यहोवाको परिवारले बहुमूल्य एकताको आनन्द उठाउँछ
“समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु। कत्ति असल र मनोहर कुरा हुन्छ!”—भजन १३३:१.
१. आज धेरै परिवारहरूको अवस्था कस्तो छ?
आज परिवार संकटमा छ। धेरै परिवारहरूमा वैवाहिक बन्धनहरू टुक्रिनै लागेको छ। पारपाचुके झन् झनै सामान्य भइरहेको छ र पारपाचुके गरेका दम्पतीहरूका छोराछोरीहरूले निकै दुःख भोगिरहेका छन्। लाखौं परिवारहरू दुःखी र विभाजित छन्। यद्यपि, साँचो आनन्द र एकता थाह भएको एउटा परिवार पनि छ। त्यो यहोवा परमेश्वरको विश्वव्यापी परिवार हो। त्यसमा हजारौं अदृश्य स्वर्गदूतहरूले ईश्वरीय इच्छाअनुरूप आफ्नो निर्दिष्ट कार्यभार पूरा गर्छन्। (भजन १०३:२०, २१) तर के पृथ्वीमा त्यस्तो एकताको आनन्द उठाउने कुनै परिवार छ र?
२, ३. (क) अहिले परमेश्वरको विश्वव्यापी परिवारको भाग को हुन् र आज यहोवाका सबै साक्षीहरूलाई कुन कुरासित तुलना गर्न सकिन्छ? (ख) हामी कस्ता प्रश्नहरूको छलफल गर्नेछौं?
२ प्रेरित पावलले यसो लेखे: “म आफ्ना घुँड़ा पिताको सामने टेक्तछु, जसबाट स्वर्ग र पृथ्वीमा हरेक परिवारको नाउँ राखिएको छ।” (एफिसी ३:१४, १५) पृथ्वीको हरेक पारिवारिक वंशावली आफ्नो नाउँको लागि परमेश्वरप्रति आभारी हुनुपर्छ किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ। स्वर्गमा कुनै मानव परिवारहरू नभए तापनि लाक्षणिक अर्थमा भन्ने हो भने परमेश्वरले आफ्नो स्वर्गीय संगठनसित विवाह गर्नुभएको छ र येशू चाहिं स्वर्गमा आफ्नी आध्यात्मिक दुलहीसित एकताबद्ध हुनुहुनेछ। (यशैया ५४:५; लूका २०:३४, ३५; १ कोरिन्थी १५:५०; २ कोरिन्थी ११:२) पृथ्वीमा भएका विश्वासी अभिषिक्त जनहरू अहिले परमेश्वरको विश्वव्यापी परिवारको भाग हुन् र पार्थिव आशा भएका येशूको “अरू भेड़ा” सम्भाव्य सदस्यहरू हुन्। (यूहन्ना १०:१६; रोमी ८:१४-१७; प्रहरीधरहरा, जनवरी १५, १९९६, पृष्ठ ३१) तथापि, आज यहोवाका सबै साक्षीहरूलाई एकताबद्ध विश्वव्यापी परिवारसित तुलना गर्न सकिन्छ।
३ के तपाईं परमेश्वरका सेवकहरूको अद्भुत अन्तरराष्ट्रिय परिवारको भाग हुनुहुन्छ? हुनुहुन्छ भने, जोसुकैले पाउनसक्ने महान् आशिष्हरूको तपाईं आनन्द उठाउनुहुन्छ। यस कलह र अमेल भएको मरुभूमिरूपी संसारमा यहोवाको विश्वव्यापी परिवार अर्थात् उहाँको दृश्य संगठन शान्ति र एकताको मरुद्यान हो भनी लाखौंले पुष्टि दिनेछन्। यहोवाको विश्वव्यापी परिवारको एकतालाई कसरी वर्णन गर्न सकिन्छ? अनि कुन तत्त्वहरूले त्यस्तो एकतालाई बढाउँछन्?
कति असल र मनोहर!
४. भजन १३३ मा भ्रातृ एकताबारे भनिएको कुरालाई तपाईं आफ्नै शब्दमा कसरी व्यक्त गर्नुहुन्छ?
