मानिसहरूलाई “निद्राबाट ब्यूँझन” मदत गर्नुहोस्
“अहिले कस्तो बेला हो भनेर तिमीहरूलाई थाह भएकोले . . . तिमीहरू निद्राबाट ब्यूँझने समय आइसकेको छ।”—रोमी १३:११.
के तपाईं बुझाउन सक्नुहुन्छ?
ख्रीष्टियनहरू आध्यात्मिक तवरमा ब्यूँझिरहनु किन महत्त्वपूर्ण छ?
सजग प्रकाशक हुनको लागि सुन्नु र अवलोकन गर्नु किन आवश्यक छ?
प्रचारकार्यमा दया र नम्रताले कस्तो भूमिका खेल्छ?
१, २. कुन अर्थमा धेरै मानिसहरू ब्यूँझनु आवश्यक छ?
गाडी चलाउँदा चलाउँदै झुलेकोले वा निदाएकोले हरेक वर्ष हजारौं मानिसले आफ्नो ज्यान गुमाउँछन्। कतिले भने काममा जानको लागि समयमै नउठेकोले अथवा काममा निदाएकोले आफ्नो जागिर गुमाउँछन्। तर आध्यात्मिक तवरमा झुल्दा भने अझ गम्भीर असर भोग्नुपर्ने हुन सक्छ। यही महत्त्वपूर्ण विषयलाई लिएर बाइबल यसो भन्छ: “आनन्दित हो त्यो मानिस, जो जागा बस्छ।”—प्रका. १६:१४-१६.
२ यहोवाको भयानक दिन नजिकिंदै गइरहेको बेला धेरैजसो मानिसहरू आध्यात्मिक अर्थमा निदाइरहेका छन्। चर्च सम्प्रदायका केही नेताहरूले समेत आफ्ना बगाललाई ‘सुताहा दानवहरू’ भन्ने संज्ञा दिएका छन्। आध्यात्मिक निद्रा भनेको के हो? साँचो ख्रीष्टियनहरू ब्यूँझिरहनु किन महत्त्वपूर्ण छ? मानिसहरूलाई यस्तो निद्राबाट ब्यूँझन हामी कसरी मदत गर्न सक्छौं?
आध्यात्मिक निद्रा भनेको के हो?
३. आध्यात्मिक तवरमा निदाउने व्यक्तिलाई तपाईं कसरी वर्णन गर्नुहुन्छ?
३ निदाइरहने व्यक्तिहरू प्रायः निष्क्रिय हुन्छन्। यसको विपरीत आध्यात्मिक तवरमा निदाउनेहरू धेरै व्यस्त हुन सक्छन् तर परमेश्वरको सेवासित सम्बन्धित कामकुरामाचाहिं होइन। तिनीहरू दैनिक जीवनका फिक्रीहरूमै डुब्छन् अथवा रमाइलो वा नाम-दामको पछि लाग्नमै व्यस्त हुन्छन्। यस्ता गतिविधिमा व्यस्त भएकोले परमेश्वरको सेवासित सम्बन्धित गतिविधिमा तिनीहरू थोरै समय मात्र बिताउँछन्। तर आध्यात्मिक तवरमा ब्यूँझनेहरूले आफू “अन्तको दिनमा” बाँचिरहेको छु भनी बुझ्छन्। त्यसैले तिनीहरू परमेश्वरको इच्छा पूरा गर्न सम्भव भएसम्म सक्रिय हुन्छन्।—२ पत्रु. ३:३, ४; लूका २१:३४-३६.
४. “बाँकी अरू मानिसहरूजस्तै हामी ननिदाऔं” भन्ने सल्लाहको अर्थ के हो?
