अध्याय ४
परमेश्वर–उहाँ को हुनुहुन्छ?
१. (क) कुन ईश्वरहरूको उपासना मानिसहरू गर्दछन्? (ख) बाइबलले “ईश्वरहरू” र “परमेश्वरमा” के भिन्नता गरेकोछ?
संसारभरि अनेकौं ईश्वरहरूको उपासना गरिन्छ। शिंटो, बौद्ध, हिन्दू, तथा अन्य वनजातीय धर्महरूमा लाखौं ईश्वरहरू हुन्छन्। येशूका प्रेरितहरूको समयमा ज्यूस र हरमिस नाउँ भएका ईश्वरहरूको उपासना गरिन्थियो। (प्रेरित १४:११, १२) अत: “धैरै ‘देवताहरू’ छन्” भन्ने कुरामा बाइबल सहमत छ तर साथै यसो पनि भन्छ: “हाम्रा निम्ति ता परमेश्वर एउटै हुनुहुन्छ, अर्थात पिता, जसका सबै कुराहरू हुन्।” (१ कोरिन्थी ८:५, ६) ‘यो परमेश्वर को हुनुहुन्छ?’ भनेर तपाईंलाई सोधियो भने तपाईं के भन्नु हुनेछ?
२. परमेश्वर वारे मानिसहरूका के भिन्न-भिन्न दृष्टिकोणहरू छन्?
२ ‘उहाँ प्रभु हुनुहुन्छ’ भनेर अनेकले उत्तर दिनेछन्। अथवा ‘उहाँ स्वर्गमा एउटा आत्मा हुनुहुन्छ’ भन्लान्। एउटा शब्दकोषले परमेश्वरलाई “सर्वोच्च व्यक्ति” भनेकोछ। ‘परमेश्वरको नाउँ के हो?’ भनेर सोध्दा केही मानिसहरूको उत्तर हुन्छ, ‘येशू’। अरूहरू परमेश्वरलाई एउटा व्यक्तिको रूपमा मान्दैनन्, तर एउटा सामर्थ्यपूर्ण शक्तिको रूपमा मान्दछन्, जो सर्वत्र विद्यमान छ। र कति ता परमेश्वरको अस्तित्वमा नै शङ्का गर्दछन्। उहाँको अस्तित्व छ भन्नेकुरामा के हामीहरू निश्चित हुनसक्छौं?
वस्तुत: परमेश्वरको अस्तित्व छ
३. एउटा घर कसरी तयार हुन्छ?
३ एउटा राम्रो भवनलाई देख्दा, त्यसको निर्माता को होला भनेर के तपाईं सोंच्नु हुँदैन? त्यो भवन आफै नै बनिएको हो, त्यसलाई कसैले पनि बनाएको होइन भनेर यदि तपाईंलाई कसैले भन्यो भने के त्यस कुरालाई तपाईं पत्याउनु हुनेछ? कदापि पत्याउनु हुन्न! बाइबलका एउटा लेखकले भनेको छ: “हरेक घर कुनै न कुनै मानिसबाट बनिएको हुन्छ।” सबैलाई यो कुरा थाह छ। त्यसो भए, बाइबल लेखक को यो तर्कसङ्गत निष्कर्षलाई पनि हामी किन स्वीकार नगर्ने: “सबै थोक बनाउने ता परमेश्वरनै हुनुहुन्छ”?—हिब्रू ३:४.
४. अरबौं-अरब तारागणहरू कसरी अस्तित्वमा आए?
४ करौड़ौं ताराहरूले भरिएको यो ब्रह्माण्डलाई हेर्नुहोस्। त्यत्तिका भएता पनि, ती सबै आकाशमा नियम अनुसार हिंड़ेका हुनाले तिनीहरू एकअर्का सँग निर्दिष्ट सम्बन्ध कायम राख्न सकेकाछन्। “यिनीहरूलाई कसले बनाएको होला?” भन्ने एउटा प्रश्न धेरै पहिले सोधिएको थियो। दिइएको उत्तर निकै सार्थक छ: “उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ।” (यशैया ४०:२६) यी करौड़ौं ताराहरू स्वयं बनिएर, कसैको निर्देशन बिना तिनीहरू एउटा अद्भुत क्रम अनुसार चल्ने महान ग्रह मण्डलहरू बनिन पुगेका हुन् भनेर सोंच्नु निश्चयनै मूर्खता हुनेछ!—भजन संग्रह १४:१.
५. (क) एउटा मासु काटने यन्त्रका अलग-अलग भागहरू स्वयं आफै संयुक्त भएर सो यन्त्र तैयार हुने सम्भावना कत्तिको छ? (ख) यसले हाम्रो ब्रह्माण्ड वारे के दर्शाउँदछ?
५ यो अत्यन्तै सुव्यवस्थित ब्रह्माण्ड स्वयं अस्तित्वमा आउन सक्दैन थियो। यसकालागि एउटा बुद्धिमान र शक्तिशाली सृष्टिकर्ताको आवश्यकता थियो। (भजन संग्रह १९:१, २) परमेश्वरमा तिनी किन विश्वास गर्दछन् भनेर एउटा व्यापारीलाई सोध्दा, तिनले यो व्याख्या दिए: उनको कारखानामा मासु काट्ने एउटा यन्त्रका १७ भागहरूलाई एकसाथ जोड्ने काम सिक्न एउटी केटीलाई दुई दिन लाग्छ। उनले भने, “म एउटा साधारण कांटा-चमचा बनाउने उत्पादक हूँ, तर मलाई यो निश्चय थाहा छ कि एउटा मासु काटने यन्त्रको १७ वटा भागलाई एउटा लुगा धुने टब (भाँड़ोमा) भित्र हालेर १७ अरब वर्ष सम्म हल्लाइ रहे पनि एउटा मासु काटने यन्त्र त्यसबाट आफै तैयार भएर आउने छैन।” यो ब्रह्माण्ड र पृथ्वीमा भएका अनेकौं प्रकारका जीवहरू, एउटा मासु काटने यन्त्र भन्दा धेरैनै अधिक जटिल छन्। यस्तो एउटा साधारण यन्त्रकालागि ता एउटा कुशल उत्पादकको आवश्यकता पर्दछ भने, यी सबै ग्रह-मण्डलहरूलाई निर्माण गर्न पनि एउटा सर्वशक्तिमान परमेश्वरको निश्चयनै आवश्यकता पर्छ। उहाँले गर्नु भएका कुराहरूका लागि के उहाँलाई श्रेय दिनु पर्दैन र?—प्रकाश ४:११; प्रेरित १४:१५-१७; १७:२४-२६.
