यहोवाले दिनुहुने सान्त्वना बाँड्ने
“यो जानेर कि, तिमीहरूका निम्ति हाम्रो आशा दृढ़ छ, किनकि जसरी तिमीहरू ती दुःखका सह-भागी छौ, त्यसैगरी सान्त्वनाका पनि सह-भागी छौ।”—२ कोरिन्थी १:७.
१, २. आज मसीही हुने थुप्रैले के अनुभव गरेका छन्?
भर्खरै प्रहरीधरहरा पढ्न सुरु गरेका थुप्रै पाठकहरू परमेश्वरको सत्यबारे कुनै ज्ञान नपाई हुर्के। शायद तपाईं तीमध्ये हुनुहुन्छ होला। हुनुहुन्छ भने, तपाईंको समझको आँखा खुल्दै जाँदा कस्तो अनुभव गर्नुभएको थियो सम्झनुहोस् त। उदाहरणका लागि, मरिसकेका मानिसहरू कष्टमा होइनन् तर अचेत छन् भनी थाह पाउँदा के तपाईंको मन हल्का भएको थिएन र? अनि मरिसकेका मानिसहरूको आशाबारे सिक्दा र परमेश्वरको नयाँ संसारमा अरबौं मानिसहरूको पुनरुत्थान हुन्छ भन्ने कुरा जान्न पाउँदा के तपाईंले सान्त्वना पाउनुभएको थिएन र?—उपदेशक ९:५, १०; यूहन्ना ५:२८, २९.
२ अनि यस पृथ्वीबाट दुष्टता नामेट पारेर प्रमोदवन बसाल्ने परमेश्वरको प्रतिज्ञा नि? के यसबारे सिक्दा तपाईंको हृदय सान्त्वना अनि तीव्र उत्सुकताले भरिएन र? कहिल्यै मर्न नपर्ने तर आउँदै गरेको पार्थिव प्रमोदवनमा जिउँदै प्रवेश गर्न पाउने सम्भाव्यताबारे पहिलो चोटि सिक्दा तपाईंले कस्तो महसुस गर्नुभयो? पक्कै पनि त्यतिबेला तपाईं रोमाञ्चित हुनुभयो होला। हो, आज सारा संसारमा यहोवाका साक्षीहरूले प्रचार गरिरहेको परमेश्वरको सान्त्वनादायी सन्देश तपाईंले पनि पाउनुभयो।—भजन ३७:९-११, २९; यूहन्ना ११:२६; प्रकाश २१:३-५.
३. अरूसित परमेश्वरको सान्त्वनादायी सन्देश बाँड्ने व्यक्ति आफैले किन संकट भोग्छ?
३ तथापि, अरूसित बाइबलको सन्देश बाँड्न खोज्दा “सबैमा विश्वास” हुँदैन रहेछ भनेर देख्नुभयो। (२ थिस्सलोनिकी ३:२) तपाईंले बाइबलआधारित प्रतिज्ञाहरूमाथि आफ्नो विश्वास व्यक्त गर्दा शायद केही पुराना मित्रहरूले खिसी गरे होलान्। यहोवाका साक्षीहरूको संगतमा लागेर बाइबल अध्ययन गर्दा सतावट पनि सहनुपऱ्यो होला। अनि बाइबलका सिद्धान्तहरूअनुरूप आफ्नो जीवन ढाल्न खोज्दा विरोध झन् चर्क्यो होला। हो, परमेश्वरको सान्त्वना स्वीकार्नेजति सबैमाथि शैतान अनि त्यसको संसारले ल्याउने संकष्ट तपाईंले पनि अनुभव गर्न थाल्नुभयो।
४. संकट आइपर्दा नवजिज्ञासुहरूले कस्ता बेग्लाबेग्लै प्रतिक्रिया देखाउँछन्?
