प्रार्थनामा वफादार हात उठून्
“सबै ठाउँमा पुरुषहरूले पवित्र [ “वफादार,” NW] हात उठाएर विना क्रोध र विवादसाथ प्रार्थना गरून् भन्ने म चाहन्छु।”—१ तिमोथी २:८.
१, २. (क) पहिलो तिमोथी २:८ परमेश्वरको जनहरूको प्रार्थनामा कसरी लागू हुन्छ? (ख) अब हामी के छलफल गर्नेछौं?
यहोवा आफ्ना जनहरू उहाँप्रति तथा एकअर्काप्रति वफादार भएको चाहनुहुन्छ। प्रेरित पावलले वफादारीको सम्बन्ध प्रार्थनासित गाँस्दै यसो भने: “सबै ठाउँमा पुरुषहरूले पवित्र [“वफादार,” NW] हात उठाएर विना क्रोध र विवादसाथ प्रार्थना गरून् भन्ने म चाहन्छु।” (१ तिमोथी २:८) स्पष्टतः पावलले मसीहीहरू भेला हुने “सबै ठाउँमा” गरिने सार्वजनिक प्रार्थनालाई संकेत गरिरहेका थिए। मण्डलीका सभाहरूमा गरिने प्रार्थनाहरूमा परमेश्वरका जनहरूको प्रतिनिधि कसले गर्नेछ? परमेश्वरप्रतिका सबै धर्मशास्त्रीय दायित्वहरू सबै पालन गर्ने पवित्र, धार्मिक तथा श्रद्धेय मानिसहरूले मात्र प्रतिनिधित्व गर्नेछन्। (उपदेशक १२:१३, १४) तिनीहरू आध्यात्मिक तथा नैतिक तवरमा स्वच्छ हुनुका साथै यहोवा परमेश्वरप्रति पूर्णतया भक्त हुनु आवश्यक थियो।
२ विशेषगरि मण्डलीका प्राचीनहरूले ‘वफादार हात उठाएर’ प्रार्थना गर्नुपर्छ। येशू ख्रीष्ट मार्फत तिनीहरूको भित्री हृदयबाट निस्केको प्रार्थनाले परमेश्वरप्रतिको वफादारी प्रदर्शित गर्नुका साथै तिनीहरूलाई क्रोध तथा विवादबाट अलग रहन मदत गर्छ। वास्तवमा, मसीही मण्डलीमा सार्वजनिक प्रार्थनामा प्रतिनिधित्व गर्ने सुअवसर पाउने व्यक्ति क्रोध, गलत मनसाय तथा यहोवा अनि उहाँको संगठनप्रति अवफादार हुनु हुँदैन। (याकूब १:१९, २०) सार्वजनिक प्रार्थना गर्ने सुअवसर पाएकाहरूलाई कस्ता थप बाइबलीय निर्देशनहरू दिइएको छ? हामीले आफ्नो व्यक्तिगत र पारिवारिक प्रार्थनामा लागू गर्नुपर्ने थप धर्मशास्त्रीय निर्देशनहरू के हुन्?
प्रार्थना गर्नुभन्दा पहिल्यै विचार गर्नुहोस्
३, ४. (क) सार्वजनिक प्रार्थना गर्नुपर्दा पहिल्यै विचार गर्नु किन लाभकारी हुन्छ? (ख) प्रार्थना कति लामो हुनुपर्छ भन्नेबारे धर्मशास्त्रले के भन्छ?
