“अधर्मको मानिसलाई” चिन्ने
“तब त्यो अधर्मी प्रकट हुनेछ, जसलाई प्रभु येशूले . . . नाश पार्नुहुनेछ।”—२ थिस्सलोनिकी २:८.
१, २. अधर्मको मानिसलाई चिन्नु किन अतिनै महत्वपूर्ण छ?
हामी एउटा अधर्मी युगमा बाँचेकाछौं। यो उत्पात विश्वभरि मचेको छ। जता सुकै जानुहोस्, अधर्मी लूटाहाहरूको डर छ। तिनीहरू हाम्रो शरीर र सम्पत्तिका लागि खतराका कारण हुन्। तापनि, यो भन्दा एउटा अर्को, अतिनै अधर्मी र धोखाबाज तत्व, धेरै शताब्दि देखिन् सकृय भएर आएको छ। बाइबलमा यसलाई “अधर्मको मानिस” भनिन्छ।
२ यो अधर्मको मानिसलाई चिन्नु अति नै आवश्यक छ। किन? किनभने परमेश्वर सँगको हाम्रो असल सम्बन्ध र अनन्त जीवन पाउने हाम्रो आशालाई, यसले गुप्त रूपले हानी गर्ने फैसला गरेको छ। कसरी? हामीलाई सत्य छाड़न लगाएर, परमेश्वरलाई “आत्मा र सत्यतामा” चढ़ाउनु पर्ने उपासनाबाट हटाएर, त्यसको ठाउँमा मिथ्याहरूमाथि विश्वास गराउन चाहन्छ। (यूहन्ना ४:२३) यो अधर्मी तत्वले परमेश्वर, उहाँका उद्देश्यहरू र उहाँका समर्पित मानिसहरूको विरोधगर्छ भन्ने कुरा, त्यसका कार्यहरूबाट नै स्पष्ट देखिन्छ।
३. यो अधर्मी व्यक्ति तर्फ बाइबलले हाम्रो ध्यान कसरी आकर्षित् गराउँछ?
३ बाइबलले, २ थिस्सलोनिकी २:३ मा, यो अधर्मको मानिसको विषयमा चर्चा गरेकोछ। परमेश्वरको आत्माको प्रेरणा द्वारा, पावलले यस प्रकार लेखे: “कुनै मानिसले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्, किनभने धर्मत्याग नभइकन, र पापको मानिस, अर्थात् सर्वनाशको सन्तान प्रकट नहोउञ्जेल यो [यहोवाले यो दुष्ट रीतिरिवाज नाश गर्नुहुने दिन] हुनेछैन। यो रीतिरिवाजको अन्त हुनभन्दा अघि, धर्मत्यागको वृद्धि हुनेछ र एउटा अधर्मको मानिस देखा पर्नेछ भनेर, यहाँ पावलले भविष्यद्वाणी गरे। वास्तवमा, ७ वाँ पदमा, पावलले एसो भनेको छ: “यो अधर्मको रहस्य, अहिले देखिन् काम गरिरहेको छ।” यसकारण, प्रथम शताब्दि देखिनै, यो अधर्मको मानिसले आफूलाई प्रकट गर्ने काम शुरू गरिसकेको रहेछ।
अधर्मको मानिसको प्रारम्भ
४. यो अधर्मको मानिसको समर्थक र प्रारम्भकर्ता को हो?
४ यो अधर्मको मानिसको प्रारम्भ कसले गऱ्यो र यसलाई कसले मदद गर्छ? पावलले उत्तरमा एसो भने: “त्यस अधर्मीको आगमन, शैतानको काम बमोजिम, सबै शक्ति, झूटा चिन्हहरू र आश्चर्य कामहरूसँग, सबै अधर्मको धोकाबाजीका साथ यी कुरा हुनेछन्, किनभने तिनीहरूले आफ्नो उद्धारको निम्ति सत्यको प्रेम ग्रहण गरेनन्।” (२ थिस्सलोनिकी २:९, १०) यसर्थ, यो अधर्मको मानिसलाई आड दिने, यसको पिता शैतान हो। र जसरी शैतानले यहोवाको, उहाँका उद्देश्यहरूको र उहाँका मानिसहरूको विरोध गर्छ, त्यसरी नै, यो अधर्मको मानिसले पनि, आफूलाई थाह होस् न होस्, यस प्रकारको विरोध गर्ने गर्छ।
५. यस अधर्मी व्यक्ति र यसको पछि लाग्नेहरूको नतिजा के हुनेछ?
