उद्धारको लागि जनसमक्ष घोषणा गर्नुहोस्
“प्रभुको [“यहोवा,” NW] नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”—रोमी १०:१३.
१. इतिहासभरि के-कस्ता चेताउनीहरू दिंदै आएका छन्?
इतिहासले देखाएअनुसार “परमप्रभुको दिन” एउटा मात्र होइन थुप्रै छ। नूहको जलप्रलय, सदोम र गमोराको विनाश, सा.यु.पू. ६०७ र सा.यु. ७० मा यरूशलेमको विनाश आदि सबै यहोवाको महा तथा भयानक दिन थिए। ती दिन, यहोवाको विद्रोह गर्नेहरूमाथि न्याय गरिने दिन थिए। (मलाकी ४:५; लूका २१:२२) ती दिनहरूमा आफ्नो दुष्टताको कारण धेरै नाश भए। तर कोही कोही बचे। यहोवाले दुष्टहरूलाई आउँदै गरेको विनाशबारे चेताउनी दिनुभयो अनि सोझा हृदय भएका मानिसहरूलाई उद्धार खोज्ने मौका दिनुभयो।
२, ३. (क) पेन्तिकोसको दिनमा कुन भविष्यसूचक चेताउनी उद्धरण गरिएको थियो? (ख) यहोवाको नाउँ पुकार्न सा.यु. ३३ पेन्तिकोसदेखि कुन कुराको खाँचो पऱ्यो?
२ सा.यु. ७० मा भएको यरूशलेमको विनाश यसको एउटा उल्लेखनीय उदाहरण हो। त्यस घटना हुनुभन्दा करिब ९०० वर्षअघि घोषणा गर्दै अगमवक्ता योएलले यसो भने: “आकाश र पृथ्वीमा म अचम्मका कामहरू देखाउनेछु, अर्थात् रगत आगो र धुवाँका खामाहरू। परमप्रभुको त्यो महा र भयंकर दिन आउनभन्दा अघि सूर्य अँध्यारोमा र चन्द्र चाहिं रगतमा परिवर्त्तन हुनेछ।” त्यस्तो डरलाग्दो अवस्थामा कोही कुनै तरिकाले बच्नसक्थे र? ईश्वरीय प्रेरणाद्वारा योएलले यसप्रकार लेखे: “परमप्रभुको नाउँ लिने जोसुकै पनि बचाइनेछ। किनकि परमप्रभुले भन्नुभए अनुसार सियोन डाँड़ा र यरूशलेममा बाँचेर उम्कनेहरू हुनेछन्, औ बाँकी रहेकाहरूमा ती हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्छ।”—योएल २:३०-३२.
३ सा.यु. ३३ पेन्तिकोसमा प्रेरित पत्रुसले यरूशलेममा भेला भएका यहूदी तथा धर्म परिवर्तन गरेर यहूदी मत स्वीकारेका व्यक्तिहरूलाई योएलको भविष्यवाणी उद्धरण गर्दै तिनीहरूले आफ्नो जीवनकालमा उक्त भविष्यवाणीको पूर्ति हुने आशा गर्नसक्छन् भन्दै यसो भने: “माथि स्वर्गमा म अचम्मका काम र तल पृथ्वीमा चिह्नहरू देखाउनेछु, अर्थात् रगत, आगो, धुवाँको वाफ, परमप्रभुको महान् र प्रख्यात दिन आउन अघाड़ि, सूर्य अँध्यारोमा र चन्द्र रगतमा परिवर्त्तन हुनेछ। अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।” (प्रेरित २:१६-२१) पत्रुसको कुरा सुनिरहेको भीड मोशालाई दिइएको व्यवस्थाको अधीनमा थिए। यसकारण तिनीहरूलाई यहोवाको नाउँ थाह थियो। यसर्थ पत्रुसले तिनीहरूलाई अबउप्रान्त यहोवाको नाउँ लिनुको अझ गहन अर्थ हुनेछ भनी बताए। मारिनुभएका तर पछि स्वर्गमा अमर जीवन पाउन पुनरुत्थान हुनुभएका येशूको नाउँमा बप्तिस्मा लिनु एउटा उल्लेखनीय पक्ष थियो।—प्रेरित २:३७, ३८.