४ दुःखको कुरा, येशूले अगमवाणी गर्नुभएझैं संकष्ट आइपर्दा केही मानिसहरू ठोकर खान्छन् अनि मसीही मण्डलीसँग संगत गर्न छाड्छन्। (मत्ती १३:५, ६, २०, २१) अरू चाहिं आफूले सिकिरहेका सान्त्वनादायी प्रतिज्ञाहरूमाथि मन लगाउँदै संकष्ट सहन्छन्। अन्ततः तिनीहरू यहोवालाई आफ्नो जीवन समर्पण गर्छन् र उहाँको पुत्र, येशू ख्रीष्टको चेलाको हैसियतमा बप्तिस्मा लिन्छन्। (मत्ती २८:१९, २०; मर्कूस ८:३४) निस्सन्देह, मसीही व्यक्तिविशेषले बप्तिस्मा लिने बित्तिकै संकष्ट हुन चटक्क छाड्ने होइन। उदाहरणका लागि, अनैतिक जीवन व्यतीत गर्ने व्यक्तिलाई नैतिक स्वच्छता कायम राख्न असाध्यै संघर्ष गर्नु पर्नसक्छ। अरूले चाहिं विश्वासमा नभएका परिवारका सदस्यहरूबाट निरन्तर विरोधको सामना गर्नुपर्ने हुन्छ। जस्तोसुकै संकष्ट आइपरोस्, परमेश्वरप्रति विश्वासी भएर बस्ने समर्पित व्यक्ति एउटा कुरामा भने निश्चिन्त हुनसक्छ। त्यो हो, अति व्यक्तिगत तवरमा अनुभव गरिने परमेश्वरको सान्त्वना अनि मदत।
“सबै सान्त्वनाका परमेश्वर”
५. थुप्रै संकटहरूका साथै पावलले अरू के पनि अनुभव गरे?
५ परमेश्वरले दिनुहुने सान्त्वनाको गहिरो मूल्यांकन गर्ने मानिसहरूमध्ये प्रेरित पावल पनि थिए। पावलले एसिया र म्यासिडोनियामा असाध्यै कठिन समय बिताएका थिए। तथापि, तत्पश्चात् कोरिन्थीहरूको मण्डलीले हप्काइले भरिएको पत्र स्वीकारे भन्ने खबर सुन्दा तिनको मन असाध्यै हल्का भयो। यसले तिनलाई दोस्रो पत्र लेख्न प्रेरित गऱ्यो, जहाँ हामी यस्तो प्रशंसा गरिएको पाउँछौं: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता, कृपाका पिता, र सबै सान्त्वनाका परमेश्वर धन्यका हुनुहुन्छ। उहाँले हाम्रा सबै सङ्कष्टमा सान्त्वना दिनुभएको छ।”—२ कोरिन्थी १:३, ४.
६. दोस्रो कोरिन्थी १:३, ४ मा उल्लिखित पावलका शब्दहरूबाट हामी के सिक्छौं?
६ यी प्रेरित वचनहरूले हामीलाई निकै कुरा सिकाउँछ। त्यसकारण आउनुहोस्, त्यसलाई केलाएर हेरौं। पावलले पत्रमा परमेश्वरको प्रशंसा गर्दा वा धन्यवाद चढाउँदा अथवा उहाँलाई बिन्ती चढाउँदा प्रायः मसीही मण्डलीको शिर येशूप्रति गहिरो मूल्यांकन व्यक्त गरेको पाउँछौं। (रोमी १:८; ७:२५; एफिसी १:३; हिब्रू १३:२०, २१) तसर्थ, पावल “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता[लाई]” उपरोक्त प्रशंसा चढाउँछन्। त्यसपछि आफ्नो पत्रमा पहिलो पटक यस्तो युनानी संज्ञा चलाउँछन् जसलाई “कृपा” भनी अनुवाद गरिएको छ। यो संज्ञा अरूलाई दुःख पर्दा शोक व्यक्त गर्न चलाइने शब्दबाट आउँछ। यसप्रकार, संकष्टमा परेको आफ्नो कुनै पनि विश्वासी जनप्रति परमेश्वरले देखाउनु हुने कोमल अनुभूति अर्थात् तिनीहरूप्रति दया देखाउन परमेश्वरलाई उत्प्रेरित गर्ने कोमल अनुभूतिबारे पावल सविवरण बताउँछन्। अन्तमा यहोवालाई “कृपाका पिता” भनेर सम्बोधन गर्दै पावल उहाँलाई यस मनोहर गुनको स्रोतको रूपमा हेर्छन्।
७. यहोवालाई किन “सबै सान्त्वनाको परमेश्वर” भन्नसक्छौं?
