अध्याय नौ
पुनरुत्थानको आशाको शक्ति
१. पुनरुत्थानको आशा नहुँदो हो त मरेकाहरूको अवस्था कस्तो हुने थियो?
के तपाईंको कोही प्रियजनको मृत्यु भएको छ? पुनरुत्थानको आशा नहुँदो हो त तिनीहरूलाई फेरि कहिल्यै भेट्न सकिने थिएन। तिनीहरू बाइबलले वर्णन गरेझैं अवस्थामा रहिरहने थिए: “मरेकाहरूले ता केही पनि जान्दैनन्। . . . किनभने मृत्युमा [शिओलमा], जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ।”—उपदेशक ९:५, १०.
२. पुनरुत्थानद्वारा कस्तो अद्भुत प्रत्याशा सम्भव तुल्याइएको छ?
२ यहोवाले दया गरेर मरिसकेका अनगिन्ती मानिसहरूलाई पुनरुत्थानमार्फत मरेको अवस्थाबाट बिउँताउनुभएर फेरि अनन्त जीवनको आनन्द उठाउने अनमोल सुअवसर दिनुभएको छ। यसको मतलब, तपाईं पनि मृत्युको चिरनिद्रामा परेका आफ्ना प्रियजनहरूलाई कुनै दिन परमेश्वरको नयाँ संसारमा भेट्ने हृदयस्पर्शी आशा राख्न सक्नुहुन्छ।—मर्कूस ५:३५, ४१, ४२; प्रेरित ९:३६-४१.
३. (क) यहोवाका उद्देश्यहरू पूरा गर्न पुनरुत्थान कुन कुन तरिकामा महत्त्वपूर्ण साबित भएको छ? (ख) हाम्रोलागि पुनरुत्थानको आशाले कस्तो खास अवस्थामा बल दिन्छ?
३ पुनरुत्थानको आशाले गर्दा हामी मृत्युको डरले थरथर काँप्नु पर्दैन। “आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा” दिन्छ भन्ने शैतानको धूर्त आरोप प्रमाणित गर्ने मौका दिन यहोवाले आफ्ना विश्वासी दासहरूले स्थायी नोक्सानी भोग्नु नपर्ने गरी परीक्षामा पर्न दिनुहुन्छ। (अय्यूब २:४) येशू मृत्युसम्मै परमेश्वरप्रति वफादार रहनुभयो अनि परमेश्वरले उहाँलाई स्वर्गमा जीवन बिताउन पुनरुत्थान गर्नुभयो। तसर्थ, येशूले आफ्नो सिद्ध मानव जीवनको मोल हामी सबैको बचाउको लागि स्वर्गमा पिताको सिंहासनसामु अर्पण गर्न सक्नुभयो। पुनरुत्थानद्वारा “सानो बगाल[का]” सदस्यहरू ख्रीष्टसित सहशासकको हैसियतमा स्वर्गको राज्यमा एकताबद्ध हुने आशा राख्न सक्छन्। (लूका १२:३२) अरूको लागि भने पार्थिव प्रमोदवनमा अनन्त जीवन बिताउन पुनरुत्थान हुने आशा छ। (भजन ३७:११, २९) सबै मसीहीहरू पुनरुत्थानको आशा भनेको जीवन र मृत्युको दोसाँधमा पार्ने परीक्षाको बेला बल प्रदान गर्ने “असामान्य शक्ति” हो भन्छन्।—२ कोरिन्थी ४:७, NW.
मसीही विश्वासको लागि किन अत्यावश्यक
४. (क) कुन अर्थमा पुनरुत्थान “शुरूका शिक्षा” हो? (ख) मानिसहरूले साधारणतया पुनरुत्थानलाई कुन अर्थमा बुझ्छन्?
