“परमेश्वरको वचन बढ़दै गयो”
“उहाँले पृथ्वीमा आदेश पठाउनुहुन्छ, उहाँको वचन अति तेज गतिले दौडन्छ।”–भजन १४७:१५, नयाँ संशोधित संस्करण।
१, २. येशूले आफ्ना चेलाहरूलाई के काम दिनुभयो र यसमा के समावेश थियो?
बाइबलका सबैभन्दा उदेकलाग्दा भविष्यवाणीहरूमध्ये एउटा प्रेरित १:८ मा पाइन्छ। स्वर्गमा उक्लनुभन्दा केही समयअघि येशूले आफ्ना विश्वासी अनुयायीहरूलाई यसो भन्नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, औ . . . पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” यो कस्तो ठूलो अभिभारा थियो!
२ परमेश्वरको वचन पृथ्वीभरि उद्घोषणा गर्ने काम पाउँदा त्यतिबेलाका मुठीभर चेलाहरूलाई अत्यन्तै चुनौतीपूर्ण लागेको हुनसक्छ। यसमा के के कुरा समावेश थियो, विचार गर्नुहोस्। तिनीहरूले मानिसहरूलाई परमेश्वरको राज्यको सुसमाचार बुझ्न मदत गर्नुपर्थ्यो। (मत्ती २४:१४) येशूको साक्षी दिनुमा उहाँको शक्तिशाली शिक्षा अरूसँग बाँड्नुका साथै यहोवाको उद्देश्य पूरा गर्न उहाँले निर्वाह गर्नुहुने भूमिकाबारे बताउनु पनि समावेश थियो। यसबाहेक, यस काममा मानिसहरूलाई चेला बनाएर तिनीहरूलाई बप्तिस्मा दिनु पनि समावेश थियो। अनि यो काम संसारभरि गरिनुपर्ने थियो!—मत्ती २८:१९, २०.
३. येशूले आफ्ना अनुयायीहरूलाई कुन कुराको आश्वासन दिनुभयो र आफूलाई दिइएको कामप्रति तिनीहरूले कस्तो प्रतिक्रिया देखाए?
३ यद्यपि, उहाँले दिनुभएको काम पूरा गर्न पवित्र आत्मा तिनीहरूसित हुनेछ भनी येशूले आफ्ना अनुयायीहरूलाई आश्वासन दिनुभयो। अतः काम जत्ति नै ठूलो भए तापनि र विरोधीहरूले तिनीहरूलाई चुप गराउन निरन्तर हिंस्रक प्रयास गरे तापनि येशूका प्रारम्भिक चेलाहरूले सफलतासाथ उहाँले निर्देशन दिनुभएबमोजिम गरे। यो तथ्य कसैले नकार्न नसक्ने इतिहासको भाग हो।
४. अरूलाई प्रचार गर्ने र सिकाउने काममा कसरी परमेश्वरको प्रेम प्रकट भयो?
४ परमेश्वरलाई नचिन्नेहरूका निम्ति विश्वव्यापी प्रचार र शिक्षण अभियान उहाँको प्रेमको अभिव्यक्ति थियो। यसले तिनीहरूलाई परमेश्वरसँग नजिक हुने र आफ्ना पापहरूको क्षमा पाउने सुअवसर दियो। (प्रेरित २६:१८) प्रचार गर्ने र सिकाउने काम उहाँको सन्देशको गवाही दिनेहरूको निम्ति पनि परमेश्वरको प्रेमको अभिव्यक्ति थियो किनभने तिनीहरूले उक्त काम गरेर यहोवाप्रति आफ्नो भक्ति प्रकट गर्ने र सँगी मानवहरूप्रति आफ्नो प्रेम प्रदर्शन गर्ने सुअवसर पाउँथे। (मत्ती २२:३७-३९) प्रेरित पावलले मसीही सेवकाईलाई असाध्यै मूल्यवान् ठानेको हुनाले तिनले यसलाई “धन” भनी सम्बोधन गरे।—२ कोरिन्थी ४:७.
