समर्पण तथा छनौट गर्ने स्वतन्त्रता
“स्वतंत्रतासाथ ख्रीष्टले हामीलाई निर्बन्ध तुल्याउनुभयो।”—गलाती ५:१.
१. “समर्पण,” “उद्घाटन” वा “अभिषेक” जस्ता हिब्रू र युनानी भाषाहरूबाट अनुवाद गरिएका शब्दहरूले मुख्यतया के कुरालाई जनाउँछ?
पवित्र उद्देश्यका लागि छुट्याइएको वा अलग पारिएको अर्थ बुझाउन बाइबल लेखकहरूले थुप्रै हिब्रू तथा युनानी शब्दहरू प्रयोग गरे। अंग्रेजी बाइबलहरूमा यस्ता शब्दहरूलाई “समर्पण,” “उद्घाटन” वा “अभिषेक” जस्ता अर्थ लाग्नेगरि अनुवाद गरिएका छन्। कहिलेकाहीं यी पदावलीहरू निर्माणकार्यसित सम्बन्धित, त्यसमा पनि विशेषगरि पुरातन इस्राएलको परमेश्वरको मन्दिर र त्यहाँ गरिने उपासनासित सम्बन्धित कुराहरूमा प्रयोग गरिएका छन्। धार्मिक कामकुरासित सरोकार नभएका कुरा बुझाउन यी शब्दहरू विरलै प्रयोग गरिएका छन्।
“इस्राएलका परमेश्वर[प्रति]” समर्पण
२. यहोवा “इस्राएलका परमेश्वर” कहलिनु किन पूर्णतया उचित थियो?
२ परमेश्वरले इस्राएलीहरूलाई मिश्री दासत्वबाट सा.यु.पू. १५१३ मा छुटाउनुभयो। त्यसको केही समयपछि उहाँले तिनीहरूसित करार बाध्नुभएर आफ्नो विशेष जनको रूपमा अलग पार्नुभयो। त्यतिबेला तिनीहरूलाई यसो भनियो: “अब यदि तिमीहरूले मेरा कुरा साँच्चैनै सुन्यौ र मेरो करार पालन गऱ्यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिं मेरो एक निज धन हुनेछौ, किनकि सारा पृथ्वी मेरै हो।” (प्रस्थान १९:५; भजन १३५:४) इस्राएलीहरूलाई आफ्नो निज धन बनाउनु भएपछि यहोवा “इस्राएलका परमेश्वर” कहलिनु पूर्णतया उचित हुनेथियो।—यहोशू २४:२३.
३. इस्राएललाई आफ्नो जनको रूपमा छान्नुभएर यहोवाले किन पक्षपात गरिरहनुभएको थिएन?
३ इस्राएलीहरूलाई आफ्नो समर्पित जन बनाउनुहुँदा यहोवाले पक्षपात गरिरहनुभएको थिएन, किनकि उहाँले गैरइस्राएलीहरूप्रति पनि मायालु चासो देखाउनुभयो। उहाँले आफ्ना जनहरूलाई यस्तो निर्देशन दिनुभयो: “तिमीहरूसित बास गर्ने परदेशीसँग दुर्व्यवहार नगर्नू। तैंले त्यसलाई आफ्नै घरमा जन्मेको जस्तै ठान्नू। तिमीहरूको लागि त्यो स्वदेशीजस्तै होस्, र तिमीहरूले त्यसलाई आफूलाई झैं प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ। म परमप्रभु, तिमीहरूका परमेश्वर हुँ।” (लेवी १९:३३, ३४) शताब्दीयौंपछि प्रेरित पत्रुस परमेश्वरको दृष्टिकोण स्वीकार्न बाध्य भए। तिनले भने: “साँच्चिनै म देख्तछु, कि परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.
४. परमेश्वर र इस्राएलबीच कुन शर्तमा सम्बन्ध गाँसिएको थियो अनि के इस्राएलीहरूले त्यो शर्त पूरा गरे?
