यहोवाको भयमा हिड़ने गर
“जसै मण्डली यहोवाको भयमा र पवित्र आत्माको सान्त्वनामा हिड़ने गरे, चेलाहरूका सङ्ख्याको बृद्धि हुँदै गयो।”—प्रेरित ९:३१ [NW]
१, २. (क) मसीही मण्डली शान्तिको समयमा प्रवेश गरे पछि के भयो? (ख) यहोवाले सतावट आउन दिनु भयेतापनि, उहाँले अझ के गर्नु हुन्छ?
एक जना चेलाले ठूलो परिक्षाको सामना गर्नु परेको थियो। के उनले परमेश्वर प्रति समग्रता कायम राख्लान्? अवश्य राख्ने थियो! उनी आफ्नो सृष्टिकर्त्ताको निष्ठामा, उहाँको भय मान्दै हिड़ेका थिए र यहोवाको विश्वासी साक्षी भएर नै उनी मर्न तयार थिए।
२ “आत्मा र विश्वासले भरिपूर” भएका, यी ईश्वर-भीरू समग्रता-पालक स्तिफनस थिए। (प्रेरित ६:५) उनको हत्या पछि तुरन्त, सतावटको लहर उठेर आयो तर त्यसको केही समय पश्चात् सारा यहूदिया, गालील र सामरियाको मण्डलीले शान्ति अनुभव गरे र तिनीहरूको अध्यात्मिक बृद्धि भयो। साथै, तिनीहरू “जसै यहोवाको भयमा र पवित्र-आत्माको सान्त्वनामा हिड़ने गरे, चेलाहरूको सङ्ख्यामा बृद्धि हुँदै गयो।” (प्रेरित ९:३१, NW) आज हामी यहोवाका साक्षीहरूले पनि सतावट वा शान्ति, जे अनुभव गर्नु परेतापनि, प्रेरित ६ देखि १२ अध्यायमा उल्लेखित् गरे झैं, परमेश्वरले हामीलाई आशिष दिनु हुनेछ भनी हामी निर्धक्क हुन सक्छौं। यसकारण, सतावटको सामना गर्नु पर्दा, हामी परमेश्वरको भक्तिमत् भयमा हिड़ने गरौं र सतावटबाट छुट पाएको बेलालाई चाहिं अध्यात्मिक ज्ञान प्राप्ति र अझ गतिशील ईश्वरीय सेवाको निम्ति प्रयोग गरौं।—व्यवस्था ३२:११, १२; ३३:२७.
अन्त सम्म विश्वासी
३. यरूशलेममा कुन समस्याको समाधान भयो र कसरी?
३ शान्ति भएकै बेलामा पनि समस्याहरू उठेमा, राम्रो प्रबन्ध द्वारा तिनीहरूको समाधान गर्न सकिन्छ। (६:१-७) यरूशलेममा युनानी बोल्ने यहूदीहरूले भोजनको दैनिक वितरणमा तिनीहरूको विधवाहरूको हेलचक्राइँ भयो तर हिब्रू भाषा बोल्ने यहूदीहरूले चाहिं विशेष ध्यान पाउँछन् भनेर शिकायत गरे। प्रेरितहरूले यो “आवश्यक कामको” निम्ति सात जनालाई नियुक्त गरे पछि यो समस्याको समाधान भयो। नियुक्त भएका सात जना मध्य स्तिफनस पनि एक जना थिए।
४. झूटो साक्षीहरूको सामना गर्नु परेको बेलामा स्तिफनसले के कस्तो प्रतिकृया व्यक्त गरे?