३ हामीलाई जनसाधारण समक्ष प्रार्थना गर्न आग्रह गरिएको छ भने सम्भवतः प्रार्थनामा के भन्ने भनी पहिल्यै विचार गर्ने मौका पाउँछौं। यसो गर्दा हामीले प्रार्थनामा उपयुक्त महत्त्वपूर्ण विषयहरू नअकमकी अनि गोलमाल नगरी भन्नसक्छौं। निस्सन्देह, हामीले आफ्नो व्यक्तिगत प्रार्थना ठूलो स्वरमा जत्ति नै लामो पनि गर्नसक्छौं। येशूले आफ्ना १२ चेलाहरू छान्नुअघि रातभर प्रार्थना गर्नुभयो। तथापि, उहाँको मृत्युको स्मरणार्थ स्थापना गर्नुहुँदा रोटी तथा दाखमद्यको लागि गर्नुभएको प्रार्थना छोटो थियो। (मर्कूस १४:२२-२४; लूका ६:१२-१६) अनि येशूका छोटा प्रार्थनाहरू पनि परमेश्वरलाई पूर्णतया स्वीकार्य थियो भनी हामीलाई थाह छ।
४ मानि लिनुहोस्, तपाईंले खाना खानुअघि प्रार्थनामा परिवारको प्रतिनिधित्व गर्ने सुअवसर पाउनुभएको छ। त्यस्तो प्रार्थना अलि छोटो हुनसक्छ तर अन्य कुराहरूमध्ये भोजनको निम्ति कृतज्ञता भने जाहेर गर्नैपर्छ। हामीले मसीही सभाअघि वा पछि प्रार्थना गरिरहेका छौं भने थुप्रै बुँदाहरू ढाकेर लामो प्रार्थना गर्नु आवश्यक छैन। “बहाना गरेर लामा लामा प्रार्थना” गर्ने शास्त्रीहरूको येशूले निन्दा गर्नुभयो। (लूका २०:४६, ४७) ईश्वरीय भय राख्ने व्यक्तिले कहिल्यै त्यसो गर्न चाहँदैनन्। तर कहिलेकाहीं अलि लामो सार्वजनिक प्रार्थना उपयुक्त हुनसक्छ। उदाहरणका लागि, सम्मेलनमा अन्तिम प्रार्थना गर्न छानिएको भाइले पहिल्यै विचार गर्नुपर्छ र केही मुख्य बुँदाहरू उल्लेख गर्नसक्छन्। तैपनि त्यस्ता प्रार्थनाहरूसमेत अत्यन्तै लामो हुनु हुँदैन।
श्रद्धासाथ परमेश्वरलाई पुकार्नुहोस्
५. (क) सार्वजनिक प्रार्थना गर्दा कुन कुराको विचार गर्नुपर्छ? (ख) किन मर्यादित र आदरपूर्ण तरिकामा प्रार्थना गर्नुपर्छ?
५ सार्वजनिक प्रार्थना गर्दा हामीले मानिसहरूलाई सम्बोधन गर्ने होइन भनी बिर्सनु हुँदैन। बरु, सर्वोच्च प्रभु यहोवालाई बिन्ती गरिरहेका हामी पापी प्राणीहरू हौं। (भजन ८:३-५, ९; ७३:२८) त्यसैकारण, हामीले परमेश्वरलाई अप्रसन्न तुल्याउने कुराहरू व्यक्त नगरेर श्रद्धेय भय प्रकट गर्नुपर्छ। (हितोपदेश १:७) भजनरचयिता दाऊदले यसरी गाए: “तर मचाहिं ता तपाईंको प्रशस्त करुणाद्वारा तपाईंको भवनभित्र आउनेछु। तपाईंको डर मानेर तपाईंको पवित्र मन्दिरतिर दण्डवत् गर्नेछु।” (भजन ५:७) हाम्रो त्यस्तो मनोभाव छ भने यहोवाका साक्षीहरूको सभामा सार्वजनिक प्रार्थना गर्ने आग्रह गरिंदा कसरी गर्नेछौं? मानव राजासित कुरा गर्दा हामी आदर तथा सम्मानसाथ गर्छौं। हामीले “युगयुगका महाराजा” यहोवालाई प्रार्थना गर्ने भएकाले के हाम्रो प्रार्थना झन् मर्यादित र आदरपूर्ण हुनु पर्दैन र? (प्रकाश १५:३) त्यसैकारण हामीले प्रार्थना गर्दा “यहोवा, नमस्ते,” “तपाईंलाई धेरै धेरै सम्झना छ” वा “तपाईंको दिन राम्रो होस्” जस्ता शब्दावलीहरू प्रयोग नगर्न होसियार हुनुपर्छ। परमेश्वरको एक मात्र प्रिय पुत्र येशू ख्रीष्टले आफ्नो स्वर्गमा हुनुहुने पितालाई त्यसरी कहिल्यै सम्बोधन गर्नुभएन भनी धर्मशास्त्रले देखाउँछ।
६. ‘अनुग्रहको सिंहासनको नजीक जाँदा’ हामीले कुन कुरा मनमा राख्नुपर्छ?
