यहोवा, ‘क्षमा गर्न तयार’ परमेश्वर
“हे परमप्रभु, तपाईं भलो र क्षमा गर्न [ “तयार,” NW] हुनुहुन्छ।”—भजन ८६:५.
१. राजा दाऊदले कस्तो गह्रौं बोझ बोकिरहेका थिए र तिनको विचलित हृदयले कसरी सान्त्वना पायो?
पुरातन इस्राएलका राजा दाऊदलाई दोषी अन्तस्करणको बोझ साह्रै गह्रौं हुन्छ भनेर थाह थियो। तिनले यसरी लेखे: “मेरा अधर्महरू मेरो शिरसम्म पुगेका छन्, गह्रौं भारीझैं ती मेरो निम्ति अति गह्रौं छन्। म मुर्छित भएको छु, र मैले ज्यादै चोट पाएको छु, मेरो हृदयको बेचैनीले गर्दा म गर्जन्छु।” (भजन ३८:४, ८) तथापि, दाऊदको विचलित हृदयले सान्त्वना पायो। यहोवाले पापलाई घृणा गर्नुहुन्छ तर पापीले साँच्चै पश्चात्ताप गरेर पापी मार्ग त्यागेमा उसलाई घृणा गर्नुहुन्न भनी तिनलाई थाह थियो। (भजन ३२:५; १०३:३) पश्चात्तापी व्यक्तिहरूलाई दया देखाउने यहोवाको चासोमाथि पूर्ण भरोसा राख्दै दाऊदले यसो भने: “हे परमप्रभु, तपाईं भलो र क्षमा गर्ने हुनुहुन्छ।”—भजन ८६:५.
२, ३. (क) पाप गरेपछि हामीले कस्तो बोझ बोकिरहेका हुनसक्छौं र यो किन फाइदाजनक हो? (ख) दोषी भावनामा “चुर्लुम्म” डुब्दा कस्तो खतरा हुनसक्छ? (ग) यहोवा क्षमा गर्न इच्छुक हुनुहुन्छ भन्ने सन्दर्भमा बाइबलले हामीलाई कस्तो आश्वासन दिन्छ?
२ पाप गरेपछि पीडादायी अन्तस्करणको गह्रौं बोझले हामी पनि थिचिनसक्छौं। ग्लानिको यस्तो भावना स्वाभाविक मात्र होइन फाइदाजनक पनि हुन्छ। यसले हामीलाई आफ्ना गल्तीहरू सच्याएर सकारात्मक कदम चाल्न प्रेरित गर्नसक्छ। तर कोही कोही मसीहीहरू भने दोषी भावनाले असाध्यै विह्वल भएका छन्। तिनीहरूको हृदयले यति बिघ्न दोष दिइरहन्छ कि जतिसुकै पश्चात्ताप गरे तापनि परमेश्वरले तिनीहरूलाई कुनै हालतमा क्षमा गर्नुहुने छैन भन्ठान्छन्। आफ्नो गल्तीबारे सम्झँदै एउटी बहिनीले यसो भनिन्, “यहोवाले अब उपरान्त मलाई माया गर्नुहुनेछैन भन्ने सोचाइ असाध्यै पीडादायी हुन्छ।” तिनले पश्चात्ताप गरेर मण्डलीका प्राचीनहरूबाट मदतकारी सल्लाह स्वीकारी सकेपछि पनि यहोवाको क्षमा पाउन अयोग्य महसुस गरिन्। तिनी भन्छिन्, “दिनहुँ जसो नै यहोवासित क्षमा माग्छु।” हामी दोषी भावनामा “चुर्लुम्म” डुब्यौं भने शैतानले हामीलाई हार मान्न लगाउन, यहोवाको सेवा गर्न अयोग्य महसुस गराउन थाल्नसक्छ।—२ कोरिन्थी २:५-७, ११.