४ तथापि, ईश्वर-भीरू स्तिफनसले चाँड़ै एउटा परीक्षाको सामना गर्नु पऱ्यो। (६:८-१५) स्तिफनससँग वाद-विवाद गर्न केही मानिसहरू खड़ा भए। यी मध्य केही “स्वतन्त्र मानिसहरूको सभाघरका” थिए। शायद, यिनीहरू रोमीहरूले कब्जा गरेर छाड़ी दिएका यहूदीहरू या धर्म-परिवर्तन गरेर यहूदी भएका भूत-पूर्व दासहरू होलान्। जुन बुद्धि र आत्मा साथ स्तिफनस बोले, त्यस्को सामना गर्न नसकेर, उनका शत्रुहरूले उनलाई सभाघरमा लगे। त्यहाँ पुगे पछि, झूटा साक्षीहरूले एसो भन्न थाले: “यसले एसो भनेको हामीले सुन्यौं, ‘नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछन् र मोशाले हामीलाई दिएका रीति-थिति पनि बदलने छन् अरे।’” तर स्तिफनस एउटा कुकर्मी होइनन् भनेर उनका शत्रुहरूले पनि देख्न सके र तिनको चेहरा स्वर्गदूतको चेहराझैं थियो अथवा ईश्वरको एउटा दूत जस्तै, जसका लागि ईश्वरीय समर्थन निश्चित हुन्छ। यो चेहरा तिनीहरूका कोपयुक्त र दुष्ट चेहराहरू भन्दा धेरै नै बेग्लै थिये! किनभेन तिनीहरूले आफ्नो जीवन शैतानलाई सुम्पिएका थियो।
५. साक्षी दिने काम गर्दा, स्तिफनसले कुन्-कुन् कुरा किटेर भने?
५ प्रधान पुजारीले उनलाई प्रश्न गर्दा, स्तिफनसले निडर भएर साक्षी दिए। (७:१-५३) इस्राएली इतिहासको पुन- रावलोकन द्वारा, उनले मसीह आउनु भए पछि व्यवस्था र मन्दिरको सेवाहरू हटाउने परमेश्वरको उद्देश्य थियो भन्ने कुरा दर्शाइ दिए। प्रत्यक यहूदीको श्रद्धाका पात्र, छुटकारा-दाता मोशालाई पनि इस्राएलीहरूले इन्कार गरेका थिए, जसरी तिनीहरूले आज अझ महान छुटकरा दिनु हुनेलाई पनि इन्कार गरिरहेका छन् भन्ने तथ्य स्तिफनसले तोकेर भने। हातले बनाएका घरहरूमा परमेश्वर बास गर्नु हुन्न भनेर स्तिफनसले त्यहाँ भएको मन्दिर र त्यहाँ हुने उपासना बितेर जाने कुरा स्पष्ट पारे। तर उनलाई न्याय गर्न त्यहाँ बसेका मानिसहरूको मनमा परमेश्वरको डर र उहाँको इच्छा थाह लाउने चाहना थिएन। यसैकारण तिनीहरूलाई स्तिफनसले एसो भने: ‘ए हठी, कठोर हृदय भएका हौ, तपाईंहरू सधैं पवित्र आत्माको विरोध गर्नुहुन्छ। अगमवक्ताहरू मध्य कुन चाहिंलाई तपाईंहरूका पुर्खाले खेदो गरेनन्? औ उनीहरूले ती सबैलाई मारे, जसले ती धार्मिक जनको आउने समाचार अघाड़ि देखिनै सुनाएका थिए। अब तपाईंहरूचाहिं [त्यही धार्मिक जनकै] विश्वासघातक र ज्यानमारा हुनुभएको छ।’
६. (क) आफ्नो मृत्यु अघि, स्तिफनसले आफ्नो विश्वासलाई दह्रो पार्ने के अनुभव गरे? (ख) स्तिफनसले “प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्” भन्नु किन उचित् थियो?
६ स्तिफनसको निडर वक्तव्य, उनको हत्याको कारण भयो। (७:५४-६०) येशूको मृत्युमा तिनीहरूको दोषको पर्दाफास हुँदा, न्यायाधीशहरू रीसले भुतुक्क भए। तर स्तिफनसले ‘डिठ लगाएर स्वर्गतिर हेरे, र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने बाहुलीपट्टि उभिरहनुभएको देखेर’ उनको विश्वास अझ कति दृढ़ भयो! ईश्वरको इच्छा गरेको छु भन्ने आत्म-विश्वास साथ, स्तिफनसले अब आफ्नो शत्रुहरूको सामना गर्न सके। यहोवाका साक्षीहरूले आज दर्शनहरू न देखेतापनि, सतावट आइ पर्दा हामीहरूमा पनि त्यस्तै प्रकारको शान्त स्वभाव हुन सक्दछ। स्तिफनसलाई यरूशलेमबाट बाहिर निकाली दिए पछि, शत्रुहरूले तिनीमाथि ढुङ्गाहरू हान्न थाले र स्तिफनसले यो बिन्ति गरे: “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्।” यो बिन्ति उचित थियो किनभने मानिसहरूको पुनरुत्थान गराउने अख्तियार परमेश्वरले येशूलाई दिनु भएको थियो। (यूहन्ना ५:२६; ६:४०; ११:२५, २६) घुँड़ा टेकेर ठूलो सोरमा, स्तिफनसले कराएर भने: “हे यहोवा, यो पाप तिनीहरूलाई नलागोस्।” त्यस पछि, उनी शहीद भएर मृत्युको निद्रामा सुते, जसरी आधुनिक समयका येशूका अन्य चेलाहरू समेतले गरेका छन्।
सतावटले गर्दा सुसमाचार फैलिन्छ
७. सतावटको परिणाम के भयो?
