तपाईंको सारा फिक्री यहोवामाथि सुम्पनुहोस्
“परमेश्वरका बलवान बाहुलीमनि तिमीहरूले आफैलाई नम्र तुल्याओ, र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।”—१ पत्रुस ५:६, ७.
फिक्रीले हाम्रो जीवनमा असाध्यै प्रभाव पार्न सक्छ। रेडियोबाट सुनिने मीठो धुनलाई कहिलेकाहीं अवरोध गर्ने ध्वनि तरङ्गहरूसित यसको तुलना गर्न सकिन्छ। रेडियो तरङ्गहरूमा कुनै अवरोध आएन भने मोहक धुनहरूको आनन्द उठाउन सकिन्छ र श्रोतालाई शान्त पार्छ। तर ध्वनि तरङ्गहरूको रूखो आवाजले सबैभन्दा सुन्दर ध्वनिलाई पनि बिगार्न सक्छ जसको फलस्वरूप हामी झिंजो मान्न र दिक्क हुन सक्छौं। हाम्रो सौम्यतामा फिक्रीले पनि त्यस्तै प्रभाव पार्न सक्छ। अत्यावश्यक कामकुराहरूमा पनि ध्यानै दिन नसकिने गरी हामीलाई फिक्रीले लाद्न सक्छ। निस्सन्देह, “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ।”—हितोपदेश १२:२५.
२ अचाक्ली फिक्रीले अलमल्याउँदा आउनसक्ने खतराबारे येशू ख्रीष्टले भन्नु भयो। अन्तिम दिनबारे गर्नुभएको भविष्यवाणीमा उहाँले यसरी आग्रह गर्नुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला। किनकि यसरीनै सारा पृथ्वीको सतहमा रहनेहरूमाथि यो आइपर्नेछ। तर आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खड़ा हुनसक्नलाई हर घड़ी प्रार्थना गर्दै जागा रहो।” (लूका २१:३४-३६) घिचुवापन र मतवालापनले सुस्त मानसिक अवस्था ल्याउन सकेझैं “जीवनको फिक्रीले” लादिंदा दुःखदायी परिणामहरू भोग्नुका साथै सही मानसिक दृष्टिकोण हामीले गुमाउन सक्छौं।
फिक्री के हो
३ “फिक्री” लाई “आउन लागेको अथवा प्रत्याशित दुर्दशाबारे पीडादायी वा आशङ्कित मनस्थिति” भनी परिभाषित गरिएको छ। यो “त्रसित चासो अथवा इच्छा” हो। साथै यो “असाधारण र विह्वलित आशङ्का अनि डर हो र त्यो प्रायजसो शारीरिक लक्षणहरूबाट (जस्तै, चिटचिट पसिना आउनु, तनाव र मुटुको धड्कन बढ्नु) देखिन्छन्। खतराको वास्तविकता र त्यसको प्रकृतिप्रति शङ्का, त्यो सामना गर्ने क्षमताप्रति आफै द्धिविधामा पर्नु” हो। (वेब्सटर्स नाइन्थ न्यु कोलिजियट डिक्श्नरी) यसकारण फिक्री एउटा जटिल समस्या हुन सक्छ। यसका थुप्रै कारणहरूमध्ये बिमारी, बुढ्याईंअपराधको डर, रोजगार गुमाउनु र आफ्नो परिवारको हितको चिन्ता हुन्।
४ स्पष्टतः, विभिन्न अवस्था र परिस्थितिले गर्दा फिक्री उत्पन्न भएजस्तै फिक्रीको मात्रा पनि भिन्न हुन्छन्। कुनै एउटा अवस्थामा सबैले एकै प्रकारको प्रतिक्रिया व्यक्त गर्दैनन्। यसर्थ, कुनै खास कुराले हामीलाई चिन्तित नतुल्याए पनि यहोवाका हाम्रा केही सङ्गी उपासकहरूका निम्ति त्यो गम्भीर फिक्रीको कारण हुन सक्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। परमेश्वरको वचनको सामञ्जस्य र मनमोहक सत्यताहरूमा एकाग्र हुन नसक्ने गरी फिक्री बढ्न थाल्यो भने के गर्न सकिन्छ? यहोवाको सार्वभौमिकता र मसीही निष्ठामाथि ध्यान केन्द्रित गर्नै नसकिने गरी फिक्रीले पीडित भयौं भने नि? हामी आफ्नो परिस्थिति परिवर्तन गर्न नसकौंला। बरु, जीवनका काँडारूपी समस्याहरूले पैदा गर्ने अनावश्यक फिक्रीको सामना गर्ने मदत पाउन शास्त्रीय बुँदाहरूमा ध्यान दिनु पर्छ।
