जब येशू राजकीय महिमामा आउनुहुन्छ
“यहाँ खड़ा हुनेहरूमध्ये कोही छन्, जसले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेको नदेखुञ्जेल कुनै रीतिले मृत्यु चाख्ने छैनन्।”—मत्ती १६:२८.
१, २. सा.यु. ३२ पेन्तिकोसको तुरुन्तैपछि के भयो र त्यस घटनाको उद्देश्य के थियो?
पेन्तिकोस, सा.यु. ३२ को तुरुन्तैपछि येशू ख्रीष्टका तीन जना प्रेरितहरूले एउटा अविस्मरणीय दर्शन देखे। प्रेरित विवरणअनुसार, “येशूले पत्रुस, याकूब र तिनको भाइ यूहन्नालाई आफ्नो साथमा लिनुभयो र एउटा अल्गो डाँड़ामा एकान्तमा लैजानुभयो। अनि तिनीहरूका सामने उहाँको रूप परिवर्त्तन भयो।”—मत्ती १७:१, २.
२ चेलाहरूले एकदमै महत्त्वपूर्ण घडीमा येशूको रूप परिवर्तन भएको दर्शन देखे। आफूले अब यरूशलेममा भोग्नुपर्ने दुःखकष्ट र मृत्युबारे येशूले चेलाहरूलाई बताउन थालिसक्नुभएको थियो तर तिनीहरूले भने बुझ्नै सकेका थिएनन्। (मत्ती १६:२१-२३) चाँडै येशूको मृत्यु हुनेथियो र त्यसपछि मसीही मण्डलीले कडा मेहनत गर्नुका साथै अनेकन् परीक्षाहरू भोग्नुपर्नेथियो। अतः उक्त दर्शनले येशूका तीन प्रेरितहरूको विश्वासलाई सुदृढ बनायो। के आज पनि हामी त्यो दर्शनबाट कुनै पाठ सिक्नसक्छौं? सक्छौं, किनभने त्यस दर्शनले चित्रण गरेको कुरा वास्तवमा आज हाम्रो समयमा पूरा भइरहेको छ।
३, ४. (क) आफ्नो रूप परिवर्तन हुनुभन्दा छ दिनअघि येशूले के भन्नुभयो? (ख) येशूको रूप परिवर्तन हुँदाको घटना वर्णन गर्नुहोस्।
३ आफ्नो रूप परिवर्तन हुनुभन्दा छ दिनअघि येशूले चेलाहरूलाई यसो भन्नुभयो: “मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना दूतहरूसित आउनेछ, र त्यस बेला उसले हरेक मानिसलाई त्यसको [काम]अनुसार प्रतिफल दिनेछ।” यी शब्दहरू “जगत्को अन्त[मा]” पूरा हुनेथिए। येशूले अझै यसो भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ खड़ा हुनेहरूमध्ये कोही छन्, जसले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेको नदेखुञ्जेल कुनै रीतिले मृत्यु चाख्ने छैनन्।” (मत्ती १६:२७, २८; २४:३; २५:३१-३४, ४१; दानियल १२:४) यी शब्दहरूको पूर्तिअनुरूप येशूको रूप परिवर्तन भएको थियो।
४ वास्तवमा ती तीन प्रेरितहरूले के देखे? त्यस घटनाबारे लूका यसरी वर्णन गर्छन्: “प्रार्थना गर्दा [येशूको] मुहारको रूप बद्लियो, औ उहाँको पोशाक सेतो र चहकिलो भयो। औ मोशा र एलिया, यी दुइ मानिस, उहाँसित कुरा गरिरहेका थिए। उनीहरू महिमामा देखा परेर उहाँको मृत्युको विषयमा कुरा गरिरहेका थिए। त्यो चाहिं उहाँले यरूशलेममा पूरा गर्न आँट्नुभएको थियो।” त्यसपछि “एउटा बादल आएर [प्रेरितहरूलाई] छोप्यो, र बादलभित्र पस्नलाग्दा तिनीहरू डराए। औ बादलबाट यसो भन्ने एउटा आवाज निस्क्यो, ‘यी मेरा पुत्र, मैले छोनेका पुत्र हुन्। तिनको वचन सुन।’ ”—लूका ९:२९-३१, ३४, ३५.
