के तपाईंमा सेवा गर्ने योग्यता छ?
“हाम्रो प्रशस्तता [योग्यता न्यू. व] परमेश्वरतर्फबाट छ।”—२ कोरिन्थी ३:५.
१. मसीही मण्डलीमा कुन प्रकारका मानिसहरूका लागि ठाउँ छैन?
यहोवा परमेश्वर र येशू ख्रीष्ट काम गर्ने व्यक्तिहरू हुनु हुन्छ। येशूले भन्नु भयो: “मेरा पिताले अझसम्म काम गर्नुहुन्छ, र म पनि काम गर्छु।” (यूहन्ना ५:१७) काम गर्न न चाहने मानिसहरूमाथि परमेश्वरको अनुमोदन हुँदैन; नता अरूहरूमाथि प्रभुत्व जमाउनका लागि जिम्मेवारी खोज्नेहरू उहाँको नजरमा ग्रहणयोग्य हुन्छन्। मसीही मण्डलीमा अल्छेहरू अथवा स्वार्थी आकांक्षा राख्नेहरूका लागि ठाउँ छैन।—मत्ती २०:२५-२७; २ थिस्सलोनिकी ३:१०.
२. मसीही मण्डीलमा जिम्मेवारी उठाउने पुरूषहरूको आज किन ठूलो आवश्यकता छ?
२ यहोवाका साक्षीहरूको ‘प्रभुमा प्रशस्त काम छ,’ विशेष गरी अहिले, जब कि धेरै मानिसहरू साँचो उपासनाको “पहाड़मा” ओइरिरहेका छन्। (१ कोरिन्थी १५:५८; यशैया २:२-४) मण्डलीमा जिम्मेवारी उठाउन, आध्यात्मिक योग्यता भएका पुरूषहरूको ठूलो खाँचो छ। यी पुरूषहरूले स्वार्थी आकांक्षा पूरा गर्दैनन् तर यहोवालाई महिमा दिन्छन्। (हितोपदेश ८:१३) यिनीहरू जान्दछन्, मण्डलीमा आ-आफ्ना कत्तर्व्यहरू पूरा गर्ने योग्यको हुनुमा यिनीहरूलाई परमेश्वरलेनै सहायता दिनु हुन्छ जसरी उहाँले ‘नया करारको सेवकलाई . . . योग्यको बनाउनु’ हुन्छ।—२ कोरिन्थी ३:४-६.
३. प्राचीनहरू र सहायक सेवकहरूका जिम्मेवारीहरू विशेषगरी के हुन्?
३ प्राचीन मसीहीहरूको पालोमा भए झैं, आज पनि यहोवाको सङ्गठनात्मक प्रबन्ध द्वारा, पवित्र आत्माले पुरूषहरूलाई प्राचीनहरू र सहायक-सेवकहरूको हैसियतमा सेवा गर्न नियुक्त गर्छन्। (प्रेरित २०:२८; फिलिप्पी १:१; तितस १:५) प्राचीनहरूले परमेश्वरको बगालमा आत्मिक गोठालोको काम गर्छन् र सुरक्षा सहितको देख-रेख गर्नेगर्छन्। (१ पत्रुस ५:२; प्रेरित ६:१-६ सँग तुलना गर्नुहोस्) सेवा गर्न आउनु भएको परमेश्वरको पुत्रले झैं, नियुक्त भएका यी पुरूषहरू विश्वासगर्ने आफ्ना सङ्गीहरूको सेवा गर्न इच्छुक हुन्छन्। (मर्कूस १०:४५) तपाईं एक जना मसीही पुरूष हुनुहुन्छ भने, के तपाईंमा त्यस प्रकारको इच्छा छ?
दुवै प्राचीनहरू र सहायक-सेवकहरूमा हुनु पर्ने समान गुणहरू
४. मण्डलीमा जिम्मेवारी उठाउने पुरूषहरूमा हुनुपर्ने योग्यताहरूको तालिका विशेषगरी कहाँ पाइन्छ?