७ स्तिफनसको मृत्युले सुसामाचारको प्रचार अझ फैलिएर गयो। (८:१-४) सतावटले गर्दा, प्रेरितहरू बाहेक, अरू सबै चेलाहरू यहूदिया र सामरियाका इलाका भरि तितर-बितर भए। स्तिफनसको हत्यालाई अनुमोदन दिने शावलले जानवर झैं, घर-घरमा पसेर येशूका चेलाहरूलाई घिस्याई घिस्याईकन झ्यालखानामा हालिदिंदै, मण्डलीलाई संहार गरिरहेको थियो। तर ईश्वरको डर मान्ने राज्यका प्रचारकहरूलाई सतावट द्वारा रोक्ने शैतानको योजना विफल भयो, किनभने तितर-बितर भएका चेलाहरूले प्रचार गरिनै रहे। आज पनि, अकसर सतावटले गर्दा सुसमाचारको प्रचार अझ फैलिएको छ अथवा राज्यको प्रचार तिर बढ़ी मानिसहरूको ध्यान आकर्षित् भएको छ।
८. (क) सामरियामा भएको प्रचारको नतिजा के भयो? (ख) येशूले तिनलाई सुम्पनु भएको दोस्रो साँचोको प्रयोग पत्रुसले कसरी गरे?
८ सुसमाचारको प्रचारक फिलिप “ख्रीष्टको प्रचार गर्न” सामरियामा गए। (८:५-२५) त्यो शहरमा जसै सुसमाचारको प्रचार भयो, अशुद्ध आत्माहरू धपाइयो र रोगी मानिसहरू निको पारिए, जता-ततै ठूलो हर्ष मनाइयो। यरूशलेमका प्रेरितहरूले पत्रुस र यूहन्नालाई सामरियामा पठाए र यिनीहरू त्यहाँ गएर बप्तिस्मा भएकाहरूमाथि हात राखेर प्रार्थना गरे पछि, यी नया चेलाहरूले पनि पवित्र आत्मा पाए। भरखरै बप्तिस्मा लिएको भूत-पूर्व जादूगर सिमोनले यसो गर्न सक्ने अख्तियार किन्ने कोशिश गरे तर पत्रुसले एसो भने: ‘तेरा रूपियाँ तैसँग नष्ट भइजाऊन्। परमेश्वरको सामने तेरो हृदय ठीक छैन।’ त्यसलाई पश्चाताप गर्न र परमेश्वरबाट क्षमा पाउन बिन्ति गर्न लाए पछि, पत्रुसले प्रेरितहरूलाई उसकालागि प्रार्थना गरी दिन भने। यो घटनाले आज यहोवाको डर मान्ने सबैलाई आफ्नो हृदय सुरक्षित् राख्न ईश्वरीय मददको निम्ति प्रार्थना गर्ने प्रेरणा दिनु पर्ने हो। (हितोपदेश ४:२३) (यही घटनाबाट अँग्रेजी शब्द “सिमोनी” आएको छ र यसको अर्थ “कुनै धार्मिक पदाधिकार वा धर्म सङ्गठनमा पदोन्नति किन्नु र बेच्नु” हो) पत्रुस र यूहन्नाले सामरियाका धेरै गाउँहरूमा सुसमाचारको प्रचार गरे। यस प्रकार, ज्ञान र स्वर्गीय राज्यमा प्रवेश गर्ने मौकाको ढोका खोल्न येशूले पत्रुसलाई दिनु भएको दोस्रो साँचोको प्रयोग पत्रुसले गरे।—मत्ती १६:१९.
९. फिलिपले साक्षी दिन पाएको त्यो एथोपियाका निवासी को थिए र ती मानिसले किन बप्तिस्मा लिन सके?