३ तर यहोवाले त्यस्तो दृष्टिकोण पटक्कै राख्नुहुन्न! हामीले साँचो पश्चात्ताप देखाएको खण्डमा यहोवा क्षमा गर्न इच्छुक हुनुका साथै तयार हुनुहुन्छ भनी उहाँको वचनले आश्वासन दिन्छ। (हितोपदेश २८:१३) अतः परमेश्वरबाट क्षमा पाउन असम्भवजस्तो लागेको छ भने शायद उहाँले क्षमा दिनुको कारण र कसरी क्षमा दिनुहुन्छ भनी अझ राम्ररी बुझ्नु खाँचो परेको होला।
यहोवा किन ‘क्षमा गर्न तयार’ हुनुहुन्छ?
४. यहोवाले हाम्रो बनोटबारे कुन कुरा बिर्सनुहुन्न र यो जानकारीले हामीप्रति उहाँको व्यवहारमा कस्तो फरक पार्छ?
४ यसो लेखिएको छ: “पश्चिमबाट पूर्व जत्ति टाढ़ा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यत्तिनै टाढ़ा हटाइदिनुभएको छ। जसरी बाबुले आफ्ना छोरा-छोरीहरूलाई टिठाउँछन्, त्यसरीनै उहाँसँग डराउनेहरूलाई परमप्रभुले टिठाउनुहुन्छ।” यहोवा किन दया देखाउन इच्छुक हुनुहुन्छ? त्यसपछिको पदले यस्तो जवाफ दिन्छ: “किनभने उहाँले हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनुहुन्छ।” (भजन १०३:१२-१४) हामी माटोबाट बनिएका हौं, असिद्धताले गर्दा हामीसित दोष तथा कमजोरीहरू छन् भनी यहोवाले कहिल्यै बिर्सनुहुन्न। “हाम्रो बनोट” जान्नुहुन्छ भन्ने अभिव्यक्तिले हामीलाई कुन कुराको सम्झना गराउँछ भने बाइबलले यहोवालाई कुमाले र हामीलाई कुमालेले बनाउने भाँडाहरूसित तुलना गरेको छ।a (यर्मिया १८:२-६) कुमालेले आफूले बनाएका भाँडाहरूलाई हिफाजतसित चलाउँछन् किनभने माटोको भाँडाको बनोट तिनलाई राम्ररी थाह छ। त्यसरी नै महान् कुमाले यहोवाले हाम्रो पापी स्वभावका दोषहरूलाई ध्यानमा राखेर हामीसित व्यवहार गर्नुहुन्छ।—२ कोरिन्थी ४:७ तुलना गर्नुहोस्।
५. हाम्रो पतित शरीरमा पापको घातक जकडबारे रोमीको पुस्तकले कसरी वर्णन गर्छ?
५ पाप कत्तिको प्रभावशाली हुन्छ भनी यहोवालाई थाह छ। मानिसलाई जकड्ने भयानक शक्ति पाप हो भनी धर्मशास्त्रले बताउँछ। पापको जकड कत्तिको शक्तिशाली हुन्छ? रोमीको पुस्तकमा प्रेरित पावलले निम्न पदावलीहरू चलाएर पापको जकडलाई असाध्यै जीवन्त ढंगमा वर्णन गरेका छन्। हामी सेनापतिका अधीनमा हुने सिपाहीहरूजस्तै “पापमनि” छौं (रोमी ३:९); राजाले जस्तै यसले मानवजातिमाथि “राज्य” गरेको छ (रोमी ५:२१); यो हामीमा “बास” गर्छ (रोमी ७:१७, २०); यसको “व्यवस्था” हामीभित्र सधैं सक्रिय छ, भनौं भने हाम्रो हरेक क्रियाकलापमाथि यसले नियन्त्रण जमाउन खोज्छ। (रोमी ७:२३, २५) हाम्रो पतित शरीरमा आइपर्ने पापको शक्तिशाली प्रभावको विरोध गर्न हामीले कत्तिको कडा संघर्ष लड्नुपर्छ, भनेर साध्यै छैन!—रोमी ७:२१, २४.
