“तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ”
“तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, ‘तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।’”—१ पत्रुस १:१५, १६.
१. पत्रुसले मसीहीहरूलाई किन पवित्र हुने सल्लाह दिए?
प्रेरित पत्रुसले उपरोक्त सल्लाह किन दिए? किनभने तिनले यहोवाको पवित्रताअनुरूप चल्न हरेक मसीही आफ्नो सोचाइ र कार्यबारे सतर्क हुनुपर्ने खाँचो देखे। तसर्थ, तिनले उपरोक्त शब्दहरूअघि यसो भने: “आफ्नो मन बाँधेर सचेत होओ, . . . आज्ञा पालन गर्ने बालकहरूले झैं तिमीहरूको अजान अवस्थाको समयमा तिमीहरूका अघिअघिका अभिलाषाअनुसार नभएर।”—१ पत्रुस १:१३, १४.
२. सत्य सिक्नुअघि हाम्रा इच्छाहरू किन अपवित्र थिए?
२ हाम्रा अघिअघिका इच्छाहरू अपवित्र थिए। किन? किनभने मसीही सत्य स्वीकार्नुअघि हामीमध्ये धेरैजसो सांसारिक तौरतरिकाअनुसार चल्थ्यौं। पत्रुसलाई यो राम्ररी थाह भएको हुँदा तिनले यसप्रकार लेखे: “अन्यजातिहरूको इच्छाअनुसार काम गर्ने लुच्च्याइँ, अभिलाषा, मतवालीपन, मोज-मजा, मद्यपान र घिनलाग्दा मूर्तिपूजाहरूमा चल्ने, जो बितेका समयमा भयो, सो प्रशस्त होला।” निस्सन्देह, पत्रुसले हाम्रो आधुनिक संसारका खास खास अपवित्र कार्यहरू उल्लेख गरेनन् किनभने ती त्यतिबेला थिएनन्।—१ पत्रुस ४:३, ४.
३, ४. (क) हामीले खराब इच्छाहरूलाई कसरी हटाउनसक्छौं? (ख) के मसीहीहरू भावशून्य हुनुपर्छ? वर्णन गर्नुहोस्।
३ ती इच्छाहरू हाम्रो शरीर, इन्द्रिय तथा भावनाहरूलाई मनपर्ने कुराहरू हुन् भनेर के तपाईंले ध्यान दिनुभयो? ती कुराहरूको प्रभावमा पऱ्यौं भने हाम्रा सोचाइ तथा कार्यहरू सजिलै अपवित्र हुन्छन्। अतः यसले हाम्रा कार्यहरूलाई तर्कशक्तिले नियन्त्रण गर्नुपर्ने खाँचो देखाउँछ। पावलले यसप्रकार व्यक्त गरे: “यसकारण ए भाइ हो, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूको यथोचित सेवाको रूपमा [तर्कशक्तिले, NW] आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।”—रोमी १२:१, २.
४ परमेश्वरलाई पवित्र बलिदान चढाउन हाम्रा भावनाहरूले होइन तर तर्कशक्तिले हामीमाथि प्रभुता जमाएको हुनैपर्छ। आफ्ना भावनाहरूले आचरणलाई नियन्त्रण गर्न दिएकाले कति धेरै जना अनैतिकतामा फसेका छन्! त्यसको अर्थ, हाम्रा भावनाहरूलाई दबाउनुपर्छ भनेको होइन। अन्यथा हामीले यहोवाको सेवामा आनन्द कसरी व्यक्त गर्नसक्छौं र? तथापि, शरीरका कार्यहरू नभई आत्माको फल फलाउन चाहन्छौं भने हामीले आफ्नो सोचाइ परिवर्तन गरेर ख्रीष्टअनुरूप सोच्नुपर्छ।—गलाती ५:२२, २३; फिलिप्पी २:५.
पवित्र जीवन, पवित्र मोल
५. पत्रुस किन पवित्रताको खाँचोबारे सजग थिए?