विश्वास सुदृढ हुन्छ
५. येशूको रूप परिवर्तन भएको घटनाले प्रेरित पत्रुसलाई कस्तो असर गऱ्यो?
५ प्रेरित पत्रुसले येशू, “जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ” भनेर चिनाइसकेका थिए। (मत्ती १६:१६) स्वर्गबाट निस्केको यहोवाको वाणीले त्यो चिनारीलाई अझ पुष्टि गऱ्यो र येशूको रूप परिवर्तनले येशू राजकीय शक्ति अनि महिमामा आउनुभएर अन्ततः मानवजातिको न्याय गर्नुहुने कुरालाई पूर्वसंकेत गऱ्यो। उहाँको रूप परिवर्तन भएको ३० वर्षपछि पत्रुसले यसप्रकार लेखे: “हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको महाशक्ति र आगमनको समाचार दिंदा धूर्त्याइँसित अजमाएका दन्त्यकथाहरूको हामीले अनुकरण गरेनौं, तर उहाँको वैभवशाली रूप हाम्रा आँखैले देख्ने हामी साक्षी छौं। किनकि महाप्रतापी महिमाबाट उहाँलाई यसो भन्ने वाणी आउँदा, ‘यिनी मेरा प्रिय पुत्र हुन्, यिनमा म अति प्रसन्न छु,’ उहाँले परमेश्वर पिताबाट आदर र महिमा पाउनुभएको थियो। औ त्यो पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा स्वर्गबाट आएको त्यो वाणी हामी आफैले सुनेका थियौं।”—२ पत्रुस १:१६-१८; १ पत्रुस ४:१७.
६. रूप परिवर्तन भएको घटनापछि के कस्ता घटनाहरू हुन थाले?
६ ती तीन प्रेरितहरूले जे देखे, त्यसले आज हाम्रो विश्वास पनि सुदृढ हुन्छ। निस्सन्देह, सा.यु. ३२ देखि एकपछि अर्को घटनाहरू भइरहेका छन्। त्यसको लगत्तै अर्को वर्ष येशूको मृत्यु भयो र उहाँ पिताको दाहिने बाहुलीमा बस्न पुनरुत्थान हुनुभयो। (प्रेरित २:२९-३६) त्यसै वर्षको पेन्तिकोसमा “परमेश्वरको” नयाँ “इस्राएल” देखा पऱ्यो र प्रचार अभियान सुरु भयो। यो प्रचारकार्य सुरुमा यरूशलेम र पछि पृथ्वीको कुनाकाप्चासम्म फैलियो। (गलाती ६:१६; प्रेरित १:८) यसको तुरुन्तैपछि येशूका चेलाहरूको विश्वास जाँचियो। प्रेरितहरूले प्रचार गर्न बन्द नगरेका हुनाले पक्राउमा परे र निकै पिटाइ खाए। केही समय नबित्दै स्तिफनसको हत्या भयो। त्यसपछि, येशूको रूप परिवर्तन भएको घटनाको प्रत्यक्षदर्शी, याकूब मारिए। (प्रेरित ५:१७-४०; ६:८–७:६०; १२:१, २) तथापि, पत्रुस र यूहन्नाले भने निकै लामो समयसम्म यहोवाको विश्वासपूर्वक सेवा गरिरहन सके। भनौं भने, सा.यु. प्रथम शताब्दीको अन्ततिर येशू, स्वर्गीय महिमामा देखिनुभएको दर्शन लिपिबद्ध गर्ने व्यक्ति यूहन्ना नै थिए।—प्रकाश १:१२-२०; १४:१४; १९:११-१६.
७. (क) रूप परिवर्तन भएको दर्शनको पूर्ति कहिलेदेखि हुन थाल्यो? (ख) येशूले कसै कसैलाई तिनीहरूको कामअनुसार कहिले प्रतिफल दिन थाल्नुभयो?
