पिता तथा प्राचीन—दुवै भूमिका निर्वाह गर्ने
“यदि कुनै पुरुषले आफ्ना घरकाहरूलाई तहमा ल्याउन जान्दैनन् भने तिनले परमेश्वरको मण्डलीको कसरी देखरेख गर्नसक्छन् र?”—१ तिमोथी ३:५.
१, २. (क) प्रथम शताब्दी सा.यु. का अविवाहित निरीक्षक तथा निस्सन्तान विवाहित निरीक्षकहरूले कसरी आफ्ना भाइहरूको सेवा गर्नसके? (ख) आज थुप्रै विवाहित दम्पतीहरूका लागि अक्वीला र प्रिस्का कसरी उदाहरण हुन्?
प्रारम्भिक मसीही मण्डलीका निरीक्षकहरू अविवाहित पुरुष, निस्सन्तान विवाहित पुरुष वा छोराछोरी भएको विवाहित पुरुष हुनसक्थे। निस्सन्देह, प्रेरित पावलले कोरिन्थीहरूलाई लेखेको पहिलो पत्र, अध्याय ७ को सल्लाह पालन गर्दै कुनै कुनै मसीहीहरू अविवाहित रहन सके। येशूले यसो भन्नुभएको थियो: “कति चाहिं स्वर्गको राज्यको निम्ति अविवाहित रहन्छन्।” (मत्ती १९:१२) पावल र तिनका परिभ्रमण सहचरहरूजस्ता यी अविवाहित पुरुषहरू आफ्ना भाइहरूलाई मदत गर्ने उद्देश्यले यात्रा गर्न स्वतन्त्र हुनेथिए।
२ बाइबलले वर्णाबास, मर्कूस, सिलास, लूका, तिमोथी र तितस अविवाहित थिए वा थिएनन् भनी बताउँदैन। तिनीहरू विवाहितै भए पनि त्यति धेरै पारिवारिक जिम्मेवारीहरू नभएकाले विभिन्न कार्यभारहरू सँभाल्न विस्तृत तवरले यात्रा गर्नसक्थे। (प्रेरित १३:२; १५:३९-४१; २ कोरिन्थी ८:१६, १७; २ तिमोथी ४:९-११; तितस १:५) तिनीहरूका पत्नीहरू पनि सँगै गएका हुनसक्छन्। सम्भवतः, पत्रुस र “अरू प्रेरितहरू[ले]” आफ्ना पत्नीहरूलाई सँगै लगेका थिए। (१ कोरिन्थी ९:५) अक्विला र प्रिस्का, नयाँ ठाउँमा बसाइँ सर्न, पावलसँगसँगै कोरिन्थदेखि एफिसससम्म जान, त्यसपछि रोम र फेरि एफिसस फर्कन इच्छुक उदाहरणीय विवाहित दम्पती थिए। तिनीहरूका छोराछोरी थिए कि थिएनन् भनी बाइबलले बताउँदैन। आफ्ना भाइहरूप्रति समर्पित सेवाको कारण तिनीहरूलाई “अन्यजातिहरूका मण्डलीहरू जम्मैले धन्यवाद” दिए। (रोमी १६:३-५; प्रेरित १८:२, १८; २ तिमोथी ४:१९) आज, निस्सन्देह अक्वीला र प्रिस्काजस्ता विवाहित दम्पतीहरू थुप्रै छन् जसले आवश्यकता बढी भएको ठाउँमा बसाइँ सरेर अरू मण्डलीहरूलाई सहयोग गर्नसक्छन्।
पिता तथा पति
३. प्रथम शताब्दीका थुप्रै प्राचीनहरू परिवार भएका विवाहित पुरुषहरू थिए भनी कुन कुराले संकेत गर्छ?
३ प्रथम शताब्दी सा.यु. का अधिकांश मसीही प्राचीनहरू विवाहित पुरुष हुनुका साथै तिनीहरूका छोराछोरी थिए जस्तो देखिन्छ। पावलले ‘निरीक्षकको काम गर्न खोज्ने’ पुरुषहरूले पूरा गर्नुपर्ने आवश्यकताहरू उल्लेख गर्दा त्यस्ता मसीही “आफ्नो घर राम्ररी चलाउनसक्ने, आफ्ना छोराछोरीहरूलाई अधीनमा ल्याउने” हुनुपर्छ भनी बताए।—१ तिमोथी ३:१, ४.
