अध्याय २४
कुनै कुराले “परमेश्वरको प्रेमबाट हामीलाई अलग पार्न” सक्दैन
१. थुप्रै मानिस र केही साँचो ख्रिष्टियनको मनमा समेत कस्तो नकारात्मक भावना आउँछ?
के यहोवा परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ? कोही-कोही युहन्ना ३:१६ मा बताइएझैँ परमेश्वर सम्पूर्ण मानिसजातिलाई प्रेम गर्नुहुन्छ भनेर स्विकार्छन्। तर वास्तवमा तिनीहरूलाई यस्तो लागिरहेको हुन सक्छ: ‘परमेश्वर मलाई भने प्रेम गर्नुहुन्न।’ साँचो ख्रिष्टियनहरू समेत कहिलेकाहीँ यस्तो शङ्का गर्छन्। निराशामा डुबेका एक पुरुषले यसो भने: “परमेश्वर मेरो ख्याल राख्नुहुन्छ भन्ने कुरामा विश्वास गर्न मलाई असाध्यै गाह्रो लाग्छ।” के तपाईँ पनि कहिलेकाहीँ त्यस्तै महसुस गर्नुहुन्छ?
२, ३. यहोवाको नजरमा हामी बेकारका छौँ र माया पाउन लायकका छैनौँ भनेर विश्वास गरेको को चाहन्छ? हामी कसरी यस्तो भावनाको सामना गर्न सक्छौँ?
२ यहोवा परमेश्वर हामीलाई प्रेम गर्नुहुन्न र हामीलाई अनमोल ठान्नुहुन्न भनेर विश्वास गरेको सैतान चाहन्छ। हुनत हो, सैतान अक्सर मानिसहरूलाई तिनीहरूमा भएको घमन्ड र अहङ्कार चलाएर फसाउँछ। (२ कोरिन्थी ११:३) तर निराश भएकाहरूको आत्मसम्मान तहसनहस पार्न सफल हुँदा त्यो खुसी हुन्छ। (युहन्ना ७:४७-४९; ८:१३, ४४) सैतानले विशेषगरि यस “अन्तको दिनमा” त्यसो गर्छ। आज थुप्रै मानिस ‘स्वाभाविक स्नेह नभएको’ परिवारमा हुर्कन्छन्। (२ तिमोथि ३:१-५) अरू कतिपयले चाहिँ धेरैजसो समय निष्ठुर, स्वार्थी अनि जिद्दी मानिसहरूसित उठबस गर्नुपर्ने हुन्छ। तिनीहरूले वर्षौँदेखि दुर्व्यवहार, जातीय भेदभाव र घृणाको सामना गरेका हुनाले आफूलाई बेकारको सम्झन्छन् अनि कसैको माया पाउन लायकको छैनँ भन्ठान्छन्।
३ तपाईँलाई त्यस्तो नकारात्मक भावनाले सताउँछ भने निराश नहुनुहोस्। कहिलेकाहीँ यस्तो भावनाले सताउँदा हामीमध्ये धेरैले आफैलाई दोष दिन्छौँ। तर बाइबलले हामीलाई “सच्याउन” र “गहिरो जरा गाडेर बसेका कुराहरूलाई उखेल्न” मदत गर्छ भन्ने कुरा सम्झनुहोस्। (२ तिमोथि ३:१६; २ कोरिन्थी १०:४) बाइबल यसो भन्छ: “परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भनेर आफ्नो हृदयलाई ढुक्क बनाउनेछौँ। हाम्रो हृदयले हामीलाई कुनै कुरामा दोषी ठहरायो भने पनि हामी यो कुरा नबिर्सौँ कि परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ र उहाँलाई सबै कुरा थाह छ।” (१ युहन्ना ३:१९, २०) यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भनेर हाम्रो “हृदयलाई ढुक्क” बनाउने चार वटा तरिका अब हामी विचार गरौँ।
यहोवा हामीलाई अनमोल ठान्नुहुन्छ
४, ५. येसुले दिनुभएको भँगेराको उदाहरणबाट हामी यहोवाको नजरमा अनमोल छौँ भनेर कसरी देखिन्छ?