के परमेश्वर एउटा वास्तविक व्यक्ति हुनुहुन्छ?
६. परमेश्वर एउटा वास्तविक व्यक्ति हुनुहुन्छ भनेर हामीहरू कसरी निश्चित हुनसक्छौं?
६ धेरै मानिसहरूले परमेश्वरमा विश्वास गरेतापनि, तिनीहरूले उहाँलाई एउटा व्यक्ति ठान्दैनन्। के उहाँ वास्तवमा एउटा व्यक्ति हुनुहुन्छ? जहाँ बुद्धि हुन्छ त्यहाँ मस्तिष्क पनि हुन्छ नै भन्ने कुरा प्रत्यक्ष देखिन्छ। उदाहरणकालागि, हामीहरू भन्न सक्छौं, ‘मैले आफ्नो मनमा निश्चय गर्न सकेको छैन’। र जहाँ मन छ, त्यहाँ एउटा निश्चित आकार भएको शरीरमा मस्तिष्क पनि हुन्छ। अत: सारा सृष्टिकालागि जिम्मेवार त्यो महान बुद्धि, एउटा महान व्यक्ति, अर्थात सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। उहाँको एउटा भौतिक शरीर छैन। उहाँको एउटा आत्मिक शरीर छ। के एउटा आत्मिक व्यक्तिको शरीर हुन्छ र? हो हुन्छ र यस विषयमा बाइबल भन्छ: “प्राकृतिक शरीर छ भने, आत्मिक शरीर पनि हुन्छ।”—१ कोरिन्थी १५:४४; यूहन्ना ४:२४.
७. (क) परमेश्वरको एउटा वास-स्थान छ भन्ने कुरा हामीले कसरी थाह पाउन सक्दछौं? (ख) उहाँको शरीर छ भनेर के ले देखाउँछ?
७ परमेश्वर आत्मिक शरीर भएको एउटा व्यक्ति हुनाले, उहाँ बस्ने पनि एउटा ठाउँ हुनु पर्दछ। बाइबलले हामीलाई बताएको छ कि स्वर्ग परमेश्वरको बास गर्ने एउटा “स्थापित स्थान हो।” (१ राजा ८:४३) यस अतिरिक्त, हामीहरूलाई यसो पनि भनिएको छ: “ख्रीष्ट ता . . . हाम्रा निम्ति परमेश्वरको सामने प्रकट हुनालाई स्वयं स्वर्गमै प्रवेश हुनुभएको छ।” (हिब्रू ९:२४) केही मानिसहरूले परमेश्वरसँगै स्वर्गमा जीवनको वरदान पाउँनेछन् र त्यस बेला तिनीहरूले पनि आत्मिक शरीर पाउँनेछन्। बाइबलले भने अनुसार, तिनीहरूले परमेश्वरलाई देख्ने छन् र उहाँ जस्तै हुनेछन्। (१ यूहन्ना ३:२) यसले पनि यहिनै देखाउँछ कि परमेश्वर एउटा व्यक्ति हुनुहुन्छ, र उहाँको शरीर पनि छ।
८, ९. (क) एउटा विद्युत उत्पादक कारखानाको उदाहरणले परमेश्वरको दूरगामी शक्तिलाई कसरी प्रदर्शित गर्दछ? (ख) परमेश्वरको पवित्र आत्मा के हो र त्यसले के गर्न सक्दछ?
८ तर कसैले यो सोध्न सक्छ: ‘परमेश्वर स्वर्गमा एउटा निश्चित ठाउँमा बस्ने एउटा वास्तविक व्यक्ति हुनुहुन्छ भने, हरेक ठाउँमा घटित हुने हरेक घटनालाई कसरी देख्न सक्नु हुन्छ? र ब्रह्माण्डको प्रत्यक भागमा कसरी उहाँको शक्ति अनुभव गर्न सकिन्छ?’ (२ इतिहास १६:९) परमेश्वर एउटा व्यक्ति हुनुहुन्छ भन्ने वास्तविकताले उहाँको शक्ति वा महानतालाई कुनै प्रकारले पनि सीमित गर्दैन। नता यस बाट उहाँ प्रति हाम्रो श्रद्धा नै कम हुन दिनु हुन्छ। (१ इतिहास २९:११-१३) यस कुरालाई बुझ्न मदतकालागि, एउटा विद्युत उत्पादक यन्त्रको दूरगामी प्रभावहरू वारे विचार गर्नु होस्।
९ बिजुली घर एउटा शहरमा या शहर नजिक एउटा निश्चित स्थानमा रहन्छ। तर, त्यहाँ उत्पादित बिजुली त्यस क्षेत्रभरि वितरित भएर सबैले बत्ती र शक्ति पाउँछन्। परमेश्वरको पनि त्यस्तै हो। उहाँ स्वर्गमा हुनुहुन्छ। (यशैया ५७:१५; भजन संग्रह १२३:१) तापनि उहाँको पवित्र आत्मा, जो उहाँको अदृश्य शक्ति हो, सारा ब्रह्माण्डभरि अनुभव गर्न सकिन्छ। आफ्नो पवित्र आत्मा द्वारा परमेश्वरले स्वर्ग, पृथ्वी र सबै जीवहरूको सृष्टि गर्नु भयो। (भजन संग्रह ३३:६; उत्पत्ति १:२; भजन संग्रह १०४:३०) यी सबै कुराहरूको सृष्टि गर्न, परमेश्वर शारीरिक रूपमा विद्यमान हुनु पर्ने आवश्यकता भएन। टाढैबाट पनि, उहाँले चाहेका कुराहरू गर्न, आफ्नो पवित्र आत्मा, आफ्नो सकृय शक्ति, पठाउन सक्नु हुन्छ। कस्तो अद्भुत हुनुहुन्छ यो परमेश्वर!—यर्मिया १०:१२; दानियल ४:३५.