४ पहिलो थिस्सलोनिकी ५:४-८ पढ्नुहोस्। प्रेषित पावलले सँगी ख्रीष्टियनहरूलाई यस्तो सल्लाह दिए: “बाँकी अरू मानिसहरूजस्तै हामी ननिदाऔं।” तिनले के भन्न खोजिरहेका थिए? परमेश्वरको नैतिक स्तरलाई बेवास्ता गर्दा हामी ‘निदाउन’ सक्छौं। साथै दुष्ट व्यक्तिहरूलाई नाश गर्ने यहोवाको दिन नजिकै छ भन्ने कुरालाई बेवास्ता गर्दा पनि हामी ‘निदाउन’ सक्छौं। यस्ता मानिसहरूको तौरतरिका र मनोवृत्ति पछ्याउनदेखि हामी होसियार हुनैपर्छ।
५. आध्यात्मिक तवरमा निदाइरहेका व्यक्तिहरूको मनोवृत्ति कस्तो हुन्छ?
५ कोही-कोही मानिसहरू, आफ्नो कामको लेखा लिने परमेश्वर हुनुहुन्न भनी सोच्छन्। (भज. ५३:१) अरू कतिले भने परमेश्वर हामी मानिसहरूमा चासो राख्नुहुन्न त्यसैले हामीले पनि उहाँको चासो राख्नुपर्दैन भनी सोच्छन्। अरूचाहिं परमेश्वरको साथी हुन कुनै एउटा धर्म माने पुगिहाल्छ नि भन्ने सोच राख्छन्। यी सबै मानिसहरू आध्यात्मिक तवरमा निदाइरहेका छन्। यिनीहरूलाई ब्यूँझाउनै पर्छ। हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौं?
हामी आफू ब्यूँझिरहनै पर्छ
६. ख्रीष्टियनहरूले आध्यात्मिक तवरमा ब्यूँझिरहने प्रयास किन गर्नै पर्छ?
६ अरूलाई ब्यूँझाउन पहिला हामी नै ब्यूँझिएको हुनुपर्छ। यसमा के समावेश छ? परमेश्वरको वचनले लाक्षणिक निद्रालाई “अन्धकारका कामहरू” अर्थात् भोजको मोजमस्ती, अनियन्त्रित मद्यपान, अवैध यौनसंसर्ग, छाडा आचरण, कलह र डाहसित तुलना गर्छ। (रोमी १३:११-१४ पढ्नुहोस्) यस्तो आचरणबाट जोगिनु चुनौतीपूर्ण हुन सक्छ। सतर्क रहनु महत्त्वपूर्ण छ। गाडी चलाउँदा चलाउँदै निदाएमा आफ्नो ज्यान खतरामा पर्न सक्छ भनी गाडी चालकले सम्झनै पर्छ। आध्यात्मिक रूपमा निदाउनु घातक हुन सक्छ भन्ने कुरामा सजग हुनु ख्रीष्टियनहरूका लागि कत्ति आवश्यक!
७. मानिसहरूप्रतिको गलत दृष्टिकोणले हामीलाई कस्तो असर गर्न सक्छ?
७ उदाहरणको लागि कुनै ख्रीष्टियनले आफ्नो इलाकाका कसैले पनि सुसमाचार स्वीकार्दैनन् भन्ने सोचाइ राख्न सक्छन्। (हितो. ६:१०, ११) तिनले यस्तो तर्क गर्न सक्छन्, ‘कसैले पनि राम्रो प्रतिक्रिया देखाउँदैन भने बित्थैमा किन जोसिलो हुने?’ हुनत अहिले धेरै जना आध्यात्मिक तवरमा निदाइरहेका होलान् तर तिनीहरूको अवस्था र मनोवृत्ति परिवर्तन हुन सक्छ। कतिपय ब्यूँझन्छन् र सुसमाचार स्वीकार्छन्। हामी आफै ब्यूँझिरहेका छौं भने मात्र त्यस्ता व्यक्तिहरूलाई मदत गर्न सक्छौं। यसो गर्न सक्ने एउटा तरिका राज्य सन्देशलाई सुनूँ-सुनूँ लाग्ने गरी प्रस्तुत गर्न नयाँ-नयाँ तरिका अपनाउने कोसिस गर्नु हो। हाम्रो सेवाको काम किन महत्त्वपूर्ण छ भनी आफैलाई सम्झाउँदा पनि हामी ब्यूँझिरहन सक्छौं।
केले हाम्रो प्रचारकार्यलाई महत्त्वपूर्ण बनाउँछ?
