यी आखिरी दिनमा एकता कायम राख्नुहोस्
“तिमीहरूको चाल . . . सुसमाचारको योग्य होस्, . . . तिमीहरू सुसमाचारको विश्वासको निम्ति एउटै मनको भई, यत्न गरेर एउटै आत्मामा दृढ़ [होओ]।” —फिलिप्पी १:२७.
१. यहोवाका साक्षीहरू र संसारबीच कस्तो भिन्नता छ?
यी “आखिरी दिन” हुन्। निस्सन्देह, अहिले “डरलाग्दो समय” छ। (२ तिमोथी ३:१-५) यस “अन्तको समय[मा]” मानव समाज अशान्तिले भरिएको छ। तर यहोवाका साक्षीहरू तिनीहरूको शान्ति र एकताले गर्दा अरूभन्दा एकदमै फरक देखिन्छन्। (दानियल १२:४) तर यहोवाका उपासकहरूको विश्वव्यापी परिवारका प्रत्येक व्यक्तिले यो एकता कायमै राख्न कडा परिश्रम गरेको आशा गरिन्छ।
२. पावलले एकता कायम राख्ने सम्बन्धमा के भने र हामी कुन प्रश्नबारे छलफल गर्नेछौं?
२ प्रेरित पावलले सँगी मसीहीहरूलाई एकता कायम राख्न सल्लाह दिए। तिनले यसो लेखे: “तिमीहरूको चाल ख्रीष्टको सुसमाचारको योग्य होस्, र म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्थितिमै रहूँ, तिमीहरू सुसमाचारको विश्वासको निम्ति एउटै मनको भई, यत्न गरेर एउटै आत्मामा दृढ़ भएको तिमीहरूको अवस्थाको विषयमा मैले सुन्न पाऊँ। विरोधीहरूसँग केही कुरामा नडराओ। यो तिनीहरूका निम्ति विनाशको, तर तिमीहरूका निम्ति चाहिं मुक्तिको प्रत्यक्ष चिह्न हो, र यो परमेश्वरबाट हो।” (फिलिप्पी १:२७, २८) हामीले मसीहीहरूको हैसियतमा एकसाथ काम गर्नुपर्छ भनेर पावलका शब्दहरूले स्पष्ट देखाउँछन्। त्यसोभए, यी कष्टप्रद समयहरूमा मसीही एकता कायम राख्न हामीलाई कुन कुराले मदत गर्नेछ?
ईश्वरीय इच्छाको अधीनमा बस्नुहोस्
३. खतना नगरेका प्रथम गैरयहूदीहरू कहिले र कसरी ख्रीष्टका अनुयायीहरू भए?
३ एकता कायम राख्ने एउटा तरिका हरबखत ईश्वरीय इच्छाको अधीनमा बस्नु हो। यसो गर्न हामीले आफ्नो सोचाइमा छाँटकाँट गर्नुपर्ने हुनसक्छ। येशू ख्रीष्टका प्रारम्भिक यहूदी चेलाहरूलाई विचार गर्नुहोस्। प्रेरित पत्रुसले सा.यु. ३६ मा खतना नगरेकाहरूलाई पहिलो चोटि प्रचार गर्दा त्यहाँ अन्यजातिका मानिसहरूलाई परमेश्वरले पवित्र आत्मा खन्याउनुभयो र तिनीहरूले बप्तिस्मा लिए। (प्रेरित अध्याय १०) त्यतिबेलासम्म यहूदीहरू, यहूदी धर्म अपनाउनेहरू तथा सामरीहरू मात्र येशू ख्रीष्टका अनुयायीहरू भएका थिए।—प्रेरित ८:४-८, २६-३८.
४. कर्नीलियससम्बन्धी घटना वर्णन गरेपछि पत्रुसले के भने र त्यसले येशूका यहूदी चेलाहरूसमक्ष कस्तो चुनौती खडा गऱ्यो?