७ संकष्ट भोग्ने व्यक्तिले परमेश्वरको “कृपा” पाउँदा ढुक्क हुनसक्छ। त्यसैकारण, पावल यहोवालाई “सबै सान्त्वनाका” परमेश्वर भनेर वर्णन गर्छन्। अतः सँगी विश्वासीहरूले देखाएको दयाबाट जस्तोसुकै सान्त्वना महसुस गरे तापनि हामी यहोवालाई त्यसको स्रोतको रूपमा लिनसक्छौं। परमेश्वरले दिनुहुने सबै सान्त्वना वास्तविक अनि चिरस्थायी हुन्छ। यसबाहेक, मानिसलाई आफ्नो स्वरूपमा सृष्टि गर्नुभएर अरूलाई सान्त्वना दिनसक्ने बनाउने व्यक्ति पनि उहाँ नै हुनुहुन्छ। र सान्त्वनाको खाँचो परिरहेकाहरूलाई कृपा देखाउन परमेश्वरका सेवकहरूलाई प्रेरित गर्ने शक्ति उहाँकै पवित्र आत्मा हो।
सान्त्वनादाता हुन प्रशिक्षित
८. यहोवाले हाम्रो परीक्षा नगर्नु हुने भए तापनि, संकष्ट सहँदा त्यसले हामीमाथि कस्तो लाभदायी प्रभाव पार्नसक्छ?
८ यहोवा परमेश्वरले आफ्ना विश्वासी सेवकहरूमाथि विभिन्न परीक्षाहरू आइपर्न दिनु भए तापनि, आफैले चाहिं कहिल्यै परीक्षा गर्नुहुन्न। (याकूब १:१३) तथापि, हामीले संकष्ट सहँदा उहाँले दिनुहुने सान्त्वनाले हामीलाई अरूका आवश्यकताहरूप्रति अझ संवेदनशील हुन प्रशिक्षित गर्छ। अनि त्यसको नतिजा? “परमेश्वरबाट जुन सान्त्वना हामीले पाएका छौं, त्यही सान्त्वनाले कुनै पनि सङ्कष्टमा हुनेहरूलाई सान्त्वना [दिनसक्नेछौं]।” (२ कोरिन्थी १:४) यहाँ भनेझैं ख्रीष्टको अनुकरण गर्दै “सबै विलाप गर्नेहरूलाई सान्त्वना” दियौं भने, आफ्ना सँगी विश्वासीहरू अनि सेवकाईमा हामीले भेटेका मानिसहरूसित प्रभावकारी ढंगमा उहाँको सान्त्वना बाँड्न हामीलाई प्रशिक्षण दिनुहुनेछ।—यशैया ६१:२; मत्ती ५:४.
९. (क) कुन कुराले हामीलाई कष्ट सहन मदत गर्नेछ? (ख) हामीले विश्वासी भई संकष्ट सहँदा अरूले कसरी सान्त्वना पाउँछन्?
९ परमेश्वरले ख्रीष्ट मार्फत दिनुभएको प्रशस्त सान्त्वनाले गर्दा पावलले थुप्रै कष्टहरू सहन सके। (२ कोरिन्थी १:५) पावलजस्तै हामीले पनि प्रशस्त सान्त्वना अनुभव गर्नसक्छौं। तर त्यसका लागि हामीले परमेश्वरका अमूल्य प्रतिज्ञाहरूमाथि मनन गर्नुपर्छ, उहाँको पवित्र आत्माको सहाराको लागि बिन्ती गर्नुपर्छ अनि परमेश्वरले दिनुभएका हाम्रा प्रार्थनाहरूको जवाफ अनुभव गर्नुपर्छ। फलतः यहोवाको सार्वभौमिकताको समर्थन गर्न अनि दियाबललाई झूटो साबित गर्न हामी समर्थ हुन्छौं। (अय्यूब २:४; हितोपदेश २७:११) जस्तोसुकै सतावट आए तापनि त्यसलाई विश्वासी भई सहेपछि पावलले जस्तै सारा श्रेय परमेश्वरलाई दिनुपर्छ। किनभने उहाँकै सान्त्वनाले मसीहीहरूलाई परीक्षा आइपर्दा विश्वासी भइरहन मदत गर्छ। विश्वासी मसीहीहरूले परीक्षाहरू सहँदा त्यसले मसीही भ्रातृत्वमाथि सान्त्वनादायी असर पार्छ र अरूलाई “तिनै पीड़ा” भोग्न कटिबद्ध बनाउँछ।—२ कोरिन्थी १:६.