८. हाम्रो प्रचारकार्य किन असाध्यै महत्त्वपूर्ण छ?
८ मानिसहरूले हाल जस्तोसुकै प्रतिक्रिया देखाए तापनि हाम्रो प्रचारकार्यले यहोवाको महिमा गर्छ र उहाँको उद्देश्य पूरा गर्न भूमिका खेल्छ भन्ने कुरा नबिर्सनुहोस्। सुसमाचार नस्वीकार्नेहरूले चाँडै सजाय भोग्नेछन्। प्रचारकार्यप्रति मानिसहरूले देखाउने प्रतिक्रियाको आधारमा न्याय गरिनेछ। (२ थिस्स. १:८, ९) साथै “परमेश्वरको स्तरबमोजिम ज-जसले असल काम गरे अनि ज-जसले गरेनन्, तिनीहरू दुवै पुनर्जीवित हुनेछन्” भने किन जोडतोडले प्रचार गर्नुपऱ्यो र भन्ने तर्क गर्नु ठूलो भुल हुनेछ। (प्रेषि. २४:१५) “बाख्राहरू”-को रूपमा छुट्टाइएकाहरू “सधैंका लागि नाश हुनेछन्” भनेर हामीले परमेश्वरको वचनबाट बुझेका छौं। हाम्रो प्रचारकार्यले मानिसहरूलाई परिवर्तन हुने र “अनन्त जीवन” पाउने बाटो खोलेर परमेश्वरको कृपा प्रकट गर्छ। (मत्ती २५:३२, ४१, ४६; रोमी १०:१३-१५) हामीले प्रचार नगरेको भए जीवन बच्ने सन्देश सुन्ने अवसर मानिसहरूले कसरी पाउन सक्थे र?
९. सुसमाचार प्रचार गरेर तपाईं आफैलाई र अरूलाई कसरी फाइदा पुगेको छ?
९ सुसमाचार प्रचार गर्दा हामीलाई पनि फाइदा हुन्छ। (१ तिमोथी ४:१६ पढ्नुहोस्) यहोवा र राज्य आशाबारे कुरा गर्दा आफ्नो विश्वास र परमेश्वरप्रतिको प्रेम बलियो भएको पाउनुभएको छैन र? यसले तपाईंलाई ख्रीष्टियन गुणहरू विकास गर्न मदत गरेको छैन र? प्रचारकार्यमा भाग लिएर परमेश्वरप्रतिको समर्पण जाहेर गर्दा तपाईं आनन्दित हुनुभएको छैन र? अरूलाई सत्य सिकाउने सुअवसर पाएका धेरैले परमेश्वरको शक्तिको मदतद्वारा अरूको जीवनशैलीमा सुधार आएको देख्न पाएका छन्।
अवलोकी हुनुहोस्
१०, ११. (क) येशू र पावलले आफू सजग र अवलोकी भएको कसरी देखाए? (ख) सजग र अवलोकी हुँदा हाम्रो प्रचारकार्य कसरी अझ राम्रो हुन सक्छ, उदाहरण दिनुहोस्।
१० सुसमाचारप्रति मानिसहरूको चासो विभिन्न तरिकामा जाग्न सक्छ। त्यसैले ख्रीष्टियन सेवकहरू सजग अवलोकनकर्ता हुनै पर्छ। येशू हाम्रो उदाहरण हुनुहुन्छ। त्रुटिरहित भएकोले उहाँ फरिसीहरूको भित्रभित्रैको रिस, पापीनी स्त्रीको साँचो पश्चात्ताप र एउटी विधवाको आत्मत्यागी मनोभाव बुझ्न सक्नुहुन्थ्यो। (लूका ७:३७-५०; २१:१-४) परमेश्वरसित नजिक हुनुपर्ने प्रत्येक व्यक्तिको खाँचोलाई येशू पूरा गर्न सक्नुहुन्थ्यो। तर राम्ररी अवलोकन गर्ने व्यक्ति हुन परमेश्वरको सेवक त्रुटिरहित हुनुपर्छ भन्ने छैन। प्रेषित पावलले यो कुरालाई प्रमाणित गरे। तिनले आफ्नो प्रस्तुतिलाई विभिन्न वर्ग र फरक-फरक विचारधाराका मानिसहरूको मन छुने तरिकामा छाँटकाँट गरे।—प्रेषि. १७:२२, २३, ३४; १ कोरि. ९:१९-२३.