४ भजनरचयिता दाऊदले भ्रातृ एकताको गहिरो मूल्यांकन गरे। तिनी यसबारे भजन गाउनसमेत प्रेरित भए! तिनले आफ्नो वीणा बजाएर यसरी गाएको कल्पना गर्नुहोस्: “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु। कत्ति असल र मनोहर कुरा हुन्छ! यो ता शिरको त्यो उत्तम तेलजस्तो हो, जो दाह्रीमा बगेथ्यो, हारूनकै दाह्रीमा, जो तिनको वस्त्रको किनारसम्मै झरेको थियो। हर्मोनको शीतजस्तै जो सियोनका पहाड़हरूमा झर्छ, किनकि त्यहींनै परमप्रभुले आशिषको आज्ञा दिनुभयो, अनन्तको जीवन।”—भजन १३३:१-३.
५. भजन १३३:१, २ को आधारमा इस्राएलीहरू र परमेश्वरका आधुनिक सेवकहरूबीच कस्तो तुलना गर्न सकिन्छ?
५ ती शब्दहरू परमेश्वरका पुरातन जनहरू अर्थात् इस्राएलीहरूले भ्रातृ एकताबाट उठाएको आनन्दमा लागू भयो। तिनीहरू यरूशलेममा तीनवटा वार्षिक उत्सवका लागि आउँदा एकताबद्ध भएर बस्थे। तिनीहरू विभिन्न कुलबाट आए तापनि एकै परिवार थिए। अभिषेक गर्ने सुगन्धित स्फूर्तिदायक तेलले जस्तै सँगै बस्दा तिनीहरूमा स्वास्थ्यकर प्रभावहरू पर्थ्यो। हारूनको शिरमा त्यस्तो तेल खन्याउँदा दाह्री हुँदै तिनको वस्त्रको किनारसम्मै बग्थ्यो। इस्राएलीहरू सँगै बस्दा एकअर्कामा राम्रो असर पर्थ्यो र यो असर भेला भएका सबैमा फैलिन्थ्यो। मनमुटाउहरू समाधान गरेर एकता बढाइन्थ्यो। आज यहोवाको विश्वव्यापी परिवारमा पनि त्यस्तै एकता विद्यमान छ। नियमित तवरमा भेट्दा त्यसका सदस्यहरूमा स्वास्थ्यकर आध्यात्मिक प्रभाव पर्छ। परमेश्वरको वचनको सल्लाह लागू गरेर कुनै पनि मनमुटाउ वा कठिनाइहरू हटाइन्छ। (मत्ती ५:२३, २४; १८:१५-१७) यहोवाका जनहरूले भ्रातृ एकताको फलस्वरूप प्राप्त हुने पारस्परिक प्रोत्साहनको असाध्यै मूल्यांकन गर्छन्।
६, ७. इस्राएलको एकता हर्मोन पर्वतको शीतजस्तै कसरी भयो र आज परमेश्वरको आशिष् कहाँ पाउन सकिन्छ?
६ इस्राएल एकतामा बस्नु पनि कसरी हर्मोन पर्वतको शीतजस्तै भयो? त्यस पर्वतको शिखर समुद्रको सतहभन्दा २,८०० मिटरमाथि भएकोले प्रायः वर्षभरि नै हिउँले ढाकिएको हुन्छ। हिउँले ढाकिएको हर्मोनको टुप्पामा राती वाफहरू द्रवीकरण हुन्छ र यसबाट पर्याप्त मात्रामा निस्कने शीतले सुक्खा मौसममा वनस्पतिको संरक्षण गर्छ। हर्मोनको पर्वतमाला हुँदो बहने चिसो हावाले यरूशलेमजस्तो सुदूर दक्षिणी क्षेत्रसम्म वाफलाई उडाउँछ र त्यो शीतको रूपमा द्रवीकरण हुन्छ। त्यसकारण भजनरचयिताले ‘सियोनका पहाड़हरूमा हर्मोनको शीत झर्छ’ भनेर ठीकै भने। यहोवाका उपासकहरूको परिवारमा एकता बढाउने स्फूर्तिदायक प्रभावहरूबारे कति राम्रो सम्झौटो!
