हरेस नखाई जीवनको दौड दौडनुहोस्!
“हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं।”—हिब्रू १२:१.
१, २. कुन घटनाहरूले गर्दा यहोवाका सेवकहरू यी आखिरी समयमा रोमाञ्चित भएका छन्?
हामी रोमाञ्चक अनि चुनौतीपूर्ण समयमा बाँचिरहेका छौं। अस्सी वर्षअघि १९१४ मा येशू, परमेश्वरको स्वर्गीय राज्यको गद्दीनसिन राजा हुनुभयो। त्यसै समयदेखि “प्रभुको दिन” अनि वर्तमान रीतिरिवाजको “अन्तको समय” पनि सुरु भयो। (प्रकाश १:१०; दानियल १२:९) त्यहाँदेखि यता मसीहीहरूले रत्तीभर विलम्ब नगरी जीवनको दौड दौडनुपरेको छ। यहोवाका उद्देश्य पूरा गर्न निरन्तर कुदिरहने यहोवाको दिव्यरथ अर्थात् स्वर्गीय संगठन सँगसँगै कुदिरहन तिनीहरूले भरमग्दुर प्रयास गरेका छन्।—इजकिएल १:४-२८; १ कोरिन्थी ९:२४.
२ अनन्त जीवन हासिल गर्न ‘दौडिरहेका’ परमेश्वरका जनहरूले आनन्द पाएका छन् त? अवश्य! येशूका बाँकी भाइहरू जम्मा गरिदैं गरेको देख्न पाउँदा तिनीहरू प्रफुल्लित भएका छन्। अनि अहिले १,४४,००० का शेष जनहरूमाथि अन्तिम छाप लगाउने काम सकिनै लागिसकेको छ भन्ने थाह भएकोले हर्षित छन्। (प्रकाश ७:३, ४) यसबाहेक, यहोवाले नियुक्त गर्नुभएका राजाले “पृथ्वीको कटनी” गर्न हँसिया लगाइसक्नुभएको छ भन्ने बुझेकोले तिनीहरू रोमाञ्चित पनि छन्। (प्रकाश १४:१५, १६) अनि साँच्चै भन्ने हो भने कति ठूलो कटनी भइरहेको छ! (मत्ती ९:३७) “कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़[का]” मानिसहरू अहिलेसम्ममा पचास लाखभन्दा धेरै जम्मा भइसकेका छन्। (प्रकाश ७:९) अन्ततः यो ठूलो भीड कति ठूलो हुने हो, कसैले भन्न सक्दैन। भन्न सकोस् पनि कसरी, आखिर कसैले गन्न नसक्ने भीड हो यो।
३. कस्ता बाधा अड्चनहरूको बावजूद आनन्दित रहने मनोभाव सधैं खेती गर्ने कोसिस गर्नुपर्छ?
३ हो, हामी छिट्छिटो दौडन नसकोस् भनेर शैतान हामीलाई छिर्की लगाउन खोज्छ। (प्रकाश १२:१७) अनि युद्ध, अनिकाल, महामारीलगायत हाम्रो समयलाई अन्तको दिन भनी चिनाउने थुप्रै कठिनाइहरू उछिनेर दौडिरहनु हामीलाई पक्कै पनि सजिलो भएको छैन। (मत्ती २४:३-९; लूका २१:११; २ तिमोथी ३:१-५) तथापि, हाम्रो दौड सकिनै लागेको हुँदा हृदय खुशीले उफ्रन्छ। पावलले आफ्ना सँगी मसीहीहरूलाई जुन मनोभाव देखाउन आग्रह गरेका थिए, त्यही मनोभाव देखाउने हामी प्रयत्न गर्छौं: “प्रभुमा सधैं आनन्द गर। म फेरि पनि भन्छु, आनन्द गर।”—फिलिप्पी ४:४.
४. फिलिप्पीका मसीहीहरूले कस्तो मनोभाव देखाए?