५ अधर्मको मानिस र त्यस सँग लाग्ने सबैले एउटै विपत्ति भोग्ने छन्—र त्यो हो सर्वनाश। “तब त्यो अधर्मी प्रकट हुनेछ, जसलाई प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नुहुनेछ, र उहाँको आगमनको प्रकाशले विनाश पार्नुहुनेछ।” (२ थिस्सलोनिकी २:८) अधर्मको यो मानिस र त्यसका समर्थकहरूको (“नाश भएर जानेहरू”) नष्ट हुने बेला चाड़ै आउनेछ, जब “उहाँको शक्तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट बल्दो आगोमा प्रकाश हुँदा, र परमेश्वरलाई नचिन्नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई बदला दिंदा, यिनीहरूले प्रभुको मुखबाट र उहाँको शक्तिको तेजबाट अनन्त विनाशको सजाय भोग्नेछन्।”—२ थिस्सलोनिकी १:६-९.
६. यस अधर्मी व्यक्ति बारे पावलले अझ के जानकारी दिएको पाइन्छ?
६ यो अधर्मीको अझ वर्णन गर्दै, पावलले एसो भने: “त्यसले विरोध गर्दछ र परमेश्वर कहलिएका अथवा पूज्य वस्तुहरूभन्दा पनि आफैलाई उच्च तुल्याउँछ, यहाँसम्म कि, आफैलाई परमेश्वर जस्तै तुल्याएर परमेश्वरको पवित्र स्थानमा त्यो बस्छ।” (२ थिस्सलोनिकी २:४) शैतानले एउटा अधर्मी अर्थात् श्रद्धाको एउटा झूटो पात्र खड़ा गराउनेछ जसले आफूलाई परमेश्वरको व्यवस्था भन्दा महान ठान्नेछ भनेर, यहाँ पावलले अग्रिम चेताउनी दिएकोछ।
त्यो अधर्मीलाई चिन्ने
७. यहाँ पावलले कुनै एक जना व्यक्तिको विषयमा कुरा गरेको हुन सक्तैन भनेर हामी किन भन्न सक्छौं र यो अधर्मको मानिसले केलाई बोध गराउँछ?
७ के पावलले यहाँ कुनै एउटा व्यक्तिको विषयमा कुरा गर्नु भएको हो? होइन, किनभने उहाँको भनाइ अनुसार, यो “मानिस” पावलको समयमा पनि थियो र यो रीतिरिवाजको अन्तमा, यहोवाले त्यसलाई नाश नगरूञ्जेल सम्म, त्यसको अस्तित्व हुनेछ। तसर्थ, यो “मानिसको” अस्तित्व धेरै शताब्दि देखिन् छ। कुनै एउटा वास्तविक मानिस त्यतिका लामो समय सम्म बाँचेको छैन। यसकारण, त्यो “अधर्मको मानिसको” अर्थ कुनै समूह अथवा वर्गका मानिसहरू हुनुपर्छ।
८. अधर्मको मानिस को हो र उसका केही चिन्हहरू के हुन्?
८ तिनीहरू को होलान्? तिनीहरू मसीही जगतका अहङ्कारी र उच्चाभिलाषी पादरी समूह हो भनेर प्रमाणित् भएकोछ। कैयौं शताब्दि देखिन् तिनीहरूले आफ्नो वचनलाई नै व्यवस्था भन्दामाथि ठहराएका छन्। यो कुरा अझ स्पष्टसँग बुझनका लागि, मसीही जगतका हजारौं, विभिन्न सम्प्रदायहरूलाई हेर्नुहोस्। प्रत्यकका आफ्नै धर्मगुरूहरू छन् र प्रत्यकको अरूहरूसँग मेल नखाने, बग्लै प्रकारका शिक्षा अथवा रीतिहरू छन्। तिनीहरू परमेश्वरको व्यवस्था अनुसार हिड़ेका छैनन् भन्ने कुरा तिनीहरूको यो विभाजित् अवस्थाबाट स्पष्ट देखिन्छ। तिनीहरू परमेश्वरको तर्फबाट हुनसक्दैनन्। (मीका २:१२; मर्कूस ३:२४; रोमी १६:१७; १ कोरिन्थी १:१० सँग तुलना गरेर हेर्नुहोस्) यी सबै धर्महरूले सामान्यतः एउटै कुरा गरेकाछन्, अर्थात् बाइबलका शिक्षाहरूमा अडेर बसेकाछैनन्। “लेखिएका कुरा भन्दा बढ़ता गर्नुहुन्न,” भन्ने नियम तिनीहरूले उल्लङ्घन गरेकाछन्।—१ कोरिन्थी ४:६; मत्ती १५:३, ९, १४ पनि पढ़नुहोस्।
९. बाइबलका सत्य कुराहरूको सट्टामा यो अधर्मीले के गैर मसीही शिक्षाहरू अपनाएको छ?