४ ध्यान दिनुहोस्, परमेश्वरको समर्पित जन हुनु शर्तमा आधारित थियो। परमेश्वरको कुरा साँच्चै सुनेमा र उहाँको करार पालन गरेमा मात्र तिनीहरू उहाँका “निज धन” हुनेथिए। तर दुःखको कुरा इस्राएलीहरूले यी मागहरू पूरा गर्नसकेनन्। परमेश्वरले पठाउनुभएको पुत्रलाई सा.यु. प्रथम शताब्दीमा तिरस्कार गरेपछि तिनीहरूले आफ्नो विशेष स्थान गुमाए। त्यसपछि यहोवा “इस्राएलका परमेश्वर” रहिरहनुभएन नता जन्मजात इस्राएलीहरू नै परमेश्वरका समर्पित जनको रूपमा रहन पाए।—मत्ती २३:२३ तुलना गर्नुहोस्।
“परमेश्वरका इस्राएल[को]” समर्पण
५, ६. (क) मत्ती २१:४२, ४३ मा लिपिबद्ध भविष्यसूचक शब्दहरू मार्फत येशूले के भन्न खोज्दै हुनुहुन्थ्यो? (ख) “परमेश्वरका इस्राएल” कहिले र कसरी अस्तित्वमा आयो?
५ के यसको अर्थ त्यस उप्रान्त परमेश्वरका कुनै समर्पित जनहरू नै हुने थिएनन् त? त्यसो होइन। भजनरचयितालाई उद्धृत गर्दै येशू ख्रीष्टले यस्तो भविष्यवाणी गर्नुभयो: “ ‘के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढ़ेनौ? जुन ढुंगालाई डकर्मीहरूले रद्दी गरे, त्यही चाहिं कुनाको शिर भयो, यो परमप्रभुबाट भएको हो, र यो हाम्रो दृष्टिमा अचम्मको छ।’ यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसबाट फल फलाउँछ।”—मत्ती २१:४२, ४३.
६ मसीही मण्डली त्यो ‘फल फलाउने जाति’ प्रमाणित भयो। येशूले आफ्नो पार्थिव यात्राको प्रारम्भतिर यसका प्रथम सम्भाव्य सदस्यहरूलाई छान्नुभयो। तर सा.यु. ३३ पेन्तिकोसको दिन यहोवा परमेश्वर आफैले मण्डलीका प्रथम सदस्यहरू अर्थात् भेला भएका करिब १२० जनामाथि पवित्र आत्मा खन्याउनुभएर उक्त मसीही मण्डली स्थापित गर्नुभयो। (प्रेरित १:१५; २:१-४) प्रेरित पत्रुसले पछि लेखेजस्तै यो नयाँ मण्डली “चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा” भए। के का लागि चुनिएका? “अन्धकारबाट उहाँको गजबको ज्योतिमा [तिनीहरूलाई] बोलाउनेको सर्वश्रेष्ठता देखा[उनका]” लागि। (१ पत्रुस २:९) त्यसउप्रान्त परमेश्वरको आत्माद्वारा अभिषिक्त ख्रीष्टका अनुयायीहरू समर्पित जाति अर्थात् “परमेश्वरका इस्राएल” भए।—गलाती ६:१६.
७. परमेश्वरका इस्राएलका सदस्यहरूले के कुराको आनन्द उठाउने थिए र त्यसको लागि तिनीहरू कुन कुरादेखि टाढै रहनुपर्ने थियो?
७ यस पवित्र जातिका सदस्यहरू “परमेश्वरका निजी प्रजा” भए तापनि तिनीहरू बन्धनमा परेका थिएनन्। बरु, तिनीहरू जन्मजात समर्पित इस्राएली जातिहरूभन्दा पनि बढी स्वतन्त्र हुनेथिए। यस पवित्र राष्ट्रका सम्भाव्य सदस्यहरूलाई येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्ना ८:३२) मसीहीहरू मोशालाई दिइएको व्यवस्था करारका मागहरू पूरा गर्नुपर्ने बाध्यताबाट स्वतन्त्र भएको प्रेरित पावलले औंल्याए। यस सम्बन्धमा तिनले गलातियाका सँगी विश्वासीहरूलाई यस्तो सल्लाह दिए: “स्वतंत्रतासाथ ख्रीष्टले हामीलाई निर्बन्ध तुल्याउनुभयो। यसकारण दह्रो भएर खड़ा होओ, र फेरि बन्धनको जुवामा नअल्मलिऔ।”—गलाती ५:१.