६ पावलले यसो भने: “हामी निर्भयसँग आऔं, र कृपा पाऔं।” (हिब्रू ४:१६) येशू ख्रीष्टको छुडौतीको बलिदानमा हाम्रो विश्वासको कारण हाम्रो पापी अवस्थाको बावजूद हामीले यहोवालाई “निर्भयसँग” पुकार्नसक्छौं। (प्रेरित १०:४२, ४३; २०:२०, २१) तैपनि, “निर्भयसँग” प्रार्थना गर्नु भन्नुको अर्थ परमेश्वरसित गफ गर्ने होइन नता उहाँको अनादर हुने कुराहरू गर्नु उचित हुनेछ। हाम्रो सार्वजनिक प्रार्थनाद्वारा परमेश्वरलाई खुसी तुल्याउने हो भने ती आदर तथा सम्मानका साथ चढाउनुपर्छ साथै प्रार्थनाद्वारा घोषणाहरू गर्ने, व्यक्तिविशेषलाई सल्लाह दिने वा श्रोताहरूलाई भाषण छाँट्ने गर्नु उपयुक्त हुनेछैन।
नम्र मनोभावसाथ प्रार्थना गर्नुहोस्
७. यहोवाको मन्दिरको समर्पणमा प्रार्थना गर्दा सुलेमानले कसरी नम्रता प्रकट गरे?
७ प्रार्थना सार्वजनिक होस् वा व्यक्तिगत, हामीले नम्र मनोभावसाथ प्रार्थना गर्नुपर्छ भन्ने महत्त्वपूर्ण धर्मशास्त्रीय सिद्धान्त कहिल्यै बिर्सनु हुँदैन। (२ इतिहास ७:१३, १४) यरूशलेममा यहोवाको मन्दिरको समर्पणको अवसरमा सार्वजनिक प्रार्थना गर्दा राजा सुलेमानले नम्रता प्रकट गरे। सुलेमानले भर्खरै पृथ्वीको सबैभन्दा भव्य भवनहरूमध्ये एउटाको निर्माण कार्य समाप्त गरेका थिए। तैपनि तिनले नम्र भई यस्तो प्रार्थना गरे: “साँच्चिनै के परमेश्वर पृथ्वीमा बास गर्नुहुन्छ र? हेर्नुहोस्, उच्चभन्दा पनि उच्च स्वर्गमा तपाईं अटाउनुहुन्न। औ मैले बनाएको यो भवनमा त झन् कसरी अटाउनुहुन्छ?”—१ राजा ८:२७.
८. जनसमक्ष प्रार्थना गर्दा नम्रता देखाउनसक्ने केही तरिकाहरू के हुन्?
८ सार्वजनिक प्रार्थनामा अरूको प्रतिनिधित्व गर्दा हामी सुलेमान जस्तै नम्र हुनुपर्छ। हो, ढोंगी हुनु हुँदैन तर हामीले आफ्नो आवाजबाट नम्रता झल्काउनसक्छौं। नम्र प्रार्थनाहरू आडम्बरी वा नाटकजस्तो हुनु हुँदैन। त्यस्ता प्रार्थनाहरूले प्रार्थना गर्ने व्यक्तिको मनोभाव झल्काउँदै बरु सम्बोधन गरिएको व्यक्तितर्फ ध्यान खिच्छ। (मत्ती ६:५) हामीले भन्ने कुराबाट पनि नम्रता देखाउनसक्छौं। नम्र भई प्रार्थना गर्दा हामीले कामकुरा आफ्नो तरिकामा गर्न परमेश्वरसित माग गरिरहेका हुनेछैनौं। बरु, हामीले यहोवालाई उहाँको पवित्र इच्छाअनुरूप गर्नुहोस् भनी बिन्ती गरिरहेका हुनेछौं। भजनरचयिताले यसरी बिन्ती गर्दा उचित मनोभावको उदाहरण देखाए: “ ‘अब उद्धार गर्नुहोस्।’ हे परमप्रभु, हामी आग्रहपूर्वक बिन्ती गर्दछौं, ‘अब सुदिन पठाइदिनुहोस्।’ ”—भजन ११८:२५; लूका १८:९-१४.
भित्री हृदयले प्रार्थना गर्नुहोस्
९. मत्ती ६:७ मा येशूले दिनुभएको कुन उत्तम सल्लाह पाइन्छ र यो कसरी लागू गर्न सकिन्छ?
