“वचन पालन गर्ने” आनन्दित व्यक्तिहरू
“तिमीहरूको प्राणलाई उद्धार गर्नसक्ने रोपी राखेको वचनलाई नम्रतापूर्वक धारण गर। तर वचन पालन गर्ने होओ। . . . सुन्ने मात्र होइन।” —याकूब १:२१, २२.
१. हामीले सन् १९९६ को वार्षिक पदलाई कुन दृष्टिकोणले हेर्नुपर्छ?
“वचन पालन गर्ने होओ।” यस सरल वाक्यांशले शक्तिशाली समाचार प्रस्तुत गर्छ। यो बाइबलको “याकूबको पत्र”-बाट लिइएको हो। सन् १९९६ भरि यहोवाका साक्षीहरूको राज्य भवनमा यो वार्षिक पदको रूपमा प्रदर्शित गरिनेछ।
२, ३. याकूबले आफ्नै नाउँ भएको पत्र लेख्नु किन उपयुक्त थियो?
२ प्रभु येशूको सौतेलो भाइ, याकूब पुरातन मसीही मण्डलीका प्रतिष्ठित व्यक्ति थिए। येशूको पुनरुत्थानपश्चात् हाम्रो प्रभु एक चोटि व्यक्तिगत तवरमा याकूब र पछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो। (१ कोरिन्थी १५:७) पछि, प्रेरित पत्रुस झ्यालखानाबाट चमत्कारपूर्ण ढंगमा छुटेपछि तिनले त्यहाँ भेला भएका मसीहीहरूलाई यसो भने: “यी कुराको समाचार याकूब र अरू भाइहरूलाई दिनू।” (प्रेरित १२:१७) याकूब स्वयं प्रेरित नभए तापनि अन्यजातिहरूले खतना गर्नु आवश्यक छैन भनी प्रेरित तथा प्राचीनहरूले निर्णय गर्नुपर्दा तिनले यरूशलेमको परिचालक निकायको सभामा अध्यक्षता गरेझैं देखिन्छ। याकूबले उक्त सभाको निचोड तयार पारे र पवित्र आत्माद्वारा पुष्टि गरिएको निर्णय सबै मण्डलीहरूलाई पठाइयो।—प्रेरित १५:१-२९.
३ स्पष्टतः, याकूबको पाको तर्क निकै गहकिलो थियो। तथापि, आफू “परमेश्वर र प्रभु येशू ख्रीष्टका सेवक” हुन् भनी तिनले नम्रपूर्वक स्वीकारे। (याकूब १:१) तिनको प्रेरित पत्रमा आजका मसीहीहरूको लागि प्रशस्त स्वस्थकर सल्लाह र प्रोत्साहन पाइन्छ। “स्वर्गमनि भएका सारा सृष्टिमा” सुसमाचारको व्यापक प्रचार भइसकेपछि सेनापति सेस्टियस ग्यालसको रोमी फौजले यरूशलेममाथि प्रथम आक्रमण गरे। त्योभन्दा लगभग चार वर्षअघि यो पुस्तक लेख्न सिद्धिएको थियो। (कलस्सी १:२३) त्यो कठिन समय थियो र यहोवाले यहूदी राष्ट्रमाथि ल्याउनै लाग्नुभएको न्यायबारे उहाँका सेवकहरू पूर्णतया सजग थिए।
४. प्रारम्भिक मसीहीहरूले परमेश्वरको वचनमा निकै भरोसा राख्थे भनेर कुन कुराले संकेत गर्छ?
४ ती मसीहीहरूसित सम्पूर्ण हिब्रू धर्मशास्त्र र युनानी धर्मशास्त्रको प्रायजसो भाग थियो। मसीही बाइबल लेखकहरूले पुरातन लेखोटहरूलाई धेरै चोटि उल्लेख गरेका छन्। अतः, स्पष्ट छ, तिनीहरूले परमेश्वरको वचनमा निकै भरोसा राख्थे। त्यस्तैगरि, आज हामी उत्साहित भएर परमेश्वरको वचन अध्ययन गर्नु र त्यसलाई आफ्नो जीवनमा पालन गर्नु खाँचो छ। धैर्य धारण गर्न हामीलाई पवित्र धर्मशास्त्रले प्रदान गर्ने आध्यात्मिक बल तथा साहस चाहिन्छ।—भजन ११९:९७; १ तिमोथी ४:१३.