११ येशू र पावलजस्तै सजग र अवलोकी हुने प्रयास गर्दा मानिसहरूको चासो जगाउने सबैभन्दा राम्रो तरिका थाह पाउन सक्छौं। उदाहरणको लागि मानिसहरूलाई भेट्दा तिनीहरूको संस्कृति, चासो अथवा पारिवारिक अवस्थाबारे सङ्केत दिने कुराहरू याद गर्नुहोस्। सायद तपाईं तिनीहरू के गर्दैछन् भनी याद गरेर तिनीहरूको प्रशंसा गर्दै कुराकानी सुरु गर्न सक्नुहुन्छ।
१२. प्रचारकार्यमा भाग लिइरहेको बेला हामी आफ्नो कुराकानीको सन्दर्भमा किन होसियार हुनुपर्छ?
१२ सजग अवलोकनकर्ता अलमल्याउने कुरादेखि टाढै बस्ने कोसिस गर्छ। प्रचारमा आफ्नो साथीसित कुराकानी गर्दा प्रोत्साहन पाउन सक्छौं। तर क्षेत्र सेवामा भाग लिनुको उद्देश्य अरूलाई प्रचार गर्नु हो भनी हामी सम्झन चाहन्छौं। (उप. ३:१, ७) त्यसैले एउटा घरबाट अर्को घर जाँदा हाम्रो कुराकानीले प्रचारकार्यलाई बाधा पुऱ्याउन नदिन हामी होसियार हुनुपर्छ। चासो देखाउने व्यक्तिसित बाँड्न चाहेको कुरा आपसमा छलफल गर्नु हाम्रो उद्देश्यमा ध्यान केन्द्रित गरिरहने एउटा राम्रो तरिका हो। मोबाइल फोन कहिलेकाहीं हाम्रो प्रचारकार्यको लागि उपयोगी त हुन्छ, तैपनि घरधनीसित कुराकानी गरिरहेको बेला यसले बाधा पुऱ्याउन दिनु हुँदैन।
व्यक्तिगत चासो देखाउनुहोस्
१३, १४. (क) मानिसहरूको चासोको विषय हामी कसरी थाह पाउन सक्छौं? (ख) कुन कुराले परमेश्वरप्रति मानिसहरूको चासो जाग्न सक्छ?
१३ सचेत र सजग प्रचारकहरूले मानिसहरूको कुरा ध्यान दिएर सुन्छन्। इलाकाको कसैलाई आफ्नो भावना व्यक्त गर्न लगाउन तपाईं कस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ? के तिनी अनगिन्ती धर्म, आफू वरपर भइरहेको हिंसा अथवा सरकारको असफलता देखेर चिन्तित छन्? के तपाईं जीवजीवातहरूको अद्भुत संरचनाबारे बताएर अथवा बाइबलको सल्लाह कत्तिको व्यावहारिक छ भन्ने कुरालाई जोड दिएर परमेश्वरप्रतिको तिनको चासो जगाउन सक्नुहुन्छ? प्रायः सबै संस्कृतिका मानिसहरू अनि केही नास्तिकहरू समेत प्रार्थनामा चासो राख्छन्। धेरैलाई ‘हाम्रो प्रार्थना सुन्ने कोही होला र’ जस्तो लाग्छ। कतिको मनमा भने यी प्रश्नहरू उब्जिएका हुन सक्छन्: के परमेश्वरले सबै प्रार्थनाहरू सुन्नुहुन्छ? उहाँले हाम्रो प्रार्थना सुनेको चाहन्छौं भने हामीले के गर्नुपर्छ?