९ हाम्रो सार्वजनिक वा व्यक्तिगत प्रार्थनामा यहोवालाई खुसी तुल्याउने हो भने त्यो हृदयदेखि आउनुपर्छ। अतः हामी केही नसोची एउटै प्रार्थना दोहऱ्याएको दोहऱ्याएकै गरिरहेका हुँदैनौं। डाँडाको उपदेशमा येशूले यस्तो सल्लाह दिनुभयो: “प्रार्थना गर्दा अन्यजातिहरू जस्ता व्यर्थै नबरबराऊ। किनभने कराएर बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू [गलत] विचार गर्दछन्।” अर्को शब्दमा भन्ने हो भने येशूले भन्नुभयो: “व्यर्थैमा फतफताउने नगर।”—मत्ती ६:७, पादटिप्पणी, NW.
१०. एउटै विषयबारे एक चोटि भन्दा बढी प्रार्थना गर्नु किन उपयुक्त हुनेछ?
१० निस्सन्देह, कहिलेकाहीं एउटै विषयबारे बारम्बार प्रार्थना गर्नुपर्ने होला। त्यसो गर्नु गलत होइन किनभने येशूले यस्तो आग्रह गर्नुभयो: “माग, तिमीहरूलाई दिइनेछ, खोज, तिमीहरूले भेट्टाउनेछौ, घच्घच्याऊ तिमीहरूका निम्ति उघारिनेछ।” (मत्ती ७:७) यहोवाले स्थानीय प्रचारकार्यमा दिनुभएको आशिष्ले गर्दा सायद नयाँ राज्यभवनको आवश्यकता होला। (यशैया ६०:२२) व्यक्तिगत वा यहोवाका जनहरूको सभाहरूमा सार्वजनिक प्रार्थना गर्दा यस आवश्यकता उल्लेख गरिरहनु उचित हुनेछ। त्यसो गर्नुको अर्थ हामी ‘व्यर्थै बरबराइरहेका’ हुनेछैनौं।
कृतज्ञता देखाउन तथा प्रशंसा गर्न नबिर्सनुहोस्
११. फिलिप्पी ४:६, ७ व्यक्तिगत तथा सार्वजनिक प्रार्थनामा कसरी लागू हुन्छ?
११ धेरैजसो मानिसहरू केही माग्नुपऱ्यो भने मात्र प्रार्थना गर्छन् तर यहोवा परमेश्वरप्रतिको प्रेमले हामीलाई व्यक्तिगत तथा सार्वजनिक प्रार्थना दुवैमा धन्यवाद तथा कृतज्ञता जाहेर गर्न उत्प्रेरित गर्नुपर्छ। पावलले यसो लेखे: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्। औ परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) हो, बिन्ती तथा आग्रहबाहेक हामीले यहोवालाई आध्यात्मिक तथा भौतिक आशिष्को निम्ति पनि धन्यवाद दिनुपर्छ। (हितोपदेश १०:२२) भजनरचयिताले यस्तो भजन गाए: “परमेश्वरलाई धन्यवादको बलिदान चढ़ा। र तेरो भाकल सर्वोच्चमा पूरा गर्।” (भजन ५०:१४) अनि दाऊदका प्रार्थनामय लयमा यी हृदयस्पर्शी शब्दहरू पनि समावेश छन्: “स्तुति गाएर म परमेश्वरको नाउँको प्रशंसा गर्नेछु, धन्यवाद चढ़ाएर म उहाँको प्रशंसा गर्नेछु।” (भजन ६९:३०) के हामीले पनि व्यक्तिगत तथा सार्वजनिक प्रार्थनामा त्यस्तै गर्नुपर्ने होइन र?
१२. भजन १००:४, ५ आज कसरी पूरा भइरहेको छ र अतः हामीले कुन कुराको निम्ति धन्यवाद तथा प्रशंसा गर्नसक्छौं?
१२ परमेश्वरको सन्दर्भमा भजनरचयिताले यस्तो भजन गाए: “धन्यवादसाथ उहाँका मूल-ढोकाभित्र, र प्रशंसा गर्दै उहाँका चोकभित्र पस। उहाँलाई धन्यवाद चढ़ाओ, र उहाँको नाउँलाई धन्यको भन। किनभने परमप्रभु भलो हुनुहुन्छ, उहाँको सत्यता पुस्तौंसम्म स्थिर रहन्छ।” (भजन १००:४, ५) अहिले वर्तमान समयमा सबै राष्ट्रका मानिसहरू यहोवाको मन्दिरको चोकमा पसिरहेका छन् र यसको लागि हामीले उहाँलाई प्रशंसा तथा धन्यवाद चढाउनुपर्छ। स्थानीय राज्यभवनको निम्ति के तपाईं कृतज्ञता व्यक्त गर्नुहुन्छ? अनि उहाँलाई प्रेम गर्नेहरूसँग नियमित तवरमा स्थानीय राज्य भवनमा भेला भएर के मूल्यांकन देखाउनुहुन्छ? त्यहाँ हुँदा के तपाईं पूर्ण हृदयले जोडतोडका साथ हाम्रो स्वर्गमा हुनुहुने मायालु पिताको प्रशंसामा स्वरमा स्वर मिलाउनुहुन्छ?
