ख्रीष्टको व्यवस्थाअनुरूप जीवन यापन गर्ने
“तिमीहरू एउटाले अर्कोको भार उठाऊ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।”—गलाती ६:२.
१. ख्रीष्टको व्यवस्था आज असल कार्यको लागि शक्तिशाली प्रभाव हो किन भन्न सकिन्छ?
रूवाण्डामा हालै भएको जातीय मारकाटमा एकअर्कोको ज्यान जोगाउन यहोवाका टुट्सी र हुटु साक्षीहरूले आ-आफ्नो प्राण जोखिममा पारे। विनाशकारी भूकम्पमा आफ्नो परिवार गुमाउनु परेका जापान, कोबेस्थित यहोवाका साक्षीहरू निकै विचलित थिए। यद्यपि, तत्कालै अन्य भूकम्प पीडितहरूलाई उद्धार गर्न तिनीहरू लागिहाले। हो, ख्रीष्टको व्यवस्था आज पनि प्रभावकारी छ भनी विश्वभरिका हृदयस्पर्शी उदाहरणहरूले प्रदर्शन गर्छन्। असल कार्यको लागि यो शक्तिशाली प्रभाव हो।
२. मसीहीजगत्ले ख्रीष्टको व्यवस्था कसरी बुझ्न सकेन र त्यो व्यवस्था पूरा गर्न हामी के गर्नसक्छौं?
२ यसका साथै यी कठिन “आखिरी दिन[बारे]” बाइबलको भविष्यवाणी पनि पूरा भइरहेको छ। धेरैले ‘भक्तिको भेष चाहिं लिन्छन्’ तर ‘त्यसको शक्तिलाई इन्कार गर्छन्।’ (२ तिमोथी ३:१, ५) विशेषगरि मसीहीजगत्मा धर्म हृदयसित सम्बन्धित नभई अक्सर औपचारिकता पूरा गर्ने विषय मात्र भएको छ। के ख्रीष्टको व्यवस्थाअनुरूप जीवन यापन गर्न गाह्रो भएकोले यसो भएको हो? होइन। हामीले पछ्याउनै नसक्ने व्यवस्था येशूले दिनुहुने थिएन। ऊ यी प्रेरित शब्दहरू पालन गर्न असफल भई: “तिमीहरू एउटाले अर्कोको भार उठाऊ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।” (गलाती ६:२) हामी फरिसीहरूको अनुकरण गर्दै हाम्रा भाइहरूलाई थप बेमनासिब भारहरू बोक्न लगाउँदैनौं। यसको साटो एकअर्काको भार उठाएर हामी “ख्रीष्टको व्यवस्था पूरा” गर्छौं।
३. (क) ख्रीष्टको व्यवस्थामा विथोलित केही आज्ञाहरू के हुन्? (ख) येशूका प्रत्यक्ष आज्ञाहरूबाहेक मसीही मण्डलीसित अरू कुनै नियमहरू हुनै हुँदैन भन्ने निष्कर्षमा पुग्नु किन गलत हुनेछ?
३ ख्रीष्टको व्यवस्थामा ख्रीष्ट येशूका जम्मै आज्ञाहरू अर्थात् प्रचार गर्नु, सिकाउनु, आँखा शुद्ध र सरल बनाउनु, हाम्रा छिमेकीहरूसित शान्तमा रहन के कसो गर्नु वा मण्डलीबाट अशुद्ध थोक निकाल्नु बिथोलित छन्। (मत्ती ५:२७-३०; १८:१५-१७; २८:१९, २०; प्रकाश २:१४-१६) वास्तवमा मसीहीहरू ख्रीष्टका अनुयायीहरूका लागि बाइबलमा निर्देशित सम्पूर्ण आज्ञाहरू पालन गर्न बाध्य छन्। यति मात्र होइन। सुव्यवस्थित हुन यहोवाको संगठनलगायत प्रत्येक मण्डलीले पनि आफैले आवश्यक नियम तथा कार्यप्रणालीहरू बनाउनुपर्छ। (१ कोरिन्थी १४:३३, ४०) त्यसोभए यस्ता सभाहरू कसरी, कहाँ र कहिले सञ्चालन हुने हुन्, त्यसबारे नियमहरू नभएका भए तिनीहरू एकसाथ भेलासमेत हुनसक्दैनन्थिए! (हिब्रू १०:२४, २५) संगठनमा अख्तियार सुम्पिएकाहरूले बनाएका उपयुक्त मार्गनिर्देशनहरूलाई पालन गर्नु पनि ख्रीष्टको व्यवस्थालाई पूरा गर्ने एउटा भाग हो।—हिब्रू १३:१७.
