आर्थिक कठिनाइको समयमा अविवाहित
पश्चिम अफ्रिका निवासी, चक्स्ले भने, “म २५ वर्षको हुँदा विवाह गर्न चाहन्थें। मेरी एक प्रेमिका थिइन् र उनी मलाई मन पराउँथिन्। तर समस्या नै पैसा थियो। मेरो बुबा तथा दाइ बेरोजगार हुनुहुन्थ्यो र मेरा भाइ-बहिनीहरू स्कूलमा पढ्दैथिए। परिवार धान्न सबै जना ममाथि निर्भर थिए। पछि परिस्थिति झन् बेहाल भयो किनभने मेरा आमा-बाबु बिरामी पर्नुभयो र औषधोपचार गर्न थप पैसाको जोरजाम गर्नुपऱ्यो।”
चक्स् यहोवाको साक्षी थिए र आफ्नी पत्नीको लालनपालन गर्न असमर्थ अवस्थामा विवाह गर्न चाहँदैनथे। तिनलाई १ तिमोथी ५:८ मा पावलका शब्दहरू राम्ररी थाह थियो: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।”
चक्स् अझै बताउँछन्, “म मेहनत गर्थें तर विवाह गर्न भने पैसा कहिल्यै पर्याप्त भएन। फलस्वरूप, हाम्रो विवाह गर्ने योजना बारम्बार पछि सार्नुपऱ्यो। अन्ततः मैले आफ्नी प्रेमिकाबाट एउटा पत्र पाएँ र त्यसमा विवाहको निम्ति अर्कै व्यक्तिले उनको बुबासमक्ष प्रस्ताव राखेको कुरा बताइएको थियो। उनको बुबा राजी भए। मैले पत्र पाएको केही दिनपछि तिनीहरूको मगनीको प्रीतिभोज थियो।”
आर्थिक कठिनाइले गर्दा चक्स्जस्ता धेरै मसीही पुरुषहरूका वैवाहिक योजनाहरू भताभुंग वा ढिलो भएका छन्। धेरै मुलुकहरूमा अतिस्फिति छ। उदाहरणको लागि, एक मध्य अफ्रिकी देशमा एक वर्षभित्र भाउ-बेसाहा ८,३१९ प्रतिशतले बढ्यो। केही देशहरूमा जागिर पाउन गाह्रो छ। अनि प्रायजसो तलब असाध्यै न्यून हुने भएकोले स्वास्नी र छोरा-छोरीहरूको त कुरै छाडौं, आफूलाई समेत धान्न गाह्रो हुन्छ। नाइजेरियाका एक जवानले यसरी बिलौना गरे, कारखानामा दिनभरि काम गरेको तलब प्रति महिना १७ अमेरिकी डलर मात्र थियो र त्यो रकम महिनादिन कार्यालयमा आवातजावत गर्न पनि पुग्दैनथियो!
आर्थिक कठिनाइले गर्दा थुप्रै अविवाहित मसीही स्त्रीहरूको पनि वैवाहिक योजनाहरू विफल भएका छन्। प्रायजसो तिनीहरूले परिवारका सदस्यहरूलाई टेवा दिन काम गर्नुपर्ने हुन्छ। केही अविवाहित पुरुषहरू यस्तो परिस्थिति देखेर विवाह गर्न हिचकिचाउँछन् किनभने त्यस्तो अवस्थामा विवाह गर्दा आफ्नी पत्नीको लागि मात्र होइन तर उनको परिवारको निम्ति पनि कमाउनुपर्ने हुन्छ। आयोले विश्वविद्यालयमबाट स्नातक उपाधि हासिल गरेकी छिन् र आमा, भाइ-बहिनीहरूलगायत स्वयम्को निम्ति कमाउन कडा परिश्रम गर्छिन्। उनी यसरी बिलौना गर्छिन्, “म विवाह गर्न चाहन्छु तर अरूले मेरो थप भार [आर्थिक जिम्मेवारीहरू] देखेपछि विवाह गर्न चाहँदैनन्।”
आर्थिक कठिनाइहरूको बावजूद थुप्रै अविवाहित मसीहीहरूलाई नातेदार र अरू मानिसहरूले विवाह गरेर सन्तान जन्माउन दबाब दिन्छन्। कहिलेकाहीं यो दबाबले गिल्लाको रूप लिन्छ। उदाहरणको लागि, अफ्रिकाका केही भागहरूमा एक वयस्कलाई अभिवादन गर्दा उनको पति या पत्नी र छोरा-छोरीहरूको सञ्चो बिसञ्चो सोध्ने प्रचलन छ। अविवाहितहरूको खिल्ली उडाउन कहिलेकाहीं त्यस्ता अभिवादनहरू गरिन्छन्। पचास वर्ष पुग्नै लागेका जोन, यसो भन्छन्: “मानिसहरूले मलाई गिज्याएर, ‘तपाईंकी श्रीमतीलाई कस्तो छ?’ भनी सोध्दा म यस्तो जवाफ दिन्छु, ‘उनी आउँदैछिन्।’ यथार्थ यो हो, म श्रीमतीको हेरचाह गर्न असमर्थ छु भने विवाह कहाँ गर्नसक्छु र?”