४. छोराछोरी भएका विवाहित प्राचीनहरूबाट के माग गरिन्थ्यो?
४ हामीले थाह पाइसक्यौं, निरीक्षकको छोराछोरी हुनैपर्ने वा विवाहित हुनैपर्ने बाध्यता थिएन। तर विवाहित हो भने प्राचीन वा सेवकाई सेवकको हैसियतमा योग्य हुन उक्त मसीहीले आफ्नी पत्नीमाथि सही तथा मायालु ढंगमा शिरत्वको अभ्यास गर्नुका साथै आफ्ना छोराछोरीलाई अधीनमा राख्नसक्ने हुनुपर्छ। (१ कोरिन्थी ११:३; १ तिमोथी ३:१२, १३) घरजमको प्रबन्ध गर्ने सिलसिलामा कुनै गम्भीर कमजोरी छ भने उक्त भाइ मण्डलीमा विशेष सुअवसरहरू पाउन अयोग्य हुनेछन्। किन? पावल यसरी बताउँछन्: “यदि कुनै पुरुषले आफ्ना घरकाहरूलाई तहमा ल्याउन जान्दैनन् भने तिनले परमेश्वरको मण्डलीको कसरी देखरेख गर्नसक्छन् र?” (१ तिमोथी ३:५) आफ्नै परिवारका सदस्यहरू तिनको रेखदेखको अधीनमा बस्न चाहँदैनन् भने अरूले कस्तो प्रतिक्रिया देखाउलान्?
“विश्वासी छोरा-छोरीहरूका बाबु”
५, ६. (क) छोराछोरीको सन्दर्भमा पावलले तितसलाई के भने? (ख) छोराछोरी भएका प्राचीनहरूबाट के माग गरिन्छ?
५ क्रेटका मण्डलीहरूमा निरीक्षकहरू नियुक्त गर्न तितसलाई निर्देशन दिंदा पावलले यसो भने: “जो निर्दोष, एउटै स्त्रीको पति, वशमा नआउने दंगा फसादको दोष नलागेको, विश्वासी छोरा-छोरीहरूका बाबु होस्। किनभने परमेश्वरको कारिन्दा हुनुपर्ने हुनाले, बिशप [“निरीक्षक,” NW] चाहिं निर्दोष हुनुपर्छ।” “विश्वासी छोरा-छोरीहरूका बाबु” हुनुपर्छ भन्नुको अर्थ के हो?—तितस १:६, ७.
६ “विश्वासी छोरा-छोरीहरू” भन्ने पदावलीले यहोवालाई समर्पण गरेर बप्तिस्मा लिइसकेका वा समर्पण तथा बप्तिस्माको लागि अघि बढिरहेका बालबच्चाहरूलाई बुझाउँछ। मण्डलीका सदस्यहरूले प्राचीनका छोराछोरी साधारणतया भलादमी तथा आज्ञाकारी भएको आशा गर्छन्। प्राचीनले आफ्ना छोराछोरीको विश्वासलाई बढाउन यथाशक्य गरिरहेका छन् भनेर स्पष्ट हुनुपर्छ। राजा सुलेमानले यसप्रकार लेखे: “बालकलाई ठीक बाटोमा लगाऊ, र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।” (हितोपदेश २२:६) तर त्यस्तो प्रशिक्षण पाएको बच्चाले यहोवाको सेवा गर्न चाहँदैन वा घोर गल्तीसमेत गर्छ भने नि?
७. (क) हितोपदेश २२:६ ले छाँटकाँट गर्नै नहुने नियम बताएको होइन भनेर किन स्पष्ट हुन्छ? (ख) प्राचीनको छोरा वा छोरीले यहोवाको सेवा गर्न चाहेनन् भने तिनले किन आफ्ना सुअवसरहरू स्वतः गुमाउनेछैनन्?