९ परमेश्वरको स्वर्गदूतले यस पछि फिलिपलाई एउटा नया काम खटाइ दिए। (८:२६-४०) यरूशलेम देखि गाजा जाने बाटोमा एक जना “नपुंसक” अथवा एथोपिया देशकी महारानी कन्दाकीको खजाञ्ची रथमा गइरहेका थिए। उनी शारीरिक रूपमा नपुंसक थिएनन् किनभने यहूदी मण्डलीमा शारीरिक नपुंसकहरू प्रवेश गर्न पाउँदैन थिए तर उनी यहूदी धर्मलाई अपनाएर खतना गरेको एक जना मानिस झैं भरखरै यरूशलेममा उपासना गर्न गएका थिए। (व्यवस्था २३:१) फिलिपले यो नपुंसकलाई यशैयाको पुस्तक पढ़ी रहेको भेट्टाए। माथि रथमा चढ़ेर बस्ने निम्तो पाए पछि, फिलिपले उनी सित यशैयाको अगमवाणीबारे छलफल गर्दै “येशूको सुसमाचार बताइदिए।” (यशैया ५३:७, ८) चाँड़ै नै एथोपियाको यी निवासीले एसो भने: “हेर्नुहोस्! यहाँ पानी रहेछ; मलाई बप्तिस्मा हुनालाई के ले रोक्छ र?” केहीले पनि रोक्न सकेन किनभने तिनलाई परमेश्वरको ज्ञान छँदै थियो र अब ख्रीष्टमाथि पनि तिनले विश्वास गर्न थाले। यसकारण फिलिपको हातबाट बप्तिस्मा पाए पछि, एथोपियाको यी मानिस रमाउँदै आफ्नो बाटो लागे। के तपाईंलाई कुनै कुराले बप्तिस्मा लिन देखि रोकिरहेछ?
खेदो गर्ने मानिसले धर्म परिवर्तन गऱ्यो
१०, ११. टार्ससको शावललाई दमीशकको बाटोमा र त्यसको केही समय पश्चात् के भयो?
१० अर्को तिर, शावलले मृत्यु र झ्यालखानाको धम्की दिंदैं येशूका चेलाहरूलाई तिनीहरूको विश्वास त्याग्न लगाउने कोशिश गऱ्यो। (९:१-१८ को प्रथम भाग) उसले त्यस “मार्गमा” अथवा ख्रीष्टको आदर्शमा आधारित् जीवन शैली अपनाएका पुरूष र स्त्रीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाउने पुर्जी प्रधान पुजारीले (शायद कैफास) शावलकै हातबाट दमीशकका सभाघरहरूलाई पठाए। तर दमीशकको नजिक पुग्दा स्वर्गबाट एउटा ज्योति चम्क्यो र एउटा सोरले यो प्रश्न गऱ्यो: “हे शावल, तिमी किन मेरो खेदो गर्छौ?” शावल सँग हुनेहरूले “सोर चाहिं सुने” तर त्यो सोरले के भन्यो, सो बुझेनन्। (प्रेरित २२:६, ९ सँग तुलना गर्नुहोस्) महिमामा हुनुहुने येशूको यो अपूर्ण प्रकाश शावललाई अन्धो बनाइदिन यथेष्ट थियो। परमेश्वरले हननिया नाउँको चेला द्वारा उसलाई फेरि दृष्टि दिनु भयो।
११ आफ्नो बप्तिस्मा पश्चात्, पहिलेको यो खेदो गर्ने मानिस, आफै खेदोको शिकार भयो। (९:१८ को पछिल्लो भाग देखि २५ सम्म) दमीशकका यहूदीहरूले शावलको हत्या गर्न चाहे। तर राता-रात नै चेलाहरूले उसलाई सम्भवतः दाम्लो अथवा बेतले बुनेको ठूलो टोकरीमा हालेर पर्खालबाट झुण्डाएर तल ओह्रालिदिए। (२ कोरिन्थी ११:३२, ३३) पर्खालमा टाँसिएर बनाएको कुनै चेलाको घर हुनाकारण यो सम्भव भएको हुनु पर्छ। शत्रुहरूलाई यसरी छलेर प्रचारको काम गरिनै रहनु कुनै डरपोक कार्य थिएन।
१२. (क) यरूशलेममा शावललाई के भयो? (ख) मण्डलीमाथि के बित्यो?