७ मसीही मण्डली स्थापना हुनुअघि सियोन वा यरूशलेम, साँचो उपासनाको केन्द्र थियो। यसर्थ, परमेश्वरले त्यहाँ आशिष्हरू दिन आज्ञा दिनुभयो। सबै आशिष्हरूको स्रोत यरूशलेमको मन्दिरमा प्रतिनिधित्वको रूपमा रहेकोले आशिष्हरू त्यहाँबाटै प्रकट हुन्थ्यो। तथापि, अहिले साँचो उपासना कुनै एउटा निश्चित स्थानमा मात्रै सीमित नभएकोले आशिष्, प्रेम र परमेश्वरका सेवकहरूको एकता आज सारा पृथ्वीभरि पाउन सकिन्छ। (यूहन्ना १३:३४, ३५) यस एकतालाई बढाउने केही तत्त्वहरू के हुन्?
एकतालाई बढाउने तत्त्वहरू
८. यूहन्ना १७:२०, २१ मा हामी एकताबारे के सिक्छौं?
८ येशू ख्रीष्टका शिक्षाहरूलगायत ठीकसित बुझेको परमेश्वरको वचन पालन गर्नुमा नै यहोवाका उपासकहरूको एकता आधारित छ। सत्यको गवाही दिन र बलिदानरूपी मृत्यु मर्न यहोवाले आफ्नो पुत्रलाई यस संसारमा पठाउनुभयो। यसले गर्दा एकताबद्ध मसीही मण्डली स्थापना गर्ने बाटो खुल्यो। (यूहन्ना ३:१६; १८:३७) त्यसका सदस्यहरूबीच साँचो एकता हुनुपर्छ भन्ने कुरा येशूको यो प्रार्थनाले स्पष्ट पाऱ्यो: “म तिनी- हरूका निम्ति मात्र बिन्ती गर्दिनँ, तर तिनीहरूका वचनद्वारा मलाई विश्वास गर्नेहरूका निम्ति पनि, र तिनीहरू सबै एक होऊन्, जसरी हे पिता, तपाईं ममा, औ म तपाईंमा, तिनीहरू पनि हामीमा होऊन्, र तपाईंलेनै मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्।” (यूहन्ना १७:१९ख, २१) येशूका अनुयायीहरूले पनि परमेश्वर र उहाँको पुत्रबीच विद्यमानजस्तै एकता प्राप्त गरे। परमेश्वरको वचन र येशूका शिक्षाहरूप्रति आज्ञाकारी भएकोले नै तिनीहरूले त्यस्तो एकता प्राप्त गर्न सकेका हुन्। आज यहोवाको विश्वव्यापी परिवारमा एकता हुनुको प्रमुख तत्त्व पनि त्यही मनोवृत्ति हो।
९. यहोवाका जनहरूको एकतामा पवित्र आत्माले कस्तो भूमिका निर्वाह गर्छ?
९ यहोवाका जनहरूलाई एकताबद्ध गर्ने अर्को तत्त्व, हामीसित परमेश्वरको पवित्र आत्मा वा सक्रिय शक्ति हुनु हो। यसले हामीलाई परमेश्वरको वचन मार्फत प्रकट गरिएको सत्य बुझेर उहाँलाई एकताबद्ध ढंगमा सेवा गर्न मदत गर्छ। (यूहन्ना १६:१२, १३) यस आत्माले हामीलाई मनमुटाउ, डाह, रीसमा झोकाझोक र झगडाजस्ता शरीरका विभाजित कार्यहरूबाट अलग बस्न मदत गर्छ। बरु, परमेश्वरको आत्माले प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयमजस्ता एकतामा बाँध्ने फलहरू विकास गर्न मदत गर्छ।—गलाती ५:१९-२३.
१०. (क) एकताबद्ध मानव परिवार र यहोवाप्रति समर्पितहरूमाझ स्पष्ट देखिने प्रेममा के समानान्तर छ? (ख) आफ्ना आध्यात्मिक भाइहरूसितको भेटघाटबारे परिचालक निकायका एक सदस्यले कस्ता भावनाहरू व्यक्त गरे?