७ स्पष्ट छ, उक्त हितोपदेशले असाध्यै कठोर नियम बताएको होइन। यसले स्वेच्छाको सिद्धान्तलाई बेकाम तुल्याउँदैन। (व्यवस्था ३०:१५, १६, १९) छोरा वा छोरी, आफ्नो जिम्मेवारी आफै वहन गर्नसक्ने उमेर पुगेपछि तिनले समर्पण र बप्तिस्मासम्बन्धी व्यक्तिगत निर्णय गर्नुपर्छ। प्राचीनले आवश्यक आध्यात्मिक मदत, डोऱ्याइ तथा अनुशासन दिएका छन् तर छोराछोरी यहोवाको सेवा गर्न चाहँदैनन् भने पिता निरीक्षकको हैसियतमा सेवा गर्नदेखि स्वतः अयोग्य हुँदैनन्। अर्कोतर्फ, प्राचीनको घरमा नाबालिग छोराछोरी छन् तर एकपछि अर्को सबै जना आध्यात्मिक तवरमा कमजोर भई कुनै न कुनै समस्यामा फस्छन् भने तिनी “आफ्नो घर राम्ररी चलाउनसक्ने” ठानिनेछैनन्। (१ तिमोथी ३:४) बुझ्नुपर्ने कुरा के हो भने, ‘आफ्ना छोराछोरीहरू वशमा नआउने दंगा फसादको दोष नलागेको’ हुन निरीक्षकले यथाशक्य गरिरहेका छन् भन्ने कुरा प्रत्यक्ष हुनुपर्छ।a
“विश्वास नगर्ने पत्नी[सित]” विवाहित
८. प्राचीनले विश्वास नगर्ने आफ्नी पत्नीप्रति कस्तो व्यवहार गर्नुपर्छ?
८ विश्वास नगर्ने पत्नीसित विवाह भएका मसीही पुरुषहरूबारे पावलले यसप्रकार लेखे: “कुनै ख्रीष्टियानको विश्वास नगर्ने पत्नी छ, र त्यो उसित बस्न चाहन्छे भने उसले त्यसलाई नछोड़ोस्। . . . किनभने . . . विश्वास नगर्ने पत्नी, ख्रीष्टियान लोग्नेमा पवित्र हुन्छ, नत्रता तिमीहरूका बालबच्चा अशुद्ध हुनेथिए, तर यसो भएकोले ती पवित्र हुन्छन्। तिमीले तिम्रो पत्नीलाई कतिसम्म बचाउने हो, ए पुरुष, तिमी यो कसरी जान्दछौ?” (१ कोरिन्थी ७:१२-१४, १६) यहाँ “विश्वास नगर्ने” भन्ने पदावलीले कुनै धार्मिक विश्वास नभएको पत्नीलाई होइन तर यहोवाप्रति समर्पित नभएकी स्त्रीलाई बुझाउँछ। उनी यहूदी वा मूर्तिपूजक देवहरूमा विश्वास गर्ने हुनसक्छिन्। आज, कुनै प्राचीनको बेग्लै धर्म मान्ने स्त्री अर्थात् अज्ञेयवादी वा नास्तिकसित समेत विवाह भएको हुनसक्छ। उनी तिनीसित बस्न चाहन्छिन् भने उनको बेग्लै विश्वास हुँदैमा तिनले उनलाई छाड्नु हुँदैन। तिनले उनलाई बचाउने उद्देश्यले ‘निर्बल पात्रलाई जस्तो आदर दिई बुद्धिमानीसाथ उनीसँग’ बस्नुपर्छ।—१ पत्रुस ३:७; कलस्सी ३:१९.
९. छोराछोरीलाई आफ्ना धार्मिक विश्वासहरू सिकाउन पतिपत्नी दुवैलाई व्यवस्थाले अधिकार दिने मुलुकहरूमा प्राचीनले कस्तो व्यवहार गर्नुपर्छ र यसले तिनका सुअवसरहरूमा कस्तो असर पार्नेछ?