४. शुद्ध उपासनालाई उत्प्रेरित गर्ने शक्ति के हो?
४ तथापि, साँचो मसीहीहरू तिनीहरूले गर्ने उपासनालाई व्यवस्थाहरूको अर्थहीन संगठन बन्न दिंदैनन्। तिनीहरूले यहोवाको उपासना कुनै व्यक्तिले भनेर वा संगठनले अह्राएर मात्र गरेका होइनन्। बरु, तिनीहरूले गर्ने उपासनालाई उत्प्रेरित गर्ने शक्ति त प्रेम हो। पावलले यसरी लेखे: “ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ।” (२ कोरिन्थी ५:१४) येशूले आफ्ना चेलाहरूलाई आपसमा प्रेम गर्नू भन्ने आज्ञा दिनुभयो। (यूहन्ना १५:१२, १३) आत्मत्यागी प्रेम ख्रीष्टको व्यवस्थाको आधार हो र यसले साँचो मसीहीहरूलाई परिवार र मण्डली जहाँसुकै होऊन्, करमा पार्दछ वा उत्प्रेरित गर्छ। कसरी हो, आउनुहोस् हेरौं।
परिवारमा
५. (क) आमाबाबुले आफ्नो घरमा ख्रीष्टको व्यवस्था कसरी पूरा गर्नसक्छन्? (ख) छोराछोरीहरू आफ्ना आमाबाबुबाट के चाहन्छन् र यो आवश्यकता पूरा गर्न केही आमाबाबुले कस्ता अवरोधहरू पार गर्नैपर्छ?
५ प्रेरित पावलले यसरी लेखे: “ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।” (एफिसी ५:२५) पतिले ख्रीष्टको अनुकरण गर्दै आफ्नी पत्नीसित मायालु र समझदार तरिकामा व्यवहार गरे भने उनले ख्रीष्टको व्यवस्थाको प्रमुख भाग पूरा गरिरहेका हुन्छन्। यसको अतिरिक्त, येशूले साना केटाकेटीहरूलाई अंगालोमा लिएर तिनीहरूमाथि हात राखेर आशिष् दिनुहुँदै तिनीहरूप्रति आफ्नो स्नेह प्रष्टै देखाउनुभयो। (मर्कूस १०:१६) ख्रीष्टको व्यवस्था पूरा गर्ने आमाबाबुहरूले छोराछोरीप्रति आफ्नो स्नेह पनि देखाउँछन्। साँचो हो, यस सन्दर्भमा येशूको उदाहरण अनुकरण गर्नु कुनै कुनै आमाबाबुलाई चुनौती लाग्नसक्छ। कोही कोही स्वभावैले आफ्ना भावनाहरू प्रकट गर्न नसक्ने खालका हुन्छन्। आमाबाबुहरू हो, यस्ता कुराहरूले छोराछोरीप्रति तपाईंको माया देखाउन बाधा नपुऱ्याओस्! छोराछोरीलाई माया गर्छु भनेर तपाईंलाई मात्र थाह हुनु पर्याप्त छैन। तिनीहरूले पनि थाह पाउनैपर्छ। अनि तपाईंले तिनीहरूप्रति आफ्नो माया जाहेर नगरेसम्म तिनीहरूले थाह पाउनेछैनन्।—मर्कूस १:११ तुलना गर्नुहोस्।
६. (क) के छोराछोरीलाई आमाबाबुका नियमहरू चाहिन्छ, अनि तपाईं किन यस्तो जवाफ दिनुहुन्छ? (ख) छोराछोरीले परिवारका नियमहरूको कारण बुझ्नु किन आवश्यक छ? (ग) परिवारमा ख्रीष्टको व्यवस्था प्रबल छ भने कस्ता खतराहरूबाट जोगिन सकिन्छ?