कुन प्रकारको व्यक्ति परमेश्वर हुनुहुन्छ
१०. परमेश्वरलाई जान्न सक्ने त्यो कुन एउटा तरीका हो?
१० यदि हामीहरूले परमेश्वरलाई राम्रोसँग चिन्न सक्यौं भने, के उहाँ प्रति हामीहरूको प्रेममा बृद्धि हुन सक्छ ता? ‘शायद हुन सक्छ’ तपाईं भन्नु होला, ‘तर परमेश्वरलाई हामीहरूले देख्न नसक्ने भएकोले, उहाँ वारे हामीहरूले कसरी जानकारी प्राप्त गर्न सक्छौं?’ (यूहन्ना १:१८) बाइबलले एउटा बाटो देखाउँदै यसो भन्छ: “किनकि उहाँको अदृश्य गुण, अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टि देखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ, र यिनीहरूलाई कुनै किसिमको बहाना छैन।” (रोमी १:२०) अत: यदि परमेश्वरले सृष्टि गर्नु भएका सबै कुराहरूको वास्तवमा जाँच गऱ्यौं भने, परमेश्वर कस्तो हुनुहुन्छ भनेर बुझ्नमा हामीहरूले मदत पाउनेछौं।
११. परमेश्वरले बनाउनु भएका चीजहरू बाट उहाँवारे के सिक्खन सक्छौं?
११ हामीहरूले अघिनै बुझि सक्यौं, तारामय आकाश तर्फ हेर्दा परमेश्वरको महानता र अपार शक्तिको बोध हुन्छ! (भजन संग्रह ८:३, ४; यशैया ४०:२६) अब पृथ्वीलाई विचार गरौं। परमेश्वरले यसलाई आकाशमा यस्तो ठाउँमा राख्नु भएको छ, जसले गर्दा यसले सूर्य बाट सही मात्रामा गर्मी र ज्योति पाइ रहन्छ। जल चक्र वारे बिचार गर्नु होस्। पृथ्वीलाई सिंच्न पानी पर्दछ। पानी बगेर खोलामा जान्छ, जो फेरि बगेर गएर समुद्रमा मिल्छ। सूर्यले समुद्र बाट पानीलाई भापको रूपमा माथि उठाउँछ, जो फेरि पृथ्वीलाई सिंच्नकालागि पानी भएर बर्सिन्छ। (उपदेशक १:७) मानिस र जनावरकालागि भोजन, शरण, र अन्य अरू कुराहरूको आवश्यकता पुरागर्न परमेश्वरले अनेक विस्मयकारी चक्रहरू संचालन गर्नु भएकोछ! र यी सबै कुराहरू द्वारा, परमेश्वर कस्तो व्यक्ति हुनु हुन्छ भन्ने विषयमा हामी के बुझ्दछौं? उहाँ महान बुद्धि भएको परमेश्वर हुनुहुन्छ जसले उदारता साथ आफ्नो सृष्टिमा चासो लिनुहुन्छ।—हितोपदेश ३:१९, २०; भजन संग्रह १०४:१३-१५, २४, २५.
१२. तपाईंको आफ्नै शरीरले परमेश्वर वारे के सिकाउँछ?
१२ आफ्नै शरीर वारे विचार गर्नु होस्। यो वाँच्नकालागि मात्र नभएर अझ अरू ढ़ कामकालागि बनाइएको हो। यो वास्तवमा जीवनको आनन्द उठाउनकालागि अद्भुत रूपले रचिएको छ। (भजन संग्रह १३९:१४) हाम्रा आँखाहरूले कालो-सेतो मात्र नदेखेर हरेक रङ्ग देख्न सक्दछन्, र रङ्गै-रङ्गले भरिएको यो संसारलाई हेरेर आनन्दित हुन सक्दछौं। हामीहरू सुंघ्न र चाख्न सक्दछौं। अत: भोजन एउटा आवश्यक कुरा मात्र नभएर यो आनन्दप्रद पनि हुन सक्दछ। यी इन्द्रियहरू जीवनकालागि अत्यावश्यक होइनन्, तर तिनीहरू विचारपूर्ण परमेश्वरबाट आएका वरदान हुन्।—उत्पति २:९; १ यूहन्ना ४:८.
१३. मानिसहरू सँग परमेश्वरले गर्नु भएको व्यवहारबाट तपाईं के बुझ्न सक्नु हुन्छ?
१३ मानवजाति सँग परमेश्वरले गर्नु भएको व्यवहारलाई हेर्दा, उहाँ कुन प्रकारको परमेश्वर हुनुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ। उहाँमा न्यायको तीब्र बोध छ। कुनै खास जातिका मानिसहरू प्रति उहाँ पक्षपात देखाउनु हुन्न। (प्रेरित १०:३४, ३५) उहाँ दयालु र कृपालु हुनुहुन्छ। इस्राएली राष्ट्र, जसलाई उहाँले मिस्रको दासत्व बाट छुटकारा दिलाउनु भयो, तिनीहरू प्रति उहाँले देखाउनु भएको व्यवहार वारे बाइबल यसो भन्दछ: “उहाँचाहिं दयामा पूर्ण भएको हुनाले . . . उहाँले यही सम्झनु भयो, कि तिनीहरू शरीर मात्र हुन्।” तर इस्राएलीहरू बराबरनै अनाज्ञाकारी भए र यसलेगर्दा परमेश्वर दुःखी हुनु भयो। बाइबल भन्दछ: “तिनीहरूले उहाँलाई दुःखित तुल्याए . . . र इस्राएलका पवित्र जनलाई झोंक उठाए।” (भजन संग्रह ७८:३८-४१; १०३:८, १३, १४) तर, उहाँका सेवकहरू उहाँका नियमहरू प्रति आज्ञाकारी हुँदा, उहाँ रमाउनु हुन्छ। (हितोपदेश २७:११) अनि, शत्रुहरूले उहाँका सेवकहरूलाई दु:ख दिंदा परमेश्वरले कस्तो अनुभव गर्नु हुन्छ भनेर वर्णन गर्नु भएको छ: “जसले तिमीहरूलाई छुन्छ त्यसले मेरो आँखाको नानीलाई छुन्छ।” (जकरिया २:८) सबै जाति र राष्ट्रहरूका तुच्छ र नगन्य मानिसहरू प्रति यस्तो स्नेह राख्ने परमेश्वरसँग प्रेम गर्न के तपाईं उत्साहित हुनुहुन्न?—यशैया ४०:२२; यूहन्ना ३:१६.
