के अरूले तपाईंको सल्लाह स्वीकार्छन्?
राम्ररी दिइएको सल्लाहको नतिजा सधैं असल हुन्छ। के यो सही हो? गलत! दक्ष सल्लाहकारहरूले दिने अत्युत्तम सल्लाह पनि प्रायजसो बेवास्ता वा अस्वीकार गरिन्छ।—हितोपदेश २९:१९.
आफ्नो भाइ हाबिललाई घृणा गर्न थालेको कयिनलाई यहोवाले सल्लाह दिनुहुँदा पनि त्यस्तै भयो। (उत्पत्ति ४:३-५) यसले गर्दा कयिनले कस्तो खतरा सामना गर्नुपर्छ, थाह भएको हुँदा परमेश्वरले उसलाई यस्तो भन्नुभयो: “तँ किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ? तैंले असल गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र? यदि तैंले असल गरेनस् भनेता पाप ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गनैपर्छ।”—उत्पत्ति ४:६, ७.
कयिनले आफ्नो भाइसितको दुश्मनी मनमा खेलाइरह्यो भने त्यसले आक्रमण गर्न तयार सिकारीको रूप लिन्छ भनी यहोवाले भन्नुभयो। (याकूब १:१४, १५ तुलना गर्नुहोस्।) “असल” गर्नको निम्ति कयिनले अझै आफ्नो मन परिवर्तन गर्नसक्थ्यो तर आफ्नै पतन हुने बाटो रोज्यो। दुःखको कुरा कयिनले कुरा सुनेन। उसले यहोवाको सल्लाह अस्वीकार गऱ्यो, फलस्वरूप विपत्तिजनक नतिजा भोग्नुपऱ्यो।
कतिपय सल्लाह दिंदा रिसाउँछन् र बेवास्ता गर्छन्। (हितोपदेश १:२२-३०) सल्लाह अस्वीकार गर्नुमा के सल्लाहकारको गल्ती हो? (अय्यूब ३८:२) के तपाईंले दिने सल्लाह स्वीकार्न अरूलाई गाह्रो लाग्छ? मानव असिद्धताले गर्दा यो झनै खतरनाक हुन्छ। होसियारीसाथ बाइबल सिद्धान्तहरू पछ्याएर हामी त्यस खतरालाई कम गर्नसक्छौं। आउनुहोस्, तीमध्ये केही हेरौं।
‘नम्रताको आत्माले सुधार गर’
“हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पऱ्यो भने पनि तिमी आत्मिकीहरूले चाहिं नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्तै यस्ताको सुधार गर।” (गलाती ६:१) अतः चालै नपाई “कुनै अपराधमा पक्राउ” परेका मसीहीहरूलाई “आत्मिकीहरूले” छाँटकाँट गर्न मदत गर्नुपर्छ भनी प्रेरित पावलले औंल्याए। कहिलेकाहीं सबैभन्दा कम योग्यता भएकाहरू नै अरूलाई सल्लाह दिन हतपत गरेजस्तो देखिन्छ। तसर्थ, अरूलाई हत्त न पत्त सल्लाह दिइहाल्ने नगर्नुहोस्। (हितोपदेश १०:१९; याकूब १:१९; ३:१) मुख्यतः आध्यात्मिक तवरमा योग्य व्यक्तिहरू मण्डलीका प्राचीनहरू हुन्। निस्सन्देह, कुनै भाइ खतरातर्फ लम्किरहेको छ भने कुनै पनि परिपक्व मसीहीले चेताउनी दिनुपर्छ।
तपाईंले कुनै सल्लाह वा सुझाउ दिंदा मानिसको सिद्धान्त तथा दर्शनहरूमा नभई ईश्वरीय बुद्धिमा आधारित होस्। (कलस्सी २:८) होसियार भान्छेजस्तो हुनुहोस् जसले स्वास्थ्यबर्धक मसलाहरू मात्र हाल्छन् र कुनै पनि विषालु कुरा खानामा हाल्दैनन्। तपाईंको सल्लाह आफ्नो व्यक्तिगत विचारधारामा नभई परमेश्वरको वचनमा आधारित होस्। (२ तिमोथी ३:१६, १७) यसो गर्दा तपाईंको सल्लाहले कसैलाई हानि गर्दैन भनी पक्का हुन सक्नुहुन्छ।