४ हिब्रू ६:१, २ अनुसार पुनरुत्थान भनेको “शुरूका शिक्षा” हो। यो विश्वासको आधारभूत भाग हो र यो विना हामी परिपक्व मसीहीहरू बन्न सक्ने थिएनौं। (१ कोरिन्थी १५:१६-१९) तथापि, पुनरुत्थानसम्बन्धी बाइबलको शिक्षा जनसाधारणको लागि नौलो कुरा हो। आध्यात्मिकताको अभाव भएको हुँदा थुप्रै मानिसहरू अहिलेको जीवन मात्र वास्तविक ठान्छन्। तसर्थ, तिनीहरू मोजमस्तीको जीवनमै चुर्लुम्म डुबेका हुन्छन्। अनि मसीहीधर्मलगायत पहिलेदेखि चलिआएका अन्य थुप्रै धर्महरूले मानिस मरेपछि पनि तिनको कुनै भाग अमर रहिरहन्छ भन्ने विश्वास गर्छन्। तर त्यो विश्वास, पुनरुत्थानसम्बन्धी बाइबलको शिक्षासित मेल खाँदैन किनभने मानिस मरेपछि पनि जीवित रहिरहने केही कुरा हुँदो हो त पुनरुत्थानको आवश्यकता पर्ने थिएन। यी दुई धारणाहरू मिलाउन खोज्दा आशा प्रदान गर्नु त परै जाओस्, झनै गोलमाल उत्पन्न हुन्छ। सत्य सिक्न चाहने इमानदार हृदय भएका मानिसहरूलाई हामी कसरी मदत गर्न सक्छौं?
५. (क) कुनै व्यक्तिले पुनरुत्थानबारे बुझ्नुअघि कुन कुरा बुझेको हुनुपर्छ? (ख) तपाईं कुन शास्त्रपदहरू प्रयोग गरेर प्राण र मरेकाहरूको अवस्थाबारे बुझाउन सक्नुहुन्छ? (ग) सत्यलाई अस्पष्ट पार्ने बाइबल अनुवाद प्रयोग गरेको खण्डमा तपाईं के गर्न सक्नुहुन्छ?
५ ती व्यक्तिहरूले पुनरुत्थान एउटा एकदमै अद्भुत प्रबन्ध हो भनेर बुझ्नुअघि तिनीहरूले प्राण र मरेकाहरूको अवस्थाबारे राम्ररी बुझ्नु आवश्यक छ। प्रायजसो बाइबल सत्यको लागि भोकाइरहेका मानिसको लागि यो कुरा बुझ्न दुई चारवटा शास्त्रपद मात्र पनि पर्याप्त हुन्छ। (उत्पत्ति २:७; भजन १४६:३, ४; इजकिएल १८:४) तथापि, कुनै-कुनै आधुनिक बाइबल अनुवाद तथा संक्षिप्त संस्करणहरूले प्राणबारे सत्य कुरालाई अस्पष्ट पारेका छन्। त्यसकारण, बाइबल सुरुमा लेखिंदा प्रयोग गरिएका मूल भाषाका शब्दहरू विचार गर्नुपर्ने हुन सक्छ।
६. प्राण के हो भनेर तपाईं कसरी अरूलाई बुझाउन सक्नुहुन्छ?
६ यसो गर्न न्यु वर्ल्ड ट्रान्सलेसन विशेष गरी मदतकारी छ किनभने यसले हिब्रू शब्द नेफेश र त्यही अर्थ भएको युनानी शब्द साइके दुवैलाई एकरूपले “प्राण” भनी अनुवाद गरेको छ। यस अनुवादको अनुक्रमणिकामा यी पदावलीहरू पाइने थुप्रै पदहरूको सूची दिइएको छ। अरू थुप्रै बाइबल संस्करणमा एकरूपता छैन र मौलिक शब्दलाई बेग्लाबेग्लै किसिमले अनुवाद गरिएका छन्। अरू बाइबल अनुवादहरू न्यु वर्ल्ड ट्रान्सलेसन-सित तुलना गरेर हेर्दा साँचो विद्यार्थीले “प्राण” भनेर अनुवाद गरिएको मौलिक भाषाको शब्दले मानिस र पशु दुवैलाई बुझाउँछ भनी थाह पाउनेछ। तर यी पदावलीहरूले कहिल्यै पनि प्राण अदृश्य छ र मृत्यु हुँदा मानव शरीरबाट फुत्किएर अरू कतै बाँचिरहन्छ भन्ने अर्थ बुझाउँदैन।
७. तपाईं बाइबलबाट शिओल, हेडीस र गेहेन्नामा भएकाहरूको अवस्थाबारे कसरी बुझाउन सक्नुहुन्छ?
