यहोवाको प्रेमपूर्ण पारिवारिक प्रबन्ध
यसैकारण म आफ्ना घुँडा पिताको सामने टेक्तछु, जसबाट स्वर्ग र पृथ्वीमा हरेक परिवारको नाउँ राखिएको छ।”—एफिसी ३:१४, १५.
१, २. (क) यहोवाले के उद्देश्य ध्यानमा राख्नु भएर पारिवारिक एकाइको सृजना गर्नु भयो? (ख) यहोवाको प्रबन्धमा परिवारले आज के भूमिका निभाउनु पर्दछ?
यहोवाले नै पारिवारिक एकाइ सृजनु भएको हो। यसबाट मानिसलाई चाहिने सङ्गति, समर्थन अथवा घनिष्ठताको आवश्यकतालाई मात्र उहाँले पूरा गर्नु भएन। (उत्पत्ति २:१८) पृथ्वीलाई भरिभराउ पार्ने परमेश्वरको महिमायुक्त उद्देश्य पूरा गर्ने माध्यम पनि परिवार नै थियो। उहाँले प्रथम मानव दम्पतीलाई यसो भन्नु भयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।” (उत्पत्ति १:२८) परिवार भित्रको पालनपोषण र न्यानो वातावरण आदम र हव्वा र तिनीहरूका सन्तानबाट जन्मने बच्चाहरूका लागि लाभदायक हुने थियो।
२ तथापि, त्यो प्रथम दम्पतीले अवज्ञाको मार्ग रोजे—जसको परिणाम तिनीहरू र तिनीहरूका सन्तानका लागि विपत्तिजनक साबित भयो। (रोमी ५:१२) अतः परमेश्वरले चाहनु भएको पारिवारिक जीवनको एउटा विकृत रूपमात्र आज देख्न सकिन्छ। तापनि, यहोवाको प्रबन्धमा परिवारले अझै पनि एउटा महत्त्वपूर्ण स्थान पाएको छ र मसीही समाजमा त्यसले एउटा आधारभूत एकाइको रूपमा काम गरी नै रहेको छ। यसको अर्थ हाम्रो माझमा थुप्रै अविवाहित मसीहीहरूले गरेका असल कार्यलाई हामीले मूल्याङ्कन नगरेको होइन। बरु, मसीही सङ्गठनलाई सामूहिक रूपमा स्वस्थ राख्ने काममा परिवारहरूले पुऱ्याएको ठूलो योगदानलाई पनि हामी मान्यता दिन्छौं। विश्वासमा दह्रो हुने परिवारहरू द्वारा मण्डलीहरू दह्रो बन्दछन्। तर, आजका दबावहरूको सामना तपाईंको परिवारले कसरी गर्न सक्नेछ? यसको जवाफ पाउनका लागि पारिवारिक प्रबन्धबारे बाइबलले के भन्छ, सो हामी विचार गरौं।
बाइबलको पालोमा परिवार
३. कुलपिताहरूको परिवारमा पति र पत्नीले के भूमिका निभाउद थिए?
३ दुवै आदम र हव्वाले परमेश्वरद्वारा स्थापित अधीनताको प्रबन्धको अवहेलना गरे। तर नूह, अब्राहाम, इसहाक, याकूब र अय्यूब जस्ता विश्वासी मानिसहरूले चाहिं परिवारको शिरको हैसियतमा आफ्नो भूमिका ठीकसित निभाए। (हिब्रू ७:४) कुलपिताहरूको पालोमा परिवार एउटा सानो सरकार जस्तै हुन्थ्यो। परिवारको पिताले नै धार्मिक गुरु, उपदेशक र न्यायकर्त्ताको काम गर्द थिए। (उत्पत्ति ८:२०; १८:१९) पत्नीहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्थ्यो। तिनीहरू दासहरू नभएर परिवारका सहायक सञ्चालकहरू हुन्थे।
४. मोशाको व्यवस्था अन्तर्गत पारिवारिक जीवनमा के परिवर्तन आयो, तर आमा-बाबूहरूले के भूमिका निभाइ नै रहे?