७ सन् १९१४ मा “प्रभुको दिन” सुरु भएदेखि यूहन्नाले देखेका थुप्रै दर्शनहरू पूरा भइसकेका छन्। (प्रकाश १:१०) येशूको रूप परिवर्तनको दर्शनले चित्रण गरेअनुसार उहाँ ‘पिताको महिमामा आउने’ सन्दर्भमा के भन्न सकिन्छ? सन् १९१४ मा स्वर्गमा परमेश्वरको राज्यको जन्म हुँदा यो दर्शन पूरा हुन थाल्यो। येशू, बिहानको ताराजस्तै नवनियुक्त राजाको हैसियतमा चारैतिर देखा पर्नु हुँदा नयाँ दिन उदय भएझैं भयो। (२ पत्रुस १:१९; प्रकाश ११:१५; २२:१६) के येशूले त्यतिबेला कसै कसैलाई तिनीहरूको कामअनुसार प्रतिफल दिनुभयो? दिनुभयो। किनकि त्यसको लगत्तैपछि अभिषिक्त मसीहीहरूको स्वर्गीय पुनरुत्थान भयो भन्ने ठोस प्रमाण पाउँछौं।—२ तिमोथी ४:८; प्रकाश १४:१३.
८. येशूको रूप परिवर्तन भएको दर्शनको पूर्तिको चरमोत्कर्षमा कस्ता घटनाहरू हुनेछन्?
८ यद्यपि अब चाँडै, येशू ‘स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउनुभएर’ सम्पूर्ण मानवजातिको न्याय गर्नुहुनेछ। (मत्ती २५:३१) त्यतिबेला, उहाँ आफ्नो तेजस्वी महिमामा प्रकट हुनुहुनेछ र “हरेक मानिसलाई” आ-आफ्नो कामअनुसार यथोचित फल दिनुहुनेछ। भेडाखाले मानिसहरूको लागि तयार पारिएको राज्यमा तिनीहरूले अनन्त जीवन पाउनेछन् र बाख्राखाले मानिसहरू “अनन्त दण्डमा” फालिनेछन्। तब येशूको रूप परिवर्तन भएको दर्शनको कस्तो महान् पूर्ति हुनेछ!—मत्ती २५:३४, ४१, ४६; मर्कूस ८:३८; २ थिस्सलोनिकी १:६-१०.
येशूका महिमित सहचरहरू
९. येशूको रूप परिवर्तन भएको दर्शन पूरा हुँदा मोशा र एलिया पनि सँगै हुनेछन् भनी आशा गर्न मिल्छ होला? वर्णन गर्नुहोस्।
९ येशूको रूप परिवर्तन हुँदा उहाँ एक्लै हुनुहुन्नथियो। मोशा र एलिया उहाँसँगै देखिएका थिए। (मत्ती १७:२, ३) के तिनीहरू साँच्चै त्यहाँ थिए? थिएनन् किनभने तिनीहरू धेरैअघि मरिसकेका थिए र पुनरुत्थानको आशामा मृत्युको गहिरो निद्रामा थिए। (उपदेशक ९:५, १०; हिब्रू ११:३५) येशू स्वर्गीय महिमामा देखा पर्नुहुँदा के तिनीहरू पनि सँगै हुनेछन्? हुनेछैनन् किनभने मोशा र एलियाको समयमा मानिसजातिको लागि स्वर्गीय आशाको ढोका खुलिसकेको थिएन। तिनीहरू “धर्मी[हरूको]” पार्थिव “पुनरुत्थान[मा]” सहभागी हुनेछन्। (प्रेरित २४:१५) अतः येशूको रूप परिवर्तन हुँदा तिनीहरू उपस्थित हुनुको प्रतीकात्मक अर्थ छ। तर कुन कुराको?
१०, ११. भिन्नभिन्नै सन्दर्भमा एलिया र मोशाले क-कसको चित्रण गर्छन्?
१० यसबाहेक अन्य सन्दर्भहरूमा पनि मोशा र एलियालाई भविष्यसूचक व्यक्तिहरूका रूपमा प्रस्तुत गरिएका छन्। व्यवस्थाको करारको मध्यस्थकर्ताको हैसियतमा मोशाले येशू अर्थात् नयाँ करारको मध्यस्थकर्ताको पूर्वचित्रण गरे। (व्यवस्था १८:१८; गलाती ३:१९; हिब्रू ८:६) एलियाले मसीहको अग्रदूत अर्थात् बप्तिस्मा दिने यूहन्नाको पूर्वचित्रण गरे। (मत्ती १७:११-१३) साथै, प्रकाश अध्याय ११ को सन्दर्भलाई विचार गर्दा मोशा र एलियाले अन्तको समयका अभिषिक्त शेष जनहरूको चित्रण गरेको देखिन्छ। यो कुरा हामी कसरी थाह पाउँछौं?
