आफ्ना छोरा-छोरीमा मसीही व्यक्तित्वको विकाश गराउनु
लोग्नेले परित्याग गरिएकी वान्डाकी आमाले आफ्नी छोरीमा मसीही व्यक्तित्वको विकाश गराउनमा कड़ा परिश्रम गरिन्। वान्डा १२ वर्षकी हुँदा, यो प्रशिक्षणको जाँच भयो। त्यस बेला, वान्डा र उसको एउटा भाइ र बहिनी, आमालाई छाड़ेर केही समयका निम्ति बाबुसित बस्न वाध्य भए। उसको बाबु सच्चाइमा थिएन। त्यसकारण उसमाथि नजर राख्न उसकी आमा त्यहाँ नभएको बेलामा वान्डाको व्यवहार कस्तो हुनेछ?
सबै मसीही आमा-बाबुका निम्ति अन्ततोगत्वा एउटा समय आउँछ जब तिनीहरूका छोरा-छोरीहरूले आफ्नो विश्वासको जाँच गर्दै आफैले निर्णयहरू लिनु पर्दछ। वान्डा जस्तै, छोरा-छोरीहरू आफ्ना मसीही आमा-बुबाबाट छुट्टिनु सक्छन्। स्कूलमा हुँदा गलत काम गर्ने दबाव तिनीहरूमाथि स्कूलका साथीहरूबाट पर्न सक्तछ। अथवा तिनीहरूका सामुन्ने जोरदार प्रलोभनहरू आउन सक्तछन्। त्यस्तो समय आउँदा, छोरा-छोरीहरूमा परीक्षाको मुकाविला गर्न सक्ने बलियो मसीही व्यक्तित्व होस् भनी मसीही आमा-बाबुहरू आशा गर्दै प्रार्थना गर्दछन्।
आफ्ना छोरा-छोरीहरूमा आमा-बाबुहरूले कसरी बलियो मसीही व्यक्तित्व को विकाश गराउन सक्तछन्? वान्डालाई के भयो भनी थाह लगाउनु भन्दा पहिले, यस प्रश्नको जवाफ दिन बाइबलले हामीलाई कसरी मदत गर्दछ, सो हेरौं। जवाफको आधार, कोरिन्थका मसीहीहरूलाई प्रेरित पावलले भनेका यी शब्दहरूमा पाइन्छ: “बसालिएको जगबाहेक, जो येशू ख्रीष्टनै हुनुहुन्छ, कुनै मानिसले अर्को जग बसाल्नसक्तैन। तर यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थरहरू, काठ, घाँस, परालको घर बनाउँछ भने, हरेक मानिसको काम प्रत्यक्ष हुनेछ। त्यो आगैमा प्रकट हुनेभएको हुनाले त्यसै दिनले त्यसलाई बताउनेछ, र हरेक मानिसको काम कस्तो किसिमको रहेछ भन्ने आगैले प्रमाण दिनेछ।”—१ कोरिन्थी ३:११-१३.
जग
पावलले यी शब्दहरू किन लेखे? तिनले कोरिन्थमा मसीही व्यक्तित्व विकाश गराउने एउटा कार्यक्रम शुरू गरेका थिए, तर त्यो कार्यक्रममा समस्याहरू आइ पऱ्यो। यथार्थमा, पावलको त्यस कार्यक्रममा तिनका नीजका छोरा-छोरीहरू विथोलित थिएनन्। त्यसमा तिनको प्रचारद्वारा मसीही भएकाहरू विथोलित थिए। तर तिनीहरूलाई तिनले आफ्नै आध्यात्मिक सन्तान सरहनै ठाने, र तिनले जे भने त्यो आमा-बाबुहरूका निम्ति पनि उपयोगी छ।—१ कोरिन्थी ४:१५.