६ त्यसैबीच केटाकेटीहरूलाई मार्गनिर्देशनको आवश्यक पर्छ। यसको अर्थ आमाबाबुले नियम बनाउनुपर्छ र कहिलेकाहीं यी नियमहरू अनुशासन दिएर लागू गर्नुपर्छ। (हिब्रू १२:७, ९, ११) यसबाहेक यी नियमहरू तोक्नुको कारण आमाबाबुले छोराछोरीलाई माया गर्छन् भनेर तिनीहरूलाई बिस्तारै बुझ्न मदत दिनुपर्छ। अनि आफ्ना आमाबाबुप्रति आज्ञाकारी हुने सर्वोत्तम कारण प्रेम हो भनी तिनीहरूले सिक्नैपर्छ। (एफिसी ६:१; कलस्सी ३:२०; १ यूहन्ना ५:३) बुद्धिमान आमाबाबुको लक्ष्य स-साना छोराछोरीलाई तिनीहरूको “तर्कशक्ति” प्रयोग गर्न सिकाउनु हो जसको परिणामस्वरूप तिनीहरू आफैले सही निर्णय गर्नेछन्। (रोमी १२:१, NW; तुलना गर्नुहोस् १ कोरिन्थी १३:११) अर्कोतिर नियमहरू अति धेरै वा अनुशासन अति कडा हुनु हुँदैन। पावलले यसो भने: “ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्न नहोऊन्।” (कलस्सी ३:२१; एफिसी ६:४) परिवारमा ख्रीष्टको व्यवस्था प्रबल छ भने, अनियन्त्रित रीस देखाउने वा चित्त दुखाउने छेडपेचद्वारा अनुशासन दिनुपर्ने छैन। यस्तो घरमा केटाकेटीले लादिएको वा तुच्छ महसुस गर्दैनन् बरु सुरक्षित र सुदृढ महसुस गर्छन्।—भजन ३६:७ तुलना गर्नुहोस्।
७. घरमा नियमहरू बनाउनेसम्बन्धमा बेथेल गृहहरूले कुन तरिकाहरूमा उदाहरण प्रदान गर्नसक्छन्?
७ संसारभरका बेथेल गृहको भ्रमण गरेका केही व्यक्तिहरूले ती स्थानहरू सन्तुलित पारिवारिक नियमहरूको असल उदाहरण हुन् भन्छन्। बेथेल गृहमा वयस्क व्यक्तिहरू मात्र भए तापनि यस्ता संस्थाहरू परिवारजस्तै सञ्चालित हुन्छन्।a बेथेलमा गरिने कार्यहरू निकै जटिल हुन्छन् र यसको लागि औसत परिवारमा भन्दा केही खास नियमहरू चाहिन्छ। तैपनि बेथेल गृहहरू, कार्यालयहरू तथा कारखाना सञ्चालनमा नेतृत्व लिने प्राचीनहरू ख्रीष्टको व्यवस्था प्रयोग गर्न प्रयत्न गर्छन्। तिनीहरू यसलाई कामकुरा चलाउने मात्र होइन तर आध्यात्मिक उन्नति तथा सहकर्मीहरूबीच “परमप्रभुको आनन्द[लाई]” बढावा दिने आफ्नो कार्यभारको रूपमा लिन्छन्। (नहेम्याह ८:१०) तसर्थ, तिनीहरू सकारात्मक र प्रोत्साहनदायी तरिकामा काम गर्न र व्यवहारिक हुन प्रयत्न गर्छन्। (एफिसी ४:३१, ३२) त्यसैले बेथेल परिवार आनन्दित आत्माको लागि परिचित हुनु अनौठो कुरा होइन!