५ मसीही पवित्रताको खाँचोबारे पत्रुस किन त्यति धेरै सजग थिए? किनभने आज्ञाकारी मानवजातिको छुटकाराको निम्ति तिरिएको पवित्र मोलबारे तिनलाई राम्ररी थाह थियो। तिनले यसप्रकार लेखे: “यो जानेर, कि नाश हुने पदार्थहरू, अर्थात् चाँदी अथवा सुनले तिमीहरूका पिता-पुर्खादेखि चलिआएको व्यर्थको रीतिबाट तिमीहरूले छुटकारा पाई किनिएका होइनौ, तर थुमाको जस्तो निष्कलंक, निर्दोष र अनमोल रगतले, अर्थात् ख्रीष्टको रगतले किनिएका हौ।” (१ पत्रुस १:१८, १९) हो, पवित्रताको स्रोत, यहोवा परमेश्वरले छुडौतीको मोल तिर्न आफ्नो एक मात्र पुत्र, “पवित्र जन[लाई]” पृथ्वीमा पठाउनुभयो र यसले मानिसहरूका लागि परमेश्वरसित राम्रो सम्बन्ध राख्ने बाटो खोल्नेथियो।—यूहन्ना ३:१६; ६:६९; प्रस्थान २८:३६; मत्ती २०:२८.
६. (क) पवित्र आचरण पछ्याउनु किन सजिलो छैन? (ख) हाम्रो आचरण पवित्र राख्न कुन कुराले मदत दिनसक्छ?
६ तथापि, शैतानको भ्रष्ट संसारमा रहुञ्जेल पवित्र जीवन बिताउन सजिलो हुँदैन भनेर हामीले स्वीकार्नुपर्छ। शैतानले यस रीतिरिवाजबाट बच्न प्रयास गरिरहेका साँचो मसीहीहरूसमक्ष पासोहरू बिछ्याउँछ। (एफिसी ६:१२; १ तिमोथी ६:९, १०) आफ्नो कार्यस्थलमा दबाब, पारिवारिक विरोध, स्कूलमा गिल्ला र मैत्र दबाबले गर्दा पवित्रता कायम गर्न बलियो आध्यात्मिकता चाहिन्छ। त्यसले व्यक्तिगत अध्ययन तथा मसीही सभाहरूमा नियमित उपस्थितिले निर्वाह गर्ने महत्त्वपूर्ण भूमिकालाई जोड दिन्छ। पावलले तिमोथीलाई यस्तो सल्लाह दिए: “ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा तिमीले मबाट जे सुनेका छौ, ती पक्का कुराहरूको नमूना पक्रीराख।” (२ तिमोथी १:१३) हामीले ती स्वास्थ्यकर शब्दहरू राज्यभवनमा तथा व्यक्तिगत बाइबल अध्ययन गर्दा सुन्छौं। त्यसले हामीलाई विविध परिस्थितिहरूमा दिनहुँ पवित्र आचरण कायम गर्न मदत दिनसक्छ।
परिवारमा पवित्र आचरण
७. पवित्रताले हाम्रो पारिवारिक जीवनमा कस्तो असर पार्नुपर्छ?
७ पत्रुसले लेवी ११:४४ उद्धरण गर्दा युनानी शब्द, हागिओस चलाए र त्यसको अर्थ “पापबाट छुट्याइएर परमेश्वरप्रति समर्पित र शुद्ध हुनु” हो। (डब्ल्यु. इ. भाइनद्वारा लिखित नयाँ नियम शब्दहरूको व्याख्यात्मक शब्दकोश [अंग्रेजी]) यसले हाम्रो मसीही पारिवारिक जीवनमा कस्तो असर पार्नुपर्छ? निस्सन्देह, हाम्रो पारिवारिक जीवन प्रेममा आधारित हुनुपर्छ किनभने “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:८) आत्मत्यागी प्रेमले पतिपत्नी, आमाबाबु र छोराछोरीबीचको सम्बन्धलाई सुमधुर पार्ने तेलजस्तै काम गर्छ।—१ कोरिन्थी १३:४-८; एफिसी ५:२८, २९, ३३; ६:४; कलस्सी ३:१८, २१.