५. (क) प्रारम्भिक मसीहीहरूको सबैभन्दा भरपर्दो रेकर्ड हामी कहाँ पाउँछौं र त्यहाँ कस्तो वृद्धिबारे बताइएको छ? (ख) आज परमेश्वरका जनहरूको लागि प्रेरितको पुस्तक किन अर्थपूर्ण छ?
५ प्रारम्भिक मसीहीहरूको प्रचार गतिविधिको सबैभन्दा भरपर्दो रेकर्ड चेला लूकाले प्रेरणा पाएर लेखेको प्रेरितको पुस्तकमा पाइन्छ। यसमा उदेकलाग्दो तीव्र वृद्धिको रेकर्ड गरिएको छ। परमेश्वरको वचनको ज्ञानको वृद्धिले हामीलाई भजन १४७:१५ स्मरण गराउँछ। त्यहाँ यसो भनिएको छ: “[यहोवाले] पृथ्वीमा आदेश पठाउनुहुन्छ, उहाँको वचन अति तेज गतिले दौडन्छ।” पवित्र आत्माबाट बल पाएका प्रारम्भिक मसीहीहरूको विवरण आज हाम्रोनिम्ति रोमाञ्चकारी र अत्यन्तै अर्थपूर्ण दुवै छ। आज यहोवाका साक्षीहरू पनि त्यही प्रचार र चेला बनाउने काममा संलग्न छन्, यति मात्र हो कि अहिले यो काम अझ विस्तृत तवरमा भइरहेको छ। प्रथम शताब्दीका मसीहीहरूले सामना गरेका जस्तै समस्याहरू आज हामीले पनि सामना गर्नुपर्छ। यहोवाले प्रारम्भिक मसीहीहरूलाई कसरी आशिष् र बल दिनुभयो भनी विचार गर्दै जाँदा उहाँले हामीलाई आड दिइरहनुभएको छ भन्ने हाम्रो विश्वास अझ बलियो हुन्छ।
चेलाहरूको संख्यामा वृद्धि
६. वृद्धिको सन्दर्भमा कुन वाक्य प्रेरित पुस्तकमा तीन चोटि उल्लेख गरिएको छ र यसले कुन कुरालाई संकेत गर्छ?
६ प्रेरित १:८ को भविष्यवाणीको पूर्ति जाँच्ने एउटा तरिका “परमेश्वरको वचन बढ़दै गयो” भन्ने अभिव्यक्तिलाई विचार गर्नु हो। यो अभिव्यक्ति बाइबलमा अलि फरक किसिमले तीन चोटि उल्लेख गरिएको छ र यो सबै प्रेरितकै पुस्तकमा पाइन्छ। (प्रेरित ६:७; १२:२४; १९:२०) यी विवरणहरूमा “परमेश्वरको वचन” र “प्रभुको वचन” भन्ने अभिव्यक्तिहरूले सुसमाचारलाई संकेत गर्छन्। यो ईश्वरीय सत्यको जीवित र शक्तिशाली सन्देश हो र यसलाई स्वीकार्नेहरूको यसले जीवन नै परिवर्तन गरिदिएको छ।—हिब्रू ४:१२.
७. प्रेरित ६:७ मा परमेश्वरको वचनलाई केसित जोडिएको छ र सा.यु. ३३ पेन्तिकोसको दिनमा के भयो?
७ परमेश्वरको वचन बढ्दै गयो भनी पहिलो चोटि प्रेरित ६:७ मा चर्चा गरिएको छ। त्यहाँ यसो भनिएको छ: “परमेश्वरको वचन बढ़दै गयो, र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ़यो। औ पूजाहारीहरूको एक ठूलो दलले यही मत मान्नलाग्यो।” यहाँ वृद्धिलाई चेलाहरूको संख्यामा भएको वृद्धिसित गाँसिएको छ। केही समयअगाडि सा.यु. ३३ पेन्तिकोसको दिन माथिल्लो कोठामा भेला भएका झन्डै १२० चेलाहरूमाथि परमेश्वरको पवित्र आत्मा खन्याइएको थियो। त्यसपछि प्रेरित पत्रुसले उत्साहबर्धक भाषण दिए र तिनको भाषण सुन्ने मानिसहरूमध्ये झन्डै ३,००० जना त्यही दिन विश्वासी भए। झन्डै ५० दिनअघि अपराधीको रूपमा झुन्ड्याइएका मानिस, येशूको नाउँमा बप्तिस्मा लिन यरूशलेमभित्र र बाहिरका नदीहरूमा हजारौं मानिसहरू जाँदा कस्तो हल्लाखल्ला भयो होला!—प्रेरित २:४१.