११ प्रकाश ११:१-६ पल्टाऔं। पद ३ मा हामी यसो लेखिएको पाउँछौं: “मेरा दुइ साक्षीहरूलाई एक हजार दुइ सय साट्ठी दिनसम्म भाङ्ग्राको लुगा लाएर अगमवाणी बोल्ने शक्ति दिनेछु।” यस भविष्यवाणीको पूर्ति प्रथम विश्वयुद्धतिर अभिषिक्त शेष जनहरूमा भयो।a दुइ साक्षीहरू नै किन? किनभने ती अभिषिक्त शेष जनहरूले आध्यात्मिक अर्थमा मोशा र एलियाको जस्तै काम गर्छन्। पद ५ र ६ अझै यसो भन्छ: “औ कुनै मानिसले [ती दुइ साक्षीहरूलाई] हानि गर्ने इच्छा गऱ्यो भने, तिनीहरूकै मुखबाट निस्केको आगोले तिनका शत्रुहरूलाई नाश पार्नेछ, औ कुनै मानिसले तिनीहरूलाई नोक्सानी गर्ने इच्छा गऱ्यो भने, त्यही किसिमले तिनीहरू मारिनेछन्। तिनीहरूले अगमवाणी बोलेका दिनहरूमा पानी नपरोस् भनी आकाश बन्द गर्ने तिनीहरूसँग शक्ति छ, र पानीहरूलाई रगत तुल्याउने, र पृथ्वीमा तिनीहरूलाई मन लागेका बेलामा हर किसिमको रुढ़ी ल्याउने तिनीहरूसँग शक्ति छ।” यसरी हामीलाई एलिया र मोशाले गरेका चमत्कारहरूको स्मरण गराइएको छ।—गन्ती १६:३१-३४; १ राजा १७:१; २ राजा १:९-१२.
१२. येशूको रूप परिवर्तन भएको दर्शनको सन्दर्भमा मोशा र एलियाले कसको चित्रण गर्छन्?
१२ त्यसो भए येशूको रूप परिवर्तन भएको दर्शनमा मोशा र एलियाले कसको पूर्वचित्रण गर्छन्? लूकाको विवरणअनुसार येशूसँगसँगै तिनीहरू “महिमामा” देखा परे। (लूका ९:३१) स्पष्टतः, तिनीहरूले येशूसँगै “साझे-हकवाला” हुन पवित्र आत्माद्वारा नियुक्त हुने अभिषिक्त मसीहीहरूको चित्रण गर्छन् जसले “उहाँसँगै महिमित” हुने अद्भुत आशा पनि पाएका छन्। (रोमी ८:१७) “हरेक मानिसलाई त्यसको [काम]अनुसार प्रतिफल दिन” येशू पिताको महिमामा आउनुहुँदा पुनरुत्थान भइसकेका अभिषिक्त मसीहीहरू पनि उहाँसँगै हुनेछन्।—मत्ती १६:२७.
मोशा र एलियाजस्तै साक्षीहरू
१३. येशूसँगसँगै महिमित भएका अभिषिक्त सहशासकहरूको चित्रण गर्न मोशा र एलिया कुन कुन ढंगमा सुहाउँदा छन्?
१३ येशूका साझे-हकवालाहरूको रूपमा चिनाउन मोशा र एलियाले भविष्यसूचक चिनारी दिनुका उल्लेखनीय पक्षहरू छन्। मोशा र एलिया दुवैले यहोवाको प्रवक्ताको हैसियतमा निकै वर्ष सेवा गरे। दुवैले तत्कालीन शासकको क्रोध भोग्नुपऱ्यो। संकटकालीन घडीमा दुवैलाई विजातीय परिवारले हेरचाह गरे। दुवैले निडरतापूर्वक राजाहरूसमक्ष भविष्यवाणी गरे र झूटा अगमवक्ताहरू विरुद्ध दृढ रहे। मोशा र एलिया दुवैले सीनै पर्वतमा (जसलाई होरेब पनि भनिन्छ) यहोवाको शक्तिको प्रदर्शन देखे। दुवैले यर्दनपारि पूर्वपट्टि आफ्ना उत्तराधिकारीहरू नियुक्त गरे। अनि येशूको जीवनकालमा बाहेक, मोशा (यहोशूसँगसँगै) र एलियाको (एलीशासँगसँगै) समयमा जति धेरै चमत्कारहरू अरू कुनै पनि समयमा भएनन्।b
१४. अभिषिक्त जनहरूले पनि मोशा र एलियाले जस्तै यहोवाको प्रवक्ताको रूपमा कसरी सेवा गरेका छन्?