६. हृदयदेखि पश्चात्ताप गरेर दया माग्नेहरूलाई यहोवाले कुन दृष्टिले हेर्नुहुन्छ?
६ यसर्थ, हाम्रा दयालु परमेश्वरलाई थाह छ, हामीले जतिसुकै प्रयास गरे तापनि पूर्णतया आज्ञाकारी हुन सक्दैनौं। (१ राजा ८:४६) बुबाले आफ्नो बच्चाप्रति दया देखाएझैं साँचो पश्चात्तापी हृदयले क्षमा मागेको खण्डमा उहाँले क्षमा दिनुहुनेछ भनी मायालु आश्वासन दिनुहुन्छ। भजनरचयिता दाऊदले यसो भने: “चूर्ण आत्मानै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, चूर्ण र पूरा पश्चातापी हृदयलाई तपाईले तुच्छ ठान्नुहुन्न।” (भजन ५१:१७) दोषी भावनाले चूर्ण भएका पश्चात्तापी हृदयलाई यहोवाले कहिल्यै इन्कार गर्नुहुन्न वा त्याग्नुहुन्न। यहोवा क्षमा गर्न तयार हुनुहुन्छ भन्ने कस्तो राम्रो विवरण!
७. हामीले किन यहोवाको दयाको नाजायज फाइदा उठाउनु हुँदैन?
७ के यसको मतलब, आफ्नो पापी बनोटलाई बहाना बनाउँदै पाप गरेर हामीले परमेश्वरको दयाको नाजायज फाइदा उठाउन पाउँछौं त? पटक्कै पाउँदैनौं! यहोवा भावनाहरूमा बहकिने परमेश्वर हुनुहुन्न। उहाँले देखाउनुहुने दयाको पनि एउटा सीमा छ। कठोर भई धूर्त कर्तुतहरू गरिरहने, जानाजानी पाप गरेर पश्चात्ताप पनि नगर्ने व्यक्तिहरूलाई उहाँले पक्कै क्षमा दिनुहुने छैन। (हिब्रू १०:२६-३१) तर अर्कोतर्फ, उहाँ “चूर्ण” हृदयलाई ‘क्षमा गर्न तयार’ हुनुहुन्छ। (हितोपदेश १७:३) परमेश्वरले कुन हदसम्म पूर्णतया क्षमा गर्नुहुन्छ भनी वर्णन गर्न बाइबलले प्रयोग गरेका केही वर्णनात्मक भाषालाई विचार गरौं।
यहोवाले कुन हदसम्म पूर्णतया क्षमा गर्नुहुन्छ?
८. हाम्रो पाप क्षमा गर्नुहुँदा, वास्तवमा यहोवाले के गर्नुहुन्छ र यसले हामीमा कस्तो असर पार्नुपर्ने हो?