१०, ११. (क) पुरातन कोरिन्थी मण्डलीलाई कष्ट पुऱ्याउने केही कुराहरू के थिए? (ख) पावलले कोरिन्थीहरूको मण्डलीलाई कसरी सान्त्वना दिए र कुन आशा व्यक्त गरे?
१० सबै साँचो मसीहीहरूमाथि आइपर्ने केही कष्टहरू कोरिन्थीहरूले पनि भोगे। यसबाहेक, अपश्चात्तापी व्यभिचारीलाई बहिष्कार गर्न तिनीहरूलाई सल्लाह दिनुपरेको थियो। (१ कोरिन्थी ५:१, २, ११, १३) त्यो अनि कलह र विभाजन अन्त नगरेकोले मण्डलीमा कलंक लाग्यो। तर अन्ततः तिनीहरूले पावलको सल्लाह लागू गरे अनि साँचो पश्चात्ताप देखाए। तसर्थ, पावलले तिनीहरूको न्यानो सराहना गरे अनि तिनीहरूले पत्रप्रति देखाएको राम्रो प्रतिक्रियाबाट आफूले सान्त्वना पाएको कुरा उल्लेख गरे। (२ कोरिन्थी ७:८, १०, ११, १३) स्पष्टतः बहिष्कार भएकाहरूले पनि पश्चात्ताप गरे। अतः पावलले ‘तिनीहरूलाई अनुग्रह गरी क्षमा गर्नु र सान्त्वना दिनु, नत्रता कुनै किसिमले त्यस्तो मानिस झन् बढ़ता शोकले चुर्लुम्म डुब्नेछ’ भन्ने सल्लाह दिए।—२ कोरिन्थी २:७.
११ पावलको दोस्रो पत्रले कोरिन्थी मण्डलीलाई पक्कै पनि सान्त्वना दिएको हुनुपर्छ। र वास्तवमा पत्र लेख्नुको मनसाय त्यो पनि थियो। बेलीबिस्तार लगाउँदै तिनले यसो भने: “यो जानेर कि, तिमीहरूका निम्ति हाम्रो आशा दृढ़ छ, किनकि जसरी तिमीहरू ती दुःखका सह-भागी छौ, त्यसैगरी सान्त्वनाका पनि सह-भागी छौ।” (२ कोरिन्थी १:७) पत्रको अन्तमा पावलले यस्तो आग्रह गरे: “सान्त्वना पाएका होओ, . . . र प्रेम र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।”—२ कोरिन्थी १३:११.
१२. सबै मसीहीहरूलाई कुन कुरा चाहिन्छ?
१२ यस विवरणबाट हामी कति महत्त्वपूर्ण पाठ सिक्नसक्छौं! परमेश्वरले आफ्नो वचन, पवित्र आत्मा अनि आफ्नो पार्थिव संगठनद्वारा दिनुहुने “सान्त्वना” मसीही मण्डलीका सबै सदस्यहरूले बाँड्नु आवश्यक छ। पश्चात्ताप गरेर गलत मार्ग त्यागिसकेको छ भने बहिष्कृत व्यक्तिलाई समेत सान्त्वनाको खाँचो पर्नसक्छ। त्यसैकारण “विश्वासी र बुद्धिमान दास[ले]” तिनीहरूलाई मदत गर्न दयालु प्रबन्ध गरेको छ। वर्षेनी दुइ जना प्राचीन, बहिष्कृतहरूमध्ये एकलाई भेट्न जान सक्छन्। शायद तिनीहरूले विद्रोही मनोभाव देखाउन वा गम्भीर पाप गर्न छाडिसकेका हुनसक्छन् र पुनर्स्थापित हुन चाहिने कदमहरू चाल्न मदत खाँचो परिरहेको हुनसक्छ।—मत्ती २४:४५; इजकिएल ३४:१६.
