सबै साँचो मसीहीहरू सुसमाचारका प्रचारक हुन पर्छन्
“प्रचारकको [वा मिसनरीको] काम गर।”—२ तिमोथी ४:५, पाद टिप्पणी [न्यु व०]
१. प्रथम शताब्दीका प्रचारकहरूले प्रचार गरेको सुसमाचार के थियो?
आज प्रचारक हुनुको अर्थ के हो? के तपाईं पनि एक जना प्रचारक हुनुहुन्छ? “प्रचारक” शब्द युआगेलिसटेसʹ भन्ने युनानी शब्दबाट लिइएको हो र यसको अर्थ “सुसमाचारको प्रचारक” हो। सा० यु० ३३-मा मसीही मण्डलीको स्थापना भएदेखि यस मसीही सुसमाचारले मुक्तिका लागि परमेश्वरको माध्यमलाई प्रकाश पाऱ्यो। साथै, मानवजाति माथि आफ्नो राज्य शासनको थालनी गर्न येशू ख्रीष्ट पछि फर्कि आउनु हुने छ भनेर यसले घोषणा गऱ्यो।—मत्ती २५:३१, ३२; २ तिमोथी ४:१; हिब्रू १०:१२, १३.
२. (क) हाम्रो दिनमा सुसमाचारको विषयवस्तु कसरी अझ प्रबल भएको छ? (ख) आज सबै साँचो मसीहीहरूको काँधमा के जिम्मेवारी आएको छ?
२ आफ्नो आगमन र अदृश्य उपस्थितिबारे येशूले दिनुभएको चिन्हहरू पूरा हुँदैछ भन्ने प्रमाण, १९१४ देखि बढ्दै आएको छ। (मत्ती २४:३-१३, ३३) यसले गर्दा “परमेश्वरको राज्य नजिकै छ” भन्ने त्यो अभिव्यक्ति फेरि एकपल्ट यस सुसमाचारमा समावेश हुन सक्यो। (लूका २१:७, ३१; मर्कूस १:१४, १५) निश्चय नै, “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ” भनेर मत्ती २४:१४-मा लिपिबद्ध गरिएको येशूको भविष्यवाणी भव्य रूपमा पूरा हुने बेला आइसकेको थियो। अतः स्थापित भइसकेको परमेश्वरको राज्य र आज्ञाकारी मानवजाति माथि यसले चाँडै नै ल्याउने आशिषहरू बारे जोशका साथ घोषणा गर्नु, वर्तमान प्रचारकार्यमा समावेश छ। यो काम गर्न र ‘चेला बनाउने’ आज्ञा पालन गर्न सबै मसीहीहरूका लागि अनिवार्य छ।—मत्ती २८:१९, २०; प्रकाशितवाक्य २२:१७.
३. (क) “प्रचारक” शब्दको अर्को थप अर्थ के हो? (Insight on the Scriptures भाग-१ को पृष्ठ ७७०, दोस्रो स्तंभ, अनुच्छेद २ हेर्नुहोस।) (ख) यसले कुन प्रश्नहरू उठाउँदछ?
३ सामान्य रूपमा सुसमाचारको प्रचार गर्नुको अतिरिक्त बाइबलले “प्रचारक” भन्ने शब्दलाई ती व्यक्तिहरूका लागि पनि विशेष ढङ्गमा प्रयोग गर्दछ जो सुसमाचार प्रचार नगरिएका क्षेत्रहरूमा सुसमाचार प्रचार गर्न आफ्नो घरबार छाडेर जान्छन्। प्रथम शताब्दीमा फिलिप, पावल, बर्णाबास, सिलास र तिमोथी लगायत थुप्रै मिसनरी प्रचारकहरू थिए। (प्रेरित २१:८; एफिसी ४:११) तर १९१४ देखि शुरु भएको हाम्रो उल्लेखनीय समयको विषयमा के भन्न सकिन्छ? के यहोवाका मानिसहरू स्थानीय र मिसनरी प्रचारकार्यका लागि आज अघि बढेका छन्?
सन् १९१९ देखिको उन्नति
४, ५. सन् १९१४-को केहि समय पछि प्रचारकार्यको भविष्यबारे के भन्न सकिन्थ्यो?