मण्डलीमा
८. (क) मण्डलीमा हाम्रो लक्ष्य सधैं के हुनुपर्छ? (ख) के कस्ता परिस्थितिहरूमा कसै कसैले नियमहरू बनाइदिन आग्रह गरेका छन् वा बनाउन खोजेका छन्?
८ त्यसैगरि मण्डलीमा एकअर्कोलाई प्रेमको आत्माद्वारा प्रोत्साहित गर्ने लक्ष्य हाम्रो हो। (१ थिस्सलोनिकी ५:११) त्यसैकारण सबै मसीहीहरूले व्यक्तिगत छनौटका विषयहरूमा आफ्नो विचार अरूमा थोपरेर तिनीहरूको भार गह्रौं बनाउनदेखि होशियार हुनुपर्छ। कहिलेकाहीं कसै कसैले खास प्रकारको सिनेमा, पुस्तक तथा खेलौनाहरूप्रति समेत कस्तो दृष्टिकोण राख्नुपर्ला भनेर वाच टावर सोसाइटीमा पत्राचार गर्छन्। यद्यपि, यस्ता कुराहरूको एक एक विवरण जाँच्ने तथा तिनीहरूको निम्ति निर्णय गर्ने अख्तियार सोसाइटीसित छैन। धेरैजसो मामिलामा यी विषयहरू बाइबल सिद्धान्तहरूप्रति आफ्नो प्रेमको आधारमा व्यक्तिविशेष वा परिवारको शिरले निर्णय गर्नुपर्ने हुन्छ। कोही कोही चाहिं सोसाइटीले दिएका सुझाउ तथा निर्देशनहरूलाई नियम बनाउन प्रवृत्त हुन्छन्। उदाहरणका लागि, मार्च १५, १९९६, अंकको प्रहरीधरहरा-मा प्राचीनहरूलाई मण्डलीका सदस्यहरूकहाँ नियमित गोठालोरूपी भेट गर्न प्रोत्साहन दिइएको एउटा राम्रो लेख छापिएको थियो। के यसको उद्देश्य नियम बनाउनु थियो? थिएन। ती सुझाउहरू पछ्याउन सक्नेहरूले धेरै लाभ उठाउँछन् तर कोही प्राचीनहरू भने त्यसो गर्नसक्ने अवस्थामा छैनन्। यसैगरि, अप्रिल १, १९९५ अंकको प्रहरीधरहरा-मा “पाठकहरूका प्रश्नहरू[मा]” अनियन्त्रित भोज दिने वा समारोह बनाउनेजस्ता अचाक्ली कार्यहरूद्वारा बप्तिस्मा लिने अवसरको गरिमाबाट नतर्किन होशियार रहनुपर्ने सुझाउ दिइएको थियो। कसै कसैले यो परिपक्व सल्लाह कडीकडाइसाथ पालन गरे। त्यस अवसरमा प्रोत्साहनदायी कार्ड पठाउनु गलत हुनेछ भन्ने नियमसमेत तिनीहरूले बनाए!
९. असाध्यै आलोचनात्मक हुन र एकअर्कोको टीकाटिप्पणी गर्नबाट जोगिनु किन महत्त्वपूर्ण छ?
९ यसलाई पनि विचार गर्नुहोस्, यदि “स्वतंत्रताको सिद्ध व्यवस्था” हामीबीच प्रबल गराउने हो भने, सबै मसीहीहरूको अन्तस्करण समान हुँदैन भनेर हामीले स्वीकार्नैपर्छ। (याकूब १:२५) धर्मशास्त्रीय सिद्धान्त उल्लंघन नहुने व्यक्तिगत छनौट कसैले गर्छ भने के त्यसबारे हामीले विवाद खडा गर्नुपर्छ र? पर्दैन। हामीले त्यसो गऱ्यौं भने फूट उत्पन्न हुनेछ। (१ कोरिन्थी १:१०) सहमसीहीबारे टीकाटिप्पणी नगर्न चेताउनी दिंदा प्रेरित पावलले यसो भने: “त्यो ता आफ्नै मालिकको निम्ति खड़ा हुन्छ। अथवा पतित हुन्छ त्यो खड़ा हुनसक्छ, किनभने त्यसका मालिकको त्यसलाई खड़ा गराउने शक्ति छ।” (रोमी १४:४) व्यक्तिगत अन्तस्करणअनुसार गरिने निर्णयहरूमा एकअर्को विरुद्ध कुरा गर्न थाल्यौं भने हामीले परमेश्वरलाई रीस उठाउने खतरा मोल्छौं।—याकूब ४:१०-१२.