१४ के यी सबै कुराहरूले हामीलाई इस्राएलका परमेश्वरको स्मरण गराउँदैन र? अवश्य गराउँछ। येशूले आफ्ना विश्वासी अनुयायीहरूलाई यसो भन्नुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु। ” (मत्ती २८:१९, २०) यो आज्ञा पालन गर्दै अभिषिक्त मसीहीहरूले सा.यु. ३३ पेन्तिकोसदेखि हाम्रो समयसम्म यहोवाको प्रवक्ताको हैसियतमा सेवा गरिरहेका छन्। मोशा र एलियाजस्तै तिनीहरूले शासकहरूको क्रोध खपेका छन् तर साक्षी दिन भने छोडेका छैनन्। येशूले आफ्ना १२ प्रेरितहरूलाई यसो भन्नुभयो: “तिनीहरूलाई र अन्यजातिहरूलाई साक्षीको निम्ति मेरो खातिर हाकिमहरू र राजाहरूका सामुन्ने तिमीहरूलाई खड़ा गराउनेछन्।” (मत्ती १०:१८) मसीही मण्डलीको इतिहास हेर्ने हो भने, उहाँका शब्दहरू बारम्बार पूरा भइरहेका छन्।—प्रेरित २५:६, ११, १२, २४-२७; २६:३.
१५, १६. अभिषिक्त जन तथा मोशा र एलियाबीच निम्न बुँदाहरूमा कस्तो समानता छ? (क) सत्यको लागि निर्भयी हुने सन्दर्भमा? (ख) गैरइस्राएलीहरूबाट मदत पाएको सन्दर्भमा?
१५ साथै, धार्मिक झूट विरुद्ध खडा भएर सत्यको पक्ष लिन अभिषिक्त मसीहीहरू मोशा र एलियाजत्तिकै निर्भयी भएका छन्। पावलले कसरी झूटो यहूदी अगमवक्ता बार-येशूको भर्त्सना गरे अनि कौशलतापूर्वक एथेनीहरूका देवहरूको झूट पर्दाफास गरे, सम्झनुहोस् त। (प्रेरित १३:६-१२; १७:१६, २२-३१) यो पनि नबिर्सनुहोस्, आधुनिक समयका अभिषिक्त शेष जनहरूले निडरतापूर्वक मसीहीजगत्को पर्दाफास गरेका छन् र त्यस्तो प्रचारकार्यले मसीहीजगत्लाई तड्पाएको छ।—प्रकाश ८:७-१२.c
१६ फिरऊनको क्रोधबाट बच्न भागेका मोशाले यित्रो भनिने गैरइस्राएली रूएलको घरमा शरण पाए। समयको दौडान मोशाले रूएलबाट व्यवस्थापनसम्बन्धी मूल्यवान् सल्लाह पाए र रूएलका छोरा होबाबले उजाडस्थानमा इस्राएलीहरूलाई डोऱ्याए।d (प्रस्थान २:१५-२२; १८:५-२७; गन्ती १०:२९) के परमेश्वरको इस्राएलका सदस्यहरूलाई पनि अभिषिक्त नभएका मसीहीहरूले सहयोग गरेका छन्? छन्, यस आखिरी दिनमा देखा परेका “अरू भेडा[को]” “ठूलो भीड[ले]” तिनीहरूलाई सहयोग गरिरहेको छ। (प्रकाश ७:९; यूहन्ना १०:१६; यशैया ६१:५) यी “भेडा[ले]” उहाँका अभिषिक्त भाइहरूलाई दिने मायालु सहयोगबारे येशूले भविष्यसूचक ढंगमा यसो भन्नुभयो: “म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई तिमीहरूकहाँ लग्यौ। नांगो थिएँ तिमीहरूले मलाई पहिरायौ। बिरामी थिएँ, तिमीहरूले मेरो हेरचाहा गऱ्यौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ। . . . म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानो एउटालाई जे जति गऱ्यौ, त्यो तिमीहरूले मलाईनै गऱ्यौ।”—मत्ती २५:३५-४०.
१७. होरेब पर्वतमा एलियाले जस्तै अभिषिक्त जनहरूले पनि कस्तो अनुभव गरे?