४ सा० यु० पू० १५१३-मा इस्राएल एउटा राष्ट्र बनेपछि, पारिवारिक नियम मोशाद्वारा दिइएको राष्ट्रिय नियम अन्तर्गत हुन गयो। (प्रस्थान २४:३-८) जीवन र मृत्युसम्बन्धी मामिलाहरू समेतको फैसला गर्ने अख्तियार नियुक्त न्यायकर्त्ताहरूलाई दिइयो। (प्रस्थान १८:१३-२६) उपासनासित सम्बन्धित बलिदान चढाउने जिम्मा लेवी पुजाहारीहरूले उठाउन थाले। (लेवी १:२-५) तथापि, पिताको महत्त्वपूर्ण भूमिका कायम नै रह्यो। मोशाले पिताहरू सित यो आग्रह गरे: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड्दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।” (व्यवस्था ६:६, ७) आमाहरूको पनि निकै नै प्रभाव हुन्थ्यो। हितोपदेश १:८-मा जवान मानिसहरूलाई यो आज्ञा दिएको थियो: “तेरो बाबुका वचन सुन्, औ आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्।” हो, आफ्नो पतिको अख्तियारको परिधि भित्र बसेर पनि एउटी हिब्रू पत्नीले परिवारका लागि नियम बनाउन र सो कार्यान्वयन गर्न सक्थिन्। तिनी वृद्ध भइसके पछि पनि आफ्ना छोरा-छोरीहरूले तिनको मान गर्नु पर्थ्यो।—हितोपदेश २३:२२.
५. पारिवारिक प्रबन्धभित्र छोरा-छोरीहरूको स्थानको व्याख्या मोशाको व्यवस्थाले कसरी गऱ्यो?
५ परमेश्वरको व्यवस्थामा छोरा-छोरीहरूको भूमिका पनि स्पष्टसङ्ग बताइएको थियो। व्यवस्थाविवरण ५:१६-मा यसो भनिएको थियो: “परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा दिनुभएझैं तैंले आफ्ना माता-पिताको आदर गर्नू, र परमप्रभु तेरा परमेश्वरले दिनुभएको देशमा तँ दीर्घायु हुनेछस् र त्यहाँ तेरो भलो हुनेछ।” मोशाको व्यवस्था अन्तर्गत आमा-बाबुको अनादर गर्नु एउटा अति नै गम्भीर अपराध थियो। (प्रस्थान २१:१५, १७) “जसले आफ्ना आमा-बाबुलाई सराप्तछ त्यो मारिनैपर्छ” भनेर व्यवस्थामा लेखिएको थियो। (लेवी २०:९) आफ्ना आमा-बाबुको विरोध गर्नु स्वयं परमेश्वरकै विरोध गर्नु बराबर थियो।
मसीही पतिहरूको भूमिका
६, ७. प्रथम शताब्दीका पाठकहरूले एफिसी ५:२३-२९ मा उल्लिखित पावलका शब्दहरूलाई किन क्रान्तिकारी हो भनेर महसुस गरे?