१०. मण्डलीको हेरविचार गर्न को खटाइएका छन् र हामीले तिनीहरूलाई कसरी समर्थन गर्नुपर्छ?
१० प्राचीनहरू परमेश्वरको बगालको हेरचार गर्न खटाइएका हुन् भनी नबिर्सौं। (प्रेरित २०:२८) तिनीहरू मदत दिन खटाइएका हुन्। बिना संकोच तिनीहरूसित हामी सुझाउ माग्नसक्छौं। किनकि तिनीहरू बाइबलका विद्यार्थीहरू हुन् र वाच टावर सोसाइटीका साहित्यहरूमा के छलफल गरिएका छन्, त्यससित तिनीहरू परिचित छन्। धर्मशास्त्रीय सिद्धान्त उल्लंघन हुनसक्ने आचरण देखेमा प्राचीनहरूले निसंकोच आवश्यक सल्लाह दिन्छन्। (गलाती ६:१) तिनीहरूबीच अगुवा लिने यी प्रिय गोठालाहरूलाई समर्थन गरेर मण्डलीका सदस्यहरू ख्रीष्टको व्यवस्था पालन गर्छन्।—हिब्रू १३:७.
प्राचीनहरू ख्रीष्टको व्यवस्था लागू गर्छन्
११. प्राचीनहरूले मण्डलीमा ख्रीष्टको व्यवस्था कसरी लागू गर्छन्?
११ प्राचीनहरू मण्डलीमा ख्रीष्टको व्यवस्था पूरा गर्न उत्सुक छन्। तिनीहरू सुसमाचार प्रचार गर्न अगुवाइ लिन्छन् र हृदयसम्म पुग्न बाइबलबाट सिकाउँछन् अनि मायालु कोमल गोठालोको रूपमा “हरेस खानेहरू[सित]” कुरा गर्छन्। (१ थिस्सलोनिकी ५:१४) तिनीहरू मसीहीजगत्का धेरैजसो धर्ममा व्याप्त गैरमसीही मनोवृत्तिलाई तिरस्कार गर्छन्। यो साँचो हो, यो संसार द्रुतगतिमा खस्कँदैछ र पावलजस्तै प्राचीनहरू बगालको लागि चिन्तित हुनसक्छन्; तर यस्तो चिन्ता लिंदा तिनीहरू सन्तुलन कायम गर्छन्।—२ कोरिन्थी ११:२८.
१२. एक मसीहीले प्राचीनसित मदत माग्दा त्यस प्राचीनले कसरी जवाफ देलान्?