९ निरीक्षकका छोराछोरी छन् भने तिनले पति तथा पिताको हैसियतमा शिरत्वको राम्ररी अभ्यास गर्दै तिनीहरूलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्नेछन्। (एफिसी ६:४) धेरैजसो मुलुकहरूको व्यवस्थाले छोराछोरीलाई धार्मिक निर्देशन दिन विवाहित दम्पती दुवैलाई अधिकार दिएको हुन्छ। यस्तो अवस्थामा पत्नीले आफ्नो अधिकार प्रयोग गर्दै छोराछोरीलाई आफ्ना धार्मिक विश्वास तथा चलनहरूबारे थाह दिन चर्च लैजालान्।b निस्सन्देह, झूटा धार्मिक उत्सवहरूमा भाग नलिने सन्दर्भमा छोराछोरीले बाइबल-प्रशिक्षित अन्तस्करणअनुसार निर्णय गर्नुपर्छ। परिवारको शिरको हैसियतमा पिताले आफ्नो अधिकार प्रयोग गर्दै आफ्ना छोराछोरीसित अध्ययन गर्नेछन् र सम्भव हुँदा राज्यभवनका सभाहरूमा लैजानेछन्। आफै निर्णय गर्नसक्ने उमेर पुगिसकेपछि कुन बाटो लाग्ने हो, तिनीहरू आफैले निर्णय गर्नेछन्। (यहोशू २४:१५) तिनले आफ्ना छोराछोरीलाई सत्यको मार्ग सिकाउन मुलुकको व्यवस्थाले दिएसम्म सही निर्देशन दिइरहेका छन् भनेर तिनका सँगी प्राचीनहरू तथा मण्डलीका सदस्यहरूलाई थाह छ भने तिनलाई निरीक्षकको हैसियतमा अयोग्य ठहराइनेछैनन्।
“आफ्नो घर राम्ररी चलाउनसक्ने”
१०. प्राचीनको परिवार छ भने तिनको प्राथमिक कर्त्तव्य के हो?
१० छोराछोरीका पिता र आफ्नी पत्नी पनि सँगी मसीही भएका प्राचीनलाई समेत आफ्नी पत्नी, छोराछोरी र मण्डलीका क्रियाकलापहरूको लागि उचित ढंगमा समय छुट्याउन सजिलो हुँदैन। धर्मशास्त्रले स्पष्टसित भन्छ, आफ्नी पत्नी र छोराछोरीको हेरचाह गर्नु मसीही पिताको दायित्व हो। पावलले यसप्रकार लेखे: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) आफूलाई असल पति तथा पिता साबित गरिसकेका विवाहित पुरुषहरूलाई मात्र निरीक्षकहरू हुन सिफारिस गर्नुपर्छ भनेर पावलले त्यही पत्रमा बताए।—१ तिमोथी ३:१-५.
११. (क) प्राचीनले कुन ढंगहरूमा ‘आफ्नो परिवारको पालनपोषण’ गर्नुपर्छ? (ख) यसले प्राचीनलाई मण्डलीका जिम्मेवारीहरू पूरा गर्न कसरी मदत गर्नेछ?
११ प्राचीनले आफ्नो परिवारलाई भौतिक तवरमा मात्र होइन तर आध्यात्मिक तथा भावनात्मक तवरमा पनि “पालन-पोषण” गर्नुपर्छ। बुद्धिमान राजा सुलेमानले यसप्रकार लेखे: “सबैभन्दा पहिले घरका बाहिरका कुराहरू सम्हाल्। खेतमा सबै तयार गर्, त्यसपछि . . . घरको [पनि] प्रबन्ध मिला।” (हितोपदेश २४:२७) त्यसकारण निरीक्षकले आफ्नी पत्नी तथा छोराछोरीको भौतिक, भावनात्मक र मनोरञ्जनात्मक आवश्यकताहरू पूरा गर्नुको साथसाथै तिनीहरूको आध्यात्मिक पालनपोषण पनि गर्नुपर्छ। यसो गर्न समय चाहिन्छ र यो समय तिनले मण्डलीका क्रियाकलापहरूमा बिताउन सक्दैनन्। तर यसरी बिताइएको समयले नै पारिवारिक सुख तथा आध्यात्मिकताको सन्दर्भमा प्रचुर लाभांश दिनसक्छ। अन्ततः तिनको परिवार आध्यात्मिक तवरमा बलियो छ भने पारिवारिक समस्याहरू सुल्झाउन प्राचीनले कम समय मात्र बिताउनुपर्ने हुनसक्छ। यसले गर्दा तिनले मण्डलीका कामकुराहरूको हेरचाह गर्न बढी मौका पाउनेछन्। असल पति तथा असल पिताको हैसियतमा तिनको उदाहरणले मण्डलीमा आध्यात्मिक लाभ पुऱ्याउनेछ।—१ पत्रुस ५:१-३.