४ मण्डलीमा जिम्मेवारी उठाउने पुरूषहरूले पूरा गर्नु पर्ने आवश्यकताहरूबारे प्रेरित पावलले विशेष गरी १ तिमोथी ३:१-१०, १२, १३ र तितस १:५-९ मा उल्लेख गरी दिएको पाउँछौं। यी आवश्यकताहरू मध्य कुनै चाहिं दुवै प्राचीनहरू र सहायक सेवकहरूमा प्रयोग हुन्छन्। अब जसै हामी ती आवश्यकताहरूमाथि ध्यान दिने छौं, तिनीहरूलाई हामीले सांसारिक दृष्टिकोणबाट हेर्नु भएन। प्रथम शताब्दीको परिस्थिति र यहोवाका मानिसहरूमा तिनीहरूको प्रयोगमा हामीहरूले ध्यान दिनु पर्छ। ती आवश्यकताहरूको पूर्ति सम्पूर्ण रूपमा गर्न सकिन्दैन। सिद्धताको माँग गरिएको खण्डमा, यी आवश्यकताहरू कुनै पनि मानिसले पूरा गर्न सक्ने थिएन। (१ यूहन्ना १:८) तर तपाईं एक जना मसीही पुरूष हुनुहुन्छ र मण्डलीमा हाल तपाईंलाई केही जिम्मेवारी सुम्पिएको छ अथवा छैन भने पनि आफ्नो व्यक्तिगत योग्यतालाई जाँच गरेर हेर्नु भए, कसो होला?
५. निर्दोष हुनुको अर्थ के हो?
५ निर्दोष; तिनले मण्डली बाहिरकाहरूबाट असल नाउँ पाएका हुनुपर्छ; निष्कलङ्क हुनु पर्छ। (१ तिमोथी ३:२, ७, ८, १०; तितस १:६, ७) नियुक्त भएर सेवा गरिरहेको बेलामा, प्राचीनहरू र सहायक-सेवकहरू निदोर्ष हुनु पर्छ। अर्थात्, तिनीहरूमाथि कुनै प्रकारको दोष आइ लाग्नु हुँदैन अथवा तिनीहरूले कुनै गलत काम गरेको हुनाकारण वा गलत शिक्षा सिकाएको कारण, तिनीहरूलाई विशेष सुधार दिने खाँचो परेको हुनु हुँदैन। “झूटा भाइहरू” अथवा अरूहरूले लगाएका असत्य आरोपहरूले गर्दा कुनै मानिसलाई दोषी ठान्न सकिन्दैन। कुनै फजुलको आरोप होइन, तर शास्त्रमा आधारित सिद्धान्तहरू अनुसार प्रमाणित आरोपको कारण मात्र कुनै व्यक्ति मण्डलीको सेवा गर्न अयोग्य ठहरिन सक्छ। (२ कोरिन्थी ११:२६; १ तिमोथी ५:१९) मण्डलीमा नियुक्त भएको व्यक्तिले “बाहिरकाहरूबाट असल नाउँ पाएको हुनुपर्छ नत्रता तिनी निन्दा र शैतानको पासोमा पर्नेछन्।” तिनीबाट बितेको समयमा कुनै ठूलो गल्ती भएको थियो भने, त्यस गल्तीबाट उठेको बदनामीको बावजुद तिनले पुनः एउटा असल नाउँ कमाइ सके पछि मात्र तिनलाई नियुक्त गर्न सकिन्छ।
६. एउटै पत्नीको पति हुनुको अर्थ के हो?
६ एउटै स्त्रीका पति। (१ तिमोथी ३:२, १२; तितस १:६) यसको अर्थ विवाहित पुरूषहरू मात्र सहायक-सेवकहरू र प्राचीनहरू हुन सक्छन् भनेको होइन। तर तिनको विवाह भएको छ भने, तिनको एउटै जीवित पत्नी हुनु पर्छ र तिनी आफ्नी पत्नी प्रति वफादार हुनु पर्छ। (हिब्रू १३:४) प्रथम शताब्दीका धेरै गैर-मसीही पुरूषहरू झैं, तिनी बहुविवाह गर्ने मानिस हुनु हुँदैन।a
७. (क) शारीरिक उमेरले गर्दा मानिस प्राचीन हुने योग्यको हुनु सक्नेछ? (ख) आफ्नो परिवारलाई अधीनमा राख्ने कुरामा के समावेश छ?
