“नम्रताको व्यवहार गर”
“परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”—१ पत्रुस ५:५.
१, २. मानव व्यवहारमा गहिरो असर पार्ने एकअर्काका ठीक विपरीत दुइटा मनोभाव के के हुन्?
परमेश्वरको वचनले हाम्रो ध्यानाकर्षण गर्ने दुइटा मनोभावहरू एकअर्काका ठीक विपरीत छन्। ती दुवैले मानिसहरूको व्यवहारमा ठूलो असर पार्छ। एउटालाई “नम्रताको व्यवहार” भनी वर्णन गरिएको छ। (१ पत्रुस ५:५) एउटा शब्दकोश “नम्र” शब्दलाई “स्वभाव वा मनोभावमा विनम्र: घमण्डरहित” भनेर परिभाषित गर्छ। नम्रता, विनम्रताको पर्यायवाची शब्द हो र यो एकदमै मनमोहक गुण हो।
२ त्यसको विपरीत गुण, घमण्ड हो। यसलाई “नचाहिंदो आत्म-सम्मान” “निन्दनीय” भनेर परिभाषित गरिएको छ। यो स्वार्थी हुन्छ र भौतिकवादी, अहम् भावपूर्ण हुन्छ र अरूमा पर्नसक्ने प्रतिकूल असरको वास्ता नगरी आफ्नै मात्र भलाइ खोज्छ। त्यसबाट हुने एउटा परिणामबारे बाइबल यसरी बताउँछ: “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।” “मानिसको आपसको शत्रुता” भनेको “व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र हो” किनभने मृत्युमा मानिसले “केही लान पाउनेछैन।” परमेश्वरले त्यस्तो घमण्ड पटक्कै मन पराउनुहुन्न।—उपदेशक ४:४; ५:१५; ८:९.
संसारमा व्याप्त मनोवृत्ति
३. संसारमा कुन मनोवृत्ति व्याप्त छ?
३ यी दुई मानसिक झुकाउमध्ये अहिले संसारमा कुन चाहिं मनोवृत्ति व्याप्त छ? विश्वव्यापी सैन्य तथा सामाजिक खर्चहरू १९९६ यस्तो टिप्पणी गर्छ: “हिंसाको दृष्टिकोणले हेर्दा . . . अहिले २० औं शताब्दीमा भएजति अमानवीय व्यवहार अरू कुनै शताब्दीमा भएको छैन।” राजनैतिक र आर्थिक शक्तिको होडबाजीको साथसाथै राष्ट्रिय, धार्मिक, जातीय वा साम्प्रदायिक दुस्मनीहरूले यस शताब्दीमा दस करोडभन्दा बढी मानिसहरूको ज्यान लिएको छ। स्वार्थी मानिसहरूको संख्या पनि बढ्दो छ। शिकागो ट्रिब्युन-ले यसो भन्यो: “सामाजिक विसंगतिहरू भन्नाले जथाभावी हिंसा, बाल दुर्व्यवहार, छुटानाम, मतवालापन, एड्स, किशोरकिशोरीको आत्महत्या, लागूपदार्थ, सडकछाप ग्यांग, बलात्कार, अवैध गर्भधारण, गर्भपात, अश्लीलता, . . . झूट, ठगी, राजनैतिक भ्रष्टाचार इत्यादि कुराहरू बुझ्छौं। . . . समाजले के सही र के गलत भन्ने नीतिनियमको चेतना नै गुमाइसक्यो।” त्यसकारण यु एन क्रनिकल-ले यस्तो टिप्पणी गऱ्यो: “समाजहरू टुक्रिरहेका छन्।”
४, ५. बाइबल भविष्यवाणीले वर्तमान संसारको मनोवृत्तिबारे कसरी सही वर्णन गरेको छ?
४ यस्तो अवस्था संसारभरि व्याप्त छ। बाइबलले हाम्रो समयबारे निम्न भविष्यवाणी गरेझैं भइरहेको छ: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी . . . हुनेछन्।”—२ तिमोथी ३:१-४.