१२. कस्ता पारिवारिक मामिलामा छोराछोरी भएका प्राचीनहरूले असल उदाहरण कायम गर्नुपर्छ?
१२ आफ्नो घर राम्ररी चलाउनुमा पारिवारिक अध्ययन सञ्चालन गर्न तालिका मिलाउनु पनि समावेश छ। विशेषगरि यस सन्दर्भमा प्राचीनहरूले असल उदाहरण बसाल्नु महत्त्वपूर्ण छ किनभने सुदृढ परिवारहरूको फलस्वरूप सुदृढ मण्डलीहरू बनिन्छन्। निरीक्षकले सेवाका अन्य सुअवसरहरूमा सधैं अत्यधिक समय बिताएर आफ्नी पत्नी तथा छोराछोरीसित अध्ययन गर्न बेफुर्सती चाहिं हुनु हुँदैन। त्यसो भएको छ भने तिनले आफ्नो तालिका पुनः केलाउनुपर्छ। तिनले अन्य क्रियाकलापहरूको लागि बिताउने समय कम गर्न वा आफ्नो तालिकामा छाँटकाँट गर्न वा कहिलेकाहीं केही सुअवसरहरूसमेत इन्कार गर्नुपर्ने हुनसक्छ।
सन्तुलित रेखदेख
१३, १४. “विश्वासी र बुद्धिमान दास[ले]” परिवार भएका प्राचीनहरूलाई कस्तो सल्लाह दिएको छ?
१३ परिवार तथा मण्डलीका जिम्मेवारीहरूलाई सन्तुलनमा राख्ने सल्लाह नयाँ होइन। यस विषयमा “विश्वासी तथा बुद्धिमान दास[ले]” प्राचीनहरूलाई सल्लाह दिंदै आएको वर्षौं भइसक्यो। (मत्ती २४:४५) करिबन् ३७ वर्षअघि सेप्टेम्बर १५, १९५९, प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ ५५३ र ५५४ ले यस्तो सल्लाह दियो: “वास्तवमा, विभिन्न आवश्यकताहरू पूरा गर्न हाम्रो समयलाई सन्तुलित ढंगमा प्रयोग गर्नुपर्छ, होइन र? यसरी सन्तुलित हुँदा तपाईंले आफ्नो परिवारलाई यथेष्ट महत्त्व दिनैपर्छ। निस्सन्देह, कुनै व्यक्तिले आफ्नो सम्पूर्ण समय मण्डलीको क्रियाकलापमा खर्च गरेर आफ्ना भाइ तथा छिमेकीहरूलाई मुक्ति प्राप्त गर्न मदत गरेको तर आफ्नो परिवारको मुक्तिलाई वास्ता नगरेको परमेश्वर आशा गर्नुहुन्न। पत्नी तथा छोराछोरी तिनका प्राथमिक जिम्मेवारी हुन्।”
१४ प्रहरीधरहरा, (अंग्रेजी) नोभेम्बर १, १९८६, पृष्ठ २२ ले यस्तो सल्लाह दियो: “सम्पूर्ण परिवारले एकसाथ क्षेत्र सेवकाईमा भाग लिंदा तपाईं एकअर्कासित घनिष्ठ हुनुहुनेछ। यद्यपि, हरेक छोराछोरीका आफ्नै प्रकारका आवश्यकताहरू हुने भएकोले तपाईंको व्यक्तिगत समय तथा भावनात्मक बल दिनुपर्ने हुन्छ। तसर्थ, तपाईंले ‘आफ्नो परिवारलाई’ आध्यात्मिक, भावनात्मक तथा भौतिक तवरमा पालनपोषण गर्दै मण्डलीका . . . क्रियाकलापहरूमा कति समय बिताउन सक्नुहुन्छ भनेर सन्तुलित हुनुपर्छ। [मसीहीले] सर्वप्रथम ‘[आफ्नो] परिवारमा ईश्वरीय भक्ति देखाउन’ सिक्नुपर्छ। (१ तिमोथी ५:४, ८)”
१५. पत्नी तथा छोराछोरी भएको प्राचीनलाई बुद्धि तथा समझशक्ति किन चाहिन्छ?