७ आफ्नो घर राम्ररी चलाउनसक्ने, आफ्ना छोरा-छोरीहरूलाई अधीनमा ल्याउने। (१ तिमोथी ३:४, ५, १२; तितस १:६) कसै कसैको विचारमा, प्राचीनहरू कम से कम ३० वर्षको उमेर पुगेको हुनु पर्छ। तर बाइबलमा कुनै उमेर तोकिएको छैन। तापनि, प्राचीन हुने मानिसले आध्यात्मिक तौरमा पाको मानिसलेझैं व्यवहार गर्नु पर्छ। सहायक-सेवकहरू र प्राचीनहरू छोरा-छोरीको बाबु हुनेसम्मको उमेर चाहिं पुगेको हुनु पर्छ। विवाह भएको खण्डमा, ती मानिस अन्य ठाउँमा चाहिं ईश्वरीय ढङ्गमा व्यवहार गर्नेछ तर घरका लागि चाहिं एउटा क्रूर शासक हुन् भने, तिनमा योग्यता छैन। बाइबलका सिद्धान्तहरू अनुसार आफ्नो परिवार राम्रोसँग चलाउन सकेकोमा तिनले आदर कमाएको हुनु पर्छ र परिवारका प्रत्येक सदस्यसँग आध्यात्मिक सफलता प्राप्त गर्ने तिनको लक्ष्य हुनु पर्छ। साधारणतया, प्राचीनका साना केटा-केटीहरू छन् भने, तिनीहरू “विश्वास गर्ने” र सुबानीका हुनु पर्छ। तिनीहरू या ता बप्तिस्मा लिएका यहोवाका साक्षीहरू हुनु पर्छ, होइन भने परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्ने मार्गमा गतिशीलतासाथ अधि बढ़ी रहेको हुनु पर्छ। आफ्नै छोरा-छोरीहरूमा विश्वास बढ़ाउन नसक्ने मानिसले अरूहरूमा विश्वास बढ़ाउन गाह्रै हुनेछ।
८. परिवार भएको मानिस प्राचीन हुनु भन्दा अघि, तिनले के गर्न सिक्नु पर्छ?
८ मण्डलीको आध्यात्मिक देख-रेख गर्नु भन्दा अघि, परिवार हुने मानिसले आफ्नै घरबारलाई निर्देशन दिन सिक्नु पर्छ। ‘यदि कुनै पुरूषले आफ्ना घरकाहरूलाई तहमा ल्याउन जान्दैनन् भने, तिनले परमेश्वरको मण्डलीको कसरी देखरेख गर्नसक्छन् र?’ (१ तिमोथी ३:५) हो, आफ्नी अविश्वासी पत्नीले तिनको विरोध गर्लिन्। (मत्ती १०:३६; लूका १२:५२) अथवा तिनका अरू छोरा-छोरीहरूले राम्रोसँग आध्यात्मिक प्रगती गरिरहेको भएतापनि, एक जना छोरा अथवा छोरी कुनै घोर पापमा फँसन सक्छ। तर आफूले गर्नु पर्ने सबै कुरा तिनले गर्दै आएका छन् भने र तिनको परिवारका अरू सदस्यहरूलाई तिनले राम्रोसँग नियन्त्रणमा राख्न सकेका छन् भने, परिवारको एक जना सदस्य खराब भयो भन्दैमा, तिनलाई सहायक-सेवक अथवा प्राचीन हुनदेखि हटन साधारणतया आवश्यक न होला।
९. रक्सी पिउने सम्बन्धमा, प्राचीन अथवा सहायक सेवकले कुन कुरामा विशेष ध्यान दिनु पर्छ?
९ मारपीट नगर्ने र बढ़ता रक्सी खाने होइन। (१ तिमोथी ३:३, ८; तितस १:७) कुनै पनि सहायक-सेवक अथवा प्राचीनको धेरै रक्सी खाने बानी हुनु हुँदैन। धेरै मात्रामा रक्सी खाने बानी छ भने, तिनले आफ्नो सोंच-विचार र भावनाहरूलाई संयममा राख्न सक्ने छैनन् र यसबाट झगड़ाहरू उत्पन्न हुन सक्छ। तिनी ‘मतवाला’ हुनु हुँदैन र अरूहरूको नजरमा तिनी धेरै रक्सी खान सक्ने अथवा धेरै रक्सी खाने बानी लागेको मानिस हुनु भएन। (हितोपदेश २३:२०, २१, २९-३५) नत्रता, गोठालो भएर कसैको घरमा जाँदा, असंयमको दाग लागेमा, कति दुःख लाग्दो कुरा हुनेछ! कुनै भाइ रक्सी खान्छन् भने पनि, तिनले सभाहरूमा, प्रचारको काममा अथवा अरू कुनै प्रकारको पवित्र सेवामा भाग लिइरहेको बेलामा, पिउने गर्नु भएन।—लेवी १०:८-११; इजकिएल ४४:२१.
