अध्ययन लेख २६
यहोवाको दिनको लागि अहिल्यैदेखि तयार रहनुहोस्
“यहोवा परमेश्वरको दिन राती चोर आएजस्तै गरी आउँदै छ।” —१ थिस्स. ५:२.
गीत १४३ हार नमानी यहोवाको दिनको प्रतीक्षा गरौँ!
परिचयa
१. यहोवाको दिनमा नाश हुनदेखि बच्न हामीले के गर्नुपर्छ?
बाइबलमा “यहोवाको दिन”-ले उहाँले शत्रुहरूलाई नाश गर्ने र आफ्ना मानिसहरूको उद्धार गर्ने समयलाई बुझाउँछ। विगतमा यहोवाले सजाय दिन केही राष्ट्रलाई नाश गर्नुभयो। (यसै. १३:१, ६; इज. १३:५; सप. १:८) आज हाम्रो समयमा “यहोवाको दिन” महान् बेबिलोनमाथि आक्रमण हुँदा सुरु हुनेछ र आरमागेडोनको युद्धमा अन्त हुनेछ। त्यस “दिन”-मा नाश हुनदेखि बच्न हामी अहिल्यैदेखि तयार रहनुपर्छ। येसुले हामीलाई “महासङ्कष्ट”-को लागि “तयार रहो” भन्नुभयो। यस अभिव्यक्तिले निरन्तर गरिरहनुपर्ने कुरालाई सङ्केत गर्छ।—मत्ति २४:२१; लुका १२:४०.
२. पहिलो थिस्सलोनिकीको किताबबाट हामी किन लाभ उठाउन सक्छौँ?
२ प्रेषित पावलले थिस्सलोनिकीहरूलाई लेखेको पहिलो पत्रमा यहोवाको न्यायको महान् दिनको लागि हरदम तयार रहन सल्लाह दिए। यो कुरा बुझाउन तिनले थुप्रै उदाहरण चलाए। यहोवाको दिन तुरुन्तै आइहाल्दैन भनेर पावललाई थाह थियो। (२ थिस्स. २:१-३) तैपनि तिनले त्यो दिन भोलि नै आउने जस्तैगरि तयार रहन भाइहरूलाई आग्रह गरे। हामीले पनि तिनको सल्लाह लागू गर्नुपर्छ। आउनुहोस्, निम्न प्रश्नहरूको जवाफ पाउन पावलका शब्दहरू विचार गरौँ: (१) यहोवाको दिन कसरी आउनेछ?, (२) त्यस दिनमा को-को बच्नेछैनन्? र (३) हामी त्यस दिनको लागि तयार रहन के गर्न सक्छौँ?
यहोवाको दिन कसरी आउनेछ?
३. यहोवाको दिन कसरी राती चोर आएजस्तै गरी आउनेछ? (चित्र पनि हेर्नुहोस्।)
३ “राती चोर आएजस्तै गरी।” (१ थिस्स. ५:२) यहोवाको दिन आउनेबारे पावलले बताएको तीन वटा उदाहरणमध्ये यो पहिलो हो। चोरहरू अक्सर राती मानिसहरूले आसै नगरेको समयमा सुटुक्क आउँछन्। त्यस्तैगरि यहोवाको दिन पनि अचानक आउनेछ र थुप्रै मानिस अचम्ममा पर्नेछन्। त्यतिबेला घटनाक्रमहरू छिटोछिटो भएको देख्दा साँचो ख्रिष्टियनहरू पनि अचम्ममा पर्न सक्छन्। तर हामीले दुष्ट मानिसहरूले जस्तै विनाश भोग्नुपर्नेछैन।
४. यहोवाको दिनलाई किन गर्भवती स्त्रीलाई अचानक बेथा लाग्नुसित तुलना गर्न सकिन्छ?