५ अहिले संसारमा व्याप्त मनोवृत्तिको कति सही विवरण! यो, स्वार्थी मपाइँ मनोवृत्ति हो। राष्ट्रहरूबीचको बेमेल व्यक्ति व्यक्तिबीच पनि झल्कन्छ। उदाहरणका लागि, प्रतिस्पर्धात्मक खेलकुदहरूमा प्रायजसो खेलाडीहरू जसरी हुन्छ प्रथम हुन चाहन्छन्। तिनीहरू सहखेलाडीहरूलाई भावनात्मक वा शारीरिक चोट पुग्ला कि भनेर वास्तै गर्दैनन्। यस्तो स्वार्थी मनोभाव राख्न केटाकेटीहरूलाई पनि सिकाइएको हुन्छ र तिनीहरू वयस्क हुँदासमेत जीवनका थुप्रै पक्षमा त्यस्ता गुणहरू देखा पर्छन्। फलस्वरूप “दुश्मनी, झैंझगडा, ईर्ष्या, क्रोध, विरोध, फूट” उत्पन्न हुन्छ।—गलाती ५:१९-२१.
६. स्वार्थलाई प्रोत्साहन दिने व्यक्ति को हो र यहोवालाई यस्तो मानसिक झुकाउ कस्तो लाग्छ?
६ यस संसारको स्वार्थी मनोभावले ‘सारा संसारलाई ठग्ने, दियाबल र शैतान भनिनेको’ भाव झल्काउँछ भनी बाइबलले देखाउँछ। यी आखिरी दिनमा बाँचिरहेका मानिसहरूमा शैतानको प्रभावबारे बाइबल यस्तो भविष्यवाणी गर्छ: “पृथ्वी[लाई] . . . धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” (प्रकाश १२:९- १२) त्यसकारण, त्यो र त्यसका सहकर्मी प्रेतहरूले मानव परिवारबीच स्वार्थी मनोवृत्ति विकास गर्न सक्दो प्रयास गरिरहेका छन्। अनि यहोवालाई त्यस्तो मनोवृत्ति कस्तो लाग्छ? उहाँको वचनले यसो भन्छ: “अहंकारी मानिस, सबका सब, परमप्रभुको दृष्टिमा घृणित छन्।”—हितोपदेश १६:५.
यहोवा नम्रहरूको साथमा हुनुहुन्छ
७. यहोवा नम्रहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ र उहाँ तिनीहरूलाई के सिकाउनुहुन्छ?
७ अर्कोतर्फ, यहोवा नम्रहरूलाई आशिष् दिनुहुन्छ। राजा दाऊदले एउटा भजनमा यहोवालाई यसो भने: “नम्रहरूलाई तपाईं उद्धार गर्नुहुन्छ, अहंकारीहरूलाई तपाईं तुच्छ दृष्टिले हेर्नुहुन्छ।” (२ शमूएल २२:१, २८) यसर्थ, परमेश्वरको वचनले यस्तो सल्लाह दिन्छ: “हे पृथ्वीका दीन जन हो, . . . धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौं कि।” (सपन्याह २:३) नम्र भएर यहोवाको खोजी गर्नेहरूलाई उहाँले यस संसारको भन्दा एकदमै भिन्न मनोवृत्ति खेती गर्न सिकाउनुहुन्छ। “नम्रहरूलाई उहाँले आफ्नो मार्ग सिकाउनुहुनेछ।” (भजन २५:९; यशैया ५४:१३) यो मार्ग, प्रेमको मार्ग हो। परमेश्वरको स्तरअनुसार जे ठीक छ, त्यसै गर्नुमा यो मार्ग आधारित छ। बाइबलले बताएअनुसार यस सैद्धान्तिक प्रेमले “आफै सेखी गर्दैन, र घमण्डले फुल्दैन . . . आफ्नै भलाइ खोज्दैन।” (१ कोरिन्थी १३:१-८) यसले नम्रता पनि झल्काउँछ।
८, ९. (क) सैद्धान्तिक प्रेमको स्रोत के हो? (ख) येशूले देखाउनुभएको प्रेम र नम्रता अनुकरण गर्नु कत्तिको महत्त्वपूर्ण छ?