१०. रूपिया पैसाको प्रेमी र नाजायज कमाइको निम्ति लोभी मानिसहरू किन प्राचीनहरू र सहायक सेवक हुन योग्यका छैनन्?
१० रूपियाँ पैसा अथवा बेइमानीले कमाएको धनको लोभ नगर्ने। (१ तिमोथी ३:३, ८; तितस १:७) रूपियाँ-पैसाको प्रेम गर्ने मानिसहरू आध्यात्मिक खतरामा छन् र “लोभी मानिसहरू” परमेश्वरको राज्यको हकदार हुनेछैनन्। अतः, यस प्रकारका मानिसहरू सहायक-सेवक अथवा प्राचीनहरू हुने योग्यका छैनन्। (१ कोरिन्थी ६:९, १०; १ तिमोथी ६:९, १०) जुन मूल युनानी शब्दलाई “बेइमानी” भनेर अनुवाद गरिएको छ, त्यसको अर्थ “अपमानजनक” हो र जुन शब्दबाट “लाभ” अनुवाद गरिएको छ, त्यसबाट कुनै पनि फायदा अथवा सुविधा बोध हुन्छ। (फिलिप्पी १:२१; ३:४-८) तर परमेश्वरका “भेंड़ाहरूसँग” बेइमानी गर्ने प्रवृत्ति भएको मानिस मण्डलीमा जिम्मेवारी उठाउने योग्यको हुनसक्तैन। (इजकिएल ३४:७-१०; प्रेरित २०:३३-३५; यहूदा १६) र कसैको सिफारिस राम्रोसँग सोंची-सम्झेर मात्र गर्नु पर्छ, किनभने एक चोटी नियुक्त गरिएको मानिसलाई रूपियाँ-पैसा राख्ने जिम्मेवारी दिन सकिन्छ र तिनलाई चोर्ने लोभ हुन सक्छ।—यूहन्ना १२:४-६.
११. मण्डलीमा जिम्मेवारी उठाउन एउटा “सिकारूलाई” किन सिफारिस गर्नु हुँदैन?
११ सिकारू होइनन्; तिनीहरूको योग्यताको पहिले जाँच होस्। (१ तिमोथी ३:६, १०) आफूलाई जिम्मा लगाइएका कामहरू विश्वासी भएर पूरा गर्न सक्ने आफ्नो योग्यता प्रमाणित गरेर देखाउने समय, भरखरै बप्तिस्मा लिएको व्यक्तिले पाएको हुँदैन। पीड़ित व्यक्तिहरूका लागि सहानुभूति अथवा आफ्ना सङ्गी उपासकहरूलाई मदद दिनका लागि बुद्धिकै अभाव तिनमा हुन सक्छ र तिनले अरूहरूलाई तुच्छ दृष्टिकोणले पनि हेर्ने गर्न सक्छन्। यसैकारण, कुनै व्यक्तिलाई सहायक-सेवक र विशेषगरी प्राचीन हुने सिफारिस गर्नु भन्दा अघि, तिनको योग्यताको राम्रोसँग जाँच गर्नु आवश्यक छ र ती व्यक्तिले आफ्नो विश्वासीलोपना र न्याय गर्ने क्षमताको असल प्रमाण दिनु पर्छ। यो जाँचकालागि केही समय तोकिएको छैन, किनभने विभिन्न व्यक्तिको आध्यात्मिक प्रगतिको गति बेग्ला-बेग्लै हुन्छ। तर प्राचीनहरूले कुनै नया मानिसको चाँड़-चाँड़ो सिफारिस गर्नु हुँदैन किनभने “तिनी घमण्डले फुलेर शैतानको इन्साफमा पर्लान्।” सबै भन्दा पहिले ती मानिसले ख्रीष्टको जस्तै नम्रता प्रदशर्न गर्नु आवश्यक छ।—फिलिप्पी २:५-८.
सहायक सेवकहरूमाथि विशेष ध्यान
१२. सहायक सेवकहरूका लागि तोकिएका आवश्यकताहरू के तिनीहरूका लागि मात्रै हुन्?