८. सा.यु. ३३ पेन्तिकोसपछिका वर्षहरूमा चेलाहरूको संख्यामा कसरी वृद्धि भयो?
८ निस्सन्देह, त्यो सुरुआत मात्र थियो। यहूदी धार्मिक नेताहरूले प्रचार कार्य बन्द गर्न जत्तिनै प्रयास गरे तापनि तिनीहरूको प्रयास बेकार भयो। ती धर्मगुरुहरू दिक्क हुने गरी “उद्धार पाउनेहरूलाई [यहोवाले] दिनदिनै तिनीहरूमा बढ़ती गराउनुहुन्थ्यो।” (प्रेरित २:४७) चाँडै, “मानिसहरूको संख्या प्रायः पाँच हजार जति हुनआयो।” त्यसपछि, “विश्वास गर्नेहरू झन् बढ़ता गरी प्रभुमा थपिन लागे—लोग्नेमानिस र स्वास्नीमानिसहरू दुवैको भीड़।” (प्रेरित ४:४; ५:१४) त्यसपछिको समयबारे यसो भनिएको छ: “त्यसरी सारा यहूदिया, गालील र सामरियाभरि मण्डलीमा उन्नति भएकोले चैन भयो, र प्रभुको भय र पवित्र आत्माको सान्त्वना पाएर चेलाहरूका संख्याको वृद्धि हुँदै गयो।” (प्रेरित ९:३१) केही वर्षपछि सम्भवतः सा.यु. ५८ तिर हामी “विश्वास गर्नेहरू हजारौं छन्” भनी संकेत गरिएको थियो। (प्रेरित २१:२०) त्यतिबेलासम्ममा थुप्रै अन्यजाति पनि विश्वासी भइसकेका थिए।
९. तपाईं प्रारम्भिक मसीहीहरूबारे कसरी व्याख्या गर्नुहुन्छ?
९ मुख्यतः थुप्रैले धर्म परिवर्तन गरेका कारण संख्यात्मक वृद्धि भएको थियो। यो धर्म नयाँ भए तापनि एकदमै सक्रिय थियो। चर्चका निष्क्रिय सदस्यहरू जस्तो नभई चेलाहरू यहोवा र उहाँको वचनप्रति पूर्णतया समर्पित थिए। तिनीहरूमध्ये कसै कसैले क्रूर सतावट भोगिरहेकाहरूबाट सच्चाइ सिकेका थिए। (प्रेरित १६:२३, २६-३३) मसीहीधर्म स्वीकार्नेहरूले तार्किक सोचाइ र आफ्नो अन्तस्करणअनुरूप निर्णय गरेका थिए। (रोमी १२:१) तिनीहरूले परमेश्वरको मार्गअनुसार चल्ने शिक्षा पाएका थिए र सत्य तिनीहरूको मन अनि हृदयमा गडिएको थियो। (हिब्रू ८:१०, ११) तिनीहरू आफूले विश्वास गरेको कुराको लागि मर्नसमेत तयार थिए।—प्रेरित ७:५१-६०.
१०. प्रारम्भिक मसीहीहरूले कुन जिम्मेवारी स्वीकारे र आज पनि हामी कस्तो समानता पाउँछौं?