७ न्यु वर्ल्ड ट्रान्सलेसन-ले शिओल भन्ने हिब्रू पदावलीलाई एकरूपले “शिओल” र युनानी पद हाइडीज-लाई “हेडीस” अनि युनानी पद गेएन्ना-लाई “गेहेन्ना” भनेर अनुवाद गरेको छ। “शिओल” र “हेडीस” शब्दले एउटै अर्थ बुझाउँछ। (भजन १६:१०; प्रेरित २:२७, NW) शिओल र हेडीस दुवैले मानिसजातिको सामान्य चिहानलाई बुझाउँछ र यो जीवन नभई मृत्युसित सम्बन्धित पदावली हो भनेर बाइबलले स्पष्ट पार्छ। (भजन ८९:४८; प्रकाश २०:१३) धर्मशास्त्रले पुनरुत्थानद्वारा मानिसजातिको सामान्य चिहानबाट फर्कने प्रत्याशाबारे पनि बताउँछ। (अय्यूब १४:१३; प्रेरित २:३१) यसको विपरीत, गेहेन्नामा जानेहरूलाई भावी जीवनको कुनै आशा हुँदैन अनि त्यहाँ प्राणको सचेत अस्तित्वबारे कतै बताइएको पाइँदैन।—मत्ती १०:२८.
८. पुनरुत्थानबारे राम्ररी बुझ्दा मानिसको मनोवृत्ति र कार्यमा कस्तो असर पर्छ?
८ यी कुराहरू स्पष्ट भएपछि पुनरुत्थानले कस्तो अर्थ राख्न सक्छ भनेर बुझाउन सकिन्छ। अनि तिनले यस्तो अद्भुत प्रबन्धमा यहोवाको प्रेम कसरी प्रकट हुन्छ भनेर बुझ्न थाल्छन्। मृत्युको कारण आफ्नो प्रियजन गुमाउनु परेकाहरूको पीडा कम हुन्छ र तिनीहरूले परमेश्वरको नयाँ संसारमा फेरि भेट्ने आनन्दमय प्रत्याशा राख्न सक्छन्। यी कुराहरू बुझेपछि ख्रीष्टको मृत्युको अर्थ बुझ्न सजिलो हुन्छ। प्रथम शताब्दीका मसीहीहरूले येशू ख्रीष्टको पुनरुत्थान, मसीही विश्वासको आधारभूत पक्ष हो र यसैले अरू थुप्रैको लागि पुनरुत्थानको बाटो खोल्छ भनेर बुझेका थिए। तिनीहरूले येशूको पुनरुत्थान र यसले प्रदान गर्ने आशाबारे जोसका साथ प्रचार गरे। त्यसैले, पुनरुत्थानको आशाबारे बुझेकाहरूले अरूलाई पनि यस अनमोल सत्यबारे उत्सुक भएर बताउँछन्।—प्रेरित ५:३०-३२; १०:४२, ४३.
“पातालका साँचा” प्रयोग गर्दै
९. येशूले “मृत्यु र पातालका साँचाहरू” सर्वप्रथम कसरी प्रयोग गर्नुहुन्छ?
९ स्वर्गको राज्यमा ख्रीष्टसित सहभागी हुने सबै अन्ततः मर्नै पर्छ। तर तिनीहरूलाई उहाँले दिनुभएको आश्वासनबारे राम्ररी थाह छ: “जीवित चाहिं मै हुँ। म मरेको थिएँ, हेर, म सधैंको निम्ति जीवित छु, औ मृत्यु र पातालका साँचाहरू मसँग छन्।” (प्रकाश १:१८) उहाँले के भन्न खोज्दै हुनुहुन्थ्यो? उहाँले आफ्नै अनुभवतर्फ ध्यानाकर्षण गर्दै हुनुहुन्थ्यो। उहाँ पनि मर्नुभयो। तर परमेश्वरले उहाँलाई पाताल अर्थात् हेडीसमा छोड्नुभएन। तेस्रो दिनमा स्वयम् यहोवाले उहाँलाई आत्मिक जीवनमा बिउँताउनुभएर अमरता प्रदान गर्नुभयो। (प्रेरित २:३२, ३३; १०:४०) साथै, अरू मानिसहरूलाई सामान्य चिहान र आदमको पापका असरहरूबाट मुक्त गर्न परमेश्वरले उहाँलाई “मृत्यु र पातालका साँचाहरू” दिनुभयो। उहाँसित यी साँचाहरू भएको हुँदा येशूले आफ्ना विश्वासी अनुयायीहरूलाई मृत्युबाट बिउँताउन सक्नुहुन्छ। उहाँले पहिला मण्डलीका आत्मा-अभिषिक्त सदस्यहरूलाई बिउँताउनुभएर पिताले आफूलाई दिनुभएझैं स्वर्गमा अमर जीवनको अनमोल उपहार दिनुहुन्छ।—रोमी ६:५; फिलिप्पी ३:२०, २१.
१०. विश्वासी अभिषिक्त मसीहीहरूको पुनरुत्थान कहिले हुनेछ?