९ यसकारण, यो अधर्मी व्यक्ति एउटा संयुक्त मानिस, मसीहीजगतको पादरी समूह हो। तिनीहरू मध्यका पोप, पुजाहारी, पादरी अथवा प्रोटेस्टेन्ट प्रचारक, सबै नै मसीही जगतका धर्म सम्बन्धि पापहरूमा हिस्सेदार छन्। तिनीहरू सबैले नै परमेश्वरका सत्य शिक्षाहरूको बदलामा, झूटो धर्मका मिथ्याहरू स्वीकारेकाछन्। उदाहरणकालागि, मानव प्राणको अमरत्व, नरकको सन्ताप, परगेटेरी र त्रिएक जस्ता, शास्त्रमा नभएका शिक्षाहरू तिनीहरूले सिकाएका छन्। तिनीहरू ती धर्मगुरूहरू जस्ता छन्, जसको विषयमा येशूले एसो भन्नु भएको थियो: “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ। . . . त्यो झूट र झूटको पिता हो।” (यूहन्ना ८:४४) तिनीहरूको अधर्मको प्रमाण तिनीहरूको कामले दिन्छ किनभने तिनीहरूले परमेश्वरको व्यवस्था भङ्ग गरेकाछन्। यस्ताहरूलाई येशू एसो भन्नु हुन्छ: “ए अधर्म काम गर्ने मानिस हो, मबाट दूर होओ।”—मत्ती ७:२१-२३.
आफूलाई उँच्च पारेका
१०. यो अधर्मीले राजनैतिक शासकहरू सँग के कस्तो सम्बन्ध राखेको छ?
१० इतिहास अनुसार, अधर्म वर्गमा हुने यी मानिसहरूले ठूलो अहङ्कार र घमण्ड साथ व्यवहार गरेका छन्। यहाँ सम्म कि, तिनीहरूले संसारका शासकहरूलाई पनि हुकूम गरेकाछन्। ‘राजाहरूको ईश्वरीय अधिकार’ जस्ता शिक्षाहरूको आड लिंदै, यी पादरीहरूले परमेश्वर र शासकहरूका बीच मध्यस्थ हुने दाबी गरेकाछन्। तिनीहरूले राजाहरू र सम्राटहरूलाई गद्दीमाथि बसालेकाछन् भने, तिनीहरूलाई गद्दीबाट झारेका पनि छन् र जनतालाई शासकहरूको पक्ष र विपक्षमा पार्न सकेकाछन्। येशूलाई इन्कारगर्ने यहूदी प्रधान पुजाहारीहरूले झैं, यिनीहरूले पनि एसो भनेकाछन्: “सिजरबाहेक हाम्रा अरू राजै छैन।” (यूहन्ना १९:१५) तर येशूले स्पष्टगरी यो शिक्षा दिनु भयो: “मेरो राज्य यो संसारको होइन।”—यूहन्ना १८:३६.
११. पादरी समूहले आफूलाई कसरी उँच्च पारेको छ?