६ मसीही धर्मले पारिवारिक प्रबन्ध अथवा विशेष तवर्मा पतिले निभाउनु पर्ने भूमिकाबारे थप जानकारी दियो। प्रथम शताब्दीमा, पतिहरूले आ-आफ्नी पत्नीहरू सित कठोर र क्रूरतासाथ व्यवहार गर्नु एउटा साधारण कुरा थियो। स्त्री जातिलाई मौलिक हक र इज्जत समेत दिइन्दैन थियो। दी एक्सपोजिटर्स बाइबल भन्छ: “सभ्य मानिएको युनानी पुरुषले छोरा-छोरी जन्माउने उद्देश्यले मात्र पत्नी घरमा ल्याउने गर्द थियो। तर उसको यौनिक चाहनाहरू माथि कुनै रोकटोक लगाउने अधिकार पत्नीसित हुँदैन थियो। त्यस प्रकारको विवाहमा प्रेमलाई ठाउँ दिने चलन थिएन। . . . एउटी दासीको केही हक हुँदैन थियो। उसको शरीर उसको मालिकको वशमा हुन्थ्यो।”
७ यस प्रकारको वातावरणमा पावलले एफिसी ५:२३-२९ का यी शब्दहरू लेखे: “पत्नीका शिर पति हुन् जस्तो ख्रीष्ट शरीरको मुक्तिदाता भई मण्डलीका शिर हुनुहुन्छ। ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अपर्ण गर्नुभयो। . . . त्यसरी नै पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनभने कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन।” प्रथम शताब्दीका पाठकहरूका लागि यी शब्दहरू क्रान्तिकारी थिए। दी एक्सपोजिटर्स बाइबल भन्छ: “त्यस बेलाको पतित नैतिकताको माझमा, विवाहबारे मसीही दृष्टिकोण नै मसीही धर्ममा सबैभन्दा नयाँ र कठोर कुरा देखिन्थ्यो। . . . [त्यसले] मानिस जातिका लागि एउटा नयाँ जमाना सुरु गरी दियो।”
८, ९. स्त्रीजाति प्रति कुन प्रकारका अस्वस्थकर प्रवृत्ति लोग्ने मानिसहरूमा प्रचलित छ, र मसीही लोग्नेमानिसहरूले ती विचारहरूको तिरस्कार किन गर्नुपर्दछ?
८ पतिहरूका लागि बाइबलमा उल्लिखित सल्लाह आज पनि कुनै कम क्रान्तिकारी छैन। महिलाहरूको स्वतन्त्रताबारे धेरै कुरा गरिए तापनि, आजसम्म थुप्रै पुरुषहरूले आइमाईहरूलाई यौनिक वासना पूरा गर्ने एउटा माध्यम मात्र ठान्छन्। अरूहरूको हप्कीदप्की र थिचोमिचो सहनु अथवा अरूहरूको वशमा बस्नु आइमाईहरूले रुचाउँदछन् भन्ने झुट्टा परम्परामा विश्वास गर्दै, धेरै लोग्ने मानिसहरूले आफ्नी पत्नीहरूको शारीरिक र भावनात्मक रूपमा दुरुपयोग गर्छन्। तर सांसारिक विचारबाट प्रभावित भएर एक जना मसीही पुरुषले आफ्नी पत्नीको दुरुपयोग गर्नु कति लाजलाग्दो कुरा हुने छ! एउटी मसीही स्त्री भन्छिन्: “मेरा पति एक जना सहायक सेवक थिए र आम-भाषणहरू पनि दिने गर्द थिए।” तापनि तिनले यो कुरा प्रकट गरिन्: “तर म चाहिं पतिको हातबाट कुटाइ खान्थे।” यस प्रकारका कार्यहरू स्पष्टतया परमेश्वरको प्रबन्धको विपरीत हुन्। हुनः त यस प्रकारको व्यक्ति धेरै न होला। तापनि, परमेश्वरबाट अनुग्रह पाउने आशा राख्न चाहेमा, उसले आफ्नो रिसलाई वशमा ल्याउने मद्दतको खोजी गर्नु आवश्यक थियो।—गलाती ५:१९-२१.
९ पतिहरूले आ-आफ्ना पत्नीहरूलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नु भनेर परमेश्वरले आज्ञा दिनु भएको छ। यसो गर्न नचाहनु परमेश्वरकै प्रबन्धको विरोध गर्नु हो र यसबाट परमेश्वर सितको आफ्नो सम्बन्ध बिग्रिनु सक्छ। प्रेरित पत्रुसका शब्दहरू यस विषयमा स्पष्ट छन्: “हे पति हो, त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर दिई बुद्धिमानीसाथ तिम्रा पत्नीसङ्ग बस, र तिमीहरूका प्रार्थना नरोकिओस्।” (१ पत्रुस ३:७) आफ्नी पत्नीसित कठोरताका साथ व्यवहार गर्दा पत्नीको र आफ्नै छोरा-छोरीको आध्यात्मिकता भताभुङ्गै हुन सक्तछ।
१०. कुन कुन ढङ्गमा पतिहरू ख्रीष्ट जस्तै शिर हुन सक्छन्?