५. आज हामीलाई विशेष डोऱ्याइ किन चाहिन्छ र हामी त्यो कहाँ पाउनेछौं?
५ आज मानवजाति त्यस्तो संकष्टको सँघारमा पुगेको छ “जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:२१) ईश्वरीय डोऱ्याइ प्राप्त गर्नुमा हाम्रो बचाउ निर्भर छ। हामी यो कसरी पाउनसक्छौं? परमेश्वरको आत्मा-अभिषिक्त वचनका शिक्षाहरूप्रति ग्रहणशील भएर। यसो गर्नाले हामी यहोवाका प्रारम्भिक वफादार सेवकहरूजस्तै “वचन पालन गर्ने” हुन सक्नेछौं। हामीले लगनशील भई परमेश्वरको वचन पढ्नु र अध्ययन गर्नुपर्छ अनि त्यसलाई यहोवाको प्रशंसा गर्न चलाउनुपर्छ।—२ तिमोथी २:१५; ३:१६, १७.
आनन्दसित धैर्य धारण गर्ने
६. परीक्षाहरू सामना गर्दा हामी किन आनन्दित हुनुपर्ने हो?
६ याकूब आफ्नो पत्रको सुरुमा परमेश्वरको आत्माको फलमध्ये दोस्रो, आनन्द उल्लेख गर्छन्। तिनी यसप्रकार लेख्छन्: “हे मेरा प्रिय भाइ हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ। यो जानेर कि, तिमीहरूको विश्वासको जाँचले धीरज उत्पन्न गराउँछ। तर धीरजलाई त्यसको पूरा काम गर्न देओ। औ तिमीहरूमा कुनै कुराको अभाव नभएर सिद्ध र पूर्ण होओ।” (याकूब १:२-४; गलाती ५:२२, २३) थुप्रै परीक्षाहरू सामना गर्नुपर्दा कसरी “पूरा आनन्द” सम्झन सकिन्छ? वास्तवमा, येशूले डाँडाको उपदेशमा समेत यसो भन्नुभयो: “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्, र खेदो गर्नेछन्, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्। तब रमाओ, र अत्यन्त खुशी होओ। किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ।” (मत्ती ५:११, १२) अनन्त जीवन प्राप्त गर्ने लक्ष्यतर्फ बढ्ने हाम्रो जोडदार प्रयत्नलाई यहोवाले आशिष् दिनुभएको हेर्न पाउँदा हामी आनन्ददायी सन्तुष्टि पाउँछौं।—यूहन्ना १७:३; २ तिमोथी ४:७, ८; हिब्रू ११:८-१०, २६, ३५.
७. (क) हामीले धैर्य धारण गर्न कसरी मदत पाउनसक्छौं? (ख) अय्यूबले जस्तै हामीले कसरी आशिष् पाउनसक्छौं?
७ येशूले “उहाँको सामने राखिदिएको आनन्दको निम्ति” सहनुभयो। (हिब्रू १२:१, २) येशूको साहसी उदाहरणलाई ध्यान दिएर विचार गर्दा हामी पनि सहनसक्छौं! याकूबले आफ्नो पत्रको अन्ततिर उल्लेख गरेझैं यहोवाले निष्ठावान्हरूलाई प्रशस्त इनाम दिनुहुन्छ। याकूब यसो भन्छन्, “हेर, हामी ता धीरज धर्नेहरूलाई धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अन्त्य पनि देखेकै छौ, कि प्रभु कस्तो टिठाइमा भरिपूर र कृपालु हुनुहुन्छ।” (याकूब ५:११) स्मरण रहोस्, अय्यूब निष्ठावान् भएको हुँदा तिनले पुनः सुस्वास्थ पाए र आफ्ना प्रियजनहरूसित सन्तुष्ट, आनन्दित जीवन बिताउन सके। अहिले धीरजी भएर निष्ठा पालन गर्दै यहोवाको सेवा गरेको हुँदा परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा तपाईंले त्यस्तै रमाहट अनुभव गर्न सक्नुहुन्छ।
बुद्धि खोज्ने
८. हामीले साँचो, व्यवहारिक बुद्धि कसरी पाउनसक्छौं र यसमा प्रार्थनाले कस्तो भूमिका निर्वाह गर्छ?