१७ साथै, होरेब पर्वतमा एलियाको जस्तै अनुभव परमेश्वरको इस्राएलले पनि गरेको थियो।e रानी ईजेबेलदेखि डराएर एलिया भागेझैं अभिषिक्त जनहरू पनि प्रथम विश्वयुद्ध अन्त हुँदा डराएर आफ्नो काम पूरा भयो भन्ठाने। एलियासामु एउटा दूत देखा परेझैं “परमेश्वरको परिवार” भनी दाबी गर्ने संगठनहरूको जाँच गर्न आउनुहुँदा तिनीहरूले यहोवाको सामना गर्नुपऱ्यो। (१ पत्रुस ४:१७; मलाकी ३:१-३) त्यसरी न्याय गर्दा मसीहीजगत्मा कमी पाइयो तर अभिषिक्त शेष जनलाई “विश्वासी र बुद्धिमान दास” भनी चिनाइयो र येशूको सम्पूर्ण पार्थिव सरसम्पत्तिको जिम्मा सुम्पियो। (मत्ती २४:४५-४७) होरेबमा एलियाले यहोवाको “सानो मधुर आवाज” सुनेका थिए अनि तिनलाई अझ बढी काम सुम्पियो। विश्वयुद्धपश्चात्का शान्तिमय वर्षहरूमा यहोवाका विश्वासी अभिषिक्त सेवकहरूले बाइबलका पृष्ठहरूद्वारा यस्तै आवाज सुने। एउटा काम पूरा गर्नुछ भनी तिनीहरूले पनि महसुस गरे।—१ राजा १९:४, ९-१८; प्रकाश ११:७-१३.
१८. परमेश्वरको इस्राएल मार्फत यहोवाको शक्तिको अद्भुत प्रकटीकरण कसरी भएको छ?
१८ अन्ततः, के यहोवाले परमेश्वरको इस्राएल मार्फत आफ्नो शक्तिको उल्लेखनीय प्रकटीकरणहरू गर्नुभएको छ? येशूको मृत्युपछि प्रेरितहरूले थुप्रै चमत्कारहरू गरे तर ती समयको दौडान बन्द भए। (१ कोरिन्थी १३:८-१३) आजकल हामी त्यस्ता कुनै भौतिक चमत्कारहरू देख्दैनौं। अर्कोतर्फ येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभएको थियो: “साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ, त्यसले मैले गरेका काम पनि गर्नेछ, औ तीभन्दा ठूला काम पनि गर्नेछ।” (यूहन्ना १४:१२) येशूका चेलाहरूले प्रथम शताब्दीमा रोमी साम्राज्यभरि सुसमाचार प्रचार गर्दा उक्त शब्दहरूको प्रारम्भिक पूर्ति भयो। (रोमी १०:१८) अभिषिक्त शेष जनले अहिले वर्तमान समयमा “सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार” गर्न नेतृत्व लिंदा अझ महान् कार्यहरू भइरहेका छन्। (मत्ती २४:१४) त्यसको परिणाम? यस २० औं शताब्दीमा जति यहोवाका समर्पित तथा विश्वासी सेवकहरू जम्मा गर्ने काम पहिले कहिल्यै भएको थिएन। (प्रकाश ५:९, १०; ७:९, १०) यहोवाको शक्तिको कस्तो शानदार प्रमाण!—यशैया ६०:२२.
येशूका भाइहरू महिमामा आउँछन्
१९. येशूसित महिमामा उहाँका अभिषिक्त भाइहरू कहिले देखा पर्छन्?
१९ येशूका अभिषिक्त शेष जनहरूको पार्थिव जीवन सिद्धिएपछि तिनीहरू उहाँसँगसँगै महिमित हुन्छन्। (रोमी २:६, ७; १ कोरिन्थी १५:५३; १ थिस्सलोनिकी ४:१४, १७) यसप्रकार तिनीहरू स्वर्गीय राज्यमा अमर राजा तथा पूजाहारीहरू हुन्छन्। त्यसपछि येशूसँगसँगै यिनीहरूले “फलामको डण्डाले कुमालेका भाँड़ाहरू टुक्रा टुक्रा पारेर फोरेझैं तिनीहरूलाई शासन गर्नेछ।” (प्रकाश २:२७; २०:४-६; भजन ११०:२, ५, ६) येशूसित सिंहासनमा बसेर तिनीहरूले “इस्राएलका बाह्र कुलमाथि इन्साफ” गर्नेछन्। (मत्ती १९:२८) सुस्केरा हालिरहेको सृष्टिले यी घटनाहरूको प्रतीक्षा गरेको निकै भइसक्यो, जुन “परमेश्वरका छोराहरू प्रकट” हुँदा हुने घटना पनि हो।—रोमी ८:१९-२१; २ थिस्सलोनिकी १:६-८.