११ जन साधारणबाट आफूलाई अझ उच्च पार्नकालागि, यो अधर्मी समूहले बेग्लै प्रकारको पोशाक, अर्थात् धेरै जसो कालो रङ्ग, धारण गर्न रूचाएकाछन्। यसबाहेक, तिनीहरूले आफूलाई अनेक प्रकारका मुकुट, क्रूस र सिर-बन्दीहरू जस्ता मान-पदवीका चिन्हहरूले सुसज्जित पारेकाछन्। (मत्ती २३:५, ६ सँग तुलना गर्नु होस्) तर येशू र उहाँका चेलाहरूले यस प्रकारका पोशाक लाउने गरेका थिएनन्; उहाँहरूको पहिरन साधारण मानिसहरूको जस्तै हुन्थियो। पादरीहरूले आफ्नालागि, “पिता,” “पवित्र पिता,” “पूज्य,” “अति पूज्य,” र “माननीय,” जस्ता पदहरू अपनाएकाछन्। तर, यस प्रकारका धार्मिक पदहरू बारे, येशूले एसो भन्नु भएको थियो: “तिमीहरू पृथ्वीमा कसैलाई आफ्नो पिता नभन।” (मत्ती २३:९) एलीहूले पनि, अय्यूबका कपटी सान्त्वना दाताहरूलाई खण्डन गर्दै, एसो भने: “मैले कुनै मानिसको पक्ष लिनु नपरोस्। पार्थिव मानिसलाई कुनै पदवी म दिनेछैन।”—अय्यूब ३२:२१, [न्यु वर्ल्ड ट्रान्सलेशन].
१२. पादरीहरूले वास्तवमा कस्को सेवा गरिरहेछन् भनेर पावलले भने?
१२ पावलले उहाँको दिनमा यो अधर्मी मानिसको काम आरम्भ भइसकेको कुरा गर्दा, यस्तो आचरण व्यक्त गर्नेहरूको विषयमा एसो भने: “किनभने त्यस्ता मानिसहरूले झूटा प्रेरित्, छल काम गर्ने, ख्रीष्टका प्रेरित्हरूको भेषमा आफूलाई परिवर्त्तन गर्नेहरू हुन्। औ यो केही अचम्भ होइन, किनकि शैतान पनि आफैलाई ज्योर्तिमय स्वर्गदूतहरूको भेषमा परिवर्त्तन गर्दछ। त्यसका सेवकहरूले पनि आफैलाई धर्मका सेवकहरूको भेषमा परिवर्त्तन गर्दछन् भने, यो केही ठूलो कुरो होइन, जसको अन्त तिनीहरूका काम अनुसार हुनेछ।”—२ कोरिन्थी ११:१३-१५.
साँचो उपासनाको विरूद्धमा विद्रोह
१३. पावलले अग्रिम वाणी गरेको धर्मत्याग के हो?
१३ यो अधर्मको मानिस र धर्म-त्यागको वृद्धि एकै साथ हुनेछ भनेर पावलले भने। यो अधर्मी समूहको परिचय गराउँदा, उनले एसो भनेको पाउँछौं: “. . . प्रभुको दिन [यहोवाले यो दुष्ट रीतिरिवाज नाश गर्नु हुने समय], . . . धर्मत्याग नभईकन,” आउनेछैन। (२ थिस्सलानिकी २:२, ३) तर “धर्मत्यागको” अर्थ के हो? एस सन्दर्भमा, यो कुनै अध्यात्मिक कमजोरीले गर्दा हुने सानो गलती होइन। यहाँ “धर्मत्यागको” निम्ति प्रयोग गरिएको युनानी शब्दका धेरै अर्थहरू मध्य, “विद्रोह” अथवा “फुट” पनि हो। अन्य अनुवादहरूले त्यहाँ “विद्रोह” भन्ने शब्द प्रयोग गरेकाछन्। विल्यम बाक्लेको अनुवादमा यो पद यस प्रकार छ: “प्रभुको दिन . . . त्यो ठूलो विद्रोह नाहोउञ्जेल, आउनेछैन।” दी जरूसलेम बाइबलले पनि त्यसलाई “त्यो ठूलो विद्रोह” नै भनेकोछ। यसकारण, पावलको कुराको सन्दर्भ अनुसार, “धर्मत्यागको” अर्थ, साँचो उपासनाको विरूद्धमा हुने विद्रोह हो।
१४. कुन समय देखिन्, यो धर्मत्याग जोरदार सँग बढ़न थाल्यो?