के परमेश्वर, त्रिएक अथवा येशू हुनुहुन्छ?
१४. त्रिएकको शिक्षा के हो?
१४ यो अद्भुत परमेश्वर को हुनुहुन्छ? कोही भन्छन उहाँको नाउँ येशू हो। अरूहरू भन्छन उहाँ एउटा त्रिएक परमेश्वर हो; यद्यपि “त्रिएक” शब्द बाइबलमा कतै देखिदैन। त्रिएक शिक्षा अनुसार एउटा परमेश्वरमा तीन व्यक्तिहरू सम्मिलित छन्, अर्थात् “पिता, पुत्र, र पवित्र आत्मा परमेश्वर हुन्।” धेरै धार्मिक सङ्गठनहरूले यसलाई “एउटा रहस्य” भनेर स्वीकार गर्दागर्दै पनि, यस प्रकारको शिक्षा सिकाइ रहेकाछन्। परमेश्वर वारे यस प्रकारका दृष्टिकोणहरू के सही हुन?
१५. परमेश्वर र येशू दुई भिन्न व्यक्ति हुन् र दुवै बराबर छैनन् भनेर बाइबलले कसरी देखाउदछ?
१५ के येशूले उहाँ परमेश्वर हुनुहुन्छ भनेर कहिले भन्नुभयो? होइन, उहाँले कहिले पनि भन्नु भएन। बरू, बाइबलमा उहाँलाई “परमेश्वरको पुत्र” भनिएको छ। र उहाँले भन्नु भयो: “पिता म भन्दा महान् हुनुहुन्छ।” (यूहन्ना १०:३४-३६; १४:२८) अनि, येशूले व्याख्या गर्नु भयो कि यस्ता कुराहरू पनि छन् जसलाई पिता बाहेक कसैले जान्दैनन्, न पुत्रले नता स्वर्गदूतहरूले। (मर्कूस १३:३२) यसको अतिरिक्त, येशूले एउटा अवसरमा परमेश्वरलाई यसो भनेर प्रार्थना गर्नु भयो: “मेरो इच्छा होइन्, तर तपाईंकै इच्छा बमोजिम होस्।” (लूका २२:४२) यदि येशू सर्वशक्तिमान परमेश्वर हुनु भएको भए उहाँले आफैसँग प्रार्थना गर्नु हुने थिएन, होइन र? यथार्थमा, येशूको मृत्यु पछि, धर्मशास्त्र भन्दछ: “यिनै येशूलाई परमेश्वरले बिउँताउनु भयो।” (प्रेरित २:३२) त्यसो हुनाले, सर्वशक्तिमान परमेश्वर र येशू दुई बेग्लाबेग्लै व्यक्तिहरू हुनुहुन्छ। उहाँको मृत्यु र पुनरुत्थान र स्वर्गारोहण उपरान्त पनि येशू आफ्नो पिता बराबर हुनु भएन।—१ कोरिन्थी ११:३; १५:२८.
१६. येशूलाई “ईश्वर” भनेर उल्लेख गरेको भएता पनि, उहाँ सर्वशक्तिमान परमेश्वर होइन भनेर के ले देखाउँछ?
१६ कसैले सोध्न सक्छ, ‘तर के येशूलाई बाइबलमा ईश्वर भनिएको छैन र?’ हो, भनिएको छ। शैतानलाई पनि ता ईश्वर भनिएको छ। (२ कोरिन्थी ४:४) यूहन्ना १:१ मा येशूलाई “वचन” भनिएको छ र कुनै कुनै बाइबल अनुवादहरूले यस ठाउँमा यसो भन्दछ: “आदिमा वचन थियो, औ वचन परमेश्वरसँग थियो, औ वचन परमेश्वरनै थियो।” तर हेर्नुहोस्, दोश्रो पदले भन्दछ कि वचन “आदिमा परमेश्वरसँग” हुनुहुन्थियो। र जबकि मानिसहरूले येशूलाई देखे, १८ वाँ पदले भन्दछ, “परमेश्वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।” (औथोराइज्ड वा किङ्ग जेम्स भर्सन) अत: कुनै-कुनै अनुवादले मूल भाषाको १ पदको सही अर्थ दर्शाउँदै यो पदलाई यस प्रकारले अनुवाद गरेका छन्: “वचन परमेश्वरसँग थियो, र वचन दैवी थियो,” वा “एउटा ईश्वर थियो”, अर्थात वचनमा ईश्वरीय शक्ति थियो। (यान अमेरिकन ट्रान्सलेशन) स्पष्ट रूपले, येशू सर्वशक्तिमान परमेश्वर हुनुहुन्न। वास्तवमा, येशूले आफ्नो पितालाई “मेरो परमेश्वर” र “एक मात्र सत्य परमेश्वर” भन्नु भएको छ।—यूहन्ना २०:१७; १७:३.
१७. येशूका चेलाहरू माथि पवित्र आत्मा खनाइएको हुनाले पवित्र आत्मा एउटा व्यक्ति होइन भनेर कसरी सिद्ध हुन्छ?