२०. (क) कुन अर्थमा येशूको रूप परिवर्तनले पत्रुसको विश्वास सुदृढ बनायो? (ख) सोही दर्शनले वर्तमान समयका मसीहीहरूको विश्वास कसरी सुदृढ बनाउँछ?
२० पावलले “महा संकष्ट[मा]” येशूको प्रकटीकरणबारे वर्णन गर्दै यसरी लेखे: “त्यस दिन उहाँका पवित्र जनहरूमा महिमा पाउन, र विश्वास गर्नेहरू सबैमा अचम्म हुनलाई उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्वास गऱ्यौ।” (मत्ती २४:२१; २ थिस्सलोनिकी १:१०) पत्रुस, याकूब, यूहन्नालगायत आत्मा-अभिषिक्त मसीहीहरूको लागि कस्तो भव्य प्रत्याशा! येशूको रूप परिवर्तन भएको दर्शनले पत्रुसको विश्वास सुदृढ भयो। यो विवरण पढेपछि हाम्रो विश्वास पनि पक्कै सुदृढ हुनुका साथै येशूले चाँडै “हरेक मानिसलाई त्यसको [काम]अनुसार प्रतिफल” दिनुहुनेछ भन्ने हाम्रो भरोसालाई मजबुत बनाउँछ। अहिलेसम्म विश्वासी भएर बाँचिरहेका अभिषिक्त मसीहीहरू येशूसँगसँगै महिमित हुनेछन् भनेर निर्धक्क छन्। यस दुष्ट रीतिरिवाजबाट बचेर महिमित नयाँ संसारमा प्रवेश गर्न पाउनेछन् भनी थाह पाएर अरू भेडाको विश्वास पनि सुदृढ भएको छ। (प्रकाश ७:१४) अन्तसम्मै दृढ रहन कस्तो जोडदार प्रोत्साहन! यो दर्शनले त्यति मात्र होइन तर अरू पनि सिकाउँछ। यसबारे आउँदो लेखमा अझ बढी थाह पाउनेछौं।
[फुटनोटहरू]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित “तपाईंको नाउँ पवित्र गरियोस्,” (अंग्रेजी), पृष्ठ ३१३-१४ र प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पृष्ठ १६४-५ हेर्नुहोस्।
b प्रस्थान २:१५-२२; ३:१-६; ५:२; ७:८-१३; ८:१८; १९:१६-१९; व्यवस्था ३१:२३; १ राजा १७:८-१६; १८:२१-४०; १९:१, २, ८-१८; २ राजा २:१-१४.
c प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको पृष्ठ १३३-४१ हेर्नुहोस्।
d वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीबाट प्रकाशित तपाईं आरमागेडोनबाट बचेर परमेश्वरको नयाँ संसारमा प्रवेश गर्न सक्नुहुन्छ (अंग्रेजी), पृष्ठ २८१-३ हेर्नुहोस्।
e “तपाईंको नाउँ पवित्र गरियोस्,” पृष्ठ ३१७-२० हेर्नुहोस्।
के तपाईंले सम्झनुभएको छ?
◻ येशूको रूप परिवर्तन हुँदा उहाँसँगै को को देखिए?
◻ येशूको रूप परिवर्तन भएको दृश्यले प्रेरितहरूको विश्वास कसरी सुदृढ भयो?
◻ येशूको रूप परिवर्तन हुँदा “महिमामा” मोशा र एलिया सँगै देखा पर्दा तिनीहरूले कसको चित्रण गरे?
◻ मोशा र एलिया तथा परमेश्वरको इस्राएलबीच कस्ता समानताहरू छन्?
[पृष्ठ १०-मा भएको चित्र]
येशूको रूप परिवर्तनको दर्शनले हाम्रो अनि प्रथम शताब्दीका मसीहीहरूको विश्वासलाई सुदृढ बनायो