१४ यो धर्मत्याग अथवा विद्रोहको वृद्धि कसरी भयो? २ थिस्सलोनिकी २:६ मा, पावलले उहाँको दिनमा, त्यो अधर्मीलाई रोक्ने काम गर्ने तत्वको कुरा गरे। त्यो तत्व के थियो? त्यसलाई रोक्ने प्रेरित्हरूको शक्ति। प्रेरितहरूको उपस्थिति, साथै पवित्र आत्माले तिनीहरूलाई दिएको शक्तिशाली वरदानहरू, सबै मिलेर, धर्मत्यागलाई त्यस बेला बढ़न दिएनन्। (प्रेरित् २:१-४; १ कोरिन्थी १२:२८) तर प्रथम शताब्दिको अन्त तिर, प्रेरितहरू मरे पछि, यो रोक रहेन।
गैर-शास्त्रीय पादरी समूहको वृद्धि
१५. येशूले मसीही मण्डलीको लागि के को व्यवस्था मिलाउनु भयो?
१५ येशूले स्थापित् गर्नु भएको मण्डलीको वृद्धि, प्रथम शताब्दिमा, प्राचीनहरू र अन्य विश्वासी सेवकहरूको नेतृत्वमा भयो। (मत्ती २०:२५-२७; १ तिमोथी ३:१-१३; तितुस १:५-९) यी मानिसहरू मण्डलीबाट छानिन् थिए। तिनीहरू योग्य अध्यात्मिक मानिसहरू थिये। तर येशूले झैं, यिनीहरूले पनि कुनै धार्मिक पाठशालाबाट प्रशिक्षण प्राप्त गरेका थिएनन्। येशूका विरोधीहरू छक्क परेर एसो भने: “नपढ़ीकन पनि यिनले कसरी विद्या जान्दछन्?” (यूहन्ना ७:१५) र प्रेरित्हरू बारे पनि, त्यति बेलाका धर्म-गुरूहरूले एसो भने: “जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे, र यिनीहरू अपठित् र अजान रहेछन् भनी थाह पाए, तब तिनीहरू छक्क परे, र यिनीहरू येशूको साथमा रहन्थे भनेर पनि तिनीहरूले थाह पाए।”—प्रेरित् ४:१३.
१६. प्रथम शताब्दिको मण्डलीको सङ्गठनात्मक मसीही प्रबन्धबाट टाढ़ा लैजान, धर्मत्याग कसरी सफल भयो?
१६ तर, धर्मत्यागले, यहूदी धर्म-गुरूहरूका र अन्तमा रोमका मिथ्यावादी धर्महरूका विचारधारा पनि अपनाए। समय बित्दै गए पछि साँचो उपासनाको मार्ग त्यागेर अर्को बाटो अपनाइयो र एउटा गैर-शास्त्रीय पादरी समूहको वृद्धि भयो। शिरपेच लगाउने पोपले, पादरी विशेषहरूको समूहमाथि राज्य गर्न थाले। यी पादरीविशेष अथवा कारडिनलहरू सयौं बिशप र आर्कबिशपहरू बाट छानिएका हुन्थिए र यिनीहरू चाहिं, धर्म-पाठशालाहरूमा प्रशिक्षण प्राप्त साधारण पादरीहरूबाट लिइएका हुन्थिए। यस प्रकार, प्रथम शताब्दि पश्चात्, धेरै समय बित्नु अघि नै, मसीहीजगत माथि एउटा रहस्यपूर्ण पादरी समूहले राज्य गर्न थाल्यो। यो समूह, प्रथम शताब्दिका मसीही प्राचीन र अन्य सेवकहरूको नमूनामा आधारित् थिएन। किनभने, यो समूह गैर-मसीही धार्मिक सङ्गठनहरूको नमूना बमोजिम बनिएको थियो।
१७. खास गरी कहिले देखिन् यो अधर्मको मानिसको शक्तिले विशेष रूप धारण गऱ्यो?