१० पतिहरू हो, ख्रीष्ट जस्तै शिर तपाईं पनि भइ दिनु भयो भने, तपाईंको परिवार सप्रने छ। ख्रीष्ट कहिले पनि कठोर हुनुहुन्न थियो अथवा उहाँले कसैसित दुर्व्यवहार गर्नु भएन। यसको विपरीत, उहाँले यसो भन्न सक्नु भयो: “मेरो जुवा तिमी आफैले बोक, र मसङ्ग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ।” (मत्ती ११:२९) के यही कुरा तपाईंको परिवारले पनि तपाईंको विषयमा भन्न सक्छ? ख्रीष्टले आफ्ना चेलाहरू सित मित्रहरू जस्तै व्यवहार गर्नु भयो र तिनीहरू माथि भरोसा राख्नु हुन्थ्यो। (यूहन्ना १५:१५) के तपाईं पनि आफ्नी पत्नीलाई सोही प्रकारको मान्यता दिनु हुन्छ? “सुयोग्य पत्नी”-को विषयमा बाइबलले यसो भनेको छ: “तिनका पतिले तिनलाई पूरा भरोसा गर्छन्।” (हितोपदेश ३१:१०, ११) यसको अर्थ पत्नीलाई पनि काम-कुरा अथवा फैसलाहरू गर्ने केही हदसम्म स्वतन्त्रता दिने गर्नु हो र तिनलाई अनुचित प्रतिबन्धहरूको घेराभित्र बाँधेर राख्नु होइन। यसको अतिरिक्त, येशूले आफ्ना चेलाहरूलाई तिनीहरूको राय अथवा विचार प्रकट गर्ने प्रोत्साहन दिनु हुन्थ्यो। (मत्ती ९:२८; १६:१३-१५) के तपाईं पनि आफ्नी पत्नीलाई यस प्रकारको प्रोत्साहन दिने गर्नु हुन्छ? अथवा कुनै उचित कारणवश तिनले तपाईंको कुरासित सहमति व्यक्त नगर्नु चाहिं तिनीले तपाईंको अख्तियारलाई चुनौती दिएको ठान्नुहुन्छ कि? तपाईंको पत्नीको विचार अथवा भावनाहरूलाई उपेक्षा नगर्नु होस्। बरु ती भावनाहरूलाई ध्यान दिने गर्नु भयो भने, तिनले तपाईंलाई आफ्नो शिरको रूपमा अझ आदर गर्ने छिन्।
११. (क) छोरा-छोरीहरूका आध्यात्मिक आवश्यकताहरूको देखरेख पिताहरूले कसरी गर्न सक्छन्? (ख) प्राचीनहरू र सहायक सेवकहरू आ-आफ्ना परिवारहरूको देखरेख गर्नमा किन अनुकरणीय हुन पर्दछ?