४. मसीहीहरूले टाढा टाढासम्म कुन सन्देश सुनाए?
४ पेन्तिकोसदेखि मसीहीहरूले पुनरुत्थान हुनुभएका येशूबारे सबैतिर भन्न थाले। (१ कोरिन्थी १:२३) मानिसहरू पनि यहोवा परमेश्वरका आत्मिक पुत्रहरूको हैसियतमा “परमेश्वरका इस्राएलको” नयाँ आध्यात्मिक राष्ट्रको सदस्य भएर यहोवाको “सर्वश्रेष्ठता” घोषणा गर्नसक्छन् भनी तिनीहरूले सबैलाई थाह दिए। (गलाती ६:१६; १ पत्रुस २:९) मृत्युसम्मै विश्वासी हुनेहरूले स्वर्गमा अमर जीवन पाउनुका साथै स्वर्गको राज्यमा येशूसँगसँगै सहशासकहरू हुने सुअवसर पाउनेथिए। (मत्ती २४:१३; रोमी ८:१५, १६; १ कोरिन्थी १५:५०-५४) यसबाहेक, यी मसीहीहरूले आउँदै गरेको यहोवाको महा तथा भयानक दिनबारे घोषणा गर्नुपर्थ्यो। तिनीहरूले तत्कालीन यहूदी संसारलाई संकष्ट आउनेछ भनेर चेताउनी दिनुपरेको थियो। यरूशलेम र परमेश्वरका जन हौं भनी दाबी गर्ने मानिसहरूले त्यतिञ्जेल भोगेको भन्दा पनि भयानक अर्थात् कहिल्यै कल्पनासमेत नगरेको संकष्ट हुनेथियो। तथापि, त्यसबाट बच्नेहरू पनि हुनेथिए। तर को? यहोवाको नाउँ पुकार्नेहरू।
“आखिरी दिनमा”
५. वर्तमान समयमा कुन कुन भविष्यवाणीहरू पूरा भएका छन्?
५ त्यतिबेलाको अवस्था आजको अवस्थासित थुप्रै कुरामा मिल्दोजुल्दो छ। सन् १९१४ देखि मानिसजाति एउटा विशेष प्रकारको समयमा बाँचिरहेको छ जसलाई बाइबलले “अन्तको समय,” “जगत्को अन्त,” र “आखिरी दिन” भन्छ। (दानियल १२:१, ४; मत्ती २४:३-८; २ तिमोथी ३:१-५, १३) यस शताब्दीमा क्रूर युद्ध, अनियन्त्रित हिंसा, समाजको खस्कँदो अवस्था अनि वातावरणको विनाशले बाइबल भविष्यवाणी अद्भुत ढंगमा पूरा भइरहेको छ भनी देखाउँछन्। यी सबै येशूले भविष्यवाणी गर्नुभएको चिह्नका भाग हुन् र मानिसजातिले यहोवाको अन्तिम, निर्णायक र भयानक दिन भोग्नेछ भनी त्यसले देखाउँछ। यसको चरमोत्कर्ष आरमागेडोनको युद्धमा हुनेछ जब “यस्तो महा संकष्ट हुनेछ, जो जगत्को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।”—मत्ती २४:२१; प्रकाश १६:१६.
६. (क) नम्रहरूलाई बचाउन यहोवाले के-कस्ता कदमहरू चाल्नुभएको छ? (ख) बचाउसम्बन्धी पावलको सल्लाह हामी कहाँ पाउँछौं?