जोन र अन्य असंख्य व्यक्तिहरूको परिस्थितिको सार यस योरूबा उखानले व्यक्त गर्छ: “सोचविचार नगरी विवाह गर्नु घमण्ड गर्ने कुरा होइन; परिवार धान्नु गाह्रो छ।”
आफ्नो परिस्थितिको सर्वोत्तम सदुपयोग गर्नुहोस्
आफूले चाहेको कुरा नपाउँदा विचलित हुनु कति सजिलो छ। हितोपदेश १३:१२ यसो भन्छ: “आशा साकार नहुँदा मन मर्छ।” यदि तपाईं विवाह गर्न चाहनुहुन्छ तर आर्थिक अवस्था कमजोर छ भने शायद यस्तै महसुस गर्नुहुन्छ होला। प्रेरित पावलले वर्णन गरेअनुसार ‘कामाग्निले जल्नुभएको’ छ भने यो विशेषगरि सत्य हुनसक्छ।—१ कोरिन्थी ७:९.
यी समस्याहरूबाट उम्कन सजिलो नहोला तर सहन र त्यस्तो परिस्थितिमा समेत आनन्दित हुन तपाईंले गर्न सक्नुहुने केही कार्यहरू छन्। येशू ख्रीष्ट अविवाहित हुनुहुन्थ्यो र कसैको आशा साकार नहुँदा निराश भए तापनि त्यसमाथि विजय प्राप्त गर्न प्रयोगमा ल्याउन सकिने बाइबलका व्यवहारिक सिद्धान्तहरू उहाँले देखाउनुभयो। उहाँले यसो भन्नुभयो: “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.
तपाईंले आफ्नो परिवार र मण्डलीमा अरूको निम्ति असल कार्यहरू गरेर यसो गर्न सक्नुहुन्छ। शायद तपाईं मसीही सेवकाईमा आफ्नो क्रियाकलाप बढाउन सक्नुहुन्छ। तपाईं निःस्वार्थपूर्वक अरूलाई दिन व्यस्त रहनुभयो भने ‘हृदयमा दृढ भएर आफ्नो इच्छाबमोजिम राख्नसक्ने’ हुन सक्नुहुनेछ।—१ कोरिन्थी ७:३७.