१७ त्रिएकमा हुने तेश्रो व्यक्ति कहलिएको, “पवित्र आत्मा” वारे हामीहरूले बुझि सकेकाछौं कि यो एउटा व्यक्ति नभएर परमेश्वरको सक्रिय शक्ति हो। बप्तिस्मा दिने यूहन्नाले पानीमा अरूहरूलाई बप्तिस्मा दिंदा, येशूले पवित्र आत्मा द्वारा बप्तिस्मा दिनु हुनेछ भनेका थिए। त्यसकारण, जसरी पानी एउटा व्यक्ति होइन, त्यसरीनै पवित्र आत्मा पनि व्यक्ति होइन। (मत्ती ३:११) येशूको मृत्यु र पुनरुत्थान पछि, येरूशेलममा भेला भएका आफ्ना अनुयायीहरू माथि पवित्र आत्मा खनाइएको बेलामा यूहन्नाको अग्रिमवाणी पूरा भयो। बाइबल भन्दछ: “तिनीहरू सबै पवित्र आत्माले भरिए।” (प्रेरित २:४) के तिनीहरू एउटा व्यक्तिले “भरिएका” थिए? होइन, तिनीहरू परमेश्वरको सक्रिय शक्तिले भरिएका थिए। त्यसकारण, यी तथ्यहरूले स्पष्ट पार्दछ कि त्रिएक बाइबलको शिक्षा होइन। वास्तवमा, येशू पृथ्वीमा आउनु भन्दा धेरै अघि देखिन्, प्राचीन मिस्र र बेबिलन जस्ता ठाउँहरूमा ईश्वरलाई तीन-तीनको समूहमा, अर्थात त्रिएकको रूपमा पुज्ने चलन थियो।
परमेश्वरको नाउँ
१८. (क) के “परमेश्वर” सर्वशक्तिमान परमेश्वरको व्यक्तिगत नाउँ हो? (ख) उहाँको व्यक्तिगत नाउँ के हो?
१८ निस्सन्देह, तपाईंले चिनेका जति सबैको आफ्नो-आफ्नो नाउँ छ। परमेश्वरलाई पनि अरूहरूबाट भिन्न पार्न उहाँको एउटा व्यक्तिगत नाउँ छ। कसैले सोध्न सक्छ, ‘के “परमेश्वर” उहाँको नाउँ होइन?’ होइन, “परमेश्वर” ता एउटा पदवी मात्र हो, जस्तोकि “राष्ट्रपति”, “राजा” र “न्यायाधीश” पदवी हुन्। हामीले परमेश्वरको नाउँ बाइबलबाट सिक्दछौं, जहाँ त्यो नाउँ करीब ७००० पटक उल्लेखित छ। उदाहरणकालागि, किङ्ग जेम्स भर्सनमा, भजन संग्रह ८३:१८ मा यसो लेखिएको छ: “तिनीहरूले जानून्, कि तपाईं जसको नाउँ यहोवा हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” यस वाहेक, धेरै अरू बाइबलहरूमा परमेश्वरको नाउँ प्रकाश १९:१-६ मा यो वाक्यांश “हेल्लेलूयाहको” रूपमा दिइएको छ। यसको अर्थ हो “याहको प्रशंसा गर्नु,” र यहोवाको नाउँको संक्षिप्त रूप ‘याह’ हो।
१९. (क) आफ्नो बाइबलमा परमेश्वरको नाउँ देखेर कुनै-कुनै मानिसहरू किन छक्क पर्छन्? (ख) किंग जेम्स भर्सनमा यो नाउँ कहाँ पाइन्छ?
१९ कोई-कोई ता आफ्नो बाइबलमा परमेश्वरको नाउँ देख्ता आश्चर्यचकित हुन्छन्। कारण के हो भने, तिनीहरूले प्रयोग गर्ने बाइबलमा परमेश्वरको नाउँ मुस्किलले प्रयोग भएको छ। उदाहरणकालागि, किङ्ग जेम्स भर्सनमा “यहोवा” नाउँ सिर्फ प्रस्थान ६:३, भजन संग्रह ८३:१८ र यशैया १२:२ र २६:४ मा प्रयोग गरिएको छ। तथापि, जब जब यस बाइबलले परमेश्वरको नाउँलाई “प्रभु” वा “परमेश्वरको” उपाधि द्वारा अनुवाद गर्दछ, त्यसबेला सँधैनै यो उपाधि ठूला अक्षरहरूमा लेखिएको हुन्छ, जसबाट यसलाई सानो अक्षरहरूमा लेखिएको “प्रभु” र “परमेश्वर” शब्द बाट पृथक पारिएको पाइन्छ। यो कुरा भजन संग्रह ११०:१ मा हेर्नुहोस्।
२०. (क) परेश्वरको नाउँ अक्सर किन प्रयोग गरिंदैन? (ख) गरिनु पर्छ कि पर्दैन?
२० तपाईं सोध्नु होला, ‘बाइबलको मूल-पाठमा परमेश्वरको नाउँ जहाँ जहाँ लेखिएको थियो, ती सबै ठाउँमा आज परमेश्वरको नाउँ किन प्रयोग गरिन्दैन? त्यसको ठाउँमा सरदर प्रभु र परमेश्वर जस्ता उपाधिहरू मात्र किन प्रयोग गरियो?’ परमेश्वरको नाउँ यहोवा अहिले प्रयोग गरिएको कारण र धेरै समय सम्म सो नाउँको किन प्रयोग भएन भन्नेकुरा अमेरिकन स्टेन्डर्ड भर्सनले आफ्नो प्रस्तावनामा व्याख्या गर्दै भनेकोछ: “ईश्वरको पवित्र नाउँ जताततै प्रयोग गर्नु हुँदैन भन्ने यहूदी अंधविश्वास को प्रभाव अंग्रेजी वा अन्य अनुवादहरूमा अब देखिन् पर्नु हुँदैन भनेर, ध्यानपूर्वक सोंचविचार गरे पछि, अमेरिकन संशोधकहरू, सर्वसम्मतिले एउटा दृढ़ निष्कर्षमा पुगे . . . । यो व्यक्तिगत नाउँ आफ्नो प्रचुर पवित्र सम्बन्धहरूका साथ यस पवित्र मूल-पाठमा अथवा आफ्नो असंदिग्ध अधिकार भएको ठाउँमा पुन:स्थापित गरिएको छ।” हो, बाइबललाई अंग्रेजीमा अनुवाद गर्ने ती मानिसहरूलाई परमेश्वरको नाउँ हटाउने कारणहरू उपयुक्त लागेन। त्यसकारण, तिनीहरूले त्यस नाउँलाई बाइबलमा आफ्नो न्यायोचित ठाउँमा पुन:स्थापित गरिदिए।
२१. कैथोलिक डूवे भर्सनले यहोवा नाउँ वारे के भन्दछ?