८. मसीही प्रबन्धले प्रत्येक व्यक्तिविशेषलाई कुन अर्थमा मोशालाई दिइएको व्यवस्था करारले प्रदान गरेको स्वतन्त्रताभन्दा पनि बढी स्वतन्त्रता दिने थियो?
८ पुरातन समयका जन्मजात इस्राएलजस्तो नभई परमेश्वरका इस्राएलले आजसम्म पनि आफ्नो समर्पणले माग गरेका कुराहरू एक एक पूरा गरिरहेका छन्। यो जानेर छक्क पर्नुपर्दैन। किनकि यसका सदस्यहरूले स्वतन्त्रतासाथ आज्ञाकारी हुने छनौट गरे। जन्मजात इस्राएलीहरू जन्मजात अधिकारको कारण समर्पित भएका थिए भने परमेश्वरका इस्राएलका सदस्यहरू छनौटको कारण समर्पित भएका थिए। छनौट गर्ने स्वतन्त्रता नपाएर जबरजस्ती समर्पित हुनैपर्ने यहूदी व्यवस्था करारभन्दा मसीही प्रबन्धहरू कता हो कता भिन्न थिए।
९, १०. (क) समर्पणको सम्बन्धमा हुने परिवर्तनबारे भविष्यवक्ता यर्मियाले कसरी संकेत गरे? (ख) तपाईं किन आज सबै समर्पित मसीहीहरू परमेश्वरका इस्राएलका सदस्यहरू होइनन् भन्नुहुन्छ?
९ समर्पणको सम्बन्धमा हुने परिवर्तनबारे भविष्यवक्ता यर्मियाले लेखे: “परमप्रभु भन्नुहुन्छ, ‘हेर, दिन आउँदैछ, जब म इस्राएलको घराना र याकूबको घरानासित एउटा नयाँ करार बाँध्नेछु, त्यो करार मैले तिनीहरूका पिता–पुर्खाहरूलाई हातमा समातेर मिश्र देशदेखि निकालेर ल्याएको बेलामा तिनीहरूसित बाँधेको करार हुनेछैन, जुन करार तिनीहरूले भंग गरे, यद्यपि म तिनीहरूका स्वामी थिएँ,’ परमप्रभु भन्नुहुन्छ। तर ती दिनपछि जुन करार म इस्राएलको घरानासित बाँध्नेछु, त्यो यही हो, ‘म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु तिनीहरूको हृदयमा म त्यो लेखिदिनेछु। औ म तिनीहरूका परमेश्वर हुनेछु, तिनीहरू मेरा प्रजा हुनेछन्।’ ”—यर्मिया ३१:३१-३३.
