पाठकहरूका प्रश्न
हिब्रू ४:१५, १६ मा उल्लिखित ख्रीष्टको प्रधान पौरोहित्य सेवाहरूबाट “अरू भेड़ा” आज कसरी लाभान्वित हुनसक्छन्?
प्रधान पूजाहारीहरूको हैसियतमा येशूले निर्वाह गर्नुहुने भूमिका उहाँसँगै स्वर्गमा राज्य गर्नेहरूको निम्ति सबैभन्दा महत्त्वपूर्ण भए तापनि येशूका पौरोहित्य सेवाहरूबाट पार्थिव आशा भएका मसीहीहरू अहिले पनि लाभान्वित छन्।
आदमको समयदेखि मानवजातिले पापको बोझ बोक्दै आएका छन्। इस्राएलीहरूले जस्तै हामी पनि वंशाणुगत असिद्धताले गर्दा दुःख भोग्छौं। त्यही पापको कारण तिनीहरूले लामो समयसम्म प्रधान पूजाहारी तथा उपपूजाहारीहरूको सहारा लिनुपऱ्यो। यी पूजाहारीहरूले आफ्नो र आफ्ना मानिसहरूको निम्ति बलिदान चढाउँथे। समयमा “मल्किसेदेकको रीतिबमोजिम” येशू पूजाहारी नियुक्त हुनुभयो। पुनरुत्थानपश्चात् आफ्नो सिद्ध मानव बलिदानको मोल चढाउन येशू स्वर्गमा यहोवासमक्ष खडा हुनुभयो।—भजन ११०:१, ४.
हाम्रोनिम्ति आज यसले के अर्थ राख्छ? प्रधान पूजाहारीको हैसियतमा येशूको सेवाबारे पावलले हिब्रूहरूलाई लेखेको पत्रमा छलफल गरे। हिब्रू ५:१ मा हामी यस्तो लेखिएको पाउँछौं: “मानिसहरूबाट लिएको हरेक प्रधान पूजाहारी मानिसहरूमध्ये, परमेश्वरसम्बन्धी कुरामा पापका निम्ति भेटी र बलिदानहरू चढ़ाउनालाई मानिसहरूकै निम्ति नियुक्त भएको हुन्छ।” त्यसपछि पावलले येशू प्रधान पूजाहारी बन्नुभयो र त्यसबाट हामी लाभ उठाउनसक्छौं भनी पदहरू ५ र ६ मा बताए।
तर कसरी? पावलले यसरी लेखे: “उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि, उहाँले भोग्नुभएको शासनाद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो। औ सिद्ध तुल्याईकन उहाँको आज्ञा मान्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको कर्त्ता हुनुभयो।” (हिब्रू ५:८, ९) शायद यो पद पढेपछि नयाँ संसारमा हामीले कसरी लाभ उठाउन सकौंला भनी सोचौंला जहाँ परमेश्वर तथा येशूप्रति वफादार हुने यी मानिसहरूले आफ्नो पापको क्षमा पाएर अनन्त जीवन पाउनेछन्। यो ग्राह्य प्रत्याशा हो र येशूको बलिदानको छुडौतीको मोल अनि प्रधान पूजाहारीको रूपमा उहाँको सेवामा त्यो आधारित छ।
तर वास्तवमा उहाँको भूमिका अथवा प्रधान पूजाहारीको हैसियतमा उहाँले गर्नुहुने सेवाबाट अहिले पनि फाइदा उठाउनसक्छौं। हिब्रू ४:१५, १६ लाई ध्यान दिनुहोस्: “हाम्रा प्रधान पूजाहारी हाम्रा निर्बलतामा हामीसँग दुःखी हुन नसक्ने होइन। तर सबै कुरामा हामीजस्तै परीक्षित, र पनि पापरहित हुनुहुन्छ। यसकारण अनुग्रहको सिंहासनको नजीक हामी निर्भयसँग आऔं, र कृपा पाऔं, औ दरकारको समयमा हाम्रो उपकारको निम्ति उहाँद्वारा अनुग्रह पाउनसक्छौं।” “दरकारको समय” कहिले आउनेछ त? जब हामीलाई दया र अनुग्रहको आवश्यकता पर्छ। हामी सबै असिद्ध भएकोले अहिले त्यस्तो आवश्यकता महसुस गर्नुपर्ने हो।