६ यस विनाशको दिन झन् झन् नजिकिंदै जाँदा यहोवाले नम्रहरूको उद्धारका लागि बाटो तयार पार्दै हुनुहुन्छ। यस “अन्तको समयमा” परमेश्वरले आफ्नो आध्यात्मिक इस्राएलका शेष जनहरू जम्मा गर्नुभएको छ र “कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़” जम्मा गर्ने कार्यमा १९३० दशकदेखि यता आफ्ना पार्थिव सेवकहरूको ध्यान केन्द्रित गरिरहनुभएको छ। एउटा समूहको हैसियतमा यिनीहरू “महा संकष्टबाट” उम्कनेछन्। (प्रकाश ७:९, १४) तर प्रत्येक व्यक्तिले आफ्नो बचाउ कसरी यकिन गर्नसक्छ? प्रेरित पावल उक्त प्रश्नको जवाफ दिन्छन्। रोमी अध्याय १० मा तिनले बचाउसम्बन्धी राम्रो सल्लाह दिएका छन् र त्यो सल्लाह त्यतिबेला जत्तिकै अहिले पनि उपयोगी छ।
उद्धारको लागि प्रार्थना
७. (क) रोमी १०:१, २ मा कुन आशा दिइएको छ? (ख) अब विस्तृत तवरमा “सुसमाचार” घोषणा गराउन यहोवालाई कसरी सम्भव भयो?
७ पावलले रोमीको पुस्तक लेखुञ्जेल यहोवाले इस्राएल राष्ट्रलाई त्यागिसक्नुभएको थियो। तैपनि, यी प्रेरितले यस्तो पुष्टि गरे: “मेरो आफ्नो हृदयको इच्छा र तिनीहरूका निम्ति परमेश्वरमा मेरो अन्तरबिन्ती यही छ, कि तिनीहरूले उद्धार पाऊन्।” यहूदीहरूले परमेश्वरको इच्छाको सही ज्ञान लिएर बचून् भन्ने तिनको इच्छा थियो। (रोमी १०:१, २) यसबाहेक, विश्वास गर्ने सम्पूर्ण मानवजातिले उद्धार पाऊन् भन्ने यहोवाको इच्छा हो जसबारे यूहन्ना ३:१६ यसो भन्छ: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” येशूको छुडौतीको बलिदानले महान् उद्धारको बाटो खोल्यो। नूहको दिन र न्यायका अन्य दिनहरूमा जस्तै यहोवाले उद्धारको बाटो औंल्याउँदै “सुसमाचार” घोषणा गर्न लाउनुभएको छ।—मर्कूस १३:१०, १९, २०.
८. पावलको उदाहरण अनुसरण गर्दै आज साँचो मसीहीहरू कसप्रति शुभेच्छा जनाउँछन् र कसरी?
८ पावलले यहूदी र अन्यजाति दुवैप्रति शुभेच्छा जनाउँदै हरेक अवसरमा प्रचार गरे। तिनी “यहूदीहरू र ग्रीकहरूलाई मनाउन प्रयत्न गर्थे।” तिनले एफिससका प्राचीनहरूलाई यसो भने: “तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूलाई देखाइदिन र घर-घरमा खुल्लमखुल्ला सिकाउन, यहूदीहरूलाई र ग्रीकहरूलाईसमेत परमेश्वरतिरको पश्चातापको, र हाम्रा प्रभु येशू ख्रीष्टतिरको विश्वासको साक्षी दिनालाई म पछि हटिनँ।” (प्रेरित १८:४; २०:२०, २१) त्यसरी नै, अहिले यहोवाका साक्षीहरूले मसीहीजगत्का मानिसहरूलाई मात्र होइन तर “पृथ्वीको अन्तसम्म” सबैलाई प्रचार गरिरहेका छन्।—प्रेरित १:८; १८:५.
“विश्वासको ‘वचन’ ” स्वीकार्ने
९. (क) रोमी १०:८, ९ मा कस्तो प्रकारको विश्वास राख्न प्रोत्साहन गरिएको छ? (ख) हामीले कहिले र कसरी आफ्नो विश्वास स्वीकार्नुपर्छ?