मदत उपलब्ध छ
५ मसीहीहरूलाई आध्यात्मिक मदतको आवश्यकता पर्दा र फिक्रीहरूले ग्रस्त हुँदा तिनीहरूले परमेश्वरको वचनबाट सान्त्वना प्राप्त गर्न सक्छन्। हामी मात्रै यहोवाका निष्ठावान सेवकहरू होइनौं भनेर यसले भरपर्दो डोहोऱ्याइ र निकै आश्वासनहरू प्रदान गर्छ। उदाहरणको लागि, भजनरचयिता दाऊदले यसप्रकार गाए: “तेरो भारी परमप्रभुमा राख्, र उहाँले तँलाई सह्माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्न दिनुहुनेछैन।” (भजनसंग्रह ५५:२२) यी शब्दअनुरूप हामी कसरी चल्न सक्छौं? हाम्रा फिक्री, पीर, डर र निराशाहरू स्वर्गमा हुनुहुने हाम्रो मायालु पितामा सुम्पेर। यसले हामीलाई सुरक्षित र हृदयमा शान्त भएको अनुभूति दिन्छ।
६ हाम्रो फिक्री लगायत सारा भार यहोवालाई सुम्पने हो भने नियमित हार्दिक प्रार्थना अपरिहार्य छ। प्रेरित पावलले लेखेझैं त्यसले हामीलाई आन्तरिक शान्ति दिन्छ। तिनले यसप्रकार लेखे: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्। औ परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्छ।” (फिलिप्पी ४:६, ७) कठिनभन्दा कठिन परिस्थितिमा पनि यहोवाका समर्पित सेवकहरूले आनन्द उठाउने असाधारण मानसिक स्थिरता “परमेश्वरको” अतुलनीय “शान्ति” हो। परमेश्वरसितको घनिष्ठ सम्बन्धबाट त्यो प्राप्त हुन्छ। पवित्र आत्माको निम्ति प्रार्थना गर्दा र त्यसले हामीलाई उत्प्रेरित गर्दा हामी जीवनका सम्पूर्ण समस्याहरूबाट मुक्त त हुँदैनौं तर आत्माको फल, शान्तिको आनन्द अवश्य उठाउँछौं। (लूका ११:१३; गलाती ५:२२, २३) हामी फिक्रीले विह्वल हुँदैनौं किनभने यहोवाले आफ्ना सारा विश्वासी जनहरूलाई “सुरक्षित” राख्नुहुन्छ र हाम्रो स्थायी हानि हुने केही कुरा हुन दिनुहुनेछैन भनेर हामीलाई थाहा छ।—भजनसंग्रह ४:८.
७ तर निरन्तर प्रार्थना र शास्त्रपदमा मनन गर्दा गर्दै पनि हाम्रो फिक्री रहिरह्यो भने नि? (रोमी १२:१२) मण्डलीमा नियुक्त प्राचीनहरू पनि हामीलाई आध्यात्मिक तवरमा मदत दिने यहोवाको प्रबन्ध हो। परमेश्वरको वचन प्रयोग गरेर अनि हामीसित र हाम्रो लागि प्रार्थना गरेर तिनीहरूले सान्त्वना तथा मदत दिन सक्छन्। (याकूब ५:१३-१६) परमेश्वरको बगाललाई स्वेच्छापूर्वक, राजीखुशी र उदाहरणीय ढङ्गमा रेखदेख गर्न प्रेरित पावलले सङ्गी प्राचीनहरूलाई आग्रह गरे। (१ पत्रुस ५:१-४) तिनीहरू हाम्रो हितमा साँचो चासो राख्छन् र मदतकारी हुन चाहन्छन्। निस्सन्देह, प्राचीनहरूको मदतबाट पूर्ण लाभ उठाउन र मण्डलीमा राम्रो प्रगति गर्न हामी सबैले पत्रुसको निम्न सल्लाह पालन गर्नुपर्छ: “हे जवान हो, बूढ़ाहरूको अधीनमा बस। तिमीहरू सबै एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर। किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”—१ पत्रुस ५:५.