१० परमेश्वरको व्यवस्था “तिनीहरूको अन्तस्करणमा” मानौं “हृदयमा” लेखिएकोले परमेश्वरका इस्राएलका सदस्यहरू आफ्नो समर्पणअनुरूप जीवन बिताउन उत्प्रेरित हुन्छन्। छनौटले नभई जन्मजात अधिकारको कारण समर्पित भएका जन्मजात इस्राएलीहरूको भन्दा तिनीहरूको अभिप्रेरणा अझ दृढ छ। परमेश्वरको इच्छा पूरा गर्न परमेश्वरको इस्राएल दृढ भएजस्तै आज विश्वभरि ५० लाखभन्दा बढी सँगी उपासकहरू पनि दृढ भएका छन्। यिनीहरूले पनि यहोवा परमेश्वरको इच्छा पूरा गर्न आफ्नो जीवन समर्पित गरेका छन्। यिनीहरूसित परमेश्वरका इस्राएलको जस्तो स्वर्गीय जीवनको आशा नभए तापनि यिनीहरू परमेश्वरको स्वर्गीय राज्यले शासन गर्ने पृथ्वीमा अनन्त जीवन पाउने प्रत्याशामा रमाउँछन्। यिनीहरू आत्मिक इस्राएलका शेष सदस्यहरूलाई “अन्धकारबाट उहाँको गजबको ज्योतिमा [तिनीहरूलाई] बोलाउनेको सर्वश्रेष्ठता देखा[उने]” अभिभारा पूरा गर्न सक्रिय रूपमा समर्थन जनाएर तिनीहरूप्रतिको आफ्नो मूल्यांकन व्यक्त गर्छन्।
बुद्धिमानीसाथ ईश्वरप्रदत्त स्वतन्त्रता प्रयोग गर्नु
११. मानिस कुन क्षमतासहित सृष्टि गरिएको थियो र यो क्षमताको प्रयोग कसरी गर्नुपर्ने हो?
११ परमेश्वरले मानवजातिलाई स्वतन्त्रताको कदर, मूल्यांकन आदि गर्नसक्ने क्षमतासहित सृष्टि गर्नुभएको थियो। उहाँले तिनीहरूलाई स्वेच्छा पनि दिनुभएको थियो। प्रथम मानव दम्पतीले स्वेच्छा प्रयोग गरे। तथापि, निर्दयी र मूर्ख छनौट गरेर तिनीहरूले आफू र आफ्ना सन्ततिलाई समेत विपत्मा पारे। तैपनि यसबाट के प्रष्टिन्छ भने, यहोवाले बुद्धिमान् प्राणीहरूलाई तिनीहरूको भित्री मनसाय वा इच्छा विपरीत काम गर्न जबरजस्ती गर्नुहुन्न। यसबाहेक “खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम” गर्नुहुने भएकोले स्वतन्त्रतालाई जग बनाएर राजीखुशीसाथ आनन्दित हुँदै गरेको प्रेममा आधारित समर्पणलाई मात्र उहाँ स्वीकार्नुहुन्छ। (२ कोरिन्थी ९:७) अन्य तरिकामा गरिएको समर्पण स्वीकार्नुहुन्न।
१२, १३. तिमोथी कसरी बालकलाई सही ढंगमा हुर्काउने नमुना हुनसके र तिनको उदाहरणले गर्दा धेरैजसो जवानहरू के गर्न अघि सरेका छन्?
१२ यो आवश्यकता राम्ररी बुझेकाले नै यहोवाका साक्षीहरू परमेश्वरप्रति समर्पित हुनुपर्छ भनेर बताउँछन् तर अरू व्यक्तिलगायत आफ्ना छोराछोरीलाई समेत बलजफती गर्दैनन्। प्रायः चर्चहरूको चलन विपरीत यहोवाका साक्षीहरू आफ्नो बालबच्चालाई नवजात शिशुहरू छँदा नै बप्तिस्मा गराउँदैनन्। मानौं, ती बच्चाहरूलाई व्यक्तिगत छनौट गर्ने स्वतन्त्रता उपभोग गर्नै नदिई बलजफती समर्पित गराउन सम्भव भएजस्तो ती साक्षीहरू गर्दैनन्। पछ्याउनुपर्ने धर्मशास्त्रीय नमुना त जवान तिमोथीको जस्तै हो। तिनी वयस्क भएपछि प्रेरित पावलले यसो भने: “यो कसबाट सिकेका हौ, सो जानेर आफूले सिकेका र निश्चय भएका कुराहरूमा लागिरह। तिमीले बाल्यकालदेखि पवित्र लेखोटहरू जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई बुद्धिमान तुल्याउनसक्तछ।”—२ तिमोथी ३:१४, १५.