अर्को अविवाहित मानिस, प्रेरित पावलले यस्तो मदतकारी सल्लाह लेखे: “कसरी हिंड़छौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो, समयको अवसर विचार गरेर सम्झ, किनभने समय खराब छ।” (एफिसी ५:१५, १६) धेरै अविवाहित मसीहीहरूले यहोवाको नजीक हुन प्रार्थना, परमेश्वरको वचनको अध्ययन र मसीही सभाहरूमा सहभागिताद्वारा समयको सदुपयोग गरेर ‘आत्मामा विश्राम’ पाएका छन्। (मत्ती ११:२८-३०) तपाईंले यसो गर्नुभयो भने, कठिन आर्थिक अवस्थाको सफलतापूर्वक सामना गर्न सक्नुहुनेछ। यसले तपाईंलाई अझ बढी आध्यात्मिकता प्रकट गर्न मदत दिनेछ र अन्ततः विवाह गर्नुभयो भने पनि तपाईंलाई असल पति या पत्नी बनाउनेछ।
यहोवाको सेवा गर्ने जति सबैलाई उहाँले हेरचाह गर्नुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्। तपाईंले भोग्ने समस्या तथा कठिनाइहरूबारे उहाँ सजग हुनुहुन्छ। आध्यात्मिक तथा भावनात्मक तवरमा तपाईंलाई दीर्घकालीन लाभ पुऱ्याउने कुरा हाम्रो स्वर्गमा हुनुहुने मायालु पितालाई थाह छ। तपाईंले धैर्यतापूर्वक उहाँको वचन दैनिक जीवनमा प्रयोग गर्नुभयो भने तोकिएको समयमा उहाँले मदत दिनुहुनेछ र तपाईंको अनन्त भलाइ हुने ढंगमा तपाईंका आवश्यकता अनि चाहनाहरू सन्तुष्ट पार्नुहुनेछ भनेर निश्चिन्त हुन सक्नुहुन्छ। बाइबलले हामीलाई यो आश्वासन दिन्छ: “इमान्दारीसँग हिंड़नेहरूदेखि उहाँले कुनै असल कुरा इन्कार गर्नुहुन्न।”—भजन ८४:११.
सकारात्मक पक्षलाई विचार गर्नुहोस्
यो पनि याद गर्नुहोस्, अविवाहित हुनुका निश्चित लाभहरू छन्। प्रेरित पावलले यसप्रकार लेखे: ‘जसले . . . विवाह गर्छ उसले असलै गर्दछ, र विवाह नगर्नेले ता झन् असल गर्दछ।’—१ कोरिन्थी ७:३८.
विवाहित हुनुभन्दा अविवाहित रहनु किन “झन् असल” हो? पावलले यसरी वर्णन गरे: “विवाह नभएकोले म प्रभुलाई कसरी खुशी राखूँ भन्ने प्रभुकै कुराको विषयमा फिक्री गर्दछ, तर विवाह भएकोले म पत्नीलाई कसरी खुशी राखूँ भनेर संसारको कुराको फिक्री गर्दछ। विवाह भएकी र कन्याहरूमा भिन्नता छ। विवाह नभएकीले म शरीर र आत्मा दुवैमा पवित्र रहूँ भन्ने प्रभुकै कुराका विषयमा फिक्री गर्दछ, तर विवाह भएकीले चाहिं कसरी आफ्ना पतिलाई खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ।”—१ कोरिन्थी ७:३२-३४.
अर्को शब्दमा भन्ने हो भने, विवाहित मसीहीहरू आफ्नो पति या पत्नीको आवश्यकता, रुचि अनि अरुचिबारे चिन्तित हुनु स्वाभाविक हो। तर अविवाहित मसीहीहरूले तीव्र एकाग्रतासाथ यहोवाको सेवामा ध्यान केन्द्रित गर्नसक्छन्। विवाहितहरूको दाँजोमा अविवाहित मसीहीहरू “बाधा विना प्रभुको भक्ति गर्न” बढी सक्षम हुन्छन्।—१ कोरिन्थी ७:३५.
पावलले यहाँ अविवाहित मसीहीहरूलाई अलमल्याउने कुराहरू हुँदैनन् भन्न खोजेका होइनन्। तपाईं आर्थिक कठिनाइले लादिएको हुनुहुन्छ भने सेवकाईबाट अलमलाउनसक्ने थुप्रै कुराहरू महसुस गर्नुहोला। तापनि, विवाहितहरूले भन्दा अविवाहित पुरुष वा स्त्रीहरूले परमेश्वरको सेवा गर्न प्रायजसो बढी स्वतन्त्रता पाएका हुन्छन्।
पावलले अविवाहित रहनु असल हुनेछ भनेर सुझाव दिए तापनि तिनले विवाह गर्नु गलत हो भनेनन्। तिनले यस्तो लेखे: “तिमीले विवाह गऱ्यौ भने पनि पाप गरेका हुँदैनौ।” यद्यपि, तिनले सतर्क गराए: “[विवाह गर्नेहरूलाई] शरीरमा कष्ट हुनेछ।”—१ कोरिन्थी ७:२८.