१२ यरूशलेममा, शावललाई पनि सँगी-विश्वासीको रूपमा स्वीकार्न, बर्णाबासले त्यहाँका चेलाहरूलाई मदद गरे। (९:२६-३१) त्यहाँ शावलले युनानी भाषा बोल्ने यहूदीहरू सँग निर्भयता साथ विवाद गरे र तिनीहरूले पनि उनको हत्या गर्न खोजे। यो बुझेर, भाइहरूले तिनलाई सिजरियामा लगे र त्यहाँ देखि सिलिसियामा स्थित् तिनको घर टार्ससमा पठाइ दिए। तब, यहूदिया, गालील र सामरिया भरिका सबै मण्डलीहरूमा अध्यात्मिक “उन्नति” र “चैन” भयो। र जसै तिनीहरू ‘यहोवाको भयमा र पवित्र आत्माको सान्त्वनामा हिड़नेगरे, चेलाहरूको सङ्ख्यामा बृद्धि हुँदै गयो।’ यहोवाबाट आशिष पाउन चाहने सबै वर्तमान मण्डलीहरूका लागि यो एउटा उत्तम उदाहरण हो!
अन्यजातिका मानिसहरूले विश्वास गर्छन्!
१३. परमेश्वरले पत्रुसलाई लिड्डा र जोप्पामा के के चमत्काहरू गर्ने शक्ति दिनु भयो?
१३ पत्रुस पनि व्यस्त थिए। (९:३२-४३) शारोनको तराइमा, लिड्डा (वर्तमान लोद) भन्ने ठाउँमा तिनले पक्षवातको रोगी एनियसलाई निको पारे। यो देखेर धेरै जना प्रभु तिर फर्के। जोप्पामा, सबैकी प्रिय चेली तबीता (डोर्कास) बिरामी भएर मरिहालिन्। पत्रुस त्यहाँ पुग्दा, विधवाहरूले रूँदै तिनीहरूका लागि तबिताले बनाइ दिएकी वस्त्रहरू देखाए। ती वस्त्रहरू कतिले त्यस बेला लगाइ पनि राखेका थिए होलान्। पत्रुसले डर्कासलाई पुनः जीवित् पारी दिन्छन् र यो खबर फैलिए पछि, धेरै जना विश्वास गर्नेहरू भए। पत्रुस जोप्पामा पाहुना भएर छालाको कामगर्ने शिमोनको घरमा बसे जसको घर समुद्रको किनारामा थियो। छालाको कामगर्नेहरूले जानवरहरूको छाला समुद्रको पानीमा डुबाउँ थिए र त्यसमा भएको रौं खौरिनु अघि, कागती प्रयोग गर्द थिए। कुनै-कुनै बिरूवाको रसमा रङ्गाएर, ती छालाहरूलाई परिष्कृत चर्ममा परिणत गर्ने चलन थियो।
१४. (क) कर्नीलियस को थिए? (ख) कर्नीलियसको प्रार्थनाहरूको के भयो?
१४ त्यसै समयमा (ई. स. ३६) अर्को ठाउँमा पनि एउटा विशेष घटना घट्यो। (१०:१-८) सिजरियामा गैर-यहूदी तर ईश्वर-भक्त कर्नीलियसको घर थियो। तिनी रोमी पल्टनको एक जना कप्तान थिए। सय जना मानिसहरू माथि तिनको अधिकार थियो। तिनी इटाली नामक पल्टनको प्रमुख थिए जसमा इटालीका स्वतन्त्र पुरूषहरू र रोमी नागरिकहरू भर्ना भएका हुन्थिए। कर्नीलियसले ईश्वरको भय मानेता पनि, तिनी यहूदी मतका थिएनन्। तर तिनका प्रार्थनाहरू “संझनाको निम्ति परमेश्वरको सामने पुगेको छ” भनेर दर्शनमा तिनलाई एउटा स्वर्गदूतले भने। त्यति बेला कर्नीलियसले यहोवालाई आफ्नो जीवन समर्पण नगरेको भएतापनि, तिनले आफ्नो प्रार्थनाको उत्तर पाए। स्वर्गदूतले दिएको निर्देशन अनुसार, उनले पत्रुसलाई बोलाइ पठाए।
१५. शिमोनको घरको कौसीमाथि पत्रुस प्रार्थना गरिरहेको बेलामा के भयो?
