थकाइ लागेको बेलामा पनि मानिसहरूलाई मदत गर्न आफ्नो समय र शक्ति खर्च गर्नुभयो। मर्कुस ६:३०-४४ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यस विवरणअनुसार येसुले कुन-कुन तरिकामा अरूको ख्याल राखेको देखाउनुभयो?—पद ३१, ३४, ४१ र ४२ हेर्नुहोस्।
अरूलाई मदत गर्न येसुलाई कुन कुराले उत्प्रेरित गऱ्यो?—पद ३४ हेर्नुहोस्।
येसुले यहोवाका गुणहरू झल्काउनुहुने भएकोले यस विवरणबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
हामीले कुन-कुन तरिकामा येसुले जस्तै अरूको ख्याल राख्न सक्छौँ?
६. येसु उदार हुनुहुन्छ
येसुसित थुप्रै भौतिक कुरा नभए तापनि उहाँ उदार हुनुहुन्थ्यो। उहाँले हामीलाई पनि उदार हुन प्रोत्साहन दिनुभयो। प्रेषित २०:३५ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
येसुको भनाइअनुसार हामी कसरी आनन्दित हुन सक्छौँ?
भिडियो हेर्नुहोस् अनि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
हामीसित थुप्रै भौतिक कुरा नभए तापनि हामी कुन-कुन तरिकामा अरूलाई दिन सक्छौँ?
के तपाईँलाई थाह थियो?
बाइबलले हामीलाई येसुको नाममा यहोवालाई प्रार्थना गर्न सिकाउँछ। (युहन्ना १६:२३, २४ पढ्नुहोस्।) हामीले यसरी प्रार्थना गऱ्यौँ भने येसुले हामीलाई यहोवाको साथी बन्न मदत गर्नुभएकोमा कृतज्ञ भएको देखाइरहेका हुन्छौँ।
कोही-कोही भन्छन्: “परमेश्वरलाई हाम्रो दुःखकष्टको कुनै वास्ता छैन।”
येसुले आफ्नो बुबाका गुणहरू झल्काउनुहुने भएकोले उहाँको कामबाट यहोवा हाम्रो ख्याल राख्नुहुन्छ भनेर कसरी प्रस्ट हुन्छ?
सारांश
येसुले यहोवालाई प्रेम गर्नुहुन्छ अनि मानिसहरूलाई पनि प्रेम गर्नुहुन्छ। येसु आफ्नो बुबाजस्तै हुनुहुन्छ। त्यसैले तपाईँ येसुलाई जत्ति राम्ररी चिन्दै जानुहुन्छ, यहोवालाई पनि त्यत्ति नै राम्ररी चिन्नुहुनेछ।
तपाईँले के सिक्नुभयो?
हामी कसरी येसुले जस्तै यहोवालाई प्रेम गरेको देखाउन सक्छौँ?
हामी कसरी येसुले जस्तै मानिसहरूलाई प्रेम गरेको देखाउन सक्छौँ?
तपाईँलाई येसुको कुनचाहिँ गुण सबैभन्दा धेरै मन पऱ्यो?
अझ धेरै जान्नुहोस्
हामीले अनुकरण गर्न सक्ने येसुका केही गुणबारे विचार गर्नुहोस्।
“येसुको अनुकरण गर्न . . .” (येसु—बाटो, सत्य र जीवन, पृष्ठ ३१७)
प्रार्थनामा येसुको महत्त्वपूर्ण भूमिकाबारे केलाउनुहोस्।
“येसुको नाममा किन प्रार्थना गर्नुपर्छ?” (प्रहरीधरहरा, फेब्रुअरी १, २००८)
के बाइबलले येसुको रूपरङ्गबारे केही बताउँछ?
येसुले स्त्रीहरूसित गर्नुभएको व्यवहारबाट हामी के सिक्न सक्छौँ?