४ सन् १९१८-मा प्रथम विश्व-युद्ध अन्त भएपछि, परमेश्वरका सेवकहरूले धर्मत्यागीहरू, मसीहीजगतको पादरी र उनीहरूको राजनैतिक मित्रहरूबाट धेरै विरोध खप्नु पऱ्यो। भनौं भने, १९१८-को जून महिनामा असली मसीही प्रचारकार्य झन्डै झन्डै पूर्ण रूपमा बन्द भएको थियो। यति बेला अमेरिका स्थित वॉचटावर सोसाइटीका प्रमुख अधिकारीहरूलाई झूटा आरोपमा २० वर्ष कैदको सजाय सुनाइएको थियो। सुसमाचार प्रचार गर्ने कामलाई बन्द गर्न परमेश्वरका शत्रुहरू के साँच्च नै सफल भए त?
५ अप्रत्याशित रूपमा मार्च १९१९-मा सोसाइटीका अधिकारीहरूलाई मुक्त गरियो र तिनीहरूलाई झ्यालखानसम्म पुऱ्याउने ती झुट्टा आरोपहरूबाट पनि तिनीहरूलाई दोषमुक्त गरियो। तर परमेश्वरको राज्यमा सह-शासक हुने स्वर्गीय इनाम तिनीहरूले पाउनअधि, यहाँ गर्नु पर्ने अझ धेरै नै काम बाँकी रहेछ भनेर यी पुनः स्वतन्त्र अभिषिक्त मसीहीहरूले बुझे।—रोमी ८:१७; २ तिमोथी २:१२; ४:१८.
६. सन् १९१९ र १९३९-को बीच प्रचार कार्यमा के प्रगति भयो?
६ त्यतिबेला १९१९-मा सुसामचार फैलाउने काममा भाग लिएर रिपोर्ट दिनेहरू ४,००० जना मात्र थिए। त्यसको दुई दशक भित्र थुप्रै पुरुषहरूले मिसनरी प्रचारक हुनका लागि आफूलाई अर्पण गरे। तिनीहरू मध्ये कसैलाई अफ्रिका, कसैलाई एसिया र कसैलाई चाहिं युरोपका मुलुकहरूमा पठाइयो। २० वर्षसम्म राज्यको प्रचार गरी सकेपछि, सन् १९३९-मा यहोवाका साक्षीहरूको सङ्ख्या ७३,००० भन्दा बढी भइ सकेको थियो। सतावटको बावजूद सम्पन्न गरिएको यो जोरदार उन्नति मसीही मण्डलीको शुरु शुरुमा घटेका घटनाहरू सित मिल्दछ।—प्रेरित ६:७; ८:४, १४-१७; ११:१९-२१.
७. मसीही प्रचारकार्यको सम्बन्धमा सा० यु० ४७-मा र १९३९-मा कुन मिल्दोजुल्दो स्थिति थियो?
७ यद्यपि त्यतिबेला अधिकांश यहोवाका साक्षीहरू अङ्ग्रेजी बोल्ने प्रोटेस्टेन्ट मुलुकहरूमा थिए। वास्तवमा, ७३,००० राज्य प्रचारकहरूको ७५ प्रतिशत भन्दा बढी प्रचारकहरू त अस्ट्रेलिया, बेलायत, क्यानाडा, न्युजिलैण्ड र संयुक्त राज्यका थिए। प्रचारकहरूलाई पृथ्वीका अन्य अरू मुलुकहरूमा पनि ध्यान दिने प्रेरणा दिन, सा० यु० ४७-मा झैं यस बेला पनि कुनै खास कुराको खाँचो थियो।
८. गिल्यद स्कूलद्वारा १९९२-सम्म कुन कुन काम सम्पन्न भइसकेको थियो?
८ आफ्ना सेवकहरूलाई अझ ठूलो उन्नतिका लागि तयार हुने प्रेरणा दिन परमेश्वरको शक्तिशाली पवित्र आत्मालाई युद्धकालीन प्रतिबन्ध र सतावटले रोक्न सकेन। सन् १९४३-मा दोस्रो विश्व युद्ध धुमधामसित मच्ची नै रहेको बेला, परमेश्वरको संगठनले वाचटावर बाइबल स्कूल अफ गिल्यद-को (Watchtower Bible School of Gilead) स्थापना गऱ्यो। सुसमाचारलाई अझ विस्तृत रूपमा फैलाउने उद्देश्यले यो पाठशालाको स्थापना गरियो। मार्च १९९२ सम्ममा यस पाठशालाले ६,५१७ जना मिसनरीहरूलाई १७१ बेग्लाबेग्लै मुलुकहरूमा पठाइसकेको थियो। यस बाहेक विदेशी मुलुकहरूमा वॉचटावर सोसाइटीका शाखाहरूको रेखदेख गर्न भाइहरूलाई प्रशिक्षण दिइयो। १९९२-सम्ममा, ९७ जना शाखा समितिका समन्वयकर्ताहरू मध्ये ७५ जनाले गिल्यदमा प्रशिक्षण पाएका थिए।
९. चेला बनाउने र प्रचार गर्ने कामको प्रगतिमा कुन कुन प्रशिक्षण कार्यक्रमहरूले एउटा भूमिका निभाएका छन्?