१० मसीही शिक्षा अँगाल्नेहरूले अरूलाई सच्चाइ बाँड्ने जिम्मेवारी स्वीकारे। यसले संख्यात्मक वृद्धिमा झनै योगदान पुऱ्यायो। एक बाइबलविद्ले यसो भने: “विश्वासबारे अरूलाई बताउने काम अत्यन्तै जोसिलो वा आधिकारिक रूपमा नियुक्त प्रचारकमा मात्र सीमित हुन्छ भन्ठानिंदैनथ्यो। धर्मप्रचार गर्ने चर्चका प्रत्येक सदस्यको अधिकार र दायित्व थियो। . . . सम्पूर्ण मसीही समुदाय आफै अग्रसर भएकोले सुरुदेखि नै मसीहीधर्मलाई ठूलो प्रेरणा मिल्यो।” तिनले अझ यस्तो लेखे: “प्रचार कार्य प्रारम्भिक मसीहीहरूको जीवनरक्त नै थियो।” आज साँचो मसीहीहरूको निम्ति पनि त्यस्तै हो।
भौगोलिक रूपमा वृद्धि
११. प्रेरित १२:२४ मा कस्तो प्रकारको वृद्धिबारे वर्णन गरिएको छ र यो कसरी भयो?
११ परमेश्वरको वचनको वृद्धिबारे दोस्रो चोटि प्रेरित १२:२४ मा चर्चा गरिएको पाउँछौं: “प्रभुको वचन बढ़दै बढ़दै फैलिएर गयो।” यहाँ यो वाक्य भौगोलिक रूपमा भएको वृद्धिसँग सम्बन्धित छ। सरकारी विरोधहरूको बावजूद काम फस्टाउँदै गयो। पहिलो चोटि यरूशलेममा पवित्र आत्मा खन्याइएको थियो र त्यहाँबाट वचन चाँडै फैलियो। यरूशलेममा भइरहेको सतावटको कारण चेलाहरू यहूदिया र सामरियाभरि फैलिए। नतिजा? “ती तितर-बितर भएकाहरूले जताततै गएर वचनको सुसमाचार सुनाउन लागे।” (प्रेरित ८:१, ४) फिलिपले एक जना मानिसलाई साक्षी दिने निर्देशन पाए र त्यस मानिसले बप्तिस्मा लिएपछि एथियोपियासम्म सुसमाचारको सन्देश पुग्यो। (प्रेरित ८:२६-२८, ३८, ३९) चाँडै सत्यले लिड्डा, शारोन र जोप्पामा पनि जरा गाड्यो। (प्रेरित ९:३५, ४२) पछि, प्रेरित पावलले हजारौं किलोमिटर जल अनि थल यात्रा गर्दै थुप्रै भूमध्यसागरीय देशहरूमा मण्डलीहरू स्थापित गरे। प्रेरित पत्रुस बेबिलोन पनि गए। (१ पत्रुस ५:१३) पेन्तिकोसमा पवित्र आत्मा खन्याइएको ३० वर्षभित्रै पावलले सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो” भनी लेखे। तिनले सम्भवतः त्यतिबेला थाह भएको पृथ्वीका भागहरूलाई संकेत गर्दैथे।—कलस्सी १:२३.
१२. मसीहीधर्मका विरोधीहरूले परमेश्वरको वचनको भौगोलिक रूपमा भइरहेको वृद्धि कसरी स्वीकारे?
१२ मसीहीधर्मका विरोधीहरूले समेत परमेश्वरको वचन रोमी साम्राज्यभरि फैलिएको कुरा स्वीकारे। उदाहरणका लागि, प्रेरित १७:६ मा उत्तरी युनानको थिस्सलोनिकीमा विरोधीहरूले यसो भनेको बताइएको छ: “संसारलाई उलट-पुलट पार्नेहरू यता पनि आएछन्।” यसबाहेक, दोस्रो शताब्दीको सुरुतिर प्लाइनी द यंगरले बिथिनीयाबाट रोमी सम्राट ट्राजनलाई मसीहीधर्मको सम्बन्धमा पत्र लेखे। तिनले यस्तो उजुरी गरे: “शहरहरूमा मात्र होइन यसको संक्रमण सँगसँगैको गाउँ तथा देशहरूमा पनि फैलिसक्यो।”
१३. भौगोलिक रूपमा भएको वृद्धिले कसरी मानिसजातिप्रतिको परमेश्वरको प्रेम झल्काउँछ?