८, ९. (क) मसीही घरमा कहिलेकाहीं कस्तो परिस्थिति उब्जनसक्छ? (ख) यस विषयमा बाइबलले कस्तो स्वास्थ्यकर सल्लाह दिन्छ?
८ हामी सोचौंला, मसीही परिवारमा त त्यस्तो प्रेम स्वतः झल्कन्छ। यद्यपि, केही मसीही घरहरूमा चाहिं भनेजस्तो प्रेम सधैं पाइँदैन भनेर स्वीकार्नुपर्छ। राज्यभवनमा त त्यस्तो प्रेम पाइएला तर घरायसी परिस्थितिमा हाम्रो पवित्रता हराउन धेरै बेर लाग्दैन। तब राज्यभवनमा आदर गरिएझैं देखिने आफ्नी पत्नी, मसीही बहिनी हुन् र पति, मसीही भाइ (र शायद सेवकाई सेवक वा प्राचीन) पनि हुन् भनेर भुसुक्कै बिर्सनसक्छौं। कन्चट तातिन्छ र चर्को भनाभन हुनसक्छ। हाम्रो जीवनमा दोहोरो स्तरले समेत अड्डा जमाउनसक्छ। यस उप्रान्त ख्रीष्टरूपी पतिपत्नीबीचको सम्बन्ध नरहेर अमेल पुरुष र स्त्री मात्र हुन्छन्। तिनीहरूले घरमा पवित्र वातावरण हुनुपर्छ भनेर बिर्सन्छन्। तिनीहरूले सांसारिक मानिसहरूको जस्तै बोलीचाली गर्लान्। अनि त्यसपछि त मुखबाट नराम्रो, कटु शब्द निस्कन कति नै बेर लाग्छ र!—हितोपदेश १२:१८; तुलना गर्नुहोस् प्रेरित १५:३७-३९.
९ तथापि, पावल यस्तो सल्लाह दिन्छन्: “केही कुवाक्य [युनानी, लोगोस साप्रोस, “फोहर बोली,” तसर्थ अपवित्र] तिमीहरूका मुखबाट ननिस्कोस्, तर परिआएको खण्डमा सुधारको निम्ति केही असल कुरो हुन्छ भने मात्र, कि त्यसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्।” अनि त्यो छोराछोरीलगायत घरका सबै श्रोताहरूमाथि लागू हुन्छ।—एफिसी ४:२९; याकूब ३:८-१०.
१०. पवित्रतासम्बन्धी सल्लाह केटाकेटीहरूमा कसरी लागू हुन्छ?
१० मसीही परिवारका छोराछोरीहरूमा पनि यो निर्देशन उत्तिकै लागू हुन्छ। तिनीहरू स्कूलबाट घर फर्केपछि आफ्ना सांसारिक मित्रहरूको विद्रोही तथा अनादरपूर्ण बोली अनुसरण गर्न थाल्नु क्षणभर पनि लाग्दैन! छोराछोरीहरू हो, यहोवाको अगमवक्तालाई अपमान गर्ने असभ्य केटाहरूको मनोवृत्तिप्रति लालायित नहुनुहोस् र तिनीहरूजस्तै फोहर बोली बोल्ने निन्दनीय केटाहरू आज पनि छन्। (२ राजा २:२३, २४) भद्र शब्द चलाउन असाध्यै अल्छी मान्ने वा लापरवाह गर्ने मानिसहरूको सडकछाप फोहर बोलीले तपाईंको बोलीलाई अपवित्र पार्न दिनु हुँदैन। मसीहीहरूको हैसियतमा हाम्रो बोली पवित्र, राम्रो, उत्थानदायी, दयालु र “नूनले स्वादिलो पारेको” हुनुपर्छ। यसले हामीलाई अरू मानिसहरूभन्दा अलग्गै छुट्याउनुपर्छ।—कलस्सी ३:८-१०; ४:६.