२१ तथापि, वास्तवमा “यहोवा”, परमेश्वरको नाउँ नभएको हुनाले, यो शब्दको प्रयोग गर्न हुँदैन भनेर तर्क गर्नेहरू पनि छन्। उदाहरणकालागि, कैथोलिक डूवे भर्सन, जसको मूल-पाठमा परमेश्वरको नाउँ प्रयोग गरिएकै छैन, प्रस्थान ६:३ को पदको पाद टिप्पणीमा यसो भन्दछ: “केही आधुनिकहरूले यहोवा नाउँ रचेका छन् . . . हिब्रू मूल-पाठमा दिइएको यस नाउँको सही उच्चारण धेरै समय देखिन् प्रयोग नभएको हुनाले हराइ सकेको छ।”
२२. (क) हिब्रू भाषामा परमेश्वरको नाउँ कसरी लेखिएको छ? (ख) शुरूमा परमेश्वरको नाउँ कसरी उच्चारण गरिन्थियो भनेर जान्न किन एउटा समस्या भएको छ?
२२ हो, कैथोलिक बाइबलले यहाँ स्वीकार गरेको छ, कि परमेश्वरको नाउँ हिब्रू मूल-पाठमा अवश्य देखा पर्दछ, किनभने बाइबलको प्रथम ३९ वटा पुस्तक हिब्रू भाषामा लेखिएको थियो। त्यस्मा सो नाउँ हिब्रू अक्षरहरू YHWH (यहवह) वाट जनाइएको छ। प्राचीन समयमा हिब्रू भाषामा, शब्दहरूको सही ध्वनि बुझ्न मदद दिने अ, आ, इ, ई, उ, ऊ जस्ता स्वरवर्णहरू लेख्ने चलन थिएन। त्यसकारण, य ह व ह व्यञ्जनहरूसँग हिब्रूहरूले कुन स्वरवर्णहरूको प्रयोग गर्दथिए भनेर थाह गर्ने आज हामीहरूसँग कुनै तरीका नै छैन।
२३. bldg लेखेर Building शब्द उच्चारण गर्ने उदाहरणले, परमेश्वरको नाउँ उच्चारण गर्ने समस्या हलगर्नमा कसरी सहायता मिल्ने छ?
२३ यो समस्या सुलझाउन, अंग्रेजी भाषामा “building” शब्दमाथि विचार गर्नुहोस्। मानीलिनुहोस् कि यो शुरू देखिनै bldg अर्थात् यसको संक्षिप्त रूपमा लेखियो र समय बित्दै जाँदा यो शब्दको उच्चारण गर्नै छाड़ियो। पछि गएर, आज देखिन् १,००० वर्ष पश्चात् बाँच्ने मानिसहरूले यो “bldg” लेखिएको देख्दा यसको उच्चारण कसरी गर्नु पर्ने हो, सो कसरी थाह लाउन सक्ने छन्? किनभने तिनीहरूले यसलाई उच्चारण गरिएको सुनेकै हुनेछैन र कुन स्वरवर्णहरू त्यस शब्दमा प्रयोग भएको थियो भनेर निश्चय रूपले भन्न पनि सक्नेछैनन्। परमेश्वरको नाउँसँग पनि त्यस्तै भएको छ। केही विद्वानहरूले “याहवेह” शब्द सही हो भनेर सोंचेता पनि, यसको सही उच्चारण कसरी हुन्थियो सो थाह छैन। तथापि, “यहोवा” शब्द धेरै शताब्दीहरू देखिन् प्रयोगमा छ र यहीनै सुप्रसिद्ध छ।
२४. (क) एकरूपता राख्न, हामीहरूले परमेश्वरको नाउँ प्रयोग गर्न किन उचित छ? (ख) प्रेरित १५:१४ को आधारमा परमेश्वरको नाउँको प्रयोग गर्नु किन महत्वपूर्ण छ?
२४ तापनि, शुरूमा परमेश्वरको नाउँको जसरी उच्चारण हुन्थियो ठीक् त्यसैगरी हामीहरूले उच्चारण गर्न नसकेता पनि के परमेश्वरको नाउँ प्रयोग गर्नु उचित हो र? बाइबलमा भएका अन्य व्यक्तिहरूका नाउँहरू हामी प्रयोग गर्दछौं, यद्यपि मूल हिब्रूमा जसरी उच्चारण हुन्थियो, ठीक त्यसैगरी हामीहरू आज ती नाउँहरूको उच्चारण गर्दैनौं। उदाहरणकालागि, येशूको हिब्रूमा “येशुआ” भनेर उच्चारण गरिन्छ। त्यस्तै, हाम्रो भाषामा चलन-चल्तीमा प्रयोग हुने गरी चाहे “याहवेह”, या “यहोवा” अथवा अन्य जे उच्चारण हुन्छ, बाइबलमा प्रकाशित परमेश्वरको नाउँ प्रयोग गर्नु उचित हुनेछ। अनुचित के हो भने, परमेश्वरको नाउँ प्रयोग नगर्नु। किन? किनभने यस नाउँलाई प्रयोग नगर्नेहरू, परमेश्वरले “उहाँको नाउँको निम्ति” अलग्ग राखिएकाहरूसँग सम्मिलित हुन सक्तैनन्। (प्रेरित १५:१४) हामीहरूले परमेश्वरको नाउँ जान्नु मात्र होइन, पृथ्वीमा हुँदा येशूले गरे जस्तै, हामीहरूले पनि उहाँको नाउँको अरूहरूका अगाड़ि प्रशंसा गर्नु पर्दछ।—मत्ती ६:९; यूहन्ना १७:६, २६.