१५ एउटा धर्मशास्त्रीय हितोपदेशले यसो भन्छ: “बुद्धिले घर बनाउँछ, असल समझ-शक्तिले त्यसलाई सुरक्षित राख्छ।” (हितोपदेश २४:३) हो, ईश्वरतान्त्रिक जिम्मेवारीहरू पूरा गर्नुको साथसाथै आफ्नो घरानाको पालनपोषण गर्न निरीक्षकलाई बुद्धि तथा समझशक्ति अवश्य चाहिन्छ। धर्मशास्त्रअनुसार तिनले रेखदेख गर्नुपर्ने क्षेत्र एउटा मात्र होइन—तिनको परिवार तथा मण्डलीका जिम्मेवारीहरू पनि यसमा समावेश छन्। यी क्षेत्रहरूमा सन्तुलन कायम गर्न तिनलाई समझशक्ति चाहिन्छ। (फिलिप्पी १:९, १०) प्राथमिकताहरू तय गर्न तिनलाई बुद्धि चाहिन्छ। (हितोपदेश २:१०, ११) तथापि, मण्डलीका जिम्मेवारीहरूको रेखदेख गर्न जतिसुकै जिम्मेवार महसुस गरे तापनि तिनले एउटा कुरा भने बिर्सनु हुँदैन। त्यो हो, पति तथा पिताको हैसियतमा ईश्वरप्रदत्त तिनको प्राथमिक जिम्मेवारी आफ्नो परिवारको हेरचाह तथा मुक्ति हो।
असल पिता तथा प्राचीन
१६. प्राचीन, पिता पनि हो भने कस्ता लाभहरू हुन्छन्?
१६ प्राचीनका छोराछोरीहरू भद्र छन् भने साँच्चै लाभदायी हुनसक्छ। तिनले आफ्नो परिवारको राम्रो हेरचाह गर्न सिकेका छन् भने मण्डलीमा अरू परिवारहरूलाई मदत गर्न सक्षम हुन्छन्। तिनले अरूको समस्यालाई राम्ररी बुझ्छन् र आफ्नै अनुभवबाट सल्लाह दिनसक्छन्। खुशीको कुरा, संसारभरि हजारौं प्राचीनहरूले पति, पिता तथा निरीक्षकको हैसियतमा असल काम गरिरहेका छन्।
१७. (क) पति तथा प्राचीन दुवैको भूमिका निर्वाह गर्ने पुरुषले कुन कुरा कहिल्यै बिर्सनु हुँदैन? (ख) मण्डलीका अरू सदस्यहरूले कसरी समानुभूति देखाउनुपर्छ?
१७ परिवार भएको व्यक्ति प्राचीन हुन तिनी परिपक्व मसीही हुनुपर्छ। आफ्नी पत्नी र छोराछोरीको हेरचाह गर्नुका साथै आफ्ना कामकुराहरूको चाँजोपाँजो मिलाएर मण्डलीमा तिनले अरूलाई समय तथा ध्यान दिनसक्ने हुनुपर्छ। गोठालो गर्ने काम आफ्नै घरबाट सुरु हुन्छ भनेर तिनले कहिल्यै बिर्सनु हुँदैन। पत्नी तथा छोराछोरी भएका प्राचीनहरूले परिवार तथा मण्डली दुवैको जिम्मेवारी वहन गर्नुपर्छ। यो थाह पाएर मण्डलीका अन्य सदस्यहरूले तिनीहरूबाट नचाहिंदो समयको माग गर्न खोज्नेछैनन्। उदाहरणका लागि, भोलिपल्ट बिहान स्कूल जानुपर्ने छोराछोरी भएको प्राचीन सभापछि पनि अलिक समयसम्म त्यहीं बसिरहन सधैं सक्षम नहोलान्। मण्डलीका अरू सदस्यहरूले यो कुरालाई बुझेर सँगीभाव देखाउनुपर्छ।—फिलिप्पी ४:५.