४ पहिलो, बाइबलले यहोवा आफ्नो प्रत्येक सेवकलाई अनमोल ठान्नुहुन्छ भनेर स्पष्टसित सिकाउँछ। उदाहरणको लागि, येसुले एकपटक यसो भन्नुभयो: “के दुई वटा भँगेरा एक पैसामा बिक्दैन र? तैपनि तीमध्ये एउटा पनि तिमीहरूका बुबाले थाह नपाई भुईँमा झर्दैन। तर तिमीहरूको शिरको केशसमेत सबै गनिएका छन्। त्यसैले नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।” (मत्ति १०:२९-३१) येसुले भन्नुभएको यो कुराले प्रथम शताब्दीका उहाँका श्रोताहरूको लागि कस्तो अर्थ राख्थ्यो?
५ हाम्रो मनमा ‘मानिसहरूले भँगेरा किन किन्नुपऱ्यो र’ भन्ने प्रश्न उठ्न सक्छ। येसुको समयमा मानिसहरू भँगेराको मासु खान्थे र त्यो सबैभन्दा सस्तो चरा थियो। त्यतिबेला एक पैसाले दुइटा भँगेरा किन्न सकिन्थ्यो। तर येसुले भन्नुभएअनुसार दुई पैसामा चार वटा नभई पाँच वटा भँगेरा किन्न सकिन्थ्यो, मानौँ सित्तैँमा पाएको चराको कुनै मोल नै थिएन। तर सृष्टिकर्ताले तिनीहरूलाई कुन नजरले हेर्नुभयो? येसुले यसो भन्नुभयो: “तीमध्ये एउटा पनि परमेश्वरले बिर्सनुहुन्न।” (लुका १२:६, ७) के तपाईँले येसुले भन्न खोज्नुभएको कुरा बुझ्नुभयो? यहोवा प्रत्येक भँगेरालाई अनमोल ठान्नुहुन्छ भने उहाँ हामी मानिसलाई झन् कत्ति अनमोल ठान्नुहुन्छ! येसुले भन्नुभएअनुसार यहोवालाई हामी प्रत्येकबारे एक-एक कुरा विस्तृत रूपमा थाह छ, यहाँसम्म कि उहाँले हाम्रो शिरको केशसमेत गन्नुभएको छ!
६. येसुले हाम्रो केश गनिएका छन् भन्नुहुँदा उहाँले बढाइचढाइ गर्नुभएको थिएन भनेर किन भन्न सक्छौँ?
६ के हाम्रो केश साँच्चै गनिएको छ? कसै-कसैलाई येसुले बढाइचढाइ गरेर भन्नुभएको हो जस्तो लाग्न सक्छ। तर फेरि जीवित हुने आशाबारे सोच्नुहोस्। यहोवाले हामीलाई नयाँ संसारमा जीवित पार्न हामी प्रत्येकलाई एकदमै नजिकबाट चिनेको हुनुपर्छ नि, होइन र? उहाँले हामीलाई असाध्यै अनमोल ठान्नुहुने भएकोले हामीबारे सानोभन्दा सानो कुरा सम्झनुहुन्छ। जस्तै: हाम्रो रूपरङ्ग, आनीबानी, गुणहरू, जीवनका अनुभवहरू र सम्झनामा भएका कुराहरू।a त्यसैले उहाँको लागि हाम्रो शिरको केश गन्नु कुनै गाह्रो काम होइन, जुन साधारणतया १ लाखजति हुन्छ।
यहोवा हामीमा के हेर्नुहुन्छ?
७, ८. (क) मानिसहरूको हृदयमा कस्ता गुणहरू भेट्टाउँदा यहोवालाई खुसी लाग्छ? (ख) यहोवाले कदर गर्नुहुने केही काम के-के हुन्?