८ पावल र प्रथम शताब्दीका अन्य मसीहीहरूले येशूका शिक्षाहरूबाट सिकेको प्रेम यही हो। अनि येशूले यो प्रेम आफ्नो पिता, यहोवासित सिक्नुभयो। त्यसबारे बाइबल यसो भन्छ: “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:८) प्रेमको व्यवस्थाअनुसार जिउनु परमेश्वरको इच्छा हो भनेर येशूलाई थाह थियो र उहाँले त्यसै गर्नुभयो। (यूहन्ना ६:३८) त्यसैकारण उहाँले शोषित, गरिब तथा पापीहरूप्रति दया देखाउनुभयो। (मत्ती ९:३६) उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी र नम्र हृदयको छु।”—मत्ती ११:२८, २९.
९ आफूले देखाउनुभएको प्रेम र नम्रता अनुकरण गर्नुपर्ने महत्त्वमा जोड दिंदै येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३५) तिनीहरू यस स्वार्थी संसारबाट अलग्गै छुट्टिनेथिए। त्यसकारण, येशूले आफ्ना अनुयायीहरूबारे यसो भन्न सक्नुभयो: “तिनीहरू संसारका होइनन्।” (यूहन्ना १७:१४) हो, तिनीहरू शैतानको संसारको घमण्डी, स्वार्थी मनोभावको अनुकरण गर्दैनन्। बरु, येशूले देखाउनुभएको प्रेम र नम्रताको मनोभाव अनुकरण गर्छन्।
१०. यहोवाले हाम्रो समयमा नम्रहरूलाई के गरिरहनुभएको छ?
१० यी आखिरी दिनमा नम्र जनहरूलाई प्रेम र नम्रतामा आधारित विश्वव्यापी समाजको रूपमा एकताबद्ध पारिनेछ भनेर परमेश्वरको वचनले भविष्यवाणी गरेको थियो। तसर्थ, झन् झनै घमण्डी हुँदै गइरहेको संसारमा यहोवाका जनहरू त्यसको ठीक विपरीत मनोवृत्ति अर्थात् नम्रता देखाउँछन्। त्यस्तो नम्रता झल्काउनेहरू यसो भन्छन्: “आऊ हामी परमप्रभुको [महिमित साँचो उपासनाको] पर्वतमा उक्लेर . . . जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड़नेछौं।” (यशैया २:२, ३) परमेश्वरको मार्गमा हिंड्ने यहोवाका साक्षीहरूको एउटा विश्वव्यापी समाज छ। यसमा “कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड” समावेश छ। (प्रकाश ७:९) अहिले यो ठूलो भीडमा लाखौं मानिसहरू छन्। यहोवाले तिनीहरूलाई नम्र हुन कसरी प्रशिक्षण दिइरहनुभएको छ?
नम्र हुन सिकिरहेका
११, १२. यहोवाका सेवकहरू कसरी नम्रता देखाउँछन्?
११ आफ्ना इच्छुक जनहरूमाथि क्रियाशील परमेश्वरको आत्माले तिनीहरूलाई संसारको नराम्रो मनोभावमाथि विजयी भएर परमेश्वरको आत्माको फल देखाउन मदत गरिरहेको छ। यस्तो आत्माले “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम” झल्काउँछ। (गलाती ५:२२, २३) त्यस्ता गुणहरू विकास गर्न परमेश्वरका जनहरूलाई “एउटाले अर्कोसित पाखुरा सुर्काउने, र एउटाले अर्कोको डाह गर्ने भएर . . . अति अहंकारी” नहुने सल्लाह दिइएको छ। (गलाती ५:२६) त्यस्तै गरी, प्रेरित पावलले यसो भने: “तिमीहरूमध्ये म हरेकलाई भन्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढी नसम्झ।”—रोमी १२:३.
१२ परमेश्वरको वचनले साँचो मसीहीहरूलाई “विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा . . . [परमेश्वरको] अर्को [सेवकलाई] आफूभन्दा श्रेष्ठ ठानेर, आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ” भनिएको छ। (फिलिप्पी २:३, ४) “आफ्नै होइन, तर आफ्नो छिमेकीको भलाइ खोज।” (१ कोरिन्थी १०:२४) हो, निःस्वार्थ वचन तथा कार्यद्वारा “प्रेमले उन्नति गराउँछ।” (१ कोरिन्थी ८:१) यसले प्रतिस्पर्धा होइन तर सहयोगको भाव बढाउँछ। यहोवाका जनहरू माझ मपाइँ मनोवृत्ति हुनै हुँदैन।
१३. नम्रता सिक्न पर्नुको कारण के हो र कसरी सिक्न सकिन्छ?