४ पावलले त्यतिबेला जसलाई यी कुरा भनेका थिए, ती मसीहीहरू पक्कै पनि आफ्नो विश्वासमा आनन्दित थिए भन्ने कुरामा दुइ मत छैन। किनकि तिनले “प्रभुमा आनन्दित होओ” भनेका थिए। (फिलिप्पी ३:१) फिलिप्पी उदार, मायालु हुनुका साथै जोस र उत्साह लिएर सेवा गर्ने मण्डली थियो। (फिलिप्पी १:३-५; ४:१०, १४-२०) तर प्रथम शताब्दीका सबै मसीहीहरूसित त्यस्तो मनोवृत्ति थिएन। उदाहरणका लागि, पावलले हिब्रूको पत्र लेखेर दिएका यहूदी मूलका केही मसीहीहरू चिन्ताको कारण भएका थिए।
“झन् बढ़ी उत्कट ध्यान दिनु”
५. (क) पहिलो मसीही मण्डली स्थापित हुँदा हिब्रू मसीहीहरूले कस्तो जोस देखाए? (ख) सा.यु. ६० तिर केही हिब्रू मसीहीहरूको मनोभाव कस्तो थियो? वर्णन गर्नुहोस्।
५ विश्व इतिहासको पहिलो मसीही मण्डली सा.यु. ३३ तिर यरूशलेममा स्थापित भएको थियो। त्यसका सदस्यहरू जन्मजात यहूदी अनि धर्म परिवर्तन गरी यहूदी बन्ने गैरयहूदीहरू थिए। त्यतिबेला तिनीहरूको जोस कस्तो थियो, सतावटको सामना गर्नुपर्दा समेत तिनीहरूले कस्तो उत्साह र आनन्द अनुभव गरे, सो जान्न प्रेरितहरूको पुस्तकको पहिलो केही अध्यायहरू पढे पुग्छ। (प्रेरित २:४४-४७; ४:३२-३४; ५:४१; ६:७) तथापि, समय बित्दै जाँदा परिवर्तन आउन थाल्यो। फलतः यहूदी मूलका थुप्रै मसीहीहरूले आफ्नो रफ्तार कम गर्न थालेका प्रमाणहरू हामी पाउँछौं। सा.यु. ६० तिर यी मसीहीहरूको स्थिति कस्तो थियो, त्यसबारे टिप्पणी गर्दै एउटा किताब यसो भन्छ: “सुस्तीपन, थकान, नैराश्य अनि आशाविहीनताले तिनीहरूलाई छोपेको थियो। यी मसीहीहरूले हेलचेक्य्राइँ गरिहेका थिए अनि दैनिक जीवनमा भइरहने कुराहरूले गर्दा विश्वास पनि हराउँदै गइरहेका थिए। तिनीहरू भन्नका लागि मसीही त थिए तर आफ्नो बोलावटले गर्दा जुन महिमा पाएका थिए, त्यसको रत्तीभर मूल्यांकन गर्दैनथे।” अविश्वसनीय! कसरी अभिषिक्त मसीहीहरू यस्तो स्थितिमा पुग्नसके? पावलले (सा.यु. ६१ तिर) हिब्रूहरूलाई लेखेको पत्रका केही अंशहरू विचाऱ्यौं भने यसको जवाफ पाउनसक्छौं। यसरी विचार गऱ्यौं भने हामी पनि तिनीहरूजस्तै कमजोर आध्यात्मिक स्थितिमा खस्कनदेखि बच्नसक्नेछौं।
६. मोशालाई दिइएको व्यवस्थाअनुसार चढाइने उपासना र येशू ख्रीष्टको विश्वासमाथि आधारित उपासनाबीचका केही भिन्नताहरू के हुन्?