१७ ई. स. तेस्रो शताब्दि मै, साधारण विश्वासीहरूलाई दोश्रो श्रेणीमा झारियो। बिस्तारै, अधर्मको मानिसले जम्मै अख्तियार आफ्नै हातमा लियो। रोमी सम्राट कन्सटनटाइनको राजकाल भित्र, विशेष गरी ई. स. ३२५ सालमा, नाइसियाको सभा पछि, यो शक्तिले विशेष रूप धारण गऱ्यो। अनि गिरजा र राज्य एक भए। अधर्मको मानिस—मसीहीजगत्को पादरी समूह—सत्य परमेश्वर, यहोवाका विद्रोहीहरूको कैयौं शताब्दि लामो ताँति हुन गयो। तिनीहरूले अपनाएका नियम र व्यवस्थाहरू तिनीहरूका आफ्नै हुन्, परमेश्वरका होइनन्।
गैर मसीही शिक्षाहरू
१८. यो अधर्मीले कुन-कुन ईश्वर-निन्दक र गैर मसीही शिक्षाहरू अपनायो?
१८ वृद्धि हुँदै गएको यो अधर्मको मानिसले गैर मसीही-शिक्षाहरू पनि अपन्यायो। उदाहरणका लागि, “म यहोवा हुँ, मेरो नाउँ त्यही हो। मेरो महिमा म अरूलाई दिनेछैनँ।” “म यहोवा हुँ र म बाहेक अरू कोही छैन। म सिवाय अरू कोही परमेश्वर छैन।” भन्नु हुने परमेश्वरको ठाउँमा, एउटा रहस्यमय र बुझ्नै नसकिने त्रिएक भगवान राखे। (यशैया ४२:८; ४५:५) परमेश्वरले सिकाउनु भएका सत्य कुराहरूको ठाउँमा, मानवीय र गैर मसीही शिक्षाहरू ल्याउने चलनले गर्दा, एउटा अर्को ईश्वर-निन्दक शिक्षा पनि थपियो र त्यो हो: बाइबलकी नम्र मरियमलाई मसीहीजगतले “परमेश्वरकी माताको” रूपमा उपासना गर्न थाले। येशूले रोपेर जानु भएको असल बीऊलाई निसासीएर मार्न, यस्ता झूटा शिक्षाहरूका मुख्य समर्थकहरू अथवा पादरी समूह, शैतानले छरेका सबैभन्दा प्रमुख झार भए।—मत्ती १३:३६-३९.
१९. बितेका शताब्दिहरूमा मसीही जगत कसरी फुटदै गयो र पनि के चाहिं जस्तो को तेस्तै रहेको छ?
१९ मत्भेद र गूटबन्दी बढ़दै गए पछि, मसीहीजगत् सयौं नया धार्मिक सम्प्रदायहरूमा विभाजित् भयो। तर धेरै जसो सबै नया सम्प्रदायहरूले पादरी र जनवर्गको बीचको भिन्नता कायम राखे। यसरी, अधर्मको मानिसको प्रचार आज सम्म चलीआएको छ। र आज पनि त्यसले आफूलाई, आफ्नो विशिष्ट पोशाक र ओजस्वीपूर्ण पदहरूको प्रयोग द्वारा, जनसाधारण भन्दा उच्च स्थानमा राख्दछ। यो अधर्मको मानिसले आफूलाई महिमीत् पारेर एउटा भगवानको स्थान लिनेछ भनेर पावलले भन्नु, कुनै बढ़ाइ चढ़ाइ गरेको कुरा होइन रहेछ।
पोपको शासनकाल
२०. एउटा क्याथोलिक स्रोतले पोपको वर्णन कसरी गर्छ?
२० यसरी आफूलाई महिमीत् पारेको एउटा उदाहरण ता रोमको पोपीय पद्धति हो। इटालीमा प्रकाशित्, लुसियो फेरारिसको धार्मिक शब्दकोषमा, पोपको वणर्न यसप्रकार गरिएको छ: “उहाँको प्रतिष्ठा र ओहदा यति महान छ, कि उहाँ एउटा मानिस मात्र होइन, परमेश्वर सरह हुनुहुन्छ, स्वयं परमेश्वरले नियुक्त गर्नुभएको पुजाहारी हुनुहुन्छ।” उहाँको शीरपेचको तीन तह छ र यसको अर्थ, उहाँ “स्वर्ग, पृथ्वी र नरकको राजा” हुनुहुन्छ। त्यही शब्दकोषले अझ एसो पनि भन्छ: “पोप पृथ्वीमा भगवान सरह हुनुहुन्छ। विश्वास गर्नेहरूका एकमात्र राजकुमार, सबै राजाहरू भन्दा महान राजा।” त्यसमा एसो पनि भनिएको छ: “पोपले ईश्वरीय कानूनलाई पनि कुनै बेला खारेज गर्न सक्नु हुन्छ।” दी न्यु क्याथोलिक डिकशनेरीमा यो पनि लेखिएको छ: “पोपका राजदूतहरूले कुटनैतिक वर्गका राजदूतहरूमाथि प्राथमिकता पाउँछन्।”
२१. पोपहरूको काम-कुरालाई पत्रुस र स्वर्गदूतको आचरण सँग तुलना गर्नु होस्.