प्रार्थना गर्न कहिल्यै नहिचकिचाउनुहोस्
१३. आफ्नो दोषको कारण अयोग्य महसुस भए तापनि यहोवालाई बिन्ती गर्नुपर्छ भनी कुन धर्मशास्त्रीय उदाहरणले देखाउँछ?
१३ दोषी भावले गर्दा आफू अयोग्य महसुस भए तापनि हामीले परमेश्वरलाई साँचो हृदयले पुकार्नुपर्छ। विदेशी पत्नीहरू ल्याएर यहूदीहरूले पाप गर्दा एज्राले घुँडा टेकेर आफ्नो वफादार हातहरू परमेश्वरसमक्ष फैलाउँदै नम्र भई यसरी प्रार्थना गरे: “हे मेरा परमेश्वर, म अति चूर्ण अवस्थामा पुगेको छु। मेरो अनुहार तपाईंतिर उठाउन पनि म लजाउँछु। मेरा परमेश्वर, हामी आफ्ना अधर्ममा पतित भएका छौं। औ हाम्रो दोष यति ठूलो भएको छ कि त्यो आकाशसम्मै पुगेको छ। हाम्रा पुर्खाहरूका दिनदेखि आजको दिनसम्म हाम्रो दोष अत्यन्तै ठूलो भएको छ। . . . अब हाम्रा खराब कामहरू र हाम्रो ठूलो दोषका निम्ति हामीले दुःख पाएका भए तापनि—यद्यपि तपाईं, हाम्रा परमेश्वरले हामीलाई हाम्रा अधर्मको कारण पाउनुपर्ने थोरैनै दण्ड दिनुभएको छ, र हामी अहिले बाँचेझैं हामीलाई बाँच्नदिनुभएको छ—के हामी तपाईंका आज्ञाहरू उल्लंघन गरेर यी मानिसहरूसँग वैवाहिक सम्बन्ध जोड़ौं? तिनीहरू ता यस्ता घिनलाग्दा चालहरूमा चल्छन्। बाँचेका कुनै बचति भाग खतम नहोउञ्जेल तपाईंले हाम्रो विरुद्धमा आफ्नो रिस थाम्नुहुने थिएन? हे परमप्रभु इस्राएलका परमेश्वर, तपाईं न्यायी हुनुहुन्छ। अब अघिझैं, बाँचेकाहरूको हामी एक बचति भाग मात्रै हौं। तपाईंको दृष्टिमा हामी दोषी भए तापनि हामीमाथि कृपादृष्टि राख्नुहोस्। किनभने हाम्रो दोषले गर्दा हामीमध्येको कोही पनि तपाईंको सामने टिक्नसक्तैन।”—एज्रा ९:१-१५; व्यवस्था ७:३, ४.
१४. एज्राको समयमा देखाएझैं परमेश्वरको क्षमा प्राप्त गर्न के आवश्यक छ?
१४ परमेश्वरको क्षमा पाउन हामीले आफ्नो पाप स्वीकार्नुका साथै “पश्चाताप योग्यका फल” पनि फलाउनुपर्छ। (लूका ३:८; अय्यूब ४२:१-६; यशैया ६६:२) एज्राको दिनमा पश्चात्ताप गर्नुका साथै भूललाई सच्याउन तिनीहरूले विदेशी पत्नीहरू त्यागे। (एज्रा १०:४४; तुलना गर्नुहोस् २ कोरिन्थी ७:८-१३) गम्भीर गल्तीको निम्ति यहोवासित क्षमा मागिरहेका छौं भने नम्रतासाथ प्रार्थनामा आफ्नो पाप स्वीकारौं र पश्चाताप योग्यको फल फलाऔं। पश्चात्तापी मनोभावका साथै गल्तीलाई सच्याउने हाम्रो इच्छाले हामीलाई मसीही प्राचीनहरूको आध्यात्मिक मदत लिन उत्प्रेरित गर्छ।—याकूब ५:१३-१५.