८ परमेश्वरको वचन लगनशील भई अध्ययन गर्नुको साथै त्यसलाई व्यवहारमा ल्याएपछि ईश्वरीय बुद्धि प्राप्त हुनेछ र त्यसले शैतानको मरणशील भ्रष्ट संसारमा परीक्षाहरू सामना गर्न मदत गर्छ। त्यस्तो बुद्धि प्राप्त गर्नेछौं भनेर हामी कसरी आश्वासन पाउनसक्छौं? याकूब हामीलाई बताउँछन्: “यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तले नझर्कीकन दिनुहुने परमेश्वरसित त्यसले मागोस्। सन्देह गर्नेचाहिं बतासले हुत्तिएर उचाल्दै पछार्दै गरेका समुद्रका लहरीसमान हुनेछ।” (याकूब १:५, ६) हामीले जोशका साथ प्रार्थना गर्नुपर्छ र यहोवाले हाम्रो बिन्ती सुन्नुभएर उहाँको तोकिएको समयमा उहाँकै तरिकाअनुरूप जवाफ दिनुहुनेछ भन्ने अटल विश्वास हुनुपर्छ।
९. याकूबले ईश्वरीय बुद्धि र यसको उपयोग कसरी वर्णन गर्छन्?
९ ईश्वरीय बुद्धि यहोवाको वरदान हो। त्यस्ता वरदानहरू वर्णन गर्दै याकूब यसप्रकार लेख्छन्: “हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटकै हो, र ज्योतिका पिताबाट आउँछ, जसमा कहिल्यै अदल- बदल, हुने र फेरिने छाया छैन।” पछि याकूब आफ्नो पत्रमा साँचो बुद्धिबाट प्राप्त परिणामबारे यसरी बताउँछन्: “तिमीहरूमा ज्ञानी र समझदार जो छ त्यसैले ज्ञानको नम्रतासित आफ्नो काम बढ़िया चाल-चलनबाट देखाओस्। . . . जुन ज्ञान माथिबाट आउँछ, पहिले ता त्यो पवित्र, त्यसपछि मिलापी, कोमल, मृदुभाव, दया र बढ़िया फलले भरिएको, औ पक्षपातरहित र कपटरहित हुन्छ।”—याकूब १:१७; ३:१३-१७.
१०. झूटो तथा साँचो धर्मबीच कस्तो भिन्नता छ?
१० चाहे मसीहीजगत वा अन्य मुलुकहरूमा होस्, झूटो धर्मको विश्वसाम्राज्यमा कुनै न कुनै प्रकारको भजन गाउने, एकोहोरो प्रार्थनाहरू रट्ने र भाषण सुन्ने चलन हुन्छ। आशाको समाचार घोषणा गर्ने सन्दर्भमा कुनै प्रोत्साहन दिइँदैन किनकि अधिकांश धर्महरूले भविष्यमा कुनै उज्ज्वल प्रत्याशा पाएका छैनन्। परमेश्वरको मसीही राज्यको महिमित आशाको नाउँ पटक्कै लिइँदैन वा त्यसको पूर्णतया गलत अर्थ लगाइन्छ। यहोवाले मसीहीजगतका अनुयायीहरूबारे भविष्यसूचक ढंगमा यसो भन्नुहुन्छ: “मेरो प्रजाले दुइ दुष्ट काम गरेका छन् म जीवित पानीको मूललाई तिनीहरूले त्यागेका छन्, र आफ्ना निम्ति पानी नरहने फुटेका इनार खनेका छन्।” (यर्मिया २:१३) तिनीहरूसित सच्चाइका मूलहरू छैनन्। तिनीहरूसित ईश्वरीय बुद्धिको कमी छ।
११, १२. (क) ईश्वरीय बुद्धिले हामीलाई कसरी प्रेरित गर्नुपर्ने हो? (ख) ईश्वरीय बुद्धिले हामीलाई कुन कुरा विरुद्ध चेताउनी दिन्छ?