१० एकताबद्ध परिवारका सदस्यहरू आपसमा प्रेम गर्छन् र सँगै बस्न पाउँदा आनन्दित हुन्छन्। त्यसरी नै, यहोवाका उपासकहरूको एकताबद्ध परिवारका सदस्यहरूले उहाँ, उहाँको पुत्र र सँगी विश्वासीहरूलाई प्रेम गर्छन्। (मर्कूस १२:३०; यूहन्ना २१:१५-१७; १ यूहन्ना ४:२१) एउटा मायालु परिवारले सँगै बसेर भोजनको आनन्द उठाएझैं परमेश्वरप्रति समर्पित भएकाहरू मसीही सभा, सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित भएर असल संगति र उत्कृष्ट आध्यात्मिक भोजनबाट लाभ उठाउँदा हर्षित हुन्छन्। (मत्ती २४:४५-४७; हिब्रू १०:२४, २५) यहोवाका साक्षीहरूको परिचालक निकायका एक सदस्यले एक चोटि यसो भने: “भाइहरूलाई भेट्नु भनेको मेरो लागि जीवनमा सबैभन्दा ठूलो आनन्द र प्रोत्साहनको स्रोत हो। सम्भव भएमा राज्य भवनमा सबैभन्दा पहिला पुग्न र फर्किंदा पनि सबैभन्दा अन्तमा निस्किन मलाई मन पर्छ। परमेश्वरका जनहरूसित कुरा गर्न पाउँदा म भित्रैदेखि आनन्दित महसुस गर्छु। तिनीहरूको माझमा मलाई आफ्नै परिवारसित बसेझैं लाग्छ।” के तपाईंलाई पनि त्यस्तै लाग्छ?—भजन २७:४.
११. यहोवाका साक्षीहरू विशेषगरि कुन कार्यमा आनन्द प्राप्त गर्छन् र परमेश्वरको सेवालाई हाम्रो जीवनको केन्द्रबिन्दु बनाउँदा परिणाम के के हुन्छन्?
११ एकसाथ मिलेर कामकुराहरू गर्न पाउँदा एकताबद्ध परिवार आनन्दित हुन्छ। त्यसरी नै यहोवाका उपासकहरूको परिवारमा भएकाहरूले एकताबद्ध ढंगमा परमेश्वरको राज्यको प्रचार गरेर चेला बनाउने कार्यमा भाग लिन पाउँदा आनन्दित हुन्छन्। (मत्ती २४:१४; २८:१९, २०) यस कार्यमा नियमित तवरमा भाग लियौं भने, यहोवाका अन्य साक्षीहरूसित घनिष्ठ हुन्छौं। परमेश्वरको सेवालाई हाम्रो जीवनको केन्द्रबिन्दु बनाएर उहाँका जनहरूका सबै क्रियाकलापहरूलाई समर्थन गऱ्यौं भने, हामीबीच पारिवारिक आत्मा बढ्छ।
ईश्वरतान्त्रिक सुव्यवस्था अत्यावश्यक छ
१२. आनन्दित र एकताबद्ध परिवारका विशेषताहरू के हुन् र प्रथम शताब्दीका मसीही मण्डलीहरूमा कस्तो प्रबन्धले एकतालाई बढायो?
१२ प्रभावशाली तर मायालु नेतृत्व भएको सुव्यवस्थित परिवार सम्भवतः एकताबद्ध र आनन्दित हुन्छ। (एफिसी ५:२२, ३३; ६:१) यहोवा शान्तिमय सुव्यवस्थाको परमेश्वर हुनुहुन्छ र उहाँको परिवारमा भएका सबैले उहाँलाई “सर्वोच्च” मान्छन्। (दानियल ७:१८, २२, २५, २७; १ कोरिन्थी १४:३३) परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टलाई सबै कुराहरूका उत्तराधिकारी नियुक्त गर्नुभएको छ र स्वर्ग तथा पृथ्वीमा सबै अख्तियार दिनुभएको छ भन्ने कुरा पनि तिनीहरूले स्वीकार्छन्। (मत्ती २८:१८; हिब्रू १:१, २) ख्रीष्ट मसीही मण्डलीको शिर हुनुभएकोले त्यो मण्डली सुव्यव- स्थित, एकताबद्ध संगठन हो। (एफिसी ५:२३) प्रथम शताब्दीमा मण्डलीहरूका क्रियाकलापहरू सुपरिवेक्षण गर्न प्रेरितहरू तथा आध्यात्मिक तवरमा परिपक्व “धर्मगुरुहरू” मिलेर बनेको परिचालक निकाय थियो। मण्डलीहरूमा चाहिं नियुक्त निरीक्षक वा प्राचीन तथा सेवकाई सेवकहरू हुन्थे। (प्रेरित १५:६; फिलिप्पी १:१) अगुवाइ गर्नेहरूको आज्ञा पालन गर्दा एकता बढ्थ्यो।—हिब्रू १३:१७.