१३ उल्लेखनीय कुरा, तिमोथीलाई पवित्र लेखोट थाह थियो किनकि तिनलाई शैशवकालदेखि नै सिकाइएको थियो। तिनकी आमा र बज्यैले करबलले मसीही शिक्षाहरूमाथि तिनलाई विश्वास गराएका थिएनन्, बरु निश्चय गराएका थिए। (२ तिमोथी १:५) फलतः तिमोथीले ख्रीष्टको अनुयायी हुनु बुद्धिमानी हो भनेर बुझे र मसीही समर्पणको लागि व्यक्तिगत छनौट गरे। त्यसैगरि आधुनिक जमानामा यहोवाका साक्षी आमाबाबुका लाखौं जवान छोराछोरीहरूले पनि यही उदाहरण पछ्याएका छन्। (भजन ११०:३) तर कतिले भने पछ्याएका छैनन्। यो व्यक्तिगत छनौटको कुरा हो।
कसको दास बन्न छनौट गर्ने?
१४. पूर्ण स्वतन्त्रताबारे रोमी ६:१६ ले हामीलाई के बताउँछ?
१४ कुनै पनि मानिस पूर्णतया स्वतन्त्र छैन। सबै जना गुरुत्वाकर्षण जस्ता उम्कन नसकिने भौतिक नियमहरूले बाँधिएका छन्। आध्यात्मिक अर्थमा पनि कोही पूर्णतया स्वतन्त्र छैन। पावलले यस्तो तर्क गरे: “के तिमीहरूलाई थाह छैन, जसको आज्ञाकारिताको निम्ति दासजस्तै भई तिमीहरू आफैलाई समर्पण गर्दछौ, त उसैका दास तिमीहरू हौ, जसको आज्ञा पालन गर्दछौ? चाहे मृत्युको निम्ति पापको, अथवा धर्मको निम्ति आज्ञा पालनको।”—रोमी ६:१६.
१५. (क) दास भन्ने बित्तिकै मानिसहरू कस्तो महसुस गर्छन् तैपनि अन्तमा धेरैजसो के गर्न पुगिरहेका हुन्छन्? (ख) हामी आफैलाई कस्ता उपयुक्त प्रश्नहरू सोध्नसक्छौं?
१५ कसैको दास हुने विचार मात्र पनि धेरैजसोलाई मन पर्दैन। यद्यपि, वास्तविकता के छ भने मानिसहरू चालै नपाई अरूको विचार तथा कुराहरूबाट प्रभावित हुन्छन्। फलतः, नचाहँदा नचाहँदै पनि तिनीहरू अरूले चाहेबमोजिम गर्नपुग्छन्। उदाहरणका लागि, विज्ञापनजगत् र मनोरञ्जनजगत्ले स्तरहरू तोकेर सबैलाई एकैनासको बनाउने भरपूर प्रयास गर्छ। राजनैतिक तथा धार्मिक संगठनहरूले पत्यारलाग्दो तर्कहरू पेश गरेर त होइन तर अक्सर एकता वा वफादारीताको भाव मुछेर आफ्ना विचार तथा लक्ष्यहरू समर्थन गर्न लगाउँछन्। ‘हामी जसको आज्ञा पालन गर्छौं उसैको दास हुन्छौं’ भनेर पावलले उल्लेख गरेको हुँदा ‘म कसको दास हुँ? मेरा निर्णयहरूमा र मेरो जीवनमा कसको प्रभाव बढ्ता छ? धर्मगुरु, राजनैतिक नेता, व्यापारी वा मनोरञ्जकहरूको? म कसको आज्ञा पालन गर्छु—परमेश्वरको वा मानिसको?’ भनेर सोध्नु बेस हुन्छ।
१६. मसीहीहरू कुन अर्थमा परमेश्वरका दास हुन् र यस्तो दासत्वप्रति कस्तो धारणा राख्नु उचित छ?