१३ तथापि, जन्मजात असिद्धताले गर्दा हामी स्वतः नम्र हुन सक्दैनौं। (भजन ५१:५) यो सिक्नैपर्ने गुण हो। तसर्थ, बाल्यावस्थामा नभई पछि ठूलो भइसकेपछि मात्र यहोवाको मार्ग सिक्ने व्यक्तिहरूलाई यसो गर्न गाह्रो हुनसक्छ। यस संसारको पुरानो मनोवृत्तिमा तिनीहरूको व्यक्तित्व ढलिसकेको हुन्छ। यसकारण तिनीहरूले “अघिअघिको आचरणअनुसारको पुरानो मानिसलाई जो छलको लालसाअनुसार भ्रष्ट भएर जानेहुन्छ,” त्यसलाई त्यागेर ‘परमेश्वरको धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको नयाँ मानिसलाई धारण गर्न’ सिक्नुपर्छ। (एफिसी ४:२२, २४) परमेश्वरको मदतद्वारा इमानदार मानिसहरूले उहाँले भन्नुभएअनुसार “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण” गर्न सक्नेछन्।—कलस्सी ३:१२.
१४. आफूलाई ठूलो बनाउन खोज्नेहरूबारे येशूले कस्तो चेताउनी दिनुभयो?
१४ येशूका चेलाहरूले पनि त्यसो गर्न सिक्नुपरेको थियो। उहाँका चेला हुँदा तिनीहरू वयस्क भइसकेका थिए र तिनीहरूसित संसारले देखाउने प्रतिस्पर्धात्मक मनोवृत्ति केही हदसम्म थियो। दुई चेलाका आमाले आफ्ना छोराहरूको प्रतिष्ठा खोज्दा येशूले यसो भन्नुभयो: “अन्य जातिका शासकहरूले [मानिसहरूमाथि] प्रभुत्व गर्दछन्, र तिनीहरूका ठूला ठूलाहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्। तिमीहरूमा चाहिं ता यस्तो हुनेछैन तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनेछ। जो तिमीहरूमा पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको चाकर हुनेछ जस्तो कि, मानिसको पुत्र [येशू ] सेवा पाउनालाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो।” (मत्ती २०:२०-२८) येशूले चेलाहरूलाई आफूलाई उचाल्ने पदवीहरू प्रयोग नगर्ने सल्लाह दिनुभएपछि यसो भन्नुभयो: “तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ।”—मत्ती २३:८.
१५. निरीक्षक हुन चाहनेहरूको मनोवृत्ति कस्तो हुनुपर्छ?
१५ येशूको साँचो अनुयायी भनेको सेवक, सँगी मसीहीहरूको दास हो। (गलाती ५:१३) यो विशेष गरी मण्डलीमा निरीक्षक बन्न योग्य हुन चाहनेहरूको सन्दर्भमा लागू हुन्छ। तिनीहरूले कहिल्यै प्रतिष्ठा वा शक्तिको लागि होडबाजी गर्नु हुँदैन। “जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको उदाहरण” हुनुपर्छ। (१ पत्रुस ५:३) निस्सन्देह, आफ्नै मात्र भलाइ खोज्ने व्यक्ति निरीक्षक हुन योग्य छैन भन्ने संकेत हो। त्यस्तो व्यक्ति मण्डलीको लागि हानिकारक हुन्छ। हुन त, निरीक्षकको ‘काम गर्न खोज्नु’ राम्रो हो तर यो अरू मसीहीहरूको सेवा गर्ने भावनाबाट उत्प्रेरित भएको हुनुपर्छ। यो प्रतिष्ठा वा शक्तिको ओहदा होइन किनभने निरीक्षकहरू मण्डलीमा सबैभन्दा नम्र व्यक्तिहरू हुनुपर्छ।—१ तिमोथी ३:१, ६.