एसियामा पावलको संकष्ट
१३, १४. (क) एसियामा आफूले भोगेको कठोर संकटबारे पावलले कसरी बयान गरे? (ख) पावलको मनमा कुन कुरा खेलिरहेको हुनसक्थ्यो?
१३ त्यतिबेलासम्म कोरिन्थीहरूको मण्डलीले जे-जस्तो कष्ट भोगे त्यसलाई पावलले भोगेका थुप्रै संकष्टहरूसित दाँज्न सकिंदैन। त्यसैकारण पावलले तिनीहरूलाई यसो भनेर सम्झाउनसके: “ए भाइ हो, एशियामा हामीलाई परेको सङ्कष्टको विषयमा तिमीहरूलाई थाह होस् भन्ने म चाहन्छु। किनभने हामी यतिसम्म साह्रो गरी मिचिएका थियौं, कि हाम्रो सामर्थ्यदेखि बाहिर भई जीवनसम्म हरेस खान परेको थियो। हामी आफैमा होइन तर मरेकाहरूलाई बिउँताउनुहुने परमेश्वरमा भरोसा राखी आफैले मृत्युदण्डको आज्ञा आफैमाथि पाएका थियौं, जसले हामीलाई यति ठूलो मृत्युबाट छुटाउनुभयो, र उहाँले अझै पनि हामीलाई छुटाउनुहुनेछ भन्ने हामीले उहाँमाथि आशा राखेका छौं।”—२ कोरिन्थी १:८-१०.
१४ उपरोक्त पदमा पावलले एफिससको दंगालाई संकेत गर्दैथिए भनेर केही बाइबलविद्हरू विश्वास गर्छन्। किनभने त्यस दंगाले पावलका साथै तिनका दुइ म्यासिडोनियाली सहयात्री गायस र अरिस्तार्खसको समेत ज्यान लिनसक्थ्यो। यी दुइ मसीहीहरूलाई मानिसहरूको हूलले खचाखच भरिएको तमाशा घरमा जबरजस्ती लगेका थिए र ती मानिसहरू “करीब दुइ घण्टा जत्ति ‘एफिसियनहरूको डायना महान् हुन्’ भन्दै कराए।” अन्ततः नगरको हाकिम भीडलाई शान्त पार्न सफल भए। गायस र अरिस्तार्खसको ज्यानमाथि आइपरेको यो खतराले पावललाई अवश्य पनि निकै विचलित तुल्याएको हुनुपर्छ। वास्तवमा तिनी तमाशा घरभित्र गएर हठधर्मी भीडसँग तर्क गर्न चाहन्थे। तर तिनलाई त्यसरी ज्यानको खतरा मोल्नदेखि रोकियो।—प्रेरित १९:२६-४१.
१५. पहिलो कोरिन्थी १५:३२ मा कुन कठिन परिस्थितिबारे वर्णन गरिएको हुनसक्छ?
१५ तथापि, पावलले उपरोक्त घटनाभन्दा कठिन परिस्थितिबारे कुरा गरिरहेका हुनसक्छन्। आफ्नो पहिलो पत्रमा पावलले सोधे: “मैले एफिससमा जंगली जानवरहरूसित मानिसको चालामा लड़ेको भएदेखि मलाई के फायदा हुन्थ्यो र?” (१ कोरिन्थी १५:३२) शायद एफिससको तमाशा घरमा पाशविक मानिसहरू मात्र होइन तर साँच्चैको जंगली जनावरहरूले समेत पावलको ज्यानलाई खतरामा पारेको हुनसक्छ। अपराधीहरूलाई कहिलेकाहीं रक्तपिपासु भीडसमक्ष जबरजस्ती जंगली जनावरहरूसित लड्न लगाएर दण्ड दिइन्थ्यो। यदि पावलले साँच्चै जंगली जनावरहरूबारे कुरा गरिरहेका हुन् भने, दानियल सिंहको मुखबाट उम्केझैं अन्तिम घडीमा तिनलाई पनि चमत्कारपूर्ण ढंगमा क्रूरतापूर्ण मृत्युबाट जोगाइएको हुनुपर्छ।—दानियल ६:२२.