७ दोस्रो, बाइबलले यहोवा आफ्ना सेवकहरूमा भएको कुन कुराको कदर गर्नुहुन्छ भनेर पनि सिकाउँछ। वास्तवमा उहाँलाई हाम्रा असल गुणहरू र असल काम गर्न हामीले गरेको प्रयास देख्दा खुसी लाग्छ। राजा दाउदले आफ्नो छोरा सुलेमानलाई यसो भने: “यहोवा परमेश्वर हरेकको हृदय जाँच्नुहुन्छ अनि मानिसको हरेक सोचाइ र मनोवृत्ति बुझ्नुहुन्छ।” (१ इतिहास २८:९) हिंसा र घृणाले भरिएको यस संसारमा शान्ति, सत्य र धार्मिकताले भरिएको हृदय भेट्टाउनुहुँदा परमेश्वरलाई पक्कै धेरै खुसी लाग्छ! उहाँप्रतिको प्रेमले भरिएको, उहाँबारे सिक्न इच्छुक र सिकेको कुरा बताउन तयार हृदय भेट्टाउनुहुँदा नि? यहोवा उहाँबारे अरूलाई बताउने प्रत्येक व्यक्तिलाई याद गर्नुहुन्छ। उहाँसित “सम्झनाको एउटा पुस्तक” पनि छ, जसमा “परमेश्वरको भय मान्नेहरू र उहाँको नामबारे सोच्नेहरू”-को नाम लेखिएको छ। (मलाकि ३:१६) हामीमा भएका यस्ता गुणहरूको उहाँ कदर गर्नुहुन्छ।
८ यहोवाले कदर गर्नुहुने केही असल कामहरू के-के हुन्? एउटा, उहाँको छोरा येसु ख्रिष्टको अनुकरण गर्न हामीले गर्ने प्रयास हो। (१ पत्रुस २:२१) अर्को महत्त्वपूर्ण कामचाहिँ परमेश्वरको राज्यको सुसमाचार फैलाउनु हो। रोमी १०:१५ यसो भन्छ: “असल कुराहरूको सुसमाचार घोषणा गर्नेहरूका खुट्टा कत्ति सुन्दर!” साधारणतया हामीलाई आफ्नो खुट्टा सुन्दर लाग्दैन होला तर यस पदमा खुट्टाले साक्षी दिन यहोवाका सेवकहरूले गर्ने प्रयासलाई बुझाउँछ। यी सबै प्रयास परमेश्वरको नजरमा सुन्दर र अनमोल छन्।—मत्ति २४:१४; २८:१९, २०.
९, १०. (क) यहोवा हाम्रो सहनशीलताको कदर गर्नुहुन्छ भनेर किन भन्न सक्छौँ? (ख) यहोवा आफ्ना वफादार सेवकहरूबारे कस्तो नकारात्मक सोचाइ राख्नुहुन्न?
९ यहोवा तपाईँको सहनशीलताको पनि कदर गर्नुहुन्छ। (मत्ति २४:१३) तपाईँले यहोवालाई त्यागेको सैतान चाहन्छ भन्ने कुरा नबिर्सनुहोस्। जब-जब तपाईँ यहोवाप्रति वफादार रहनुहुन्छ, तब-तब उहाँको गिल्ला गर्ने सैतानलाई उहाँले मुखभरिको जवाफ दिन सक्नुहुनेछ। (हितोपदेश २७:११) सहनशीलता देखाउन सधैँ सजिलो हुँदैन। स्वास्थ्य समस्या, आर्थिक समस्या, भावनात्मक पीडा र अन्य अवरोधले गर्दा हामीलाई एक दिन काट्न पनि निकै गाह्रो लाग्न सक्छ। आशा पूरा नहुँदा पनि हामी निराश हुन