सल्लाह दिनुको उद्देश्य गल्ती गर्नेले “सुधार” गरोस् भन्ने हुनुपर्छ, जबरजस्ती परिवर्तन गर्न लगाउनु होइन। “सुधार[को]” निम्ति यहाँ चलाइएको युनानी शब्दको अर्थ थप बिगार हुन नदिन भाँच्चिएको हाड मिलाउनु पनि हुनसक्छ। कोशकार डब्ल्यु. ई. भाइनअनुसार “यसको लागि धीरज र हरेस नखाई लागिरहनु आवश्यक” छ। अनावश्यक शारीरिक पीडा नदिन कति सीप र विनम्रता चाहिन्छ, कल्पना गर्नुहोस्। त्यस्तैगरि, सल्लाह दिइरहेको व्यक्तिको चित्त नदुखाउन सल्लाहकार अत्यन्तै होसियार हुनुपर्छ। कसैले सल्लाह माग्दा यो झनै कठीन हुन्छ। तपाईंसित सल्लाह नमाग्दा झन् बढी सीप र चतुऱ्याइँको आवश्यकता पर्छ।
“सुधार” चाहिएको व्यक्तिलाई पन्छाउनुभयो भने पक्कै पनि मदत गर्न सक्नुहुन्न। यस्तो नगर्न “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता” प्रदर्शन गर्नुपर्छ भनी मनमा राख्नुहोस्। (कलस्सी ३:१२) यदि डाक्टर अत्यन्तै हडबडे र रुखो छ भने, हुनसक्छ बिरामीले तिनको सल्लाह बेवास्ता गर्लान् र तिनीकहाँ कहिल्यै फर्केर नआउलान्।
तर त्यसो भन्नुको अर्थ सल्लाह दिंदा दृढ हुनु हुँदैन भनेको होइन। एसियामा भएको सातैवटा मण्डलीलाई सल्लाह दिनुहुँदा येशू ख्रीष्ट दृढ हुनुहुन्थ्यो। (प्रकाश १:४; ३:१-२२) उहाँले तिनीहरूले सुन्नुका साथै व्यवहारमा उतार्नु परेको सल्लाहहरू सोझै दिनुभयो। तर येशूको दृढता सधैं अनुकम्पा र दयाजस्ता गुनहरूसित सन्तुलित हुन्थ्यो र त्यसले उहाँको स्वर्गमा हुनुहुने पिताको मायालु मनोभाव झल्काउँथ्यो।—भजन २३:१-६; यूहन्ना १०:७-१५.
अनुग्रहसहित दिइने सल्लाह
“हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्नालाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्।” (कलस्सी ४:६) नूनले खाना स्वादिलो बनाउँछ। तपाईंको सल्लाह पनि स्वागतयोग्य भएको चाहनुहुन्छ भने तपाईंको “वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको” हुनुपर्छ। तथापि, सबैभन्दा राम्रो मसला हालेर खाना पकाउँदैमा खाना मीठो हुँदैन वा खाना मीठो भए तापनि जथाभावी गरेर पस्किन सकिन्छ। यस्तो गर्दा कसैलाई पनि खाना खाऊँ खाऊँ जस्तो लाग्दैन। वास्तवमा एक गाँस निल्न पनि गाह्रो पर्नसक्छ।
सल्लाह दिंदा सही शब्दहरू छान्नु महत्त्वपूर्ण छ। बुद्धिमान् पुरुष सुलेमानले भने: “ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो।” (हितोपदेश २५:११) उक्त कुरा भन्दा तिनको मनमा राम्रोसित कुँदिएको चाँदीको टोकरीमा अति सुन्दर ढंगमा कुँदिएको सुनको स्याउको चित्र आएको हुनसक्छ। त्यो आँखाको निम्ति कति आनन्दमय हुनेछ र त्यस्तो उपहारको रूपमा पाउँदा कत्ति रमाइलो हुन्छ! त्यस्तैगरि, राम्ररी छानिएका शब्दहरू तपाईंले मदत दिन खोजिरहनुभएको मानिसको निम्ति पनि मनमोहक हुन्छ।—उपदेशक १२:९, १०.