६ हिब्रू मूलका मसीहीहरू पहिले यहूदीधर्म मान्ने गर्थे। यहूदीधर्म, त्यस्तो धर्म थियो जो यहोवाले मोशालाई दिनुभएको व्यवस्था पालन गर्ने दाबी गर्थ्यो। यहूदी मूलका थुप्रै व्यक्तिहरू मसीही भइसकेपछि पनि अझै यहूदी व्यवस्थादेखि आकर्षित भइरहेका थिए जस्तो देखिन्छ। सायद, शताब्दीयौंदेखि यहूदीधर्म यहोवासित सम्पर्क राख्ने एक मात्र माध्यम भएकोले होला। यसबाहेक, यहूदी व्यवस्थाको पूजाहारीगिरी, नियमित बलिदान अनि यरूशलेमस्थित विश्वविख्यात मन्दिर पनि भएकोले यहूदीधर्म अरू किसिमका उपासनाभन्दा भिन्नै अनि आकर्षक थियो। तर मसीहीधर्म भने त्यस्तो थिएन। मसीहीधर्म मान्ने व्यक्तिसित मोशाको जस्तो आध्यात्मिक दृष्टिकोण हुनुपर्थ्यो। किनकि मोशाले “आफ्नो दृष्टि [भावी] प्रतिफलतिर लाएका थिए” र “अदृश्यलाई देखेझैं गरी तिनी स्थिर रहे।” (हिब्रू ११:२६, २७) यहूदी मूलका थुप्रै मसीहीहरूसित स्पष्टतः त्यस्तो आध्यात्मिक दृष्टिकोण थिएन। लक्ष्य तोकेर कुद्नुको साटो तिनीहरू दोधारमा परेका थिए।
७. हामीले त्यागिसकेको रीतिरिवाजले हाम्रो जीवनको दौडलाई कसरी असर गर्नसक्छ?
७ के आज त्यससित मिल्दोजुल्दो कुनै परिस्थिति छ? हाम्रो परिस्थिति हुबहु त्यस्तै त छैन। तैपनि, मसीहीहरू त्यस्तो रीतिरिवाजबाट निस्केर आउँदैछन्, जुन रीतिरिवाजले ठूलठूलो घमण्ड गर्छ। हामी बाँचिरहेको संसारले रोमाञ्चकारी मौकाहरू प्रदान गर्छ तर सँगसँगै मानिसहरूमाथि ठूलो बोझ पनि लाद्छ। यसबाहेक हामीमध्ये थुप्रै यस्ता मुलुकहरूमा बस्छौं, जहाँ शंकालु मनोवृति व्याप्त छ, जहाँ मानिसहरू स्वार्थी अनि अहम भावले ग्रसित छन्। हामीले आफूलाई त्यस्तो परिपाटीबाट प्रभावित हुन दियौं भने ‘हाम्रो हृदयको आँखा’ सजिलै लठ्ठिनसक्छ। (एफिसी १:१८) आफू कतातिर लाग्दैछ भनेर राम्ररी देख्न सकिएन भने कसरी हामी जीवनको दौड दौडन सकौंला र?
८. व्यवस्थाअनुसार चढाइने उपासना भन्दा मसीहीधर्म कुन कुन तरिकामा उत्कृष्ट छ?
८ यहूदी मूलका मसीहीहरूलाई जगाउन पावलले मसीहीधर्म, मोशाको व्यवस्थाभन्दा उत्कृष्ट छ भनेर सम्झाए। हो, इस्राएली जाति व्यवस्थाअनुसार आफ्नो जन छँदा यहोवाले तिनीहरूसित प्रेरित अगमवक्ताहरू मार्फत बोल्नुभयो। तर आज, पावल भन्छन् कि परमेश्वर “आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ, जसलाई उहाँले सबै कुराका हकदार नियुक्त गर्नुभयो, जसद्वारा उहाँले जगत्हरू पनि बनाउनुभयो।” (हिब्रू १:२) यसको अतिरिक्त येशू, आफ्ना “साथी” अर्थात् दाऊदका सन्तानहरूमध्येका सबै राजाहरूभन्दा महान् हुनुहुन्छ। उहाँ स्वर्गदूतहरूभन्दा पनि महान् हुनुहुन्छ।—हिब्रू १:५, ६, ९.