केही समय अघि पावल कोरिन्थमा आएर त्यहाँ एउटा मसीही मण्डली स्थापित गरेका थिए। तिनले प्रचार द्वारा सिकाएका कुराहरू स्वीकार्नेहरूले आ-आफ्ना व्यक्तित्वमा ठूला-ठूला परिवर्तनहरू गरेका थिए। ती मध्य पहिले कोही त अनैतिक व्यक्तिहरू, चोरहरू, मूर्तिपूजकहरू र मतवालाहरू थिए। (१ कोरिन्थी ६:९-११) तर पावलले एउटा जग बसालिदिएका हुनाले तिनीहरू मसीही सोंचाइ अनुसारको परिवर्तन ल्याउन सक्षम भए। त्यो जग के थियो? “बसालिएको जगबाहेक, जो येशू ख्रीष्टनै हुनुहुन्छ, कुनै मानिसले अर्को जग बसाल्नसक्तैन।”—१ कोरिन्थी ३:११.
कोरिन्थमा ती नया विश्वासीहरूलाई सिकाउँदा, पावलले त्यो जग कसरी बसाले? तिनी हामीलाई भन्दछन्: “ए भाइ हो, जब म तिमीहरू कहाँ आएँ, तब बात र ज्ञानको सर्वश्रेष्टतामा परमेश्वरको रहस्य सुनाउन म आएको थिइनँ। किनभने मैले तिमीहरूका बीचमा येशू ख्रीष्ट र उहाँलाई क्रूसमा [काठमा न्यु. व.] टाँगेको कुराबाहेक अरू केही नजानेको हुनेनै अठोट गरेको थियो।” (१ कोरिन्थी २:१, २; प्रेरित १८:५) तिनले आफू प्रति ध्यान आकर्षित गराएनन् अथवा सच्चाइलाई सिंगार-पेटार गरेर त्यसलाई एउटा देखावटी बौद्धिक रूप दिएनन्। बरु, तिनले येशू ख्रीष्ट र परमेश्वरले उहाँलाई प्रयोग गर्नु भएको तरिका तर्फ ध्यान आकर्षित गराए।
यथार्थमा, मसीही व्यक्तित्व विकाश गर्ने कामका लागि, येशूनै एउटा अति भव्य र बलियो जग हुनुहुन्छ। उहाँले हाम्रो छुटकाराका निम्ति बलिदान दिनुभयो। उहाँ अब स्वर्गमा राजा हुनुहुन्छ र त्यसो भएको हुनाले, आर-मागेदोनमा चाँड़ैनै उहाँले परमेश्वरका शत्रुहरूलाई नाश गर्नु हुनेछ। अनि एक हजार वर्षसम्म उहाँले परमेश्वरको धार्मिकताको परिचालन गर्नु हुनेछ, र परमेश्वरका प्रधान पूजाहारीको रूपमा, मानवजातिलाई क्रमशः सिद्धतातर्फ उचाल्नु हुनेछ। यस प्रकारको जग हुँदा हुँदै, अर्कै जगको चाहना कसले गर्ला र?
भवन
तथापि, पावलले यति राम्रो जग बसाले तापनि, तिनी त्यहाँबाट गए पछि व्यक्तित्व विकाशको काममा केही बाधा पर्न गयो। (१ कोरिन्थी ३:१०) आजका आमा-बाबुले अनुभव गर्नु परेको भन्दा समस्या भिन्न थिएन। आमा-बाबुले आफ्ना छोरा-छोरीहरूलाई मसीही विश्वासमा हुर्काउँछन् र छोरा-छोरीहरूले सच्चाइ बुझेका छन् भनी तिनीहरू ढुक्क हुन्छन्। तर तिनीहरूको उमेर अलिक बढ़दै गए पछि, छोरा-छोरीहरू सच्चाइको मार्गबाट टाढ़ा जान थाल्छन् वा विश्वासलाई इन्कार गर्दछन्। त्यसो किन हुन्छ? निर्माणको काममा प्रयोग गरिएका सामानहरूको कारण अकसर त्यसो हुन्छ।