१३ भौगोलिक रूपमा भएको वृद्धि, छुटकारा पाउनसक्ने मानिसजातिको निम्ति यहोवाको गहिरो प्रेमको अभिव्यक्ति थियो। अन्यजातिका कर्नीलियसमा पवित्र आत्मा आफै प्रकट भएको पत्रुसले देखेपछि तिनले यसो भने: “साँच्चिनै म देख्तछु, कि परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) निस्सन्देह, सुसमाचारको सन्देश सबै मानिसहरूको निम्ति थियो र अहिले पनि हो। अनि परमेश्वरको वचन भौगोलिक रूपमा वृद्धि भएको कारण सबैतिरका मानिसले परमेश्वरको प्रेम स्वीकार्ने सुअवसर पाए। यस २१ औं शताब्दीमा साँच्चै नै संसारको सबै भागमा परमेश्वरको वचन फैलिएको छ।
प्रबल भएको वृद्धि
१४. प्रेरित १९:२० मा कस्तो प्रकारको वृद्धिबारे वर्णन गरिएको छ र परमेश्वरको वचन केमाथि प्रबल भयो?
१४ परमेश्वरको वचनको वृद्धिको तेस्रो चर्चा प्रेरित १९:२० मा गरिएको छ: “प्रभुको वचन सामर्थ्यसँग बढ़दै गयो, र प्रबल भयो।” “प्रबल” भनी अनुवाद गरिएको मूल युनानी शब्दले “बल प्रयोग गर्ने” भन्ने अर्थ बुझाउँछ। यसअघिका पदहरूले एफिससमा भएका थुप्रै मानिसहरू विश्वासी भएको र टुनामुना गर्नेहरूले सबैको अगाडि टुनामुनासँग सम्बन्धित आफ्नो सबै पुस्तक जलाइदिएको कुरा बताइएको छ। यसरी परमेश्वरको वचन झूटो धर्मको विश्वासमाथि प्रबल भयो। सतावटजस्ता अन्य अवरोधहरूमाथि पनि सुसमाचार प्रबल भयो। कुनै कुराले त्यसलाई रोक्न सकेन। यहाँ पनि हामी अहिले हाम्रो समयको साँचो मसीहीधर्मसँग ठूलो समानता पाउँछौं।
१५. (क) प्रारम्भिक मसीहीहरूबारे एक बाइबल इतिहासकारले के लेखे? (ख) चेलाहरूले आफ्नो सफलताको श्रेय कसलाई दिए?
१५ प्रेरित तथा अन्य प्रारम्भिक मसीहीहरूले जोसका साथ परमेश्वरको वचन घोषणा गरे। तिनीहरूबारे एक बाइबल इतिहासकारले यस्तो टिप्पणी गरे: “प्रभुबारे कुरा गर्ने इच्छा हुनेसित सो गर्ने तरिकाहरूको कुनै कमी हुँदैन। तर यी मानिसहरूको तरिकाले नभई तिनीहरूको उत्प्रेरणाले हामीलाई प्रभावित गर्छ।” यद्यपि, ती प्रारम्भिक मसीहीहरूले सेवकाईमा प्राप्त गरेको सफलता तिनीहरूको आफ्नै प्रयासको कारणले गर्दा मात्र भएको होइन भनी बुझेका थिए। यो काम गर्न तिनीहरूले ईश्वरीय आदेश पाएका थिए र तिनीहरूले यो जिम्मेवारी पूरा गर्न ईश्वरीय समर्थन पनि पाएका थिए। आध्यात्मिक वृद्धि स्वयम् परमेश्वरले गराउनुहुन्छ। प्रेरित पावलले कोरिन्थको मण्डलीलाई लेखेको पत्रमा यो कुरा स्वीकारे। तिनले लेखे: “मैले रोपें, अपोल्लसले पानी हाले, तर परमेश्वरले चाहिं बढ़ाउनुभयो। किनभने हामी परमेश्वरका सहकर्मी हौं।”—१ कोरिन्थी ३:६, ९.