१३. यहोवाले मानिसहरूलाई कसरी खिंच्नुहुन्छ र यसको नतिजा के हुन्छ?
१३ तर के यहोवाका उपासकहरूको सुव्यवस्थित एकता प्रभावशाली, भावशून्य नेतृत्वको कारणले हो भन्न सकिन्छ त? कदापि सकिंदैन! परमेश्वर वा उहाँको संगठनबारे निठुरी कुरा केही पनि छैन। यहोवाले मानिसहरूलाई प्रेम प्रकट गर्नुभएर खिंच्नुहुन्छ र वर्षेनी लाखौंले आफ्नो पूर्ण हृदयले बप्तिस्मा लिएर परमेश्वरप्रतिको समर्पणलाई प्रतीकात्मक रूप दिन्छन्। अनि यसो गरेर तिनीहरू स्वेच्छापूर्वक आनन्दित भई यहोवाको संगठनको भाग हुन्छन्। तिनीहरूको मनोवृत्ति यहोशूको जस्तै छ, जसले आफ्ना सँगी इस्राएलीहरूलाई यसरी आग्रह गरे: “तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज . . . तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।”—यहोशू २४:१५.
१४. यहोवाको संगठन ईश्वरतान्त्रिक छ भनेर हामी किन भन्नसक्छौं?
१४ हामी यहोवाको परिवारको भाग भएकोले आनन्दित मात्र होइन तर सुरक्षित पनि छौं। किनभने उहाँको संगठन ईश्वरतान्त्रिक छ। परमेश्वरको राज्य एउटा ईश्वरतन्त्र हो (थिओस, परमेश्वर र क्रातोस, शासन, युनानीबाट)। यो परमेश्वर स्वयंद्वारा अनुमोदित र स्थापित शासन हो। यहोवाको अभिषिक्त “पवित्र जाति” उहाँको शासनको अधीनमा छ। तसर्थ, यो ईश्वरतान्त्रिक छ। (१ पत्रुस २:९) हाम्रो न्यायकर्ता, शासक र राजाको रूपमा महान् ईश्वरतन्त्रवादी यहोवा हुनुभएकोले हामीले असुरक्षित महसुस गर्नुपर्ने कुनै कारण छैन। (यशैया ३३:२२) यद्यपि, कुनै झगडा उत्पन्न भएर हाम्रो आनन्द, सुरक्षा र एकतालाई खतरामा पार्छ भने नि?
परिचालक निकायले कदम चाल्छ
१५, १६. प्रथम शताब्दीमा कस्तो विवाद उत्पन्न भयो र किन?
१५ परिवारको एकता जोगाउन कहिलेकाहीं झगडाहरू सुल्झाउनुपर्ने हुन्छ। त्यसोभए मानौं, सा.यु. प्रथम शताब्दीमा परमेश्वरका उपासकहरूको परिवारबीच एकता जोगाउन आध्यात्मिक समस्या समाधान गर्नु पऱ्यो। के गर्नुपर्ने हो? परिचालक निकायले आध्यात्मिक विषयहरूबारे निर्णय गरेर कदम चाल्यो। त्यतिबेला त्यस्तो कार्य गरेको हामीसित धर्मशास्त्रीय अभिलेख छ।
१६ एउटा गम्भीर समस्या सुल्झाउन सा.यु. ४९ तिर यरूशलेममा “परमेश्वरका घराना[को]” एकता जोगाउन परिचालक निकायको बैठक बस्यो। (एफिसी २:१९) त्यसको झन्डै १३ वर्षअघि प्रेरित पत्रुसले कर्नीलियसलाई प्रचार गरेका थिए र गैरयहूदी अथवा अन्यजातिहरूमध्येबाट बप्तिस्माप्राप्त विश्वासीहरू भएका प्रथम व्यक्तिहरू तिनीहरू नै थिए। (प्रेरित अध्याय १०) पावलको पहिलो मिसनरी यात्राको दौडान थुप्रै गैरयहूदीहरूले मसीही धर्म अपनाए। (प्रेरित १३:१–१४:२८) वास्तवमा सिरियाको एन्टिओकमा गैरयहूदीहरूको मण्डली स्थापना भइसकेको थियो। केही यहूदी मसीहीहरूको विचारमा धर्म परिवर्तन गरेका गैरयहूदीहरूले खतना गरेर मोशाको व्यवस्था पालन गर्नुपर्थ्यो तर अरू भने यसमा सहमत थिएनन्। (प्रेरित १५:१-५) त्यो विवादले गर्दा यहूदी र गैरयहूदीहरूको छुट्टै मण्डलीहरू स्थापना गर्ने हदसम्म अमेल हुनसक्थ्यो। तसर्थ, परिचालक निकायले मसीही एकता जोगाउन तुरुन्तै कदम चाल्यो।
१७. प्रेरित अध्याय १५ मा कस्तो सामञ्जस्य ईश्वरतान्त्रिक प्रक्रिया वर्णन गरियो?