१४ अनुभवी प्रकाशकहरूले कसरी कुराकानी थाल्छन्, त्यसलाई हेरेर पनि हामी कुराकानी थाल्ने कला सिक्न सक्छौं। केरकार गरेको वा निजी मामिलामा हस्तक्षेप गरेको जस्तो देखिनबाट तिनीहरू कसरी टाढै बस्छन्, याद गर्नुहोस्। तिनीहरूको बोल्ने शैली वा अनुहारको भावमा घरधनीको विचारधारा बुझ्न चाहेको कुरा कसरी झल्किन्छ?—हितो. १५:१३.
दया र कौशलता
१५. प्रचार गर्दा किन दयालु हुनुपर्छ?
१५ के तपाईंलाई गहिरो निद्राबाट ब्यूँझाइएको मनपर्छ? अकस्मात् ब्यूँझाइएको धेरैलाई मनपर्दैन। बिस्तारै ब्यूँझाउनु नै राम्रो हुन्छ। मानिसहरूलाई आध्यात्मिक निद्राबाट ब्यूँझाउने सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। उदाहरणको लागि प्रचार गर्दा कोही रिसाएमा तपाईंले कस्तो प्रतिक्रिया देखाउनु राम्रो हो? नम्र हुँदै तिनको भावनाको कदर गर्नुहोस्, आफ्नो कुरा स्पष्टसित राखेकोमा धन्यवाद दिनुहोस् अनि शान्तपूर्वक उक्त ठाउँ छोड्नुहोस्। (हितो. १५:१; १७:१४; २ तिमो. २:२४) तपाईंले दयालु व्यवहार देखाउनुभएको छ भने कुनै साक्षीले उक्त व्यक्तिलाई अर्को पटक भेटेमा तिनले सकारात्मक प्रतिक्रिया देखाउन सक्छन्।
१६, १७. प्रचारकार्यमा हामी कसरी समझ चलाउन सक्छौं?
१६ नकारात्मक प्रतिक्रिया देखाइँदा तपाईं सफलतापूर्वक त्यसको सामना गर्न सक्नुहुन्छ। कसैले कुरा टुङ्ग्याउनकै लागि मात्र यसो भन्लान्, “मेरो आफ्नै धर्म छ” अथवा “मलाई चासो छैन।” तर परमेश्वरप्रति घरधनीको चासो जगाउन तपाईंले दया र कौशलतासाथ एउटा रोचक प्रश्न सोध्न सक्नुहुन्छ।—कलस्सी ४:६ पढ्नुहोस्।
१७ एकदमै व्यस्त छु भन्ने व्यक्ति भेट्दा कहिलेकाहीं अवस्था बुझेर त्यो ठाउँ छोड्नु उपयुक्त हुन्छ। तर कहिलेकाहीं भने छोटो-मीठो तरिकामा केही बताउने छनौट गर्न सक्नुहुन्छ। कतिपय भाइबहिनीले एक मिनेटभन्दा कम समयमै बाइबल खोलेर सोच्न लगाउने खालको एउटा पद पढ्न र घरधनीलाई एउटा प्रश्न छोड्न सकेका छन्। यस्तो छोटो प्रस्तुतिले गर्दा कहिलेकाहीं घरधनीको चासो जागेको छ र छोटो कुराकानी गर्न आफू त्यति व्यस्त नभएको कुरा महसुस गरेका छन्। परिस्थितिले दिएको बेलामा छोटो कुराकानी गर्ने प्रयास किन नगर्ने?