२१ येशूका चेलाहरूको व्यवहारको विपरित, पोपले अति ठाँटको विशेष पोशाक लगाउने गर्छ र मानिसहरूको प्रशंसा खुशी सँग स्वीकारगर्छ। पोपले मानिसहरूलाई उसको सामने घोप्टो पर्न, उसको अँगुठीलाई म्वाई खानु र एउटा विशेष प्रकारको मेचमा अरूहरूले उसलाई आफ्नो काँधमा बोक्न दिन्छ। बितेका शताब्दिहरूमा, पोपहरूले कस्ता अहङ्कार व्यक्त गरेकाछन्! तर जब कर्नीलियस नाउँ भएको एउटा रोमी अफसरले पत्रुसको सामने घुड़ा टेके, पत्रुसले यतिका नम्रता र सरलता साथ तिनलाई उठाउँदै, एसो भने: “उठनु होस्, म आफै पनि ता मानिस हुँ!” (प्रेरित् १०:२५, २६, दी क्याथोलिक जेरूसलेम बाइबल) साथै प्रेरित् यूहन्नालाई प्रकाशितवाक्य दिने स्वर्गदूत पनि यी पोपहरू भन्दा कती बेग्लै थियो! यूहन्नाले आदरपूर्वक त्यो स्वर्गदूतको पाउ परी दण्डवत गर्न खोजे, तर स्वर्गदूतले एसो भने: “हेर, तिमीले यसो नगर! म तिम्रो र अगम बोल्ने तिम्रा दाज्यू-भाइहरूको र यस पुस्तकका वचनहरू पालन गर्नेहरूको सङ्गी-दास हुँ। परमेश्वरलाईनै दण्डवत गर।”—प्रकाश २२:८, ९.
२२. कुन मसीही सिद्धान्तको प्रयोग द्वारा, यो अधर्मीलाई चिन्न सकिन्छन?
२२ पादरी समूह बारे के हामीले यहाँ अलिक बढ़ता कड़ा विचार राख्यौं कि? हामी यसको उत्तर, झूटा अगमवक्ताहरू चिन्न येशूले दिनु भएको यो सिद्धान्त प्रयोग गरेर, दिन सक्नेछौं: “तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।” (मत्ती ७:१५, १६) बितेका शताब्दिहरूमा र हाम्रै २० वाँ शताब्दिमा पनि, पादरीहरूले कस्तो फल फलाएकाछन्? यो अधर्मको मानिसको नतीजा के हुनेछ र त्यसमा अरू को पनि समावेश हुनेछन्? यो अधर्मको मानिस प्रति, परमेश्वरको वास्तवमा डर मान्नेहरूको के जिम्मेवारी छ? आउने लेखहरूमा यस विषयहरूको छल-फल हुनेछ। (w90 2/1)
समालोचनाका लागि प्रश्नहरू:
◻ अधर्मको मानिस को हो र त्यो कहिले जाहेर भयो?
◻ यो अधर्मी वर्गको आरम्भकर्तालाई बाइबलले कसरी चिनाउँछ?
◻ पादरी समूहले आफूलाई मानिसहरू भन्दा माथि कसरी उचालेकाछन्?
◻ पादरीहरूले कुन-कुन धर्मत्यागी शिक्षा र कामहरूलाई बढ़ावा दिए?
◻ पोपहरूको व्यवहार र पत्रुस र एउटा स्वर्गदूतको विचारमा के भिन्नता पाउँछौं?
[पृष्ठमा भएको चित्र]
पोपहरू जस्ता नभएर, प्रेरित् पत्रुसले एउटा अर्को मानिसलाई उनको खुट्टामा ढोक्नु दिएनन्।