९ उद्धार पाउन अटल विश्वास चाहिन्छ। व्यवस्था ३०:१४ उद्धरण गर्दै पावलले यस्तो घोषणा गरे: “ ‘वचन तिम्रो नजीकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,’ अर्थात् विश्वासको वचन, जो हामी प्रचार गर्दछौं।” (रोमी १०:८) “विश्वासको ‘वचन’ ” जति प्रचार गऱ्यो हाम्रो विश्वासले हृदयमा उति नै गहिरो छाप पार्न थाल्छ। पावलले पनि यस्तै अनुभव गरे र त्यो विश्वास अरूलाई पनि बताउने हाम्रो कटिबद्धतालाई तिनका यी शब्दहरूले अझ सुदृढ बनाउनसक्छन्: “यदि तिमीले प्रभु येशूलाई आफ्नो मुखले स्वीकार गऱ्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बिउँताउनुभयो भनी हृदयमा विश्वास गऱ्यौ भने तिम्रो उद्धार हुनेछ।” (रोमी १०:९) यो, बप्तिस्माको समयमा अरूको अगाडि गरिने घोषणा मात्र होइन तर सदैव चलिरहने प्रक्रिया हुनैपर्नेछ अर्थात् सत्यसित सम्बन्धित सम्पूर्ण महान् कुराहरूबारे जोसका साथ जनसमक्ष घोषणा गर्नैपर्नेछ। यस्तो सत्य सार्वभौम प्रभु यहोवाको बहुमूल्य नाउँ; हाम्रो मसीही राजा तथा उद्धारक प्रभु येशू ख्रीष्ट तथा परमेश्वरको राज्यसित सम्बन्धित अद्भुत प्रतिज्ञाहरूमा केन्द्रित छ।
१०. रोमी १०:१०, ११ अनुसार हामीले “विश्वासको ‘वचन’ ” कसरी सँभाल्नुपर्छ?
१० यो “विश्वासको ‘वचन’ ” स्वीकार नगर्ने र पालन नगर्ने व्यक्तिले उद्धारको आशा गर्न सक्दैन किनभने उक्त प्रेरित अझ यसो भन्छन्: “मानिसले हृदयबाट धार्मिकतालाई विश्वास गर्नसक्छ, औ मुखबाट उद्धारको निम्ति स्वीकार गरिन्छ। किनकि धर्मशास्त्र भन्छ, ‘उहाँमाथि विश्वास गर्ने कोही शर्ममा पर्नेछैन।’ ” (रोमी १०:१०, ११) हामीले यस “विश्वासको ‘वचन[को]’ ” सही ज्ञान हासिल गर्नैपर्छ र अरूलाई बताउन उत्प्रेरित हुन त्यसमा मनन गरिरहनुपर्छ। येशू स्वयं हामीलाई यस्तो सम्झना गराउनुहुन्छ: “त्यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको ऐश्वर्यमा पवित्र दूतगणसित आउँदा त्यसदेखि शर्माउनेछ।”—मर्कूस ८:३७.
११. सुसमाचार कत्तिको व्यापक तवरमा घोषणा गरिनुपर्छ र किन?
११ दानियल अगमवक्ताले भविष्यवाणी गरेझैं पृथ्वीको अन्तसम्म परमेश्वरको राज्यको साक्षी दिइँदा यस अन्तको समयमा “ज्ञानी अगुवाहरू उज्ज्वल आकाशझैं” चम्केको देखिएका छन्। तिनीहरूले थुप्रै ‘मानिसहरूलाई सत्यको मार्गमा डोऱ्याइरहेका छन्’ र सही ज्ञान साँच्चै प्रचुर मात्रामा उपलब्ध भएको छ किनभने यहोवाले यस अन्तको समयसम्बन्धी भविष्यवाणीहरूको अझ स्पष्टसित अर्थ खुलाइरहनुभएको छ। (दानियल १२:३, ४) सत्य र धार्मिकतालाई प्रेम गर्ने सबैको बचाउका लागि चाहिने उद्धारको सन्देश यही हो।
१२. प्रकाश १४:६ मा स्वर्गदूतले अह्राएको कामसित रोमी १०:१२ कसरी सम्बन्धित छ?