सुन, चाँदी, र बहुमूल्य पत्थरहरू जस्ता मूल्यवान सामानहरूबाट व्यक्तित्वको विकाश गर्न सकिन्छ भनी पावलले भने। अथवा काठ, घाँस, पराल जस्ता सस्ता खालका सामानहरूबाट पनि यो विकाशको काम गर्न सकिन्छ। (१ कोरिन्थी ३:१२) अब, घर बनाउने कुनै मानिसले सुन, चाँदी, र बहुमूल्य पत्थरहरूको प्रयोग गर्दछ भने, जरुर पनि उसले एउटा उच्चस्तर र बेसकिम्मती भवन खड़ा गरिरहेको हुनु पर्दछ। तर भवन बनाउनेले काठ, घाँस, पराल प्रयोग गर्दछ भने ता, उसले अलिक दिनका निम्ति काम चलाउ, र सस्तो खालको भवन बनाइ रहेको हुनुपर्छ।
कोरिन्थमा कमसल आध्यात्मिक सामानहरू प्रयोग गरिंदै थियो जस्तो देखिन्छ। प्रेरित पावलले बसालेका जगमाथि केहीले बलियो, र टिकाउ हुने गरी निर्माण गर्नुको सट्टा, सस्तो ढङ्गमा निर्माण गरिरहेका थिए। कोरिन्थीहरूले मानिसहरूको मुख हेर्न थालेका थिए, र तिनीहरूका बीचमा फूट, डाह, झगड़ा थियो। (१ कोरिन्थी १:१०-१२; ३:१-४) यसलाई कसरी रोक्न सकिन्थ्यो? असल खाले, र टिकाउ सामानहरू प्रयोग गरेर।
यी असल, टिकाउ सामानहरूले ती अमूल्य गुणहरूको प्रतिनिधित्व गर्दछ जो मसीहीको व्यक्तित्वको एउटा महत्त्वपूर्ण भाग हो। ती गुणहरू के हुन्? प्रेरित पत्रुसले यस प्रकार उल्लेख गरेकाछन्: “तिमीहरूको विश्वासको प्रमाण, सुनभन्दा ज्यादै किम्मती छ।” (१ पत्रुस १:६, ७) सुलेमान राजाले दुइटा अरू गुणहरूको उल्लेख गरेकाछन्: बुद्धि र समझ-शक्ति। यी गुणहरू आफूसँग भएमा, ती “चाँदीभन्दा धेरै लाभदायक” हुनेछन्। (हितोपदेश ३:१३-१५) र दाऊद राजाले हामीलाई सम्झना गराएकाछन् कि यहोवाको भय र उहाँको आज्ञाको मूल्याङ्कन “सुनभन्दा पनि मनपर्ने हुन्छन्।”—भजनसंग्रह १९:९, १०.
मसीही व्यक्तित्व बनाउनमा यी र अरू अन्य मूल्यवान सामग्रीहरूको प्रयोग गर्नसकिन्छ जसले गर्दा परीक्षाहरू आइपर्दा हाम्रा छोरा-छोरीहरू उम्कन सक्तछन्। तथापि, त्यस प्रकारका सामग्रीहरू हामी प्रयोग गर्दै छौं भनी हामी कसरी विश्वस्त हुनसक्तछौं? हाम्रा छोरा-छोरी र साथै आफ्नो हृदय तर्फ ध्यान दिएर।
एउटा सफल निर्माण काम
निर्माणको यो कार्यमा आमा-बाबुको भूमिका, पुरातन इस्राएली राष्ट्रलाई यहोवाले दिनु भएको यो आज्ञामा देख्न सकिन्छ: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख।” अनि अगाड़ि उहाँले भन्नुभयो: “तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशियारीसाथ सिकाओ।” (व्यवस्था ६:६, ७) त्यसकारण, अरूहरूलाई उँभो सार्नु भन्दा अघि, हामीले आफूलाई नै पहिले बलियो बनाउनु पर्दछ। हामी जे भन्दछौं र गर्दछौं, त्यसबाट छोरा-छोरीहरूले देख्न सक्नु पर्दछ कि हाम्रो व्यक्तित्व ठीक सामग्रीहरूबाट बनेको छ।—कलस्सी ३:९, १०.