१० विश्वासी अभिषिक्त मसीहीहरूले स्वर्गमा त्यस्तो पुनरुत्थान कहिले पाउनेछन्? बाइबलले औंल्याएअनुसार त्यो कार्य सुरु भइसक्यो। प्रेरित पावलले वर्णन गरेअनुसार तिनीहरू १९१४ देखि सुरु भएको ‘ख्रीष्टको आगमनमा [उपस्थितिमा, NW]’ बिउँताइनेछन्। (१ कोरिन्थी १५:२३) उहाँको उपस्थितिको बेला अभिषिक्त विश्वासी जनहरूको पार्थिव जीवन अन्त भएको खण्डमा प्रभु नफर्कुन्जेल तिनीहरूले मृत अवस्थामा पर्खेर बस्नुपर्दैन। तिनीहरू मर्ने बित्तिकै “परिवर्तन” हुनेछन्। “एकै क्षणमा, आँखाको एक निमेशमा” आत्मामा बिउँताइनेछन्। तिनीहरूका असल काम “तिनीहरूका पछि लाग्ने” हुँदा तिनीहरू कत्ति हर्षित हुनेछन् होला!—१ कोरिन्थी १५:५१, ५२; प्रकाश १४:१३.
११. जनसाधारणको लागि कस्तो पुनरुत्थान हुनेछ र यो कहिले सुरु हुनेछ?
११ राज्यका सहशासकहरू हुन स्वर्गमा जीवन बिताउनेहरूको मात्र पुनरुत्थान हुने होइन। प्रकाश २०:६ मा “पहिलो पुनरुत्थान” भन्नुले नै अर्को पुनरुत्थान पनि हुनुपर्छ भन्ने संकेत दिन्छ। यस पछिल्लो पुनरुत्थानबाट लाभ उठाउनेहरूले पार्थिव प्रमोदवनमा अनन्त जीवन बिताउने आनन्दमय प्रत्याशा पाउनेछन्। त्यो कहिले हुनेछ? प्रकाशको पुस्तकले देखाएअनुसार वर्तमान दुष्ट रीतिरिवाजको शासन प्रणालीसहितको “स्वर्ग र पृथ्वी” हटाइसकेपछि हुनेछ। यस पुरानो रीतिरिवाजको विनाश नजिकै छ। त्यसपछि, परमेश्वरको तोकिएको समयमा पार्थिव पुनरुत्थान सुरु हुनेछ।—प्रकाश २०:११, १२.
१२. पृथ्वीमा बिउँताइने विश्वासी जनहरूमध्ये को-को हुनेछन् र यो किन एउटा रोमाञ्चकारी प्रत्याशा हो?
१२ त्यो पार्थिव पुनरुत्थानमा को-को समावेश हुनेछन्? त्यसमा यहोवाप्रति विश्वासी रहेका पुरातन सेवकहरू, पुरुष तथा स्त्री दुवै हुनेछन् किनभने पुनरुत्थानमा बलियो विश्वासको कारण तिनीहरूले ‘छुटकाराको इच्छा गरेनन्।’ त्यसको मतलब हो, तिनीहरूले परमेश्वरप्रति आफ्नो निष्ठामा सम्झौता गरेर क्रूर, अकाल मृत्युबाट उम्कन खोजेनन्। तिनीहरूलाई व्यक्तिगत तवरमा चिन्न पाउनु र बाइबलमा संक्षिप्त विवरण मात्र दिइएका घटनाहरूबारे तिनीहरूकै मुखबाट सुन्न पाउनु कत्ति आनन्दमय हुनेछ! पृथ्वीमा जीवनको आनन्द उठाउन पुनरुत्थान हुनेहरूमध्ये यी जनहरू हुनेछन्: यहोवाको पहिलो विश्वासी साक्षी हाबिल, जलप्रलयअघि परमेश्वरको चेताउनीमूलक सन्देश निडर भई घोषणा गर्ने हनोक र नूह, स्वर्गदूतहरूको अतिथि सत्कार गर्ने अब्राहाम तथा सारा, सीनै पर्वतमा व्यवस्था प्राप्त गर्ने मोशा, सा.यु.पू. ६०७ मा यरूशलेमको विनाश भएको देख्ने यर्मियाजस्ता साहसी अगमवक्ताहरू अनि बप्तिस्मा दिने यूहन्ना जसले परमेश्वर आफैले पुत्र चिनाउनुभएको आवाज सुने। साथै, यस वर्तमान दुष्ट रीतिरिवाजको आखिरी दिनमा मर्ने थुप्रै वफादार पुरुष तथा स्त्रीहरू हुनेछन्।—हिब्रू ११:४-३८; मत्ती ११:११.