आधुनिक समयका उदाहरणहरू
१६. (क) कुन अर्थमा यहोवाका थुप्रै साक्षीहरूको अनुभव पावलकै जस्तो छ? (ख) आफ्नो विश्वासको खातिर मर्नेहरूबारे कुन कुरामा हामी निश्चिन्त हुनसक्छौं? (ग) मृत्युको मुखमा परेर उम्कने केही मसीहीहरूको अनुभवले के राम्रो प्रभाव पारेको छ?
१६ वर्तमान समयका थुप्रै मसीहीहरूले पावलले जस्तै संकष्टहरू सहेका छन्। (२ कोरिन्थी ११:२३-२७) पहिले मात्र होइन अहिले पनि मसीहीहरू ‘आफ्नो सामर्थ्यदेखि बाहिर साह्रो गरी मिचिएका छन्’ र तिनीहरूमध्ये कतिपयले ‘जीवनसम्म हरेस खानुपर्ने’ स्थितिको सामना गरेका छन्। (२ कोरिन्थी १:८) केही त जनहत्यारा अनि क्रूरतापूर्वक सताउनेहरूको हातमा परेर मरेका पनि छन्। तथापि, परमेश्वरको सान्त्वनादायी बलले तिनीहरूलाई सहने क्षमता दियो र तिनीहरू आफ्नो स्वर्गीय वा पार्थिव आशालाई मन अनि हृदयदेखि बलियो गरी समातेर मरे भन्ने कुरामा हामी निर्धक्क हुनसक्छौं। (१ कोरिन्थी १०:१३; फिलिप्पी ४:१३; प्रकाश २:१०) अन्य घटना- हरूमा भने यहोवाले परिस्थितिलाई मोडेर हाम्रा भाइहरूलाई मृत्युको मुखबाट छुटाउनु भएको छ। निस्सन्देह, यस्ता घटनाहरूबाट छुटकारा पाउने व्यक्तिहरूले “मरेकाहरूलाई बिउँताउनुहुने परमेश्वरमा” अझ धेरै भरोसा राख्न सकेका छन्। (२ कोरिन्थी १:९) र पछि, अरूसित परमेश्वरको सान्त्वनादायी सन्देश बाँड्दा तिनीहरूले अझ बलियो विश्वासका साथ बोल्नसके।—मत्ती २४:१४.
१७-१९. रूवाण्डाका हाम्रा भाइहरूले परमेश्वरको सान्त्वना बाँडे भनेर कुन अनुभवहरूले देखाउँछन्?
१७ हालैको कुरा हो, रूवाण्डाका हाम्रा प्रिय भाइहरूले पावल र तिनका मित्रहरूले भोगेजस्तै कुराहरू अनुभव गर्नुपऱ्यो। थुप्रैले आफ्नो ज्यान गुमाए। तर शैतानले तिनीहरूको विश्वास नष्ट गर्न गरेको प्रयास सफल भएन। उल्टो यस मुलुकमा बस्ने हाम्रा भाइहरूले थुप्रै ढंगमा परमेश्वरको सान्त्वना व्यक्तिगत तवरमा अनुभव गरे। रूवाण्डामा टुट्सी र हुटुहरूबीच जातीय संहार चल्दा कतिपय हुटुहरूले आफ्नो ज्यान जोखिममा पारेर टुट्सीहरूलाई र टुट्सीहरूले हुटुहरूलाई जोगाए। आफ्ना सँगी विश्वासीहरूलाई जोगाउन खोज्दा कोही कोहीले उग्रवादीहरूको हातबाट ज्यानसमेत गुमाउनुपऱ्यो। उदाहरणका लागि, चान्टाल नाउँ गरेकी टुट्सी बहिनीलाई लुकाउन खोज्दा गहेजी नाउँ गरेको हुटु साक्षी मर्नुपऱ्यो। त्यस्तैगरि चान्टालको टुट्सी पति झाँलाई अर्कै ठाउँमा सार्लोट नाउँ गरेकी हुटु बहिनीले लुकाएकी थिइन्। चालीस दिनसम्म झाँ र अर्को टुट्सी भाइ ठूलो चिमनीभित्र लुकेर बसे र राती केही समयको लागि मात्र बाहिर निस्कन्थे। यी सबै होउञ्जेल सार्लोट, आफ्नो घर हुटु सेनाहरूको शिविर नजिकै भए तापनि ती भाइहरूलाई खानपिन गराएर जोगाउन तल्लीन थिइन्। यस पृष्ठमा पुनर्मिलन भएका झाँ र चान्टालको चित्र देख्न सक्नुहुन्छ। प्रिस्का र अक्विलाले प्रेरित पावलको निम्ति गरेझैं ‘आफ्नो गर्दन खतरामा पार्ने’ आफ्ना हुटु सँगी उपासकहरूप्रति तिनीहरू कृतज्ञ छन्।—रोमी १६:३, ४.