सक्छौँ। (हितोपदेश १३:१२) यस्ता परीक्षाहरूको सामना गर्दा सहनशीलता देखायौँ भने यहोवा त्यसलाई अनमोल ठान्नुहुन्छ। त्यसैले राजा दाउदले यहोवालाई तिनको आँसु उहाँको “मशकमा” जम्मा गरिदिन बिन्ती गरे र निर्धक्क भई यसो पनि भने: “ती तपाईँको पुस्तकमा लेखिएका छैनन् र?” (भजन ५६:८) हो, हामीले यहोवाप्रति वफादार रहँदा बगाएको आँसु र भोगेको पीडा उहाँ याद गर्नुहुन्छ किनभने ती सबै उहाँको नजरमा अनमोल छन्।
परीक्षा भोग्दा हामीले देखाउने सहनशीलताको यहोवा कदर गर्नुहुन्छ
१० तर हामीलाई दोषी ठहराउने हृदयले हामी यहोवाको नजरमा अनमोल छौँ भनेर देखाउने यस्ता प्रमाणहरूलाई बेवास्ता गर्न लगाउँछ। हाम्रो मनले यस्तो आवाज दिन सक्छ: ‘मभन्दा असल मानिस धेरै छन्। उहाँले मलाई तिनीहरूसित तुलना गर्नुभयो भने उहाँलाई कत्ति दुःख लाग्छ होला!’ तर यहोवाले कसैलाई कसैसित तुलना गर्नुहुन्न अनि अरूबारे कठोर वा निर्दयी सोचाइ पनि राख्नुहुन्न। (गलाती ६:४) उहाँ हाम्रो हृदयभित्रको कुरा पढ्न सक्नुहुन्छ अनि हामीमा भएको असल कुरा देखेर त्यसको कदर गर्नुहुन्छ, चाहे त्यो एकदमै थोरै किन नहोस्।
यहोवा हामीमा खराब कुरा नभई असल कुरा हेर्नुहुन्छ
११. यहोवाले अबियाहसित गर्नुभएको व्यवहारबाट हामी उहाँबारे के सिक्न सक्छौँ?
११ तेस्रो, यहोवाले हाम्रो हृदय जाँच्नुहुँदा हामीमा भएको खराब कुरामा नभई असल कुरामा ध्यान दिनुहुन्छ। उदाहरणको लागि, राजा यरोबामको सम्पूर्ण धर्मत्यागी घरानालाई मृत्युदण्ड दिनुहुँदा उहाँले तिनको एक जना छोरा अबियाहलाई भने इज्जतका साथ चिहानमा गाड्न लगाउनुभयो। किन? किनकि “यहोवाले . . . उसमा मात्र केही असल कुरा भेट्टाउनुभएको” थियो। (१ राजा १४:१, १०-१३) वास्तवमा यहोवाले ती युवकको हृदय राम्ररी जाँच्नुभयो र उसमा “केही असल कुरा” भेट्टाउनुभयो। उसमा भएको असल कुरा जति नै थोरै भए तापनि यहोवाले त्यसबारे बाइबलमा लेख्न लगाउनुभयो। यसरी उहाँले धर्मत्यागी घरानाको एक सदस्यलाई केही हदसम्म कृपा देखाउनुभएर उसमा भएको असल कुराको लागि इनाम पनि दिनुभयो।
१२, १३. (क) राजा यहोसापातको विवरणबाट यहोवा हामीमा असल कुरा हेर्नुहुन्छ भनेर कसरी थाह पाउन सक्छौँ? (ख) हाम्रा असल गुणहरू र कामहरूलाई यहोवा कसरी मायालु बुबाले जस्तै हेर्नुहुन्छ?