११ आज यहोवाका साक्षीहरूबीच परिस्थिति कति भिन्न छ! ईश्वरप्रदत्त सक्रिय शक्तिद्वारा तिनीहरूले परमेश्वरको आउँदै गरेको राज्यको सुसमाचार पृथ्वीमा चारैतिर सुनाउँदैछन्। तिनीहरूले बताउने बुद्धि परमेश्वरको वचनमा आधारित छ। (तुलना गर्नुहोस् हितोपदेश १:२०; यशैया ४०:२९-३१) निस्सन्देह, हाम्रो परमेश्वर तथा सृष्टिकर्ताका महान् उद्देश्यहरू घोषणा गर्न तिनीहरूले साँचो बुद्धि र समझको व्यवहारिक उपयोग गर्छन्। मण्डलीमा सबै जना “सारा आत्मिक बुद्धि र समझमा [परमेश्वरको] इच्छाको ज्ञानले . . . पूर्ण” होस् भन्ने हाम्रो इच्छा हुनुपर्ने हो। (कलस्सी १:९) यस्तो आधार पाएका जवान र वृद्ध दुवै “वचन पालन गर्ने” हुन उत्प्रेरित हुनेछन्।
१२ ‘माथिबाट आउने ज्ञानले’ ईश्वरीय अनुमोदन प्राप्त नहुने पापहरू विरुद्ध चेताउनी दिन्छ। याकूब यसो भन्छन्, “मेरा प्यारा भाइ हो, तिमीहरूलाई यो थाह छ, तर हरेक मानिस सुन्नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा होस्।” हो, हामी ईश्वरीय सल्लाह सुन्न र त्यसलाई पालन गर्न छरितो तथा उत्सुक हुनुपर्छ। तथापि, हामी “सानो इन्द्रिय” अर्थात् जिब्रोलाई दुरुपयोग गर्नदेखि जोगिनुपर्छ। धाक दिने, मूर्खपूर्वक निन्दाचर्चा गर्ने हठधर्मी जिब्रोले प्रतीकात्मक अर्थमा ‘बड़े बड़े वन’ स्वाहा पार्नसक्छ। तसर्थ, हामीले आफ्नो सम्पूर्ण संगतिमा सौहार्द र आत्मसंयमको खेती गर्नुपर्छ।—याकूब १:१९, २०; ३:५.
१३. “रोपी राखेको वचनलाई” हामीले स्वीकार्नु किन महत्त्वपूर्ण छ?
१३ याकूब यसप्रकार लेख्छन्, “यसैकारण सबै फोहोर र बैर-भावलाई हटाऊ, र तिमीहरूको प्राणलाई उद्धार गर्नसक्ने रोपी राखेको वचनलाई नम्रतापूर्वक धारण गर।” (याकूब १:२१) यो लोभी संसार र यसको देखावटी भौतिकवाद, मपाइँ जीवनशैली र पतित नैतिकताहरू चाँडै बितेर जानेछन्। “तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्ना २:१५-१७) अतः “रोपी राखेको वचनलाई” हामीले स्वीकार्नु साँच्चै महत्त्वपूर्ण छ! परमेश्वरको वचनले प्रदान गर्ने बुद्धि यस मरणशील संसारको खराबीभन्दा एकदमै भिन्न छ। हामीलाई त्यस्तो खराबी पटक्कै चाहिंदैन। (१ पत्रुस २:१, २) यहोवाको धार्मिक मार्गबाट कहिल्यै नतर्कन कटिबद्ध हुनको लागि हाम्रो हृदयमा सच्चाइप्रति प्रेम र बलियो विश्वास रोपिराखेको हुनुपर्छ। तर के परमेश्वरको वचन सुन्नु मात्र पर्याप्त छ?
“वचन पालन गर्ने” हुने
१४. हामी वचन “सुन्ने” र “पालन गर्ने” दुवै कसरी हुनसक्छौं?