११ तपाईं एक जना पिता हुनु हुन्छ भने, आफ्ना छोरा-छोरीहरूका आध्यात्मिक, भावनात्मक र शारीरिक आवश्यकताहरूको हेर-विचार गर्ने काममा तपाईंले अगुवाइ लिनु आवश्यक छ। यसको अर्थ आफ्नो परिवारको आध्यात्मिकता बढाउनका लागि एउटा राम्रो तालिका बनाउनु हो: तिनीहरू सङ्गसङ्गै क्षेत्र सेवकाईमा जानु, बाइबल अध्ययन सञ्चालन गर्नु र दैनिक पद्यको छलफल गर्नु। एउटा चाखलाग्दो कुरा के हो भने, एक जना प्राचीन वा सहायक सेवकले “आफ्नो घर राम्ररी चलाउन” सक्नु पर्दछ भनी बाइबलमा उल्लिखित गरिएको छ। अतः यस प्रकारका जिम्मेवारी उठाउने मानिसहरू परिवारका अनुकरणीय शिर हुनु पर्छ। मण्डलीका भारी जिम्मेवारीहरू उठाउने गरे तापनि, तिनीहरूले आफ्ना परिवारहरूलाई प्राथमिकता दिने गर्नु पर्छ। यसको कारण पावलले यस प्रकार व्यक्त गरे: “यदि कुनै पुरुषले आफ्ना घरकाहरूलाई तहमा ल्याउन जान्दैनन् भने तिनले परमेश्वरको मण्डलीको कसरी देखरेख गर्नसक्छन् र?”—१ तिमोथी ३:४, ५, १२.
समर्थन जनाउने पत्नीहरू
१२. मसीही प्रबन्ध अन्तर्गत पत्नीले के भूमिका निभाउने गर्छिन्?
१२ के तपाईं एउटी मसीही पत्नी हुनुहुन्छ? उसो भए पारिवारिक प्रबन्धमा तपाईंले पनि एउटा महत्त्वपूर्ण भूमिका निभाउनु पर्दछ। मसीही पत्नीहरूलाई “पतिलाई स्नेह [गर्ने] आफ्ना बाल-बच्चाहरूलाई माया [गर्ने], आत्मसंयमी [हुने], पतिव्रता [भएका], घरजाम गर्न सक्ने, दयालु, आफ्ना पतिका अधीनमा रहने” होउन् भनेर आग्रह गरिएको छ। (तितस २:४, ५) अतः आफ्नो परिवारका लागि घरलाई आनन्ददायी र सफा-सुग्घर अवस्थामा राख्दै, तपाईंले एक जना अनुकरणीय पत्नी हुने कोशिश गर्नुपर्छ। कहिलेकाहिं घरको कामकाज निश्चय पनि थकाइ लाग्दो हुन सक्छ। तर कदापि पनि यो काम तुच्छ अथवा निम्न स्तरको चाहिं होइन। पत्नीको हैसियतमा तपाईं “घरजाम गर्नु” हुन्छ र यस सम्बन्धमा तपाईंलाई निकै नै स्वतन्त्रता सुम्पिएको होला। (१ तिमोथी ५:१४) उदाहरणका लागि, ती “सुयोग्य पत्नीले” घरमा चाहिने मालसामान किन्ने गर्थिन्, जग्गा-जमीन सम्बन्धी लेनदेन गर्थिन् र एउटा सानो व्यापारको सञ्चालनद्वारा केही कमाउने पनि गर्थिन्। यसै कारण, तिनले पतिबाट प्रशंसा पाउनु कुनै अचम्मको कुरा थिएन! (हितोपदेश ३१-वौं अध्याय) स्वभाविकतः आफ्नो शिर अथवा पतिबाट पाएको निर्देशन अनुसार नै तिनी ती सबै काम कुरा गर्न अघि बढेकी हुनुपर्छ।
१३. (क) केही स्त्रीहरूका लागि लोग्नेमानिसको अधीनमा बस्न किन गाह्रो हुन सक्छ? (ख) आ-आफ्ना पतिको अधिनमा बस्नु नै मसीही स्त्रीहरूका लागि किन लाभदायक हो?