पवित्रता र भिन्दै विश्वास भएका परिवारका सदस्यहरू
११. पवित्र हुनु भनेको किन आत्मधर्मी हुनु होइन?
११ हामीले होशियारीपूर्वक पवित्रताको अभ्यास गर्न खोज्छौं भन्दैमा विशेषगरि भिन्दै विश्वास भएका परिवारका सदस्यहरूसित व्यवहार गर्दा आफू तिनीहरूभन्दा उच्च र आत्मधर्मीजस्तो देखिनु हुँदैन। अरूले हामी सकारात्मक ढंगमा भिन्न छौं, येशूको उदाहरणको असल सामरीले जस्तै प्रेम र अनुकम्पा देखाउन जानेका छौं भनेर हाम्रो दयालु मसीही आचरणबाट देख्नुपर्छ।—लूका १०:३०-३७.
१२. मसीही दम्पतीहरूले आफ्नो पति वा पत्नीको लागि सत्य कसरी आकर्षक बनाउनसक्छन्?
१२ पत्रुसले मसीही पत्नीहरूलाई लेख्दा भिन्दै विश्वास भएका परिवारका सदस्यहरूप्रति उचित मनोवृत्ति देखाउनुपर्ने महत्त्वबारे यसरी जोड दिए: “हे पत्नी हो, त्यही किसिमले तिमीहरू पनि आफ्ना आफ्ना पतिका अधीनमा रहो, र कसैले वचन नमाने तापनि तिनका पत्नीहरूका चाल-चलनले गर्दा, विना वचनले भए पनि, तिमीहरूका डरसहितको पवित्र चाल-चलन देखेर तिनीहरू विश्वास गर्ने होऊन्।” मसीही पत्नीले (वा पति नै किन नहोस्) आफ्नो आचरण चोखो, विचारशील र आदरणीय बनाएर भिन्दै विश्वास भएको पतिका लागि सत्य आकर्षक बनाउन सक्छिन्। यसको अर्थ, भिन्दै विश्वास भएको पति वा पत्नीलाई बेवास्ता गरिएको भान नपरोस् वा तिनले एक्लो महसुस नगरोस् भन्ने हेतुले ईश्वरतान्त्रिक तालिका लचकदार हुनुपर्छ।a—१ पत्रुस ३:१, २.
१३. प्राचीन तथा सेवकाई सेवकहरूले सत्यप्रति मूल्यांकन जगाउन भिन्दै विश्वास भएका पतिहरूलाई कहिलेकाहीं कसरी मदत दिनसक्छन्?
१३ प्राचीन तथा सेवकाई सेवकहरूले भिन्दै विश्वास भएका पतिहरूसित सामाजिक भेटघाट गरेर कहिलेकाहीं तिनीहरूलाई मदत दिन सक्छन्। यसप्रकार तिनलाई साक्षीहरू भनेको बाइबलबाहेक अन्य विविध विषयहरूमा पनि रुचि राख्ने सामान्य, भद्र मानिसहरू हुन् भन्ने लाग्नसक्छ। एक चोटि, एक पतिको माछा मार्ने सोखप्रति प्राचीनले चासो देखाए। घिउ केमा पोखियो? भागैमा भनेझैं भयो। अन्ततः त्यस पति पनि बप्तिस्माप्राप्त भाइ भए। अर्को घटना हो, भिन्दै विश्वास भएको एक पतिलाई क्यानरी चरा असाध्यै मन पर्थ्यो। प्राचीनहरूले हार मानेनन्। अर्को चोटि भेट्दा त्यस पतिलाई सबैभन्दा मन पर्ने विषयमा कुरा थाल्न सकोस् भनेर तिनीहरूमध्ये एक जनाले क्यानरी चराबारे अध्ययन गरे! तसर्थ, पवित्र हुनु भनेको अरट्ठो वा एकोहोरो हुनु होइन।—१ कोरिन्थी ९:२०-२३.
हामी मण्डलीमा कसरी पवित्र हुनसक्छौं?