प्रार्थनाबाट सान्त्वना प्राप्त गर्नुहोस्
१५. प्रार्थनाबाट सान्त्वना प्राप्त गर्नसक्छौं भनी हन्नाको अनुभवबाट कसरी थाह पाउनसक्छौं?
१५ हाम्रो हृदय केही कारणले गर्दा विचलित भएको छ भने हामीले प्रार्थनाबाट सान्त्वना प्राप्त गर्नसक्छौं। (भजन ५१:१७; हितोपदेश १५:१३) वफादार हन्नाले प्रार्थनाबाट सान्त्वना पाइन्। तिनको समयमा इस्राएलमा ठूलो परिवारको चलन थियो तर तिनी भने निस्सन्तान थिइन्। तिनका पति एल्कनाको अर्की पत्नी पनिन्नाबाट छोराछोरीहरू थिए तर हन्नाको कुनै सन्तान नभएकोले तिनलाई खसालेर कुरा गर्ने गर्थिन्। हन्नाले साँचो हृदयले प्रार्थना गरिन् र पुत्र भएमा “त्यसको जीवनपर्यन्त परमप्रभुमा समर्पण” गर्ने वाचा गरिन्। प्रार्थना र प्रधान पूजाहारी एलीको कुराहरूबाट सान्त्वना पाएपछि हन्ना “उदास भइनन्।” तिनले छोरा जन्माइन् र बच्चाको नाउँ शमूएल राखिन्। पछि तिनले आफ्नो छोरालाई यहोवाको मन्दिरमा अर्पण गरिन्। (१ शमूएल १:९-२८) परमेश्वरले तिनीप्रति देखाउनुभएको दयाको कारण कृतज्ञ भई तिनले धन्यवादको प्रार्थना चढाइन् र यहोवाजस्तै अरू कोही छैन भनी प्रशंसा गरिन्। (१ शमूएल २:१-१०) हन्नाले जस्तै हामीले पनि प्रार्थनाबाट सान्त्वना प्राप्त गर्नसक्छौं र परमेश्वरको इच्छाअनुरूप भएमा उहाँले जवाफ दिनुहुन्छ भनी निर्धक्क हुनसक्छौं। उहाँलाई हाम्रो हृदय पोखाउँदा “उदास” नहोऔं किनभने उहाँले हाम्रो बोझ हटाउनुहुनेछ वा सहने बल दिनुहुनेछ।—भजन ५५:२२.
१६. याकूबको समयमा देखिएझैं डराएको वा चिन्तित भएको बेला किन प्रार्थना गर्नुपर्छ?
१६ कुनै अवस्थाले गर्दा डर, दुःख वा चिन्ता भइरहेको छ भने सान्त्वनाको निम्ति प्रार्थनामा परमेश्वरलाई पुकार्न नबिर्सौं। (भजन ५५:१-४) टाढिएर आफ्नै बाटो लागिसकेका दाजूलाई भेट्न याकूब डराएका थिए। तैपनि याकूबले यसरी प्रार्थना गरे: “हे मेरा पिता अब्राहामका परमेश्वर, र मेरा बाबु इसहाकका परमेश्वर, हे परमप्रभु, जसले मलाई ‘तँ तेरै देशमा तेरा कुटुम्बहरूकहाँ जा, र म तेरो भलाइ गर्नेछु’ भन्नुभएको थियो। तपाईंको दासलाई जत्ति करुणा र सत्यता देखाउनुभएको थियो त्यसको म कत्ति पनि योग्य छैनँ। किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ। तर अहिले मेरा दुइवटा दल भएका छन्। म बिन्ती गर्दछु, मलाई मेरा दाज्यू एसावको हातबाट बचाउनुहोस्, किनकि तिनीसँग मलाई डर लाग्छ, नत्रता आमा, छोरा-छोरीहरूसमेत हामी जमैलाई तिनले मार्लान्। तर तपाईंले भन्नुभएको छ, ‘साँच्चिनै म तेरो भलाइ गर्नेछु, र तेरा सन्तानहरू समुद्रका बालुवासरह तुल्याउनेछु, जो अत्यन्तै धेर भएको हुनाले गनी साध्य हुनेछैन।’ ” (उत्पत्ति ३२:९-१२) एसावले याकूब तथा तिनको जमातलाई केही हानि गरेनन्। अतः त्यस अवसरमा यहोवाले याकूबलाई “भलाइ” गर्नुभयो।
१७. भजन ११९:५२ लाई मनमा राख्दै थकित हुँदा कसरी प्रार्थनाबाट सान्त्वना पाउनसक्छौं?