अनि, हाम्रो शिक्षाले तिनीहरूको हृदयलाई छुन सक्नु पर्दछ। मसीही व्यक्तित्वहरू निर्माण गर्ने काममा सबै भन्दा सफल निर्माणकर्त्ता येशू ख्रीष्टले उदाहरणहरू र प्रश्नहरूद्वारा हृदय छुनु हुन्थ्यो। (मत्ती १७:२४-२७; मर्कूस १३:३४) यस्तै प्रकारका शिक्षा विधिहरू बड़ो प्रभावकारी हुन्छन् भनी मसीही आमा-बाबुहरूले पनि महसुस गरेका छन्। तिनीहरूले आफ्ना साना छोरा-छोरीहरूलाई घत लाग्ने ढङ्गमा मसीही सच्चाइहरू उदाहरणहरू द्वारा सिकाउने गर्छन् र तिनीहरूका अलिक उमेर पुगेका छोरा-छोरीहरू वास्तवमा के सोची रहेकाछन् र मनै मन, कुन प्रकारको तर्क गरिरहेछन् भनी थाह लाउन, राम्रोसँग विचार गरेर प्रश्नहरूको प्रयोग गर्दछन्।—हितोपदेश २०:५.
विश्वासी रहने इच्छा इस्राएलीहरूमा जगाउने प्रयास गर्दा, मोशाले भने: “तिमीहरूका हितको लागि . . .परमप्रभुका [यहोवाका न्यु. व.] आज्ञा र विधिहरू मान।” (व्यवस्था १०:१३) त्यसैगरी, आमा-बाबुहरूले आफ्ना छोरा-छोरीहरूलाई परमेश्वरका सिद्धान्तहरू के हुन् भनेर स्पष्टसँग बताउने मात्र होइन कि तर इमान्दारी, नैतिक शुद्धता, र असल सङ्गति जस्ता कुराहरू तिनीहरूका निम्ति किन हितकर छन् भनी चित्त बुझ्दो ढङ्गमा व्याख्या गरिदिएमा राम्रो हुनेछ।
अन्तमा, येशूले भन्नुभयो: “औ अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) सानै उमेरमा केटा-केटीहरूले यहोवालाई चिने भने, आफ्नो समस्याबारे उहाँसँग कुरा गर्न सिके भने, र उहाँले तिनीहरूका प्रार्थनाको जवाफ दिनुभ- एको अनुभव गरे भने, तिनीहरूले मसीही व्यक्तित्वको अत्यन्त महत्त्वपूर्ण भाग, अर्थात् तिनीहरूका सृष्टिकर्त्तासित एउटा व्यक्तिगत सम्बन्धको विकाश गर्न सक्तछन्।
आगो
निर्माणको काम राम्ररी न गरिंदा, दलबन्दी र मत विभिन्नता जस्ता सांसारिक प्रवृत्तिहरूले जरा गाड्न थालेको कुरा पावलले कोरिन्थमा पाए। यो खतरनाक थियो किनकि, तिनले व्याख्या गरे अनुसार, “हरेक मानिसको काम कस्तो किसिमको रहेछ भन्ने आगैले प्रमाण दिनेछ।”—१ कोरिन्थी ३:१३.
त्यो आगो के हो? मसीहीमाथि शैतानले ल्याउने त्यो कुनैपनि परीक्षा हुनसक्तछ। त्यो परीक्षा साथीहरूको दबाव, शारीरिक प्रलोभन, भौतिकवाद, सतावट वा शङ्काहरू समेतको क्षयकर प्रभावको रूपमा आउन सक्तछ। यस प्रकारका परीक्षाहरू निश्चयनै आउने छन्। “हरेक मानिसको काम प्रत्यक्ष हुनेछ। त्यो आगैमा प्रकट भएको हुनाले त्यसै दिनले त्यसलाई बताउनेछ।” छोरा-छोरीहरू परीक्षामा पर्नेनै छन् भन्ने कुराको आशा गर्दै बुद्धिमान आमा-बाबुहरूले तिनीहरूको छोरा-छोरीहरूको व्यक्तित्वको विकाश गर्छन्। तर यहोवाको मदतले तिनीहरूका छोरा-छोरीहरू परीक्षामा सफल हुनेछन् भनी तिनीहरू विश्वस्त हुन्छन्। आमा-बाबुहरूले यस प्रकारको मनोवृत्ति राखेमा, तिनीहरूले धेरैनै आशिष पाउनेछन्।