१४ हामी याकूब १:२२ मा यस्तो लेखिएको पाउँछौं: “वचन पालन गर्ने होओ। आफैलाई धोका दिएर सुन्ने मात्र होइन।” “वचन पालन गर्ने होओ!” यो मुख्य विषयलाई याकूबको पत्रमा अवश्य प्रकाश पारिएको छ। हामीले सुन्नुपर्छ अनि ‘त्यसै गर्नुपर्छ!’ (उत्पत्ति ६:२२) आज धेरै मानिसको दाबीअनुसार कुनै भाषण सुन्नु वा औपचारिक उपासना कहिलेकाहीं गरे पुगिहाल्छ र त्योबाहेक अरू केही गर्नुपर्दैन। आफ्नो स्तरअनुरूप ‘असल जीवन’ बिताए पुगिहाल्छ भनेर तिनीहरूले सोच्लान्। यद्यपि, येशू ख्रीष्टले यसो भन्नुभयो: “कोही मेरोपछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरोपछि लागोस्।” (मत्ती १६:२४) परमेश्वरको इच्छा गर्ने सन्दर्भमा येशूको नमुना पछ्याउन साँचो मसीहीहरूमा आत्मत्यागी भावना र धीरज अवश्य हुनुपर्छ। प्रथम शताब्दीमा परमेश्वरको इच्छा गर्नु जे थियो, आज पनि त्यही छ। त्यतिबेला, पुनरुत्थान हुनुभएको येशूले यस्तो आज्ञा दिनुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ।” (मत्ती २८:१९) तपाईंले यो कसरी गरिरहनुभएको छ?
१५. (क) “वचन पालन गर्ने” व्यक्तिको हैसियतमा हामी कसरी आनन्दित हुनसक्छौं भनेर याकूबले कस्तो उदाहरण दिन्छन्? (ख) औपचारिक उपासना गरेर मात्र किन पुग्दैन?
१५ हामीले परमेश्वरको वचनलाई निरन्तर केलाइराख्यौं भने ऐनाले जस्तै हामी कस्तो प्रकारका मानिसहरू हौं भनेर त्यसले झल्काउनसक्छ। याकूब यसो भन्छन्: “जसले स्वतंत्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्दछ, र सुनेर नबिर्सने भई काम गर्नेसमेत भएर त्यसैमा लागिरहन्छ, त्यही मानिसले उसको काममा श्याबासी पाउनेछ।” (याकूब १:२३-२५) हो, तिनी ‘वचन पालन गर्ने’ आनन्दित व्यक्ति हुनेछन्। यसबाहेक, हाम्रो मसीही जीवनको हरेक पक्षमा “वचन पालन गर्ने” हुनु महत्त्वपूर्ण छ। औपचारिक उपासना मात्र भए पुग्छ भनेर हामी भ्रममा पर्नु हुँदैन। याकूबले हामीलाई साँचो उपासनाका केही पक्षहरू पालन गर्ने सुझाव दिन्छन् जुन कुराहरू जोशिला मसीहीहरूले समेत बेवास्ता गरेको हुनसक्छ। तिनी यसप्रकार लेख्छन्: “अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह गर। आफूलाई दुनियाँबाट निष्कलंक राख्नुनै पवित्र र हाम्रा परमेश्वर र पिताको सामने शुद्ध धर्म हो।”—याकूब १:२७.
१६. अब्राहाम कुन कुन तरिकामा “परमेश्वरको मित्र” भए र हामी उहाँको मित्र कसरी हुनसक्छौं?
