के तपाईंलाई संसारको आत्माले दूषित बनाइरहेको छ?
सेप्टेम्बर १२, १९९० का दिन काजकस्थानको एउटा कारखानामा विस्फोटन भयो। खतरनाक रेडियोधर्मी विकिरण वायुमण्डलमा फ्याँकियो जसले गर्दा १,२०,००० स्थानीय निवासीहरूको स्वास्थ्यलाई नै खतरामा पाऱ्यो। यस घातक विषको विरोध जनाउन थुप्रै मानिसहरू सडकमा उत्रिए।
तर अझ धेरै जानकारीहरू प्रकाशमा आउँदा त त्यस विषालु वातावरणमा तिनीहरू दशकौंदेखि रहेछन् भनेर थाह पाए। वर्षौंको दौडान १,००,००० टन रेडियोधर्मी फोहर खुल्ला ठाउँमा त्यत्तिकै फ्याँकिएको थियो। खतरा तिनीहरूकै सामु भए तापनि कसैले गम्भीरतापूर्वक लिएका थिएनन्। किन?
दिनदिनै, स्थानीय रंगशालामा अधिकारीहरूले विकिरणको नाप टाँग्ने गर्थे र त्यसमा खतराको कुनै संकेत थिएन। तथ्यांक सही थियो तर त्यसमा गामा विकिरणको नाप मात्र दिइएको हुन्थ्यो। तर समावेश नभएको अल्फा विकिरण पनि त्यत्तिकै घातक हुनसक्छ। बल्ल पो थुप्रै आमाहरूले आफ्ना छोराछोरीहरू सधैं बिरामीजस्तो देखिनुको कारण बुझ्न थाले।
आध्यात्मिक अर्थमा हामी पनि विषद्वारा अदृश्य रूपमा दूषित हुनसक्छौं। अनि ती दुर्दशामा परेका काजकस्थानका मानिसहरूजस्तै थुप्रै मानिसहरूलाई आफ्नो जीवन खतरामा परेको थाहै छैन। बाइबलले यस प्रदूषणलाई “संसारको आत्मा” भनी बताएको छ र यो अरू कसैको होइन तर शैतान अर्थात् दियाबलको चालबाजी हो। (१ कोरिन्थी २:१२) परमेश्वरको शत्रुले धूर्ततापूर्वक संसारको आत्मा वा अहिले व्याप्त मनोवृत्तिद्वारा हाम्रो ईश्वरीय भक्तिमा धक्का पुऱ्याउन चाहन्छ।
हाम्रो आध्यात्मिक बललाई कसरी संसारको आत्माले निखार्नसक्छ? हाम्रो शरीरका इच्छाहरूलाई उस्काएर र हामीमा जन्मजातै भएको स्वार्थीपनको फाइदा उठाएर। (एफिसी २:१-३; १ यूहन्ना २:१६) उदाहरणस्वरूप, सांसारिक सोचाइले हाम्रो आध्यात्मिकतालाई कसरी बिस्तारै दूषित पार्नसक्छ भनी तीन विभिन्न पक्षहरू केलाउनेछौं।
पहिले राज्यको खोजी गर्ने
येशूले मसीहीहरूलाई ‘पहिले उहाँको राज्य र धार्मिकता खोजी’ गर्न आह्वान गर्नुभयो। (मत्ती ६:३३) तर, संसारको आत्माले हामीलाई हाम्रो चाहना तथा सुखसुविधामा अनावश्यक महत्त्व दिन लालायित गर्नसक्छ। यो खतरा छाउँदा आध्यात्मिक कामकुराहरूलाई चटक्कै त्याग्ने गरिंदैन तर त्यसलाई दोस्रो स्थानमा पन्छाइन्छ। काजकस्थानका