१२ प्रेरित पावल अझ यसो भन्छन्: “यहूदी र ग्रीकमा केही भेद छैन। किनकि उहाँ प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैको धनराशि हुनुहुन्छ।” (रोमी १०:१२) वर्तमान समयमा अझ व्यापक तवरमा “सुसमाचार” प्रचार गर्नु खाँचो छ अर्थात् पृथ्वीको अन्तसम्म सबै मानिसहरूलाई सुनाउनुपरेको छ। प्रकाश १४:६ मा उल्लिखित दूत स्वर्गको बीचमा अझै उडिरहेका छन् र तिनले “पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्न अनन्त सुसमाचार” हामीलाई सुम्पेका छन्। यो सन्देश ग्रहण गर्नेहरूले कस्तो लाभ उठाउनेछन्?
यहोवाको नाउँ पुकार्ने
१३. (क) सन् १९९८ को वार्षिक पद के हो? (ख) अहिले यो वार्षिक पद किन अत्यन्तै उपयुक्त छ?
१३ योएल २:३२ उद्धरण गर्दै पावल यस्तो घोषणा गर्छन्: “यहोवाको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” (रोमी १०:१३) सन् १९९८ को वार्षिक पद पनि ती शब्दहरू नै छानिनु एकदमै उपयुक्त छ! यहोवामाथि भरोसा राख्दै उहाँ र उहाँका महान् उद्देश्यहरूबारे अरूलाई बताउनु अहिले जति महत्त्वपूर्ण पहिले कहिल्यै भएको थिएन! प्रथम शताब्दीमा जस्तै वर्तमान भ्रष्ट रीतिरिवाजको अन्तिम दिनमा पनि यो आह्वान घन्किरहेको छ: “दुष्ट पुस्ताबाट बच।” (प्रेरित २:४०) संसारभरि छरिएका यहोवाका ईश्वरभीरु जनहरू र सुसमाचारको जनघोषणा सुन्नेहरूका लागि यो तुरही फुकेर निमन्त्रणा दिएजस्तै हो।—१ तिमोथी ४:१६.
१४. हामीले उद्धारको लागि कुन चट्टानको पुकारा गर्नुपर्छ?
१४ यस पृथ्वीमा यहोवाको महान् दिन सुरु हुँदा के हुनेछ? अधिकांशले उद्धारको लागि यहोवाको बाटो हेर्नेछैनन्। सामान्यतया मानिसहरूले “पहाड़हरू र चटानहरूलाई” यसो भन्नेछन्: “हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेका सामनेबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाऊ।” (प्रकाश ६:१५, १६) तिनीहरूले यस रीतिरिवाजको पहाडरूपी संगठन तथा संस्थाहरूमा आशा राख्नेछन्। तर, त्यसो नगरेर सबैभन्दा महान् चट्टान, यहोवा परमेश्वरमाथि आफ्नो भरोसा राखेका भए कत्ति बेस हुनेथियो! (व्यवस्था ३२:३, ४) उहाँबारे राजा दाऊदले यसो भने: “परमप्रभु मेरो चटान, मेरो गढ़ी र मलाई छुटकारा दिने हुनुहुन्छ।” यहोवा “हाम्रा उद्धारको चटान” हुनुहुन्छ। (भजन १८:२; ९५:१) उहाँका नाउँ “एक बलियो धरहराजस्तै हो” र त्यस आउँदै गरेको संकष्टबाट बचाउनसक्ने बलियो “धरहरा” यसबाहेक अरू कुनै छैन। (हितोपदेश १८:१०) यसर्थ, अहिले बाँचिरहेका झन्डै छ अरब मानिसहरूमध्ये सकेसम्म बढीलाई विश्वास र इमानदारीपूर्वक यहोवाको नाउँ पुकार्न सिकाउनु अत्यावश्यक छ।
१५. रोमी १०:१४ ले विश्वासबारे के बताउँछ?