१५ अर्को तिर, शिमोनको घरको कौसीमाथि प्रार्थना गरिरहेको बेलामा, पत्रुसले एउटा दर्शन देखे। (१०:९-२३) तिनी अचेत परे र माथि स्वर्गबाट हर किसिमका अशुद्ध चार खुट्टे जीवात र घस्रने जन्तुहरू र आकाशका चरा-चुरूङ्गीहरू भएको एउटा ठूलो लुगा जस्तो पात्र तल झरी रहेको देखे। तिनीहरूलाई मारेर खाने आदेश पाउँदा, कुनै पनि अशुद्ध कुराहरू खाने गरेको छैन भनेर पत्रुसले जवाफ दिए। तर तिनलाई “परमेश्वरले जे जे शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अशुद्ध नतुल्याऊ” भनिन्छ। यो दर्शन देखेर पत्रुस छक्क पर्छन्। तर तिनी पवित्र आत्माको निर्देशन अनुसार हिड़छन् र कर्नीलियसबाट आएका दूतहरू सँग पत्रुस र अरू छ जना यहूदी भाइहरू जान्छन्।—प्रेरित् ११:१२.
१६, १७. (क) पत्रुसले कर्नीलियस र तिनको घरमा भेला भएकाहरूलाई के भने? (ख) पत्रुस बोल्दा बोल्दै के भयो?
१६ अब अन्यजातिका मानिसहरूले प्रथम पटक सुसमाचार सुन्न लागेका थिए। (१०:२४-४३) पत्रुस र तिनी सँग आएका भाइहरू सिजरियामा आइपुग्दा, कर्नीलियस, तिनका नातेदारहरू र घनिष्ठ मित्रहरू तिनीहरूको बाटो हेरिरहेका थिए। कर्नीलियसले पत्रुसको पाउ परी दण्डवत् गर्दा प्रेरितले नम्रतापूर्वक यस प्रकारको दण्डवत् इन्कार गर्छन्। र यहोवाले येशूलाई मसीह नियुक्त गर्नु हुँदै, पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको कुरा बताउछन् र जस-जसले उहाँ माथि विश्वास गर्छन, तिनीहरू सबैले पापको मोचन पाउनेछन् भन्ने कुराको व्याखा दिन्छन्।
१७ यहोवाले तब आफ्नो कार्य गर्नु भयो। (१०:४४-४८) पत्रुस बोल्दा बोल्दै, विश्वास गर्ने ती अन्यजातिका मानिसहरूलाई परमेश्वरले पवित्र आत्मा दिनु हुन्छ। तुरन्तै तिनीहरू पवित्र आत्माले अभिषिक्त हुन्छन् र अन्य भाषाहरू बोल्न र परमेश्वरको प्रशंसा गर्न प्रेरित हुन्छन्। वास्तवमा, तिनीहरूले येशू ख्रीष्टको नाउँमै बप्तिस्मा पाए। र स्वर्गको राज्यमा प्रवेश गर्ने मौका र ज्ञानको ढोका खोल्न यहाँ पत्रुसले, ईश्वरको भय मान्ने अन्यजातिका मानिसहरूका लागि, तेस्रो साँचो प्रयोग गरे।—मत्ती १६:१९.
१८. अन्यजातिका मानिसहरूले “पवित्र आत्मामा बप्तिस्मा” पाएको कुरा थाह पाए पछि, यहूदी भाइहरूको प्रतिकृया के भयो?
१८ यसको केही समय पश्चात्, यरूशलेममा खतनाका समर्थकहरूले पत्रुससँग विवाद गर्न थाले। (११:१-१८) तर अन्यजातिका मानिसहरूले “पवित्र आत्मामा” बप्तिस्मा पाएका कुरा तिनले बताए पछि, यहूदी भाइहरूले मञ्जूर गरे र एसो भन्दै परमेश्वरको महिमा गर्न थाले: “अब ता परमेश्वरले अन्यजातिहरूलाई पनि जीवनको निम्ति पश्चाताप दिनुभएछ।” हामीहरूलाई पनि ईश्वरीय इच्छाको प्रकाश हुँदा, ग्रहणशील स्वभावको हुनु आवश्यक छ।
अन्यजातिको मण्डलीको स्थापना
१९. चेलाहरू कसरी मसीही कहलिन थाले?