मानिसहरूले जस्तै सुरक्षाको गलत संकेत पाइरहेकोले खतरालाई बेवास्ता गर्नसक्छौं। वर्षौंको विश्वासी सेवा र हाम्रा आध्यात्मिक भाइबहिनीहरूप्रतिको मूल्यांकनले गर्दा हामी कहिल्यै सत्यको मार्गलाई त्याग्नेछैनौं भन्ने सोचाइ राख्नसक्छौं। शायद, एफिसी मण्डलीका थुप्रैले पनि त्यस्तै सोचेका होलान्।
सा.यु. ९६ तिर येशूले यस्तो सल्लाह दिनुभयो: “तिम्रो विरुद्धमा मसँग यो कुरो छ, कि तिमीले तिम्रो पहिला प्रेम छोड़िदिएका छौ।” (प्रकाश २:४) लामो समयदेखि सेवा गर्दै आएका यी सहनशील मसीहीहरूले थुप्रै कठिनाइहरू भोगिसकेका थिए। (प्रकाश २:२, ३) तिनीहरू प्रेरित पावललगायत अन्य विश्वासी प्राचीनहरूद्वारा सिकाइएका थिए। (प्रेरित २०:१७-२१, २७) तर, वर्षौंको दौडान यहोवाप्रति तिनीहरूको प्रेम सेलाउँदै गयो र तिनीहरूको आध्यात्मिक गतिमा सुस्तीपन आउन थाल्यो।—प्रकाश २:५.
शायद, केही एफिसीवासीहरू शहरमा फस्टाइरहेको व्यापार र समृद्धिबाट प्रभावित भएका हुनसक्छन्। दुःखको कुरा, हाल संसारमा चलिरहेको भौतिकवादको लहरले केही मसीहीहरूलाई प्रलोभित गरिरहेको छ। सम्पन्न जीवन बिताउने भागदौड गर्न थाल्यौं भने अवश्य पनि आध्यात्मिक लक्ष्यहरूदेखि हाम्रो ध्यान अलमलिनेछ।—मत्ती ६:२४ तुलना गर्नुहोस्।
यस खतराबारे चेताउनी दिंदै येशूले यसो भन्नुभयो: “शरीरको ज्योति आँखा हो। यसकारण यदि तिम्रो आँखा निर्मल छन् भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ। तर तिम्रा आँखा खराब [“ईर्ष्यालु,” NW पादटिप्पणी] छन् भने, तिम्रा सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीमा भएको उज्यालो चाहिं अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुनेछ!” (मत्ती ६:२२, २३) “निर्मल” आँखा भनेको आध्यात्मिक कामकुरामा अर्थात् परमेश्वरको राज्यमा केन्द्रित आँखा हो। अर्कोतर्फ “खराब” वा “ईर्ष्यालु” आँखा दूरदर्शी हुँदैन, शरीरका इच्छाहरूमा मात्रै ध्यानकेन्द्रित गर्नसक्छ। त्यसले आध्यात्मिक लक्ष्य तथा भविष्यका इनामहरू ठम्याउनै सक्दैन।