१६. परमेश्वरको वचनमा किन डियोत्रिफसको निन्दा गरिएको छ?
१६ गलत दृष्टिकोण भएको व्यक्तिलाई संकेत गर्दै प्रेरित यूहन्ना यसप्रकार लेख्छन्: “मैले मण्डलीलाई केही लेखेथें, तर तिमीहरूमा ठूलो हुनखोज्ने डियोत्रिफसले हामीलाई ग्रहण गर्दैनन्।” तिनले आफू ठूलो हुन अरूसित अनादरपूर्ण व्यवहार गरे। तर परमेश्वरको आत्माले यूहन्नालाई डियोत्रिफसको मपाइँ मनोवृत्तिको आलोचना गर्न उत्प्रेरित गरेको कुरा बाइबलमा समावेश गरिएको छ।—३ यूहन्ना ९, १०.
सही मनोवृत्ति
१७. पत्रुस, पावल र वर्णाबासले कसरी नम्रता देखाए?
१७ नम्रता, अनि सही मनोवृत्ति राख्ने व्यक्तिहरूको बाइबलमा थुप्रै उदाहरणहरू छन्। पत्रुस कर्नीलियसको घरमा जाँदा कर्नीलियसले “[पत्रुसको] पाउ परी दण्डवत् गरे।” त्यो दण्डवत् स्वीकार्नुको साटो “पत्रुसले तिनलाई यसो भन्दै उठाए, ‘उठ्नुहोस्, म आफै पनि ता मानिसनै हुँ।’ ” (प्रेरित १०:२५, २६) पावल र वर्णाबास लिस्त्रामा छँदा पावलले गर्भदेखिनै लंगडो मानिसलाई निको पारे। यो देखेर भीडले यी प्रेरितहरू देवता हुन् भन्न थाले। तथापि, पावल र वर्णाबासले “आफ्ना आफ्ना लुगा च्यातेर यसो भन्दै कराएर मानिसहरूको बीचमा हाम फाल्दै दगुरे, ‘ए हजुर हो, तपाईंहरू किन यस्तो काम गर्नुहुन्छ? हामी पनि ता तपाईंहरू जस्तै दुःख सुख भोग्ने मानिसहरू हौं।’ ” (प्रेरित १४:८-१५) यी नम्र मसीहीहरूले मानिसहरूको महिमा स्वीकारेनन्।
१८. शक्तिशाली स्वर्गदूतले नम्र भएर यूहन्नालाई के भने?
१८ प्रेरित यूहन्नालाई स्वर्गदूत मार्फत “येशू ख्रीष्टको प्रकाश” दिइयो। (प्रकाश १:१) स्वर्गदूतको शक्ति देखेर यूहन्ना भावविभोर हुनुको कारण हामी बुझ्न सक्छौं किनभने एक जना स्वर्गदूतले एकै रातमा १,८५,००० अश्शूरीहरूलाई खतम पारेका थिए। (२ राजा १९:३५) यूहन्ना वर्णन गर्छन्: “जब मैले यी कुरा सुनें र देखें, तब मलाई यी कुरा देखाउने दूतको पाउमा दण्डवत् गर्न म घोप्टें। तर तिनले मलाई भने, ‘हेर, तिमीले यसो नगर। म तिम्रो . . . संगी-दास हुँ। परमेश्वरलाईनै दण्डवत् गर।” (प्रकाश २२:८, ९) उक्त शक्तिशाली स्वर्गदूतले कस्तो नम्र मनोभाव देखाए!