१४. (क) मण्डलीलाई कमजोर तुल्याउने शैतानको एउटा तरिका के हो? (ख) हामीले शैतानको पासोलाई कसरी प्रतिरोध गर्नसक्छौं?
१४ शैतान अर्थात् दियाबल, निन्दक हो किनभने दियाबलको युनानी नाउँ, दियाबोलस्-को अर्थ “आरोप लगाउने” वा “निन्दक” हो। निन्दा गर्नु नै त्यसको एउटा विशेषता हो र त्यसले यसलाई मसीही मण्डलीमा चलाउन खोज्छ। त्यसलाई सबैभन्दा मन पर्ने तरिका, निन्दोचर्चो हो। के हामी आफूलाई त्यसले चलाउने यस अपवित्र आचरणको भ्रममा पर्न दिन्छौं? त्यो कसरी हुनसक्छ? निन्दोचर्चो थालेर, त्यसलाई दोहोऱ्याएर वा सुनेर। बुद्धिले भरिएको हितोपदेश यसो भन्छ: “निष्प्रेमले झगड़ा उठाउँछ, चुक्ली-खोरले मित्रहरूमा फाटो गराउँछ।” (हितोपदेश १६:२८) निन्दोचर्चो र निन्दाको औषधी के हो? हाम्रो बोली सधैं उत्थानदायी हुनुका साथै प्रेममा आधारित छ कि छैन, पक्का गर्नुपर्छ। हाम्रा भाइहरूको कथित दुर्गुणहरूको साटो सद्गुणहरूलाई हेऱ्यौं भने हाम्रो कुराकानी सधैं राम्रो र आध्यात्मिक हुन्छ। नबिर्सनुहोस्, आलोचना गर्न सजिलो छ। तपाईंसित अरूको निन्दोचर्चो गर्ने व्यक्तिले अरूसित तपाईंको पनि निन्दोचर्चो गर्नसक्छ।—१ तिमोथी ५:१३; तितस २:३.
१५. मण्डलीका सबैलाई पवित्र राख्न ख्रीष्टका जस्ता कुन गुनहरूले मदत दिनेछ?
१५ मण्डलीलाई पवित्र राख्न हामी सबैसित ख्रीष्टको जस्तै मन हुनुपर्छ र हामीलाई थाह छ, उहाँको प्रमुख गुन प्रेम हो। तसर्थ, पावलले कलस्सीहरूलाई ख्रीष्टजस्तै अनुकम्पापूर्ण हुन यसरी सल्लाह दिए: “यसकारण परमेश्वरका चुनिएकाहरूझैं पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर। . . . एउटाले अर्कोलाई क्षमा गर, . . . यी सबै कुराहरूभन्दा बढ़ी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।” त्यसपछि तिनले अझै यसो भने: “औ ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्।” यस्तो क्षमाशील मनोवृत्ति राखेर हामीले पक्कै पनि मण्डलीको एकता र पवित्रता कायम गर्नसक्छौं।—कलस्सी ३:१२-१५.
के छरछिमेकमा हाम्रो पवित्रता झल्किन्छ?
१६. हाम्रो पवित्र उपासना किन आनन्दित उपासना हुनुपर्छ?
१६ हाम्रा छिमेकीहरूबारे के भन्न सकिन्छ? तिनीहरूले हामीप्रति कस्तो दृष्टिकोण राख्छन्? के हामी सत्यको आनन्द झल्काउँछौ वा त्यसलाई बोझजस्तो देखाउँछौं? हामी पनि यहोवाजस्तै पवित्र छौं भने हाम्रो बोली र आचरणबाट त्यो प्रष्ट हुनुपर्छ। हाम्रो पवित्र उपासना आनन्दित उपासना हो भनेर स्पष्ट हुनुपर्छ। किन? किनभने हाम्रो परमेश्वर यहोवा, आनन्दको परमेश्वर हुनुहुन्छ र आफ्ना उपासकहरू आनन्दित भएको चाहनुहुन्छ। तसर्थ, भजनरचयिताले यहोवाका पुरातन जनहरूबारे यसो भन्न सके: “ती मानिसहरू सुखी हुन्छन्, जसका परमेश्वर परमप्रभुनै [यहोवा, NW] हुनुहुन्छ।” के हामी त्यस्तो आनन्द झल्काउँछौं? के हाम्रा छोराछोरीहरूले पनि राज्यभवन वा सम्मेलनमा यहोवाका जनहरूबीच हुन पाएकोमा सन्तोष देखाउँछन्?—भजन ८९:१५, १६; १४४:१५ख।
१७. हामीले सन्तुलित पवित्रता देखाउन व्यवहारिक ढंगमा के गर्नसक्छौं?