१२ अर्को एउटा राम्रो उदाहरण असल राजा यहोसापातको हो। तिनले मूर्खतापूर्ण काम गर्दा यहोवाको भविष्यवक्ताले तिनलाई यसो भने: “यहोवा परमेश्वर तपाईँसित क्रोधित हुनुभएको छ।” कत्ति गम्भीर कुरा! तर यहोवाको सन्देश त्यति मात्र त थिएन। ती भविष्यवक्ताले अझ यसो भने: “तैपनि उहाँले तपाईँमा केही असल कुरा भेट्टाउनुभएको छ।” (२ इतिहास १९:१-३) यहोवाले धार्मिकताको लागि देखाउनुभएको क्रोधले उहाँलाई यहोसापातमा भएको असल कुरा हेर्नबाट रोकेन। त्रुटिपूर्ण मानिसहरूको भन्दा कत्ति फरक दृष्टिकोण! अरूले हाम्रो चित्त दुखाउँदा हामी तिनीहरूमा भएको असल कुरा देख्न सक्दैनौँ होला। साथै हामीले पाप गर्दा दोषी भावना, निराशा र लाजले गर्दा हामी आफैमा भएको असल कुरा पनि देख्न सक्दैनौँ होला। तर यो कुरा मनमा राख्नुहोस्: हामीले पापको पश्चात्ताप गऱ्यौँ र त्यो नदोहोऱ्याउन कडा मेहनत गऱ्यौँ भने यहोवा हामीलाई क्षमा दिनुहुन्छ।
१३ जसरी सुन चाल्ने मानिसले बालुवा वा अरू मूल्यहीन वस्तुहरूलाई चालेर फ्याँक्छ, त्यसरी नै यहोवाले तपाईँको हृदय जाँच्नुहुँदा तपाईँका पापहरूलाई तपाईँबाट अलग पार्नुहुन्छ। तपाईँका असल गुणहरू र कामहरूबारे चाहिँ के भन्न सकिन्छ? ती यहोवाको नजरमा सुनजस्तै बहुमूल्य छन् र उहाँ त्यसलाई सम्हालेर राख्नुहुन्छ। के तपाईँले साना केटाकेटीले बनाएको चित्र वा अरू कुनै चिज उसको आमाबुबाले वर्षौँसम्म सम्हालेर राखेको देख्नुभएको छ? तर छोराछोरी आफैले भने त्यो बिर्सिसकेका हुन सक्छन्। यहोवा यस ब्रह्माण्डको सबैभन्दा मायालु बुबा हुनुहुन्छ। हामी उहाँप्रति वफादार रह्यौँ भने उहाँ सधैँ हाम्रा असल कामहरू र गुणहरू सम्झनुहुन्छ। वास्तवमा उहाँले यी कुराहरू बिर्सनुलाई अन्याय गरेसरह ठान्नुहुन्छ तर उहाँ कदापि अन्यायी हुनुहुन्न। (हिब्रू ६:१०) उहाँले हाम्रो हृदय अर्को तरिकामा पनि जाँच्नुहुन्छ।
१४, १५. (क) हाम्रो कमीकमजोरीको बाबजुद यहोवा हामीमा असल कुराहरू देख्नुहुन्छ भनेर किन भन्न सक्छौँ? एउटा उदाहरण दिनुहोस्। (ख) यहोवाले हामीमा असल कुराहरू देख्नुभएपछि के गर्नुहुन्छ? उहाँ आफ्ना वफादार सेवकहरूलाई कस्तो ठान्नुहुन्छ?
१४ यहोवा हाम्रो कमीकमजोरी नभई हाम्रो क्षमता हेर्नुहुन्छ। यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। कलाप्रेमीहरू कुनै चित्रकला वा कलाकृति बिग्रियो भने त्यसलाई पहिलेको जस्तै बनाउन जे पनि गर्न तयार हुन्छन्। लन्डनको नेशनल ग्यालरीमा लियोनार्दो दा भिन्चीले बनाएको एउटा चित्र राखिएको थियो, जसको मूल्य लगभग ३ करोड अमेरिकी डलर हो। दुःखको कुरा, कसैले त्यस चित्रमा गोली हानेर त्यसलाई बिगारिदियो। तर कसैले पनि अब त्यो कुनै कामको छैन र त्यसलाई फाल्नुपर्छ भनेर सुझाव दिएनन्। बरु ५०० वर्ष पुरानो त्यस उत्कृष्ट कृतिलाई पहिलेको जस्तै बनाउन तुरुन्तै काम थालियो। किन? किनभने कलाप्रेमीहरूको नजरमा त्यो बहुमूल्य थियो। के तपाईँ मैन रङ्ग र सिसाकलमले कोरिएको त्यस चित्रभन्दा अनमोल हुनुहुन्न र? परमेश्वरको नजरमा तपाईँ पक्कै पनि अनमोल हुनुहुन्छ, चाहे वंशानुगत पापले गर्दा तपाईँमा जति नै खोट लागेको किन नहोस्। (भजन ७२:१२-१४) यहोवा मानव परिवारको निपुण सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले उहाँको प्रेमको कदर गर्नेहरूलाई त्रुटिरहित अवस्थासम्म पुऱ्याउन उहाँ जे पनि गर्न तयार हुनुहुन्छ।—प्रेषित ३:२१; रोमी ८:२०-२२.