८ पत्रुसले अझै भने: “यसकारण, परमेश्वरका बलवान बाहुलीमनि तिमीहरूले आफैलाई नम्र तुल्याओ, र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ। सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ। तिमीहरू आफ्नो विश्वासमा दह्रो भएर यस संसारमा भएका तिमीहरूका दाज्यूभाइहरूले पनि यही कष्ट भोगिरहेका छन् भन्ने जानेर त्यसको विरोध गर। औ सबै अनुग्रहको परमेश्वर, जसले तिमीहरूलाई ख्रीष्टमा आफ्नो अनन्त महिमामा बोलाउनुभयो, तिमीहरूले केही बेर दुःख भोगेपछि उहाँ आफैले तिमीहरूलाई सुधार्नुहुनेछ, स्थिर गराउनुहुनेछ र बलियो गराउनुहुनेछ। उहाँलाईनै पराक्रम र शक्ति सदा सर्वदै भइरहोस्। आमिन।”—१ पत्रुस ५:६-११.
९ ‘परमेश्वरले हाम्रो चिन्ता गर्नुहुने हुनाले हाम्रा सारा फिक्री उहाँमा सुम्पन’ सक्छौं भनी थाहा पाउनु कति सान्त्वनादायी कुरा हो! अनि हामीमाथि सतावट र अन्य कठिनाइहरू ल्याएर यहोवासितको हाम्रो सम्बन्धलाई भङ्ग गर्ने शैतानको प्रयासले गर्दा केही फिक्रीहरू भए तापनि निष्ठावान व्यक्तिहरूका लागि अन्तमा सबै कुरा राम्रै हुन्छ भनेर थाहा पाउनु के अद्भुत कुरा होइन र? हो, हामीले केही समय कठिनाइ भोगिसकेपछि असीम अनुग्रहका परमेश्वरले हाम्रो प्रशिक्षण अन्त गर्नुहुनेछ र हामीलाई दृढ अनि बलियो बनाउनुहुनेछ।
१० फिक्रीको सामना गर्न हामीलाई मदत दिन सक्ने तीन वटा गुणहरू १ पत्रुस ५:६, ७ ले सङ्केत गर्छ। एउटा हो, विनम्रता अथवा “विनय।” धीरजको आवश्यकतालाई सङ्केत गर्दै “समयमा” भन्ने अभिव्यक्तिसाथ पद ६ टुङ्याइएको छ। ‘परमेश्वरले हाम्रो फिक्री गर्नुहुने’ हुनाले ढुक्क भएर हामीले सारा फिक्री उहाँमाथि सुम्पन सक्छौं भनी पद ७ ले देखाउँछ र ती शब्दहरूले यहोवामाथि पूर्ण भरोसा राख्न प्रोत्साहन दिन्छ। त्यसकारण आउनुहोस्, विनम्रता, धीरज र परमेश्वरमाथि पूर्ण भरोसाले फिक्रीलाई कसरी कम गर्न मदत दिन्छ हेरौं।
विनम्रताले कसरी मदत दिन सक्छ
११ हामी नम्र छौं भने परमेश्वरका विचारहरू हाम्राभन्दा धेरै श्रेष्ठ छन् भनी मानी लिन्छौं। (यशैया ५५:८, ९) विनम्रताले हामीलाई यहोवाको सर्वव्यापी दृष्टिको तुलनामा हाम्रो सीमित सोचाइलाई स्वीकार्न मदत दिन्छ। हामीले बुझ्न नसक्ने कुराहरू पनि उहाँले देख्नुहुन्छ भनेर धर्मी मानिस अय्यूबसित सम्बन्धित घटनाबाट देखिन्छ। (अय्यूब १:७-१२; २:१-६) “परमेश्वरको बलवान बाहुलीमनि” आफूलाई नम्र तुल्याउँदा हामीले सर्वोच्च सार्वभौमको भन्दा आफ्नो तल्लो स्थानलाई मानी लिइरहेका हुन्छौं। फलतः उहाँले अनुमति