यसअगाडि येशूले यसो भन्नुभयो: “जहाँ तिम्रो सम्पत्ति हुन्छ, त्यहीं तिम्रो मन पनि हुनेछ।” (मत्ती ६:२१) हाम्रो हृदय आध्यात्मिक कुरामा छ या भौतिक कुरामा, कसरी थाह पाउनसक्छौं? शायद यो थाह पाउने सबैभन्दा उत्तम तरिका त हाम्रो वार्तालापका विषयहरू नै होला किनभने “हृदयमा जे प्रशस्त हुन्छ, त्यही त्यसको मुखले बोल्दछ।” (लूका ६:४५) हामी भौतिक कुराहरू वा सांसारिक उपलब्धिहरूबारे मात्र कुरा गरिरहन्छौं भने हाम्रो हृदय विभाजित छ र हाम्रो आध्यात्मिक दृष्टिमा कुनै त्रुटि छ भन्ने प्रमाणित हुन्छ।
कार्मेन नाउँकी एउटी स्पेनी बहिनीले यस्तै समस्यासित संघर्ष गर्नुपऱ्यो।a “म सत्यमै हुर्कें,” कार्मेन भन्छिन् “तर १८ वर्षकी हुँदा बच्चाहरूको लागि नर्सरी स्कूल खोलें। तीन वर्षपछि चार जना कर्मचारीहरू भए र व्यापार फस्टाइरहेको थियो अनि निकै पैसा कमाइरहेकी थिएँ। शायद मैले सबैभन्दा सन्तुष्टि पाएको कुरा चाहिं आर्थिक रूपमा आफ्नै खुट्टामा उभिनसक्न मैले हासिल गरेको ‘सफलता’ थियो। साँच्चै भन्ने हो भने मेरो मन नै व्यापारमा थियो। त्यही नै मेरो सबैभन्दा ठूलो प्रेम थियो।
“आफ्नो धेरै समय व्यापारमा लगाए तापनि म अझै साक्षी हुनसक्छु जस्तो लाग्थ्यो। अर्कोतर्फ, यहोवाको सेवामा अझै बढ्ता गर्नसक्छु भन्ने विचारले पनि मलाई घचघच्याइरहेको हुन्थ्यो। तर आखिरमा राज्य क्रियाकलापलाई प्रथम स्थानमा राख्न मेरा दुइ अग्रगामी साथीहरूको उदाहरणले मदत दियो। एक जना साथी मेरै मण्डलीको हुल्याना थिइन्। तिनले मलाई अग्रगामी गर्न पटक्कै दबाब दिइनन् तर तिनको वार्तालाप र सेवकाईबाट उठाइरहेको आनन्दले मेरो आध्यात्मिक मूल्यहरूमाथि पुनः विचार गर्न सहयोग पुऱ्यायो।
“त्यसको केही समयपछि बिदा मनाउन संयुक्त राज्य जाँदा म अग्रगामी बहिनी ग्लोरीयासित बसें। तिनी हालै विधवा भएकी थिइन्। साथै आफ्नो पाँच वर्षकी छोरी र क्यान्सर रोग लागेकी आमाको हेरचाह पनि गर्दै थिइन्। तैपनि तिनले अग्रगामी गरिरहेकी थिइन्। तिनको उदाहरण र सेवकाईको लागि तिनको हार्दिक मूल्यांकन देखेर म अति नै प्रभावित भएँ। तिनको घरमा जम्मा चार दिन मात्र बिताएँ, तर जे होस् यहोवालाई सर्वोत्तम कुरा दिने निधो गर्ने मदत पाएँ। पहिला त म नियमित अग्रगामी भएँ र केही वर्षपछि मेरो पति र मैले बेथेल सेवाको लागि निमन्त्रणा पायौं। मेरो आध्यात्मिक प्रगतिको अवरोध, मेरो व्यापारलाई चटक्कै छोडिदिएँ। अब भने यहोवाको नजरमा मेरो जीवन सफल भएजस्तो महसुस गर्न थालें। त्यही त सबैभन्दा महत्त्वपूर्ण कुरा हो नि, होइन र?”—लूका १४:३३.