उद्देश्यभएको परमेश्वर
२५. (क) परमेश्वरको बिषयमा कुन कुराहरू हामीलाई बुझ्न गाह्रो पर्दछ? (ख) सृष्टि गर्न यहोवालाई कुन कुराले प्रेरित गऱ्यो?
२५ हामीहरूलाई बुझ्न गाह्रो भएता पनि, परमेश्वरको नता सुरूआत थियो नता कहिले अन्तनै हुनेछ। उहाँ “अनन्त कालको राजा” हुनुहुन्छ। (भजन संग्रह ९०:२; १ तिमोथी १:१७) सृष्टि प्रारम्भ गर्नु भन्दा अघि, यहोवा विश्वव्यापी अन्तरिक्षमा एकलै हुनुहुन्थियो। तथापि उहाँले एकलोपना महसूस गरेको हुन सक्तैन, कारण उहाँ आफैमा पूर्ण हुनुहुन्छ र उहाँलाई कुनै कुराको अभाव छैन। यो ता उहाँको प्रेमले गर्दा, अरूहरू पनि जीवन पाएर आनन्दित होउन् भनेर उहाँले सृष्टिको प्रारम्भ गर्नु भएको हो। परमेश्वरको प्रथम सृष्टि उहाँ जस्तै आत्मिक व्यक्तिहरू थिए। मानिसहरूकालागि पृथ्वी तैयार गर्नु भन्दा पहिले देखिनै स्वर्गीय पुत्रहरूको एउटा ठूलो सङ्गठन उहाँको थियो। तिनीहरूले आफ्नो जीवनमा र उहाँले तिनीहरूलाई दिनु भएको काममा ठूलो आनन्द उठाउँन् भन्ने यहोवाको उद्देश्य थियो।—अय्यूब ३८:४, ७.
२६. पृथ्वीकालागि परमेश्वरको उद्देश्य अवश्यनै पूरा हुनेछ भनेर हामीहरू किन निश्चित हुनसक्छौं?
२६ पृथ्वी तयार गरिए पछि, यहोवाले एउटा दम्पती, आदम र हव्वालाई, प्रमोदबन बनाइ सकिएको पृथ्वीको एउटा भागमा राख्नु भयो। तिनीहरूले छोरा-छोरीहरू पाउन र ती छोरा-छोरीहरूले उहाँको आज्ञा मानून् र उपासना गरून्, र त्यो प्रमोदबनलाई सारा पृथ्वीभरि फैलाउन् भन्ने उहाँको चाहना थियो। (उत्पत्ति १:२७, २८) तर, त्यो महान उद्देश्यमा बाधा उत्पन्न हुनगयो भनेर हामीहरूले बुझि सकेका छौं। आदम र हव्वाले परमेश्वरको आज्ञा मान्न रुचाएनन् जसले गर्दा उहाँको उद्देश्य पूरा हुनसकेन। तर यो पूरा हुनेछ, किनभने उहाँको उद्देश्यको पूर्ति नभएमा यहोवाले हार मानेझैं हुनेछ। र यो कुरा उहाँले कहिले गर्नु हुनेछैन! उहाँले घोषणा गर्नु भएकोछ “म आफ्नो सबै इच्छा पूरा गर्नेछु, मैले यो अभिप्राय गरेको छु र म त्यो गर्नेनै छु।”—यशैया ४६:१०, ११.
२७. (क) परमेश्वर प्रति हामीहरू किन जवाफदेही छौं? (ख) त्यो कुन प्रश्न हो जसवारे हामीहरूले गम्भीरतापूर्वक सोंचनु पर्दछ?
२७ परमेश्वरको उद्देश्यमा तपाईंको ठाउँ कहाँ हो भनेर अब के तपाईं बुझ्न सक्नु हुन्छ? परमेश्वरको इच्छाको वास्तै नगरी, आफूलाई जे मन लाग्यो सो गरेर हुँदैन। शैतान, आदम र हव्वाले पनि यस्तै गरेका थिए। परमेश्वरको इच्छा के हो भन्ने कुरा तिनीहरूलाई थाह थियो, तर त्यसको पालना तिनीहरूले गरेनन्। र परमेश्वरले त्यसकालागि तिनीहरूलाई जिम्मेवार ठहराउनु भयो। के हामीहरू पनि यहोवाको सामुन्ने जिम्मेवार छौं? छौं, किनभने परमेश्वर हाम्रो जीवनको स्रोत हुनुहुन्छ। र हाम्रो जीवन परमेश्वर माथि निर्भर छ। (भजनसंग्रह ३६:९; मत्ती ५:४५) त्यसकारण, हाम्रो निम्ति परमेश्वरले रचनु भएको उद्देश्य अनुसार हामीहरू कुन हद सम्म आफ्नो जीवन बिताउँदछौं? यसवारे बड़ो गम्भीरतापूर्वक हामीहरूले विचार गर्नु पर्दछ, किनभने अनन्त जीवन पाउने हाम्रो मौका यसमा निर्भर गर्दछ।
यहोवाको उपासना कसरी गर्ने
२८. परमेश्वरको उपासनाकालागि केही मानिसहरू कुन कुरालाई सहायताको रूपमा प्रयोग गर्दछन्?
२८ यहोवाको उपासना हामीहरू कसरी गर्दछौं, त्यो महत्वपूर्ण छ। हामीहरूलाई सिकाइएको तरीका भन्दा भिन्न भएता पनि, उहाँले चाहेको तरीका अनुसार हामीहरूले उहाँको उपासना गर्नु पर्दछ। उदाहरणकालागि, केही मानिसहरू आफ्नो उपासनामा मूर्तिहरूको प्रयोग गर्दछन्। तिनीहरू भन्लान कि तिनीहरूले मूर्तिको उपासना गरेका होइनन्, तर त्यसलाई देख्दा र छुने गर्दा परमेश्वरको उपासना गर्नमा तिनीहरूले सहायता पाउँदछन्। तथापि मूर्तिहरूको सहायता द्वारा हामीहरूले उहाँको उपासना गरेको, के परमेश्वर चाहनु हुन्छ?