दिनुहुने परिस्थितिको सामना गर्न त्यसले मदत दिन्छ। हाम्रो हृदयले तत्काल छुटकाराको लालसा गर्न सक्छ तर यहोवाका गुणहरू पूर्ण सन्तुलनमा भएकोले हाम्रो खातिर कहिले र कसरी काम गर्नुपर्ने भनेर उहाँलाई यथार्थ कुरा थाहा छ। त्यसैले, हाम्रा फिक्रीहरूको सामना गर्न यहोवाले मदत गर्नुहुनेछ भनी निर्धक्क भएर साना बालकहरूझैं हामी उहाँको बलवान बाहुलीलाई नम्रतापूर्वक पक्री राखौं।—यशैया ४१:८-१३.
१२ विनम्रतामा परमेश्वरको वचनको सल्लाह अपनाउने इच्छुकता समाविष्ट छ, जसले फिक्रीलाई प्रायजसो कम गर्न सक्छ। उदाहरणको लागि, भौतिक कुराहरूको पछि दौड्नाले हामीलाई फिक्री भइरहेको छ भने पावलको सल्लाहलाई ध्यान दिनु बेस हुनेछ: “रूपियाँ-पैसाको लोभबाट अलग बस। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट रहो। किनकि उहाँ [परमेश्वर] आफैले भन्नुभएको छ, ‘म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।’” (हिब्रू १३:५) नम्रतापूर्वक उक्त सल्लाह पालन गर्दा भौतिक सुरक्षा प्राप्त गर्ने ठूलो फिक्रीबाट धेरैले आफूलाई मुक्त गरेका छन्। त्यसो गर्दा तिनीहरूको आर्थिक अवस्था त सुध्रेन होला तर आध्यात्मिक घात पुऱ्याउने गरी तिनीहरूको सोचाइमाथि त्यसले प्रभुत्त्व जमाउँदैन।
धीरजको भूमिका
१३ पहिलो पत्रुस ५:६ मा “समयमा” भन्ने अभिव्यक्तिले धैर्यपूर्वक सहने आवश्यकतालाई बोध गराउँछ। कहिलेकाहीं निकै लामो समयसम्म समस्या रहिरहँदा हाम्रो फिक्री बढ्न सक्छ। विशेषगरि त्यस्तो परिस्थितिमा हामीले आफ्नो फिक्री यहोवाको हातमा छोड्नुपर्छ। चेला याकूबले यसप्रकार लेखे: “हामी ता धीरज धर्नेहरूलाई धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अन्त्य पनि देखेकै छौ, कि प्रभु कस्तो टिठाइमा भरिपूर र कृपालु हुनुहुन्छ।” (याकूब ५:११) अय्यूबले आर्थिक नोक्सानी, दश छोराछोरीहरूको मृत्यु, घिनलाग्दो रोग र झूटा सान्त्वनादाताहरूको गलत आरोप सहनु पऱ्यो। त्यस्तो परिस्थितिमा केही हदसम्म फिक्री हुनु स्वाभाविक हो।
१४ जस्तोसुकै अवस्थामा धीरज धारण गर्ने सम्बन्धमा अय्यूब उदाहरणीय थिए। हामीमाथि विश्वासको कठोर परीक्षा भइरहेको छ भने अय्यूबले जस्तै हामीले पनि छुटकाराको लागि पर्खिनु पर्ने हुन सक्छ। तर अन्ततः अय्यूबलाई कठिनाइबाट छुटकारा अनि प्रशस्त आशिष् दिनुभएर परमेश्वरले उनको खातिर अवश्य कदम चाल्नुभयो। (अय्यूब ४२:१०-१७) धीरजी भएर यहोवामा पर्खिरहनाले हाम्रो सहनशीलता बढ्छ र त्यसले उहाँप्रति हाम्रो भक्तिको गहराइलाई प्रकट गर्छ।—याकूब १:२-४.