९. पावलका समकालीन यहूदी मसीहीहरूले जस्तै हामीले पनि यहोवाले भन्नुभएका कुराहरूमा “झन् बढ़ी उत्कट ध्यान दिनु” किन आवश्यक छ?
९ तसर्थ, पावलले यहूदी मसीहीहरूलाई यस्तो सल्लाह दिए: “हामीले सुनेका कुराहरूलाई हामीले झन् बढ़ी उत्कट ध्यान दिनुपर्दछ, नत्रता हामी तिनीहरूबाट तर्केर जानेछौं।” (हिब्रू २:१) ख्रीष्टबारे सिक्नु अद्भुत आशिष्को कुरा भए तापनि त्यतिले मात्र पुग्दैनथ्यो। तिनीहरूले आफ्नो वरपर व्याप्त यहूदी संसारका प्रभावहरूसित लड्न परमेश्वरको वचनमा गहिरो ध्यान दिनु आवश्यक थियो। हामी पनि वर्तमान संसारमा निरन्तर फैलिरहने अफवाहबीच बाँच्नुपरेको हुँदा “झन् बढ़ी उत्कट ध्यान दिनु” आवश्यक छ। यसको मतलब, हामीले अध्ययन गर्ने बानी विकास गर्नुपऱ्यो, बाइबल पढ्ने राम्रो तालिका बनाएर त्यसअनुसार चल्नुपऱ्यो। हिब्रूहरूलाई लेखेको पत्रको अन्ततिर पावलले उल्लेख गरेझैं, सभाहरूमा नियमित तवरले उपस्थित हुनु अनि अरूलाई आफ्नो विश्वासको घोषणा गर्नु पनि यसमा समावेश छ। (हिब्रू १०:२३-२५) यसो गर्ने गऱ्यौं भने हामी आध्यात्मिक तवरमा सतर्क रहनसक्नेछौं। फलतः हामी आफ्नो गौरवशाली आशालाई आँखाबाट ओझल हुन दिनेछैनौं। यहोवाका विचारहरूले आफ्नो मन भऱ्यौं भने यो संसारले गर्नसक्ने कुनै कुरादेखि अत्तालिएर आफ्नो सन्तुलन गुमाउनेछैनौं।—भजन १:१-३; हितोपदेश ३:१-६.
“एउटाले अर्कोलाई दिनदिनै अर्ती देऊ”
१०. (क) यहोवाको वचनमा झन् बढी उत्कट ध्यान नदिने व्यक्तिलाई के हुनसक्छ? (ख) हामी कसरी “एउटाले अर्कोलाई दिनदिनै अर्ती” दिने गर्नसक्छौं?
१० आध्यात्मिक कुराहरूमा गहिरो ध्यान दिएनौं भने परमेश्वरका प्रतिज्ञाहरू बिस्तारै बिस्तारै अवास्तविक लाग्न थाल्छ। प्रथम शताब्दीको मण्डलीका सबै सदस्य अभिषिक्त मसीहीहरू हुँदा र केही प्रेरितहरू जीवितै छँदा समेत त्यस्तो भएको थियो। त्यसैकारण, पावलले हिब्रूहरूलाई यस्तो चेताउनी दिए: “हे भाइ हो, होशियार बस, नत्रता जीवित परमेश्वरबाट पतित हुनालाई तिमीहरूमा कसैको अविश्वासको दुष्ट हृदय हुनेछ। तर ‘आजको दिन’ भन्दा एउटाले अर्कोलाई दिनदिनै अर्ती देऊ। नत्रता तिमीहरूमध्ये कोही पापको छलले कठोर हुनेछ।” (हिब्रू ३:१२, १३) “होशियार” भन्ने पावलको शब्दले कत्तिको सतर्क रहनुपर्ने रहेछ, सो स्पष्ट पार्छ। चौपट्टै खतरा छ! विश्वासको कमी अर्थात् “पाप” हाम्रो हृदयमा पलाउनसक्छ। जसले परमेश्वरसित घनिष्ठ बनाउनुको साटो बिरानो बनाउनसक्छ। (याकूब ४:८) पावल “एउटाले अर्कोलाई दिनदिनै अर्ती देऊ” भनी सम्झाउँछन्। हामीलाई भाइहरूको न्यानो संगति चाहिन्छ। किनकि “अलग्गै बस्ने मानिसले आफ्नै स्वार्थ मात्र खोज्छ र व्यवहारिक बुद्धिका कुराहरूलाई कुनै वास्ता गर्दैन।” (हितोपदेश १८:१, NW) संगतिको यस्तो आवश्यकताले आज मसीहीहरूलाई मण्डलीका सभाहरू, सम्मेलन तथा अधिवेशन नियमित तवरले धाउन उत्प्रेरित गर्छ।
११, १२. किन आधारभूत मसीही सिद्धान्त जानेर मात्र चित्त बुझाउनु हुँदैन?