१९ प्रथम अन्यजाति मण्डलीको अब स्थापना भयो। (११:१९-२६) स्तिफनसको सम्बन्धमा उठेको खेदोले गर्दा तितर-बितर भएका चेलाहरू कोही सिरियाको एन्टिओकमा गए, जहाँ अशुद्ध उपासना र नैतिक भ्रष्टाचार प्रचलित् थियो। तिनीहरूले त्यहाँका युनानी भाषा बोल्ने मानिसहरू सँग कुरा गर्दा, “यहोवाको [NW] बाहुली तिनीहरूसँग भएकाले” धेरै जना विश्वासगर्नेहरू भए। शावल र बर्णाबासले त्यहाँ बसेर एक वर्ष सम्म शिक्षा दिए र ईश्वरको कृपा अनुसार, “चेलाहरू पहिले एन्टिओकमानै ख्रीष्टियान” कहलाइए। तिनीहरू यो नाउँबाट बोलाइनु, निस्सन्देह यहोवाको निर्देशन अनुसार थियो किनभने शास्त्रमा प्रयोग गरिएको ख्रेमाटायजो भन्ने युनानी शब्दको अर्थ, “ईश्वरीय बुलावा” पाउनु हो र शास्त्रमा जहिले पनि यो शब्द परमेश्वरबाट आएका कुराहरूको सम्बन्धमा प्रयोग गरिन्छ।
२०. अगाबसले के को अगमवाणी गरे र एन्टिओकामा भएको मण्डलीले कसरी सहानुभूति व्यक्त गरे?
२० परमेश्वरको भय मान्ने केही अगमवक्ताहरू पनि यरूशलेमबाट एन्टिओकमा आए। (११:२७-३०) औ तिनीहरू मध्य एक जना अगाबस थिए जसले “सारा संसारमा ठूलो अनिकाल पर्न आँटेको छ भन्ने आत्माद्वारा सूचना दिए।” यो अगमवाणी रोमी सम्राट क्लोडियसको पालोमा पुरा भयो (ई. स. ४१-५४) र इतिहासकार जोसेफसले पनि यो “ठूलो अनिकाल” बारे कुरा गरेको छ। (जुविश एन्टीक्वीटिस, XX, ५१ [२, ५]; XX, १०१ [५, २]) प्रेम दर्साउदै, एन्टिओकको मण्डलीले खाँचोमा परेका यहूदियाका भाइहरूका लागि चन्दा पठाइ दिए।—यूहन्ना १३:३५.
सतावट प्रभावहीन
२१. पत्रुसको विरूद्धमा हेरोद अग्रीपा प्रथमले के कदम चाल्यो तर त्यसको परिणाम के भयो?
२१ हेरोद अग्रीपाले यरूशलेममा यहोवाको भय मान्नेहरूको खेदो गर्न थाले पछि शान्तिको समय समाप्त भयो। (१२:१-११) शहीद हुने प्रथम प्रेरित याकूबलाई हेरोदले तरवारले माऱ्यो। यसलेगर्दा यहूदीहरू खुशी भएको देखेर हेरोदले पत्रुसलाई पनि झ्यालखानामा हाली दियो। यी प्रेरितलाई दायाँ र बायाँ, एउटा-एउटा सिपाहीसँग साङ्गलोले बाँधेको हुनु पर्छ र तिनको कोठोमा पहरा बस्न अरू दुईजना सिपाही थिए होलान्। निस्तार चाड़ र अखमिरी रोटीका दिनहरू (निसान १४-२१) शेष भए पछि हेरोदले पत्रुसलाई मार्ने योजना बनाएको थियो। तर अकसर हाम्रा प्रार्थनाहरू झैं, मण्डलीले पत्रुसका खातिर चढ़ाएका प्रार्थनाहरूको पनि एन मौका मै सुनवाइ भयो। परमेश्वरको स्वर्गदूतले चमत्कार साथ यी प्रेरितलाई स्वतन्त्र बनाइ दिए।
२२. पत्रुस, मर्कूसकी आमा, मरियमको घरमा पुग्दा, के घटना घट्यो?