त्यसको विपरीत “नमीठो वचनले रीस उठाउँछ।” (हितोपदेश १५:१) अनुचित शब्दहरूको कारण कृतज्ञ हुनुको साटो झनक्क रिस उठ्नसक्छ। वास्तवमा, गलत शब्दहरू मात्र होइन तर बोल्ने तरिकाले पनि फरक पार्छ र यसले गर्दा असल सल्लाह पनि इन्कार गर्नसक्छन्। नासमझ र भावशून्य ढंगमा सल्लाह दिनु हतियारले आक्रमण गर्नु जत्तिकै हुनेछ। “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ” भनी हितोपदेश १२:१८ बताउँछ। विचारै नगरी बोलेर किन अरूलाई सल्लाह स्वीकार्न कठीन बनाउने?—हितोपदेश १२:१५.
सुलेमानले भनेझैं “ठीक बेलामा” मात्र सल्लाह दिनुपर्छ। सल्लाह सफल हुनको निम्ति ठीक समयमा दिनु अत्यावश्यक छ! हो, खान रुचि नभएको मानिसले खानाको मूल्यांकन गर्दैन। सायद तिनले भर्खरै टन्न खाएका हुनसक्छन् वा बिरामी हुनसक्छन्। खान रुचि नभएको मानिसलाई जबरजस्ती खुवाउनु नता बुद्धिमानी हुनेछ न स्वीकार्य नै हुनेछ।
नम्रतासहित सल्लाह दिने
“एउटै कुरामा मन लाएर मेरो आनन्द पूरा गर। विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठानेर, आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।” (फिलिप्पी २:२-४) तपाईं असल सल्लाहकार हुनुहुन्छ भने “अरूहरूका कुरामा . . . ध्यान” दिन प्रेरित हुनुहुनेछ। तपाईंले आध्यात्मिक भाइबहिनीहरूलाई आफूभन्दा श्रेष्ठ ठानेर “नम्रता” सहित व्यवहार गर्नुहुनेछ। यसको अर्थ के हो?
तपाईं नम्र हुनुहुन्छ भने आफू अरूभन्दा श्रेष्ठ छु भन्ने मनोभाव राख्नुहुन्न। सँगी विश्वासीहरूभन्दा आफू श्रेष्ठ छु भन्ने विचार राख्ने आधार कसैसित छैन। समय समयमा हामी सबै चुक्छौं। तपाईंले अर्को व्यक्तिको हृदय जान्न सक्नुहुन्न, त्यसैले तपाईंले सल्लाह दिनुहुने व्यक्तिको मनसायबारे अड्कल नकाट्नु विशेषगरि महत्त्वपूर्ण छ। उनको कुनै गलत मनसाय नभएको वा आफ्नो गलत मनोवृत्ति वा सोचाइबारे थाहै नभएको हुनसक्छ। तिनलाई आफू कता कता परमेश्वरको आवश्यकताअनुरूप नचलेको थाह छ भने पनि निस्सन्देह तिनको आध्यात्मिक हितबारे साँचो चासो राखेर नम्र सल्लाह दिंदा तिनलाई स्वीकार्न धेरै सजिलो हुन्छ।
तपाईंलाई कसैले खाना खान बोलायो तर तपाईंसित रुखो र भावशून्य व्यवहार गर्दा तपाईंलाई कस्तो लाग्छ, कल्पना गर्नुहोस्! तपाईंले निश्चय पनि त्यो भोजनबाट आनन्द उठाउनुहुनेछैन। वास्तवमा, “डाहसित खाएको मोटो बहरभन्दा प्रेमसित खाएको साग-पात असल हो।” (हितोपदेश १५:१७) त्यस्तैगरि, सल्लाहकारले सल्लाह दिइरहेको मानिसलाई मन पराउँदैनन् वा तिनलाई हेप्ने र अप्ठ्यारोमा पार्छन् भने जस्तै अत्युत्तम सल्लाह पनि स्वीकार्न कठीन हुन्छ। तथापि, प्रेम, आपसमा आदर र भरोसाले सल्लाह दिन र लिन सजिलो बनाउँछ।—कलस्सी ३:१४.