११ पावल पत्र लेख्दैजाँदा यो अमूल्य सल्लाह पनि दिन्छन्: “यतिका समयसम्म ता तिमीहरू शिक्षक होइसक्नुपर्दथियो, तर अझै तिमीहरूलाई कसैले परमेश्वरका वचनको शुरूका शिक्षाहरू सिकाइदिनु परेको छ। तिमीहरूलाई खँदिलो खानेकुराको होइन, तर अझै दूधैको दरकार पर्नेजस्ता तिमीहरू भएका छौ। . . . खँदिलो खानेकुरा . . . पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्।” (हिब्रू ५:१२-१४) स्पष्टतः यहूदी मूलका केही मसीहीहरूले आफ्नो समझशक्ति बढाइरहेका थिएनन्। व्यवस्था अनि खतनासम्बन्धी प्रकाश पारिएका नयाँ ज्योतिहरूलाई झट्टै स्वीकारी नहालेर तिनीहरू दोधारमा परिरहेका थिए। (प्रेरित १५:२७-२९; गलाती २:११-१४; ६:१२, १३) कसै-कसैले अझै पनि हप्तेवारी विश्राम दिन अनि विधिवत् मनाइने वार्षिक प्रायश्चितका दिनजस्ता पारम्परिक प्रचलनहरूलाई ठूलो मोलको सम्झिरहेका थिए।—कलस्सी २:१६, १७; हिब्रू ९:१-१४.
१२ तसर्थ, पावल भन्छन्: “ख्रीष्टको शुरूका शिक्षाहरूका विषय बोल्न छोड़ेर सिद्धतातर्फ हामी बढ़दै जाऔं।” (हिब्रू ६:१) राम्ररी ध्यान पुऱ्याएर भोजन गर्ने म्याराथोन धावक लामो अनि कठिन दौड सहजै दौडनसक्छ। त्यस्तैगरि, आधारभूत अथवा ‘सुरुका शिक्षाहरू मात्र’ लिने नगरी राम्ररी आध्यात्मिक भोजन लिने मसीही पनि दौडिरहन र आफ्नो दौड पूरा गर्नसक्छन्। (२ तिमोथी ४:७ तुलना गर्नुहोस्।) अतः सच्चाइको “चौड़ाइ, लमाइ, उँचाइ र गहराइ[मा]” आफ्नो चासो बढाएर हामी परिपक्वतातर्फ अघि बढ्नुपर्छ।—एफिसी ३:१८.
“तिमीहरूलाई धीरजको आवश्यकता छ”
१३. बितेका समयमा हिब्रू मसीहीहरूले कसरी आफ्नो विश्वास देखाएका थिए?