१३ तथापि, आफ्नो पतिको अधीनमा बस्न सधैं सजिलो चाहिं न होला। सबै पुरुषहरू आदर पाउने योग्यका हुँदैनन्। साथै, अर्थ सञ्चालन, योजना अथवा व्यवस्था मिलाउने जस्ता काममा तपाईं निपुण हुनु होला। सायद तपाईंको कुनै जागिर होला जसले गर्दा घरको आम्दानीमा तपाईंको पनि विशेष योगदान हुन सक्छ। अथवा, बितेको समयमा लोग्नेमानिसले गरेको थिचोमिचोको कारण तपाईंले निकै नै दुःख भोग्नु भएको हुन सक्छ। यसले गर्दा हाल तपाईंलाई एक जना लोग्नेमानिसको अधीनमा बस्नु गाह्रो लाग्न सक्छ। जे भए तापनि, आफ्ना पतिका लागि “डर” अथवा “श्रद्धा” देखाउनु परमेश्वरको अख्तियार प्रति श्रद्धा व्यक्त गर्नु हो। (एफिसी ५:३३, किङ्गडम इन्टरलिन्यिर; १ कोरिन्थी ११:३) एउटा सफल पारिवारिक जीवनका लागि अधीनता अति नै जरुरी छ; यसले तपाईंको परिवारलाई अनावश्यक क्लेश र तनाउबाट बचाउन सक्छ।
१४. आफ्नो पतिले गरेको कुनै फैसलासित पत्नीको सहमति छैन भने तिनले के गर्न सक्छिन्?
१४ तर के यसको अर्थ, आफ्नो पतिको फैसला परिवारका लागि हानिकारक हो जस्तो तपाईंलाई लागे तापनि तपाईं चुप लागेर बस्नु हो? यसो गर्नु आवश्यक छैन। आफ्नो छोरा इसहाकको हितका लागि हानिकारक हुन सक्ने परिस्थिति देख्ता, अब्राहामकी पत्नी सारा चुप लागेर बसीनन्। (उत्पत्ति २१:८-१०) यसै प्रकार, समय समयमा तपाईंले पनि आफ्नो विचार व्यक्त गर्ने आवश्यकता महसुस गर्नु हुन्छ होला। यो कुरा “ठीक बेलामा” र श्रद्धापूर्ण ढङ्गले गरियो भने, एक जना ईश्वरभक्त पुरुषले सुन्नेछ। (हितोपदेश २५:११) तर मानी लिनु होस्, तपाईंले दिनु भएको सल्लाहअनुसार काम गरिएन र बाइबलको कुनै सिद्धान्तको अवहेलना पनि भएको छैन। यस प्रकारको परिस्थितिमा आफ्नो पतिको इच्छा विपरीत जानु तपाईंले आफ्नै हानि गर्नु हो, होइन र? सम्झनु होस्, “बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले त्यो भत्काउँछे।” (हितोपदेश १४:१) आफ्नो घरको निर्माण गर्ने एउटा तरिका आफ्नो पतिको अगुवाइलाई समर्थन गर्नु हो। तिनका सफलताहरूको प्रशंसा गर्नुहोस् र उनीबाट गल्तीहरू हुँदा शान्त रहनु होस्।
१५. एउटी पत्नीले छोरा-छोरीलाई अनुशासनमा राख्ने अथवा प्रशिक्षण दिने काममा भाग लिने केही तरिकाहरू के हुन्?