२९. उपासना गर्दा मूर्तिहरूको प्रयोग गर्नु गलत हो भनेर बाइबलले कसरी देखाउदछ?
२९ होइन, उहाँ कदापि त्यस्तो चाहनु हुँदैन। र त्यसै कारण इस्राएलीहरूको सामुन्ने परमेश्वर कुनै पनि दृश्य रूपमा कहिले प्रकट हुनु भएन भनेर तिनीहरूलाई मोशाले भने। (व्यवस्था ४:१५-१९) वास्तविकता यो हो, दस आज्ञाहरू मध्य एक आज्ञाले यसो भन्दछ: “तैंले आफ्नो निम्ति खोपेर कुनै मूर्ति नबनाउनू, . . . तँ तिनीहरूका सामने ननिउरनू, तिनीहरूको सेवा नगर्नू।” (प्रस्थान २०:४, ५, दी कैथोलिक जेरूसेलम बाइबल) मात्र यहोवाको उपासना हुनुपर्दछ। मूर्ति बनाउनु, त्यसको सामने निउरनू, र यहोवा बाहेक अन्य अरूको उपासना गर्नु गलत हो भनेर बारम्बार बाइबलले बताउँछ।—यशैया ४४:१४-२०; ४६:६, ७; भजन संग्रह ११५:४-८.
३०. (क) येशू र उहाँका प्रेरितहरूले के भन्नुभयो जसबाट मूर्तिको प्रयोग गलत हो भनेर बुझिन्छ? (ख) व्यवस्था ७:२५ अनुसार मूर्तिहरूलाई के गर्नु पर्दछ?
३० त्यसकारण, हामीहरूले अपेक्षा गरे अनुसार, येशूले उपासनामा मूर्तिको प्रयोग कहिले गर्नु भएन। उहाँले भन्नुभयो “परमेश्वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पुज्नेहरूले आत्मा र सत्यतामा पुज्नेछन्।” (यूहन्ना ४:२४) यही परामर्श अनुसार उहाँका कुनै पनि प्रारम्भका चेलाहरूले उपासनामा सहायताकालागि मूर्तिको प्रयोग गरेनन्। वास्तवमा, उहाँका प्रेरित पावलले यसो लेखे: “हामी दृष्टिले होइन तर विश्वासले हिंड़छौं।” (२ कोरिन्थी ५:७) र उहाँका प्रेरित यूहन्नाले चेतावनी दिएको छ: “मूर्तिहरूबाट जोगिएर बस।” (१ यूहन्ना ५:२१) आफ्नो घरमा चारै तिर हेर्नुहोस् र तपाईंले यो सल्लाह मान्नु भएको छ वा छैन भनेर औफैले आफैलाई सोधनुहोस्।—व्यवस्था ७:२५.
३१. (क) परमेश्वरको कुनै नियमको कारण हामीहरूले बुझ्न नसकेता पनि त्यसको पालन गर्न के ले हामीहरूलाई प्रेरित गर्नेछ? (ख) हामीहरूले के गर्ने प्रयत्न गर्नु पर्दछ, र कुन निमंत्रणा हामीहरूले स्वीकार गर्नु पर्दछ?
३१ सृष्टिकर्ता यहोवाले निर्देशित गरेको ढङ्गमा उहाँको उपासना गरेमा निश्चयनै हामीहरूले साँचो खुसी पाउनेछौं। (यर्मिया १४:२२) हाम्रो अनन्त कल्याणलाई ध्यानमा राख्दै, उहाँका आवश्यकताहरू हाम्रै भलाइकालागि हुन् भनेर बाइबल भन्दछ। यो सत्य हो, परमेश्वरले दिनु भएका कुनै खास नियमहरू यतिका महत्वपूर्ण किन छन्, र यसले हामीलाई कसरी फायदा पुऱ्याउदछ भनेर हाम्रो सीमित ज्ञान र अनुभवले गर्दा बेला-बेलामा पूर्ण रूपले मूल्याङ्कन गर्न सक्दैनौं होला। तर परमेश्वर हामीहरू भन्दा धेरैनै ज्ञान राख्नु हुन्छ भन्ने हाम्रो दृढ़ विश्वासले गर्दा उहाँको आज्ञा पूर्ण हृदयले पालन गर्न हामीहरूलाई प्रेरित गर्नु पर्ने हो। (भजनसंग्रह १९:७-११) त्यसो भए, यहोवा वारे सिक्न सक्ने जति सबै कुरा सिक्ने हर कोशिश गर्दै, यो निमन्त्रणा स्वीकार गरौं: “आओ, दण्वत् गरौं र निहुरौं; हाम्रा सृष्टिकर्ता, यहोवाकै सामु घुँड़ा टेकौं। किनभने उहाँनै हाम्रा परमेश्वर हुनुहुन्छ, र हामी उहाँको खर्कका प्रजा र उहाँका हाथका भेड़ा हौं।”—भजनसंग्रह ९५:६, ७.
[पृष्ठ ४२-मा भएको पेटी]
यी चार ठाउँहरू जहाँ परमेश्वरको नाउँ किंग जेम्स भर्सनमा पाइन्छ, यहाँ देखाइएको छ
[पृष्ठ ३४, ३५-मा भएका चित्रहरू]
यदि घरको कोई निर्माता छ भने, . . . निश्चयनै यो यस्तो जटिल ब्रह्माण्डको पनि एउटा निर्माता हुनै पर्दछ
[पृष्ठ ३९-मा भएको चित्र]
येशूले परमेश्वरलाई प्रार्थना गर्नु भयो, र उहाँको आफ्नो इच्छा होइन, परमेश्वरको इच्छा अनुसार होस् भनेको हुनाले दुबैजना एउटा व्यक्ति हुनै सक्दैन
[पृष्ठ ४०, ४१-मा भएको चित्र]
पवित्र आत्मा एउटा व्यक्ति कसरी हुन सक्छ, जबकि एकै समयमा १२० जना चेलाहरू त्यसबाट भरिएका थिए?
[पृष्ठ ४५-मा भएको चित्र]
के उपासनामा मूर्तिहरूको प्रयोग उचित हो?