९ गिल्यदका पाठशाला अतिरिक्त अरू प्रशिक्षण कार्यक्रमहरू द्वारा पनि यहोवाका जनहरू आफ्नो प्रचार कार्यमा प्रगति र विकासशील हुन सुसज्जित छन्। उदाहरणका लागि सारा संसारमा यहोवाका साक्षीहरूका मण्डलीहरूमा ईश्वरीय सेवकाई पाठशाला सञ्चालन हुँदछ। यस प्रबन्धका साथसाथै साप्ताहिक सेवकाई सभाले लाखौं राज्य प्रचारकहरूलाई क्षेत्र सेवकाईमा प्रभावशाली हुने प्रशिक्षण दिएको छ। साथमा राज्य सेवकाई पाठशाला पनि छ। यसले प्राचीनहरू र सहायक सेवकहरूलाई अमूल्य प्रशिक्षण दिने गर्छ ताकि दिन प्रतिदिन वृद्धि हुँदै गइरहेका मण्डलीहरूको तिनीहरूले अझ राम्रोसँग हेरचाह गर्न सकून्। त्यस्तैगरी अग्रगामी सेवकाई पाठशालाले सुसमाचारका थुप्रै पूर्ण समयका प्रचारकहरूलाई तिनीहरूको प्रचार कार्यमा अझ प्रभावशाली हुने मद्दत दिएको छ। मात्र केही समय अघि, अविवाहित प्राचीनहरू र सहायक सेवकहरूलाई आधुनिक समयका तिमोथीहरू बन्ने मद्दत दिन, विभिन्न मुलुकहरूमा सेवकाई प्रशिक्षण पाठशालाहरू सञ्चालन गरिएको थियो।
१०. परमेश्वरको सङ्गठनद्वारा प्रबन्ध गरिएको उत्तम प्रशिक्षणको परिणाम के भएको छ? (पेटीमा भएको जानकारीलाई समावेश गर्नुहोस्।)
१० यी सब प्रशिक्षणहरूको परिणामस्वरूप के भएको छ? सन् १९९१-मा २१२ मुलुकहरूमा यहोवाका साक्षीहरूको सङ्खयाले ४० लाख भन्दा बढी राज्यका सक्रिय प्रचारकहरूको शिखर छोएको थियो। यद्यपि सन् १९३९-मा विद्यमान परिस्थितिको ठीक विपरीत, यिनीहरू मध्येको ७० प्रतिशत त क्याथोलिक, कट्टरपन्थी, गैर-मसीही र अङ्ग्रेजी भाषा सर्व प्रमुख नभएका अरू मुलुकहरूबाटका हुन्।—“सन् १९३९ देखिको वृद्धि” नामक पेटी हेर्नुहोस्।
किन सफल
११. पावलले एउटा सेवकको रूपमा पाएको सफलताका लागि श्रेय कसलाई दिए?
११ यस वृद्धिको श्रेय यहोवाका साक्षीहरूले लिदैनन। बरु, उनीहरूले आफ्नो कामलाई त्यही दृष्टिले हेर्दछन्, जुन दृष्टिले पावलले हेर्ने गर्द थिए। यसको वर्णन कोरिन्थीहरूलाई लेखेको पत्रमा तिनले यसरी गरे: “तब अपोल्लस के हो? र पावल के हो? हरेकलाई प्रभुले दिनुभएझैं सेवकहरू ता हुन्, र जसद्वारा तिमीहरूले विश्वास गऱ्यौ। मैले रापें, अपोल्लसले पानी हाले, तर परमेश्वरले चाहिं बढाउनुभयो। यसकारण नता रोप्ने केही हो, न पानी हाल्ने, बढाउने परमेश्वरनै हुनु हुन्छ। . . . किनभने हामी परमेश्वरका सहकर्मी हौं, तिमीहरू परमेश्वरका खेत, र परमेश्वरद्वारा निर्माण भएका घर हौ।—१ कोरिन्थी ३:५-७, ९.