१८. अनौपचारिक साक्षीको लागि अझै प्रभावकारी हुन हामी के गर्न सक्छौं?
१८ अनौपचारिक साक्षी दिन तयार छौं भने दैनिक क्रियाकलापको दौडान मानिसहरू भेट्दा सुसमाचारप्रति तिनीहरूको चासो जगाउन सक्छौं। थुप्रै भाइबहिनीले खल्ती अथवा हाते झोलामा केही साहित्य बोक्ने गर्छन्। मौका मिलेको खण्डमा अरूलाई देखाउन कुनै एउटा बाइबल पद पनि पहिल्यै विचार गरेका हुन्छन्। यसो गर्न तपाईं आफूलाई कसरी तयार अवस्थामा राख्न सक्नुहुन्छ, त्यसबारे आफ्नो मण्डलीका सेवा निरीक्षक अथवा अग्रगामीहरूसित कुरा गर्न सक्नुहुन्छ।
आफन्तहरूलाई बिस्तारै ब्यूँझाउनुहोस्
१९. आफन्तहरूलाई मदत गर्न कहिल्यै छोड्नु हुँदैन, किन?
१९ आफन्तहरूलाई सुसमाचार स्वीकार्न हामी पक्कै पनि मदत दिन चाहन्छौं। (यहो. २:१३; प्रेषि. १०:२४, ४८; १६:३१, ३२) हाम्रो सुरुको प्रयासलाई अस्वीकार गरिएमा फेरि प्रयास गर्नु बेकार छ जस्तो हामीलाई लाग्न सक्छ। हामी यस्तो सोच्न सक्छौं, ‘उनीहरूको मनोवृत्ति परिवर्तन गर्न हामीले भन्न र गर्न सक्ने कुरा के नै छ र?’ तथापि कुनै घटनाले तपाईंको आफन्तको जीवन वा दृष्टिकोण परिवर्तन गर्न सक्छ। अथवा अरूलाई बाइबल सत्य बुझाउने तपाईंको क्षमता पहिलेभन्दा अहिले तिखारिएको हुन सक्छ जसले गर्दा राम्रो नतिजा प्राप्त गर्न सक्नुहुन्छ।
२०. आफन्तसित कुराकानी गर्दा समझदार हुनु किन आवश्यक छ?
२० हामीले आफन्तहरूको भावनाको ख्याल राख्नुपर्छ। (रोमी २:४) प्रचारकार्यमा भेट्ने मानिसहरूसित दयालु भई कुराकानी गर्छौं भने आफन्तहरूसित चाहिं दयालु भई कुराकानी गर्नुपर्दैन र? नम्र हुँदै र आदर देखाउँदै कुरा गर्नुहोस्। सत्यले आफ्नो जीवनमा ल्याएका राम्रा नतिजाहरू बताउनुहोस् तर भाषण छाँटेजस्तो नगर्नुहोस्। (एफि. ४:२३, २४) यहोवाले ‘तपाईंकै फाइदाको निम्ति सिकाएर’ तपाईंको जीवनलाई कसरी अर्थपूर्ण बनाउनुभएको छ, स्पष्ट पार्नुहोस्। (यशै. ४८:१७) ख्रीष्टियनको जीवनशैली कस्तो हुनुपर्छ, तपाईंका आफन्तले तपाईंबाट देखून्।
२१, २२. आफन्तहरूलाई आध्यात्मिक रूपमा मदत गर्न लागिरहनु कत्तिको महत्त्वपूर्ण छ भनी देखाउने एउटा अनुभव बताउनुहोस्।
२१ हालसालै एउटी बहिनीले यस्तो लेखिन्: “मैले सधैं आफ्ना १३ जना दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो बोलीवचन तथा आचरणद्वारा साक्षी दिने प्रयास गरें। म हरेक वर्ष तिनीहरू प्रत्येकलाई चिठी लेख्थें। तर ३० वर्षसम्म मेरो परिवारमा साक्षीको नाममा म मात्रै थिएँ।”