तिनले भन्न खोजेको कुरा के हो? विवाह गरेपछि केही चिन्ताहरू बढ्छन्। आर्थिक कठिनाइको समयमा आफ्नी पत्नी र छोरा-छोरीहरूको लागि प्रबन्ध गर्नु पिताको निम्ति गाह्रो हुनसक्छ। बिमारीले पनि परिवारको आर्थिक र भावनात्मक बोझ बढाउनसक्छ।
अतः तपाईंको वर्तमान परिस्थिति आफूले चाहेअनुरूप नभए तापनि विवाहित भएर छोरा-छोरीहरूको निम्ति प्रबन्ध गर्नुपर्ने जिम्मेवारी बोक्नुभन्दा बेस होला। तपाईंले अहिले सामना गर्ने कठिनाइहरू क्षणिक हुन्; परमेश्वरको नयाँ संसारमा ती कठिनाइहरू समाधान हुनेछन् र शायद त्योभन्दा पहिले नै केही कठिनाइहरू समाधान होलान्।—भजन १४५:१६ तुलना गर्नुहोस्।
के तपाईं आफ्नो सेवकाईलाई विस्तार गर्न सक्नुहुन्छ?
सबैले त गर्न सक्दैनन् तापनि कोही कोही भने आर्थिक कठिनाइको बावजूद पूर्ण-समय सेवकाईमा प्रवेश गर्न सफल भएका छन्। माथि उल्लिखित चक्स्ले आफ्नो परिवारलाई टेवा दिन लेखन सामग्रीहरू किनबेच गर्न थाले। आफ्नो वैवाहिक योजना असफल भएकै बेला तिनले वाच टावर सोसाइटीको स्थानीय शाखा कार्यालयमा अस्थायी निर्माण कार्यकर्ता हुने निमन्त्रणा पाए। पैसाबारे चिन्तित भएर तिनको दाइले त्यहाँ नजान हतोत्साहित गरे। तर चक्स्ले यस्तो तर्क गरे, लेखन सामग्री किनबेच गर्ने व्यापार बसाल्न यहोवाले मदत गर्नुभयो, अतः राज्यसम्बन्धी कामकुरा प्रथम स्थानमा राख्नुपर्छ र अन्य कुराको जोरजामको निम्ति परमेश्वरको सामर्थ्यमा भरोसा गर्नुपर्छ। (मत्ती ६:२५-३४) यसबाहेक, तिनले सोचे, यो तीन महिनाको लागि मात्र थियो।
चक्स्ले निमन्त्रणा स्वीकारे र आफ्नो दाइलाई व्यापार हस्तान्तरण गरे। छ वर्षपछि पनि चक्स् पूर्ण-समय सेवकाई गरिरहेका छन् र मसीही मण्डलीमा प्राचीनको हैसियतमा सेवारत छन्। साथै विवाह गर्न आर्थिक तवरमा समर्थ छन्। आफ्नो जीवनका घटनाक्रमहरूप्रति के तिनी खेद प्रकट गर्छन्? चक्स् यसो भन्छन्: “आफूले चाहेर पनि विवाह गर्न नसक्दा म निराश भएँ तर जे जति भयो मेरै भलाइको निम्ति भयो। मैले त्यतिबेला विवाह गरेर परिवार बसालेको भए अहिले आनन्द उठाइरहेका सेवाका सुअवसरहरूको शायद मौका पाउने थिइँन होला।”
भविष्यको लागि सुरक्षा
कठिन समयमा भावी आर्थिक कठिनाइबाट सुरक्षित रहन धेरै मानिसहरूले विवाहको आड लिन्छन्। ऋणमा डुबेका केही देशहरूले वृद्धहरूका लागि निकै कम मदत दिन्छन् वा पटक्कै मदत दिंदैनन्। अतः आमा-बाबुहरू वृद्धावस्थामा आफ्नो हेरचाह होस् भनेर प्रायजसो आफ्नो परिवार वा विशेषगरि छोरा-छोरीहरूमाथि निर्भर गर्छन्। फलतः आर्थिक अवस्था नाजुक हुँदासमेत जवान पुरुष तथा स्त्रीहरूलाई विवाह गरेर सन्तान जन्माउन दबाब दिइन्छ।
तर विवाह गरेर सन्तान जन्माउँदैमा सुरक्षाको ग्यारेन्टी हुँदैन। केही सांसारिक छोरा-छोरीहरू आफ्ना वृद्ध आमा-बाबुको हेरचाह गर्न अनिच्छुक छन् भने कोही असमर्थ हुन्छन् र बाँकी चाहिं आमा-बाबुभन्दा चाँडो मर्छन्। मसीहीहरू परमेश्वरको प्रतिज्ञालाई स्मरण गर्दै सुरक्षाको निम्ति विशेषगरि अर्कै स्रोततर्फ हेर्छन्: “म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।”—हिब्रू १३:५.