१६ ‘म परमेश्वरमा विश्वास गर्छु’ भन्नु र अरू केही नगर्नु पर्याप्त हुँदैन। याकूब २:१९ ले यसो भन्छ: “परमेश्वर एउटै हुनुहुन्छ भन्ने तँलाई विश्वास छ, त्यो बढ़िया हो, भूतात्माहरूले पनि विश्वास गर्दछ र थरथर काम्छ।” “विश्वास पनि कामरहितको छ भनेता मरेको तुल्य हुन्छ” भनी याकूब जोड दिन्छन् र अब्राहामलाई संकेत गर्दै यसो भन्छन्: “विश्वासले उनका कामको साथसाथ काम गरेको, र कामैबाट विश्वास सिद्ध भएको” थियो। (याकूब २:१७, २०-२२) अब्राहामका कार्यहरूमा आफ्ना नातेदारहरूका लागि उद्धार सामग्री प्रबन्ध गर्नु, अतिथि सत्कार गर्नु, इसहाकलाई बलिदान चढाउन तयार गर्नु र भावी मसीही राज्य अर्थात् परमेश्वरको प्रतिज्ञाअनुरूप “जग भएको शहर[मा]” दृढ विश्वासबारे “आमघोषणा” समावेश थियो। (उत्पत्ति १४:१६; १८:१-५; २२:१-१८; हिब्रू ११:८-१०, १३, १४, न्युव; १३:२) अतः अब्राहाम “परमेश्वरका मित्र कहलि[नु]” उपयुक्त छ। (याकूब २:२३) आउँदै गरेको धार्मिक राज्यमाथि विश्वास र आशाबारे सक्रियतासाथ घोषणा गरेर हामी पनि ‘यहोवाका मित्रहरू’ कहलिनसक्छौं।
१७. (क) राहाब किन “धर्मी ठहरिन्” र तिनले कस्तो आशिष् पाइन्? (ख) ‘वचन पालन गर्नेहरूको’ सन्दर्भमा बाइबलले कस्तो लामो सूची प्रदान गर्छ? (ग) अय्यूबले कस्तो आशिष् पाए र किन?
१७ “वचन पालन गर्ने” व्यक्तिहरू निस्सन्देह “कामबाट . . . धर्मी ठहरिंदो रहेछ, र विश्वासबाट मात्र होइन।” (याकूब २:२४) यहोवाका पराक्रमी कार्यहरूबारे सुनेको “वचन[मा]” आफ्नो विश्वासलाई कामबाट देखाउने अर्को व्यक्ति राहाब थिइन्। तिनले इस्राएली गुप्तचरहरूलाई लुकाइन् र तिनीहरूलाई भाग्न मदत दिइन् अनि सुरक्षाको लागि आफ्नो बुबाको परिवारलाई जम्मा गरिन्। विश्वासको साथै काम पनि गरेकीले तिनी मसीहको पुर्खा हुन पाइन् भनेर पुनरुत्थानपश्चात् थाह पाउँदा तिनी कति रमा- उनेछिन् होला! (यहोशू २:११; ६:२५; मत्ती १:५) आफ्नो विश्वास प्रदर्शन गर्ने सन्दर्भमा वचन ‘पालन गर्नेहरूको’ लामो सूची हिब्रू ११ अध्यायले प्रदान गर्छ र तिनीहरूले प्रशस्त आशिष् पाउनेछन्। हामीले अय्यूबलाई पनि बिर्सनु हुँदैन किनभने तिनले कठिन परीक्षा सामना गर्दा यसो भने: “परमप्रभुको नाउँ धन्यको होस्।” अहिले हामीले पढेअनुसार तिनले आफ्नो विश्वास र कामले गर्दा प्रशस्त इनाम पाए। (अय्यूब १:२१; ३१:६; ४२:१०; याकूब ५:११) त्यस्तैगरि, आज “वचन पालन गर्ने” धीरजी व्यक्तिहरू भयौं भने हामीले यहोवाको अनुमोदनको मुस्कान पाउनेछौं।
१८, १९. लामो समयदेखि दबाइएका भाइहरू कसरी “वचन पालन गर्ने” व्यक्तिहरू भएका छन् र तिनीहरूको क्रियाकलापले गर्दा कस्तो आशिष् प्राप्त भएको छ?
१८ लामो समयसम्म धीरज धारण गर्नेहरूमध्ये पूर्वी युरोपका हाम्रा भाइहरू हुन्। अब त धेरैजसो प्रतिबन्धहरू हटिसके र त्यस नयाँ वातावरणमा तिनीहरू साँच्चै “वचन पालन गर्ने” व्यक्तिहरू भएका छन्। शिक्षण तथा संगठनात्मक कार्यहरूमा मदत दिन छिमेकी मुलुकबाट मिसनरी र अग्रगामीहरू त्यहाँ बसाइँ सरेका छन्। वाचटावर सोसाइटीको फिनल्याण्ड शाखा कार्यालय तथा अन्य छिमेकी मुलुकका शाखा कार्यालयहरूले भवन निर्माताहरू पठाएका छन्। साथै, उदार विश्वव्यापी भ्रातृत्वले नयाँ शाखा कार्यालय तथा राज्य भवनहरू निर्माण गर्न वित्तीय सहयोग पुऱ्याएको छ।—तुलना गर्नुहोस् २ कोरिन्थी ८:१४, १५.