१५ यहोवा हामीमा असल कुराहरू देख्नुहुन्छ, जुन सायद हामी आफैले देख्न सक्दैनौँ। हामी पूर्णतया त्रुटिरहित नभएसम्म उहाँ हामीमा भएका असल कुराहरूलाई बढाउँदै लैजान मदत गर्नुहुन्छ। सैतानको संसारले हामीसित जतिसुकै दुर्व्यवहार गरे तापनि यहोवा आफ्ना वफादार सेवकहरूलाई अनमोल ठान्नुहुन्छ।—हाग्गै २:७.
यहोवा आफ्नो प्रेम कामद्वारा देखाउनुहुन्छ
१६. यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण के हो? उहाँले यो उपहार हामी प्रत्येकलाई दिनुभएको हो भनेर किन भन्न सक्छौँ?
१६ चौथो, यहोवाले हामीप्रतिको प्रेम थुप्रै तरिकामा प्रकट गर्नुभएको छ, जसमध्ये एउटा फिरौतीको बलिदान हो। यस बलिदानले मानिसहरू बेकारका छन् वा कसैको माया पाउन लायकका छैनन् भन्ने सैतानको दाबीलाई झूटो साबित गरिदिएको छ। येसुले यातनाको खम्बामा भोग्नुपरेको पीडादायी मृत्युबारे र त्यो देख्दा यहोवाले खप्नुपरेको असह्य पीडाबारे विचार गर्दा उहाँहरू हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ भनेर प्रस्ट हुन्छ। तर दुःखको कुरा, थुप्रै मानिसले परमेश्वरले दिनुभएको यो उपहार तिनीहरूकै लागि हो भनेर विश्वास गर्दैनन्। तिनीहरू आफूलाई त्यस्तो उपहार पाउन लायकको ठान्दैनन्। कुनै समय प्रेषित पावलले ख्रिष्टका अनुयायीहरूको खेदो गर्ने गर्थे। तर पछि तिनले यस्तो लेखे: “परमेश्वरको छोरा[ले] . . . मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।”—गलाती १:१३; २:२०.
१७. यहोवाले हामीलाई आफू र आफ्नो छोरातर्फ कसरी खिच्नुहुन्छ?
१७ यहोवाले हामी प्रत्येकलाई ख्रिष्टको बलिदानबाट लाभ उठाउन मदत गर्नुभएर पनि हामीप्रतिको प्रेम प्रकट गर्नुभएको छ। येसुले यसो भन्नुभयो: “मलाई पठाउनुहुने बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन।” (युहन्ना ६:४४) हो, यहोवा हामी प्रत्येकलाई आफ्नो छोरा र अनन्त जीवनको आशातर्फ खिच्नुहुन्छ। कसरी? साक्षीकार्य र पवित्र शक्तिमार्फत। साक्षीकार्यले गर्दा हामीले सुसमाचार सुन्ने मौका पायौँ अनि पवित्र शक्तिले गर्दा हाम्रो त्रुटिपूर्ण अवस्था वा कमीकमजोरीको बाबजुद बाइबलमा भएको कुरा बुझ्न र लागू गर्न मदत पाएका छौँ। त्यसैले यहोवाले इस्राएल राष्ट्रलाई भन्नुभएझैँ हामीलाई पनि यसो भन्नुहुन्छ: “मैले तिमीलाई माया गरेको छु; मेरो माया सधैँभरि रहनेछ। मैले तिमीलाई अटल प्रेम देखाएर आफूतिर खिचेको छु।”—यर्मिया ३१:३.