कार्मेनले झैं “अझ महत्त्वपूर्ण कुरा के हो, पक्का” गर्न सिक्यौं भने हाम्रो जागिर, शिक्षा, आवास र जीवनशैलीको सन्दर्भमा बुद्धिमानीपूर्ण निर्णय गर्नसक्नेछौं। (फिलिप्पी १:१०) तर के हामी मनोरञ्जनको सन्दर्भमा पनि अझ महत्त्वपूर्ण कुरा के हो, पक्का गर्छौं? संसारको आत्माले अति नै प्रभाव पार्ने अर्को एउटा क्षेत्र मनोरञ्जन पनि हो।
फुर्सतको समयलाई आफ्नै ठाउँमा राख्नुहोस्
आराम र मनोरञ्जन गर्ने हाम्रो स्वाभाविक चाहनाको संसारको आत्माले धूर्ततापूर्वक नाजायज फाइदा उठाउँछ। थुप्रै मानिसहरूसित भविष्यको लागि कुनै ठोस आशा नभएकोले जे जति गर्नुछ अहिल्यै गर्न खोज्नुको कारण बुझ्नसक्छौं। (तुलना गर्नुहोस् यशैया २२:१३; १ कोरिन्थी १५:३२) के हामीले पनि मनोरञ्जनलाई अत्यन्तै महत्त्व दिइरहेको जस्तो लाग्छ? हाम्रो सोचाइमा संसारको सोचाइले प्रभाव पारिरहेको छ भन्ने चिह्न त्यो पनि हुनसक्छ।
बाइबलले यस्तो चेताउनी दिन्छ: “सुख-विलास [“मनोरञ्जन,” लाम्सा] प्रेम गर्नेले भोजनको लागि भीख माग्नुपर्छ।” (हितोपदेश २१:१७) रमाइलो गर्नु नै खराब होइन तर यसैलाई प्रेम गर्दा वा प्राथमिकता दिंदा आध्यात्मिकतामा कमी आउनसक्छ। हाम्रो आध्यात्मिक भोक निस्सन्देह घट्दै जान्छ र सुसमाचार प्रचार गर्न पर्याप्त समय नै निकाल्न सक्दैनौं।
यही कारणले गर्दा परमेश्वरको वचनले यस्तो सल्लाह दिन्छ “आफ्नो मन बाँधेर आत्मसंयममा बस।” (१ पत्रुस १:१३, द न्यु इंगलिश बाइबल) व्यवहारिक भई हाम्रो फुर्सतको समयलाई सीमित राख्न आत्मसंयमको आवश्यक पर्छ। आफ्नो मन बाँधेर भन्नुको अर्थ आध्यात्मिक क्रियाकलापको लागि तयार हुनु हो। चाहे त्यो अध्ययन, सभा वा क्षेत्र सेवकाईको लागि नै किन नहोस्।
चाहिने आरामबारे के भन्न सकिन्छ नि? आराम गर्न बिदामा बस्यौं भने के दोषी महसुस गर्नुपर्छ र? अवश्य पर्दैन। विशेषगरि यो तनाउग्रस्त संसारमा आराम अत्यावश्यक छ। तर, समर्पित मसीहीहरूको हैसियतमा हाम्रो जीवन मनोरञ्जनमै केन्द्रित हुनु हुँदैन। धेरैभन्दा धेरै समय मनोरञ्जनमा बिताउन थाल्यौं भने अर्थहीन कुराहरूमै समय बिताउन लग्गू हुनसक्छौं। तत्परताको हाम्रो भावलाई हल्का तुल्याउनसक्छ र आफ्नै स्वार्थ पूर्ति गर्ने कुराहरूमा लाग्नसमेत प्रोत्साहित गर्नसक्छ। त्यसोभए हामी कसरी मनोरञ्जनप्रति सन्तुलित विचारधारा राख्नसक्छौं त?
विशेषगरि सांसारिक जागिर आवश्यक छैन भने, त्यसमा बढ्तै जोतिरहनुको साटो अलिक आराम लिन बाइबलले सल्लाह दिन्छ। (उपदेशक ४:६) आराम गरेपछि पुनः फूर्ति आउने भए तापनि आध्यात्मिक स्फूर्तिको स्रोत चाहिं परमेश्वरको सक्रिय शक्ति नै हो। (यशैया ४०:२९-३१) हामी मसीही क्रियाकलापहरूमा संलग्न भएर पवित्र आत्मा पाउँछौं। व्यक्तिगत अध्ययन गर्दा हाम्रो हृदयले पोषण पाउँछ र सही चाहनाहरू राख्न प्रेरित गर्छ। सभाहरू धाउँदा हाम्रो सृष्टिकर्ताको मूल्यांकन गर्न मदत पाउँछौं। क्षेत्र सेवकाईमा भाग लिंदा अरूको भावनाहरू बुझ्नसक्ने हुन मदत पाउँछौं। (१ कोरिन्थी ९:२२, २३) पावलले व्यवहारिक ढंगमा भनेझैं “बाहिरी मनुष्यत्व नाश भइरहेको हुन्छ, तापनि हाम्रो भित्री मनुष्यत्वचाहिं दिनदिनै नयाँ हुँदै आएको हुन्छ।”—२ कोरिन्थी ४:१६.