८ पश्चात्तापी राजा दाऊदले यसो भने: “मैले आफ्नो पाप तपाईंमा प्रकट गरें, र मेरो अधर्म मैले लुकाएको छैनँ। मैले भनें, ‘म आफ्ना अपराध परमप्रभुको सामने स्वीकार गर्नेछु। र तपाईंले मेरो पापको अधर्म क्षमा गर्नुभयो।’ ” (भजन ३२:५) “क्षमा गर्नुभयो” भनी अनुवाद गरिएको हिब्रू शब्दले साधारणतया “माथि उचाल्नु,” “सहनु, बोक्नु” भन्ने अर्थ बुझाउँछ। यहाँ यसको प्रयोगले ‘दोष, पाप, गल्ती हटाइदिनु’ भन्ने अर्थ झल्कन्छ। अतः एक अर्थमा भनौं भने यहोवाले दाऊदको पाप उठाएर हटाइदिनुभयो। (लेवी १६:२०-२२ तुलना गर्नुहोस्।) यसो हुँदा दाऊदले दोषी भावनाको बोझ पक्कै पनि हलुका भएको महसुस गरे होलान्। (भजन ३२:३ तुलना गर्नुहोस्।) येशू ख्रीष्टको छुटकाराको बलिदानमाथि विश्वासको आधारमा माफी माग्नेहरूको पाप क्षमा गर्नुहुने परमेश्वरमाथि हामी पनि पूर्ण भरोसा राख्नसक्छौं। (मत्ती २०:२८; तुलना गर्नुहोस् यशैया ५३:१२) यसरी यहोवाले पाप हटाइदिनुभएका व्यक्तिहरूले विगतका पापहरू मनमा खेलाएर दोषी भावना बोकिरहनु खाँचो छैन।
९. येशूका यी शब्दहरूको अर्थ के हो: “हाम्रो ऋण क्षमा गर्नुहोस्”?
९ यहोवाले कसरी क्षमा गर्नुहुन्छ भनेर देखाउन येशूले ऋणदाता र ऋणीको उखान चलाउनुभयो। उदाहरणका लागि, येशूले हामीलाई यसरी प्रार्थना गर्न आग्रह गर्नुभयो: “हाम्रो अपराध [“ऋण,” NW] क्षमा गर्नुहोस्।” (मत्ती ६:१२) येशूले “पाप” र “ऋण[को]” तुलना गर्नुभयो। (लूका ११:४) पाप गर्दा हामी यहोवाको “ऋणी” हुन्छौं। “क्षमा गर्नु” भनी अनुवाद गरिएको युनानी क्रियाको अर्थ “ऋण फिर्ता नमागेर त्यसको परवाह नगर्नु, मिनाहा गरिदिनु” हो। भनौं भने, यहोवाले क्षमा दिनुभएपछि अन्यथा हाम्रो खातामा चढ्ने ऋण उहाँले मिनाहा गरी दिनुहुन्छ। यसकारण, पश्चात्ताप गर्ने पापीहरू ढुक्क हुनसक्छन्। आफूले मिनाहा गरिसकेको ऋणको उहाँले फेरि कहिल्यै लेखा लिनुहुने छैन!—भजन ३२:१, २; तुलना गर्नुहोस् मत्ती १८:२३-३५.
१०, ११. (क) प्रेरित ३:१९ मा ‘पाप मेटिनु’ भन्ने अभिव्यक्तिबाट हामी के बुझ्छौं? (ख) यहोवाले पूर्णतया क्षमा गर्नुहुन्छ भनेर कसरी चित्रण गरिएको छ?
१० परमेश्वरले दिनुहुने क्षमाको वर्णन गर्न प्रेरित ३:१९ मा बाइबलले अर्को जीवन्त अलंकार प्रयोग गरेको छ। त्यहाँ यसो भनिएको छ: “यसकारण पश्चाताप गर्नुहोस्, र फर्कनुहोस्, र तपाईंहरूका पाप मेटिओस्।” “मेटिओस्” भनी अनुवाद गरिएको युनानी क्रिया, रूपकको रूपमा प्रयोग हुँदा त्यसले “पुछ्नु, हटाउनु, रद्द गर्नु वा नाश गर्नु” भन्ने अर्थ बुझाउनसक्छ। केही विद्वान्हरूको भनाइअनुसार यहाँ बुझाउन खोजिएको धारणा अक्षरहरू मेटाउनुजस्तो हो। यो कसरी सम्भव होला? पुरातन समयमा सामान्यतया कार्बन, गुँद र पानी मिसाएर मसी बनाइन्थ्यो। त्यस्तो मसीले लेख्नेबित्तिकै चिसो स्पंजले त्यो लेखाइ मेट्न सकिन्थ्यो।
११ यस विवरणबाट यहोवाले कुन हदसम्म पूर्णतया क्षमा गर्नुहुन्छ भनेर राम्ररी बुझ्नसक्छौं। उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुँदा स्पंजले पुछ्नु भएझैं त्यसलाई मेटाइ दिनुहुन्छ। पछि उहाँले हाम्रा त्यस्ता पापहरूको बदला लिनुहोला भनेर हामी डराउनु पर्दैन किनभने बाइबलले हामीलाई यहोवाको दयाबारे अर्को एउटा साँच्चै उल्लेखनीय कुरा पनि बताउँछ। त्यो हो, उहाँले क्षमा दिनुभएपछि त्यस पापलाई बिर्सनुहुन्छ!