१३, १४. (क) हेडीस र त्यसमा भएका मरेकाहरूलाई के हुनेछ? (ख) क-कसको पुनरुत्थान हुनेछ अनि किन?
१३ समयको दौडान, परमेश्वरका अरू विश्वासी सेवकहरू पनि बिउँताइनेछन् अनि मानिसजातिको सामान्य चिहानमा कोही पनि छोडिनेछैन। चिहानबाट कति धेरै मानिसहरू बिउँताइनेछ भन्ने कुरा येशूले मानिसजातिको खातिर प्रयोग गर्नुहुने ‘पातालको साँचोबाट’ बुझ्न सक्छौं। यो कुरा प्रेरित यूहन्नालाई दिइएको दर्शनमा देख्न सकिन्छ, तिनले “पाताल अग्नि-कुण्डमा फालिएको” देखे। (प्रकाश २०:१४) त्यसको अर्थ के हो? त्यसको अर्थ हो, मानिसजातिको सामान्य चिहान अर्थात् हेडीसको सर्वनाश हुनेछ। यसबाट मरेकाहरू सबै बिउँताइसकेपछि यसको कुनै अस्तित्व रहनेछैन किनभने यहोवाका सबै विश्वासी उपासकहरूको पुनरुत्थान गर्नुको अलावा येशूले दया गरेर अधर्मीहरूलाई समेत बिउँताउनुहुनेछ। परमेश्वरको वचनले हामीलाई यस्तो आश्वासन दिन्छ: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।”—प्रेरित २४:१५.
१४ ती अधर्मीहरूलाई फेरि मृत्युको योग्य ठहराउने हेतुले मात्र बिउँताइँदैन। परमेश्वरको राज्यअन्तर्गत पृथ्वीभरि व्याप्त हुने धार्मिक वातावरणमा तिनीहरूलाई आफ्नो जीवन यहोवाको तौरतरिकाअनुरूप बिताउन मदत गरिनेछ। दर्शनले देखाएअनुसार “जीवनको पुस्तक” खोलिनेछ। यसर्थ, तिनीहरूले त्यसमा आफ्नो नाउँ लेखाउने मौका पाउनेछन्। पुनरुत्थान भइसकेपछि तिनीहरूले गरेका “प्रत्येकको आफ्नो आफ्नो कामअनुसार इन्साफ” गरिनेछ। (प्रकाश २०:१२, १३) तसर्थ, अन्तिम प्रतिफलको दृष्टिकोणबाट हेर्ने हो भने, तिनीहरू “इन्साफको [दण्डनीय] पुनरुत्थानको निम्ति” नभई “जीवनको पुनरुत्थानको निम्ति” बिउँताइनेछन्।—यूहन्ना ५:२८, २९.
१५. (क) कसको पुनरुत्थान हुनेछैन? (ख) पुनरुत्थानसम्बन्धी ज्ञानले हामीमा कस्तो प्रभाव पार्नुपर्छ?
१५ तथापि, अहिलेसम्म बाँचेका र मरेका सबैको पुनरुत्थान हुनेछैन। कोही-कोहीले अक्षम्य पाप गरेका छन्। त्यस्ता व्यक्तिहरू हेडीसमा होइन तर अनन्त विनाश भोग्ने गेहेन्नामा छन्। यहाँ फ्याँकिनेहरूमध्ये अब अत्यन्तै निकट “महा संकष्टमा” नाश गरिनेहरू पनि हुनेछन्। (मत्ती १२:३१, ३२; २३:३३; २४:२१, २२; २५:४१, ४६; २ थिस्सलोनिकी १:६-९) तसर्थ, यहोवाले मरेकाहरूलाई हेडीसबाट बिउँताउनुभएर असामान्य दया देखाउनुभए तापनि पुनरुत्थानको आशाले हामीलाई अहिलेको जीवनमा भावशून्य हुने कुनै छुट दिंदैन। यहोवाको सार्वभौमिकताको जानाजानी विद्रोह गर्नेहरूको पुनरुत्थान हुनेछैन। यस ज्ञानले हामीलाई परमेश्वरको इच्छाअनुरूप आफ्नो जीवन बिताएर उहाँको अनुग्रहको गहिरो मूल्यांकन गर्छौं भनी देखाउन उत्प्रेरित गर्नुपर्छ।
पुनरुत्थानको आशाबाट बल पाउने
१६. पुनरुत्थानको आशा कसरी ठूलो बलको स्रोत हुन सक्छ?