यहाँ हिब्रू ४:१५, १६ मा औंल्याइएको बुँदा के हो भने, अहिले स्वर्गमा पूजाहारी हुनुभएको येशू कुनै समय मानव चोलामा हुनुहुन्थ्यो त्यसकारण उहाँ समानुभूतिशील हुन सक्नुहुन्छ। तर कसप्रति? हामीप्रति। कहिले? अहिले। मानव चोलामा हुनुहुँदा येशूले मानव मात्रले भोग्ने तनावहरू र दबाबहरू अनुभव गर्नुभयो। कुनै कुनै बेला उहाँ भोकाउनु र तिर्खाउनुभयो। र सिद्ध हुनुभए तापनि उहाँ थकित हुनुभयो। ती कुराहरू अब हाम्रोलागि आश्वासनपूर्ण हुनुपर्ने हो। किन? किनभने येशूले स्वाभाविक थकान महसुस गर्नुभएको हुँदा हामीले प्रायः अनुभव गर्ने कुराहरू उहाँले बुझ्नुहुन्छ। येशूले आफ्ना प्रेरितहरूबीचको ईर्ष्यालु कलहको सामना गर्नुपरेको थियो भनेर पनि सम्झनुहोस्। (मर्कूस ९:३३-३७; लूका २२:२४) हो, उहाँ निराश हुनुभयो। हामी हतोत्साहित, निराश हुँदा उहाँले हाम्रो अवस्था बुझ्नुहुन्छ भनेर के यस तथ्यले हामीलाई सान्त्वना दिंदैन र? अवश्य दिन्छ।
तपाईं हतोत्साहित अथवा निराश हुनुहुँदा के गर्न सक्नुहुन्छ? प्रधान पूजाहारी येशूले नयाँ संसारमा मानसिक तथा शारीरिक तवरमा सिद्ध हुन मदत नगर्नुभएसम्म तपाईंले पर्खनुपर्छ भनी के पावलले भने? अहँ, भनेनन्। बरु पावलले यसो भने: “दरकारको समयमा हाम्रो उपकारको निम्ति उहाँद्वारा अनुग्रह पाउनसक्छौं,” र यो कुरा वर्तमान समयमा पनि लागू हुन्छ। यसबाहेक, मानव चोलामा हुनुहुँदा येशूले कष्ट र कठिनाइहरू भोग्नु भएर “सबै कुरामा हामीजस्तै परीक्षित” हुनुभएको थियो। अतः त्यस्ता कठिनाइहरूको सामना गर्नुपर्दा हामीले अनुभव गर्ने कुरालाई आफूले बुझेअनुसार हामीलाई मदत गर्न उहाँ तयार हुनुहुन्छ। के त्यसले तपाईंलाई उहाँतर्फ आकर्षित गर्दैन र?
अब पद १६ माथि ध्यान दिनुहोस्। हामी अर्थात् अभिषिक्त जनहरूलगायत अरू भेडा वा ठूलो भीडका सबैले निर्भयतासाथ परमेश्वरको पुकारा गर्नसक्छौं भनेर पावल भन्छन्। (यूहन्ना १०:१६) तर प्रार्थना गर्दा जे भने पनि हुन्छ वा रिसाउनु अथवा अनादरपूर्ण कुराहरू बोले पनि हुन्छ भनेर पावलले भन्न खोजेका होइनन्। बरु हामी पापी भए तापनि येशूको बलिदान र उहाँले प्रधान पूजाहारीको हैसियतमा निर्वाह गर्नुहुने भूमिकाको आधारमा हामी परमेश्वरको पुकारा गर्नसक्छौं भन्न खोजेका हुन्।