४ कर्नीलियस तथा अन्य गैरयहूदीहरूले धर्म परिवर्तन गरेको कुरा सुनेपछि यरूशलेममा प्रेरितहरू तथा अन्य भाइहरू पत्रुसको प्रतिवेदन सुन्न इच्छुक थिए। कर्नीलियस तथा अन्य विश्वासी गैरयहूदीहरूबारे विवरण दिएपछि प्रेरित पत्रुसले निष्कर्षमा यी शब्दहरू भने: “जब प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने हामी [यहूदीहरू] जस्तै . . . [ती विश्वास गर्ने अन्यजातिहरूलाई] पनि परमेश्वरले [पवित्र आत्माको] वरदान दिनुभएपछि म को हुँ, र परमेश्वरलाई रोक्नसक्थें?” (प्रेरित ११:१-१७) यसले येशू ख्रीष्टका यहूदी अनुयायीहरूसमक्ष चुनौती खडा गऱ्यो। के तिनीहरू विश्वासी गैरयहूदीहरूलाई आफ्ना सँगी उपासकहरूको रूपमा स्वीकारेर परमेश्वरको इच्छाको अधीनमा बस्ने थिए? वा यहोवाका पार्थिव सेवकहरूको एकता जोखिममा पर्ने थियो?
५. परमेश्वरले गैरयहूदीहरूको पश्चात्ताप स्वीकार्नुभएको तथ्यबारे प्रेरितहरू तथा अन्य भाइहरूले कस्तो प्रतिक्रिया देखाए र हामी यस मनोवृत्तिबाट के सिक्नसक्छौं?
५ विवरणले यसो भन्छ: “यी कुरा सुनेपछि तिनीहरू [प्रेरित तथा अन्य भाइहरू] चूपचाप भए, र यसो भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे, ‘अब ता परमेश्वरले अन्यजातिहरूलाई पनि जीवनको निम्ति पश्चाताप दिनुभएछ।’” (प्रेरित ११:१८) त्यस मनोवृत्तिले येशूका अनुयायीहरूको एकतालाई जोगाउनुका साथै त्यसलाई बढायो। थोरै समयमै गैरयहूदी वा अन्यजातिहरूलाई प्रचार गर्न थालियो र त्यस्ता क्रियाकलापमा यहोवाको आशिष् थियो। नयाँ मण्डली स्थापना गर्न हामीलाई सहयोगको आग्रह गर्दा वा परमेश्वरको पवित्र आत्माको डोऱ्याइमा कुनै ईश्वरतान्त्रिक छाँटकाँट गरिएमा हामीले स्वीकार्नुपर्छ। हामीले पूर्ण हृदयले सहयोग गर्दा यहोवा खुशी हुनुहुनेछ र यी आखिरी दिनमा एकता कायम राख्न मदत दिनुहुनेछ।
सत्यमा लागिरहनुहोस्
६. यहोवाका उपासकहरूको एकतामा सत्यले के अर्थ राख्छ?
६ यहोवाका उपासकहरूको परिवारको हैसियतमा हामी एकतालाई कायम राख्छौं किनभने हामी सबै “परमेश्वरबाट सिकाइएका” हौं र उहाँले प्रकट गर्नुभएको सत्यलाई दृढतासाथ पक्रिराख्छौं। (यूहन्ना ६:४५; भजन ४३:३) हाम्रा शिक्षाहरू परमेश्वरको वचनमा आधारित भएकोले हामी सबै एउटै कुरा बोल्छौं। यहोवाले “विश्वासी र बुद्धिमान दास” मार्फत उपलब्ध गर्नुभएको आध्यात्मिक खाना खुशीसाथ स्वीकार्छौं। (मत्ती २४:४५-४७) यस्तो एकरूप शिक्षाले हामीलाई विश्वव्यापी एकता कायम राख्न मदत दिन्छ।
७. कुनै बुँदा बुझ्न हामीलाई व्यक्तिगत रूपमा गाह्रो भएको छ भने हामीले के गर्नुपर्छ र के गर्नु हुँदैन?