यहोवाको पूर्ण-समय सेवा गर्न विवाहलाई पछि सारेकाहरू त्यागिएका छैनन्। क्रिशियाना ३२ वर्षीया अविवाहिता हुन्। उनले नाइजेरियामा नियमित अग्रगामीको हैसियतमा सेवा गरेकी नौ वर्ष भइसक्यो। उनी भन्छिन्: “म यहोवामा भरोसा राख्छु र उहाँले आफ्ना सेवकहरूलाई कहिल्यै नत्याग्ने आश्वासन दिनुभएको छ। उहाँको प्रतिज्ञा मेरो विश्वस्तता हो। यहोवाले आध्यात्मिक तथा भौतिक तवरमा मेरो हेरचाह गर्नुहुन्छ। उहाँ उदार पिता साबित हुनुभएको छ। उदाह- रणको लागि, म साक्षीहरूको बढी आवश्यकता भएको क्षेत्रमा अग्रगामी गर्न बसाइँ सरें। सुविधाहरू थोरै भए तापनि मैले काम चलाउन सिकेकी छु। विषमज्वरोले गर्दा अस्पतालमा भर्ना हुँदा मैले पहिला धाउने गरेको मण्डलीका भाइहरू आएर मेरो हेरचाह गरे।
“म पूर्ण-समय सेवकाईमा निकै सन्तुष्ट छु। ब्रम्हाण्डको सृष्टिकर्ता र विश्वभरि त्यति धेरै भाइ-बहिनीहरूसित काम गर्न पाउनुलाई म सुअवसर ठान्छु। आफू वरपर भइरहेका घटनाहरूले गर्दा धेरै जवान मानिसहरू निराश र आशाविहीन भएका मैले देखेकी छु। तर मेरो जीवन भने अर्थपूर्ण छ; म ढुक्क भएर भविष्यको प्रतीक्षा गर्छु। आज हामीले सामना गर्ने समस्याहरूको सर्वोत्तम समाधान यहोवाको नजीक हुनु हो भनेर मलाई थाह छ।”
यदि तपाईं विवाह गर्ने तिर्सना गर्नुहुन्छ तर आर्थिक कठिनाइले गर्दा असमर्थ हुनुहुन्छ भने, निरुत्साहित नहुनुहोस्! तपाईं एक्लो हुनुहुन्न। यहोवाको मदतद्वारा तपाईंको जस्तै परीक्षा सहिरहेकाहरू थुप्रै छन्। अरूको निम्ति असल कार्यहरू र आध्यात्मिकतामा उन्नति गरेर आफ्नो परिस्थितिको सदुपयोग गर्नुहोस्। परमेश्वरको नजीक हुनुहोस्; उहाँले तपाईंलाई मदत दिनुहुनेछ किनभने उहाँले तपाईंको साँच्चै चासो राख्नुहुन्छ।—१ पत्रुस ५:७.