१८ रूवाकाबुबु नाउँ गरेका अर्को हुटु साक्षीले आफ्ना टुट्सी सँगी विश्वासीहरूलाई जोगाउँदा इन्तारमारा पत्रिकाले तिनको प्रशंसा गर्दै यसो भन्यो: “यहोवाका साक्षीहरूमध्ये एक, रूवाकाबुबु भन्ने व्यक्तिले पनि आफ्ना भाइहरूबीच (सँगी विश्वासीहरू यसै भनेर एकअर्कालाई बोलाउँछन्) यताउता लुकाएर मानिसहरूलाई जोगाए। तिनी दिनभरि आफ्ना भाइहरूका निम्ति भोजन-पानी ओसार्थे। तिनी दमका रोगी थिए। तर परमेश्वरले तिनलाई असामान्य बल दिनुभयो।”a
१९ निकोदाम अनि आटान्जे नाउँ गरेका जिज्ञासु हुटु दम्पतीलाई पनि विचार गर्नुहोस्। जाति संहार हुनुअघिदेखि यस विवाहित दम्पती अल्फोंस नाउँ गरेका टुट्सी साक्षीसित बाइबल अध्ययन गर्दैथिए। आफ्नो ज्यान जोखिममा पारेर तिनीहरूले अल्फोंसलाई आफ्नो घरमा लुकाए। तथापि, पछि आफ्नो घर तिनको निम्ति सुरक्षित नभएको महसुस गर्न थाले। किनभने तिनका हुटु छिमेकीहरू यस टुट्सी मित्रबारे अनभिज्ञ थिएनन्। अतः निकोदाम र आटान्जेले आँगनमा खाल्टो खनेर अल्फोंसलाई लुकाए। यो निकै राम्रो कदम थियो। किनभने छिमेकीहरू दिनहुँ घरमा आएर अल्फोंसलाई खोज्थे। खाल्टोमा २८ दिन बिताउञ्जेल अल्फोंसले दुइ इस्राएलीहरूलाई यरीहोस्थित घरमा लुकाउने राहाब र बाइबलमा दिइएका त्यस्तै अन्य विवरणहरूमाथि मनन गरे। (यहोशू ६:१७) आज, अल्फोंस सुसमाचार प्रचारकको रूपमा रूवाण्डामा अझै सेवा गर्दैछन्। आफ्ना हुटु बाइबल विद्यार्थीहरूले आफ्नो खातिर ज्यान खतरामा मोलेकोमा तिनी कृतज्ञ छन्। अनि निकोदाम र आटान्जे? तिनीहरू अहिले यहोवाका बप्तिस्माप्राप्त साक्षी भइसकेका छन् र जिज्ञासु व्यक्तिहरूसित २० वटाभन्दा धेरै बाइबल अध्ययन गर्दैछन्।
२०. रूवाण्डाका हाम्रा भाइहरूलाई यहोवाले कुन कुन तरिकामा सान्त्वना दिनुभएको छ, तथापि तिनीहरूमध्ये थुप्रैलाई अझै कुन कुरा खाँचो परिरहनेछ?