१२ उदाहरणका लागि, केही विषयमा धर्मशास्त्रले स्पष्ट उल्लेख नगर्दा वा भिन्नाभिन्नै मसीही सिद्धान्तहरूमा सन्तुलन कायम गर्न आवश्यक पर्ने महत्त्वपूर्ण विषय खडा हुँदा एक मसीहीले प्राचीनसित सल्लाह लिन चाहलान्। शायद तिनलाई जागिर खाने ठाउँमा बढी तलब पाइने तर धेरै जिम्मेवारी वहन गर्नुपर्ने पदोन्नतिको प्रस्ताव आउला। अथवा एक जवान मसीहीका गैरविश्वासी बुबाले आफ्नो छोरासित उसको सेवकाईमा असर पार्नसक्ने मागहरू गरिरहेका होलान्। यस्ता परिस्थितिहरूमा प्राचीनले आफ्नो व्यक्तिगत विचार दिनु हुँदैन। बरु, तिनले बाइबल खोलेर त्यस व्यक्तिलाई उक्त विषयसित सम्बन्धित सिद्धान्तहरू केलाउन मदत गर्छन्। उपलब्ध भए “विश्वासी र बुद्धिमान दास[ले]” प्रहरीधरहरा तथा अन्य प्रकाशनमा उक्त विषयमा के भनेका छन् पत्ता लगाउन तिनले वाच टावर प्रकाशन अनुक्रमणिका (अंग्रेजी) प्रयोग गर्नसक्छन्। (मत्ती २४:४५) त्यसपछि, उक्त मसीहीले बुद्धिमानी निर्णय गरेन जस्तो प्राचीनलाई लाग्यो भने के गर्ने? यदि त्यो निर्णयले सरासर बाइबल सिद्धान्त वा व्यवस्थाहरू उल्लंघन गर्दैन भने “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ” भन्ने बुझेर व्यक्तिविशेषको निर्णय गर्ने अधिकारलाई प्राचीनले स्वीकारेको त्यस मसीहीले पाउनेछ। तथापि, “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ,” भनेर मसीहीले बिर्सनु हुँदैन।—गलाती ६:५, ७.
१३. प्रश्नहरूको सोझै जवाफ दिनु वा आफ्नै विचारहरू दिनुको साटो प्राचीनहरूले अरूलाई विषयहरू केलाउन किन मदत दिन्छन्?
१३ अनुभवी प्राचीनले किन यसरी कार्य गर्छन्? कम्तीमा पनि दुइ कारणले गर्दा। पहिलो कारण, एक पटक पावलले एउटा मण्डलीलाई तिनी ‘उनीहरूको विश्वासमा प्रभुत्व भएको होइन’ भने। (२ कोरिन्थी १:२४) धर्मशास्त्रबाट तर्क गर्न र ज्ञानमा आधारित निर्णय गर्न भाइलाई मदत दिंदा प्राचीनले पावलको अनुसरण गरिरहेका हुन्छन्। येशूले आफ्नो अख्ति- यार सीमित छ भनेर स्वीकार्नु भएझैं तिनले पनि आफ्नो अख्तियारको सीमितता स्वीकार्नेछन्। (लूका १२:१३, १४; यहूदा ९) यसको साथै आवश्यक परेको खण्डमा प्राचीनहरूले धर्मशास्त्रबाट मदतकारी र सोझै सल्लाह दिन्छन्। दोस्रो कारण, तिनले आफ्ना सहमसीहीहरूलाई तालिम दिइरहेका छन्। प्रेरित पावलले यसो भने: “खँदिलो खानेकुराचाहिं पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्।” (हिब्रू ५:१४) यसर्थ, परिपक्व हुन हामीले हाम्रो ज्ञानेन्द्रियको अभ्यास गर्नुपर्छ र हाम्रोनिम्ति निर्णय गरिदेओस् भनेर सधैं अरूमा भर पर्नु हुँदैन। धर्मशास्त्रबाट तर्क गर्ने तरिका सहमसीहीलाई देखाएर प्राचीनले तिनलाई उन्नति गर्न मदत गरिरहेका हुन्छन्।
१४. परिपक्व व्यक्तिहरूले यहोवामा भरोसा गर्छन् भनी कसरी देखाउनसक्छन्?