यहोवामाथि भरोसा राख्नुहोस्
१५ ‘परमेश्वरले हाम्रो फिक्री गर्नुहुने हुनाले हाम्रा सारा फिक्री उहाँमाथि राख्न’ पत्रुसले आफ्ना सङ्गी विश्वासीहरूलाई आग्रह गरे। (१ पत्रुस ५:७) अतः हामी यहोवामा पूर्ण भरोसा राख्न सक्छौं र राख्नु पर्ने पनि हो। हितोपदेश ३:५, ६ ले यसो भन्छ: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” अतितका अनुभवहरूले गर्दा फिक्री गर्ने व्यक्तिहरू अरूमाथि विश्वास गर्न गाह्रो मान्छन्। हाम्रो जीवनको स्रोत र प्राणदाता सृष्टिकर्त्तामाथि भरोसा राख्ने हामीसित ठोस कारण छ। कुनै कुनै कुरामा हामी आफ्नै प्रतिक्रियामा भर पर्न नसके तापनि हामीलाई हाम्रा विपत्तिहरूबाट जोगाउन सधैं यहोवामाथि भरोसा राख्न सक्छौं।—भजनसंग्रह ३४:१८, १९; ३६:९; ५६:३, ४.
१६ परमेश्वरमाथि भरोसा राख्नुमा आफ्नो पिताबाट सिकेका कुराहरू सिकाउनुहुने उहाँको पुत्र, येशू ख्रीष्टको आज्ञा पालन गर्नु समावेश छ। (यूहन्ना ७:१६) यहोवाको सेवा गरेर ‘स्वर्गमा धन-सम्पत्ति थुपार्न’ येशूले आफ्ना चेलाहरूलाई आग्रह गर्नुभयो। तर भोजन, वस्त्र र आवासजस्ता भौतिक आवश्यकताहरूबारे नि? येशूले आग्रह गर्नुभयो: “फिक्री नगर।” परमेश्वरले चराहरूलाई खुवाउनुहुन्छ भनी उहाँले औंल्याउनुभयो। उहाँले फूलहरूलाई सिंगार्नुहुन्छ। परमेश्वरका मानव सेवकहरू तीभन्दा बहुमूल्य छैनन् र? अवश्य छन्। यसर्थ, येशूले यसरी आग्रह गर्नुभयो: “पहिले उहाँको राज्य र उहाँको [परमेश्वरको] धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” येशूले अझै भन्नुभयो: “यसकारण भोलिको दिनको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ।” (मत्ती ६:२०, २५-३४) हो, हामीलाई भोजन, पानी, वस्त्र र आवास चाहिन्छ तर यहोवामा भरोसा राख्यौं भने यी कुराहरूबारे हामी अनावश्यक फिक्री गर्नेछैनौं।
१७ सर्वप्रथम राज्यलाई खोजी गर्न हामीले परमेश्वरमा भरोसा राख्नुपर्छ र आफ्ना प्राथमिकताहरूलाई उपयुक्त क्रममा राख्नुपर्छ। मोती भएको सिपी खोज्न गोताखोरले श्वास-प्रश्वासको लागि कुनै उपकरण नै नलिइकन पानीमा फाल हाल्लान्। आफ्नो परिवारको लागि आर्थिक मदत दिने यो उसको माध्यम हो। निस्सन्देह, त्यो सर्वोत्तम प्राथमिकता हो! तर त्योभन्दा महत्त्वपूर्ण के हो? हावा! आफ्नो फोक्सोलाई हावाले भर्न ऊ पटक पटक सतहमा आउनुपर्छ। सर्वोत्तम प्राथमिकता हावा हो। त्यस्तैगरि, जीवनका आवश्यकताहरू धान्न हामी केही हदसम्म यस रीतिरिवाजमा संलग्न हुनुपर्ला। तर आध्यात्मिक कुराहरूले प्रथम स्थान पाउनुपर्छ किनभने हाम्रो परिवारको जीवन नै त्यसमा निर्भर छ। भौतिक कुराहरूप्रति अनावश्यक फिक्रीबाट जोगिन हामीले परमेश्वरमा पूर्ण भरोसा राख्नुपर्छ। यस बाहेक, ‘प्रभुको काममा प्रशस्त’ हुँदै जानाले फिक्री कम गर्न मदत पुग्न सक्छ किनभने “परमप्रभुको आनन्दनै” हाम्रो बल साबित हुनेछ।—१ कोरिन्थी १५:५८; नहेम्याह ८:१०.