१५ आफ्नो घरको निर्माण गर्ने एउटा अर्को तरिका आफ्ना छोरा-छोरीलाई अनुशासन र प्रशिक्षण दिने काममा भाग लिनु हो। उदाहरणका लागि, पारिवारिक बाइबल अध्ययनलाई लाभदायक बनाउन अर्थात् त्यसलाई नियमित रूपमा कायम राख्नमा तपाईंले आफ्नो भूमिका निभाउनु होस्। छोरा-छोरीसित घुमफिर गर्नु हुँदा, किनमेल गर्नु जाँदा अथवा प्रत्येक अवसरमा तिनीहरूसङ्ग परमेश्वरका सत्य वचनहरू बारे छलफल गर्नु होस्। यस सम्बन्धमा तपाईं “आफ्नो काम गर्न न छोडनु”-होस्। (उपदेशक ११:६) सभाहरूका लागि टिप्पणी तथा ईश्वरतान्त्रिक पाठशालाबाट पाएका कार्यहरू तयार गर्न तिनीहरूलाई मद्दत दिनुहोस्। तिनीहरूका साथीसङ्गतिबारे होसियार रहनु होस्। (१ कोरिन्थी १५:३३) ईश्वरीय सिद्धान्तहरू र अनुशासनसित सम्बन्धित मामिलाहरूमा तपाईं र तपाईंका पति एक हुनुहुन्छ भनी तिनीहरूलाई थाहा दिनुहोस्। तिनीहरूलाई तपाईं र तपाईंका पति बीच फाटो गराएर आफूले चाहेको कुरा पाउने कोशिश गर्न नदिनु होस्।
१६. (क) विश्वास नगर्नेहरू सित विवाह गरेका अथवा परिवारमा एक्लो आमा वा बाबु भएर बस्नु परेकाहरूलाई बाइबलका कुन उदाहरणले प्रोत्साहन दिन्छ? (ख) यस प्रकारका व्यक्तिहरूलाई मण्डलीका अन्य सदस्यहरूले कसरी मद्दत दिन सक्छन्?
१६ तपाईं घरमा एकलो आमा हुनुहुन्छ अथवा तपाईंको पति विश्वासमा छैनन् भने, आध्यात्मिक कुराहरूका लागि सायद तपाईंले नै अगुवाइ लिनु पर्ला। यसो गर्न गाह्रो मात्र नभएर कुनै कुनै बेला नैराश्यपूर्ण पनि हुन सक्छ। तर प्रयास गर्न बन्द नगर्नु होस्। तिमोथीकी आमा युनिसको पति विश्वास गर्दैन थिए। तापनि युनिस तिमोथीलाई उसको “बाल्यकाल” देखि नै पवित्र शास्त्र सिकाउनमा सफल भइन्। (२ तिमोथी १:५; ३:१५) र यस्तै प्रकारको सफलता हाम्रै माझमा पनि धेरैले अनुभव गरिरहेका छन्। यस सम्बन्धमा तपाईंलाई कुनै सहायताको खाँचो छ भने, आफ्ना आवश्यकताहरू बारे प्राचीनहरूलाई खबर दिनु होस्। तपाईंलाई सभाहरू धाउने अथवा क्षेत्र सेवकाईमा जाने मद्दत दिन तिनीहरूले कुनै एक जना व्यक्ति खटाउन सक्छन्। मनोरञ्जनका लागि बाहिर घुमफिर गर्नु जाँदा अथवा भेला हुँदा तपाईंको परिवारलाई पनि सम्मिलित गर्नु भनेर तिनीहरूले अरूहरूलाई प्रोत्साहन दिन सक्छन्। अथवा एउटा पारिवारिक अध्ययन सुरु गर्न तपाईंलाई सहायता दिनका लागि तिनीहरूले एक जना अनुभवी प्रकाशकसित प्रबन्ध मिलाउन सक्छन्।
मूल्याङ्कन व्यक्त गर्ने छोरा-छोरीहरू
१७. (क) पारिवारिक आनन्दमा जवान मानिसहरूले पनि कसरी योगदान दिन सक्छन्? (ख) यस सम्बन्धमा येशूले के उदाहरण कायम गर्नु भयो?
१७ जवान मसीहीहरूले पनि एफिसी ६:१-३ मा उल्लिखित यो सल्लाह मानेर पारिवारिक आनन्दमा योगदान पुर्याउन सक्छन्: “ए बालक हो, प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर, किनभने यो उचित छ। आफ्ना बाबु र आमाको मान गर (जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), र तिमीलाई भलो होस्, र पृथ्वीमा तिम्रो दीर्घायु होस्।” आफ्ना आमा-बाबुलाई सहयोग पुऱ्याउनु, यहोवाका लागि श्रद्धा व्यक्त गर्नु हो। येशू ख्रीष्ट सिद्ध हुनु हुन्थ्यो। यसकारण असिद्ध आमा-बाबुको अधीनमा बस्नु उहाँलाई शोभा दिंदैन भनेर उहाँले सजिलैसित तर्क गर्न सक्नु हुन्थ्यो। तर यसो गर्नुको सट्टा, “उहाँ तिनीहरूको अधीनमा बस्नुभयो . . . [र] येशू बुद्धि, कद र परमेश्वर र मानिसको अनुग्रहमा बढदै जानुभयो।”—लूका २:५१, ५२.