७ व्यक्तिगत तवरमा कुनै बुँदा बुझ्न वा स्वीकार्न आफूलाई गाह्रो भयो भने नि? हामीले बुद्धिको लागि प्रार्थना गर्नुका साथै धर्मशास्त्र तथा मसीही प्रकाशनहरूमा अनुसन्धान गर्नुपर्छ। (हितोपदेश २:४, ५; याकूब १:५-८) प्राचीनसित छलफल गर्नु पनि मदतकारी हुनसक्छ। त्यस बुँदा अझै बुझ्न सकिएन भने त्यसबारे बढी चिन्तित नहुनु नै उत्तम हुनेछ। शायद त्यस विषयबारे थप जानकारी प्रकाशित हुनेछ र हाम्रो समझ विस्तृत हुनेछ। तथापि, हाम्रो भिन्न विचारधारा मण्डलीका अरूलाई स्वीकार्न लाउनु गलत हुनेछ। यसो गर्नु एकता जोगाउन कोसिस गरेको नभई फूटको बीउ रोपेको हुनेछ। ‘सत्यमा चलेर’ अरूलाई पनि त्यस्तै गर्न प्रोत्साहित गर्नु कति बेस हुन्छ!—३ यूहन्ना ४.
८. सत्यप्रति कस्तो मनोवृत्ति उपयुक्त छ?
८ प्रथम शताब्दीमा पावलले यसो भने: “अहिले हामी ऐनामा धमिलोसँग देख्छौं, तर त्यस बेलाचाहिं मुखामुख, अहिले म केही मात्र जान्दछु, तर त्यस बेलाचाहिं जसरी म अहिले चिनिएको छु, त्यसैगरी म प्रष्टै चिन्नेछु।” (१ कोरिन्थी १३:१२) प्रारम्भिक मसीहीहरूले सबै विवरण नबुझे तापनि तिनीहरू एकताबद्ध रहे। अहिले हामीले यहोवाको उद्देश्य र उहाँको सत्य वचनबारे धेरै स्पष्टसित बुझेका छौं। तसर्थ, हामी सबै ‘विश्वासी दास’ मार्फत पाएको सत्यको लागि कृतज्ञ होऔं। अनि हामीलाई यहोवाले आफ्नो संगठन मार्फत डोऱ्याउनुभएकोले कृतज्ञ होऔं। हामीसित सधैं त्यति नै मात्रामा ज्ञान नभए तापनि हामी आध्यात्मिक तवरमा भोका वा तिर्खाएका भने छैनौं। बरु, हाम्रो गोठालो यहोवाले हामीलाई एकतामा बाँध्नुभएर राम्ररी हेरचाह गर्नुभएको छ।—भजन २३:१-३.
जिब्रोलाई ठीकसँग चलाउनुहोस्!
९. एकता बढाउन कसरी जिब्रोलाई चलाउन सकिन्छ?
९ एकता र भ्रातृत्वको आत्मा बढाउनका लागि अरूलाई प्रोत्साहन दिन जिब्रो चलाउनु एउटा महत्त्वपूर्ण तरिका हो। प्रथम शताब्दीमा परिचालक निकायले खतनाको प्रश्न समाधान गर्न पठाएको चिठी प्रोत्साहनको स्रोत थियो। त्यो पढेपछि एन्टिओकका गैरयहूदी चेलाहरू “सान्त्वनाको कुराले खुशी भए।” चिठीसहित यरूशलेमबाट पठाइएका यहूदा र सिलासले ‘धेरै वचनहरूले अर्ती दिएर तिनीहरूलाई स्थिर गराए।’ निस्सन्देह, पावल र बर्णाबासको उपस्थितिले पनि एन्टिओकका सँगी विश्वासीहरूलाई प्रोत्साहन र बल दियो। (प्रेरित १५:१-३, २३-३२) हामी पनि मसीही सभाहरूमा भेला हुँदा त्यसै गर्नसक्छौं र हाम्रो उपस्थिति तथा उत्थानदायी टिप्पणीहरूद्वारा ‘एउटाले अर्कोलाई झन् प्रोत्साहन’ दिनसक्छौं।—हिब्रू १०:२४, २५.
१०. गाली गर्ने भएमा एकता कायम राख्न के गर्नुपर्छ?