१२ सहायक-सेवकहरूले पूरा गर्नु पर्ने केही आवश्यकताहरू उल्लेखित् गरिएका छन्। तर यी आवश्यकताहरू प्राचीनहरूले पनि पूरा गर्नु पर्छ नत्रता तिनीहरू प्राचीनको हैसियतमा सेवा गर्ने योग्यको हुनेछैनन्। एउटा मसीही पुरूष भएर, के तपाईंमा यी योग्यताहरू छन्?
१३. गम्भीर हुनुको अर्थ के हो?
१३ गम्भीर। (१ तिमोथी ३:८) सहायक-सेवक हुने कोशिश गर्ने मानिसले जिम्मेवारीलाई हल्का ठान्नु हुँदैन। तिनले अरूको आदर जित्ने गरी गरिमापूर्ण व्यवहार गर्नु पर्छ। कुनै कुनै बेला ठट्टा गर्नु उचित भएतापनि, धेरै जसो ख्यालठट्टा गरी रहने मानिस सहायक-सेवक हुने योग्यको हुन सक्तैन।
१४. (क) दुई जिब्रे न हुनुको अर्थ के हो? (ख) सफा विवेक राख्नुको अर्थ के हो?
१४ दुई-जिब्रे होइन; शुद्ध विवेक थामी राख्ने। (१ तिमोथी ३:८, ९) सहायक-सेवकहरू (र प्राचीनहरू पनि) सत्यवादी हुनु पर्छ; तिनीहरू अर्काको कुरा काट्ने अथवा छक्का पञ्जा गर्ने मानिस हुनु भएन। तिनीहरू दुई-जिब्रे न हुनुको अर्थ तिनीहरूले कपटसाथ एक जनालाई एउटा कुरा र अर्कोलाई अर्कै कुरा भन्ने गर्नु भएन। (हितोपदेश ३:३२; याकूब ३:१७) यिनीहरू प्रकाशित भएका सत्यको दृढ़ समर्थकहरू हुनु पर्दछ र “विश्वासको रहस्य शुद्ध विवेकमा” थामि राख्नु पर्दछ। परमेश्वरको सामने, यस प्रकारका मानिसको विवेकले तिनको धार्मिकता र तिनमा कुनै किसिमको छल वा कपट न भएको कुराको प्रमाण दिन सक्नु पर्छ। (रोमी ९:१; २ कोरिन्थी १:१२; ४:२; ७:१) सच्चाइ र ईश्वरीय सिद्धान्तहरूलाई दृढ़ता साथ नसमात्ने कुनै पनि मानिस परमेश्वरको बगालको सेवा गर्ने योग्यको हुन सक्दैन।
प्राचीनहरूका योग्यताहरूमाथि विशेष ध्यान
१५. अब कुन मानिसहरूमा हुनु पर्ने गुणहरूको जाँच गरिनेछ र ती गुणहरू विशेषगरी के सँग सम्बन्धित् छन्?
१५ केही आवश्यकताहरू विशेष रूपमा प्राचीनहरूका लागि प्रयोग हुन्छन् र ती आवश्यकताहरू तिनीहरूको शिक्षा दिने र गोठोलो हुने कामसँग सम्बन्धित छन्। एउटा मसीही पुरूष भएर, के तपाईंमा यी योग्यताहरू छन्?
१६. (क) परहेजी हुनमा के आवश्यक छ? (ख) प्राचीन कसरी आत्मसंयमी हुन सक्दछन्?
१६ परहेजी र आत्मसंयमी हुनु पर्छ। (१ तिमोथी ३:२; तितस १:८) प्राचीन हुने मानिस मृदु स्वभावको हुनु पर्छ र खराब बानीहरूको दास हुनु हुँदैन। परीक्षाहरूको सामना गर्दा, तिनले भजनसंग्रहका लेखकले झैं यस प्रकार प्रार्थना गरेमा, परमेश्वरले तिनलाई संतुलन राख्ने मदद दिनु हुनेछ: “मेरो हृदयका दुःखहरू बढ़ेका छन्। मलाई मेरा कष्टहरूबाट तपाईंलेनै छुटाउनुहोस्।” (भजनसंग्रह २५:१७) साथै, एउटा प्राचीनले परमेश्वरसँग उहाँको आत्माको लागि बिन्ती गर्नु पर्छ र त्यसको फलहरू अथवा संयम समेत आफ्नो जीवनमा दर्साउनु पर्छ। (लूका ११:१३; गलाती ५:२२, २३) आफ्नो सोंच-विचार, बोली-वचन र काम-कार्वाहीमा आत्मसंयम प्रयोग गर्दै, मण्डलीलाई आध्यात्मिक निर्देशन दिंदा, तिनले हर प्रकारको उताउलोपनाबाट सुरक्षित रहने मदद पाउन सक्नेछन्।
१७. सुशील हुनुमा के विथोलित छ?