१२. (क) सफलतापूर्वक सुसमाचार प्रचार गर्ने मसीही कार्यमा परमेश्वरको वचनले के भुमिका खेल्दछ? (ख) कसलाई मसीही मण्डलीको शिर नियुक्त गरिएको छ, र उहाँको प्रधानता प्रति हाम्रो अधिनता प्रदर्शित गर्ने एउटा प्रमुख तरिका के हो?
१२ यसमा कुनै शंका छैन कि यहोवाको आशिषले गर्दा नै यहोवाका साक्षीहरूले उदेकलाग्दो ढङ्गमा यो वृद्धि अनुभव गरिरहेका छन्। यो परमेश्वरकै कार्य हो। यस वास्तविकतालाई तिनीहरू स्वीकार गर्दछन् र परमेश्वरको वचनलाई तिनीहरू नियमित रूपमा र लगनशीलताका साथ अध्ययन गर्दछन्। तिनीहरूले प्रचारकार्यमा सिकाउने सबै कुराहरू बाइबलमा आधारित हुन्छन्। (१ कोरिन्थी ४:६; २ तिमोथी ३:१६) साथै, परमेश्वरले प्रभु येशू ख्रीष्टलाई मण्डलीको शिर नियुक्त गर्नुभएको छ भनी तिनीहरू पूर्ण रूपले स्वीकार गर्दछन्। यो पनि तिनीहरूको सफलताको एउटा अर्को कुञ्जी हो। (एफिसी ५:२३) प्रथम शताब्दीका मसीहीहरूले पनि यस कुराको स्वीकृति, येशूले नियुक्त गर्नुभएका प्रेरितहरूसँग सहयोग गर्न तत्पर रहेर व्यक्त गरे। यी व्यक्तिहरू र येरूशलेम मण्डलीका अरू प्राचीनहरू प्रथम शताब्दीका परिचालक निकायमा सम्मिलित थिए। परिपक्व मसीहीहरूको यस दललाई स्वर्गबाट प्रभु येशू मसीहीले समस्याहरू सुल्झाउन र प्रचारकार्य सम्बन्धी निर्देशनहरू दिन चलाउनु हुन्थ्यो। यो ईश्वरीय प्रबन्धलाई पावलले जोशका साथ सहयोग पुऱ्याए। परिणामस्वरूप, तिनले भेट्न गएका मण्डलीहरूमा उन्नति भयो। (प्रेरित १६:४, ५; गलाती २:९) त्यस्तैगरी आज परमेश्वरको वचनमा अटल रहदै र परिचालक निकायबाट आएको निर्देशनलाई जोशपूर्ण सहयोग पुर्याउँदै काम गरेमा, मसीही प्रचारकहरू तिनीहरूको सेवकाईमा निश्चय नै सफल हुनेछन्।—तितस १:९; हिब्रू १३:१७.
अरूहरूलाई श्रेष्ठ ठान्नु
१३, १४. (क) फिलिप्पी २:१-४-मा उल्लेखित कुन सल्लाह प्रेरित पावलले दिएका छन्? (ख) प्रचार कार्यमा भाग लिंदा यो सल्लाह याद गर्नु किन महत्त्वपूर्ण हो?
१३ प्रेरित पावलले सत्यको खोजी गर्नेहरू प्रति असली प्रेम देखाए। तिनले कहिले पनि आत्म-श्रेष्ठता वा जातिवादको भावना देखाएनन्। यसैकारण सँगी विश्वासीहरूलाई पनि तिनले ‘एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान’ भनेर सल्लाह दिन सके।—फिलिप्पी २:१-४.
१४ त्यही रीतिले आज पनि, भिन्दै जाति र पृष्ठभूमिका मानिसहरूसँग व्यवहार गर्दा साँचो मसीही प्रचारकहरूले आत्मश्रेष्ठताको भाव दर्साउदैनन्। अफ्रिकामा मिसनरीको काम गर्न नियुक्त भएको संयुक्त राज्यको एक जना यहोवाको साक्षी यसो भन्छ: “हामी श्रेष्ठ होइनौं। यो मलाई थाह छ। हामीसित तिनीहरूसँग भन्दा बढी पैसा र औपचारिक शिक्षा होला तर हामीहरूलाई माथ गर्ने गुणहरू तिनीहरूमा [स्थानीय मानिसहरूमा] छन्।”
१५. विदेशी मुलुकहरूमा खटाइएकाहरूले संभाव्य चेलाहरू प्रति कसरी साँचो आदर देखाउन सक्छन्?