“म तिनीहरूका पापलाई फेरि कहिल्यै सम्झनेछैनँ”
१२. यहोवाले हाम्रा पापहरू सम्झनुहुने छैन भन्नुको अर्थ उहाँले त्यो फेरि सम्झन सक्नुहुन्न भनेको हो? हो या होइन, कारण दिनुहोस्।
१२ यहोवाले नयाँ करारमा बाँधिएकाहरूबारे अगमवक्ता यर्मिया मार्फत यस्तो प्रतिज्ञा गर्नुभयो: “म तिनीहरूका अपराध क्षमा गर्नेछु, र म तिनीहरूका पापलाई फेरि कहिल्यै सम्झनेछैनँ।” (यर्मिया ३१:३४) के यसको मतलब यहोवाले क्षमा गर्नुभएपछि ती पापहरू पटक्कै सम्झन सक्नुहुन्न भनेको हो? त्यसो त पक्कै पनि होइन। यहोवाले क्षमा गर्नुभएका थुप्रै व्यक्तिहरूबारे बाइबलले बताउँछ र तीमध्ये दाऊद पनि थिए। (२ शमूएल ११:१-१७; १२:१-१३) स्पष्टतः तिनीहरूका गल्तीहरू अहिले पनि यहोवालाई थाह छ र हामीले पनि बिर्सनु हुँदैन। तिनीहरूका पापको साथै पश्चात्ताप र परमेश्वरले गर्नुभएको क्षमाको विवरण हाम्रोनिम्ति अहिलेसम्म साँचेर राखिएको छ। (रोमी १५:४) त्यसोभए, यहोवाले क्षमा दिनुभएका व्यक्तिहरूको पाप उहाँले ‘सम्झनुहुनेछैन’ भनेर बाइबलले भन्नुको तात्पर्य के हो?
१३. (क) “सम्झने” भनी अनुवाद गरिएको हिब्रू क्रियाको अर्थमा कुन कुन कुरा समावेश छन्? (ख) “तिनीहरूका पाप म सम्झनेछैनँ” भनी यहोवाले भन्नुहुँदा हामीलाई कुन कुराको आश्वासन दिइ रहनुभएको हो?
१३ “सम्झने” भनी अनुवाद गरिएको हिब्रू क्रियाको अर्थ, विगतका कुराहरू स्मरण गर्नसक्नु मात्र होइन। तर “उचित कदम उठाउनु” पनि हो भनी पुरानो नियमको धर्मविज्ञानकोश (अंग्रेजी) बताउँछ। अतः यस अर्थमा पाप “सम्झने” भनेको पाप गर्ने विरुद्ध कदम उठाउनु पनि हो। अगमवक्ता होशेले बरालिएका इस्राएलीहरूबारे “उहाँले [यहोवाले] तिनीहरूको अधर्मको सम्झना गर्नुहुन्छ” भन्नुको अर्थ, पश्चात्ताप नगरेको हुँदा यहोवाले तिनीहरू विरुद्ध कदम चाल्नुहुनेछ भन्ने हो। यसकारण, उक्त पदको बाँकी भागले यसो भन्छ: “उहाँले तिनीहरूका पापको दण्डदिनुहुन्छ।” (होशे ९:९) अर्कोतर्फ, “त्यसले गरेका कुनै पनि अपराधको फेरि सम्झना हुनेछैन” भन्नुहुँदा यहोवाले कुन कुराको आश्वासन दिइरहनुभएको थियो भने पश्चात्ताप गर्ने व्यक्तिलाई एक चोटि क्षमा दिइ सक्नुभएपछि ती पापहरूको पछि बदला लिनुहुने छैन। (इजकिएल १८:२१, २२) उहाँले कुन अर्थमा बिर्सनुहुन्छ भने हामीले पहिले गरेका पापहरू बारम्बार कोट्याउनुभएर हामीलाई दोषारोपण गर्ने वा दण्ड दिनुहुने छैन। यसप्रकार, अरूसित व्यवहार गर्ने सन्दर्भमा यहोवाले अत्युत्तम उदाहरण बसाल्नुभएको छ। मनमुटाउहरू हुँदा पहिले क्षमा गरिसकेका भूलहरूलाई फेरि फेरि कोट्याउनु राम्रो होइन।
पापका परिणामहरू नि?