१० तथापि, जिब्रोको गलत प्रयोगले हाम्रो एकतालाई खतरामा पार्नसक्छ। चेला याकूबले यसो लेखे: “जिब्रो पनि एउटा सानो इन्द्रिय भएर ठूला ठूला कुराको अभिमान गर्दछ। हेर, एक सानो आगोको झिल्काले कसरी बड़े बड़े वन पनि स्वाहा पार्दछ! औ जिब्रो पनि एउटा आगोनै हो।” (याकूब ३:५) झगडा उत्पन्न गराउने मानिसहरूलाई यहोवा घृणा गर्नुहुन्छ। (हितोपदेश ६:१६-१९) त्यस्ता कुराहरूले अमेल ल्याउनसक्छ। त्यसोभए कसैलाई दुर्व्यवहार गरेर वा अपमानजनक बोली बोलेर गाली गरिरहेको छ भने के गर्ने नि? प्राचीनहरूले गलत कार्य गर्नेलाई मदत दिन कोसिस गर्नेछन्। तथापि, मण्डलीको शान्ति, सुव्यवस्था र एकता कायम राख्न त्यस्ता गाली गर्ने अपश्चात्तापीहरूलाई बहिष्कार गर्नुपर्छ। आखिरमा पावलले यसो लेखे: “म तिमीहरूलाई त्यसको संगत नगर्नू भनेर लेख्तछु, जो भाइ कहलिएर . . . गाली गर्ने, . . . हुन्छ, त्यस्तो मानिससित ता खाँदै पनि नखाओ।”—१ कोरिन्थी ५:११.
११. हामीले भनेको कुनै कुराले आफू र सँगी विश्वासीबीच तनाउ उत्पन्न भएको छ भने नम्रता किन महत्त्वपूर्ण छ?
११ जिब्रोलाई लगाम लगाएर हामी एकता कायम राख्न मदत पाउँछौ। (याकूब ३:१०-१८) तर, मानौं हामीले भनेको कुनै कुराले आफू र सँगी मसीहीबीच तनाउ उत्पन्न भयो। आवश्यक भएमा आफ्नो भाइसित शान्तिमय सम्बन्ध राख्न क्षमा माग्न पनि अग्रसर हुनु के उचित हुनेछैन र? (मत्ती ५:२३, २४) हो, यसको लागि विनम्रता वा नम्रता चाहिन्छ तर पत्रुसले यसो लेखे: “तिमीहरू सबै एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर। किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (१ पत्रुस ५:५) आफ्ना गल्तीहरू स्वीकार्न र भाइहरूसित ‘शान्ति खोज्न’ अनि उपयुक्त ढंगमा क्षमा माग्न नम्रताले प्रेरित गर्नेछ। यसले यहोवाको परिवारमा एकता कायम राख्न मदत दिन्छ।—१ पत्रुस ३:१०, ११.
१२. यहोवाका जनहरूबीच एकता बढाउन र कायम राख्न हामीले जिब्रोलाई कसरी चलाउनसक्छौं?
१२ हामीले यहोवाको संगठनमा भएकाहरूबीच पारिवारिक आत्मा बढाउन आफ्नो जिब्रोलाई ठीकसित चलाउनसक्छौं। पावलले पनि त्यसै गरेकाले थिस्सलोनिकीहरूलाई यसरी सम्झाउन सके: “तिमीहरूलाई थाहै छ, बाबुले आफ्ना छोरा-छोरीहरूलाई जस्तोगरी हामीले तिमीहरूलाई कसरी अर्ती, साहस र साक्षी दिंदै तिमीहरू हरेकसँग व्यवहार गऱ्यौं। यस हेतुले, कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई उहाँको आफ्नै राज्यमा र महिमामा बोलाउनुहुन्छ।” (१ थिस्सलोनिकी २:११, १२) यस सन्दर्भमा पावलले असल नमुना बसालेको हुँदा सँगी मसीहीहरूलाई “हरेस खानेलाई दिलाशा देओ” भनेर आग्रह गर्नसके। (१ थिस्सलोनिकी ५:१४) अरूलाई दिलाशा, प्रोत्साहन दिन र उत्थानदायी कुराहरू गर्न आफ्नो जिब्रोलाई चलाए कति असल हुन्छ, विचार गर्नुहोस्। हो, “ठीक बेलामा भनिएको कुरा झन् कति असल हुन्छ।” (हितोपदेश १५:२३) यसबाहेक, यस्तो बोलीले यहोवाका जनहरूमा एकता बढाउन र कायम राख्न मदत दिन्छ।
क्षमाशील हुनुहोस्!
१३. हामी किन क्षमाशील हुनुपर्छ?