१६ परमेश्वरप्रति आज्ञाकारी हुनु मसीहीहरू आफ्नो व्यक्तिगत स्वतन्त्रता हनन् भएको ठान्दैनन्। आफ्नो आदर्श येशू ख्रीष्टले जस्तै व्यक्तिगत आकांक्षा तथा प्राथमिकताहरूलाई परमेश्वरको इच्छाअनुरूप ढालेर तिनीहरू राजीखुशी आफ्नो स्वतन्त्रता प्रयोग गर्छन्। (यूहन्ना ५:३०; ६:३८) ख्रीष्टलाई मण्डलीको शिर मान्दै उहाँको अधीनमा बसेर तिनीहरू “ख्रीष्टको मन” विकास गर्छन्। (१ कोरिन्थी २:१४-१६; कलस्सी १:१५-१८) यसो गर्नु आफूले माया गरेको पुरुषसित विवाह गरेर तिनलाई राजीखुशी सहयोग गर्ने स्त्रीले गरेजस्तै हो। भनौं भने, अभिषिक्त मसीहीहरूको समूहलाई ख्रीष्टसित विवाह गर्न बाचा बाँधेर राखिएकी चोखी कन्या भनिएको छ।—२ कोरिन्थी ११:२; एफिसी ५:२३, २४; प्रकाश १९:७, ८.
१७. यहोवाका सम्पूर्ण साक्षीहरूले के हुन रोजेका छन्?
१७ चाहे स्वर्गीय आशा होस् या पार्थिव, यहोवाका प्रत्येक साक्षीले परमेश्वरको इच्छा गर्न र उहाँलाई शासकको रूपमा स्वीकारेर आज्ञा पालन गर्न व्यक्तिगत समर्पण गरेका छन्। यहोवाका प्रत्येक साक्षीको निम्ति समर्पण गर्नु भनेको मानिसको साटो परमेश्वरको दास बन्न गरिएको व्यक्तिगत छनौट हो। यो प्रेरित पावलले दिएको सल्लाहसित मेल खान्छ: “दाम तिरेर तिमीहरू किनिएका हौ। मानिसहरूका दास नबन।”—१ कोरिन्थी ७:२३.
आफ्नो फाइदा हुने काम गर्न सिक्नु
१८. सम्भाव्य साक्षी बप्तिस्मा लिन कतिखेर योग्य हुन्छ?
१८ कुनै पनि व्यक्तिले यहोवाका साक्षी बन्न योग्य हुनुअघि धर्मशास्त्रीय योग्यता पूरा गरेको हुनैपर्छ। सम्भाव्य साक्षीले साँच्चै मसीही समर्पणको अर्थ बुझेको छ कि छैन, त्यो पक्का गर्न प्राचीनहरूले विस्तृत सोधखोज गर्छन्। के तिनी साँच्चै यहोवाका साक्षी बन्न चाहन्छन्? के तिनी बप्तिस्मा लिएपछि आइपर्ने जिम्मेवारीहरू पूरा गर्न इच्छुक छन्? छैनन् भने, तिनी बप्तिस्मा लिन अयोग्य ठहरिन्छन्।
१९. परमेश्वरको समर्पित सेवक हुन निर्णय गर्ने कुनै पनि व्यक्तिको आलोचना गर्ने कारण किन छैन?
१९ तथापि, कुनै व्यक्तिले सबै मागहरू पूरा गरेका छन् भने आफूमाथि परमेश्वर र परमेश्वरको प्रेरित वचनले प्रभाव पारोस् भनेर तिनले गरेको व्यक्तिगत निर्णयप्रति किन कसैले टीकाटिप्पणी गर्नुपऱ्यो? आफूमाथि मानिसले भन्दा पनि परमेश्वरले प्रभाव पार्नदिनु के स्वीकार्य छैन? अथवा के त्यसो गर्दा केही नोक्सान हुन्छ? यहोवाका साक्षीहरू त्यस्तो ठान्दैनन्। तिनीहरू यशैयाले लेखेका यी शब्दहरूलाई सम्पूर्ण हृदयले समर्थन गर्छन्: “म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्याउँछ।”—यशैया ४८:१७.
२०. कुन कुन अर्थमा मानिसहरू बाइबल सत्यले स्वतन्त्र पारिएका छन्?