४ “गर्भवती स्त्रीलाई अचानक बेथा लागेजस्तै।” (१ थिस्स. ५:३) गर्भवती स्त्रीले ठ्याक्कै कतिखेर बेथा लाग्छ भनेर थाह पाउन सक्दिनन्। तर बेथा पक्कै लाग्छ भनेर तिनलाई थाह हुन्छ। अचानक बेथा लागेपछि त्यसलाई रोक्न सकिँदैन र त्यो निकै पीडादायी हुन्छ। त्यस्तैगरि यहोवाको दिन ठ्याक्कै कहिले सुरु हुनेछ भनेर हामीलाई थाह छैन। तर हामी यी कुराहरूमा विश्वस्त छौँ: त्यो दिन पक्कै आउनेछ, परमेश्वरले दुष्ट मानिसहरूमाथि अचानक विपत्ति ल्याउनुहुनेछ र त्यसबाट एक जना पनि उम्कन पाउनेछैन।
५. महासङ्कष्टलाई किन बिहानको उज्यालोसित तुलना गर्न सकिन्छ?
५ उज्यालो हुँदा। पावलले तेस्रो उदाहरणमा पनि चोरले राती चोरिरहेको कुरा उल्लेख गरे। तर यसपालि भने तिनले यहोवाको दिनलाई बिहानको झिसमिसेसित तुलना गरेको जस्तो देखिन्छ। (१ थिस्स. ५:४) रातमा आउने चोरलाई समय गएको पत्तै नहुन सक्छ। बिहानको झिसमिसेमा तिनीहरूको कर्तुत छर्लङ्ग हुन सक्छ। त्यसैगरि अन्धकारमा अर्थात् लुकीछिपी परमेश्वरलाई अप्रसन्न तुल्याउने काममा लागिरहने व्यक्तिहरूको काम महासङ्कष्टमा छर्लङ्ग हुनेछ। हामी ती मानिसहरूजस्तो हुन चाहँदैनौँ। बरु यहोवालाई अप्रसन्न तुल्याउने आनीबानीहरू त्यागेर र “हरकिसिमका भलाइ, धार्मिकता अनि सत्य”-को पछि लागेर यहोवाको दिनको लागि तयार रहन चाहन्छौँ। (एफि. ५:८-१२) यहोवाको दिनमा नबच्ने मानिसहरू कस्ता हुन्छन् भनेर बुझाउन पावलले अर्को दुइटा उदाहरण प्रयोग गरेका छन्।
यहोवाको दिनमा को-को बच्नेछैनन्?
६. धेरैजसो मानिस कुन अर्थमा निदाइरहेका छन्? (१ थिस्सलोनिकी ५:६, ७)
६ “जो निदाउँछन्।” (१ थिस्सलोनिकी ५:६, ७ पढ्नुहोस्।) पावलले यहोवाको दिनमा नबच्नेहरूलाई निदाउने मानिसहरूसित तुलना गरे। निदाउने व्यक्तिहरूलाई समय बितेको पत्तै हुँदैन अनि आफूवरपर के भइरहेको छ भनेर पनि थाह हुँदैन। त्यसैले कुनै महत्त्वपूर्ण घटना घट्दा तिनीहरू आवश्यक कदम चाल्न सक्दैनन्। आज धेरैजसो मानिस आध्यात्मिक रूपमा निदाएका छन्। (रोमी ११:८) तिनीहरू “अन्तको दिन”-का चिन्हहरू र महासङ्कष्ट नजिकै छ भन्ने प्रमाणहरूलाई बेवास्ता गर्छन्। संसारमा भइरहेका ठूला घटनाहरूले गर्दा केही मानिस आध्यात्मिक निद्राबाट जाग्न सक्छन् र हाम्रो राज्य सन्देशप्रति चासो देखाउन सक्छन्। तर धेरैजसो मानिस जागा रहिरहनुको साटो फेरि निदाउँछन्। न्यायको दिनमा विश्वास गर्ने कसै-कसैलाई समेत परमेश्वरको दिन आउन धेरै समय बाँकी छ जस्तो लाग्छ। (२ पत्रु. ३:३, ४) तर जागा रहनू भन्ने सल्लाह पालन गर्नु अहिले हाम्रो समयमा झनै महत्त्वपूर्ण भएको छ।
७. विनाश भोग्ने मानिसहरूलाई किन मात्तिने मानिसहरूसित तुलना गर्न सकिन्छ?
