तिनीहरूले प्रेमको खातिर गरे
क्यानाडाका एक विश्वासी, आतिथेय विधवाले चार जवान छोरीहरूलाई साँचो मसीहीहरूको हैसियतमा हुर्काइरहेकी थिइन्। तिनको घर असाध्यै जीर्ण भएको मण्डलीका प्राचीनहरूले देखे। त्यो काम आफैले गर्न तिनीसित न पैसा नता दक्षता नै थियो। अतः १ तिमोथी ५:९, १० मा दिइएको सिद्धान्तअनुरूप तिनले थाहै नपाउने गरी तिनको घर सम्भार गर्न प्राचीनहरूले प्रबन्ध मिलाए। तर कसरी?
त्यस विधवा र तिनकी छोरीहरूलाई पाँच दिनसम्म अन्तै राख्ने प्रबन्ध मिलाइयो। मण्डलीका ८० जनाभन्दा बढी व्यक्तिहरूले त्यस कार्यको निम्ति मालताल, पैसा र समय दिएर पूर्ण समर्थन देखाए। त्यस परिवार घरबाट निस्कनेबित्तिकै उत्सुक कार्यकर्ताहरू त्यो घरमा माहुरीजस्तै झुम्मिए। घरको सम्पूर्ण बाह्य भाग मर्मत गरियो। भित्ताहरू टालटुल गरेर रंगरोगन गरियो। खस्रो भुईंलाई घोटेर चिल्लो पारियो। भुईंमा नयाँ टाइल तथा कार्पेट बिछ्याइयो। सबै अत्यावश्यक विद्युतीय सरसमानहरू मर्मत गरियो। झुत्रो फर्निचरसमेत हेरफेर गरियो। सम्पूर्ण जिर्णोद्धार गर्न पाँच दिन मात्रै लाग्यो!
यो चहलपहलले गर्दा त्यस टोलमा निकै हल्लाखल्ला भयो। साक्षीहरूको यस क्रियाकलापले एक ८० वर्षीय छिमेकी निकै प्रभावित भए। तिनले पनि रंग लगाउने बुरुस ल्याए र आफूले पनि केही मदत गर्छु भनी जिद्दी गरे। एक जना स्वयंसेवकको मालिकले चुल्होको धुँवा बाहिर निकाल्न ढकना चन्दासरह दिए। अर्को मालिकले भान्छाघरमा राख्न नयाँ दराजहरू दिए। एक जना व्यक्ति त यति धेरै प्रभावित भए कि तिनले यहोवाका साक्षीहरूबारे अझ बढी जान्न चाहे। तिनले उत्सुकतापूर्वक पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक स्वीकारे।
त्यस विधवा र तिनकी छोरीहरू त्यहाँ फर्कंदा तीन छक परे। सबैले हर्षको आँसु बगाउँदै एकअर्कालाई अंकमाल गरिरहेका थिए। त्यो मसीही प्रेम र भावनाको साँच्चै नै एउटा अविस्मरणीय क्षण थियो। निस्सन्देह, खाँचोमा परेका मण्डलीका सदस्यहरूप्रति निष्कपट प्रेम र चासो देखाउनु, साँचो मसीही धर्मको चिनारी हो। किनभने पावलले यसप्रकार लेखे: “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्वासका घरानातर्फ, भलाइको काम गरौं।”—गलाती ६:१०.