१७ प्रार्थना गर्दा परमेश्वरको वचनमा भनिएका कुराहरू सम्झेर सान्त्वना प्राप्त गर्नसक्छौं। संगीतमय शैलीमा लेखिएको सबैभन्दा लामो भजनमा राजकुमार हिजकियाहले यस्तो भजन गाएको हुनसक्छ: “हे परमप्रभु, मैले तपाईंको उहिलेको न्याय-वचन सम्झेको छु, र सान्त्वना पाएको छु।” (भजन ११९:५२) कठीन परीक्षाको बेला नम्र भई प्रार्थना गर्दा हामीले बाइबलको कुनै सिद्धान्त वा व्यवस्था सम्झन मदत पाउनसक्छौं जसबाट हामीले हाम्रो स्वर्गमा हुनुहुने पितालाई खुसी तुल्याइरहेका छौं भन्ने सान्त्वनादायी आश्वासन पाउनसक्छौं।
वफादार जनहरू प्रार्थनामा लागिरहन्छन्
१८. ‘हरेक भक्तले परमेश्वरलाई प्रार्थना गर्नेछ’ भनेर किन भन्न सकिन्छ?
१८ यहोवा परमेश्वरप्रति वफादार सबै व्यक्तिहरू “प्रार्थनामा अटूटसँग लागिरह[न्छन्]।” (रोमी १२:१२) बेतशेबासित पाप गरेपछि सायद रचना गरिएको भजन ३२ अध्यायमा दाऊदले क्षमा नमाग्दा भएको पीडा र परमेश्वरसामु पाप स्वीकारेपछि भएको आनन्दबारे बताएका छन्। त्यसपछि दाऊदले यस्तो भजन गाए: “हरेक भक्तले तपाईंसँग भेट हुने समयमा तपाईंमा प्रार्थना गरोस्। पानीको ठूलो भेल आउँदा पनि निश्चय त्यसकहाँ पुग्नेछैन।”—भजन ३२:६.
१९. हाम्रा वफादार हातहरू प्रार्थना गर्न किन उठाउनुपर्छ?
१९ यहोवा परमेश्वरसितको हाम्रो सम्बन्धलाई कदर गर्छौं भने येशूको छुडौतीको बलिदानको आधारमा उहाँको कृपाको लागि प्रार्थना गर्नेछौं। विश्वासमा अनुग्रहको सिंहासन नजिक हामी निर्भयसँग जानसक्छौं र कृपा तथा सामयिक मदत पाउनसक्छौं। (हिब्रू ४:१६) तर प्रार्थना गर्ने अन्य थुप्रै कारणहरू छन्! अतः परमेश्वरप्रति हार्दिक प्रशंसा तथा कृतज्ञताको साथ “निरन्तर प्रार्थना” गरिरहौं। (१ थिस्सलोनिकी ५:१७) दिनरात हाम्रो वफादार हात प्रार्थना गर्न उठाऔं।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ सार्वजनिक प्रार्थना गर्नुपर्दा पहिल्यै विचार गर्नु कसरी लाभकारी हुन्छ?
◻ हामीले किन आदरपूर्ण तथा मर्यादित ढंगमा प्रार्थना गर्नुपर्छ?
◻ प्रार्थना गर्दा हामीले कस्तो मनोभाव देखाउनुपर्छ?
◻ प्रार्थना गर्दा हामीले धन्यवाद र प्रशंसा चढाउन किन बिर्सनु हुँदैन?
◻ हामीले प्रार्थनाद्वारा सान्त्वना प्राप्त गर्नसक्छौं भनी बाइबलले कसरी देखाउँछ?
[पृष्ठ १७-मा भएको चित्र]
यहोवाको मन्दिरको समर्पण बेला सार्वजनिक प्रार्थना गर्दा राजा सुलेमानले नम्रता प्रकट गरे
[पृष्ठ १८-मा भएका चित्रहरू]
हन्नाले जस्तै तपाईंले पनि प्रार्थनाबाट सान्त्वना प्राप्त गर्न सक्नुहुन्छ