१५ अवश्य पनि हामीले जसजसलाई सुसमाचार सुनाउदछौं, ती व्यक्तिहरू प्रति साँचो आदर देखाउनु उचित हो। यस प्रकार बाइबलको समाचार ग्रहण गर्न हामीले तिनीहरूका लागि अझ सजिलो पारिदिन्छौं। त्यस्तैगरी मिसनरी प्रचारकले आफूलाई खटाइएको क्षेत्रका मानिसहरूसँग बस्ने खुशी जाहेर गर्नु मद्दतकारी हुँदछ। अफ्रिकामा ३८ वर्ष बिताइसकेको एकजना सफल मिसनरीले यो व्याख्या गर्दछ: “यो ठाउँ मेरो घर हो र मलाई खटाइएको मण्डलीका मानिसहरू मेरा भाइ बहिनीहरू हुन् भनी मलाई भित्र हृदयदेखि नै लाग्दछ। जब छुट्टीमा म क्यानडा फर्किन्छु मलाई आफ्नो घर गएको जस्तो लाग्दैन। त्यहाँ बिताइने आखिरी हप्तासम्म त मलाई यहाँ फर्केर आउन सकसक लागि सकेको हुन्छ। मलाई जहिले पनि यस्तै हुन्छ। मसित बाइबल अध्ययन गर्ने व्यक्तिहरू र अन्य भाइ-बहिनीहरूलाई आफू फर्केर आउन पाएकोमा अति नै खुशी लागेको कुरा बताउँदछु र म तिनीहरू सित बस्न चाहन्छु भन्ने कुराको मूल्याङ्कन तिनीहरूले गर्दछन्।—१ थिस्सलोनिकी २:८.
१६, १७. (क) आफ्नो सेवकाईमा अझ प्रभावशाली हुनका लागि धेरै मिसनरीहरू र स्थानीय प्रचारकहरूले के चुनौती स्वीकारेका छन्? (ख) स्थानीय भाषामा बोल्दा एक जना मिसनरीसित के घटना घट्यो?
१६ आफ्नो स्थानीय क्षेत्रमा कुनै एउटा विदेशी भाषा बोल्ने धेरै मानिसहरू हुँदा, कसै-कसैले त त्यो भाषा सिक्ने प्रयत्न गरेका छन्। यस प्रकार तिनीहरूले अरूहरूलाई आफूभन्दा श्रेष्ठ ठान्दछन् भनी देखाएका छन्। एकजना मिसनरीको विचार अनुसार, “दक्षिण अफ्रिकामा, अफ्रिकी पृष्ठभूमिका मानिसहरू र युरोपेली पृष्ठभूमिका मानिसहरू बीच कहिले काहीं अविश्वासको भावना हुँदछ। तर हामीले स्थानीय भाषामा कुरा गर्दा त्यो भावना तुरुन्तै हराइ हाल्छ।” हामी मानिसहरूलाई सुसमाचार सुनाउन जाँदा, तिनीहरू कै भाषामा बोल्नु अति नै मद्दतकारी हुन सक्छ। यसले हामीलाई तिनीहरूको हृदय छुने सहायता दिन सक्छ। तर यसो गर्न सक्नका लागि कडा मेहनत र नम्रतापूर्ण लगनशीलता जरुरी हुन्छ। एसियाली देशको एकजना मिसनरीले त्यसको वर्णन यस प्रकार गर्दछ: “बारम्बार गल्तीहरू गरिरहनु र त्यसमाथि आफूले गरेका गल्तीहरू सुनेर मानिसहरू हाँसी रहनु, हाम्रो निम्ति एक किसीमको जाँच नै हुन सक्छ। प्रयास गर्न छाडनु नै बरु बेस होला जस्तो लाग्न सक्छ।” तथापि छिमेकी र परमेश्वर प्रतिको प्रेमले यस मिसनरीलाई एक सुरले लागि रहने सहायता दियो।—मर्कुस १२:३०, ३१.