तपाईंको फिक्री सधैं यहोवामाथि सुम्पने गर्नुहोस्
१८ आध्यात्मिक कुराहरूमा ध्यान केन्द्रित गर्न हामीले निरन्तर आफ्ना फिक्रीहरू यहोवामाथि सुम्पनुपर्छ। आफ्ना सेवकहरूको उहाँ साँच्चै चिन्ता गर्नुहुन्छ भनी कहिल्यै नबिर्सनुहोस्। उदाहरणको लागि: आफ्नो पतिको अविश्वासीलोपनको फिक्रीले गर्दा एउटी मसीही स्त्री सुत्न समेत नसक्ने स्थितिमा पुगिन्। (भजनसंग्रह ११९:२८ तुलना गर्नुहोस्।) तर ओछ्यानमै बसेर उनले आफ्ना फिक्रीहरू यहोवामा पोख्थिन्। उनी र आफ्ना दुई सानी छोरीहरूले भोगिरहेको पीडाका भित्री भावनाहरू परमेश्वरलाई पोख्थिन्। व्यग्र प्रार्थनाद्वारा छुटकाराको निम्ति कराएपछि उनी सधैं निदाउन सक्थिन् किनभने यहोवाले उनी र उनका बच्चाहरूलाई हेर्नुहुनेछ भनी उनले भरोसा राखिन्। शास्त्रीय तवरमा छुटानाम भएकी यस स्त्रीको अहिले एक प्राचीनसित आनन्दमय विवाह भएको छ।
१९ यहोवाका जनहरूको हैसियतमा फिक्रीको सामना गर्न हामीसित विभिन्न तरिकाहरू छन्। परमेश्वरको वचन प्रयोग गर्नु विशेषगरि मदतकारी हुन्छ। प्रहरीधरहरा र ब्यूँझनुहोस्! मा प्रकाशित मदतकारी तथा स्फूर्तिदायी लेखहरू लगायत “विश्वासी र बुद्धिमान दास” ले प्रबन्ध गरिदिएको प्रचुर आध्यात्मिक आहार हामीसित छ। (मत्ती २४:४५-४७) हामीसित परमेश्वरको पवित्र आत्माको मदत छ। नियमित र व्यग्र प्रार्थनाले हामीलाई निकै लाभ पुऱ्याउँछ। नियुक्त प्राचीनहरू आध्यात्मिक मदत र सान्त्वना प्रदान गर्न तत्पर अनि इच्छुक हुन्छन्।
२० हामीमाथि आइपर्ने फिक्रीको सफलतापूर्वक सामना गर्न हाम्रो आफ्नै विनम्रता र धीरज अत्यन्तै लाभदायी हुन्छ। विशेष महत्त्वको कुरा, यहोवामाथि पूर्ण भरोसा हो किनभने जसै हामी उहाँको मदत र डोहोऱ्याइ अनुभव गर्छौं, हाम्रो विश्वास बढ्छ। फलतः परमेश्वरमाथिको विश्वासले हामीलाई अनावश्यक तवरले चिन्तित हुनदेखि रोक्छ। (यूहन्ना १४:१) सर्वप्रथम राज्यको खोजी गर्न र प्रभुको आनन्दमय काममा व्यस्त रहन विश्वासले हामीलाई उत्प्रेरित गर्छ अनि त्यसले फिक्रीको सामना गर्न हामीलाई मदत दिन्छ। अनन्तसम्म परमेश्वरको महिमा गाउनेहरूको माझमा त्यस्ता क्रियाकलापहरूले हामीलाई सुरक्षित महसुस गराउँछ। (भजनसंग्रह १०४:३३) त्यसकारण हामी आफ्ना फिक्रीहरू निरन्तर यहोवामाथि सुम्पने गरौं। (w94 11/15)
तपाईंले कसरी जवाफ दिनुहुनेछ?