२० बाइबल सत्यले अनन्त शासना दिने अग्निमय नरक छ भन्ने जस्ता झूटा धार्मिक शिक्षाहरूमाथिको विश्वासबाट स्वतन्त्र तुल्याउँछ। (उपदेशक ९:५, १०) बरु, मरिसकेकाहरूको निम्ति पनि साँचो आशा छ अर्थात् येशू ख्रीष्टको छुडौतीको बलिदानको आधारमा पुनरुत्थान सम्भव छ भनेर पनि बाइबल सत्यले थाह दिएकोले तिनीहरूको हृदय कृतज्ञताले भरिएको छ। (मत्ती २०:२८; प्रेरित २४:१५; रोमी ६:२३) राजनैतिक नेताहरूका जहिले पनि असफल हुने प्रतिज्ञाहरूको कारण दिक्क भएका मानिसहरूलाई पनि बाइबल सत्यले स्वतन्त्र पार्छ। यहोवाको राज्यले स्वर्गमा आफ्नो शासन थालिसकेको छ अनि अब छिटै सम्पूर्ण पृथ्वीमा शासन गर्नेछ भन्ने कुरा थाह भएकोले तिनीहरूको हृदय गद्गद हुन्छ। बाइबल सत्यले पतित शरीरलाई मन पर्ने तर परमेश्वरको अनादर गर्ने, सम्बन्ध भताभुंग पार्ने, बिरामी बनाउने तथा अकालमै मृत्यु गराउनसक्ने कामकुराहरूबाट पनि मानिसलाई स्वतन्त्र तुल्याउँछ। छोटकरीमा भन्ने हो भने, परमेश्वरको दास हुनु मानिसको दास हुनुभन्दा कता हो कता फाइदाजनक छ। वास्तवमा, परमेश्वरप्रति समर्पित हुनेहरूलाई “अहिले यही समयमा . . . र आउँदो जगत्मा अनन्त जीवन” पाउने फाइदाहरू प्रदान गर्ने प्रतिज्ञा गरिएका छन्।—मर्कूस १०:२९, ३०.
२१. परमेश्वरप्रतिको समर्पणलाई यहोवाका साक्षीहरू कुन दृष्टिकोणले हेर्छन् र तिनीहरू के इच्छा गर्छन्?
२१ यहोवाका साक्षीहरू आज पुरातन समयका इस्राएलीहरूजस्तै जन्मजात अधिकारको कारण समर्पित जातिका सदस्य भएका होइनन्। तिनीहरू समर्पित मसीहीहरूको मण्डलीका भाग हुन्। बप्तिस्मा प्राप्त प्रत्येक साक्षी, छनौट गर्ने स्वतन्त्रता व्यक्तिगत तवरमा प्रयोग गरेर समर्पित भएका हुन्। साँच्चै भन्ने हो भने, यहोवाका साक्षीहरूका लागि समर्पणको परिणाम राजीखुशीले परमेश्वरको सेवा गरेर परमेश्वरसित गाँसेको न्यानो सम्बन्ध हो। येशू ख्रीष्टले निर्बन्ध तुल्याएर दिनुभएको स्वतन्त्रतालाई सधैंभरि पक्रेर यो आनन्ददायी सम्बन्धलाई तिनीहरू कायम राख्न उत्कट इच्छा गर्छन्।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ इस्राएललाई आफ्नो “निज धन” बनाउनुभएर परमेश्वरले कसरी पक्षपात गर्नुभएन?
◻ मसीही समर्पणले स्वतन्त्रतालाई सीमित पार्दैन भनेर तपाईं किन भन्नुहुन्छ?
◻ यहोवा परमेश्वरप्रति समर्पित हुनुका केही फाइदा के हुन्?
◻ मानिसको दास हुनुभन्दा यहोवाको सेवक हुनु किन उत्तम छ?
[पृष्ठ १५-मा भएको चित्र]
पुरातन इस्राएलमा मानिसहरू परमेश्वरप्रति जन्मजात समर्पित हुन्थे
[पृष्ठ १६-मा भएको चित्र]
मसीही समर्पण छनौटको कुरा हो