१३ सा.यु. ३३ पेन्तिकोसको तुरुन्तैपछि भीषण सतावट सुरु हुँदा यहूदी मूलका मसीहीहरू अटल भएर बसेका थिए। (प्रेरित ८:१) सायद, यसैलाई ध्यानमा राख्दै पावलले यी कुरा लेखेका थिए होलान्: “अगाड़िका दिनहरूलाई सम्झ, जसमा तिमीहरूले ज्योति पाएपछि ठूला ठूला शासनको लड़न्त सह्यौ।” (हिब्रू १०:३२) तिनीहरूले त्यसरी धीरज धरेर देखाएको विश्वासले परमेश्वरप्रतिको तिनीहरूको प्रेम प्रदर्शित गर्नुका साथै उहाँसमक्ष निर्भय भएर बोल्ने मौका पनि दियो। (१ यूहन्ना ४:१७) अतः विश्वासको कमीको कारण त्यस्तो निर्भयता नगुमाओ भनेर पावल तिनीहरूलाई जोड दिन्छन्। तिनी यस्तो आग्रह गर्छन्: “परमेश्वरको इच्छा पालन गर्दा प्रतिज्ञाको फल पाइने भएको हुनाले तिमीहरूलाई धीरजको आवश्यकता छ। किनकि अब एकै छिनमा, आउनुहुने जो हो, सो आउन्यै हुनेछ, र बियाँलो गर्नुहुनेछैन।”—हिब्रू १०:३५-३७.
१४. यहोवाको सेवा गरेर धेरै वर्ष बिताइसकेका भए तापनि कुन कुराले हामीलाई सहने मदत दिनुपर्ने हो?
१४ आज हामी नि? भर्खर भर्खर सच्चाइ सिक्दा हामीमध्ये प्रायः सबै जना जोसिला थियौं। के त्यो जोस अहिले पनि छ? वा हामीले ‘पहिला प्रेम छोडिदिएका छौं?’ (प्रकाश २:४) सायद कुनै सानातिना कुराले गर्दा निराश भएकोले वा आरमागेडोन पर्खंदा पर्खंदा थाकिसकेकोले के हामी सेलाइसकेका छौं? एकछिन! फेरि एकपल्ट सोच्नुहोस्! सच्चाइ जति असल पहिले थियो अहिले पनि त्यतिकै छ। येशू अझै पनि हाम्रो स्वर्गीय राजा नै हुनुहुन्छ। पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने आशा हामीसित अझै पनि छ र यहोवासितको हाम्रो सम्बन्ध अझसम्म कायमै छ। अनि कहिल्यै नबिर्सनुहोस्: ‘अब एकै छिनमा जो आउनुहुनेछ, उहाँले बियाँलो गर्नुहुनेछैन।’
१५. येशूले जस्तै केही मसीहीहरूले कसरी घोर सतावट सहेका छन्?
१५ तसर्थ, हिब्रू १२:१, २ मा कोरिएका पावलका शब्दहरू अति उपयुक्त छन्: “हर किसिमको टण्टा र हामीलाई सजिलैसित अल्मल्याउने पापलाई [अर्थात् विश्वासको कमीलाई] पन्छाएर हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं। औ विश्वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं। जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” यी आखिरी दिनमा परमेश्वरका सेवकहरूले थुप्रै कुरा सहेका छन्। अत्यन्त कष्टदायी मृत्युको सामना गर्नुपर्दा समेत नधरमराउनुहुने येशूजस्तै हाम्रा केही भाइबहिनीहरूले विश्वासपूर्वक कठिन भन्दा कठिन सतावट सहेका छन्। कैदखानाको सजाय भोगेका छन्, यातना सहेका छन्, बलात्कारको शिकार भएका छन् अनि मृत्युसमेत खपेका छन्। (१ पत्रुस २:२१) यिनीहरूको निष्ठा देखेर के हाम्रो हृदय प्रेमले भक्क फुलेर आउँदैन र?
१६, १७. (क) प्रायजसो मसीहीहरूले विश्वासको खातिर कस्ता चुनौतीहरू सामना गर्छन्? (ख) कुन कुरा सम्झ्यौं भने जीवनको दौड दौडिरहने मदत पाउनेछौं?