छ छोराछोरीकी आमा र बेग्लै धर्म मान्ने पतिकी पत्नी इलियाना अत्यन्तै व्यस्त जीवन बिताउँछिन्। तिनको आफ्नो परिवारप्रति मात्र होइन तर केही नातेदारहरूप्रति पनि पूरा गर्नुपर्ने जिम्मेवारीहरू छन्, जसले गर्दा तिनी जहिले पनि दौडधूप गरिरहेकी जस्तो देखिन्छ। यद्यपि, तिनले प्रचारकार्य र सभाहरूको लागि तयारी गर्ने सन्दर्भमा उल्लेखनीय उदाहरण बसालेकी छिन्। त्यति धेरै क्रियाकलापहरू तिनले कसरी भ्याउन सकेकी?
“अन्य जिम्मेवारीहरू पूरा गर्न मलाई सभा तथा क्षेत्र सेवकाईले साँच्चै मदत गर्छ,” इलियाना भन्छिन्। “उदाहरणका लागि, प्रचार कार्यपछि घरधन्दा गर्दा सोच्न प्रशस्त समय पाउँछु। अक्सर म गीत गाउँदै काम गर्ने गर्छु। तर अर्कोतर्फ सभामा उपस्थित हुन सकिनँ वा क्षेत्र सेवकाईमा धेरै समय बिताउन पाइनँ भने, घरधन्दा गर्न पनि कस्तो गाह्रो भएर आउँछ।”
मनोरञ्जनमा अत्यन्तै महत्त्व दिनुभन्दा कत्ति भिन्न!
आध्यात्मिक सुन्दरताले यहोवालाई खुशी तुल्याउँछ
बाहिरी रूपलाई अत्यन्तै महत्त्व दिने संसारमा हामी बाँचिरहेका छौं। अनुहारको रूप राम्रो बनाउन र जवान देखिरहने उपचारहरूमा मानिसहरूले अचाक्ली रकम खर्च गर्छन्। यसमा कपाल रोप्ने र रंग्याउने, शल्यक्रियाद्वारा स्तनको आकार बढाउने र रूप सुन्दर बनाउन अनुहारको शल्यक्रियाहरू गर्ने इत्यादि समावेश छन्। लाखौं व्यक्तिहरू वजन घटाउने केन्द्रहरू, व्यायामशालाहरू, एरोबिक कक्षाहरू जान्छन् वा व्यायाम गर्ने भिडियो र वजन घटाउने निर्देशनहरू भएका पुस्तकहरू किन्छन्। संसारले सुख पाउने एउटा मात्र तरिका हाम्रो बाहिरी रूप नै हो भन्ने भान दिन चाहन्छ। संसारको दृष्टिकोणमा “रूप” नै सबै कुरा हो।
संयुक्त राज्यमा न्युजवीक समाचारपत्रले गरेको एउटा सर्वेक्षणअनुसार ९० प्रतिशत गोरा किशोरकिशोरी अमेरिकीहरू “आफ्नो बाहिरी रूपसित असन्तुष्ट” भएको थाह पाइयो। चिटिक्क मिलेको शरीर बनाउने उत्कट चाहनाले गर्दा हाम्रो आध्यात्मिकतामा असर पार्नसक्छ। यहोवाकी एक जवान साक्षी डोरा आफ्नो बाहिरी रूप देखेर अप्ठ्यारो महसुस गर्थिन् किनभने तिनी अलि मोटी थिइन्। तिनी भन्छिन्, “बजार जाँदा मेरो साइजको लुगा पाउनै गाह्रो हुन्थ्यो। फेसनदार लुगाहरू दुब्ला किशोरकिशोरीहरूका लागि मात्र हुन् जस्तो लाग्थ्यो। अझ त्योभन्दा पनि दिक्क लाग्ने कुरा त, अरू मानिसहरूले मेरो वजनबारे छुच्चो टिप्पणीहरू गर्थे। विशेषगरि त्यस्ता टिप्पणीहरू आध्यात्मिक भाइबहिनीहरूबाट आउँदा अत्यन्तै चित्त दुख्थ्यो।