१५ प्रेरित पावलले यस प्रश्न सोध्नु अत्यन्तै उपयुक्त छ: “जसलाई तिनीहरूले विश्वास गरेकै छैनन् उहाँलाई कसरी पुकार्ने?” (रोमी १०:१४) “विश्वासको ‘वचन’ ” ग्रहण गरेर उद्धारको लागि यहोवाको नाउँ पुकार्न मदत दिनुपर्ने अनगिन्ती मानिसहरू छन्। यसको लागि विश्वास अत्यावश्यक छ। पावलले अर्को पत्रमा यसप्रकार लेखे: “विना विश्वास [परमेश्वरलाई] रिझाउन असम्भव छ। किनभने जो परमेश्वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने अवश्य विश्वास गर्नुपर्छ।” (हिब्रू ११:६) त्यसोभए ती लाखौंले कसरी परमेश्वरमाथि विश्वास राख्न सक्नेछन् त? रोमीहरूलाई लेखेको पत्रमा पावल यस्तो प्रश्न गर्छन्: “जसलाई तिनीहरूले सुनेकै छैनन् उहाँलाई कसरी विश्वास गर्ने?” (रोमी १०:१४) तिनीहरूले सुनून् भनेर यहोवाले कुनै प्रबन्ध मिलाउनुभएको छ? अवश्य! पावल अझ के भन्छन्, सुन्नुहोस्: “प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्नसक्लान्?”
१६. ईश्वरीय प्रबन्धअन्तर्गत प्रचारकहरू किन अत्यन्तै महत्त्वपूर्ण छन्?
१६ प्रचारकहरू चाहिएको छ भनेर पावलको तर्कबाट स्पष्ट हुन्छ। “जगत्को अन्तसम्म” प्रचारकहरूको खाँचो परि नै रहनेछ भनेर येशूले औंल्याउनुभयो। (मत्ती २४:१४; २८:१८-२०) यहोवाको नाउँ पुकारेर बच्न मानिसहरूलाई मदत दिने ईश्वरीय प्रबन्धको महत्त्वपूर्ण भाग प्रचारकार्य हो। मसीहीजगत्मा समेत अधिकांश व्यक्तिहरूले परमेश्वरको बहुमूल्य नाउँको आदर गर्न खास केही गरेका छैनन्। अरू कतिपयले चाहिं यहोवालाई अन्य दुइ व्यक्तित्वसित मिसाएर गन्जागोलपूर्ण त्रिएक सिद्धान्त बनाएका छन्। अरू थुप्रै चाहिं भजन १४:१ र ५३:१ मा बताइएको वर्गमा पर्छन्: “मूर्खले आफ्नो मनमा भनेको छ, ‘ईश्वर छैन।’ ” आउँदै गरेको महासंकष्टबाट बच्ने हो भने यहोवा जीवित परमेश्वर हुनुहुन्छ र उहाँको नाउँसित कुन कुन कुरा गाँसिएको छ भनेर तिनीहरूले बुझ्नैपर्छ।
प्रचारकहरूका ‘राम्रा खुट्टा’
१७. (क) पावलले पुनर्स्थापनासम्बन्धी भविष्यवाणी उद्धरण गर्नु किन उचित छ? (ख) ‘राम्रा खुट्टा’ हुनुमा के बिथोलित छ?
१७ प्रेरित पावल एउटा अझ महत्त्वपूर्ण प्रश्न सोध्छन्: “नपठाईकन कसरी तिनीहरूले प्रचार गर्लान्? जस्तो लेखिएको छ, ‘असल कुराका शुभ समाचार ल्याउनेहरूका खुट्टा कति राम्रा!’ ” (रोमी १०:१५) पावलले यहाँ यशैया ५२:७ उद्धरण गर्छन् र यस पुनर्स्थापनासम्बन्धी भविष्यवाणी १९१९ देखि लागू भएको छ। अहिले फेरि एक चोटि यहोवाले “जसले शान्तिको प्रचार गर्दछ, जसले कल्याणको शुभ समाचार ल्याउँछ, जसले मुक्तिको प्रचार गर्दछ” त्यसलाई पठाउनुहुन्छ। आज्ञाकारी भएर परमेश्वरका अभिषिक्त “पहरादार” तथा तिनीहरूका सहचरहरू स्वर उचालेर एकसाथ गाउँछन्। (यशैया ५२:७, ८) अहिले मुक्तिको प्रचार गर्नेहरू घर-घर प्रचार गर्दा थकित हुनसक्छन् र तिनीहरूको खुट्टा धुलाम्मे हुनसक्छ तर तिनीहरूको मुहार आनन्दले चम्कन्छ! शान्तिको सुसमाचार घोषणा गर्न तथा शोक गरिरहेकाहरूलाई सान्त्वना दिनुका साथै उद्धारको लागि यहोवाको नाउँ पुकार्न मदत गर्ने काम पाएका छन् भनी तिनीहरूलाई थाह छ।
१८. सुसमाचार सुनाएपछिको अन्तिम परिणामबारे रोमी १०:१६-१८ के भन्छ?