७ “जो पिएर मात्तिन्छन्।” प्रेषित पावलले विनाश भोग्ने मानिसहरूलाई पिएर मात्तिनेहरूसित तुलना गरे। रक्सीले मात्तिने मानिसहरूले आफूवरपर भइरहेको कुराप्रति तुरुन्तै प्रतिक्रिया देखाउन सक्दैनन् र गलत निर्णय गर्छन्। त्यसैगरि दुष्ट मानिसहरू परमेश्वरको चेतावनीलाई बेवास्ता गर्छन्। तिनीहरू विनाशतर्फ लैजाने जीवन बिताउने छनौट गर्छन्। तर ख्रिष्टियनहरूलाई रक्सी नखाएको अवस्थामा जस्तै सचेत रहन भनिएको छ। (१ थिस्स. ५:६) एक बाइबलविद्का अनुसार यसरी सचेत रहने व्यक्ति “आत्तिँदैन बरु शान्त रहन्छ अनि उसले हरेक कुराको राम्ररी लेखाजोखा गरेर सही निर्णय गर्न सक्छ।” हामी किन शान्त रहनुपर्छ? किनकि हामी राजनैतिक वा सामाजिक विषयहरूमा मुछिनदेखि अलग रहन चाहन्छौँ। यहोवाको दिन झन्झनै नजिकिँदै जाँदा यस्ता कुराहरूमा मुछिने दबाब पनि बढ्दै जानेछ। तर यस्तो दबाब आइपर्दा के गर्ने भनेर चिन्ता गर्नुपर्दैन किनकि पवित्र शक्तिले हामीलाई शान्त रहन र सही निर्णय गर्न मदत गर्नेछ।—लुका १२:११, १२.
हामी यहोवाको दिनको लागि तयार रहन के गर्न सक्छौँ?
८. पहिलो थिस्सलोनिकी ५:८ मा सचेत रहन मदत गर्ने कस्ता गुणहरूबारे बताइएको छ र ती गुणहरूलाई केसित तुलना गरिएको छ? (चित्र पनि हेर्नुहोस्।)
८ ‘कवच अनि टोप लगाऔँ।’ पावल हामीलाई युद्धको लागि तयार अनि सचेत रहने सिपाहीसित तुलना गर्छन्। (१ थिस्सलोनिकी ५:८ पढ्नुहोस्।) युद्धको बेला सिपाहीहरू हरसमय तयार रहनुपर्छ। हाम्रो सन्दर्भमा पनि यस्तै भन्न सकिन्छ। विश्वास र प्रेमको कवच अनि आशाको टोप लगाएर हामी यहोवाको दिनको लागि सधैँ तयार रहन्छौँ। यी गुणहरूले यहोवाको दिनको लागि तयार रहन हामीलाई धेरै मदत गर्न सक्छ।
९. विश्वासले हामीलाई कसरी जोगाउँछ?
९ कवचले सिपाहीको मुटु जोगाउँछ। त्यसैगरि विश्वास र प्रेमले हाम्रो प्रतीकात्मक मुटुलाई जोगाउँछ। यी गुणहरूले परमेश्वरको सेवामा लागिरहन र येसुलाई पछ्याइरहन मदत गर्छ। जोडतोडले परमेश्वरको खोजी गर्नेहरूलाई उहाँले इनाम दिनुहुनेछ भन्ने कुरामा पक्का हुन विश्वासले मदत गर्छ। (हिब्रू ११:६) विश्वासले हामीलाई कठिनाइहरूको बाबजुद हाम्रो नेता येसुप्रति वफादार रहिरहन उत्प्रेरित गर्छ। खेदो र आर्थिक कठिनाइको बाबजुद निष्ठावान् रहेका भाइबहिनीको उदाहरणबाट हामी आफ्नो विश्वास बलियो बनाउन सक्छौँ। साथै राज्य गतिविधिलाई पहिलो स्थान दिन आफ्नो जीवन सरल बनाउनेहरूको उदाहरण अनुकरण गऱ्यौँ भने हामी भौतिकवादको पासोदेखि जोगिन सक्नेछौँ।b
१०. परमेश्वर र मानिसहरूप्रतिको प्रेमले साक्षीकार्यमा लागिरहन कसरी मदत गर्छ?