२० रूवाण्डामा जातिसंहार सुरु हुँदा त्यहाँ सुसमाचारका २,५०० उद्घोषकहरू थिए। सयौं साक्षीहरूले आफ्नो ज्यान गुमाउनु वा मुलुक छोड्न बाध्य हुनु परे तापनि साक्षीहरूको संख्या बढेर ३,००० भन्दा धेरै भएको छ। निस्सन्देह, यहोवाले हाम्रा भाइहरूलाई कहिल्यै सान्त्वना दिन छाड्नुभएन भन्ने प्रमाण हो यो। यहोवाका साक्षीहरूबीचका टुहुराटुहुरी अनि विधवाहरूबारे के भन्न सकिन्छ? स्वाभाविकतः तिनीहरू अझै पनि संकट भोग्दैछन् र तिनीहरूलाई अझै सान्त्वनाको खाँचो छ। (याकूब १:२७) परमेश्वरको नयाँ संसारमा प्रिय जनहरूको पुनरुत्थान भएपछि मात्र तिनीहरूको आँसु पूर्णतया पुछिनेछ। तथापि, तिनीहरू “सबै सान्त्वनाको परमेश्वर[को]” उपासक भएकोले अनि आफ्ना भाइहरूको सेवाले गर्दा अझैसम्म जीवनसँग जुझिरहन सकेकाछन्।
२१. (क) अन्य कुन कुन ठाउँहरूमा पनि हाम्रा भाइहरूलाई परमेश्वरको सान्त्वना असाध्यै खाँचो परिरहेको छ र हामीले तिनीहरूलाई मदत गर्नसक्ने एउटा तरिका के हो? (“चार वर्ष लामो युद्धको दौडान सान्त्वना” शीर्षक पेटी हेर्नुहोस्।) (ख) सान्त्वनाको खाँचो कहिले पूर्णतया तृप्त पारिनेछ?
२१ एरेट्रा, सिंगापुर अनि भूतपूर्व युगोस्लाभियाजस्ता अरू थुप्रै ठाउँहरूमा हाम्रा भाइहरू संकटको बावजूद विश्वासी भएर यहोवाको सेवा गर्दैछन्। आउनुहोस्, यी भाइहरूले सान्त्वना पाऊन् भनी निरन्तर बिन्ती चढाएर हामी मदत गरिरहौं। (२ कोरिन्थी १:११) अनि येशू ख्रीष्ट मार्फत परमेश्वरले “[हाम्रा] आँखाबाट सबै आँसु” पूर्णतया नपुछुञ्जेल विश्वासी भएर हर संकष्ट सहिरहौं। तब धार्मिकताको नयाँ संसारमा यहोवाले दिनुहुने सान्त्वना हामी पूरापूर अनुभव गर्नेछौं।—प्रकाश ७:१७; २१:४; २ पत्रुस ३:१३.
[फुटनोट]
a जनवरी १, १९९५ अंकको प्रहरीधरहरा, पृष्ठ २६ मा रूवाकाबुबुकी छोरी डेबोराको अनुभव दिइएको छ। तिनको हृदयस्पर्शी प्रार्थनाले गर्दा हुटु सिपाहीहरूको हातबाट पूरै परिवारको हत्या हुनदेखि जोगियो।
के तपाईंलाई थाह छ?
◻ यहोवालाई किन “सबै सान्त्वनाको परमेश्वर” भनिन्छ?
◻ हामीले संकष्टहरूलाई कुन दृष्टिले हेर्नुपर्छ?
◻ हामी कोसित सान्त्वना बाँड्नसक्छौं?
◻ सान्त्वनाको खाँचो कसरी पूर्णतया तृप्त पारिनेछ?
[पृष्ठ १७-मा भएको चित्र]
झाँ र चान्टाल टुट्सी साक्षीहरू भए तापनि रूवाण्डामा जातिसंहार मच्चिंदा बेग्लाबेग्लै स्थानमा हुटु साक्षीहरूद्वारा लुकाइए
[पृष्ठ १७-मा भएको चित्र]
रूवाण्डामा यहोवाका साक्षीहरू आफ्ना छिमेकीहरूलाई परमेश्वरको सान्त्वनादायी सन्देश अझै पनि सुनाउँदैछन्