१७ प्रेरित १५:६-२२ अनुसार “यस विषयमा सोच विचार गर्नालाई प्रेरितहरू र धर्मगुरुहरू भेला भए।” एन्टिओकका प्रतिनिधिहरूलगायत अरूहरू पनि उपस्थित थिए। ‘तिनको मुखबाट अन्यजातिहरूले सुसमाचार वचन सुनेर विश्वास गरेका थिए’ भनेर पत्रुसले सुरुमै बुझाए। त्यसपछि ‘हामीद्वारा परमेश्वरले गैरयहूदीहरूका बीचमा कस्ता चिह्नहरू र आश्चर्यकर्महरू गर्नुभयो भनी बर्णाबास र पावलले’ व्याख्या गरेका “भीड़ सबै[ले]” सुने। पछि त्यो मामिला कसरी सुल्झाउन सकिएला भनेर याकूबले सुझाउ दिए। परिचालक निकायले निर्णय गरेपछि हामीलाई यसो भनिएको छ: “प्रेरितहरू, र धर्मगुरुहरू, र मण्डलीका सबै जना समेतलाई तिनीहरूमध्येबाट कुनै कुनै मानिसहरूलाई, भाइहरूमध्ये मुख्य मुख्य मानिस[लाई], . . . चुनेर पावल र बर्णाबासका साथमा एन्टिओकमा पठाउनालाई असल लाग्यो।” यी ‘चुनिएका मुख्य मुख्य मानिस’ अर्थात् यहूदा र सिलासले सँगी विश्वासीहरूलाई प्रोत्साहनदायी चिठी लगे।
१८. परिचालक निकायले मोशाको व्यवस्थासम्बन्धी के निर्णय गऱ्यो र त्यसले यहूदी तथा गैरयहूदी मसीहीहरूलाई कसरी असर गऱ्यो?
१८ परिचालक निकायको निर्णय घोषणा गरिएको चिठीका प्रारम्भिक शब्दहरू यसप्रकार थिए: “एन्टिओक, सिरिया र सिलिसियामा रहने अन्यजाति भाइहरूलाई प्रेरित र धर्मगुरु भाइहरूको सलाम।” अरू भाइहरू पनि यस ऐतिहासिक सभामा उपस्थित भए तर सम्भवतः परिचालक निकायमा “प्रेरितहरू, र धर्मगुरुहरू” समावेश थिए। परमेश्वरको आत्माले तिनीहरूलाई डोऱ्यायो किनभने चिठी यसो भन्छ: “यी जरूरतका कुराहरू बाहेक अरू बढ़ता बोझ तपाईंहरूलाई नबोकाउनामानै पवित्र आत्मालाई र हामीलाई असल लाग्यो। तपाईंहरू मूर्तिहरूलाई बलि चड़ाएको प्रसाद, रगत, गला अँठ्याएर मारेको जन्तुको मासु र व्यभिचारबाट अलग रहनुहोस्।” (प्रेरित १५:२३-२९) मसीहीहरूले खतना गरेर मोशाको व्यवस्था पालन गर्नु पर्दैन थियो। यस्तो निर्णयले यहूदी तथा गैरयहूदी मसीहीहरूलाई एकताबद्ध भएर काम गर्न मदत दियो। आज सारा पृथ्वीभरि परमेश्वरको परिवारमा यहोवाका साक्षीहरूको परिचालक निकायको आध्यात्मिक डोऱ्याइमा मण्डलीहरू आनन्दित भएझैं त्यसबेलाका मण्डलीहरू हर्षित भए र बहुमूल्य एकता कायमै रह्यो।—प्रेरित १५:३०-३५.