१० सचेत रहिरहन मदत गर्ने अर्को महत्त्वपूर्ण गुण प्रेम हो। (मत्ति २२:३७-३९) सुसमाचारको निम्ति जस्तोसुकै कष्ट भोग्नुपरे पनि परमेश्वरप्रतिको प्रेमले हामीलाई त्यसमा लागिरहन मदत गर्छ। (२ तिमो. १:७, ८) हामी यहोवाको सेवा नगर्ने व्यक्तिहरूलाई पनि प्रेम गर्छौँ। त्यसैले हामी टेलिफोन र चिठीमार्फत अनि अरू तरिकामा इलाकाका मानिसहरूलाई साक्षी दिने प्रयास गर्छौँ। ती मानिसहरूले कुनै दिन आफ्नो मन परिवर्तन गर्नेछन् र सही काम गर्नेछन् भनेर हामी आशा गरिरहन्छौँ।—इज. १८:२७, २८.
११. दाजुभाइ दिदीबहिनीप्रतिको प्रेमले हामीलाई सचेत रहन कसरी मदत गर्न सक्छ? (१ थिस्सलोनिकी ५:११)
११ हामी आफ्ना दाजुभाइ दिदीबहिनीलाई पनि प्रेम गर्छौँ। हामी ‘एकअर्कालाई प्रोत्साहन दिएर अनि एकअर्काको उत्थान गरेर’ यस्तो प्रेम देखाउँछौँ। (१ थिस्सलोनिकी ५:११ पढ्नुहोस्।) रणभूमिमा सिपाहीहरूले एकअर्कालाई साथ दिएजस्तै हामी पनि एकअर्कालाई प्रोत्साहन दिन्छौँ। हुनत कहिलेकाहीँ कुनै सिपाहीको गल्तीले अर्को सिपाहीलाई चोट पुग्न सक्छ। तर उसले कहिल्यै पनि जानाजानी त्यसो गर्दैन। त्यसैगरि हामी पनि भाइबहिनीलाई जानाजानी चोट पुऱ्याउँदैनौँ न त खराबीको बदला खराबी गर्छौँ। (१ थिस्स. ५:१३, १५) साथै मण्डलीमा नेतृत्व लिइरहेका भाइहरूलाई आदर गरेर पनि हामी प्रेम गरेको देखाउँछौँ। (१ थिस्स. ५:१२) पावलले यो पत्र लेख्दा थिस्सलोनिकी मण्डली स्थापना भएको एक वर्ष पनि भएको थिएन। सायद त्यस मण्डलीका नियुक्त पुरुषहरू कम अनुभवी थिए र तिनीहरूले गल्तीहरू पनि गरे होलान्। तैपनि तिनीहरू आदर पाउन योग्य थिए। महासङ्कष्ट नजिकिँदै जाँदा हामी निर्देशनहरूको लागि एल्डरहरूमा अझ धेरै भर पर्नुपर्ने हुन सक्छ। त्यतिबेला मुख्यालय र शाखा कार्यालयसित हाम्रो सम्पर्क टुट्न सक्छ। त्यसैले अहिल्यैदेखि एल्डरहरूलाई प्रेम र आदर गर्न सिक्नु जरुरी छ। जस्तोसुकै अवस्थामा पनि सचेत रहौँ र तिनीहरूको कमीकमजोरीमा होइन बरु यहोवाले यी वफादार पुरुषहरूलाई ख्रिष्टमार्फत डोऱ्याउँदै हुनुहुन्छ भन्ने कुरामा ध्यान देऔँ।
१२. हाम्रो आशाले सोचाइलाई कसरी जोगाउँछ?