सक्रिय पवित्र आत्मा
१६. निडरतासाथ बोल्न चेलाहरूलाई पवित्र आत्माले बल दियो भनी कुन कुराले देखाउँछ?
१६ परमेश्वरको वचनको वृद्धिमा पवित्र आत्माले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ र पवित्र आत्माले चेलाहरूलाई प्रचारकार्यमा लाग्ने बल दिनेछ भनी येशूले आफ्ना चेलाहरूलाई आश्वासन दिनुभएको कुरा सम्झनुहोस्। (प्रेरित १:८) तर कसरी? पेन्तिकोसमा चेलाहरूलाई पवित्र आत्मा खन्याइएको केही समयपछि नै पत्रुस र यूहन्नालाई यहूदीहरूको महासभा अर्थात् त्यतिबेलाको सबैभन्दा ठूलो अदालतमा बोलाइयो। त्यहाँका न्यायाधीशहरू, येशू ख्रीष्टको हत्याको निम्ति जिम्मेवार थिए। त्यस्तो शक्तिशाली र वैरी सभाको सामु के प्रेरितहरू डरले थरथर काम्ने थिए? अहँ! पत्रुस र यूहन्नालाई निडरतासाथ बोल्न पवित्र आत्माले यस्तो बल दियो कि तिनीहरूका विरोधीहरू अचम्म भए र “[ति]नीहरू येशूको साथमा रहन्थे भनेर पनि तिनीहरूले थाह पाए।” (प्रेरित ४:८, १३) पवित्र आत्माको कारण स्तिफनसले पनि निडरतासाथ महासभालाई साक्षी दिए। (प्रेरित ६:१२; ७:५५, ५६) यसअघि, पवित्र आत्माले चेलाहरूलाई निडरतासाथ प्रचार गर्न उत्प्रेरित गरेको थियो। लूका यस्तो रिपोर्ट दिन्छन्: “तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो, र तिनीहरू सबैजना पवित्र आत्माले भरिए, र तिनीहरूले निर्भयतासँग परमेश्वरको वचन बोले।”—प्रेरित ४:३१.
१७. पवित्र आत्माले चेलाहरूलाई अन्य कुन तरिकामा पनि सेवकाईमा मदत गऱ्यो?
१७ पुनरुत्थान हुनुभएको येशूसँग मिलेर यहोवाले आफ्नो शक्तिशाली पवित्र आत्माद्वारा प्रचार कार्यलाई डोऱ्याउनुभयो। (यूहन्ना १४:२८; १५:२६) कर्नीलियस, तिनका नातेदार र घनिष्ठ मित्रहरूमा पवित्र आत्मा खन्याइँदा प्रेरित पत्रुसले खतना नगरिएका अन्यजातिहरूले पनि येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनसक्ने रहेछ भनी बुझे। (प्रेरित १०:२४, ४४-४८) पछि, बर्णाबास र शावललाई (प्रेरित पावल) मिसनरी कार्यको निम्ति नियुक्त गर्न र तिनीहरूलाई कहाँ जाने र कहाँ जानुहुँदैन भनी निर्देशन दिन पनि पवित्र आत्माले महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो। (प्रेरित १३:२, ४; १६:६, ७) प्रेरित तथा यरूशलेमका बूढाप्रधानहरूले गरेको निर्णयमा पनि पवित्र आत्माको डोऱ्याइ थियो। (प्रेरित १५:२३, २८, २९) पवित्र आत्माले मसीही मण्डलीका निरीक्षकहरूको नियुक्तिमा पनि डोऱ्याइ दिएको थियो।—प्रेरित २०:२८.
१८. प्रारम्भिक मसीहीहरूले कसरी प्रेम व्यक्त गरे?