१४ यहोवा परमेश्वरले आफ्नो पवित्र आत्माद्वारा साँचो उपासकहरूको हृदयलाई प्रभाव पार्नुहुनेछ भन्ने विश्वास हामी राख्नसक्छौं। यसर्थ, परिपक्व मसीहीहरूले पावलले जस्तै व्यवहार गरेर भाइहरूको हृदयमा अमेट छाप पार्छन्। (२ कोरिन्थी ८:८; १०:१; फिलेमोन ८, ९) आफैलाई सही बाटोमा ल्याउन धर्मीहरूलाई होइन तर विशेषगरि अधर्मीहरूलाई विस्तृत व्यवस्थाहरू चाहिन्छ भनेर पावललाई थाह थियो। (१ तिमोथी १:९) भाइहरूप्रति शंका वा अविश्वास होइन तर तिनले विश्वास जाहेर गरे। एउटा मण्डलीलाई तिनले यसो लेखे: “तिमीहरू[बारे] . . . हामी प्रभुमा दृढ़ विश्वास राख्छौं।” (२ थिस्सलोनिकी ३:४) पावलको विश्वास, भरोसा र विश्वसनीयताले पक्कै पनि ती मसीहीहरूलाई निकै उत्प्रेरित गऱ्यो। आजका प्राचीन तथा परिभ्रमण निरीक्षकहरूको लक्ष्य दुरुस्त यस्तै छ। मायालु भई परमेश्वरको बगाललाई डोऱ्याउँदा यी विश्वासी पुरुषहरू कत्ति स्फूर्तिदायी छन्!—यशैया ३२:१, २; १ पत्रुस ५:१-३.
ख्रीष्टको व्यवस्थाअनुरूप जीवन यापन गर्ने
१५. भाइहरूसितको आफ्नो सम्बन्धमा हामीले ख्रीष्टको व्यवस्था प्रयोग गरिरहेका छौं कि छैनौं, त्यो बुझ्न हामीले आफैलाई सोध्नसक्ने केही प्रश्नहरू के हुन्?
१५ ख्रीष्टको व्यवस्थाअनुसार जीवन यापन गरिरहेका अनि उक्त व्यवस्थालाई बढावा दिइरहेका छौं कि छैनौं, हामीले नियमित तवरमा आफैलाई जाँच्नु आवश्यक छ। (२ कोरिन्थी १३:५) वास्तवमा, यसरी सोध्यौं भने हामी सबैले लाभ उठाउनेछौं: ‘म उत्थानदायी छु वा आलोचनात्मक छु? म सन्तुलित छु वा अचाक्ली गर्छु? अरूको कुरा पनि सुन्छु वा आफ्नै कुरामा ढिपी गर्छु?’ बाइबलमा तोकेरै उल्लेख नगरिएका विषयहरूमा भाइले के गर्नु हुन्छ वा के गर्नु हुँदैन त्यसबारे कुनै मसीहीले आदेश दिने कोसिस गर्दैनन्।—रोमी १२:१; १ कोरिन्थी ४:६.
१६. आफ्नो विषयमा नकारात्मक दृष्टिकोण राखेकाहरूलाई ख्रीष्टको व्यवस्थाको महत्त्वपूर्ण पक्ष पूरा गर्न हामी कसरी मदत गर्नसक्छौं?
१६ यी कठिन समयमा एकअर्कोलाई प्रोत्साहन दिने तरिका हामीले खोज्नु महत्त्वपूर्ण छ। (हिब्रू १०:२४, २५; तुलना गर्नुहोस् मत्ती ७:१-५) हाम्रा भाइहरू अनि बहिनीहरूलाई यसो हेर्दा के तिनीहरूको कमजोरीहरूभन्दा पनि तिनीहरूको गुनले हाम्रोनिम्ति ठूलो अर्थ राख्दैन र? यहोवाको निम्ति प्रत्येक व्यक्ति बहुमूल्य छ। तर दुःखको कुरा, सबैले यस्तै महसुस गर्दैनन्, नता आफ्नो विषयमा नै यसरी सोच्छन्। आफ्नो गल्ती र असिद्धतालाई कोट्याउने झुकाउ धेरैको हुन्छ। ती व्यक्तिहरूलगायत अरूलाई प्रोत्साहन दिन प्रत्येक सभापछि एकदुइ जना व्यक्तिहरूसित यसो कुरा गर्दा हामी तिनीहरूको उपस्थिति र मण्डलीमा तिनीहरूले दिएको महत्त्वपूर्ण योगदानको मोल किन गर्छौं त्यसबारे तिनीहरूलाई अवगत गराउनसक्छौं कि? यसरी तिनीहरूको बोझ हलुको पार्न र ख्रीष्टको व्यवस्था पूरा गर्न पाउनु कत्रो आनन्दको कुरा हो!—गलाती ६:२.