१३ मसीही एकता कायम राख्ने हो भने हामीलाई चोट पुऱ्याउने व्यक्तिले क्षमा माग्दा क्षमा दिनु अत्यावश्यक छ। त्यसोभए हामीले कति चोटि क्षमा दिने? येशूले पत्रुसलाई यसो भन्नुभयो: “म तिमीलाई सात पल्टसम्म भन्दिनँ, तर सात गुणा सत्तरीपल्टसम्म।” (मत्ती १८:२२) हामी क्षमाशील भएनौं भने हाम्रै हानि हुन्छ। तर कसरी? भनौं भने, द्वेष र प्रतिशोधले हाम्रो मनोशान्ति हरण गर्छ। अनि हामी क्रूर तथा अक्षमाशील व्यक्ति भनी चिनिन थाल्यौं भने, हामी आफै अलग्गिन पुग्छौं। (हितोपदेश ११:१७) प्रतिशोध राखेको परमेश्वर मन पराउनुहुन्न र यसले गम्भीर पापतर्फ डोऱ्याउनसक्छ। (लेवी १९:१८) स्मरण रहोस्, “ईख राखेकी” दुष्ट हेरोदियासको षड्यन्त्रले गर्दा बप्तिस्मा दिने यूहन्नाको टाउको काटिएको थियो।—मर्कूस ६:१९-२८.
१४. (क) क्षमा गर्नेबारे मत्ती ६:१४, १५ ले हामीलाई के सिकाउँछ? (ख) हामीले कसैलाई क्षमा गर्नुअघि अरूले क्षमा मागोस् भनेर के सधैं पर्खनैपर्छ?
१४ येशूको नमुना प्रार्थनामा यी शब्दहरू समावेश छन्: “हाम्रा पाप हामीलाई क्षमा गर्नुहोस्, किनकि हामी आफै पनि हाम्रा हरेक ऋणीलाई क्षमा गर्दछौं।” (लूका ११:४) हामी क्षमाशील भएनौं भने कुनै दिन यहोवाले हाम्रा पापहरू क्षमा नगर्नुहुने खतरापूर्ण स्थितिसम्म पुग्नसक्छौं किनभने येशूले यसो भन्नुभयो: “तिमीहरूले मानिसहरूका कसूर क्षमा गऱ्यौ भने तिमीहरूका स्वर्गका पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका कसूर क्षमा गरेनौ भनेता तिमीहरूका पिताले तिमीहरूका कसूर क्षमा गर्नुहुनेछैन।” (मत्ती ६:१४, १५) त्यसैले हामी यहोवाका उपासकहरूको परिवारमा एकता कायम राख्न आफ्नो भूमिका साँच्चै पूरा गर्न चाहन्छौं भने हामी क्षमाशील हुनेछौं र शायद अनजान वा कुनै दुष्ट मनसाय नराखी कसैले हामीलाई अपमान गरेमा त्यसलाई बिर्सनेछौं। पावलले यसो भने: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।” (कलस्सी ३:१३) हामीले क्षमा दियौं भने यहोवाको संगठनमा बहुमूल्य एकता कायम राख्न मदत गर्नेछौं।
एकता र व्यक्तिगत निर्णयहरू
१५. व्यक्तिगत निर्णयहरू गर्दा एकता कायम राख्न यहोवाका जनहरूलाई कुन कुराले मदत गर्छ?