१४. पश्चात्ताप गरेर क्षमा पाए तापनि आफ्नो गलत मार्गका असरहरूबाट दोषी व्यक्ति किन पूर्णतया मुक्त हुँदैन?
१४ यहोवा क्षमा गर्न तयार हुनुहुन्छ भन्दैमा के पश्चात्तापी व्यक्तिले आफ्नो गलत कार्यका कुनै पनि परिणामहरू भोग्नुपर्ने छैन? अहँ, त्यसो होइन। पाप गरेपछि त्यसको दण्ड त अवश्य पाउँछौं। पावलले यसप्रकार लेखे: “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” (गलाती ६:७) हामीले आफ्नो कार्य वा आइपर्ने समस्याले गर्दा केही परिणामहरू भोगौंला तर यहोवाले क्षमा गरी सक्नुभएपछि हामीमाथि विपत्तिहरू आइपर्न दिनुहुन्न। समस्याहरू आइपर्दा कुनै पनि मसीहीले यस्तो महसुस गर्नु ठीक होइन, ‘मैले पहिले गरेका गल्तीहरूका लागि यहोवाले दण्ड दिनुभएको होला।’ (याकूब १:१३ तुलना गर्नुहोस्।) अर्कोतर्फ, हाम्रा गलत कार्यहरूका सबै असरबाट यहोवाले हामीलाई जोगाउनुहुन्न। छुटानाम, नचाहेको गर्भाधारण, यौनजन्य रोगहरू, आफूप्रति अरूको भरोसा वा आदरमा परेको आघातजस्ता कुराहरू पापका दुःखद असरहरू हुनसक्छन् र यहोवाले हामीलाई यी कुराहरूबाट बचाउनुहुने छैन। नबिर्सनुहोस्, यहोवाले दाऊदलाई बेतशेबा र उरियाह विरुद्ध गरेको पापको लागि क्षमा त गर्नुभयो। तर त्यसका विपत्तिदायी परिणामहरूबाट दाऊदलाई जोगाउनुभएन।—२ शमूएल १२:९-१४.
१५, १६. लेवी ६:१-७ मा उल्लिखित व्यवस्थाले गल्ती गर्ने र नोक्सानी बेहोर्ने दुवैको कसरी हित गर्छ?