१७ सुशील। (१ तिमोथी ३:२) एउटा प्राचीन समझदार, विचारशील र सावधान हुनुपर्छ। बोली र काममा तिनी उद्देश्यपूर्ण र न्यायी हुनु पर्छ। तिनको नम्र र संतुलित विचारधारा ईश्वरीय बुद्धि र यहोवाको वचनका स्वस्थकर शिक्षाहरूमा आधारित हुनु पर्छ र परमेश्वरको वचनको तिनले लगनशीलता साथ अध्ययन गर्नु पर्दछ।—रोमी १२:३; तितस २:१.
१८. सुव्यवस्थित हुनका लागि, प्राचीनले के गर्न आवश्यक छ?
१८ सुव्यवस्थित। (१ तिमोथी ३:२, न्यू. व) यहाँ प्रयोग गरिएको युनानी शब्द १ तिमोथी २:९ मा पनि प्रयोग गरिएको छ र त्यसको अर्थ “राम्रोसँग मिलेको” हो। उदाहरणका लागि, तिनी समयनिष्ठ हुनु पर्छ। प्रथम शताब्दीका मसीहीहरूले सबै कुराको तालिका बनाएर राख्ने कामलाई सर्व-महत्व दिएनन्। र आज पनि, अध्यक्ष एउटा निपुण लेखनदास अथवा लेखापाल हुनु आवश्यक छैन। यी कुराहरूका लागि सहायक-सेवकहरूको प्रयोग गर्न सकिन्छ। तर “सुव्यवस्थितको” युनानी शब्दले शिष्ट व्यवहारलाई पनि सङ्केत गर्न सक्छ र अव्यवस्थित अथवा कलही मानिस कदापि प्राचीन हुने योग्यको हुनसक्तैन।—१ थिस्सलोनिकी ५:१४; २ थिस्सलोनिकी ३:६-१२; तितस १:१०.
१९. अतिथि सत्कार गर्ने भएको हुनाकारण, प्राचीनले के गर्ने गर्छन्?
१९ अतिथि-सत्कार गर्ने। (१ तिमोथी ३:२; तितस १:८) प्राचीनले ‘अतिथि सत्कार कायम राख्दछ।’ (रोमी १२:१३; हिब्रू १३:२) “आतिथेयको” युनानी शब्दको अर्थ “अपरिचित मानिसहरू मनपराउनु” हो। यसकारण, आतिथेय प्राचीनले मसीही सभाहरूमा आउने नया व्यक्तिहरूको स्वागत गर्दै दुवै गरीब र धनीहरूमा एकै प्रकारको चासो व्यक्त गर्नेछन्। मसीही धर्मको सेवामा हिड़नेहरूको तिनले सत्कार गर्नेछन् र तिनीहरूलाई “परमेश्वरको योग्य” ढ़ङ्गको यात्रामा पठाइ दिने गर्छन्। (३ यूहन्ना ५-८) प्राचीनले विशेषगरी विश्वासमा हुने आफ्ना सङ्गीहरूको आवश्यकताहरूको ख्याल राख्दछन् र आफ्नो परिस्थितिले भ्याए अनुसार तिनीहरूको सत्कार गर्ने गर्छन्।—याकूब २:१४-१७.
२०. कुन कुन ढङ्गमा प्राचीन सिकाउनमा सिपालु हुनु पर्दछ?