१७ आफ्नो भाषामा कुनै एक जना विदेशीले सुसमाचार सुनाउने कोशिश गर्दा मानिसहरू स्वभाविकतः प्रभावित हुन्छन्। यसो गर्दा कहिले काहीं आशै नगरेका आशिषहरू पनि मिल्दछ। अफ्रिकी मुलुक लेसोथोमा एकजना मिसनरी, सिलाइ-बुनाइ पसलमा काम गर्ने एकजना अर्की महिलासँग सेसुटु भाषामा कुरा गर्दै थिइन्। त्यति नै बेला अर्को अफ्रिकी मुलुकबाट आएको सरकारी प्रतिनिधि सो ठाउँको भ्रमण गरिरहेका थिए। ती दुई महिलाहरू बीच भइ रहेको वार्तालाप सुने पछि, उनी सो मिसनरी बहिनीकहाँ आए र तिनको हार्दिक प्रशंसा गरे। यसैमा, मिसनरी बहिनीले सो प्रतिनिधिसँग तिनकै भाषामा कुरा गर्न थालिन्। यो देखेर सो प्रतिनिधिले यसो भने: “तपाईं हाम्रो देशमा आउनु भएर हाम्रा मानिसहरू बीच किन काम गर्नु हुँदैन? किनभने तपाईंलाई स्वाहिली भाषा पनि आउँदो रहेछ।” यो सुनेर सो मिसनरीले चतुर्याइँसाथ भनिन् “त्यसो गर्न पाए त मलाई अति नै राम्रो लाग्ने थियो। तर म यहोवाका एउटा साक्षी हुँ र हाल तपाईंको देशमा हाम्रो काम अवैध छ।” त्यो प्रतिनिधिले प्रत्युत्तरमा भने: “कृपया यो न सोच्नुहोला कि हामी सबै नै तपाईंहरूको कामको विरोध गर्छौं। हामी मध्ये धेरैजना यहोवाका साक्षीहरूलाई मन पराउछौं। शायद कुनै दिन तपाईंहरूले हाम्रा मानिसहरू बीच बिना रोकटोक सिकाउन सक्नुहुन्छ होला।” केही समयपछि, त्यही देशमा यहोवाका साक्षीहरूले उपासना गर्ने स्वतन्त्रता पाए र यो थाहा पाएर ती मिसनरी ज्यादै खुशी भइन्।
अधिकारहरू त्याग्न तयार
१८, १९. (क) कुन प्रमुख तवरमा पावलले आफ्नो मालिक येशू ख्रीष्टको देखासिकी गर्ने प्रयास गरे? (ख) हामीले जसजसलाई सुसमाचार सुनाउँद छौं, ती व्यक्तिहरूका लागि ठोक्करको कारण नहुने महत्त्व दर्साउने कुनै एउटा अनुभव (अनुच्छेदमा उल्लेख गरिएको वा आफ्नै) सुनाउनु होस्।
१८ प्रेरित पावलले “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरा देखा-सिकी गर्ने होओ” भनेर लेख्दा तिनी अरूहरूलाई ठोक्करको कारण नहुने आवश्यकता बारे छलफल गर्दै थिए। यसको विषयमा तिनले यसो भने: “यसकारण चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्वरकै महिमाको निम्ति गर। तिमीहरूले यहूदीहरू अथवा ग्रीकहरू, या परमेश्वरको मण्डलीलाई कुनै किसिमको बाधा पार्ने मौका नदेओ, जसरी म पनि मेरो आफ्नै लाभ होइन, तर धेरैको लाभ खोज्दै, र तिनीहरूको उद्धार होस् भनेर सबै मानिसलाई सबै विषयमा खुशी तुल्याउने कोशिश गर्छु।”—१ कोरिन्थी १०:३१-३३; ११:१.
१९ आफूले प्रचार गरेका व्यक्तिहरूको फाइदाका निम्ति त्यागहरू गर्न तयार हुने पावल जस्ता प्रचारकहरूले आशिषहरू पाउँदछन्। उदाहरणका लागि कुनै अफ्रिकी मुलुकमा एउटा मिसनरी दम्पती आफ्नो विवाहको वार्षिकी मनाउन स्थानीय होटेलमा साँझ पख खाना खान गए। बाइबलले मद्यपानको संतुलित प्रयोगको विरोध नगरेको हुनाकारण तिनीहरूले खाना सँगसँगै मद्य पनि मगाउने विचार गरे। (भजनसंग्रह १०४:१५) तर स्थानीय मानिसहरूलाई यसले ठेस पुऱ्याउला कि भनेर ती दम्पतीले त्यो नमगाउने निर्णय गरे। यस घटनाबारे पछि गएर पतिले यसो भने: “केही समय पश्चात हामीले एकजना मान्छेलाई भेट्यौं जो त्यही होटेलको प्रधान भान्से रहेछन्। ऊ सँग हामीले बाइबल अध्ययन पनि सुरु गऱ्यौं। धेरै समयपछि यी व्यक्तिले हामीलाई यसो भने: ‘तपाईंहरू होटेलमा खाना खान आउनुभएको कुरा याद छ? त्यतिबेला हामी सबैजना भान्साको ढोका पछाडिबाट तपाईंलाई हेरिरहेका थियौं। किनभने गिर्जाका मिसनरीहरूले हामीलाई पिउनु खराब हो भनेका थिए। तर तिनीहरू आफै चाहिं होटेलमा आउँदा केही धकै नमानी रक्सी मगाउँने गर्छन्। यसकारण तपाईंहरूले पनि मद्यपान मगाउनु भयो भने, हामीलाई प्रचार गर्न आउनु हुँदा तपाईंको कुरा नसुन्ने फैसला हामीले गरी सकेका थियौं।” आज त्यो प्रधान भान्से र त्यस होटेलमा काम गर्ने अरू व्यक्तिहरू बप्तिस्मा प्राप्त साक्षीहरू हुन्।
धेरै कुरा गर्न अझ बाँकी नै छ
२०. हामी जोशिला प्रचारकहरूको रूपमा स्थिर रहन किन अति आवश्यक छ, र धेरैले कुन आनन्दायक मौका छोपी रहेका छन्?