हाम्रा प्राचीनहरू हाम्रोलागि प्रिय हुनुपर्छ
१८, १९. (क) पहिलो कोरिन्थी अध्याय ७ लाई केलाएर हामीले कुन कुरा बुझ्ने मदत पायौं? (ख) त्यस्ता मसीही पुरुषहरूलाई हामीले कस्तो दृष्टिकोणले हेर्नुपर्छ?
१८ प्रेरित पावलले कोरिन्थीहरूलाई लेखेको प्रथम पत्रको अध्याय ७ केलाउँदा हामीले कुन कुरा बुझ्न मदत पायौं भने, परमेश्वरको राज्यसम्बन्धी क्रियाकलापहरूमा संलग्न हुन थुप्रै पुरुषहरूले अविवाहित रहेर आफ्नो स्वतन्त्रतालाई सदुपयोग गरिरहेका छन्। निस्सन्तान विवाहित भाइहरू पनि हजारौं छन् जो आफ्नी पत्नीहरूको पनि उचित हेरचाह गर्दै जिल्ला, क्षेत्र, मण्डली तथा वाच टावरका शाखा कार्यालयहरूमा असल निरीक्षकहरूको हैसियतमा सेवारत छन्। यसमा तिनीहरूका पत्नीहरूको सहयोग सराहनीय छ। अन्ततः यहोवाका जनहरूको झन्डै ८०,००० मण्डलीहरूमा थुप्रै पिताहरू छन् जसले आफ्नी पत्नी तथा छोराछोरीको मायालु हेरचाह मात्र गर्दैनन् तर दयालु गोठालाहरूको हैसियतमा आफ्ना भाइहरूको हेरचाह गर्न पनि समय निकाल्छन्।—प्रेरित २०:२८.
१९ प्रेरित पावलले यसप्रकार लेखे: “असल शासन गर्ने धर्म-गुरुहरू दोहोरो आदरका योग्य गनिन्छन्। विशेष गरी जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्दछन्।” (१ तिमोथी ५:१७) हो, आफ्नो घर तथा मण्डलीलाई राम्ररी सँभाल्ने प्राचीनहरू हाम्रो प्रेम र आदरका योग्य छन्। अवश्य हामीले “यस्ताहरूलाई आदरणीय” मान्नुपर्छ।—फिलिप्पी २:२९.
[फुटनोटहरू]
a प्रहरीधरहरा, (अंग्रेजी) फेब्रुअरी १, १९७८, पृष्ठ ३१-२ हेर्नुहोस्।
b प्रहरीधरहरा, (अंग्रेजी) डिसेम्बर १, १९६०, पृष्ठ ७३५-६ हेर्नुहोस्।
पुनरावृत्ति गर्दा
◻ सा.यु. प्रथम शताब्दीका थुप्रै प्राचीनहरूको परिवार थियो भनी हामी कसरी थाह पाउँछौं?
◻ छोराछोरी भएका विवाहित प्राचीनहरूबाट के माग गरिन्छ र किन?
◻ “विश्वासी छोरा-छोरीहरूका बाबु” भन्नाले के बुझिन्छ तर प्राचीनको छोरा वा छोरीले यहोवाको सेवा गर्न चाहेन भने के हुन्छ?
◻ कुन अर्थमा प्राचीनले “आफ्नो परिवारलाई पालन-पोषण” गर्नुपर्छ?
[पृष्ठ २३-मा भएको चित्र]
सुदृढ परिवारहरूको फलस्वरूप सुदृढ मण्डलीहरू बनिन्छन्