इनाम
पावलले भने: “त्यसमाथि बनाएको कुनै मानिसको काम पक्का रह्यो भने, त्यसले इनाम पाउनेछ।” (१ कोरिन्थी ३:१४) प्रेरित पावलले इनाम पाए। थिस्सलोनिकी शहरमा पनि पावलले निर्माणको काम गरेका थिए र त्यहाँका मसीहीहरूलाई तिनले लेखे: “हाम्रो आशा, वा आनन्दको, अथवा घमण्डको मुकुट के हो? हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा तिमीहरूनै होइनौ र? किनकि हाम्रो घमण्ड र आनन्द तिमीहरूनै हो।” (१ थिस्सलोनिकी २:१९, २०)
वान्डाकी आमाले यही इनाम पाईन्। १२ वर्षकी वान्डा आफ्नी आमाबाट अलग्ग हुँदा, शुरुमा रुँदा रुँदै सुती। अनि आफ्ना समस्याहरू यहोवासँग छलफल गर्नु भनी आमाले दिएको सल्लाह उसलाई याद आयो। उसले प्रार्थना गरी र नजीकमा यहोवाका केही साक्षीहरू छन् कि भनेर चाँड़चाँड़ो टेलिफोन डाइरेक्टरी हेर्ने विचार उसको मनमा आयो। तिनीहरूसँग उसले सम्पर्क कायम गरी र आफ्नो बाबुको घरै नजिक एउटा परिवार बस्दारहेछन् भनी थाहा पाइ। “म कस्तो खुशी भएँ!” वान्डा भन्छे।
त्यस परिवारबाट पाएको प्रोत्साहन द्वारा, वान्डाले आफ्नो कान्छो भाइ र वहिनीलाई पनि मसीही गतिविधिमा पुनः क्रियाशील बनाउने व्यवस्था मिलाई। उ व्याख्या गर्छे: “हामी सबैलाई सभाहरूमा जाने तयारी गर्ने जिम्मावारी मेरो थियो। मैलेनै सबैको लुगा धुइदिने, कपाल कोरिदिने गर्नु पर्दथियो, र हामी सफा-सुघर छौं कि छैनौं भनी मैलेनै हेर्नु पर्दथियो।” एउटी सानी केटीका निम्ति यो कठिन काम थियो, तर उसले त्यो सबै गरी। एक पटक उसको बाबुले तिनीहरूलाई सभाहरूमा जान रोक्ने प्रयास गरे, तर छोरा-छोरीहरूले बाबुलाई विन्ती गरे, र तिनले तिनीहरूलाई जान दिए।
पछि, आमासँग छोरा-छोरीहरूको पुनर्मिलन भयो। वान्डा १५ वर्षकी हुँदा बप्तिस्मा लिइ, र अन्ततोगत्वा उसले एउटा मिसनरी हुने इच्छा जाहेर गरी। हो, वान्डाकी आमाको काम जाँचमा पास भयो। आफ्नी छोरी सच्चाइमा दृढ़ रहेको देख्ने इनामको आनन्द तिनले उठाइन्। आफ्ना छोरा-छोरीहरूमा मसीही व्यक्तित्वको विकाश गराउने काममा त्यसै प्रकारको सफलता सबैनै मसीही आमा-बाबुले पाऊन्। (w91 7/1)
[पृष्ठ ३०-मा भएको पेटी]
यस लेखमा प्रदर्शित भए झैं, आमा-बाबुहरूले तिनीहरूका छोरा-छोरीहरूमा मसीही-व्यक्तित्वको विकाश गर्न धेरै नै प्रयास गर्दछन्। तर यसमा, छोरा-छोरीहरूले पनि निभाउनु पर्ने एउटा जिम्मेवारी छ। अरू सबै मसीहीहरूले झैं, तिनीहरूले पनि आफूमा एउटा निमार्णको काम गर्नु पर्दछ। (एफिसी ४:२२-२४) आमा-बाबुहरूले यस काममा मद्दत दिने एउटा विशेष मौका पाएता पनि, यहोवाको सेवा गर्ने फैसला चाहिं प्रत्येक व्यक्तिले आफै गर्नु पर्दछ।