२० यो दुष्ट संसारको अन्त चाँड चाँडो नजिक आइ रहेको बेलामा, अझ पनि थुप्रै मानिसहरू सुसमाचार सुन्ने इच्छा गर्छन्। र सबै मसीहीहरूलाई विश्वासी प्रचारकहरूको रूपमा धैर्य धारण गर्नु पहिला भन्दा अत्यावश्यक छ। (मत्ती २४:१३) फिलिप, पावल, बर्णाबास, सिलास र तिमोथी जस्तै के तपाईं पनि एउटा खास अर्थमा प्रचारक भएर, यस काममा आफ्नो हिस्सा बढाउन सक्नु हुन्छ? यस प्रकारको सेवकाईमा धेरैजनाले अग्रगामी सेवा अपनाउँदै र आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न तयार हुँदै गरिरहेका छन्।
२१. कुन तवरले “अभिप्राय पूरा गर्ने ढोका” यहोवाका साक्षीहरूका निम्ति खुलिएको छ?
२१ अफ्रिका, एसिया, र पूर्वी युरोपमा प्रचारका ठूला ठूला क्षेत्रहरू खुली रहेका छन्। यी ठाउँहरूमा पहिले पहिले यहोवाका साक्षीहरूको काममा प्रतिबन्ध थियो। पावलका लागि भएझैं यहोवाका साक्षीहरूका निम्ति पनि “अभिप्राय पूरा गर्ने ढोका खुला भएको छ।” (१ कोरिन्थी १६:९) उदाहरणका लागि, अफ्रिकी मुलुक मोजाम्बिकमा भर्खरै आइपुगेका मिसनरी प्रचारकहरूले बाइबल अध्ययन गर्न चाहने थुप्रै मानिसहरूसँग अध्ययन गर्न भ्याइरहेका छैनन्। यस देशमा यहोवाका साक्षीहरूका कामले फरवरी ११, १९९१-मा कानुनी मान्यता पाएकोमा हामी कत्ति खुशी छौं!
२२. हाम्रा स्थानीय इलाकाभरि राम्रो सँग प्रचार गरी सकेको होस् वा नहोस्, हामी सबैले के गर्ने दृढ निश्चय गर्नुपर्छ?
२२ जुन जुन देशहरूमा उपासनासम्बन्धी स्वतन्त्रता पहिले देखि नै थियो, ती देशहरूमा पनि हाम्रा भाइहरूले लगातार आनन्दायक वृद्धि अनुभव गरिरहेका छन्। हो, जहाँ बसे तापनि हामीले “प्रभुको काममा प्रशस्त” गर्नसक्छौं। (१ कोरिन्थी १५:५८) यसकारण हामी सबैले नै बाँकी रहेको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गरौं। हामी प्रत्येकले ‘प्रचारकको काम’ गर्दै ‘सेवाको काम पूरा’ गरौं।—२ तिमोथी ४:५; एफिसी ५:१५, १६. (w92 9/1)
के तपाईं व्याख्या गर्न सक्नु हुन्छ?
◻ प्रचारक हुनु भनेको के हो?
◻ सन् १९१४ पछि सुसमाचारको विषय-वस्तु कसरी परिपूर्ण भएको छ?
◻ सन् १९१९ देखि प्रचार कार्यको प्रगति कसरी हुँदै आएको छ?
◻ प्रचार कार्यको सफलतामा कुन कुन मुख्य तत्त्वहरूले योगदान दिएको छ?