१५ हाम्रा पापका अन्य परिणामहरू पनि हुनसक्छन्। उदाहरणका लागि, लेवी अध्याय ६ को विवरणलाई ध्यान दिनुहोस्। एक जना इस्राएलीले आफ्नो सँगी इस्राएलीको सरसम्पत्ति लुटेर, ठगेर वा जालसाजी गरेर गम्भीर गल्ती गऱ्यो भने के गर्न सकिन्छ भनेर मोशालाई दिइएको व्यवस्थामा उल्लिखित छ। पापीले आफ्नो दोष स्वीकार्दैन र झूटो कसम खाने आँटसमेत गर्छ। दुवैसित कुनै ठोस प्रमाण छैन, केवल एकअर्कालाई दोष दिइरहेका छन्। तथापि, गल्ती गर्ने व्यक्तिलाई पछि अन्तस्करणले पिरोल्न थाल्छ र आफ्नो पाप स्वीकार्छ। परमेश्वरबाट क्षमा पाउन तिनले तीन थोक गर्नुपर्छ: आफूले लुटेको कुरा फिर्ता गर्नु, नोक्सानी बेहोर्न परेको व्यक्तिलाई २० प्रतिशत जरिबाना तिर्नु र एउटा भेडाको दोषबलि चढाउनु। त्यसपछि, व्यवस्थामा अझ यसो भनिएको छ: “पूजाहारीले त्यसको निम्ति परमप्रभुको सामने प्रायश्चित गरोस्, र जुन कुराको कारणले त्यो दोषी ठहरिएको हो, त्यो त्यसलाई क्षमा हुनेछ।”—लेवी ६:१-७; तुलना गर्नुहोस् मत्ती ५:२३, २४.
१६ यो व्यवस्था परमेश्वरको मायालु प्रबन्ध थियो। यसबाट नोक्सानी बेहोर्न परेको व्यक्तिको हित हुन्थ्यो किनभने उसले आफ्नो सम्पत्ति फिर्ता पाउँथ्यो र दोषी व्यक्तिले आखिर पाप स्वीकारेको हुँदा ढुक्क महसुस गर्नसक्थ्यो। त्यसको साथसाथै आफ्नो दोष स्वीकारेर गल्ती सच्याउन अन्तस्करणले घचघच्याएको व्यक्तिले पनि त्यस्तो व्यवस्थाबाट लाभ पाउँथ्यो। निस्सन्देह, उसले त्यसो गर्न नमानेको भए परमेश्वरबाट क्षमा पाउने थिएन।
१७. हाम्रो पापले अरूलाई आघात पुऱ्याउँदा हामीले के गरेको यहोवा चाहनुहुन्छ?
१७ हामी मोशालाई दिइएको व्यवस्थाको अधीनमा छैनौं। तैपनि यहोवाले क्षमा गर्ने सन्दर्भमा कस्तो दृष्टिकोण राख्नुहुन्छ भनी निकै अन्तर्दृष्टि पाउँछौं। (कलस्सी २:१३, १४) हाम्रो पापले गर्दा अरूलाई आघात पुगेको वा ठगिएको छ भने ‘गल्ती सच्चाउन’ आफूले सकेजति गरेको खण्डमा यहोवा खुशी हुनुहुनेछ। (२ कोरिन्थी ७:११, NW) यसमा हाम्रो पाप स्वीकार्नु, दोष मानी लिनु र नोक्सानी बेहोर्न परेको व्यक्तिसित क्षमा माग्नु पनि समावेश छ। त्यसो गरेपछि हामीले येशूको छुडौतीको बलिदानको आधारमा यहोवालाई बिन्ती गर्नसक्छौं, स्वच्छ अन्तस्करणको आनन्द उठाउनसक्छौं र परमेश्वरले हामीलाई क्षमा दिनुभएको छ भनी ढुक्क हुनसक्छौं।—हिब्रू १०:२१, २२.
१८. यहोवाले क्षमा दिनुको साथसाथै कस्तो अनुशासन पनि दिनुहोला?