१५ व्यक्तिगत निर्णयहरू गर्ने सुअवसर र जिम्मेवारीसहित परमेश्वरले हामीलाई सही र गलत छुट्टयाउनसक्ने स्वतन्त्र नैतिक अभिकर्ताको रूपमा बनाउनुभयो। (व्यवस्था ३०:१९, २०; गलाती ६:५) यद्यपि, हामीले बाइबलका नियम तथा सिद्धान्तहरू पालन गरेकोले एकता कायम राख्न सकेका छौं। व्यक्तिगत निर्णयहरू गर्दा हामी ती कुराहरू विचार गर्छौं। (प्रेरित ५:२९; १ यूहन्ना ५:३) मानौं, तटस्थतासम्बन्धी प्रश्न खडा भयो। हामी ‘संसारका होइनौं’ र हामीले “आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली” बनाइसकेका छौं भनी सम्झेर व्यक्तिगत निर्णय गर्नसक्छौं। (यूहन्ना १७:१६; यशैया २:२-४) त्यस्तैगरि, सांसारिक राज्यसित हाम्रो सम्बन्धबारे व्यक्तिगत निर्णय गर्नुपर्दा “जे परमेश्वरका हुन् परमेश्वरलाई देओ” भन्ने कुरामा ध्यान दिंदै सांसारिक कुराहरूमा “उच्च अख्तियारवालाहरूका” अधीनमा बस्छौं। (लूका २०:२५; रोमी १३:१-७; तितस ३:१, २) हो, व्यक्तिगत निर्णयहरू गर्दा बाइबलका नियम तथा सिद्धान्तहरूलाई ध्यानमा राखेर मसीही एकता कायम राख्न मदत दिनसक्छौं।
१६. धर्मशास्त्रअनुसार नता सही न गलत कुराहरूको निर्णय गर्दा हामीले कसरी एकता कायम राख्न मदत दिनसक्छौं? उदाहरण दिनुहोस्।
१६ धर्मशास्त्रअनुसार नता सही न गलत पूर्णतया व्यक्तिगत निर्णय गर्दा समेत पनि हामीले मसीही एकता कायम राख्न मदत दिनसक्छौं। त्यो कसरी? हाम्रो निर्णयले असर गर्नसक्ने व्यक्तिहरूप्रति मायालु चासो देखाएर। उदाहरणका लागि: पुरातन कोरिन्थ मण्डलीमा मूर्तिलाई बलि चढाएको मासुबारे प्रश्न उठेको थियो। निस्सन्देह, मसीहीहरूले मूर्तिपूजक उत्सवहरूमा भाग लिनेथिएनन्। तथापि, राम्ररी रगत निथारिएको यस्तो मासु सार्वजनिक बजारमा बेचिएको छ भने त्यो खानु पाप हुनेथिएन। (प्रेरित १५:२८, २९; १ कोरिन्थी १०:२५) तैपनि, त्यस्तो मासु खानेबारे भने केही मसीहीहरूको अन्तस्करण खलबलिएको थियो। अतः पावलले अन्य मसीहीहरूलाई ठेसको कारण नहुन आग्रह गरे। भनौं भने, तिनले यसो लेखे: “खाने कुरोले मेरो भाइलाई बाधा पार्छ भने, म आफ्नो भाइलाई बाधा नपार्नालाई कहिल्यै मासु खानैछैनँ।” (१ कोरिन्थी ८:१३) तसर्थ, बाइबल नियम वा सिद्धान्त केही समावेश नभए तापनि परमेश्वरको परिवारको एकतालाई असर गर्नसक्ने व्यक्तिगत निर्णय गर्दा अरूको ख्याल गर्नु कति मायालु कुरा हो!
१७. व्यक्तिगत निर्णयहरू गर्नैपर्दा हामीले के गर्नु उचित हो?
१७ कुन मार्ग पछ्याउने भनेर पक्का छैन भने आफ्नो अन्तस्करण सफा हुने गरी निर्णय लिनु बुद्धिमानी हो अनि अरूले पनि हाम्रो निर्णयको आदर गर्नुपर्छ। (रोमी १४:१०-१२) निस्सन्देह, आफूले व्यक्तिगत निर्णय गर्नैपर्दा प्रार्थनाद्वारा परमेश्वरको डोऱ्याइ खोज्नुपर्छ। भजनरचयिताले जस्तै हामीले निर्धक्कसाथ यसरी प्रार्थना गर्नसक्छौं: “तपाईंको कान मतिर लगाउनुहोस्। . . . किनकि मेरो चटान र किल्ला तपाईंनै हुनुहुन्छ। यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोऱ्याउनु र अगुवाइ गर्नुहोस्।”—भजन ३१:२, ३.
सधैं मसीही एकता कायम राख्नुहोस्
१८. पावलले मसीही मण्डलीको एकतालाई कसरी उदाहरण दिएर स्पष्ट पारे?