१८, १९. (क) यहोवाले हामीप्रतिको प्रेम प्रकट गर्नुभएको सबैभन्दा मन छुने तरिका कुन हो? यसबाट उहाँ हामी प्रत्येकको ख्याल राख्नुहुन्छ भनेर कसरी देखिन्छ? (ख) यहोवा हाम्रो कुरा सुन्नुहुन्छ र हामीलाई मदत गर्नुहुन्छ भन्ने कुरा बाइबलले कसरी प्रस्ट पार्छ?
१८ यहोवाले हामीलाई प्रार्थना गर्ने सुअवसर दिनुभएर मन छुने तरिकामा हामीप्रतिको प्रेम प्रकट गर्नुभएको छ। बाइबलले हामी प्रत्येकलाई “निरन्तर प्रार्थना” गर्न आग्रह गर्छ। (१ थिस्सलोनिकी ५:१७) उहाँ हाम्रो प्रार्थना सुन्नुहुन्छ किनभने उहाँ “प्रार्थना सुन्नुहुने परमेश्वर” हुनुहुन्छ। (भजन ६५:२) उहाँले यो काम अरू कसैलाई दिनुभएको छैन, आफ्नो छोरालाई समेत। सोच्नुहोस् त, ब्रह्माण्डको सृष्टिकर्ता हामीलाई प्रार्थनामार्फत आफ्नो सबै कुरा व्यक्त गर्न आग्रह गर्नुहुन्छ। तर के उहाँ साँच्चै हाम्रो कुरा सुन्नुहुन्छ? उहाँ भावनै नभएको, हाम्रो वास्ता नगर्ने र हाम्रो कुरा एक कानले सुनेर अर्को कानले उडाउने परमेश्वर पो हुनुहुन्छ कि? त्यस्तो त कदापि हुनुहुन्न।
१९ यहोवा समानुभूतिशील परमेश्वर हुनुहुन्छ। समानुभूति भनेको के हो? एक जना वफादार वृद्ध ख्रिष्टियनले यसो भने: “समानुभूति भनेको तपाईँको पीडा मैले महसुस गर्नु हो।” के यहोवा साँच्चै हाम्रो पीडा महसुस गर्नुहुन्छ? इस्राएलीहरूले दुःख भोग्दा यहोवालाई कस्तो लाग्यो भन्नेबारे बाइबल यसो भन्छ: “हरेक चोटि तिनीहरू दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुभयो।” (यसैया ६३:९) उहाँले तिनीहरूको दुःख देख्नु मात्र भएन, महसुस पनि गर्नुभयो। उहाँले कुन हदसम्म दुःख महसुस गर्नुहुन्छ भन्ने कुरा आफ्ना सेवकहरूलाई बताउनुभएको यो कुराबाट प्रस्ट हुन्छ: “जसले तिमीलाई छुन्छ, उसले मेरो आँखाको नानीलाई छुन्छ।”b (जकरिया २:८) कसैले हाम्रो आँखाको नानीलाई छुँदा असह्य पीडा हुन्छ नि, होइन र? यसबाट के प्रस्ट हुन्छ भने हामीलाई पीडा हुँदा यहोवालाई पनि पीडा हुन्छ।
२०. रोमी १२:३ को सल्लाह पालन गर्न चाहन्छौँ भने हामीले कस्तो गलत सोचाइ राख्नु हुँदैन?
२० कुनै पनि समझदार ख्रिष्टियन परमेश्वरको यस्तो प्रेमलाई अनि उहाँले दिनुभएको सम्मानलाई आधार बनाएर घमन्डले फुल्दैनन् र आफूलाई अरूभन्दा ठूलो ठान्दैनन्। प्रेषित पावलले यस्तो लेखे: “मलाई देखाइएको असीम अनुग्रहको आधारमा म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्ता नठान बरु परमेश्वरले हरेकलाई जुन नापले विश्वास दिनुभएको छ, त्यसबमोजिम ठान ताकि तिमीहरूले सुझबुझ चलाउन सक।” (रोमी १२:३) अर्को अनुवादमा यस्तो लेखिएको छ: “म तिमीहरूमध्ये हरेकलाई भन्छु, कसैले पनि आफूलाई आफ्नो वास्तविक मोलभन्दा बढ्ता नठानोस् बरु सचेत भई आफ्नो मूल्याङ्कन गरोस्।” (चार्ल्स बि. विलियम्सको अ ट्रान्सलेसन इन द ल्याङ्वेज अफ द पिपल अनुवाद) वास्तवमा हामी यहोवाको प्रेम पाउन लायकका छैनौँ र उहाँको प्रेम हासिल गर्न सक्ने हैसियत हामीमा छैन। त्यसैले स्वर्गमा बस्नुहुने हाम्रो बुबाको न्यानो प्रेमबाट आनन्द उठाउँदा यो कुरा सधैँ मनमा राखौँ।—लुका १७:१०.