१६ तथापि, थुप्रै मसीहीहरूका लागि भने पावलले भनेका यी थप शब्दहरू लागू हुन्छन्: “तिमीहरूले अझसम्म पापको विरुद्धमा लड़ेर रगतपच्छे हुनेगरी विरोध गरेका छैनौ।” (हिब्रू १२:४) यद्यपि, यस रीतिरिवाजमा सत्यको मार्गमा चल्नु त्यति सजिलो छैन। काम गर्ने ठाउँ वा स्कूलमा ‘पापीहरूको विवाद,’ गिल्ला सहनुपरेकोले वा पापको दबाब प्रतिरोध गर्नुपरेकोले केही व्यक्तिहरू निरुत्साहित भएका छन्। (हिब्रू १२:३) बारम्बार प्रलोभनमा परेको हुँदा कसै कसैले परमेश्वरको उच्च स्तर पालन गर्ने निर्णयलाई धराशायी हुन दिएका छन्। (हिब्रू १३:४, ५) धर्मत्यागीहरूको आधारहीन विषाक्त कुराहरू सुनेर पनि दुइ चार जनाले आफ्नो आध्यात्मिक सन्तुलन गुमाएका छन्। (हिब्रू १३:९) अरू चाहिं आफ्नो वा अरूको व्यक्तित्वले गर्दा उत्पन्न समस्याहरूको कारण खिन्न भएका छन्। मनोरञ्जन अनि विलासी कुराहरूमा बढ्ता जोड दिएकाले विश्वासमा कमजोर हुने मसीहीहरू पनि नभएका होइनन्। अनि प्रायजसो चाहिं वर्तमान रीतिरिवाजले गर्दा जीवन बिताउन कठिन भएकोले दबिदै गएको महसुस गर्छन्।
१७ हो, यीमध्ये कुनै पनि समस्या ‘रगतपच्छे हुनेगरी विरोध गर्नुपर्ने’ खालका होइनन्। अनि कतिपय समस्या त सायद हाम्रै गलत निर्णयले गर्दा भएका हुनसक्छन्। तर जे होस्, यी सबै समस्याहरूले हाम्रो विश्वासलाई चुनौती दिन्छन्। त्यसैकारण, येशूले बसाल्नुभएको धीरजको उत्तम नमुना आफ्नो आँखाबाट ओझल हुन दिनु हुँदैन। हाम्रो अद्भुत आशालाई हामी कहिल्यै नभुलौं। “उहाँलाई खोज्नेहरूलाई [यहोवा] प्रतिफल दिनुहुन्छ भन्ने . . . विश्वास” हामी कहिल्यै नगुमाऔं। (हिब्रू ११:६) त्यसो गरेमा जीवनको दौड दौडिरहने आध्यात्मिक बल पाउनेछौं।
हामी सहन सक्छौं
१८, १९. यरूशलेमका हिब्रू मसीहीहरूले पावलको प्रेरित सल्लाह माने भनेर कुन ऐतिहासिक घटनाहरूले देखाउँछन्?
१८ यहूदी मूलका मसीहीहरूले पावलको पत्र पढेर कस्तो प्रतिक्रिया देखाए? पावलले हिब्रूहरूलाई पत्र लेखेको करिब छ वर्षपछि यहूदिया रणभूमिमा उत्रियो। सा.यु. ६६ मा रोमी सेनाले यरूशलेमलाई घेरा हाल्यो, फलतः येशूका यी शब्दहरू पूरा भए: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान।” (लूका २१:२०) तथापि, यरूशलेममा बसोबास गर्ने मसीहीहरूको भलाइ सोच्नुहुँदै येशूले भन्नुभएको थियो: “तब यहूदियामा हुनेहरू डाँड़ाहरूतिर भागून्। औ शहरभित्र हुनेहरू निस्किजाऊन्, र गाउँमा हुनेहरू त्यहाँभित्र नपसून्।” (लूका २१:२१) रोमसितको युद्ध एक किसिमले यहूदी मूलका मसीहीहरूका लागि परीक्षा थियो कि यहूदी उपासनाको केन्द्र अनि महिमावान् मन्दिरको केन्द्र यरूशलेमलाई छाडेर जाने कि नजाने?