२२ ती बहिनीले अझै लेखिन्: “एक दिन मैले धेरै टाढा बस्ने मेरी दिदीलाई फोन गरें। आफ्नो पादरीलाई बाइबलबारे सिकाउन अनुरोध गरेको तर उनले कहिल्यै नमानेको कुरा दिदीले मलाई बताउनुभयो। ‘त्यसोभए म सिकाउँछु नि’ भनी मैले बताउँदा उहाँले यसो भन्नुभयो: ‘ठीक छ तर म तिमीलाई अहिल्यै भन्दिन्छु: म यहोवाको साक्षीचाहिं कहिल्यै पनि हुँदिन।’ बाइबलले वास्तवमा के सिकाउँछ? किताब उहाँलाई पठाएपछि समय-समयमा उहाँलाई फोन गर्ने गरें। तर उहाँले त्यो किताब खोल्नुभएको पनि रहेनछ। अनि मैले उहाँलाई आफ्नो किताब खोल्न अनुरोध गरें र उद्धरण गरिएका केही बाइबल पदहरू हामीले फोनबाटै १५ मिनेट जति पढ्यौं र छलफल गऱ्यौं। फोनमा अझै अरू केही दिन कुराकानी गरेपछि उहाँले १५ मिनेटभन्दा धेरै समय अध्ययन गर्न चाहनुभयो। त्यसपछि त अध्ययन गर्नको लागि उहाँले नै मलाई फोन गर्न थाल्नुभयो। कहिलेकाहीं त म बिहान ओछ्यानमै हुँदा र कहिलेकाहीं चाहिं दिनमै दुई चोटि फोन गर्नुहुन्थ्यो। त्यसको एक वर्षपछि उहाँले बप्तिस्मा गर्नुभयो र अर्को वर्ष अग्रगामी सेवा सुरु गर्नुभयो।”
२३. मानिसहरूलाई आध्यात्मिक निद्राबाट ब्यूँझाउन हामी किन थाक्नु हुँदैन?
२३ मानिसहरूलाई आध्यात्मिक निद्राबाट ब्यूँझन मदत गर्नु एउटा कला हो र यसको लागि लगनशील प्रयास चाहिन्छ। नम्र मानिसहरूले तिनीहरूलाई ब्यूँझाउन हामीले गरेको प्रयास अझै पनि स्वीकारिरहेका छन्। औसतमा प्रत्येक महिना २०,००० भन्दा धेरै मानिसले यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्छन्। त्यसैले पावलले प्रथम शताब्दीका हाम्रा भाइ अर्खिप्पसलाई दिएको सल्लाह मनमा राखौं: “प्रभुको चेलाको नाताले आफूले स्वीकारेको सेवाको काम ठीकसित पूरा गर्न तिमी सधैं सजग रहनू।” (कल. ४:१७) अविलम्बी भावसहित प्रचार गर्नुको अर्थ के हो भनी बुझ्न अर्को लेखले सबैलाई मदत गर्नेछ।
[पृष्ठ १३-मा भएको पेटी]
ब्यूँझिरहने तरिकाहरू
▪ परमेश्वरको इच्छा पूरा गर्नमा व्यस्त हुनुहोस्
▪ अन्धकारका कामहरूबाट अलग रहनुहोस्
▪ आध्यात्मिक तवरमा निदाउँदा आइपर्ने खतरादेखि होसियार हुनुहोस्
▪ आफ्नो इलाकाका मानिसहरूप्रति सकारात्मक दृष्टिकोण राख्नुहोस्
▪ प्रचार गर्ने नयाँ-नयाँ तरिका खोज्नुहोस्
▪ प्रचारकार्यको महत्त्वलाई सम्झनुहोस्