१८ मानिसहरूले “विश्वास” गरून् या अनाज्ञाकारी हुन रोजून्, पावलका यी शब्दहरू साँचो छन्: “के तिनीहरूले सुनेनन्? निश्चय, तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो, औ तिनीहरूका कुरा संसारको अन्तसम्म।” (रोमी १०:१६-१८) उहाँको सृष्टिमा झल्किएअनुसार “आकाशले परमेश्वरको महिमाको वर्णन” गर्छ र पृथ्वीमा रहेका उहाँका साक्षीहरूले “सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन” “परमप्रभुको ग्रहणयोग्य वर्ष र हाम्रा परमेश्वरको बदला दिने दिनको” घोषणा गर्नैपर्छ।—भजन १९:१-४; यशैया ६१:२.
१९. अहिले ‘यहोवाको नाउँ पुकार्नेहरूले’ के प्रतिफल पाउनेछन्?
१९ यहोवाको महा तथा भयानक दिन झन् झन् नजिक आउँदैछ। “हाय, त्यो दिन! किनकि परमप्रभुको दिन नजीकै छ। त्यो ता सर्वशक्तिमानको तर्फबाट सत्यानाश जस्तै आउनेछ।” (योएल १:१५; २:३१) हामी यही प्रार्थना गर्छौं कि अरू थुप्रैले तत्परताका साथ सुसमाचार सुनेर यहोवाको संगठनमा ओइरिऊन्। (यशैया ६०:८; हबकूक २:३) नबिर्सनुहोस्, जब जब यहोवाको दिन आयो, तब दुष्टताको विनाश भयो। जस्तै, नूहको दिनमा, लूतको दिनमा र धर्मत्यागी इस्राएल तथा यहूदाको दिनमा। अहिले हामी सबैभन्दा ठूलो महासंकष्टको संघारमै छौं। त्यतिबेला यहोवाको आँधी-बेह्रीले यस पृथ्वीबाट सारा दुष्टताको नामोनिसान मेटाउनेछ र पृथ्वीमा अनन्त शान्तिको बाटो तयार पार्नेछ। के तपाईं विश्वासी भएर “परमप्रभुको नाउँ पुकार्ने[मध्ये]” हुनुहुनेछ? यदि हो भने रमाउनुहोस्! तपाईं बचाइनुहुनेछ भनी परमेश्वर आफैले प्रतिज्ञा गर्नुभएको छ।—रोमी १०:१३.
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ सा.यु. ३३ पेन्तिकोसपछि के नयाँ कुराहरू घोषणा गरिए?
◻ मसीहीहरूले “विश्वासको ‘वचन[मा]’ ” कसरी ध्यान दिनुपर्छ?
◻ ‘यहोवाको नाउँ पुकार्नुको’ अर्थ के हो?
◻ कुन अर्थमा राज्य सन्देशवाहकहरूको ‘राम्रा खुट्टा’ छन्?
[पृष्ठ १८-मा भएको चित्र]
परमेश्वरका जनहरूले उहाँको श्रेष्ठता पोर्टो रिको, सेनेगल, पेरु, पापुआ न्यु गिनी—हो, विश्वभरि घोषणा गरिरहेका छन्