ईश्वरतान्त्रिक एकतामा सेवा गर्नुहोस्
१९. यहोवाका उपासकहरूको परिवारमा एकता किन फस्टाएको छ?
१९ परिवारका सदस्यहरूले आपसी सहयोग गर्दा एकता फस्टाउँछ। यहोवाका उपासकहरूको परिवार पनि त्यस्तै हो। प्रथम शताब्दीमा मण्डलीका प्राचीनहरू तथा अन्य व्यक्तिहरूले ईश्वरतान्त्रिक भई परिचालक निकायलाई पूर्ण सहयोग गर्दै त्यसका निर्णयहरू स्वीकारेर परमेश्वरको सेवा गरे। परिचालक निकायको मदतद्वारा प्राचीनहरूले ‘वचन प्रचार गरे’ र मण्ड- लीका सदस्यहरूले साधारणतया ‘एउटै कुरा बोले।’ (२ तिमोथी ४:१, २; १ कोरिन्थी १:१०) चाहे यरूशलेम, एन्टिओक, रोम, कोरिन्थ जहाँसुकै होस्, सेवकाई र मसीही सभाहरूमा एउटै प्रकारका धर्मशास्त्रीय सत्यहरू प्रस्तुत गरिए। त्यस्तै ईश्वरतान्त्रिक एकता आज विद्यमान छ।
२०. हाम्रो मसीही एकता जोगाउन हामीले के गर्नैपर्छ?
२० हाम्रो एकता जोगाउन यहोवाको विश्वव्यापी परिवारका हामी सबैले ईश्वरतान्त्रिक प्रेम यथाशक्य प्रदर्शन गर्ने प्रयास गर्नुपर्छ। (१ यूहन्ना ४:१६) हामी परमेश्वरको इच्छाअनुसार चल्नुपर्छ र ‘विश्वासी दास’ तथा परिचालक निकायप्रति गहिरो आदर देखाउनुपर्छ। निस्सन्देह, परमेश्वरप्रति हाम्रो समर्पणजस्तै आज्ञाकारिता पनि स्वैच्छिक र आनन्ददायी हो। (१ यूहन्ना ५:३) भजनरचयिताले कति सुहाउँदो ढंगमा आनन्द र आज्ञाकारिताको सम्बन्धलाई गाँसेका छन्! तिनले गाए: “परमप्रभुको प्रशंसा गर। त्यो मानिस धन्यको हो जसले परमप्रभुको भय मान्दछ, र उहाँका आज्ञाहरूमा प्रसन्न हुन्छ।”—भजन ११२:१.
२१. ईश्वरतान्त्रिक छौं भनेर हामीले कसरी प्रमाणित गर्नसक्छौं?
२१ मण्डलीको शिर, येशू पूर्णतया ईश्वरतान्त्रिक हुनुहुन्छ र सधैं आफ्नो पिताको इच्छा गर्नुहुन्छ। (यूहन्ना ५:३०) अतः यहोवाको इच्छा गर्दै उहाँको संगठनलाई पूर्ण सहयोग गरेर ईश्वरतान्त्रिक र एकताबद्ध ढंगमा हामी आफ्नो आदर्शलाई पछ्याऔं। त्यसपछि हार्दिक आनन्द र कृतज्ञतासाथ भजनरचयिताको यो भजन गुञ्जायमान गर्नसक्छौं: “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु। कत्ति असल र मनोहर कुरा हुन्छ!”
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ हाम्रो मसीही एकता भजन १३३ सित कसरी सम्बन्धित हुनसक्छ?
◻ एकतालाई बढाउने केही तत्त्वहरू के हुन्?
◻ परमेश्वरका जनहरूको एकतामा ईश्वरतान्त्रिक सुव्यवस्था किन अत्यावश्यक छ?
◻ एकता जोगाउन प्रथम शताब्दीको परिचालक निकायले कस्तो कदम चाल्यो?
◻ ईश्वरतान्त्रिक एकतामा सेवा गर्नुले तपाईंको लागि के अर्थ राख्छ?
[पृष्ठ ८-मा भएको चित्र]
एकता जोगाउन परिचालक निकायले कदम चाल्यो