१८, १९. (क) आफ्ना आमा-बाबुलाई मान गर्नुको अर्थ के हो? (ख) घर विश्राम पाउने स्थान कसरी बन्न सक्छ?
१८ यसैगरी के तपाईंले पनि आफ्ना आमा-बाबुको मान गर्नु पर्दैन र? यहाँ “मान” शब्दको अर्थ उचित रूपमा खटाइएको अख्तियारलाई मान्यता दिनु हो। (१ पत्रुस २:१७ सित तुलना गर्नुहोस्।) आफ्ना आमा-बाबु विश्वासमा छैनन् अथवा तिनीहरू एउटा राम्रो उदाहरण कायम गर्न असफल भएको भए तापनि, यस प्रकारको मान दिनु अक्सर आवश्यक हुन्छ। तर तपाईंका आमा-बाबु अनुकरणीय मसीहीहरू हुन् भनेता तपाईंले तिनीहरूको झन बढी मान गर्नुपर्छ। तपाईंका आमा-बाबुले दिएका अनुशासन अथवा निर्देशनको उद्देश्य तपाईंमाथि व्यर्थै प्रतिबन्धहरू लगाउनु होइन। बरु, तपाईंलाई “जीवित” राख्न तिनीहरूले तपाईंको रक्षा गर्ने कोशिश गरेका हुन्।—हितोपदेश ७:१, २.
१९ साँच्चै नै, परिवार एउटा कति प्रेमपूर्ण प्रबन्ध हो! पतिहरू, पत्नीहरू र छोरा-छोरीहरू सबैले नै पारिवारिक जीवनका लागि परमेश्वरले खटाउनु भएका नियमहरू पालन गर्दा, घर एउटा आश्रय, एउटा विश्रामस्थान हुन जान्छ। तथापि, आपसमा कुराकानी गर्ने अथवा केटा-केटीहरूलाई प्रशिक्षण दिने सम्बन्धमा समस्याहरू उठ्न सक्छन्। यस्ता केही समस्याहरूको समाधान कसरी गर्न सकिन्छ, सो विषयको छलफल हाम्रो आउँदो लेखमा गरिने छ। (w92 10/15)
के तपाईंलाई सम्झना छ?
▫ बाइबलका समयहरूमा ईश्वरको डर मान्ने पतिहरूले, पत्नीहरूले र छोरा-छोरीहरूले के आदर्श कायम गरे?
▫ पतिले निभाउनु पर्ने भूमिकामाथि मसीही धर्मले के ज्योति दियो?
▫ मसीही परिवारमा पत्नीले के भूमिका निभाउनु पर्दछ?
▫ परिवारको आनन्दमा जवान मसीहीहरूले योगदान कसरी पुऱ्याउन सक्छन्?
[पृष्ठ २०-मा भएको चित्र]
“त्यस बेलाको पतित नैतिकताको माझमा, विवाहबारे मसीही दृष्टिकोण नै मसीही धर्मको सबैभन्दा नयाँ र कठोर कुरा देखिन्थ्यो। . . . [त्यसले] मानिसजातिका लागि एउटा नयाँ जमाना सुरु गरी दियो।”
[पृष्ठ २१-मा भएको चित्र]
मसीही पतिहरूले पत्नीहरूलाई तिनीहरूका भावनाहरूलाई व्यक्त गर्ने प्रोत्साहन दिन्छन्, र ती भावनाहरूलाई महत्त्व दिने गर्छन्