२० सिकाउनमा सिपालु। (१ तिमोथी ३:२) प्राचीनको आत्मिक शिक्षक हुने योग्यता तिनको मानसिक झुकाव अथवा सांसारिक बुद्धिमा भर पर्दैन। (१ कोरिन्थी २:१-५, १३) तर तिनको शिक्षा दिने निपुणता, “विश्वासयोग्य वचनमा दृढ़ रहेर पक्का सिद्धान्तले अर्ती” दिन र “फटाहाहरूलाई दोषी” ठहराउने काम द्वारा आउँदछ। (तितस १:९; प्रेरित २०:१८-२१, २६, २७ सँग तुलना गर्नुहोस्) कुनै प्राचीन, मण्डलीका सभाहरूमा सबै भन्दा राम्रो वक्ता नभएता पनि, परमेश्वरको वचन लगनशीलतासाथ अध्ययन गरेर, बाइबल अध्ययन गर्ने व्यक्तिहरूलाई निपुणतासाथ सल्लाह र उपदेश दिने योग्यको तिनी हुनु पर्दछ। (२ कोरिन्थी ११:६) परिवारहरू र व्यक्ति-व्यक्तिलाई ईश्वरीय जीवन व्यतित् गर्न मदद पुर्याउने “पक्का सिद्धान्तको” शिक्षा दिन तिनी निपुण हुनु पर्दछ।—तितस २:१-१०.
२१. (क) प्राचीन झगड़ालु छैनन् भनेर कति बेला भन्न सकिन्छ? (ख) विवेकी हुनुको अर्थ के हो? (ग) मारपीट न गर्ने हुनुको अर्थ के हो?
२१ झगड़ा नगर्ने, मारपीट नगर्ने, तर भला। (१ तिमोथी ३:३; तितस १:७) शान्त स्वभाव भएको हुनाकारण, एउटा प्राचीनले अरूहरूसँग शारीरिक ढङ्गमा मारपीट गर्दैनन् नता कसैलाई कटुवचन र अपमानजनक शब्दहरूको प्रयोग द्वारा धम्काउने गर्छन्। (२ कोरिन्थी ११:२० सँग तुलना गर्नुहोस्) (“मतवाला र झगड़ा” गर्ने हुनु हुँदैन भनेर यो भन्दा अघि उल्लेखित् टिप्पणीबाट बोध हुँदछ कि तिनी धेरै रक्सी खाने गर्दैनन् किनभने यसबाट अकसर झगड़ाहरू उठ्न सक्दछ) तिनी “भला” (अथवा मिलनसार) स्वभावका हुन्छन्। यसले गर्दा तिनी अर्घेलो अथवा निरङ्कुश हुने छैनन् र साना साना कुरामाथि विवाद गरी हिड़दैनन्। (१ कोरिन्थी ९:१२; फिलिप्पी ४:५; १ पत्रुस २:१८) प्राचीन हुने मानिस झगड़ालु अथवा निहुँ-खोजा न भएको हुनाकारण, तिनी झगड़ाहरूबाट टाढ़ै बस्दछन् र “झट्टै रीस” गर्दैनन्।—तितस ३:२; याकूब १:१९, २०.
२२. प्राचीन स्वेच्छाचारी हुनु हुँदैन भन्नाले के बोध हुन्छ?
२२ स्वेच्छाचारी हुनु भएन। (तितस १:७) यसको अर्थ, आफूलाई जे मन लाग्छ, त्यही गर्नु” भएन। (२ पत्रुस २:१० सँग तुलना गर्नुहोस्) प्राचीन हुने मानिस जिद्दी हुनु हुँदैन। तिनले आफ्नो योग्यताबारे नम्र दृष्टिकोण अपनाउन पर्दछ र आफूलाई अरूहरू भन्दा राम्ररी कामकुरा चलाउन सर्क्ने ठान्दैनन्। तिनले नम्रतापूर्वक सबैसँग जिम्मेवारी बाँटछन् र थुप्रै सल्लाहकारहरू भएको मोल गर्दछन्।—गन्ती ११:२६-२९; हितोपदेश ११:१४; रोमी १२:३, १६.
२३. (क) “भलाइ रूचाउने” मानिसको परिभाषा दिनुहोस्? (ख) धर्मी हुनुको अर्थ के हो?
२३ भलाइको प्रेमी; धर्मी। (तितस १:८) प्राचीन हुने योग्यको मानिस भलाइको प्रेमी र धर्मी हुनु पर्दछ। भलाइको प्रेमीले यहोवाको नजरमा जे असल छ, त्यसैलाई तिनले प्रेम गर्दछन्, अरूहरूको निम्ति मददकारी र दयावन्त कार्यहरू गर्ने गर्छन् र अरूहरूले गरेको भलाइको निम्ति मुल्याङ्कन प्रकट गर्दछन्। (लूका ६:३५; प्रेरित ९:३६, ३९; १ तिमोथी ५:९, १० सँग तुलना गर्नुहोस्) धर्मी हुनुको अर्थ परमेश्वरका नियमहरू र सिद्धान्तहरू बमोजिम हिड़नु हो। साथै, यस प्रकारका मानिस निष्पक्ष हुन्छन् र तिनले आफ्नो मनमा धर्मी, पवित्र र सद्गुणपूर्ण कुराहरू मनमा राख्नेगर्दछन्। (लूका १:६; फिलिप्पी ४:८, ९; याकूब २:१-९) भलाइ धार्मिकता भन्दा बेग्लै हो किनभने भलाई न्यायको माँगसँग सीमित रहन्दैन। भलाइको प्रेमीले तिनीबाट आशा गरिएको भन्दा बढ़ी गर्दछ।—मत्ती २०:४, १३-१५; रोमी ५:७.