१२ टोपले सिपाहीको टाउकोलाई जोगाएजस्तै उद्धारको आशाले हाम्रो सोचाइलाई जोगाउँछ। हाम्रो आशा बलियो छ भने हामी संसारले दिने कुरालाई रद्दी ठान्छौँ। (फिलि. ३:८) हाम्रो आशाले हामीलाई शान्त रहन मदत गर्छ। अफ्रिकामा बेथेल सेवा गरिरहेका वालेस र लोरिन्डालाई विचार गरौँ। तीन हप्ताभित्र लोरिन्डाले आफ्नी आमा अनि वालेसले आफ्नो बुबा गुमाए। कोभिड-१९ महामारीले गर्दा तिनीहरू आफ्नो परिवारकहाँ जान सकेनन्। वालेसले यस्तो लेखे: “फेरि जीवित हुने आशाले मलाई उहाँहरूले जीवनको अन्तिम क्षणहरूमा भोग्नुपरेको पीडामा होइन बरु नयाँ संसारमा उहाँहरू कस्तो हुनुहुनेछ भन्ने कुरा सोच्न मदत गरेको छ। अनि प्रियजन गुमाउनुपरेकोले दुःख लाग्दा मनलाई शान्त राख्न मदत गरेको छ।”
१३. हामी कसरी पवित्र शक्ति पाउन सक्छौँ?
१३ “पवित्र शक्तिको आगोलाई ननिभाओ।” (१ थिस्स. ५:१९, फुटनोट) पावलले पवित्र शक्तिलाई आगोरूपी जोससित तुलना गरे। हामीसित परमेश्वरको पवित्र शक्ति छ भने हामी सही कुरा गर्न जोसले भरिनेछौँ र यहोवाको सेवा गर्न बल पाउनेछौँ। (रोमी १२:११) हामी कसरी पवित्र शक्ति पाउन सक्छौँ? हामी त्यसको लागि प्रार्थना गर्न सक्छौँ, परमेश्वरको वचन अध्ययन गर्न सक्छौँ र आध्यात्मिक गतिविधिमा भाग लिन सक्छौँ। यसो गर्दा हामीले “पवित्र शक्तिको फल” विकास गर्न मदत पाउनेछौँ।—गला. ५:२२, २३.
१४. पवित्र शक्ति पाइरहन हामी कस्ता कुराहरू गर्नदेखि होसियार हुनुपर्छ? (तस्बिर पनि हेर्नुहोस्।)
१४ परमेश्वरले हामीलाई उहाँको पवित्र शक्ति दिनुभएपछि त्यसलाई ननिभाउन अर्थात् ‘पवित्र शक्तिको काममा बाधा नपुऱ्याउन’ हामी होसियार हुनुपर्छ। आफ्नो सोचाइ अनि आचरण शुद्ध राखिरहनेहरूलाई मात्र उहाँ आफ्नो पवित्र शक्ति दिनुहुन्छ। यदि हामी अशुद्ध कुराहरू सोचिरहन्छौँ र त्यस्तै काम गर्छौँ भने उहाँले हामीलाई पवित्र शक्ति दिइरहनुहुन्न। (१ थिस्स. ४:७, ८) पवित्र शक्ति पाइरहन हामीले ‘भविष्यवाणीहरूलाई तुच्छ सम्झनु हुँदैन।’ (१ थिस्स. ५:२०) यस पदमा चलाइएको “भविष्यवाणी” शब्दले परमेश्वरले पवित्र शक्तिमार्फत हामीलाई दिनुभएका सन्देशहरूलाई बुझाउँछ। यसमा यहोवाको दिनसित सम्बन्धित कुराहरू र त्यस दिनको लागि तत्पर रहनुपर्ने कुराहरू समावेश छन्। हामी आरमागेडोन आफ्नो जीवनकालमा आउनेछैन भन्ने सोचाइ राख्दैनौँ। बरु असल आचरण कायम राखेर र “परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू”-मा व्यस्त भएर त्यो दिन चाँडै आउनेछ भन्ने कुरामा विश्वास गरेको देखाउँछौँ।—२ पत्रु. ३:११, १२.