१७ हाम्रो सहयोगी मनोभाव र छरछिमेकीप्रतिको दयालु स्वभावबाट पनि सन्तुलित पवित्रता देखाउनसक्छौं। टोलछिमेकमा सफाइ गर्न वा केही देशहरूमा जस्तै सडक तथा राजमार्गहरू मर्मत गर्न कहिलेकाहीं छिमेकीहरूले सहयोग गर्नुपर्ला। यस सन्दर्भमा हामीले आफ्नो बगैंचा, आँगन वा जग्गाजमीनलाई कसरी हेरचाह गर्छौं, त्यसबाट पनि हाम्रो पवित्रता प्रष्ट हुनसक्छ। फोहरहरू छरपस्ट वा आँगनको हालत अस्तव्यस्त वा लथालिंग छ र बटुवाहरूले देख्ने ठाउँमा थोत्रा गाडीहरू राखेका छौं भने के हामीले छिमेकीहरूप्रति आदर देखाइरहेका छौं भन्न मिल्छ र?—प्रकाश ११:१८.
कार्यस्थल तथा स्कूलमा पवित्रता
१८. (क) आज मसीहीहरूका लागि कस्तो चुनौतीपूर्ण अवस्था छ? (ख) हामी संसारभन्दा कसरी भिन्न हुन सक्छौं?
१८ प्रेरित पावलले अपवित्र शहर, कोरिन्थका मसीहीहरूलाई यसप्रकार लेखे: “मैले मेरो पत्रमा तिमीहरूलाई व्यभिचारीहरूको संगत नगर्नू भनेर लेखेको थिएँ। यो होइन कि, यस संसारका व्यभिचारीहरू, अथवा लोभीहरू, वा लुटाहाहरू, या मूर्तिपूजकहरूसित बिलकुलै संगत नगर्नू, नत्रता तिमीहरू संसारबाट निस्किजानुपर्छ।” (१ कोरिन्थी ५:९, १०) यो मसीहीहरूका लागि चुनौतीपूर्ण अवस्था हो किनभने अनैतिक वा नीति अनीतिको ख्याल नराख्ने मानिसहरूसित दिनहुँ घुलमिल गर्नुपर्छ। यौन दुर्व्यवहार, भ्रष्टाचार र बेइमानीलाई प्रोत्साहन वा समर्थन गरिने संस्कृतिहरूमा विशेषगरि निष्ठाको भयंकर जाँच हुन्छ। यी स्थानहरूमा वरपरका मानिसहरूसमक्ष “सामान्य” देखा पर्न आफ्ना स्तरहरूलाई निम्न स्तरमा पुऱ्याउन सक्दैनौं। बरु, आध्यात्मिक आवश्यकता बुझ्ने अनि केही उत्तम कुरा खोजिरहेका विवेकी मानिसहरूले हाम्रो भिन्न दयालु मसीही आचरणलाई स्पष्टसित चिन्न सक्नुपर्छ।—मत्ती ५:३; १ पत्रुस ३:१६, १७.
१९. (क) तपाईं छोराछोरीहरूले स्कूलमा कस्ता परीक्षाहरू सामना गर्नुहुन्छ? (ख) आमाबाबुले आफ्ना छोराछोरी र तिनीहरूको पवित्र आचरणलाई मदत गर्न के गर्नसक्छन्?