स्वीकारिएको सल्लाह
अगमवक्ता नातानले राजा दाऊदलाई सल्लाह दिंदा नम्रता देखाए। नातानले भनेको कुरा र कार्यमा दाऊदको निम्ति प्रेम तथा आदर स्पष्ट देखिन्छ। सल्लाह स्वीकार्न दाऊदलाई कठीन होला भनी नातानले सुरुमै एउटा दृष्टान्त बताए। (२ शमूएल १२:१-४) दाऊदले बेतशेबाको मामिलामा इन्साफ र धार्मिकताप्रतिको प्रेम नझल्काए तापनि दाऊदले यसप्रति कस्तो भावना राख्छन् भनी अगमवक्ताले जानेकाले त्यहीबारे कुरा गरे। (२ शमूएल ११:२-२७) कुरा स्पष्ट पार्दा दाऊदले पूर्ण हृदयले यसो भने: “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” (२ शमूएल १२:७-१३) यहोवाको कुरा नसुन्ने कयिन जस्तो नभई दाऊदले तिनलाई सच्याउँदा नम्रतासाथ सल्लाह स्वीकारे।
दाऊदको असिद्धता र तिनले त्यसप्रति देखाउनसक्ने नकारात्मक प्रतिक्रियालाई विचार गरेर निस्सन्देह यहोवाले नातानलाई निर्देशन दिनुभयो। नातानले चतुऱ्याइँसाथ कुरा अघि बढाए र स्पष्टतः दाऊद यहोवाबाट नियुक्त राजा भएका कारण तिनलाई आफूभन्दा श्रेष्ठ ठाने। तपाईं पनि त्यस्तै केही ओहदामा हुनुहुन्छ, तपाईंले उचित सल्लाह दिनु भयो तर तपाईंले नम्रता देखाउनु भएन भने सल्लाह स्वीकार्न निकै गाह्रो पर्छ।
कोमल मनोभावमा नातानले दाऊदलाई सुधारे। दाऊदको हित गरोस् भनेर अगमवक्ताका शब्दहरू अनुग्रहसहितको हुनुका साथै होसियारी पूर्वक तयार पारिएका थिए। नातानले आफ्नो व्यक्तिगत इच्छाको लागि त्यसो गरेका थिएनन् नता तिनले आफूलाई नैतिक वा आध्यात्मिक पक्षमा दाऊदभन्दा श्रेष्ठ देखाउन नै खोजे। उचित ढंगमा सही शब्दहरू बोल्ने कस्तो उत्तम उदाहरण! तपाईंले पनि त्यस्तै मनोभाव देखाउनुभयो भने सायद अरूले तपाईंको सल्लाह पनि स्वीकार्नेछ।
[पृष्ठ २२-मा भएको चित्र]
पोषक खानाजस्तै तपाईंको सल्लाह पनि स्वास्थ्यबर्धक हुनुपर्छ
[पृष्ठ २३-मा भएको चित्र]
के तपाईंको सल्लाह चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै आकर्षक छन्?
[पृष्ठ २४-मा भएको चित्र]
अगमवक्ता नातानले राजा दाऊदलाई चतुऱ्याइँसाथ सल्लाह दिए