“सबै कुरा जाँच”
१५. प्रेतहरूले फैलाउने झूटा अफवाहहरूको बहकाउमा नपर्न हामी के गर्न सक्छौँ? (१ थिस्सलोनिकी ५:२१)
१५ निकट भविष्यमा परमेश्वरका विरोधीहरूले कुनै तरिकामा “शान्ति र सुरक्षा!”-को घोषणा गर्नेछन्। (१ थिस्स. ५:३) प्रेतहरूले पूरै पृथ्वीभरि झूटा अफवाहहरू फैलाउनेछन् र थुप्रै मानिस त्यसको बहकाउमा पर्नेछन्। (प्रका. १६:१३, १४) हामी नि? यदि हामीले सबै कुरा ‘जाँच्यौँ’ भने तिनीहरूको बहकाउमा पर्नेछैनौँ। (१ थिस्सलोनिकी ५:२१ पढ्नुहोस्।) ‘जाँच्नु’ भनेर अनुवाद गरिएको ग्रीक शब्द सुन र चाँदीजस्ता बहुमूल्य धातु सकली हो कि होइन भनेर परीक्षण गर्ने सन्दर्भमा प्रयोग गरिन्थ्यो। त्यसैले हामीले सुन्ने वा पढ्ने कुराहरू साँचो हो कि होइन भनेर जाँच्नुपर्छ। थिस्सलोनिकीका ख्रिष्टियनहरूले त्यसरी जाँचेर हेर्नु महत्त्वपूर्ण थियो र महासङ्कष्ट नजिकिँदै जाँदा हामीले पनि त्यसै गर्नु अझै महत्त्वपूर्ण हुनेछ। कागले कान लग्यो भन्दैमा आफ्नो कानै नछामी कागको पछि दौड्नु हुँदैन। हो, हामीले बाइबल र यहोवाको सङ्गठनले के भन्छ भनेर जाँचेर हेर्नुपर्छ। यसो गऱ्यौँ भने हामी प्रेतहरूले फैलाउने झूटा अफवाहहरू वा भ्रामक कुराहरूको बहकाउमा पर्नेछैनौँ।—हितो. १४:१५; १ तिमो. ४:१.
१६. हामीसित कस्तो पक्का आशा छ र हामीले कस्तो सङ्कल्प गर्नुपर्छ?
१६ महासङ्कष्टमा यहोवाका सेवकहरू समूहको रूपमा बच्नेछन्। तर हामी प्रत्येकको जीवनमा भोलि के हुने हो, हामीलाई थाह छैन। (याकु. ४:१४) हामीले जीवितै महासङ्कष्ट पार गर्न सक्छौँ वा त्यसअघि नै हाम्रो मृत्यु हुन सक्छ तर वफादार रह्यौँ भने इनामस्वरूप अनन्त जीवन पाउनेछौँ। अभिषिक्त जनहरूले ख्रिष्टसँगै स्वर्गमा शासन गर्नेछन्। अरू भेडा भने यसै पृथ्वीमा सधैँभरि बाँच्नेछ। त्यसैले हाम्रो सुन्दर आशामा ध्यान केन्द्रित गरिरहौँ र यहोवाको दिनको लागि अहिल्यैदेखि तयार रहौँ!
गीत १५० छुटकारा पाउन यहोवालाई खोजौँ!
a पहिलो थिस्सलोनिकी अध्याय ५ मा पाइने उदाहरणहरूबाट हामी आउँदै गरेको यहोवाको दिनबारे सिक्न सक्छौँ। त्यो “दिन” के हो र त्यो कहिले आउनेछ? त्यस “दिन”-मा को-को बच्नेछन् र को-को बच्नेछैनन्? त्यस दिनको लागि तयार रहन के गर्न सक्छौँ? यी प्रश्नहरूको जवाफ पाउन हामी प्रेषित पावलका शब्दहरू जाँच्नेछौँ।
b “तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे” भन्ने शृङ्खलाबद्ध लेखहरू हेर्नुहोस्।