२१. सैतानले फैलाएका कस्ता झूटहरू हामीले सधैँ तिरस्कार गर्नुपर्छ? हामीले आफ्नो हृदयलाई कुन सत्यले ढुक्क बनाउनुपर्छ?
२१ हामी बेकारका छौँ र कसैको प्रेम पाउन लायकका छैनौँ भनेर सैतानले फैलाएको झूटलाई तिरस्कार गर्न हरप्रयास गरौँ। तपाईँले जीवनमा भोग्नुभएका तीता अनुभवहरूले गर्दा आफू परमेश्वरको प्रेम पाउन लायकको छैनँ जस्तो लाग्न सक्छ। अथवा तपाईँको मनमा आफूले गरेका असल कामहरू परमेश्वरको नजरमा मूल्यहीन छन् भन्ने सोचाइ आउन सक्छ। अथवा तपाईँ आफ्ना पापहरू एकदमै गम्भीर भएकोले त्यसलाई परमेश्वरको छोराको रगतले समेत पखाल्न सक्दैन भनेर सोच्नुहुन्छ होला। तर यी सबै सरासर झूट हुन्। यस्ता झूटहरूलाई मनबाट उखालेर फालिदिनुहोस्। परमेश्वरको प्रेरणा पाएर पावलले लेखेको यस सत्यले आफ्नो हृदयलाई ढुक्क बनाउनुहोस्: “म विश्वस्त छु, न मृत्युले न जीवनले न स्वर्गदूतहरूले न सरकारहरूले न अहिले यहाँ भएका कुराहरूले न त पछि आउने कुराहरूले न शक्तिले न उचाइले न गहिराइले न त अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रिष्ट येसुमार्फत व्यक्त भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग पार्न सक्नेछ।”—रोमी ८:३८, ३९.
a बाइबलमा फेरि जीवित हुने आशा र यहोवाको सम्झने शक्ति सम्बन्धित छ भनेर धेरै पटक उल्लेख गरिएको छ। विश्वासी पुरुष अय्युबले यहोवालाई यसो भने: “हे परमेश्वर, . . . तपाईँले तोक्नुभएको समय सिद्धिएपछि मलाई फेरि सम्झनुहोस्।” (अय्युब १४:१३) येसुले “सम्झनाको चिहानमा हुनेहरू” सबै फेरि जीवित हुनेछन् भनेर बताउनुभयो। त्यसो भन्नु उपयुक्त छ किनभने यहोवा आफूले फेरि जीवित पार्न चाहेको सबैबारे एक-एक कुरा सम्झनुहुन्छ।—युहन्ना ५:२८, २९, फुटनोट।
b केही बाइबलमा परमेश्वरका जनहरूलाई छुनु भनेको परमेश्वरको आँखालाई नभई आफ्नै आँखालाई वा इस्राएलको आँखालाई छुनु हो भन्ने अर्थ दिनेगरि अनुवाद गरिएको छ। केही शास्त्रीहरूलाई यस पदमा बताइएको कुराले परमेश्वरलाई दिनुपर्ने आदर नदिएको जस्तो लागेको भएर तिनीहरूले त्यहाँ लेखिएको कुरा आफैले बदलिदिए। तिनीहरूको यस्तो गलत बुझाइले गर्दा यहोवाले कुन हदसम्म समानुभूति देखाउनुहुन्छ भन्ने कुरा नै ओझेलमा पऱ्यो।