१६ पुनरुत्थानको आशामा विश्वास गर्ने हामीहरूले त्यसबाट निकै बल पाउन सक्छौं। अहिले, हामी आफ्नो जीवनको अन्ततिर आइपुग्दा जस्तोसुकै चिकित्सा प्रविधि अपनाए तापनि मृत्युलाई सदाका लागि पन्छाउन सक्दैनौं। (उपदेशक ८:८) हामीले यहोवाको संगठनसँगसँगै वफादार भएर उहाँको सेवा गरेका छौं भने भविष्यप्रति पूरा निर्धक्क हुन सक्छौं। हामीलाई थाह छ, पुनरुत्थानद्वारा परमेश्वरको तोकिएको समयमा फेरि जीवनको आनन्द उठाउन सक्नेछौं। अनि त्यो कस्तो अनमोल जीवन हुनेछ! प्रेरित पावलले भनेझैं त्यो “साँच्चै जीवन” हुनेछ।—१ तिमोथी ६:१९; हिब्रू ६:१०-१२.
१७. यहोवाप्रति निष्ठा कायम गर्न हामीलाई कुन कुराले मदत गर्न सक्छ?
१७ पुनरुत्थानको प्रबन्ध गरिएको छ र त्यसको स्रोत को हुनुहुन्छ भनेर थाह पाउँदा हामी विश्वासमा बलियो भइरहन मदत पाउँछौं। यसले हामीलाई क्रूर सतावट दिनेहरूको हातबाट मृत्यु भोग्नुपर्ने खतरा हुँदासमेत वफादार रहिरहने बल दिन्छ। शैतानले मानिसहरूलाई आफ्नो दासत्वमा राख्न अकाल मृत्युको डर पनि पहिलेदेखि प्रयोग गर्दै आएको छ। तर येशूलाई त्यस्तो डर थिएन। उहाँ मृत्युसम्मै यहोवाप्रति वफादार रहनुभयो। येशूले छुडौतीको बलिदानद्वारा अरूलाई त्यस्तो डरबाट मुक्त हुने माध्यम दिनुभयो।—हिब्रू २:१४, १५.
१८. निष्ठाको उल्लेखनीय रेकर्ड कायम गर्न यहोवाका सेवकहरूलाई कुन कुराले मदत गरेको छ?
१८ ख्रीष्टको बलिदान र पुनरुत्थानमाथिको विश्वासले गर्दा यहोवाका सेवकहरूले निष्ठावान् व्यक्तिहरूको हैसियतमा उल्लेखनीय रेकर्ड कायम गरेका छन्। दबाबमा पर्दा तिनीहरू यहोवालाई बढी प्रेम गरेको अनि ‘आफ्नो जीवनलाई प्रेम नगरेको’ प्रमाणित गर्छन्। (प्रकाश १२:११) तिनीहरू अहिले आफ्नो जीवन बचाउन मसीही सिद्धान्तहरू त्याग्दैनन् र यसो गर्नु नै बुद्धिमानी हो। (लूका ९:२४, २५) तिनीहरूले अहिले जीवन गुमाउनुपरे तापनि यहोवाको सार्वभौमिकता उच्च पार्न वफादार हुँदा पछि पुनरुत्थानद्वारा आशिष् पाउनेछन् भनेर बुझेका छन्। के तपाईंसित त्यस्तो विश्वास छ? तपाईं यहोवालाई प्रेम गर्नुहुन्छ र पुनरुत्थानको आशा वास्तवमा के हो भनेर साँच्चै कदर गर्नुहुन्छ भनी त्यस्तो विश्वास राख्न सक्नुहुन्छ।
पुनरावृत्ति छलफल
• पुनरुत्थान के हो भनेर राम्ररी बुझ्नुअघि प्राण र मरेकाहरूको अवस्थाबारे जान्नु किन आवश्यक छ?
• मरेकाहरूबाट को बिउँताइनेछ अनि यस ज्ञानले हामीमा कस्तो प्रभाव पार्नुपर्छ?
• पुनरुत्थानको आशाले हामीलाई कसरी बल दिन्छ?
[पृष्ठ ८५-मा भएको चित्र]
यहोवाले धर्मी र अधर्मीहरू दुवैको पुनरुत्थान हुनेछ भनेर प्रतिज्ञा गर्नुहुन्छ