१८ यसबाहेक, पवित्र आत्मा स्वयम् मसीहीहरूमा प्रकट भयो जसले गर्दा तिनीहरूले प्रेमजस्ता ईश्वरीय गुणहरूको विकास गरे। (गलाती ५:२२, २३) प्रेमले चेलाहरूलाई आपसमा बाँडचुँड गर्न उत्प्रेरित गऱ्यो। उदाहरणका लागि, सा.यु. ३३ पेन्तिकोसपछि खाँचोमा परेका यरूशलेमका चेलाहरूको आवश्यकता पूरा गर्न साझा कोशको स्थापना गरियो। बाइबल विवरण यसो भन्छ: “तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो पर्दैन थियो, किनकि जत्ति जना जग्गा-जमीन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर बिक्रीको मोल ल्याउँथे, र प्रेरितहरूका चरणमा राखिदिन्थे, र जस जसलाई जे जे कुराको खाँचो पर्थ्यो, सो हरेकलाई बाँड़िदिन्थे।” (प्रेरित ४:३४, ३५) यो प्रेम, सँगी विश्वासीहरूप्रति मात्र होइन तर सुसमाचार सुनाएर र दयाका अन्य कामहरू गरेर अरूप्रति पनि देखाइयो। (प्रेरित २८:८, ९) आत्म-त्यागी प्रेम उहाँका अनुयायीहरूको चिनारी हुनेछ भनी येशूले भन्नुभएको थियो। (यूहन्ना १३:३४, ३५) निश्चय पनि, प्रेमजस्तो महत्त्वपूर्ण गुणले मानिसहरूलाई परमेश्वरतर्फ खिच्यो र आजजस्तै प्रथम शताब्दीमा भइरहेको वृद्धिमा योगदान पुऱ्यायो।—मत्ती ५:१४, १६.
१९. (क) प्रथम शताब्दीमा कुन तीन तरिकामा परमेश्वरको वचनको वृद्धि भयो? (ख) अर्को लेखमा हामी के चर्चा गर्नेछौं?
१९ प्रेरितको पुस्तकमा जम्माजम्मी ४१ ठाउँमा “पवित्र आत्मा” भन्ने शब्द उल्लेख गरिएको छ। स्पष्टतः प्रथम शताब्दीमा भएको मसीहीहरूको साँचो वृद्धिको पवित्र आत्माको शक्ति र डोऱ्याइसँग नजिकको सम्बन्ध छ। चेलाहरूको संख्यामा वृद्धि भयो, परमेश्वरको वचन धेरै ठाउँमा फैलियो र यो त्यस युगको धर्म तथा दर्शनहरूभन्दा प्रबल भयो। प्रथम शताब्दीको त्यस्तो वृद्धि र आज भइरहेको यहोवाका साक्षीहरूको कामबीच समानता छ। अर्को लेखमा आधुनिक समयमा भएको त्यति नै उल्लेखनीय वृद्धिबारे हामी चर्चा गर्नेछौं।
के तपाईंलाई सम्झना छ?
• प्रारम्भिक चेलाहरूको कसरी संख्यात्मक वृद्धि भयो?
• परमेश्वरको वचनको कसरी भौगोलिक रूपमा वृद्धि भयो?
• प्रथम शताब्दीमा कसरी परमेश्वरको वचन प्रबल भयो?
• परमेश्वरको वचनको वृद्धिमा पवित्र आत्माले कस्तो भूमिका निर्वाह गऱ्यो?
[पृष्ठ १२-मा भएको चित्र]
फिलिपले इथियोपियालीलाई प्रचार गरे र भौगोलिक दृष्टिकोणले सुसमाचार फैलियो
[पृष्ठ १३-मा भएको चित्र]
यरूशलेमका प्रेरित तथा बूढाप्रधानहरूलाई पवित्र आत्माले डोऱ्यायो
[पृष्ठ १०-मा भएको चित्रको स्रोत]
Upper right corner: Reproduction of the City of Jerusalem at the time of the Second Temple - located on the grounds of the Holyland Hotel, Jerusalem