१८ कुनै पनि मायालु आमाबाबुजस्तै यहोवाले क्षमा दिनुका साथै धेरथोर अनुशासन पनि दिनुहोला। (हितोपदेश ३:११, १२) पश्चात्ताप गरिसकेपछि पनि उक्त मसीहीले प्राचीन, सेवकाई सेवक वा अग्रगामीको हैसियतमा सेवा गर्ने आफ्नो सुअवसर त्याग्नु पर्ला। आफूले अनमोल ठानेका सुअवसरहरू केही समयको लागि गुमाउनु उसको लागि पीडादायी हुनसक्छ। तथापि, त्यस्तो अनुशासन पाउँदैमा ऊ यहोवाको अनुग्रहबाट वञ्चित भएको छ वा यहोवाले उसलाई क्षमा गर्नुहुन्न भन्ने होइन। यसबाहेक, हामीलाई माया गर्नुहुने हुँदा यहोवाले अनुशासन दिनुभएको हो भनेर हामीले बिर्सनु हुँदैन। अनुशासन स्वीकारेर त्यसअनुरूप चल्नुमा हाम्रै भलाइ छ र त्यसले अनन्त जीवनतर्फ डोऱ्याउनसक्छ।—हिब्रू १२:५-११.
१९, २०. (क) तपाईंले गल्ती गर्नुभएको छ भने यहोवाले कुनै हालतमा पनि क्षमा गर्नुहुनेछैन भन्ने सोचाइ किन राख्नु हुँदैन? (ख) यसपछिको लेखमा कुन कुरा छलफल गरिनेछ?
१९ ‘क्षमा गर्न तयार’ परमेश्वरलाई सेवा गर्छौं भनेर थाह पाउँदा कस्तो स्फूर्ति महसुस गर्छौं! यहोवाले हाम्रा पाप र गल्तीहरू मात्र केलाइरहनुहुन्न। (भजन १३०:३, ४) हाम्रो हृदयको कुरा उहाँलाई थाह छ। पहिले गरेका पापहरूले गर्दा तपाईंको हृदय चूर्ण र पूरा पश्चात्तापी भए जस्तो लाग्छ भने अब तपाईंले कुनै हालतमा पनि यहोवाको दया पाउनुहुन्न भन्ने नठान्नुहोस्। तपाईंले जस्तोसुकै गल्ती गर्नुभएको भए तापनि साँच्चै पश्चात्ताप गर्नुभएको छ, गल्ती सच्याउन कदम चाल्नुभएको छ र येशूले बगाउनुभएको रगतको आधारमा यहोवासित हृदयदेखि नै क्षमा माग्नुभएको छ भने १ यूहन्ना १:९ का शब्दहरू तपाईंमाथि लागू हुन्छ भनेर निर्धक्क हुन सक्नुहुन्छ: “यदि हामीले आफ्ना पापको स्वीकार गऱ्यौं भने, हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नालाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।”
२० अरूसितको व्यवहारमा हामीले पनि यहोवाले जस्तै क्षमा गर्न सिक्न बाइबलले प्रोत्साहन दिन्छ। तथापि, अरूले आफू विरुद्ध पाप गर्दा कुन हदसम्म क्षमा गर्न र बिर्सनसक्छौं? यसपछिको लेखमा यसबारे छलफल गरिनेछ।
[फुटनोट]
a चाखलाग्दो कुरा, “हाम्रो बनोट” र कुमालेले बनाउने माटाका भाँडाहरू बुझाउन एउटै हिब्रू शब्द प्रयोग गरिएको छ।—यशैया २९:१६.
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ यहोवा किन ‘क्षमा गर्न तयार’ हुनुहुन्छ?
◻ यहोवाले पूर्णतया क्षमा गर्नुहुन्छ भनेर बाइबलले कसरी वर्णन गर्छ?
◻ यहोवाले क्षमा गर्नुहुँदा कुन अर्थमा बिर्सनुहुन्छ?
◻ हाम्रा पापले गर्दा अरूलाई आघात पुगेको छ भने यहोवा हामीबाट के आशा गर्नुहुन्छ?
[पृष्ठ १२-मा भएको चित्र]
हाम्रा पापले गर्दा अरूलाई आघात पुगेको छ भने यहोवा हामीले त्यसको क्षतिपूर्ति गरेको आशा गर्नुहुन्छ