ख्रीष्टको व्यवस्था प्रभावकारी छ!
१७. तपाईंले आफ्नो मण्डलीमा के कस्ता भिन्नाभिन्नै तरिकाहरूमा ख्रीष्टको व्यवस्था पूरा भइरहेको देख्नुहुन्छ?
१७ ख्रीष्टको व्यवस्था मसीही मण्डलीमा प्रभावकारी छ। हामी यो दिनहुँ देख्छौं जस्तो कि, सहमसीहीहरू उत्सुक भएर सुसमाचारमा भाग लिंदा, तिनीहरूले एकअर्कोलाई प्रोत्साहन दिंदा, अत्यन्त कठिन समस्याहरूको बावजूद यहोवाको सेवा गर्न संघर्ष गर्दा, आमाबाबुले आफ्ना छोराछोरीहरूलाई आनन्दित हृदयले यहोवालाई प्रेम गर्न सिकाउने यत्न गर्दै तिनीहरूको लालनपालन गर्दा, सधैंभरि बल्दो जोशसहित यहोवाको सेवा गर्न बगाललाई उत्तेजित गराएर निरीक्षकले मायालु र न्यानो तरिकामा परमेश्वरको वचन सिकाउँदा। (मत्ती २८:१९, २०; १ थिस्सलोनिकी ५:११, १४) हामीले व्यक्तिगत तवरमा ख्रीष्टको व्यवस्थालाई आफ्नो जीवनमा प्रभावकारी ढंगले प्रयोग गर्दा यहोवाको हृदय हर्षले कति गद्गद हुन्छ! (हितोपदेश २३:१५) उहाँको सिद्ध व्यवस्थालाई प्रेम गर्नेजति सबै सधैंभरि बाँचून् भन्ने इच्छा उहाँ राख्नुहुन्छ। आउँदै गरेको प्रमोदवनमा मानिसजाति सिद्ध हुने, व्यवस्था उल्लंघन गर्नेहरू नहुने र हाम्रो हृदयको प्रत्येक झुकाउ नियन्त्रित हुने समय हामी देख्नेछौं। ख्रीष्टको व्यवस्थाअनुरूप जीवन यापन गर्नेहरूका लागि कस्तो गौरवमय प्रत्याशा!
[फुटनोट]
a यस्ता गृहहरू मसीहीजगत्का विहारहरूजस्ता होइनन्। यसको अर्थ यहाँ “एब्बोतहरू” वा “फादरहरू” हुँदैनन्। (मत्ती २३:९) जिम्मेवार भाइहरूलाई आदर गरिन्छ तर तिनीहरूको सेवा पनि सबै प्राचीनहरूलाई डोऱ्याउने सिद्धान्तद्वारा नै निर्देशित हुन्छ।
तपाईंको विचार कस्तो छ?
◻ मसीहीजगत्ले ख्रीष्टको व्यवस्था किन बुझेको छैन?
◻ हामी परिवारमा ख्रीष्टको व्यवस्था कसरी प्रभावकारी रूपमा प्रयोग गर्नसक्छौं?
◻ मण्डलीमा ख्रीष्टको व्यवस्था प्रयोग गर्न हामी केबाट जोगिनैपर्छ र के गर्नैपर्छ?
◻ मण्डलीसितको कामकुरामा प्राचीनहरूले ख्रीष्टको व्यवस्था कसरी पालन गर्नसक्छन्?
[पृष्ठ २३-मा भएको चित्र]
तपाईंको बच्चालाई प्रेमको निकै आवश्यकता छ
[पृष्ठ २४-मा भएको चित्र]
हाम्रा प्रिय प्राचीनहरू कत्ति स्फूर्तिदायी छन्!