◻ फिक्रीलाई कसरी परिभाषित गर्न सकिन्छ?
◻ फिक्रीको सामना गर्न सकिने केही तरिकाहरू के के हुन्?
◻ फिक्रीलाई कम गर्न विनम्रता र धीरजले कसरी मदत दिन सक्छ?
◻ फिक्रीको सामना गर्दा यहोवामा पूर्ण भरोसा राख्नु किन महत्त्वपूर्ण छ?
◻ यहोवामाथि हाम्रो सारा फिक्री किन सुम्पिनै रहनुपर्छ?
[अध्ययनका लागि प्रश्नहरू]
१. फिक्रीले हामीमाथि कसरी प्रभाव पार्न सक्छ र यसलाई उदाहरणसहित कसरी देखाउन सकिन्छ?
२. “जीवनका फिक्रीहरू” बारे येशूले के भन्नुभयो?
३. “फिक्री” लाई कसरी परिभाषित गरिएको छ र यसका केही कारणहरू के के हुन्?
४. (क) मानिसहरू र तिनीहरूका फिक्रीहरूबारे कुन कुरा सम्झनु बेस हुनेछ? (ख) हामीले फिक्री अनुभव गरिरहेका छौं भने के गर्न सकिन्छ?
५. भजनसंग्रह ५५:२२ अनुरूप हामी कसरी चल्न सक्छौं?
६. फिलिप्पी ४:६, ७ अनुसार प्रार्थनाले हाम्रो निम्ति के गर्न सक्छ?
७. हामीलाई फिक्रीको सामना गर्न मसीही प्राचीनहरूले कस्तो भूमिका निभाउन सक्छन्?
८, ९. पहिलो पत्रुस ५:६-११ बाट हामीले कस्तो सान्त्वना पाउन सक्छौं?
१०. हाम्रो फिक्री कम गर्न पहिलो पत्रुस ५:६, ७ ले कुन तीन वटा गुणहरू सङ्केत गर्छ?
११. फिक्री सामना गर्न विनम्रताले हामीलाई कसरी मदत दिन सक्छ?
१२. हिब्रू १३:५ मा दिइएका शब्दहरूलाई नम्रतापूर्वक पालन गऱ्यौं भने भौतिक सुरक्षासम्बन्धी फिक्रीलाई कसरी असर गर्न सक्छ?
१३, १४. (क) धीरजी भएर सहने सम्बन्धमा अय्यूबले कस्तो उदाहरण बसाले? (ख) धीरजी भएर यहोवामा पर्खनाले हाम्रो निम्ति के हुन सक्छ?
१५. यहोवामाथि हामीले पूर्ण भरोसा किन राख्नुपर्छ?
१६. भौतिक कुराहरूको फिक्रीको सम्बन्धमा येशू ख्रीष्टले के भन्नुभयो?
१७. सर्वप्रथम राज्य खोजी गर्ने कुरालाई हामी कसरी उदाहरणसहित बुझाउन सक्छौं?
१८. यहोवामाथि सम्पूर्ण फिक्री सुम्पनाले हामीलाई साँच्चै मदत पुग्छ भन्ने के प्रमाण छ?
१९, २०. (क) हामीले फिक्रीको सामना गर्न सक्ने केही तरिकाहरू के के हुन्? (ख) हाम्रा फिक्रीहरूबारे हामीले के गरिरहनुपर्छ?
[पृष्ठ ८-मा भएको चित्र]
येशूले “फिक्री नगर” भन्नुको कारण के तपाईंलाई थाहा छ?