हाम्रा प्रधान पूजाहारी, येशू ख्रीष्टले गर्नुहुने सेवाहरूबाट अहिले हामीले फाइदा उठाउनसक्ने अर्को तरिका हाम्रो पाप वा गल्तीहरूसँग सम्बन्धित छ। निस्सन्देह, वर्तमान रीतिरिवाजमा येशूले आफ्नो बलिदानका सम्पूर्ण विशेषताहरू हामीमाथि लागू गर्नुहुनेछ भनी हामी आशा गर्दैनौं। उहाँले गर्नु नै भयो भने पनि हामीले अझै अनन्त जीवन पाउनेछैनौं। पक्षाघात भएको मानिसलाई छतमा प्वाल पारेर तल झारेको घटनाबारे लूका ५:१८-२६ मा दिइएको विवरणलाई यसो सम्झनुहोस् त। येशूले त्यस मानिसलाई यसो भन्नुभयो: “ए मानिस, तिम्रा पाप तिमीलाई क्षमा भयो।” तर यसको अर्थ कुनै विशेष पापको कारण पक्षाघात भएको हो भन्ने होइन। बरु मानिसहरूको साधारण पाप हुनुपर्छ। र शायद केही हदसम्म त्यस पापमा उसको वंशाणुगत असिद्धता मुछिएको हुनसक्छ जसले गर्दा उसले त्यस किसिमको पीडा भोग्नुपऱ्यो।
प्रायश्चितको दिनमा अजाजेलको बोकाले इस्राएलको पाप बोकेर लगेझैं त्यस पक्षाघातीले चढाउने बलिदानको आधारमा येशूले उसका पापहरू लैजान सक्नुहुन्थ्यो। (लेवी १६:७-१०) यद्यपि, त्यो पक्षाघाती मान्छे नै थियो। उसले फेरि पाप गर्नेथियो र पापीहरू मर्नैपर्ने भएकोले समयमा ऊ पनि मर्नेथियो। (रोमी ५:१२; ६:२३) येशूले त्यस पक्षाघातीलाई भन्नुभएको कुराको अर्थ उसले उत्तिखेरै अनन्त जीवन पाइहाल्यो भन्ने होइन। बरु त्यतिबेला उसले केही हदसम्म आफ्नो पापको क्षमा पायो भन्ने हो।
अब हाम्रो अवस्थालाई विचार गर्नुहोस्। असिद्ध भएकोले हामी दिनहुँ चुक्दछौं। (याकूब ३:२) यस्तो अवस्थामा हामी के गर्नसक्छौं? स्वर्गमा हाम्रो कृपालु प्रधान पूजाहारी हुनुभएकोले उहाँद्वारा हामी यहोवाको पुकारा गर्नसक्छौं। हो, पावलले भनेजस्तै हामी सबैले ‘परमेश्वरको अनुग्रहको सिंहासनको नजीक निर्भयसँग गएर कृपा पाउन, औ दरकारको समयमा हाम्रो उपकारको निम्ति उहाँद्वारा अनुग्रह पाउनसक्छौं।’ अतः आज अरू भेडा अथवा ठूलो भीडका सबैले ख्रीष्टको पौरोहित्य सेवाहरूबाट अवश्य अद्भुत लाभहरू उठाइरहेका छन्।
पार्थिव आशा हुने सबै मसीहीहरूले आउँदै गरेको नयाँ संसारमा ख्रीष्टको पौरोहित्य सेवाहरूका भव्य लाभहरूको आशा गर्नसक्छन्। त्यतिबेला हाम्रो प्रधान पूजाहारीले आफ्नो बलिदानको सम्पूर्ण विशेषता लागू गर्नुहुनेछ। फलस्वरूप पाप पूर्णतया क्षमा हुनेछ। मानिसहरूको शारीरिक तथा आध्यात्मिक स्वास्थ्यको ख्याल गर्नुभएर पनि उहाँले ठूलो लाभ पुऱ्याउनुहुनेछ। इस्राएलका पूजाहारीहरूको मुख्य जिम्मेवारी व्यवस्था सिकाउने भएकोले पृथ्वीमा रहेका परमेश्वरका मानिसहरूलाई शिक्षा दिने कार्यलाई येशूले विशाल तवरमा विस्तार गर्नुहुनेछ। (लेवी १०:८–११; व्यवस्था २४:८; ३३:८, १०) तसर्थ येशूले गर्नुहुने पौरोहित्य सेवाहरूबाट हामी अहिले नै लाभान्वित हुने भए तापनि भविष्यमा हामी अझै धेरै लाभ उठाउने आशा गर्नसक्छौं।