“फलतः जीउ सलक्क पर्नु या नपर्नुलाई नै मैले धेरै महत्त्व दिन थालें र आध्यात्मिक कामकुराहरूले मेरो जीवनमा दोस्रो स्थान लिन थाल्यो। कम्मर छाँटिनु नै मानौं मेरोनिम्ति खुशीको कुरा थियो। त्यो केही वर्षअघिको कुरा हो। अहिले म एक स्त्री तथा मसीहीको रूपमा परिपक्व पनि भएकी छु, मेरो दृष्टिकोणमा परिवर्तन आएको छ। आफ्नो रूपमा ध्यान त दिन्छु तर सबैभन्दा महत्त्वपूर्ण कुरा आध्यात्मिक सुन्दरता हो भनेर बुझेकी छु र यही कुराले मलाई सबैभन्दा धेरै सन्तुष्टि प्रदान गरेको छ। एकचोटि यो कुरा बुझेपछि मैले राज्य क्रियाकलापलाई उपयुक्त ठाउँमा राख्नसकें।”
पुरातन समयको एक विश्वासी स्त्री सारा थिइन् र तिनको विचारधारा सन्तुलित थियो। बाइबलमा साठी वर्ष नाघिसकेकी साराको सौन्दर्यबारे बताइएको छ तर मुख्यतः तिनको असल गुणहरू अर्थात् हृदयको त्यो गुप्त मानिसबारे ध्यानकेन्द्रित गरिएको छ। (उत्पत्ति १२:११; १ पत्रुस ३:४-६) तिनले शान्त र विनयी मनोवृत्ति प्रदर्शित गरिन् र आफ्नो पतिको अधीनमा स्वेच्छापूर्वक बसिन्। अरूले तिनीबारे के भन्लान् भनी अचाक्ली चिन्तित भइनन्। तिनी सम्पन्न परिवारकी भए तापनि स्वेच्छापूर्वक ६० वर्षसम्म पालमा बसिन्। तिनले नम्रतापूर्वक र निःस्वार्थ ढंगमा आफ्नो पतिको समर्थन गरिन्। तिनी विश्वासी स्त्री थिइन्। यी कारणले गर्दा नै तिनी यथार्थमा सुन्दरी भइन्।—हितोपदेश ३१:३०; हिब्रू ११:११.
मसीहीको हैसियतमा हामी पनि आफ्नो आध्यात्मिक सौन्दर्य बढाउन चाहन्छौं। यो यस्तो सुन्दरता हो, जुन बढ्दै जान्छ र रहिरहन्छ। (कलस्सी १:९, १०) हाम्रो आध्यात्मिक रूपलाई हेरचाह गर्ने दुइ मुख्य तरिका छन्।
जीवन बचाउने सेवकाईमा भाग लिंदा यहोवाको नजरमा अझ धेरै सुन्दर हुन्छौं। (यशैया ५२:७; २ कोरिन्थी ३:१८–४:२) यसबाहेक मसीही गुणहरू प्रदर्शित गर्न सिक्दै गएपछि हाम्रो सुन्दरता झन् निखुर हुँदै जान्छ। हाम्रो आध्यात्मिक सौन्दर्य बढाउने पर्याप्त मौकाहरू छन्: “भातृप्रेममा एक दोस्रोतर्फ मायालु होओ। मानमा एउटाले अर्कोको बढ़ता कदर गर, . . . आत्मामा जोशिलो होओ, . . . अतिथि-सत्कार कायम राख। . . . आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रोओ। . . . कसैलाई खराबको बदला खराब नगर। . . . सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।” (रोमी १२:१०-१८) यस्ता गुणहरू खेती गर्दा परमेश्वर र सँगी मानवहरूसामु प्यारो हुनेछौं र हामीले जन्मजात पाएको पापी झुकाउलाई कम गर्नसक्छौं।—गलाती ५:२२, २३; २ पत्रुस १:५-८.