२२ तुरन्तै पत्रुस मरियमको (यूहन्ना मर्कूसकी आमा) घरमा पुगे जहाँ मसीहीहरूको भेला हुने ठाउँ थियो होला। (१२:१२-१९) अन्धकारमा, घरकी दासी रोदाले पत्रुसको आवाज चिनेपछि तिनले पत्रुसलाई बन्द ढोका बाहिर नै छाड़ी दिन्छे। पहिले ता चेलाहरूले ठीक पनि परमेश्वरले पत्रुसको प्रतिनिधित्व गर्ने र पत्रुसको जस्तै सोर भएको कुनै स्वर्गदूत पठाउनु भयेको होला भनी ठाने होलान्। तर पत्रुसलाई भित्र प्रवेश गर्न दिए पछि, पत्रुसले याकूब र अरू भाइहरूलाई (शायद प्राचीनहरू) आफ्नो छुटकारा बारे खबर दिन भनेर तिनीहरूलाई भन्छन्। यस पछि, अरूहरूले सोध-पूछ गरेको खण्डमा, आफूलाई र तिनीहरू, दुवैलाई खतरामा नपार्नका लागि, आफू जाने ठाउँ नबताइकन पत्रुस त्यहाँबाट गइहाल्छन्। हेरोदले पत्रुसलाई खोजी पठाउँछ तर त्यो खोजी निष्फल हुन्छ। अर्को तिर पत्रुसलाई पहरा दिने गारतहरूले चाहिं सजाय, सम्भवतः मृत्यु दण्ड, पाउँछन्।
२३. हेरोद अग्रीपाको राज्यकालको अन्त कसरी आयो र यसबाट हामी के सिक्न सक्छौं?
२३ ई. स. ४४ मा, हेरोद अग्रीपा प्रथमको उमेर ५४ वर्षको छँदा, उसको शासन अचानक सिजरियमा समाप्त भयो। (१२:२०-२५) उ टायर र सिदोनका फिनिसी मानिसहरू सँग युद्ध गर्ने सुरमा थियो तर तिनीहरूले हेरोदको सेवक ब्लास्टसलाई घूस दिएर एउटा सुनवाइको प्रबन्ध गरे जहाँ तिनीहरूले शान्तिका लागि बिन्ति गर्न सक्थिए। “खटाइएको दिनमा” (यो दिन क्लोडियस सिजरलाई श्रद्धा गरिने चाड़ पनि थियो) हेरोद शाही पोशाक पहिरेर न्यायाधीशको आसनमा बस्यो र आम भाषण दिन थाल्यो। यसैमा तल स्रोताहरूले “यो ता देवताको बोली हो, मानिसको होइन” भनेर कराए। तर उसले “परमेश्वरलाई माहिमा नदिएकोमा” यहोवाको दूतले उसलाई त्यतिखेरै प्रहार गरे। र “स्याउँ स्याउँ कीरा परेर” हेरोदको मृत्यु भयो। यो उदाहरणबाट सधैंनै यहोवाको भयमा हिड़ने, अहङ्कारबाट अलग बस्ने र उहाँका मानिसहरू भएर गरेका सबै कुराका लागि उहाँलाई नै महिमा दिने प्रेरणा हामीले सधैं नै पाउन सकौं।
२४. बृद्धि बारे, आउँदो लेखले के देखाउँनेछ?
२४ हेरोदबाट सतावट छँदा छँदै पनि “यहोवाको [NW] वचन बढ़दै बढ़दै फैलिएर गयो।” वास्तवमा, आउँदो लेख अनुसार, यो भन्दा अझ ठूलो बृद्धिको आशा गर्ने कारण चेलाहरू सँग थियो। किन? किनभने “तिनीहरू यहोवाको भयमा हिड़ने गरे।” (w90 6/1)
तपाईं कसरी उत्तर दिनु हुनेछ?
◻ स्तिफनसले परमेश्वरको भय मान्द थिए भनेर तिनले स्वंय कसरी व्यक्त गरे?
◻ राज्यको प्रचार गर्ने काममा स्तिफनसको मृत्युले गर्दा के असर पर्यो र यसको कुनै आधुनिक समानान्तर छ?
◻ खेदो गर्ने मानिस, टार्ससको शावल, यहोवाको भय मान्ने मानिस कसरी हुन गयो?
◻ अन्यजातिहरूबाट विश्वास गर्ने प्रथम मानिसहरू को थिए?
◻ सतावटले यहोवाको भय मान्ने मानिसहरूलाई रोक्न सक्दैन भनेर प्रेरितको १२वाँ अध्यायले कसरी देखाउँछ?
[पृष्ठ ८-मा भएको चित्र]
स्वर्गबाट ज्योति चम्क्यो र एउटा सोरले यो प्रश्न गर्यो: “हे शावल, हे शावल, तिमी किन मेरो खेदो गर्छौ?”