१९ लामो समयसम्म दबाइएका यी भाइहरू आ-आफ्नो क्षेत्रमा कति जोशिला छन्! भनौं भने, तिनीहरूले “बेसमयमा” अनुपलब्ध अवसरहरूको क्षतिपूर्ति गर्न ‘कडा परिश्रम र प्रयत्न’ गर्दैछन्। (१ तिमोथी ४:१०; २ तिमोथी ४:२) उदाहरणको लागि, सतावट एकदमै क्रूर भएको अल्बेनियामा गत वर्ष अप्रिल महिनामा “जीवनमा यति धेरै समस्याहरू किन” शीर्षक भएको राज्य समाचार तीन दिनभित्रै वितरण गरियो। यो येशूको मृत्युको स्मरणार्थ उत्सवपश्चात् पुनः प्रचार गर्ने अत्युत्तम अवसर थियो। स्मरणार्थ उत्सवमा ३,४९१ उपस्थित भए र त्यो ५३८ सक्रिय प्रकाशकहरूभन्दा निकै बढी थियो।
२०. हालैका स्मरणार्थ उत्सवको उपस्थितिले के देखाउँछ र थुप्रैलाई कसरी मदत दिन सकिन्छ?
२० अन्य मुलुकहरूले पनि यो वर्षको स्मरणार्थ उत्सवको उपस्थितिमा उल्लेखनीय योगदान पुऱ्याए। त्यो संख्या हाल सालहरूमा वृद्धि भएर १,००,००,००० भन्दा बढी पुगेको छ। निकै मुलुकहरूमा स्मरणार्थ उत्सवमा उपस्थित नयाँ व्यक्तिहरूको विश्वास सुदृढ भएको छ र तिनीहरू ‘वचन पालन गर्ने’ व्यक्तिहरू भइरहेका छन्। वचन पालन गर्न योग्य हुन के हामी अझ धेरै नयाँ सहयोगीहरूलाई प्रोत्साहन दिनसक्छौं?
२१. वार्षिक पदअनुरूप हामीले पछ्याउनुपर्ने मार्ग तथा लक्ष्य के हो?
२१ प्रथम शताब्दीका ती जोशिला मसीहीहरू र त्यसपछिका अरू थुप्रैजस्तै हामी अनन्त जीवनको “निशानातिर . . . अगाड़ि” बढ्ने प्रयत्न गर्न कटिबद्ध होऔं। चाहे त्यो निशाना स्वर्गीय राज्य वा पार्थिव संसार नै किन नहोस्। (फिलिप्पी ३:१२-१४) त्यस लक्ष्य प्राप्तिको लागि हामीले हर प्रयास गर्नु सार्थक हुनेछ। सुन्ने मात्र होइन तर ‘बलियो भएर काम गर्ने’ समय यही हो। (हाग्गै २:४; हिब्रू ६:११, १२) ‘रोपी राखेको वचनलाई’ स्वीकारिसकेकोले हामी अहिले र अनन्तसम्म ‘वचन पालन गर्ने’ आनन्दित व्यक्तिहरू होऔं।
तपाईंले कस्तो जवाफ दिनुहुनेछ?
◻ हामीले कसरी आनन्दसित धैर्य धारण गर्नसक्छौं?
◻ ‘माथिबाट आउने ज्ञान’ के हो र हामी त्यो कसरी पछ्याउनसक्छौं?
◻ हामी ‘सुन्ने मात्र होइन तर वचन पालन गर्ने’ किन हुनुपर्छ?
◻ “वचन पालन गर्ने” हुन हामीलाई कस्ता विवरणहरूले उत्प्रेरित गर्नुपर्ने हो?
[पृष्ठ १७-मा भएको चित्र]
हामी पनि ईश्वरीय शिक्षाप्रति ग्रहणशील हुनसकौं
[पृष्ठ १८-मा भएको चित्र]
अय्यूब निष्ठावान् भएको हुँदा तिनले पुनः सुस्वास्थ पाए र आफ्ना प्रियजनहरूसित सन्तुष्ट, आनन्दित जीवन बिताउन सके