हामी संसारको आत्मालाई प्रतिरोध गर्नसक्छौं!
संसारको विषालु आत्माले थुप्रै धूर्त चालहरूद्वारा हाम्रो निष्ठा कमजोर बनाउनसक्छ। आफूसित भएको कुरामा चाहिं असन्तुष्ट हुने र परमेश्वरलाई भन्दा पनि आफ्नो आवश्यकता तथा चाहनाहरूको फिक्री गर्ने हुनसक्छौं। वा परमेश्वरको विचारलाई भन्दा पनि मनोरञ्जन वा बाहिरी रूपमा बढी महत्त्व दिंदै मानिसको सोचाइलाई प्राथमिकता दिने हुनसक्छौं।—मत्ती १६:२१-२३ तुलना गर्नुहोस्।
शैतान हाम्रो आध्यात्मिकतालाई खतम पार्न कटिबद्ध छ र त्यसो गर्ने त्यसको मुख्य हतियारहरूमध्ये एउटा संसारको आत्मा हो। स्मरण रहोस्, दियाबलले आफ्नो चाल गर्जने सिंहबाट परिवर्तन गरेर धूर्त साँपमा परिणत गर्नसक्छ। (उत्पत्ति ३:१; १ पत्रुस ५:८) कहिलेकाहीं संसारले मसीहीमाथि क्रूर सतावट दिएर विजय हासिल गर्छ तर अक्सर तिनको मनलाई बिस्तारै दूषित बनाइदिन्छ। यही खतराबारे पावल बढी चिन्तित थिए: “जसरी सर्पले आफ्नो छलले हव्वालाई छकायो, त्यसरी ख्रीष्टतर्फका तिमीहरूका सीधापना र पवित्रताबाट तिमीहरूका विचारहरू भ्रष्ट होलान् कि भन्ने मलाई डर लागेको छ।”—२ कोरिन्थी ११:३.
साँपका धूर्त चालहरूदेखि बच्न हामीले “संसारतर्फको” अफवाह चिन्नुपर्छ र दृढ भएर प्रतिरोध गर्नुपर्छ। (१ यूहन्ना २:१६) सांसारिक सोचाइले केही हानि गर्दैन भन्ने भ्रममा पर्नु हुँदैन। शैतानको रीतिरिवाजको विषालु हावा एकदमै खतरनाक तहमा पुगिसकेको छ।—एफिसी २:२.
सांसारिक सोचाइलाई एक चोटि चिनेपछि यहोवाको शुद्ध शिक्षाद्वारा आफ्नो मन अनि हृदयलाई भरेर त्यसको सामना गर्नसक्छौं। राजा दाऊदले झैं हामी पनि यसो भनौं: “तपाईंको मार्ग मलाई देखाउनुहोस्, हे परमप्रभु। तपाईंको बाटो मलाई दिनुहोस्। तपाईंको सत्यतामा मेरो अगुवा हुनुहोस्, र मलाई सिकाउनुहोस्। किनकि तपाईंनै मलाई उद्धार गर्ने परमेश्वर हुनुहुन्छ, दिनभरि म तपाईंकै बाटो हेर्दैरहन्छु।”—भजन २५:४, ५.
[फुटनोट]
a वास्तविक नाउँहरू होइनन्।
[पृष्ठ २६-मा भएको चित्र]
सम्पन्न जीवन बिताउन भागदौड गर्दा अवश्य पनि आध्यात्मिक लक्ष्यहरूदेखि हाम्रो ध्यान अरू नै कुरामा अलमलिनसक्छ