१८ मसीही मण्डलीको एकतालाई बुझाउन पावलले १ कोरिन्थी अध्याय १२ मा मानव शरीरको उदाहरणलाई चलाए। तिनले अंगहरूको आपसी निर्भरता र हरेक अंगको महत्त्वलाई जोड दिए। पावलले प्रश्न गरे: “अब यदि तिनीहरू सबै एउटै अंग हुँदा हुन्, त शरीर कहाँ? तर तिनीहरू धेरै हुन्, र शरीर चाहिं एउटै। औ आँखाले हातलाई मलाई तेरो दरकार छैन, अथवा फेरि शिरले खुट्टालाई मलाई तिमीहरूको दरकार छैन भन्नसक्तैन।” (१ कोरिन्थी १२:१९-२१) त्यसरी नै, यहोवाका उपासकहरूको परिवारमा हामी सबै एकैनासे कार्य गर्दैनौं। यद्यपि, हामी एकताबद्ध छौं र हामीलाई एकअर्कोको खाँचो पर्छ।
१९. परमेश्वरको आध्यात्मिक प्रबन्धहरूबाट हामीले कसरी लाभ उठाउनसक्छौं र यस सन्दर्भमा एक वृद्ध भाइले के भने?
१९ शरीरलाई भोजन, हेरचाह र निर्देशन चाहिएझैं परमेश्वरले आफ्नो वचन, आत्मा र संगठनद्वारा दिनुहुने आध्यात्मिक प्रबन्धहरू हामीलाई चाहिन्छ। यी प्रबन्धहरूबाट लाभ उठाउन हामी यहोवाको पार्थिव परिवारको भाग हुनैपर्छ। परमेश्वरको सेवामा धेरै वर्ष बिताइसकेका एक भाइले यसो लेखे: “सन् १९१४ अघिका दिनहरूमा सबै कुराहरू स्पष्ट नभए तापनि म त्यतिबेलादेखि . . . अहिले दिउँसोको चम्किलो घामजस्तै चमचम सत्य चम्किएको बेलासम्म यहोवाका उद्देश्यहरूको ज्ञानमा बस्न पाएकोले कृतज्ञ छु। मैले कुनै कुरालाई सर्वमहत्त्वपूर्ण ठानेको छु भने त्यो यही हो, यहोवाको दृश्य संगठनको नजीक हुनु। आफ्नो सुरुका अनुभवहरूले मलाई मानव तर्कमा भर पर्नु कस्तो मूर्खता रहेछ भनेर सिकायो। यस्तो निर्णय गरेपछि विश्वासपूर्वक संगठनमा रहने निधो गरें। परमेश्वरको अनुग्रह र आशिष् पाउने के अरू कुनै तरिका छ र?”
२०. यहोवाका जनहरूको हैसियतमा हामी एकताबारे कुन कुरा गर्न कटिबद्ध हुनुपर्छ?
२० यहोवाले आफ्ना जनहरूलाई सांसारिक अन्धकार र अमेलबाट निकाल्नुभएको छ। (१ पत्रुस २:९) उहाँले आफू र हाम्रा सँगी विश्वासीहरूसित आनन्दमय एकताको बन्धन गाँस्नुभएको छ। सन्निकट नयाँ रीतिरिवाजमा पनि यस्तो एकता हुनेछ। तसर्थ, यी आखिरी दिनमा ‘प्रेम धारण गरौं’ र हाम्रो बहुमूल्य एकतालाई बढाउन तथा कायम राख्न यथाशक्य गरौं।—कलस्सी ३:१४.
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ परमेश्वरको इच्छा गरेर अनि सत्यमा लागिरहेर एकता कायम राख्न किन सक्छौं?
◻ ठीकसित जिब्रो चलाउनु एकतासित कसरी सम्बन्धित छ?
◻ क्षमाशील हुनुमा के समावेश छ?
◻ हामीले व्यक्तिगत निर्णयहरू गर्दा कसरी एकता कायम राख्नसक्छौं?
◻ मसीही एकता किन कायम राख्ने?
पृष्ठ १६-मा भएको चित्र]
यो गोठालोले आफ्नो बगाललाई सँगै राखेझैं यहोवाले आफ्नो जनहरूलाई एकताबद्ध राख्नुहुन्छ
पृष्ठ १८-मा भएको चित्र]
हामीले कसैको अपमान गर्दा नम्रतापूर्वक क्षमा मागेर एकता बढाउन मदत गर्छौं