१९ तर अचानक कुनै कारणैबिना रोमीहरू पछि हटे। धर्मपरायण यहूदीहरूले त्यसलाई परमेश्वरले आफ्नो पवित्र शहरको सुरक्षा गर्नुभएको प्रमाण सम्झे होलान्। मसीहीहरू नि? तिनीहरू चाहिं यरूशलेमबाट भागे भनेर इतिहासले बताउँछ। त्यसपछि, सा.यु. ७० मा रोमीहरू फेरि आए र धनजनको ठूलो नोक्सान हुनेगरि यरूशलेमलाई पूर्णतया नाश गरे। योएलले अगमवाणी गरेको ‘यहोवाको दिन’ यरूशलेममाथि बज्रपात भयो। तर मसीहीहरू त्यहाँ नभएकाले ‘बचे।’—योएल २:३०-३२; प्रेरित २:१६-२१.
२०. ‘यहोवाको दिन’ नजिक छ भन्ने थाह भएको हुँदा त्यसले हामीलाई कुन कुन ढंगमा उत्प्रेरित गर्नुपर्ने हो?
२० वर्तमान रीतिरिवाजमाथि ‘यहोवाको अर्को महान् दिन’ आउँदैछ भनेर आज हामीलाई थाह छ। (योएल ३:१२-१४) त्यो ठीक कुन दिन आइपर्ने हो हामीलाई थाह नभए तापनि त्यो निश्चय नै आउनेछ भनेर परमेश्वरको वचनले आश्वासन दिन्छ। त्यसले बियाँलो गर्नेछैन, यहोवा भन्नुहुन्छ। (हबकूक २:३; २ पत्रुस ३:९, १०) तसर्थ आउनुहोस्, “सुनेका कुराहरूलाई हामी झन् बढ़ी उत्कट ध्यान” देऔं। “हामीलाई सजिलैसित अल्मल्याउने पाप” अर्थात् विश्वासको कमी हुन नदिनुहोस्। जति पर्खनु परे तापनि अन्तसम्मै धैर्य धारण गर्ने पक्का निर्णय गर्नुहोस्। अनि नबिर्सनुहोस्, यहोवाको रथरूपी महान् स्वर्गीय संगठन अगाडि बढ्दैछ। त्यसले आफ्नो उद्देश्य पूरा गर्नेछ। त्यसकारण आउनुहोस, हामी सबै जना हरेस नखाई जीवनको दौड दौडिरहौं!
के तपाईंलाई सम्झना छ?
◻ पावलले फिलिप्पीहरूलाई दिएको कुन सल्लाह पालन गऱ्यौं भने जीवनको दौड दौडिरहने मदत पाउनेछौं?
◻ हामीलाई अलमल्याउने सांसारिक झुकाउसित लड्न कुन कुराले मदत गर्नेछ?
◻ हामी कसरी एकअर्कालाई धैर्य धारण गरी दौडिरहन मदत गर्नसक्छौं?
◻ मसीहीहरूलाई सुस्त बनाउनसक्ने केही कुराहरू के हुन्?
◻ येशूले बसाल्नुभएको उदाहरणले हामीलाई धैर्य धारण गर्न कसरी मदत गर्नसक्छ?
[पृष्ठ ८, ९-मा भएको चित्र]
मसीहीहरू धावकहरूजस्तै कुनै पनि कुरादेखि अलमलिनु हुँदैन
[पृष्ठ १०-मा भएको चित्र]
यहोवाको महान् दिव्यरथलाई परमेश्वरको उद्देश्य पूरा गर्नदेखि कुनै कुराले रोक्न सक्दैन