१९, २०. रोमी सेनापतिहरूको अहंकारलाई येशूको नम्रतासित तुलना गर्नुहोस्।
१९ नम्र मनोभावको सर्वोत्तम उदाहरण येशू हुनुहुन्छ। उहाँ परमेश्वरको एकमात्र पुत्र, परमेश्वरको स्वर्गीय राज्यको भावी राजा हुनुहुन्थ्यो। उहाँ मानिसहरू सामु विजयी रोमी सेनापतिहरू जस्तो आउनुभएन। तिनीहरूको विजय जुलुस ठूलो लावालस्करसहित हुन्थ्यो, तिनीहरू सुन र हात्तीको दाह्राले सिंगारिएका रथमा चढ्थे र त्यसलाई सेतो घोडा वा हात्ती, सिंह वा बाघलाई तान्न लगाउँथे। त्यो लावालस्करमा विजय गीत गाइरहेका वाद्यवादकहरूका साथसाथै युद्धमा जितेका धनसम्पत्ति र युद्धको चित्रांकन गरिएका विशाल पाटीहरू हुन्थे। साथै, बन्दी राजा, राजकुमार, सेनापति तथा तिनीहरूका परिवारहरूलाई पनि अक्सर नांगै पारेर तिनीहरूको बेइज्जत गर्दै लावालस्करमा समावेश गरिन्थ्यो। यतिबेला जताततै घमण्ड र अहंकारको आभास पाइन्थ्यो।
२० यो घटनालाई अब येशू मानिसहरूसामु देखा पर्नुहुँदासितको घटनासित तुलना गर्नुहोस् त। आफूबारे गरिएको भविष्यवाणी पूरा गर्न उहाँ नम्र भएर आज्ञाकारी हुनुभयो। उहाँबारे यसो भनिएको थियो: “हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्छ। उहाँ पराक्रमी र विजयी हुनुहुन्छ। उहाँ दीन हुनुहुन्छ र गधामाथि . . . सवार भएर आउँदैहुनुहुन्छ।” उहाँ विशाल जनावरहरूले तान्न लगाएर लावालस्करसहित रथमा होइन तर भारी बोक्ने गधैनीको बछेडामाथि सवार भएर आउनुभयो। (जकरिया ९:९; मत्ती २१:४, ५) साँच्चै नम्र, दीन, दयालु, अनुकम्पापूर्ण, कृपालु येशू नयाँ पृथ्वीमा शासन गर्न यहोवाबाट नियुक्त हुनुभएकोमा नम्र जनहरू एकदमै आनन्दित छन्!—यशैया ९:६, ७; फिलिप्पी २:५-८.
२१. नम्रताले कुन कुरालाई संकेत गर्दैन?
२१ येशू, पत्रुस, पावल र बाइबलकालीन अन्य विश्वासी पुरुष तथा स्त्रीहरू नम्र भएका हुँदा नम्रतालाई कमजोरीको चिह्न भन्नु मिल्दैन। बरु, यसले बलियो व्यक्तित्व झल्काउँछ किनभने तिनीहरू साहसी तथा जोसिला थिए। मानसिक तथा नैतिक बलको कारण तिनीहरूले निकै परीक्षाहरू सहे। (हिब्रू, अध्याय ११) अनि अहिले यहोवाका सेवकहरू नम्र हुँदा त्यस्तै बल पाउँछन् किनभने परमेश्वर आफ्नो शक्तिशाली पवित्र आत्माद्वारा नम्रहरूलाई साथ दिनुहुन्छ। तसर्थ, हामीलाई यस्तो आग्रह गरिएको छ: “तिमीहरू सबै एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर। किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”—१ पत्रुस ५:५, ६; २ कोरिन्थी ४:७.
२२. यसपछिको लेखमा कुन विषय छलफल गरिनेछ?
२२ परमेश्वरका जनहरूले व्यवहारमा उतार्नुपर्ने नम्रताको अर्को सकारात्मक पक्ष पनि छ। त्यसले मण्डलीमा प्रेम र सहयोगको भाव बढाउन निकै योगदान पुऱ्याउँछ। यो अवश्य पनि नम्र मनोभावको अत्यावश्यक तत्त्व हो। यसपछिको लेखमा यसबारे छलफल गरिनेछ।
पुनरावृत्ति गर्दा
◻ यस संसारमा व्याप्त मनोवृत्तिको वर्णन गर्नुहोस्।
◻ नम्र मनोभाव राख्नेहरूलाई यहोवा कसरी मदत गर्नुहुन्छ?
◻ नम्रता किन सिक्नुपर्ने गुण हो?
◻ नम्र मनोभाव देखाउने व्यक्तिहरूबारे बाइबलमा दिइएका केही उदाहरण के के हुन्?
[पृष्ठ १५-मा भएको चित्र]
स्वर्गदूतले यूहन्नालाई भने: “त्यसो नगर। म तिम्रो . . . संगी-दास हुँ”