२४. भक्त हुनुको अर्थ के हो?
२४ भक्त। (तितस १:८) प्राचीन हुने योग्यको मानिसले परमेश्वर प्रति अटल भक्ति कायम राख्दछ र तिनको समग्रतामाथि कठिन परीक्षा आएतापनि, तिनी ईश्वरीय व्यवस्थामा अडिग भएर बस्दछन्। यहोवाले चाहनु हुने कुरा तिनले गर्ने गरेको हुनाकारण, राज्यको एउटा विश्वासी प्रचारकको काम पनि गर्ने छन्।—मत्ती २४:१४; लूका १:७४, ७५; प्रेरित ५:२९; १ थिस्सलोनिकी २:१०.
योग्यताहरू प्राप्त गर्न
२५. यहाँ छलफल गरिएका गुणहरू कस-कसमा हुनु आवश्यक छ र यी गुणहरू कसरी प्राप्त गर्न सकिन्छ?
२५ यहाँ छलफल गरिएका योग्यताहरू यहोवाका प्रत्येक साक्षीमा हुनु पर्दछ र परमेश्वरको आशिष र आफ्नो व्यक्तिगत अध्ययन, प्रयास, राम्रो सङ्गत र प्रार्थना द्वारा यी गुणहरू प्राप्त गर्न सकिन्छ। कुनै एउटा व्यक्ति अरू गुणहरूमा भन्दा एउटा गुणमा सम्पन्न होला। तर आफ्नो विशेष जिम्मेवारी पूरा गर्नका लागि, प्राचीनहरू र सहायक सेवकहरूमा ती गुणहरू यथेष्ट मात्रामा हुनु पर्दछ।
२६. मण्डलीमा जिम्मेवारीहरू उठाउनका लागि मसीही पुरूषहरू किन अघि बढ़ने गर्छन्?
२६ परमेश्वरको सेवामा सक्दोभर सबै कुरा गर्न यहोवाका साक्षीहरू इच्छुक हुनु पर्दछ। यस प्रकारको मनोवृत्तिले गर्दा मसीही पुरूषहरू मण्डलीमा जिम्मेवारी उठाउन अघि सर्न प्रेरित हुनेछन्। के तपाईं बप्तिस्मा लिनु भएको एक जना समर्पित पुरूष हुनु हुन्छ? हुनु हुन्छ भने, अघि बढ़नु होस् र सेवा गर्ने योग्यको हुन हर प्रयास गर्नु होस्! (w90 9/1)
[फुटनोट]
a वाचटावर, मार्च १५, १९८३, पाना २९ मा “शास्त्रमा आधारित पारपाचुके” शीर्षक मनि हेर्नु होस्।
तपाईंको जवाफ के हुनेछ?
▫ बप्तिस्मा लिएका पुरूषहरूले आज मण्डलीहरूमा जिम्मेवारी उठाउन किन ठूलो आवश्यकता छ?
▫ सहायक सेवकहरूले पूरा गर्नु पर्ने केही आवश्यकताहरू के हुन्?
▫ प्राचीनहरूले पूरा गर्नु पर्ने केही आवश्यकताहरू के हुन्?
▫ प्राचीनले आफ्नो परिवारलाई अधीनमा राख्न जान्नु किन आवश्यक छ?
▫ मण्डलीमा सेवा गर्नका लागि मसीही पुरूषहरूलाई के ले प्रेरणा दिनु पर्दछ?
[पृष्ठ १६, १७-मा भएको चित्र]
प्राचीनहरू र सहायक सेवकहरूले आफ्नो परिवारलाई बाइबल सिद्धान्तहरू अनुसार राम्रोसँग अधीनमा राख्नु पर्दछ