[पृष्ठ १२-मा भएको पेटी]
सन् १९३९ देखिको वृद्धि
गिल्यद प्रशिक्षित मिसनरीहरू पठाइएका यी तीन महादेशको उदाहरणहरूलाई विचार गर्नुहोस्। सन् १९३९ तिर पश्चिम अफ्रिकाबाट रिपोर्ट दिने राज्य प्रचारकहरू ६३६ जना मात्र थिए। सन् १९९१-मा पश्चिम अफ्रिकाको १२ मुलुकहरूमा यो संख्या बढेर २,००,००० भन्दा बढी भएको थियो। मिसनरीहरूले उत्तर अमेरिकाका मुलुकहरूमा पनि अति नै ठूलो वृद्धि गराउन योगदान पुऱ्याएको छ। ती मध्ये एउटा त ब्रजिल हो जहाँ सन् १९३९ को ११४ राज्य प्रचारकहरू बढेर अप्रिल १९९२-मा ३,३५,०३९ पुग्यो। त्यस्तै वृद्धि एसियाको मुलुकहरूमा मिसनरीहरू आएपछि भएको थियो। दोस्रो विश्व-युद्ध ताका जापानमा सानो संख्यामा रहेको यहोवाका साक्षीहरूलाई कठोरतापूर्वक सताइएको थियो र उनीहरूको काम ठप्प बन्दै भएको थियो। त्यति नै बेला १९४९-मा १३ जना मिसनरीहरू कामलाई पुनः सङ्गठित गर्ने मद्दत दिन त्यहाँ आइपुगे। त्यो सेवा वर्षमा पूरा जापानभरिबाट १० जना मात्र स्वदेशी प्रचारकहरूले रिपोर्ट दिएको थियो, जबकि अप्रिल १९९२-मा प्रचारकको कुल संख्या १,६७,३७० पुगेको थियो।
[पृष्ठ १४-मा भएको पेटी]
मसीहीजगत र भाषाको समस्या
मसीहीजगतका केही मिसनरीहरूले विदेशी भाषा सिक्ने उत्साहपूर्ण प्रयत्न गरे तर धेरैले चाहिं स्थानीय व्यक्तिहरूले नै उनीहरूको युरोपेली भाषा बोलिदिओस भनेर आशा गरे। यस विषयमा जेफ्रि मुअरहाउसले आफ्नो पुस्तक दी मिसनरीज-मा यो वर्णन दिएका छन्:
“अक्सर गरी कुनै स्थानीय भाषा सिक्नुको उद्देश्य शास्त्रको अनुवाद गर्नु मात्र हुन्थ्यो। समस्या नै यो थियो। एक जना मिसनरीले कुनै स्थानीय मानिससित फररर तिनको आफ्नो भाषामा बोल्न सकून् किनकि यसरी नै दुई बेग्लाबेग्लै मानिसहरू बीच आत्मीयता उत्पन्न हुन सक्छ भन्ने कुरालाई नता मिसनरीले न तिनलाई खटाउने सङ्गठनले नै केही महत्त्व दिने गरे। प्रत्येक मिसनरीले स्थानीय भाषाका टाकन टुकन एक दुइवटा शब्दहरू सिक्त थिए। बाँकी कुराकानी प्रायः त्यो तथाकथित देहाती अङ्ग्रेजीको विरक्त लाग्दो र हाँस उठ्दो लयमा गरिन्थ्यो। यसबाट यो पनि बोध हुँदथियो कि अफ्रिकी वासीहरूले अङ्ग्रेजी आगन्तुकहरूलाई भाषाको मामिलामा पनि अनुसरण गरेको आशा गरिन्थ्यो। जातीय श्रेष्ठताको यो एउटा अर्को प्रदर्शन थियो। त्यो चलनको सबैभन्दा दुःखलाग्दो कुरा यो नै थियो।”
सन् १९२२-मा पूर्वीय र अफ्रिकी अध्ययन संम्बन्धी पाठशालाले लण्डनमा भाषाका समस्याहरू माथि एउटा रिपोर्ट प्रकाशित गऱ्यो। रिपोर्टले यसो भन्यो “स्थानीय भाषा सिक्नमा मिसनरीहरूले देखाएको निपूणता ज्यादै अफसोस लाग्दो र अति नै कम छ।”
वॉचटावर सोसाइटीका मिसनरीहरूले स्थानीय भाषा सिक्ने कुरालाई अति जरुरी ठानेका छन्। मिसनरी क्षेत्रमा तिनीहरूले अनुभव गरेको सफलताको यो एउटा अर्को कुञ्जि हो।