१९ त्यसरी नै हाम्रा छोराछोरीहरूले स्कूलमा निकै प्रकारका परीक्षाहरू सामना गर्छन्। के तपाईं आमाबाबु आफ्ना छोराछोरीहरूको स्कूलमा जानुहुन्छ? के तपाईंलाई त्यहाँको वातावरणबारे थाह छ? के तपाईंले शिक्षकहरूसित मित्रैलो सम्बन्ध राख्नुभएको छ? यी प्रश्नहरू किन महत्त्वपूर्ण छन्? किनभने संसारका धेरैजसो शहरी क्षेत्रका स्कूलहरू हिंसा, लागू पदार्थ र यौन गतिविधिका अखडाहरू भएका छन्। आमाबाबुको अनुकम्पापूर्ण सहयोग पाएनन् भने तपाईंका छोराछोरीहरूले कसरी निष्ठा कायम गरेर आफ्नो आचरण पवित्र बनाउन सक्लान् र? त्यसैकारण पावलले आमाबाबुहरूलाई यसप्रकार सही सल्लाह दिए: “ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्न नहोऊन्।” (कलस्सी ३:२१) आफ्ना छोराछोरीहरूलाई रीस उठाउने एउटा तरिका, तिनीहरूले दिनहुँ सामना गर्ने समस्या तथा परीक्षाहरू बुझ्न नसकेर हो। स्कूलमा आइपर्ने प्रलोभनहरूको सामना गर्न तयारी गर्ने ठाउँ, मसीही परिवारको आध्यात्मिक वातावरणमा हो।—व्यवस्था ६:६-९; हितोपदेश २२:६.
२०. हामी सबैका लागि पवित्रता किन अत्यावश्क छ?
२० अन्तमा, हामी सबैलाई पवित्रता किन अत्यावश्यक छ? किनभने यसले शैतानको संसार र यसको सोचाइ हामीभित्र घुस्नबाट बचाउँछ। यो अहिले अनि भविष्यको लागि आशिष् हो। यसले धार्मिकताको नयाँ संसारमा साँच्चैको जीवन पाउने ग्यारेन्टी दिन मदत गर्छ। यसले हामीलाई अरट्ठो हठधर्मीहरू नभई सन्तुलित, मित्रैलो तथा सुस्पष्ट कुराकानी गर्ने मसीहीहरू बन्न मदत गर्छ। छोटकरीमा भन्ने हो भने, यसले हामीलाई ख्रीष्टजस्तो बनाउँछ।—१ तिमोथी ६:१९.
[फुटनोट]
a भिन्दै विश्वास भएको पति वा पत्नीसितको कुशल सम्बन्धबारे थप जानकारीको लागि “तपाईंको पति वा पत्नीलाई बेवास्ता नगर्नुहोस्!” अगस्त १५, १९९०, पृष्ठ २०-२ र नोभेम्बर १, १९८८, पृष्ठ २४-५, अनुच्छेद २०-२ प्रहरीधरहरा (अंग्रेजी) हेर्नुहोस्।
के तपाईंले सम्झनुभएको छ?
◻ पत्रुसले मसीहीहरूलाई पवित्रतासम्बन्धी सल्लाह दिनुपर्ने खाँचो किन देखे?
◻ पवित्र जीवन बिताउनु किन सजिलो छैन?
◻ हामी सबैले परिवारमा पवित्रता बढाउन के गर्नसक्छौं?
◻ मण्डलीलाई पवित्र राख्न हामी कस्ता अपवित्र आचरणबाट अलग बस्नुपर्छ?
◻ हामी कार्यस्थल तथा स्कूलमा कसरी पवित्र रहनसक्छौं?
[पृष्ठ १६ र १७-मा भएका चित्रहरू]
यहोवाका साक्षीहरूको हैसियतमा परमेश्वरको सेवा गर्दा र अन्य क्रियाकलापहरूमा व्यस्त हुँदा हामी आनन्दित हुनुपर्छ